रामअधार यादव, राैतहट,१५ गते असाेज ।
रौतहटको कटहरिया नगरपालिका–९ डुमरियामा अवस्थित श्री बाबा बैजुनाथ सुगर मिलले आर्थिक वर्ष २०८२/०८३ मा उखु क्रसिङ तथा सञ्चालन गरे पनि उखु बिक्री गरेका किसानहरूले हालसम्म आफ्नो रकम तथा नेपाल सरकारबाट प्राप्त हुने अनुदानसमेत नपाएको विषय प्रतिनिधिसभाको बैठकमा उठाइएको छ।प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद धिरज पटेल (रविन्द्र) ले डुमरियास्थित श्री बाबा बैजुनाथ सुगर मिलमा उखु बिक्री गरेका किसानहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै सरकारको ध्यानाकर्षण गराउनुभएको हो।

उखु किसानहरूले उखु चलान गरेको करिब ९–१० महिना बितिसक्दा पनि आफ्नो उत्पादनको रकम नपाएको गुनासो गरेका छन्। उखु नगदे बालीका रूपमा खेती गरिने भए पनि उत्पादन बिक्री गरेपछि समयमै भुक्तानी नपाउँदा किसानहरू आर्थिक समस्यामा परेको उनीहरूको भनाइ छ।किसानहरूका अनुसार उखु चलान गर्ने समयमा सामान्यतः ७ देखि १५ दिनभित्र भुक्तानी गर्ने प्रक्रिया तथा प्रतिबद्धता रहने गरे पनि मिल सञ्चालन पक्षले सोअनुसार नियमित रूपमा रकम भुक्तानी नगरेको गुनासो छ। मिल सञ्चालन पक्षले आफूखुसी ढंगले भुक्तानी गर्दै आएको भन्दै किसानहरूले आपत्ति जनाएका छन्।

विशेषगरी हिन्दू धर्मावलम्बीहरूको महान् चाड दसैँ, तिहार तथा छठ पर्व नजिकिँदै गर्दा समेत उखुको रकम भुक्तानी नहुँदा किसानहरू थप समस्यामा परेको बताएका छन्। चाडपर्वको समयमा घरायसी खर्च, बालबालिकाको शिक्षा, स्वास्थ्य उपचार तथा अन्य आवश्यक खर्च जुटाउनुपर्ने अवस्थामा आफ्नो उत्पादनको रकम नपाउँदा आर्थिक भार बढेको किसानहरूको गुनासो छ।सांसद पटेलले किसानहरूले आफ्नो उत्पादनको रकमसँगै नेपाल सरकारबाट प्राप्त हुने अनुदानसमेत पाउन बाँकी रहेको उल्लेख गर्दै सम्बन्धित उद्योग तथा सरकारी निकायबीच आवश्यक समन्वय गरी किसानले पाउनुपर्ने सम्पूर्ण रकम तत्काल उपलब्ध गराउन सरकारसँग आग्रह गर्नुभएको छ।

उखु किसानहरूले आफूहरूले मेहनत गरेर उत्पादन गरेको उखुको रकम लामो समयसम्म रोकिँदा खेतीपाती तथा दैनिक जीवन सञ्चालनमा समेत कठिनाइ भइरहेको बताएका छन्। उनीहरूले चाडपर्वलाई समेत ध्यानमा राख्दै बाँकी रहेको उखुको रकम र सरकारले उपलब्ध गराउने अनुदान रकम यथाशीघ्र भुक्तानी गर्न सम्बन्धित निकायसँग माग गरेका छन्।डुमरियास्थित बाबा बैजुनाथ सुगर मिलका उखु किसानको भुक्तानीको विषय प्रतिनिधिसभामै उठेपछि लामो समयदेखि रकमको प्रतीक्षामा रहेका किसानहरूले अब आफ्नो समस्या समाधान हुने अपेक्षा गरेका छन्।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
गौर नगरपालिका–अन्तर्गत बी.पी. चोकमा सञ्चालित फुलतारा डेरीमा जिल्ला प्रशासन कार्यालय, जिल्ला प्रहरी कार्यालय, घरेलु तथा साना उद्योग कार्यालय तथा गुणस्तर तथा नापतौल सम्बन्धी निकायको संयुक्त टोलीले छापा मारेको छ।

अनुगमनका क्रममा डेरीले सञ्चालन गर्दै आएको भान्सा तथा होटलमा बिक्रीका लागि राखिएका मिठाईलगायत विभिन्न खाद्य सामग्री गुणस्तरहीन अवस्थामा भेटिएको टोलीले जनाएको छ। त्यस्तै, मिठाई तथा खाद्य सामग्री तयार गर्ने भान्सा अत्यधिक फोहोर तथा दुर्गन्धित अवस्थामा रहेको पाइएको बताइएको छ।

खाद्य सामग्रीको गुणस्तर तथा सरसफाइमा गम्भीर लापरबाही भेटिएपछि सम्बन्धित निकायले फुलतारा डेरीलाई २ लाख रुपैयाँ जरिवाना गरेको जनाइएको छ।टोलीले जरिवानाबापतको रकम एक साताभित्र बुझाउन निर्देशन दिएको छ। तोकिएको समयभित्र जरिवाना रकम नबुझाए डेरीमा सिलबन्दी गर्ने चेतावनी समेत दिइएको बताइएको छ।

अनुगमन टोलीले खाद्य सामग्रीको गुणस्तर, भान्साको सरसफाइ तथा उपभोक्ताको स्वास्थ्यसँग प्रत्यक्ष सम्बन्धित विषयमा व्यवसायीहरूलाई आवश्यक मापदण्ड पालना गर्न निर्देशन दिएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,१५ गते असाेज ।
कटहरिया । कटहरिया फिडरअन्तर्गत जलैया पुलदेखि दुधीयाभारसम्मको क्षेत्रमा विद्युत लाइन आसपासका झाडी तथा बुस कटिङ (झाडी सफाइ) गर्ने कार्य हुने भएको छ ।
उक्त कार्यका कारण आज दिउँसो १ बजेदेखि ३:४५ बजेसम्म सो क्षेत्रको विद्युत आपूर्ति अनियमित हुन सक्ने नेपाल विद्युत प्राधिकरण माैलापुर वितरण केन्द्रले जनाएको छ।
विद्युत लाइनको सुरक्षित सञ्चालन तथा सम्भावित अवरोध न्यूनीकरणका लागि बुस कटिङको काम गर्न लागिएको हो । निर्धारित समयभन्दा अगावै कार्य सम्पन्न भएमा सोहीअनुसार विद्युत आपूर्ति पुनः नियमित गरिने जनाइएको छ।
सम्बन्धित क्षेत्रका विद्युत उपभोक्तालाई कार्य अवधिमा विद्युत आपूर्ति प्रभावित हुन सक्ने भन्दै आवश्यक सावधानी अपनाउन आग्रह गरिएको छ।
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. विक्रम तिमिल्सिनाले टेलिफोन तथा इन्टरनेट सेवालाई भरपर्दो र गुणस्तरीय बनाउन सरकारले सेवा विस्तार, उपकरण थप तथा विद्युत् व्यवस्थापनलाई प्राथमिकता दिएको बताएका छन् ।
प्रतिनिधिसभाको बैठकमा प्रश्नको जवाफ दिँदै उनले चालु आर्थिक वर्षलाई मोबाइल सेवा विस्तार तथा सुधारको ‘रूपान्तरण वर्ष’का रूपमा अघि बढाउन लागिएको बताए। नेपाल टेलिकमका दुई सय नयाँ टावर निर्माणसम्बन्धी बोलपत्र मूल्याङ्कनको चरणमा रहेको उनले जानकारी दिए ।
त्यस्तै, देशभरका १ हजार ५९७ स्थानमा फोरजी सेवा विस्तार गर्न आवश्यक उपकरण खरिदको बोलपत्र यसै साता प्रकाशित हुने मन्त्री तिमिल्सिनाले बताए। विद्युत् अवरुद्ध हुँदा सेवा नरोकिने गरी टावरको ब्याट्री ब्याकअप क्षमता पनि बढाइँदैछ । उनका अनुसार पछिल्लो तीन महिनामा सातै प्रदेशका ६ सयभन्दा बढी स्थानमा ब्याट्री ब्याकअप परिवर्तन गरिएको छ । यसबाट विद्युत् अवरुद्ध हुँदा ग्रामीण क्षेत्रमा ८ देखि १० घण्टा र सहरी क्षेत्रमा ४ देखि ६ घण्टासम्म सेवा सञ्चालन गर्न सकिनेछ ।
भोटेकोशी बाढीबाट नेपाल टेलिकमको मोबाइल, तारयुक्त तथा मुख्य प्रसारण प्रणालीमा ८ करोड ८५ लाख १२ हजार ६८५ रुपैयाँ बराबरको क्षति भएको मन्त्रीले जानकारी दिए । रसुवा, नुवाकोट र धादिङका १२० साइटमध्ये ८३ साइटको सेवा बाढीका कारण अवरुद्ध भएको थियो ।
बाढीबाट पूर्ण रूपमा क्षतिग्रस्त तीन साइटबाहेक अन्य अवरुद्ध सेवा पुनः सञ्चालनमा ल्याइएको उनले बताए । टिमुरेमा हेलिकप्टरमार्फत सौर्य प्रणाली जडान गरी सेवा सञ्चालनमा ल्याइएको छ भने आवश्यक स्थानमा वैकल्पिक टावरबाट नेटवर्क कायम गरिएको छ ।
रसुवा, नुवाकोट र धादिङमा रहेको ६५.३ किलोमिटर फाइबर नेटवर्कमध्ये ३७.९ किलोमिटर क्षतिग्रस्त भएकोमा २७.४ किलोमिटर मर्मत भइसकेको मन्त्री तिमिल्सिनाले बताए । टिमुरे र रसुवागढी क्षेत्रमा क्षतिग्रस्त मुख्य प्रसारण सेवा हाल माइक्रोवेभ प्रविधिबाट पुनःस्थापना गरिएको उनले जानकारी दिए एभरेष्ट न्यूज एजेन्सी,
इटहरी । युवालाई व्यावहारिक सीप प्रदान गरी रोजगारका अवसरसँग जोड्ने उद्देश्यले सुनसरीको इटहरीमा आजदेखि ‘सीप तथा रोजगार मेला, २०८३’ आयोजना हुँदैछ ।
युवा, श्रम तथा रोजगार मन्त्रालयको आयोजनामा हुने मेला असोज २० गतेसम्म सञ्चालन हुनेछ । मेलाको उद्घाटन प्रतिनिधिसभाका सभामुख डोलप्रसाद अर्यालले गर्ने कार्यक्रम छ ।
युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादवको अध्यक्षतामा हुने उद्घाटन समारोहमा सांस्कृतिक झाँकीअन्तर्गत थारू नृत्य तथा नौमती बाजाको प्रस्तुति रहनेछ । उद्घाटनपछि युवालाई उद्यमशीलतातर्फ आकर्षित गर्ने उद्देश्यले ‘आजको युवा, भोलिको उद्यमी : सार्क संवाद’ शीर्षकमा विशेष छलफल आयोजना गरिनेछ । मेलाको मुख्य उद्देश्य युवाको सीप पहिचान गरी रोजगारदाता तथा तालिम प्रदायक संस्थासँग प्रत्यक्ष सम्पर्क स्थापित गराउनु रहेको मन्त्रालयले जनाएको छ ।
आज दिउँसो १२ बजेदेखि साँझ ५ बजेसम्म तालिमका सहभागी छनोट, प्रशिक्षार्थीको समूह विभाजन, रोजगार मिलानका लागि सीप परिचय तयार गर्ने, रोजगारदाता तथा तालिम प्रदायक संस्थाको परिचय र सूचना तथा परामर्श सेवा सञ्चालन गरिनेछ ।
भोलिदेखि असोज १९ गतेसम्म १० वटा विभिन्न विषयगत क्षेत्रमा पाँचदिने व्यावहारिक तालिम सञ्चालन हुनेछन् ।
मेला अवधिभर प्रदर्शनी कक्ष, सूचना तथा परामर्श सेवा, सम्बन्धित निकायमा सिफारिस, रोजगार मिलान तथा उद्यमशीलतासम्बन्धी छलफललगायत कार्यक्रम निरन्तर सञ्चालन हुनेछन् । एभरेष्ट न्यूज एजेन्सी,
रौतहट । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालका पूर्व रौतहट जिल्ला अध्यक्ष श्याम बिहारी यादवले पार्टी परित्याग गरेका छन्।
मंगलबार यादवले साधारण सदस्यसहित पार्टीमा आफूले सम्हाल्दै आएका सम्पूर्ण जिम्मेवारीबाट अलग भएको घोषणा गरेका हुन्।
यादवले पार्टी परित्याग गरेपनि अब कसरी अघि बढ्ने भन्नेबारे भने केही खुलाएका छैनन् । पार्टी नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै उनले पछिल्लो समय पार्टीमा कार्यकर्तालाई ‘दास र नोकर’को जस्तो व्यवहार गर्ने प्रवृत्ति बढ्दै गएको आरोप लगाएका छन्।
पार्टीको नीति, नियम, विधान र सिद्धान्तविपरीत गतिविधि हुँदै गएको भन्दै आफू बाध्य भएर पार्टीबाट अलग हुने निर्णयमा पुगेको यादवले बताएका छन्।
बारा, जीतपुरसिमरा उपमहानगरपालिका उपप्रमुख भोला प्रसाद अधिकारीको नेतृत्वमा अमलेखगञ्ज पुगेको टोलीले सडक र वन क्षेत्र अतिक्रमण गरे बनाइएका घर, टहरा हटाउन अवरोध गरेको हो ।
वन अधिकृत ललन राउत कुर्मीको नेतृत्वमा सोमबार एस्काभेटरसहित फिल्डमा पुगेको वनरक्षक र कर्मचारीको टोली जनप्रतिनिधिको अवरोधपछि खाली फर्केको थियो ।अमलेखगञ्ज ३ नम्बर पुल क्षेत्रमा ४ महिनाअघि (जेठ १ गते) डिभिजन वन कार्यालय, पर्सा राष्ट्रिय निकुञ्ज र सडक डिभिजन कार्यालय हेटौँडाले सडक र वनक्षेत्र अतिक्रमण गरी बनेका ७२ वटा घर, टहरा तथा होटल हटाएको थियो ।
तर, पछिल्लो समय स्थानीय जनप्रतिनिधिहरूकै बलमा सो क्षेत्रमा फेरि ६ वटा होटल तथा घर टहरा बनेका छन् । अतिक्रमण हटाउँदैछ भन्ने सूचना पाएर बिहानै अमलेखगञ्ज पुगेका जनप्रतिनिधिहरूले संघीय सरकारको निर्देशन नमान्ने अडान लिएपछि वन कार्यालय पछि हट्न बाध्य भएको थियो ।
उपप्रमुख भोलाप्रसाद अधिकारीले स्थानीय तहको अनुमती बिना संघीय सरकारले केही गर्न नसक्ने दाबी गरे । ‘संघीय सरकारको नेतृत्वमा रहेको जुनसुकै निकाय भए पनि स्थानीय निकायसँग सरोकार नराखी गरिने कुनै पनि काम वैध हुँदैन,’ उपप्रमुख अधिकारीले भने, ‘पहिला वन कार्यालयले आफ्नो अधिकार सुनिश्चित गरेर आउनुस् ।’
करिब ३ घन्टा लामो छलफलपछि चाडपर्वसम्म अतिक्रमण हटाउन कदम नचाल्ने सहमति भएको छ । जनप्रतिनिधि र वन कर्मचारीबिच चाडपर्वपछि जिल्ला प्रशासन कार्यालयमा सर्वपक्षीय छलफल गरेर निर्णय लिने सहमति भएको छ ।
वन अधिकृत ललन राउत कुर्मीले जनप्रतिनिधिको आग्रहपछि तत्काललाई स्थगित गरिए पनि स्थानीय तह आफैँले अतिक्रमित संरचना नहटाएको खण्डमा पछि वन कार्यालयले भत्काउने बताए ।
‘यो नकारात्मक सूचीमा परेको अतिक्रमित क्षेत्र हो । यहाँ घरटहरा बनाएर बसोबास वा व्यापार गर्न पाइँदैन । आज नभए भोलि हट्छ,’ उनले भने, ‘स्थानीय आफैँले समयमै खाली गर्दा उपयुक्त हुन्छ ।’
बाराका प्रमुख जिल्ला अधिकारी खडानन्द अधिकारीले जनप्रतिनिधिहरू आफैँ पुगेर अनुरोध गरेका कारण मुठभेडको स्थिति सिर्जना नहोस् भनेर केही दिनको लागि स्थगित गरिएको बताए ।
‘जनप्रतिनिधि आफैँ उभिएपछि मुठभेड नहोस् भन्नका लागि हामीले स्थानीयलाई खाली गर्न समय दिएर फर्किएका छौँ । यसको मतलब घरटहरा नहटाउने भन्ने होइन,’ प्रजिअ अधिकारीले भने, ‘केही दिनलाई समय दिएका छौँ । त्यस अवधिमा पनि खाली नभए डोजर लगेर हटाइनेछ । यसको अरु विकल्प छैन ।’
डिभिजन वन कार्यालय बाराका प्रमुख सुजितकुमार झाले अमलेखगञ्ज क्षेत्रमा यसअघि हटाइएका ३६ घरधुरी तथा ७२ वटा संरचनामध्ये २ वटा परिवारमात्रै वास्तविक सुकुमबासी भएको बताए । उनले दुधौरा पुलमुनिको बस्तीको हकमा करिब ५० घरधुरीमध्ये ६ देखि ८ घरधुरी सुकुमबासी रहेको र तिनीहरूले राज्यले व्यवस्थापनमा सहयोग गर्ने बताए ।
प्रमुख झाले जनप्रतिनिधिहरूले संगठित रूपमै गएर वनको काम हस्तक्षेत्र गर्नु गलत भएको टिप्पणी गरे । घरटहरा भत्काउन पुगेको वन कार्यालयको टोलीलाई रोक्न उपमहानगरका वडाध्यक्षहरू हिराबहादुर गुरुङ, धनबहादुर श्रेष्ठ, भोजबहादुर खत्री, दीपेन्द्र चौधरी, श्यामबाबु खाँ, हेमनारायण चौधरी, हरिदेव खरेल, सुभाष श्रेष्ठ, शेखरकाजी रुम्बा लगायत उपस्थित थिए ।
घरटहरा भत्काउन भने वन अधिकृत कुर्मी, वन अधिकृत मधुकान्त सिंहसहित डिभिजन वन कार्यालयका वन रक्षक र कर्मचारी पुगेका थिए भने इलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक (डीएसपी) दयाकृष्ण भट्टको नेतृत्वमा ७० जनाभन्दा बढी प्रहरी तैनाथ थिए ।
जनप्रतिनिधि र स्थानीयले समय माग गरेपछि सशस्त्र प्रहरीको टोलीलाई भने प्रमुख जिल्ला अधिकारीले पथलैयाबाटै फर्कन आदेश दिएका थिए । रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज १३ गते
रौतहट । रौतहटको गौर नगरपालिका–९ सिरसियामा मोटरसाइकलको ठक्करबाट ७२ वर्षीय नारायण बैठाको मृत्यु भएको छ ।
मंगलबार साँझ करिब ७ः४५ बजे गौरबाट हजमिनियातर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट बीआर २२ एच ६१५९ नम्बरको मोटरसाइकलले सडकमा उभिरहेका बैठालाई ठक्कर दिएको थियो ।दुर्घटनापछि चालक फरार भएका छन् । प्रहरीले चालकको पहिचान पर्साको वीरगन्ज घर भई हाल राजदेवी नगरपालिका–२ हजमिनियामा बस्दै आएका करिब २२ वर्षीय अमित भगतका रूपमा गरेको छ । फरार चालकको खोजी भइरहेको प्रहरीले जनाएको छ ।प्रहरीले दुर्घटनामा संलग्न मोटरसाइकल नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको छ । रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज ११ गते
नकपुरधाम । धनुषाको मिथिला नगरपालिकामा पहिरोले घर पुरिँदा एक महिलाको मृत्यु भएको छ भने परिवारका अन्य चार जनाको सकुशल उद्धार गरिएको छ।
आइतबार बिहान सवा ९ बजे मिथिला नगरपालिका–११ आँपगाछीमा राजन श्रेष्ठको एकतले टालीको छानो भएको घर पहिरोले पुरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।
घर पुरिएको सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय ढल्केवर र इलाका प्रहरी कार्यालय भिमान, सिन्धुलीको संयुक्त टोली घटनास्थलमा पुगेको थियो। घरमा रहेका पाँच जनामध्ये चार जनालाई सकुशल उद्धार गरिएको प्रहरी प्रवक्ता ओमप्रकाश खनालले जानकारी दिए।
खोज तथा उद्धारका क्रममा बिहान ११ बजे राजनकी श्रीमती ३५ वर्षीया कमला श्रेष्ठलाई मृत अवस्थामा फेला पारिएको थियो। उनको शव सरकारी अस्पताल बर्दिबास, महोत्तरी पठाइएको प्रहरीले जनाएको छ।
मधेश प्रदेशमा पछिल्लो दुई दिनदेखि लगातार वर्षा भइरहेको भए पनि आइतबार दिउँसो १२ बजेपछि मौसम सामान्य भएको प्रहरीले जनाएको छ।सभार रातोपाटी
बज्जिकाञ्चल संवाददाता असोज ११ गते
गौर । रौतहटमा प्रहरीले शनिबार छुट्टाछुट्टै स्थानबाट लागुऔषध गाँजा, भन्सार छली भारततर्फ लैजाँदै गरेको सोफी रक्सी तथा भारतबाट अवैध रूपमा भित्र्याइएका बोइलर कुखुरा बरामद गरेको छ ।
यमुनामाई गाउँपालिका–४ स्थित सरुअठादेखि झुलुङ्गे पुल जाने बाटोमा जाँच गर्ने क्रममा प्रहरीले ५ किलो २५० ग्राम गाँजासहित दुर्गाभगवती गाउँपालिका–१ का २६ वर्षीय पुजन साहलाई मोटरसाइकलसहित नियन्त्रणमा लिएको छ। साहको गुम्ती पसलमा खानतलासी गर्दा थप २५० ग्राम गाँजा बरामद भएको प्रहरीले जनाएको छ ।
त्यस्तै, राजदेवी नगरपालिका–९ ब्रह्मपुरीमा नेपालबाट भारततर्फ भन्सार छली लैजाँदै गरिएको ६४ कार्टुन सोफी रक्सी बरामद भएको छ । प्रहरीले रक्सी ओसार्न प्रयोग गरिएको इलेक्ट्रोनिक लोडरसहित चालक सोही स्थानका ४५ वर्षीय सुरेन्द्र गोसाईलाई पक्राउ गरी आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालयमा बुझाएको छ । बरामद रक्सीको मूल्य करिब ६७ हजार २०० रुपैयाँ रहेको छ ।
यसैगरी, परोहा नगरपालिका–८ नरकटिया आँप बगैँचाबाट भारतबाट अवैध रूपमा ल्याइँदै गरेको १३७ वटा बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ । पाँच वटा साइकलमा ल्याइँदै गरेको ४११ किलो कुखुरा, अन्दाजी १ लाख २३ हजार ३०० रुपैयाँ मूल्य बराबरको रहेको प्रहरीले जनाएको छ । बरामद कुखुरा स्थानीय जनप्रतिनिधि तथा सर्वसाधारणको रोहबरमा नष्ट गरिएको प्रहरीले जनाएको छ । सभार रातोपाटी