आरके श्रीवास्तव,गरुडा,२६ गते चैत ।
रौतहट । रौतहट प्रिमियर लिग आजदेखी सुरु भएको छ । राष्ट्रिय क्रिकेटर अनिल साह सहित दर्जनौं राष्ट्रिय खेलाडी सम्मिलित आरपिएलको पहिलो संस्करणको भव्य उदघाटन गरिएको छ । जिल्ला सदरमुकाम गौर स्थित रहेको राइस मिलको फिल्डमा उदघाटन सत्रको कार्यक्रम आयोजन गरिएको थियो ।

रौतहट क्रिकेट संघका उपाध्यक्ष मनोज शर्माको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथीको रुपमा गौर नगरपालिकाका नगर प्रमुख शम्भु साह रहनु भएको थियो ।

रौतहट क्रिकेट संघको आयोजनामा सुरु भएको सो लिगमा गौर नगरपालिका,जनकपुर बोल्टस,मधेस प्रोभिन्स क्रिकेट टिम र वल्र्ड लिंक सहयोग रहेको छ । जसमा जिल्लाका पाँच वटा टिम सहभागी छन् । गौर वारियर्सल ,तराई टाईगर ,गुजरा राइडर्स,कटहरिया बोल्टस र राजदेवी सुपर किंग्स सहभागी छन् ।

उदघाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथी मेयर साहले यस्ता लिगले नै राष्ट्रिय स्तरको खेलाडी उत्पादन हुने बताए । त्यस्तै रौतहटका प्रमुख जिल्ला अधिकारी बिनोद खड्काले खेलको माध्यमबाट यूवाहरुलाइ स्वस्थ,अनुशासित बनाउने तथा अनुशासित जिवनशैली बाट राष्ट्र निर्माणमा महत्वपूर्ण योगदान दिने यो जमर्को रौतहट क्रिकेट संघले जुन गरेको छ । एकदमै सराहनीय छ । यो प्रतियोगिता सफलहोस् भनि शुभकमना व्यक्त गर्नु भएको थियो ।

त्यसैगरी रौतहट प्रहरी प्रमुख एसपी दिलिप घिमिरले पछिल्लो समय क्रिकेट खेलप्रती क्रेज बढदै गएको छ । यस्ता प्रतियोगितामा खेलाडीलाइ खरिद गर्ने भएकोले मनोरंजनका साथसाथै पेशाको रुपमा पनि अंगाल्न सक्ने हौसला प्रदान गरेको बताएका छन् । यो लिगले एउटा छुट्टै पहिचन बनाउन सफलहोस् भनि शुभकामना पनि व्यक्त गर्नु भएको थियो ।

मंगलावार भएको उदघाटन खेलमा तराई टाईगर गरुडा विजयी भएको छ । टस जितेर गौर वारियर्सले पहिला बैटिङ्ग गर्ने निर्णय गरेको थियो । निर्धारित २० ओभरमा गौर वारिर्यसले १ सय ३९ रन बनाएको थियो । १ सय ४० रनको टारगेट पाएको तराइ टाइगर गरुडाले ५ विकेटले जित निकाल्न सफल भएको थियो ।
खेलमा मैन अफ द मैच तराइ टाइगरका तिर्थराज लाइ घोषणा गरिएको थियो ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२६ गते चैत ।
राैतहट । प्रभु साह नेतृत्वकाे आम जनता पार्टी (आजपा) का वरिष्ठ उपाध्यक्ष उपेन्द्र साहले पार्टी परित्याग गरेको घोषणा गरेका छन् ।
समाजिक सञ्जाल फेसबुकमा स्ट्याटस लेख्दै वरिष्ठ उपाध्यक्ष साहले आजको मितिको देखि आम जनता पार्टीको साधारण सदस्य समेत नरहने गरी पार्टीबाट अलग भएका हुन् । पार्टीको स्थापना कालदेखि नै पार्टीमा सक्रियताका साथ लागेका आजपाका वरिष्ठ उपाध्यक्ष साह आज पार्टीबाट अलग भएको घोषणाबाट आजपमा हलचल मचेकाे छ ।
सामाजिक संजालमा अहिले उनकै चर्चा देखिएको छ ।
आजपाको तेश्रो जनआन्दोलनको सुरुआतको भोली पल्टै वरिष्ठ उपाध्यक्षको पार्टी परित्याग गरिनु अर्थपूर्ण रहेको बुझिएको छ ।
पार्टीको केन्द्रीय वरिष्ठ उपाध्यक्षले नै पार्टीबाट राजीनामा दिदाँ अब आजपाको भविष्य के होला भनी अड्कलबाजी चल्न थालेको छ । पार्टीका अध्यक्ष प्रभु साह संग लामो समय देखि नेता साह सहयात्रा गर्दै आएका थिए तर आज एकाएक नेता साहले प्रभु साह संगको लामो सहयात्रा चुडिएका छन् ।
आजपाको लागि नेता साहले महत्वपूर्ण योगदान दिएका थिए । आजपाबाट एक वर्ष अघि केन्द्रिय नेता एवं पूर्व प्रदेश सांसद कुन्दन कुशवाहाले पनि राजीनामा दिएर एमालेमा प्रवेश गरेका थिए । कतै उपेन्द्र साह पनि एमालेमा जाने त होइन भन्ने आंकलन गर्न थालिएको छ।
आरके श्रीवास्तव,राैतहट,२६ गते चैत ।
राैतहट । आज जनता समाजवादी पार्टी नेपाल राैतहटकाे जिल्ला अधिवेशन हुँदैछ । यसकाे लागि सम्पूर्ण तयारी पुरा भएको जनाइएको छ । आज चैत २६ र भाेली २७ गते जिल्लाकाे मध्य भाग गरूडा जिल्ला अधिवेशन हुन लागेकाे हाे ।
जसपा नेपाल राैतहटकाे पालिकाकाे अधिवेशन सकिए लगत्तै जिल्ला अधिवेशन गर्न लागेको हाे । जसमा पार्टीका केन्द्रीय अध्यक्ष उपेन्द्र यादव सहभागी हुने जसपा नेपाल राैतहटका जिल्ला अध्यक्ष श्यामबिहारी यादवले यसअघि नै जानकारी गराईसकेका हुन् ।
पार्टीको निर्देशनअनुसार जिल्ला अधिवेशनको सबै तयारी पूरा भइसकेको उनले जनाएका हुन् । जसपा नेपाल राैतहटकाे अधिकांश पालिकाकाे अधिवेशन पूरा भएकाले चैत २६ गते उद्घाटन र चैत २७ गते नेतृत्व चयन गरिने अध्यक्ष यादवकाे भनाइ छ ।
अधिवेशनका लागि सबै पालिकाबाट प्रतिनीधि छान्ने काम भइसकेको उनले बताएका छन् ।
जसपा राैतहटमा सकेसम्म सर्वसम्मत नेतृत्व चयनका लागि पहल गर्न निर्देशन आएकाे छ । त्यही अनुसार हामी गर्छाैं । यदि सहमति हुन नसकेको अवस्थामा निर्वाचनको विधि अवलम्बन गर्ने निर्देशन भएको छ ।
यता जसपा नेपाल राैतहटकाे अध्यक्ष पदमा दुईजना आकांक्षी उम्मेदवार देखिएका छन् । गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादव र बाैधीमाइ नगरपालिकाका पूर्व राजिव रंजन यादवले आ-आफनाे उम्मेदवारी घाेषणा गरेका छन् । कतिपयले वर्तमान जिल्ला अध्यक्ष यादवलाई नै निरन्तरता दिनुपर्ने धारणा राखिरहेका छन् ।
बज्जिकाञ्चल संवाददाता,गाैर,२५ गते चैत ।
राैतहट । बाैधीमाई नगरपाकाको पुर्व नगरप्रमुख राजिव रन्जन यादवले जनता समाजवादी पार्टीका जिल्ला अध्यक्ष पदका लागि ईच्छुक रहेको बताएका छन । जसपा राैतहटका लोकप्रिय युवा नेता समेत रहेका यादवले बाैधीमाई नगरपालिका ४ ईनबारी स्थित आफनै निवासमा सोमबार पत्रकारसंग कुरा गर्दै आफु अध्यक्ष पदमा सर्वसम्मत वा निर्वाचन प्रकृयाबाट पनि तयार रहेकाे खुलासा गरेका हुन।
जनता समाजवादी पार्टीका राैतहट जिल्ला स्थित वरिष्ठ नेता गाेविन्द चाैधरी , राम किशाेर यादव (किशोरी यादव) , अब्दुल कलाम आजाद भन्ने शेख फुलबाबु र याेगेन्द्र यादवले गरेको निर्णय समेत आफु मान्न तयार रहेको बताए । उहाहरुले आफुलाई जिम्मेवारी दिन तयार भए आफु अध्यक्ष पदमा सर्वसम्मत वा निर्वाचन प्रकृयाबाट पनि तयार रहेकाे बताएका छन। यहीँ चैत २६ र २७ गते जनता समाजवादी पार्टी नेपाल रौतहट जिल्ला कार्य समितिको जिल्ला अधिवेशन हुन गइरहेको छ । एक विशेष स्रोतका अनुसार जिल्ला अध्यक्ष पदमा बौधिमाई नपाका पूर्व-मेयर राजीव रंजन यादव उर्फ राजुको उम्मेदवारी हुने पक्का नै रहेका छन । जिल्ला अध्यक्ष पदमा चुनाव भए अरु जाे सुकै उमेदवार हाेस तर राजिव रंजन उमेदबार हुने पक्का रहेको स्रोतले दाबी गरेका छन ।
विगत लामो समयदेखि निरन्तर जसपा नेपालमै रही आफ्नो राजनीतिक यात्रा अगाडि बढाउदै आएका र अबको देशको हरेक क्षेत्रमा युवा वर्गको खोजि भइरहेकोले रौतहटको आगामी जसपा नेपालको जिल्ला अधिवेशनमा यसपालि जसरी भएपनि राजु यादवलाई नै जिम्मेवारी दिने वातावरण भइसकेको एकजना पार्टी निकटका नेताले बताए ।
प्रेमचन्द्र झा,गाैर,चैत्र २५ गते
राैतहट । राजदेवी नगर पालिका वडा नम्बर २ हजमिनिया निवासी व्यक्तित्व पूर्व गाविस अध्यक्ष हरिमान राजवंशी को निधन भएको छ । उहाँको उपचारको क्रममा २०८१। १२।२२ गते शुक्रबारको दिन काठमाडौँमा निधन हुन गएको हो। उहाँको निधनले हजमिनिया गाउँवासी नै शोकाकुल भएको छ। उहाँले यस गाउँको लागि दिनुभएको समय २०२८ सालदेखि २०४६ सालसम्मको लगातार पञ्चायती व्यवस्थाको गाउँ पञ्चायतको प्रधानपञ्च (मुखिया ) र फेरि मुलुकमा प्रजातन्त्र बहाली भएपछि २०५४ सालदेखि २०५९ सालसम्म गाविस अध्यक्षमा जितेर पुरै आफ्नो जीवनकाल जनताको सेवामा व्यतीत गरे । यस गाविसको लागि दिनुभएको माया स्नेह प्रेम र गाउँ क्षेत्रको लागि गर्नुभएको विकास प्रति यस गाउँका जनताहरु सधै भरी याद गरि रहने छ। गाउँको अभिभावक अति मिलनसार उच्च विचार सरल स्वभावको धनी हरिमान राजवंशी भाैतिक रुपमा यश संसारबाट सधैका लागि विदालिए पछि स्थानीय जनसमुदाय उहाप्रति हार्दिक श्रद्वाञ्जली भनेका छन ।
प्रेमचन्द्र झा,गाैर,चैत्र २५ गते
राैतहट। परोहा नगरपालिका वडा नम्बर ३ तेजापाकड स्थित विष्णुमहायज्ञको तयारी अन्तिम अवस्थामा पुगेकाे छ । विश्व कल्याणका लागि हुन लागेकाे साे महायज्ञको कलस यात्रा यही चैत्र ३१ गते हुन लागेको हो । बाैधीमाई मन्दीर परिषरमा हुनलागेको सो यज्ञमा करिब ३५ लाख रुपैया खर्च हुने अनुमान गरिएको छ। आयोजक समितिका प्रमुख रसिक रामचन्द्र दासले दिएको जानकारी अनुसार यज्ञलाई सभ्य ,भव्य एवं विधि पुर्वक सम्मन गर्न परोहा नगरपालिका र अन्य स्थानीय दानी दाताहरुले खुशी खुशी सहयोग गरि रहेको बताए । सो २३ कुण्डिय विष्णु महायज्ञका लागि आवश्यक पर्ने विशाल मण्डप स्थानीय जनताले आफै बनाएको यज्ञका प्रमुख आचार्य गाैरी शंकर तिवारीले बताए । विष्णु महायज्ञ यज्ञको २०८२ साल बेैशाख ०९ गते समापन हुने कार्यक्रम रहेको बताउदै आचार्य तिबारीले महायज्ञमा ५२ अबतारकाे मुर्ति सहित अन्य देवी देवताकाे मुर्ति तथा वृन्दावनका विद्वान कथा वाचक द्दारा भागवत कथा वाचन प्रवचन र रासलिला सहित अन्य खेलकुदकाे ब्यवस्था गरिएको भने ।
जनकपुरधाम —लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको मधेश प्रदेश संसदीय दलको नेतामा जयनुल राइन चयन भएका छन्। पार्टी अध्यक्ष महन्थ ठाकुरले राइनलाई प्रदेश संसदीय दलको नेताको जिम्मेवारी दिएका हुन् ।

ठाकुरको हस्ताक्षरसहितको पत्र पठाउँदै लोसपाले सोमबार मधेश प्रदेश सभामुख रामचन्द्र मण्डललाई समेत त्यसबारे जानकारी गराएको छ।
यसअघि दलका नेता रहेका अभिराम शर्मा मधेश आन्दोलनमा असई थमन विक हत्या काण्डमा दोषी ठहर भएपछि प्रदेश सभाले गत बैशाख २१ गते बर्खास्त गरेको थियो। त्यसयता लोसपा दलको नेता पद रिक्त थियो। अध्यक्ष ठाकुरले प्रदेश सभामा पठाएको पत्रमा अर्को व्यवस्था नभए सम्मको लागि राइनलाई नेता मनोनयन गरिएको उल्लेख छ ।
‘लोकतान्त्रिक समाजवादी पार्टी नेपालको अन्तरिम विधान प्रथम संशोधित अनुसार मधेश प्रदेश सभामा संसदीय दलको नेतामा प्रदेश सभा सदस्य जयनुल राइनलाई अर्को व्यवस्था नहुन्जेल सम्म मनोनयन गरिएको व्यहोरा जानकारी साथ अनुरोध छ,’पत्रमा उल्लेख छ । सभार ईकान्तिपुर
बज्जिकाञ्चल संवाददाता ,राैतहट,२५ गते चैत ।
राैतहट । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)निकट पत्रकारको संस्था लोकतान्त्रिक पत्रकार संघको तदर्थ समिति गठन गरिएको छ । सर्लाहीका पत्रकार कामेन्द्र वर्माको संयोजकत्वमा २१ सदस्यीय समिति गठन भएको हो।
समितिको सदस्यमा गोरखाकी कुसुम भण्डारी, सर्लाहीका चन्द्रमोहन चौधरी, बाराका अनिल वर्मा, बाराका विजेन्द्रकुमार चौधरी, सिरहाका रानी पाल, महोत्तरीका संजीवकुमार झा, मोरङका शिवम मिश्र, सप्तरीका अशोककुमार झा, सप्तरीकै सतिशकुमार चौधरी, सर्लाहीका कृष्णमुरारी मिश्र सदस्य रहेका छन्।
त्यस्तै काठमाडौँका देवानन्द झा, रौटहटका दिलिप पाण्डे, रौतहटकै राधेश्याम साह, पर्साका मुकेशकुमार साह, पर्साकै रेयाज आलम मुकेरी, धनुषाका विपेन्द्रकुमार साह, रुपन्देहीका विरु कहार, रुपन्देहीकै हृदयराम गुप्ता, सुनसरीका देवराज यादव, महोत्तरीका विजयकुमार झा सदस्य छन्।
लोसपाका अध्यक्ष महन्थ ठाकुरले संघको नयाँ पदाधिकारीलाई बधाई तथा शुभकामना दिएका छन्। ‘देश, मधेस एवं पार्टीको हितममा यहाँको कार्यकाल उपलब्धि मुलक हुनेछ भन्ने विश्वासका साथ शुभकामना व्यक्त गर्दछौं’ ठाकुरले भनेका छन् ।
पार्टीको संशोधित विधानअनुसार वर्मा संघको संयोजकमा नियुक्त भएका हुन् । यसअघि जसपाबाट विभाजन भई गठन भएको लोसपाको पत्रकारको संगठन थिएन्। पत्रकार संघको गठन गरेको लोसपाले देशैभरी संगठन निर्माणसँगै पत्रकारको हकहितमा काम गर्न निर्देशन समेत गरेको छ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२४ गते चैत ।
रौतहटको कटहरिया बजारमा प्रत्येक वर्ष लाग्दै आएको चैती नव दुर्गा पुजा यस वर्ष पनि लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल अष्टमीका दिन मनाइने चैते दुर्गा पुजा यसवर्ष पनि गरिएको छ ।
कटहरियामा आश्विन शुक्ल पक्षको नवरात्रमा प्रतिपदाका दिनदेखि नै घटस्थापना गरि भव्य रूपमा पूजापाठ गर्ने गरिन्छ । यहाँ आश्विन र चैत गरि वर्षमा दुईचाेटी दुर्गा पूजा हुँदै आएको छ ।
आईतवार राति साे दुर्गा मेलामा भएको सांस्कृतिक कार्यक्रमलाई निर्माण व्यवसायी संघ राैतहटका जिल्ला सचिव एवम् कटहरिया नगरपालिकाका भावी मेयर उम्मेदवार श्रीकान्त यादवले समुदघाटन गर्नु भएको छ ।
यादव पछिल्लो समय सामाजिक कार्यमा सक्रिय हुन थालेका छन् । आफ्नो नगर लगायत जिल्लाकाे विभिन्न ठाउँमा हुने धार्मिक कार्यक्रमहरूमा सहयोगीकाे भूमिका निर्वाह गर्दै आएका छन् । उनकाे याे कदमलाई धेरैले सराहना गर्दै आएका छन् ।
दुर्गा पुजा समितिका अध्यक्ष प्रकाश श्रेष्ठकाे अगुवाइमा भएको उदघाटन कार्यक्रममा यज्ञकर्ता छाेटेलाल मिश्रा, स्थानीय भद्वभलादमी बुद्धिजीवी संचारकर्मी लगायत स्थानीयहरुकाे बाक्लो उपस्थिति रहेको सञ्चारकर्मी सागर संगम ठाकुरले बताएका छन् ।
काठमाडौं, २४ चैत्र । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देश लुटेर खाने र खोक्रो बनाउने चोर र दलाल नेताहरूलाई तत्काल सिंहदरबार खाली गर्न चेतावनी दिएका छन् । आज जनआन्दोलन दिवसको अवसरमा पार्टीले आयोजना गरेको तेस्रो जनआन्दोलनको ऐतिहासिक सभालाई सम्बोधन गर्दै अध्यक्ष साहले चोर नेताहरुले जतिसक्दो चाँडो सिंहदरबार खाली गर्दा नै उनीहरुको भलाई हुने चेतावनी दिएका हुन् । लोकतन्त्रको नाममा लुटतन्त्र र भ्रष्टाचारको साम्राज्य खडा गर्नेहरुले सिंहदरबार खाली गर्न ढिलाई गरे जनताले सिंहदरबारभित्र छिरेर कठालोमा समातेर गलहत्याउने उनको उद्घोष छ ।
सम्बोधनको सुरुवातमै आक्रोश बोकेर पेश भएका पूर्वमन्त्री साहले नेताहरुको व्यवहारलाई कडा प्रश्न गरे । उनले भने,‘यी चोर नेताहरुलाई म सोध्न चाहन्छु–के तिमीहरुलाई राजा बनाउनको लागि नेपाली जनताले लडेका थिए ? तिमीहरुको छोराछोरीलाई विदेशमा मोजमस्ती गरुन् भनेर हामीले आन्दोलन गरेका थियौं ? के तिमीहरुलाई र तिमीहरुको खानदान, दर खानदानसम्मलाई पुग्ने अकुत सम्पत्तिको मालिक बनाउनको लागि लडेका थियौं ?’
साहले जनआन्दोलन र जनयुद्धपछि प्राप्त उपलब्धिहरु पनि अहिलेका शासकहरुले बेचेर खाएको गम्भीर आरोप लगाए । ‘देशलाई बन्धकी राखेर तिमीहरुको स्वार्थपूर्ति गर्न त हामी लडेका थिएनौं नि, नेपाली युवाहरुलाई विदेशमा मार्न तिमीहरुलाई नेता बनाएका हौं ? तिमीहरुको आसेपासेलाई मोटाउन हामी युद्ध लगेका थियौं र ?’ साहले आज देशमा नेताहरुको आसेपासे मालामाल भएको तर जनता बेहाल अवस्थामा रहेको चित्रण गरे । उनले भने,‘हामी हेर्न सक्छौं, लुट र भ्रष्टाचार बढेको छ, जनता लाचार बन्नुपरेको छ । नेताहरुको छोराछोरी विदेशमा मोजमस्ती गरिरहेका छन्, तर गरिबका छोराछोरी परिवार पाल्नको लागि विदेशमा मरिरहेका छन् । देश उजाड छ, जनता निराश छन् । नेताहरु मस्तीमा छन्, जनता सास्ती भोगिरहेका छन् ।’
साहले देशमा अहिले बिना घुस र कमिशन कुनै काम हुन नसक्ने बाध्यता सुनाए । जनताको करबाट बनेको बजेट आज टाउके नेताहरुले निजी सम्पत्तिजस्तो अंशबण्डाझैं भागबण्डा लगाएर खाईरहेको उनको गम्भीर आरोप छ । उनले भने,‘जल बेचे, जमिन बेचे, जंगल बेचे, यी चोर नेताले आज हुँदाहुँदै जनतासमेत बेचिरहेका छन् । लुटेराहरुले देशको सम्पत्ति खुलेआम विदेशमा थुपारिरहेका छन् ।’ कहिल्यै कसैको गुलाम नभएको देशलाई अहिलेका चोर नेताहरुले विदेशीको गुलाम र दलाली गर्दा आज नेपाल र नेपालीहरुको इज्जत तारतार भएको उनको आरोप छ ।
उनले शहीदहरुको रगतको व्यापार भैरहेको पनि टिप्पणी गरे । उनले भने,‘अहिले शहिदरुको रगतको व्यापार भैरहेको छ, बदलावको बहाव बरालिएको छ, आन्दोलनका वीर योद्धाहरु विक्षिप्त छन् । नेताहरुको कुकर्म र अत्याचारले देश अँध्यारो सुरूङमार्गमा फसेको छ ।’ साहले आफूहरुले थालेको आन्दोलनको वेगलाई अहिलेका चोर नेताले रोक्न नसक्ने चेतावनी दिए । ‘इतिहास साक्षी छ, नदीको प्रवाहलाई कसैले छेक्न सकेको छैन, हावाको बहावलाई कसैले रोक्न सकेको छैन, त्यसैले याद राख–तिमीहरुले हाम्रो आन्दोलनको वेगलाई रोक्न सक्ने छैनौं । हिजो नेपाली जनताले राणालाई भगाएकै हो, राजालाई हटाएकै हो, अब तिमीहरु भ्रष्ट, दलाल र लुटेराहरुलाई लखेट्ने निश्चित् छ ।’
साहले छोटे राजाहरुले काठमाडौंमा कवाड व्यवसाय र मजदुरहरुमाथि चरम अत्याचार गरेको भन्दै काठमाडौं महानगर र यसको नेतृत्व बालेन्द्र शाहको ज्यादतीको पनि भण्डाफोर गरेका थिए । उनले कवाडमा आवद्धहरुलाई राज्यले राम्रो काम गरेको भनेर पुरस्कृत गर्नुपर्नेमा उल्टै अपराधीजस्तो दुःख दिएको र आतंकको वातावरण सिर्जना गरेको भन्दै त्यसको विरोध गरे । काठमाडौंजस्तो संघीय राजधानीमा खोला किनारामा बसेका सुकुम्वासीहरुलाई पिउने पानीमा नाकाबन्दी लगाएर राज्यले मानवताविरोधी अपराध गरेको भन्दै साहले कडा आपत्ति जनाए ।
उनले भने,‘युद्ध लड्दापनि दुश्मनलाई पानी रोकिँदैन्, तर यहाँ संघीय राजधानी काठमाडौंमा त सुकुम्वासीहरुलाई राज्यले पिउने पानी रोकेर मानवताविरोधी अपराध गरेको छ, यो अपराध अक्षम्य छ, म सरकारलाई चेतावनी दिन्छु–यो हदसम्मको अपराध गर्न मिल्छ ? तपाईंहरु मानवता हराएको मान्छे हो भन्ने थाहा छ, तर यो तहको मानवताविरोधी अपराध गर्न मिल्छ ?’ उनले सरकारमा बसेर निमुखा जनतामाथि राज्य बर्बरता र मानवताविरोधी अपराध गर्ने जो÷कोहीलाई पनि जनताले अब नछोड्ने चेतावनी दिए ।
उनले जनतामाथि दुनियाँमा नभएको कर आतंक मच्चाईएको भन्दै तत्काल त्यो कर आतंक रोक्नपनि माग गरे । नेपालमा दुनियाँमा नभएको तीन तहको ७६१ वटा सरकारले मनोमानी ढंगले कर आतंक सिर्जना गरेको र तर त्यसको बदलामा केहीपनि सुविधा नदिएको भन्दै अब जनता करको सास्ती खेपेर बस्ने अवस्थामा नभएको भन्दै उनले कर बहिष्कारको लागि आम जनतासामू अपिल गरे । उनले नेपालमा बैंक, लघुवित्त र सहकारीको समस्यापनि चरम सिमामा पुगेको भन्दै जताततै ठगिनेमा जनता नै परेको भन्दै चिन्ता व्यक्त गरे ।
उनले नेपालमा बैंकरहरु नै मालिक र ऋणी बनेको भन्दै यो अपराधपनि अब स्विकार्य नहुने चेतावनी दिए । उनले दलित आवासको नाममा पनि निमुखा दलितहरुमाथि अत्याचार गरेको भन्दै कडा आपत्ति जनाए । उनले आजको युगमा ७५ हजारमा आवास बन्छ ? भन्दै सरकारमा बसेकाहरुलाई प्रश्न गरे । उनले भने,‘तिमीहरु लाखौंको वस्त्रधारण गर्ने अनि दलित आवास चाहीा ७५ हजारमा बनाउने भनेर ठग्ने काम गर्छौं, अब यो स्विकार्य हुँदैन् ।’
सिंगो देश र जनताले गौरव गर्नुपर्ने किसान आज पिल्सिनुपरेको र गरिबीमा बाँच्नुपर्ने अवस्थामा पुर्याउने नेताहरुलाई कुनैपनि हालतमा अब जनताले नछोड्ने अर्को चेतावनी दिए । उनले तत्काल किसानलाई पेन्सन दिनपनि सरकारलाई आग्रह गरे । श्रेणिविही कर्मचारीलाई तत्काल लोकसेवा खुलाएर स्थायी गर्नपनि साहको माग छ । उनले सरकारले प्राकृतिक स्रोत र सम्पदाको दोहन गरेको भन्दै त्यसमा पनि विरोध जनाए ।
वैदेशिक रोजगारीमा भैरहेको ठगीमा सरकार नै साझेदार बनेको र उल्टै आफ्ना नागरिकलाई लुट्ने काम गरेको साहको गम्भीर आरोप छ । उनले भने,‘नेपाली युवाहरु ठगिएको बारेमा मैले संसद्मा आवाज उठाएँ, प्रधानमन्त्रीले म मेनपावर हुँ भन्नुभयो, तपाईं मेनपावर नभएको भए कसरी जनता विदेश गैरहेका छन्, श्रम स्विकृति कसले दिएको छ ? डिमाण्ड लेटर कसले बनाउँछ ? म भन्छु वैदेशिक रोजगारीको सवालमा सरकार नै एक नम्बरको र ठूलो मेनपावर हो । यस क्षेत्रमा हुने ठगीको जिम्मा सरकार र प्रधानमन्त्रीले लिनुपर्छ ।’
जनआन्दोलन दिवसको अवसरमा दलाल दलतन्त्रको लुट एंव भ्रष्टाचार विरुद्ध आजपाद्वारा काठमाडौंमा आयोजित तेस्रो जनआन्दोलनको बिरोध प्रदर्शन समेत भएको छ ।
प्रदर्शन भृकुटीमण्डपबाट शुरु भएर भद्रकाली, सहिद गेट, सुन्धारा, रत्नपार्क, जमल, घणटघर हुँदै पुन भृकुटीमण्डपमै पुगेर सभामा परिणत भयो ।
आजपाकाे आन्दोलनमा देखिएको दृश्य फाेटाे फिचर:
