२०८२ चैत्र २६
२०८२ चैत्र २६

आरके श्रीवास्तव,राैतहट,१३ गते पुस । 

रौतहट । निजगढ–तिलगङ्गा सामुदायिक आँखा अस्पताल र राजपुर नगरपालिकाको सहकार्यमा आज निःशुल्क आँखाको मोतियाबिन्दु शल्यक्रिया हुने बिरामीहरूसँग भेटघाट तथा समन्वय कार्यक्रम सम्पन्न भएको छ ।

राजपुर नगरपालिकाका नगरप्रमुख डा. राजिक आलम स्वयं निजगढ पुगेर तिलगङ्गा आँखा अस्पतालका चिकित्सक डा. रिता गुरुङसँग भेट गरी नगरपालिकाको तिलगङ्गा आँखा प्रतिष्ठानसँगको सहकार्यलाई थप प्रभावकारी बनाउने विषयमा छलफल गर्नुभएको हो ।

नगरप्रमुख आलमका अनुसार यस कार्यक्रमअन्तर्गत ६३ जना बिरामीको मोतियाबिन्दु शल्यक्रिया निःशुल्क रूपमा भइरहेको छ । आर्थिक अभावका कारण उपचारबाट बञ्चित हुन नपरोस् भन्ने उद्देश्यले नगरपालिकाले आँखा उपचारलाई उच्च प्राथमिकतामा राख्दै आएको उहाँले बताउनुभयो ।

नगरप्रमुख आलमले स्वास्थ्य सेवालाई नगरपालिकाको मुख्य दायित्वका रूपमा लिँदै आगामी दिनमा पनि यस्ता निःशुल्क स्वास्थ्य कार्यक्रमलाई निरन्तरता दिइने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

कार्यक्रमबारे जानकारी दिँदै प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले नगरपालिकाले स्वास्थ्य क्षेत्रमा गुणस्तरीय सेवा सुनिश्चित गर्न दीर्घकालीन योजना अनुसार काम गरिरहेको बताउनुभयो ।
“नगरप्रमुखज्यूको नेतृत्वमा स्वास्थ्य सेवालाई पहुँचयोग्य, पारदर्शी र प्रभावकारी बनाउँदै लगिएको छ। तिलगङ्गा आँखा अस्पतालसँगको सहकार्यले राजपुरका नागरिकले गुणस्तरीय उपचार पाउने विश्वास छ,” प्रमुख प्रशासकीय अधिकृत ठाकुरले भन्नुभयो ।

यस पहलबाट राजपुर नगरपालिकाका विपन्न तथा ज्येष्ठ नागरिकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने अपेक्षा गरिएको छ । केही दिन अघि राजपुर नगरपालिका आँखा शिविर सञ्चालन भएको थियोे जसमा त्यहाँका नागरिकहरूले आँखा चेकजाँच गराउने अवसर पाएका थिए ।

 

प्रेमचन्द्र झा,राैतहट,पुस १३ गते । 

राैतहट ।फतुवा विजयपुर नगरपालिका वडा नम्बर १ स्थित दलित प्राथमिक विद्यालय गम्हरियामा विद्यालय व्यवस्थापन समितिको अध्यक्ष र विद्यालयको नाम परिवर्तनलाई लिएर विवाद भएको छ। हालका अध्यक्षले आफू अझै अध्यक्षकै रूपमा रहन पाउनुपर्ने माग गर्दै आएका छन् भने वडाध्यक्ष विजय यादवले षडयन्त्रपूर्वक दलित समुदायका प्रतिनिधिलाई अध्यक्ष पदबाट हटाउन खोजेको आरोप लागेको छ।
स्थानीयका अनुसार यो विवाद फतुवा विजयपुर नगरपालिकामा मात्र सीमित नरही गत वर्ष सामाजिक सञ्जालमा समेत व्यापक चर्चा भएको विषय हो। यसैक्रममा हाल विद्यालयको नाम समेत परिवर्तन गरिएको छ। पहिलेको नाम परिवर्तन गरी ‘सितामाई दलित प्राथमिक विद्यालय गम्हरिया’ राखिएको छ।


नगरपालिका शिक्षा शाखाको समन्वयमा समाजसेवी शम्भु त्रिपाठीले आर्थिक सहयोग लगानी गरी विद्यालयको नाम परिवर्तन गरिएको बताएका छन्। उनले आफ्नी आमाको नाम जोडेर विद्यालयको नाम ‘सितामाई दलित प्राथमिक विद्यालय गम्हरिया’ राखिएको स्पष्ट पारेका छन्।
तर विद्यालयको नाम परिवर्तन र अध्यक्ष पद सम्बन्धी निर्णयप्रति स्थानीय समाजसेवी बाबुलाल यादवसहित स्थानीय दलित समुदायले असन्तुष्टि जनाएका छन्। उनीहरूले दलित समुदायको सहमति बिना नाम परिवर्तन गर्नु र दलित प्रतिनिधिलाई नेतृत्वबाट हटाउने प्रयास हुनु आपत्तिजनक भएको बताएका छन्।
स्थानीय दलित वर्गले यस विषयमा निष्पक्ष छानबिनको माग गर्दै विरोध जनाइरहेका छन्। उनीहरूको माग छ—दलित समुदायको पहिचान, अधिकार र सहभागितालाई कमजोर बनाउने कुनै पनि निर्णय स्वीकार्य नहुने।
यस विषयमा नगरपालिकाको आधिकारिक धारणा आउन बाँकी रहेको छ।

काठमाडौं, १३ पुस
आम जनता पार्टी (आजपा), जनादेश पार्टी र लघुवित संघर्ष समितिका बीचमा २१ फागुनमा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनमा चुनावी तालमेल एवं सहकार्य गर्ने सहमती आज भएको छ ।

आजपाको चुनाव चिन्ह ‘मोवाइल’ छापबाट चुनावमा सहभागि हुने सहमती गर्दै अग्रगामी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुसंग चुनावी सहकार्य एवं तालमेल गरेर दीर्घकालीन बैकल्पिक राजनीतिक धार निर्माण गर्न सहमती भएको हो ।

‘प्रत्यक्ष तथा समानुपातिक दुवै तर्फका उम्मेदवारको छनोट आपसी सहमतिको आधारमा गर्नेछौं । अग्रगामी, सच्चा लोकतन्त्रवादी र देशभक्त शक्तिहरुसँग चुनावी सहकार्य एवं तालमेल गरेर दीर्घकालीन वैकल्पिक राजनीतिक धार निर्माण गर्न सहमत भएका छौं,’ तीनै पक्षले आज गरेको सहमती पत्रमा उल्लेख गरिएको छ ।

देशमा मौलाउँदै गएको चरम भ्रष्टाचार, ठगी र राज्य संयन्त्रको दुरुपयोगका कारण आम नागरिकको जनजीवन असह्य बन्दै गएको वर्तमान यथार्थलाई गम्भीरतापूर्वक आत्मसात गर्दै आजपा, जनादेश पार्टी र लघुबित्त तथा वित्तीय शोषण विरुद्धको संघर्ष समिति बिच सहकार्य गर्दै अगाडी बढने सहमती भएको छ ।

लघुवित्त कम्पनी÷संस्थाद्धारा भए गरेका गलत एवं अमानवीय कार्यहरु बिरुद्धमा एकजुट भएर आवाज उठाउने बताइएको छ । अत्यधिक एवं मनोमानी व्याजदर, अनैतिक ऋण असुली र ग्राहकहरुमाथि भएगरेका दुव्र्यवहारका कारण लाखौं नागरिक आर्थिक, मानसिक एवं सामाजिक शोषणको सिकारमा परेको सन्दर्भमा लघुवित्त सहित बैंक तथा वित्तीय संस्थाबाट ठगीएका पीडितहरूको पक्षमा न्याय दिलाउन जारी संघर्षलाई निर्णायक विन्दुसम्म पुर्याउन साझा मोर्चा निर्माण गर्दै कानुनी, राजनीतिक र जनदबाबको शशक्त एवं नतिजामुखी मार्गहरु अपनाउन सहमती भएको छ ।

‘देशमा राजनीतिक अस्थिरता, कुशासन तथा वित्तीय शोषण अन्त्यका लागि सडकबाट सुरु भएको जनसंघर्षका आवाजलाई शशक्त रूपमा संसदसम्म पुर्याउदै राज्य संयन्त्रलाई जनउत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ,’ सहमतीपत्रमा उल्लेख गरिएको छ ।

यसैगरी आजको आईटी युगमा सबैभन्दा लोकप्रिय र पहिचान योग्य आम जनता पार्टीको मोबाइल चुनाव चिन्हलाई लघुबित्त संघर्ष समितिले उपयोग गर्ने र आफ्नो मुद्दामा स्वतन्त्र ढंगले प्रचार गर्न पाउने विषयमा सहमत भई चुनावमा एक–आपसलाई सहयोग गर्न गराउन प्रतिबद्ध समेत व्यक्त गरिएको छ ।

आजपाको तर्फबाट अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साह, तिलक थापा मगर, त्रिभुवन साह, चन्द्रभुषण साह, जनादेश पार्टीको तर्फबाट अध्यक्ष रमण कर्ण, संघर्ष समितिको तर्फबाट पुनाराम ज्ञवाली (मनिराम), अगस्त अधिकारी, मनी प्रसाद चौलागाई, अर्जुन विश्वकर्मा, आशा सञ्जेल लगायतले सहमती पत्रमा हस्ताक्षर गरेका छन् ।

आगामी निर्वाचनमा मिलेर जान राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह बालेनबीच लिखित सहमति भएको छ। दुई जनाबीच रातभर भएको वार्तापछि आइतबार बिहानै  ‘बृहत् एकता’सम्बन्धी सहमति पत्रमा हस्ताक्षर भएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) तथा बालेन्द्र शाह बीच ‘बृहत् एकता’ सम्बन्धी सहमति

सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक प्रणालीभित्र असल शासन कायम गरी आम नागरिकका आकांक्षा सम्बोधन गर्न सबै सुसंस्कृत एवं परिवर्तनकामी राजनीतिक शक्तिहरूबीच सहकार्य हुन अपरिहार्य रहेको तथ्यलाई आत्मसात् गर्दै, २०८२ साल भदौ २३ र २४ को जेनजी आन्दोलनलगायत विभिन्न कालखण्डमा भएका जनआन्दोलनहरूका सहिद एवं घाइतेहरूको बलिदानलाई प्रेरणादायी स्मृतिमा राख्दै, समान अठोट बोकेका शक्तिहरूको सहकार्यमार्फत राष्ट्रसेवाको साझा लक्ष्य हासिल गर्न राष्ट्रिय स्वतन्त्र पार्टी (पहिलो पक्ष) र श्री बालेन्द्र शाह (दोस्रो पक्ष) बीच देहायका सहमति भएको छ।

१. नवयुवाहरुले भ्रष्टाचार र कुशासनविरुद्ध गरेको आन्दोलनको अपनत्व लिई घाईते तथा सहिद परिवारका मागहरूको यथोचित सम्बोधन गर्ने प्रतिबद्वता जनाउने,

२. समुन्नति र सामाजिक न्यायका राष्ट्रिय उद्देश्यहरूका लागि गरिनुपर्ने गहिरा नीतिगत, संस्थागत एवं संरचनात्मक सुधारहरूमार्फत आर्थिक-सामाजिक उन्नयन र सुसंस्कृत राजनीतिक अभ्यासको जगमा अर्को दश वर्षभित्र नेपाललाई सम्मानजनक मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्रको इमान्दार कार्यान्वयनप्रति समर्पित हुने,

३. पहिलो पक्ष र दोस्रो पक्षबीच बृहत् एकता भएपश्चात् स्थापित हुने राजनीतिक दलको नाम “राष्ट्रिय स्वतन्त्र पार्टी”, दलको झण्डा साविककै निलो पृष्ठभूमिको मध्य भागमा सेतो रङकोको गोलाकार बीचमा निलो रङको घण्टीको आकृति, दलको चुनाव चिह्न ‘घण्टी’ र केन्द्रीय कार्यालय काठमाडौँ उपत्यकामा रहने,

४. राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय सभापति रवि लामिछाने रहने र आसन्न प्रतिनिधि सभाको निर्वाचनपछि संसदीय दलको नेता तथा भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन्द्र शाह हुने

५. बृहत् एकतापश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरूलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,

६. यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने,

७. राष्ट्रिय स्वतन्त्र पार्टीको सिद्धान्त, नेतृत्व र चुनाव चिन्ह ‘घण्टी’ मा गोलबद्ध भइ लोकतान्त्रिक सुशासन, समुन्नति र सामाजिक न्यायका मुद्धा अघि बढाउन अन्य सुसंस्कृत एवं परिवर्तनकामी वैकल्पिक राजनीतिक शक्ति, समूह र व्यक्तिहरुलाई आव्हान गर्ने। सभार वर्णन मिडिया

आरके श्रीवास्तव,रा‌ैतहट,१२ गते पुस । 

रौतहट । कटहरिया नगरपालिका वडा नम्बर ९ स्थित ज्योति डिस्टिलरीमा शनिबार बिहान भएको शक्तिशाली विस्फोटमा मृत्यु हुने व्यक्तिको नाम खुलेको छ । डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने छ जना कामदार घाइते भएका छन् ।

मृत्यु हुनेमा कटहरिया–८ बलुवा निवासी लक्षमन राय यादव रहेका छन् । घाइते हुनेमा कटहरिया–८ पिप्रा पोखरिया निवासी बिगन राय यादव, बलिराम राय यादव, रहमत आलम, कैलाश माली, प्रमजित राय यादव, जगदिश राय र गरूडा–५ महम्मदपुर निवासी मुकेश राय रहेका छन् ।

 

घटना स्थलमा खटिनु भएका इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी वरिष्ठ नायब निरीक्षक (सई) धर्मेन्द्र पौडेलले जानकारी दिनुभयो । प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा ठूलो क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिएकाे छ ।

सई पौडेलका अनुसार घटनाबारे विस्तृत अनुसन्धान भइरहेको छ भने दुर्घटनाको कारण खुल्न बाँकी रहेको छ ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ। सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा राखेर थप क्षति नहोस् भन्न सुरक्षा व्यवस्था कडा बनाएका छन् । साथै, प्रहरीले घटनास्थलमा मुचुल्का उठाउने कार्य समेत गरिरहेको छ।

फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,१२ गते पुस ।

रौतहट । रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नम्बर–९ स्थित ज्योती डिस्टिलरीमा शनिबार बिहान ठूलो दुर्घटना भएको छ । डिस्टिलरीमा रहेको बोइलर विस्फोट हुँदा घटनास्थलमै एक जनाको मृत्यु भएको छ भने पाँच जना कामदार घाइते भएका छन् ।

प्रारम्भिक जानकारी अनुसार विस्फोट अत्यन्तै शक्तिशाली भएकाले डिस्टिलरी परिसरमा क्षति पुगेको छ । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । गम्भीर घाइतेहरूलाई थप उपचारका लागि वीरगञ्जतर्फ लगिँदै गरिएको छ ।

इलाका प्रहरी कार्यालय कटहरियाका प्रहरी बरिस्ठ नायब  निरीक्षक (सई) धर्मेन्द्र पौडेलले आफू घटनास्थलमा पुगिसकेको र घटनाबारे विस्तृत अनुसन्धान भइरहेको जानकारी दिनुभएको छ । घटनाको कारण, मृतक तथा घाइतेको पहिचान खुल्न बाँकी रहेको प्रहरीको भनाइ छ ।

घटनापछि स्थानीयवासीमा त्रास फैलिएको छ भने सुरक्षाकर्मीले घटनास्थललाई नियन्त्रणमा लिई थप क्षति हुन नदिन सुरक्षा व्यवस्था कडा बनाएका छन् । घटनाबारे थप विवरण आउन बाँकी रहेको छ ।

‎हनुमत कुमार यादव,रौतहट, ११ गते पुस ।

रौतहट जिल्लाका उखु किसानहरूले उद्योगबाट समयमै उखु खरिद नहुनु र भुक्तानीमा चरम ढिलासुस्ती भइरहेको भन्दै गम्भीर असन्तुष्टि व्यक्त गरेका छन् । आफ्ना जायज मागहरू सम्बोधन गर्न आग्रह गर्दै किसानहरूले जिल्ला प्रशासन कार्यालयमार्फत सरकारसमक्ष ज्ञापन पत्र बुझाएका छन् ।

‎किसानहरूले अन्तरजिल्ला उखु ढुवानीमा लगाइएको कथित सिन्डिकेट तत्काल खारेज गर्न माग गर्दै कडा आपत्ति जनाएका छन् । उनीहरूका अनुसार हालै बाबा बैजुनाथ चिनी उद्योगको नाममा गरिएको सम्झौताले रौतहटका किसानलाई अन्य जिल्लाका चिनी उद्योगमा उखु लैजान रोक लगाइएको छ, जसले किसानहरूलाई थप पीडित बनाएको छ ।

‎किसानहरूको भनाइ अनुसार विगतका वर्षहरूमा रौतहटका किसानहरूले आफ्नो उखु बारा जिल्लाको रिलायन्स सुगर मिल, सर्लाहीको इन्दु शंकर चिनी उद्योग तथा महोत्तरीको एभरेष्ट सुगर मिल जस्ता उद्योगहरूमा उप–केन्द्र (काँटा) मार्फत सहज रूपमा बिक्री गर्दै आएका थिए। तर यस वर्ष अघोषित सिन्डिकेट लागू गरिँदा किसानलाई अन्य जिल्लाका उद्योगमा उखु लैजान स्थानीय प्रशासन र केही स्वार्थ समूहले अवरोध गरिरहेको गुनासो गरिएको छ ।

‎किसानहरूले प्रतिस्पर्धात्मक बजारमा आफूलाई पायक पर्ने र समयमै भुक्तानी दिने उद्योग छनोट गर्न पाउनु आफ्नो संवैधानिक अधिकार भएको उल्लेख गर्दै हालको व्यवस्थाले ढुवानीमा सास्ती, आर्थिक शोषण र खेतमै उखु सुक्ने अवस्था सिर्जना गरेको बताएका छन् ।

‎ज्ञापन पत्रमा अन्तरजिल्ला उखु ढुवानीमा लगाइएको रोक तत्काल हटाउन, सरकारले घोषणा गरेको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदानमध्ये बाँकी रहेको ३५ रुपैयाँ रकम अविलम्ब किसानको बैंक खातामा जम्मा गर्न माग गरिएको छ । उक्त अनुदान रकम विगत लामो समयदेखि रौतहटका हजारौं किसानले नपाएको किसानहरूको भनाइ छ ।

‎त्यसैगरी स्थानीय चिनी उद्योगहरूले समयमै तौल र चलानी (पुर्जी) वितरण नगर्दा किसान थप मारमा परेको भन्दै कुनै पनि दबाब वा प्रभाव बिना सहज रूपमा उखु तौल गर्ने व्यवस्था मिलाउन माग गरिएको छ । सरकारले तोकेको न्यूनतम समर्थन मूल्यभन्दा कममा उखु खरिद गर्ने वा विभिन्न बहानामा रकम कट्टा गर्ने उद्योगहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग पनि किसानहरूले गरेका छन् ।

‎पसिना बगाएर उत्पादन गरेका किसानलाई सडकमा आन्दोलन गर्नुपर्ने अवस्था अन्त्य हुनुपर्छ, ज्ञापन पत्रमा उल्लेख गरिएको छ, कृषि प्रधान देशको गरिमा जोगाउन किसानको पेशागत सुरक्षा र सम्मानको ग्यारेन्टी गरिनुपर्छ ।

‎किसानहरूले प्रशासनले आफ्ना मागहरूलाई गम्भीरतापूर्वक लिई तत्काल समाधानका लागि पहल गर्ने विश्वास व्यक्त गरेका छन् । तर ४८ घण्टाभित्र माग सम्बोधन नभए र बेवास्ता गरिएमा रौतहटभरिका किसानहरू कडा आन्दोलनमा उत्रिन बाध्य हुने चेतावनी दिएका छन् ।

‎रौतहट किसान संघर्ष समितिका अध्यक्ष रकेश यादवद्वारा हस्ताक्षरित उक्त ज्ञापन पत्र प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मधेश प्रदेश, जिल्ला समन्वय समिति रौतहट तथा उखु उत्पादक किसान संघलाई बोधार्थ पठाइएको छ ।

‎किसानहरूले समयमै समस्या समाधान नभए जिल्लाभर आन्दोलन चर्काउने चेतावनी दिँदै सरकार र सरोकारवाला निकायको गम्भीर ध्यानाकर्षण गराएका छन् ।

आरके श्रीवास्तव,राैतहट,११ गते पुस । 

रौतहट । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर–३ गम्हरियामा रहेको श्री माध्यमिक विद्यालय गम्हरियाको विद्यालय प्राङ्गनभित्र अवस्थित जिर्ण अवस्थाका भवनका कोठाहरू डाँक बढाबढ प्रक्रियामार्फत बिक्री गरिएको छ ।

विद्यालय परिसरमा रहेका जस्ता पत्ताले छाएका ट्रस ब्लक संख्या ३ र टालीले छाएको १ कोठा गरी जम्मा ४ कोठाको डाँक बढाबढद्वारा ठेक्का प्रक्रिया सम्पन्न भएको हो । उक्त ब्लक बिक्रीका लागि विद्यालयले न्यूनतम ६ लाख ४५ हजार रुपैयाँबाट डाँक बढाबढ सुरु गरेको थियो ।

डाँक बढाबढ प्रक्रियामा ठेकेदार अनिलकुमार साह, हरिन्द्र राय यादव लगायत अन्य ठेकेदारहरूको सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक डाँक बढाबढमा सबैभन्दा बढी रकम ८ लाख २५ हजार कबोल गर्ने ठेकेदार अनिलकुमार साहलाई ठेक्का प्रदान गरिएको विद्यालयका प्रधानाध्यापक चन्देश्वर साहले जानकारी गराएका हुन् । अर्का प्रतिस्पर्धी ठेकेदार हरिन्द्र राय यादवले ८ लाख २० हजार रुपैयाँसम्म मात्रै डाँक बढाउन सकेका थिए।

विद्यालयका प्रधानाध्यापक  साह, विद्यालयका लेखापाल, मौलापुर नगरपालिकाका शिक्षा सह–संयोजक धर्मेन्द्र कुमार साहको उपस्थितिमा ठेक्का प्रक्रिया पारदर्शी रूपमा सम्पन्न गरिएको जनाइएको छ । साथै कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिका, सुरक्षाकर्मी, पत्रकार, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाप्रेमी भद्रभलादमीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

यसअघि पुस ०६ गते तेस्रो पटक प्रकाशित सूचनाअनुसार आज पुस ११ गते शुक्रबारका दिन वडा नम्बर–३ का कार्यवाहक वडा अध्यक्ष पचिया देवीको अध्यक्षतामा डाँक बढाबढ कार्यक्रम सम्पन्न भएको हो ।

कार्यक्रममा वडा सदस्य राकेश बैठा, वडा प्रत्यासी राजकिशोर यादव, अभिभावक रामनरेश प्रसाद कुशवाहा तथा पूर्व विद्यालय व्यवस्थापन समिति अध्यक्ष जरनइल राय यादव लगायतको उपस्थिति रहेको थियो ।

विद्यालय प्रशासनले जिर्ण संरचना हटाएर विद्यालयको भौतिक विकास र सुरक्षित शैक्षिक वातावरण निर्माणमा सहयोग पुग्ने विश्वास व्यक्त गरेको छ ।

आरके श्रीवास्तव, मधेस,११ पुस । 

जनकपुरधाम । मधेस प्रदेशका युवाहरूलाई गुणस्तरीय प्राविधिक तथा व्यावसायिक शिक्षा र तालिम प्रदान गर्ने लक्ष्यसहित सञ्चालन हुने ‘क्वालिटी’ परियोजना कार्यक्रम आज जनकपुरधाममा औपचारिक रूपमा उद्घाटन गरिएको छ । कार्यक्रममा प्रमुख अतिथि मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी रहिन् ।

 

कार्यक्रमको उद्घाटन अवसरमा मन्त्री तिवारीले यस पहलको महत्वमा जोड दिँदै भनिन्-“यस कार्यक्रमले प्रदेशका युवाहरूलाई आवश्यक सीप र दक्षता विकास गर्न मद्दत पुर्‍याउनेछ। यसले उनीहरूलाई रोजगारीका नयाँ अवसरहरूमा जोड दिने मात्र होइन, मधेस प्रदेशको शैक्षिक र आर्थिक समृद्धिमा पनि महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिएको छु।”

 

कार्यक्रमले युवाहरूलाई प्राविधिक तालिम, उद्यमशीलता विकास, र रोजगारीका अवसरहरूमा पहुँच सुनिश्चित गर्ने विभिन्न पहलहरू समेट्ने बताइएको छ । यस पहलमार्फत मधेस प्रदेशका युवाहरूलाई सक्षम, आत्मनिर्भर र समृद्ध नागरिक बनाउने लक्ष्य राखिएको छ ।

मन्त्री तिवारीले प्रदेशका युवाहरूलाई गुणस्तरीय तालिम र दक्षता विकासमार्फत प्रतिस्पर्धी र रोजगारमुखी बनाउने प्रदेश सरकारको प्रतिबद्धतामा पनि जोड दिइन् । उनीहरूलाई आवश्यक मार्गदर्शन, सीप, र अवसर उपलब्ध गराएर प्रदेशको दीर्घकालीन विकास र समृद्धिमा योगदान पुर्‍याउने योजना रहेको बताइन् ।

आरके श्रीवास्तव, मधेस, १० पुस

महोत्तरी । मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीले प्रदेश सरकारको लगानीमा सञ्चालन भइरहेको “एक निर्वाचन क्षेत्र, एक सडक” योजना अन्तर्गत महोत्तरी निर्वाचन क्षेत्र नं. ३ (ख) मा सडक निर्माण योजनाको शिलान्यास गर्नुभएको छ ।

बिहीबार आयोजित कार्यक्रममा मन्त्री तिवारी प्रमुख  अतिथिका रूपमा सहभागी भई सकरी बोर्डरदेखि हलखोरी–एकडारा–साँढा हुँदै जाउख चोकसम्म निर्माण हुने सडक योजनाको औपचारिक शिलान्यास गर्नुभएको हो ।

शिलान्यास कार्यक्रममा बोल्दै मन्त्री तिवारीले यो सडक योजना क्षेत्रीय समृद्धि, सहज आवागमन र यातायात पूर्वाधार सुदृढीकरणतर्फको महत्वपूर्ण कदम भएको बताउनुभएको छ । उहाँका अनुसार भौतिक पूर्वाधार मन्त्रालय, मधेस प्रदेश अन्तर्गत प्रत्येक निर्वाचन क्षेत्रमा ५ किलोमिटर सडक कालोपत्र गर्ने लक्ष्य लिइएको छ ।

हाल उक्त सडक खण्डमा ३ किलोमिटर कालोपत्र निर्माणको काम सम्पन्न भइसकेपछि आगामी दिनमा आवश्यकता र बजेटको उपलब्धताअनुसार थप विस्तार गरिने प्रतिबद्धता उहाँले व्यक्त गर्नुभयो ।

मन्त्री तिवारीले यस योजनाको बजेट १३ करोड रुपैयाँ रहेको जानकारी दिनुभएको छ । उहाँले यो योजना स्थानीयवासीका लागि आवागमन सहज बनाउने, व्यापार–व्यवसाय प्रवर्द्धन गर्ने तथा ग्रामीण क्षेत्रको विकासमा टेवा पुग्ने विश्वासका साथ अघि बढाइएको पनि बताउनुभयो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।