२०८२ चैत्र २३
२०८२ चैत्र २३

आरके श्रीवास्तव,राैतहट,१५ गते माघ ।
गरुडा । रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले आज बिहानै गरुडा नगरपालिका–५ मा अवस्थित ऐतिहासिक तथा प्रसिद्ध शिवनगर महादेव मन्दिरमा पुजाआजा तथा दर्शन गर्नुभएको छ ।


उहाँको पूजा–अर्चना मन्दिरका महन्थ कृष्णदेव गिरीले विधिपूर्वक गराउनुभएको थियो । धार्मिक आस्थाको केन्द्र मानिने उक्त मन्दिरमा दर्शनपछि उम्मेदवार चौधरीले मन्दिरको संरक्षण, विकास तथा प्रवर्द्धनका लागि आफूले विगतदेखि नै पहल गर्दै आएको र आगामी दिनहरूमा पनि निरन्तर सहयोग रहने प्रतिबद्धता व्यक्त गर्नुभयो ।


उक्त अवसरमा जसपा नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का जननिर्वाचन परिचालन समितिका संयोजक रामप्रवेश दास, गरुडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादवलगायत जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।


धार्मिक, सामाजिक तथा जनसेवामूलक कार्यमा निरन्तर सक्रिय रहँदै आएका उम्मेदवार चौधरीको यस प्रकारको सहभागिताले स्थानीयवासीबीच सकारात्मक सन्देश प्रवाह भएको सहभागीहरूले बताएका छन् । चुनावी भेटघाटको व्यस्ततालाबीच पनि धार्मिक स्थलमा पुगेर आस्था प्रकट गर्नुले उहाँको संस्कार, मूल्य र समुदायप्रतिको सम्मान झल्काउने उनीहरूको भनाइ छ ।

आरके श्रीवास्तव,राैतहट,१४ गते माघ । 

कटहरिया । प्रेस चौतारी नेपाल रौतहट शाखाको आज बुधबार बसेको बैठकले स्वर्गीय फणिदेव महतको स्मृतिमा पत्रकारिता पुरस्कार स्थापना गर्ने निर्णय गरेको छ । सो पुरस्कार सञ्चालनका लागि अक्षयकोष स्थापना गरिने निर्णयसमेत बैठकले गरेको चाैतारी राैतहटका सचिव मुकेश कुमार साहले जानकारी गराएका हुन् ।

अक्षयकोष स्थापनाका लागि नेकपा (एमाले) को तर्फबाट रौतहट क्षेत्र नं. ४ का उम्मेदवार रामजी साहले २५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ । यस्तै, प्रेस चौतारी नेपाल मधेश प्रदेशका इन्चार्ज तथा केन्द्रीय सदस्य अच्युत पौडेलले नगद ५ हजार रुपैयाँ सहयोग गर्ने घोषणा गर्नुभएको छ ।

प्रेस चौतारी नेपाल रौतहट शाखाले अक्षयकोष स्थापना कार्यमा सहयोग गर्ने सम्पूर्ण सहयोगदाताप्रति धन्यवाद व्यक्त गरेको छ । साथै आगामी दिनहरूमा शाखाले पत्रकारिताको व्यावसायिक विकास, क्षमता अभिवृद्धि तथा थप परिस्कृत र रचनात्मक गतिविधिहरू गर्दै जाने प्रतिबद्धता जनाएको छ ।

स्व. फणिदेव महत स्मृति पत्रकारिता पुरस्कारले जिल्लामा क्रियाशील पत्रकारहरूलाई प्रोत्साहन गर्ने विश्वास लिइएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,१४ गते माघ ।
रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टीका उम्मेदवार गोविन्द चौधरीले आज गुजरा नगरपालिकाको वडा नम्बर ७ अन्तर्गत परसवा, पल्टुवा र खतबैया गाउँमा मतदातासँग प्रत्यक्ष भेटघाट तथा अन्तरक्रिया गरेका छन् ।


भेटघाटका क्रममा पूर्व मन्त्री समेत रहेका उम्मेदवार चौधरीले आफू जनताको निरन्तर आग्रह र चाहनाका कारण उम्मेदवार बनेको स्पष्ट पार्दै चुनाव जितेपछि क्षेत्रवासीको साझा सहभागितामा सर्वपक्षीय सचिवालय गठन गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । उक्त सचिवालयले विकास बजेटको पारदर्शी सदुपयोग, योजना तर्जुमा तथा कार्यान्वयनमा सक्रिय भूमिका खेल्ने उनले बताए ।


उनले हालको निर्वाचन प्रणालीमा सुधार आवश्यक रहेको धारणा राख्दै भने, “जनताले जिताएपछि म जनताको आवाज बन्छु, जनताको प्रतिनिधिको रूपमा इमानदार भएर काम गर्छु।” चौधरीले विकास, सुशासन र जनउत्तरदायी नेतृत्व आफ्नो प्राथमिकता हुने पनि उल्लेख गरे ।


भेटघाटमा सहभागी स्थानीय बासिन्दाहरूले गोविन्द चौधरीले पदमा नरहेकै अवस्थामा पनि जनताका पक्षमा उल्लेखनीय काम गर्दै आएको भन्दै प्रशंसा व्यक्त गरेका छन् । उनीहरूले “अहिलेसम्म जितेका जनप्रतिनिधिहरूले जति काम गर्न सकेनन्, चौधरीले पदमा नहुँदा पनि त्यति नै जनताको सेवा गरेका छन्” भन्ने प्रतिक्रिया दिएका थिए ।
स्थानीय तहमा उनको सक्रियता, सरल स्वभाव र जनसम्पर्कले मतदातामा सकारात्मक सन्देश गएको देखिन्छ । चुनाव नजिकिँदै जाँदा रौतहट–३ मा राजनीतिक माहोल थप रोचक बन्दै गएको छ ।

आरके श्रीवास्तव,राैतहट,१३ गते माघ । 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले घरदैलो अभियानलाई विस्तारै अघि बढाउँदै लगिरहेका छन् । चुनाव नजिकिँदै जाँदा उनले मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्नो चुनावी एजेन्डा र प्रतिबद्धता राख्न थालेका हुन् ।

यसैक्रममा मंगलबार गरूडा नगरपालिका वडा नम्बर ५ लक्ष्मीपुरमा आयोजित भेटघाट कार्यक्रममा उम्मेदवार चौधरीले स्थानीय मतदातासँग संवाद गरेका थिए । भेटका क्रममा उनले आगामी निर्वाचनमा जसपा नेपालको चुनाव चिन्ह ‘छाता’मा मतदान गर्न आग्रह गरेका छन् ।

कार्यक्रममा चौधरीसँगै गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादव, कटहरिया नगरपालिकाका मेयर प्रत्यासी एवम् जननिर्वाचन परिचालन समितिका संयाेजक रामप्रवेश दास,गरूडा ५ का पूर्व वडा अध्यक्ष जयमंगल यादव लगायत जसपा नेपालका नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । उनीहरूले घरदैलो अभियानमार्फत जनताको गुनासो सुन्नुका साथै विकास, रोजगारी र समावेशी प्रतिनिधित्वका विषयमा पार्टीको धारणा प्रस्तुत गरेका थिए ।

स्थानीय बासिन्दाहरूले पनि उम्मेदवारसँग प्रत्यक्ष भेटघाट हुन पाएकोमा खुसी व्यक्त गर्दै आफ्नो क्षेत्रका समस्या समाधानका लागि स्पष्ट प्रतिबद्धता अपेक्षा गरेका छन् । जसपा नेपालका उम्मेदवार चौधरीले जनताको सुझाव र विश्वासकै आधारमा समृद्ध र न्यायपूर्ण समाज निर्माण गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,१३ गते माघ । 

रौतहट क्षेत्र नम्बर ४ बाट जनता समाजवादी पार्टी (जसपा) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवारको रूपमा राजकुमार दास चुनावी मैदानमा छन् । उनका चुनाव चिन्ह छाता रहेको छ ।

उम्मेदवार दासले आफ्नो चुनावी अभियानको क्रममा शिक्षा, स्वास्थ्य, रोजगारी, कृषकको समस्या समाधान, पूर्वाधार विकास र सुशासनलाई मुख्य प्राथमिकतामा राख्ने बताएका छन् । उनका अनुसार, क्षेत्रको दिगो विकास र जनताको जीवनस्तर सुधारका लागि यी क्षेत्रहरूमा विशेष ध्यान दिने योजना रहेको छ ।

दासले मतदातासँग प्रतिवद्धता जनाउँदै भने, “हामीले आम जनताको आवश्यकता र समस्या बुझेर तिनको समाधानमा काम गर्नेछौँ । शिक्षा, स्वास्थ्य र रोजगारीका अवसर सिर्जना हाम्रो पहिलो प्राथमिकता हुनेछ।”

उनको उम्मेदवारीले क्षेत्रीय राजनीतिमा नयाँ प्रतिस्पर्धा थपेको छ भने स्थानीय जनता पनि आगामी चुनावमा आफ्नो मताधिकार प्रयोग गरी विकासमुखी उम्मेदवार चयन गर्ने तयारीमा छन् ।

आरके श्रीवास्तव,राैतहट,१३ गते माघ । 

रौतहट क्षेत्र नम्बर ४ बाट नेकपा एमालेका प्रतिनिधिसभा उम्मेदवार रामजी साहले चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनाव चिन्ह सूर्य छाप लिएर मैदानमा उत्रिएका साह हाल गाउँ–गाउँ पुगेर मतदातासँग प्रत्यक्ष भेटघाट गर्दै आफ्ना योजना र प्रतिबद्धता साझा गरिरहेका छन् ।

घरदैलो कार्यक्रममा बोल्दै उम्मेदवार साहले गरुडा स्थित लामो समयदेखि बन्द रहेको श्रीराम सुगर मिल सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले भने, “यदि जनताले मलाई जिताएर संसद् पठाउनुभयो भने बन्द रहेको श्रीराम सुगर मिल पुनः सञ्चालन गर्नु मेरो प्रमुख उद्देश्य हुनेछ । यसले स्थानीय रोजगारी सिर्जना गर्नुका साथै क्षेत्रको आर्थिक गतिविधि चलायमान बनाउनेछ।”

उनका अनुसार सुगर मिल सञ्चालन भएमा उखु किसान, मजदुर, व्यवसायी र युवा सबैलाई प्रत्यक्ष फाइदा पुग्नेछ । स्थानीय स्तरमै रोजगारी सिर्जना भई वैदेशिक पलायन पनि कम हुने विश्वास उनले व्यक्त गरेका छन् ।

घरदैलो अभियानमा सहभागी स्थानीयवासीहरूले पनि विकास, रोजगारी र उद्योग सञ्चालनजस्ता मुद्दा उठाउने उम्मेदवारलाई साथ दिने प्रतिक्रिया दिएका छन् । साहको सरल स्वभाव, स्पष्ट दृष्टिकोण र स्थानीय समस्याप्रतिको चासोले मतदाताहरू आकर्षित भएको देखिन्छ ।

नेकपा एमालेले अघि सारेको समृद्ध नेपाल, सुखी नेपाली को नारालाई व्यवहारमा उतार्न आफू प्रतिबद्ध रहेको बताउँदै साहले रौतहट–४ लाई औद्योगिक र आर्थिक रूपमा सबल बनाउने लक्ष्य राखेको बताए ।

चुनावी सरगर्मी बढ्दै जाँदा उम्मेदवार रामजी साहको घरदैलो अभियानलाई स्थानीय तहमा सकारात्मक रूपमा हेरिएको छ ।

 

आरएन पटेल, रौतहट, माघ १२ गते।
रौतहट क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी नेपालका कुशल नेतृत्वकर्ता गोबिन्द चौधरीले गरुडा नगरपालिका वडा नं. ०५ अन्तर्गत लक्ष्मीपुर र झाझपुल चोकमा स्थानीय देवतुल्य जनताहरूसँग आत्मीय भेटघाट गरेका छन।
भेटघाटका क्रममा उम्मेदवार चौधरीले क्षेत्रबासीहरूसँग प्रत्यक्ष संवाद गर्दै “जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह छाता छाप ” मा मतदान गर्न आग्रह गरेका छन। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निर्णायक अवसर भएको उल्लेख गर्दै समग्र क्षेत्रको विकास, समानता र समृद्धिका लागि जसपा नेपाल नै एक मात्र भरपर्दो विकल्प रहेको बताए।
उम्मेदवार चौधरीले वर्षौं वर्षदेखि चल्दै आएको अन्यायपूर्ण र शोषणमूलक शासन प्रणाली तोडेर विकास र समृद्धिको नयाँ बाटो खोल्न जनता समाजवादी पार्टी नेपालको साथ, समर्थन र एकताबद्ध सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन।
स्थानीय बासिन्दाहरूले पनि उम्मेदवार चौधरीको विकासप्रेमी सोच, सरल व्यवहार र स्पष्ट दृष्टिकोणको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन। भेटघाट कार्यक्रमले क्षेत्र नं. ३ मा जसपा नेपालको चुनावी अभियानलाई थप उत्साह र बल पुगेको तथा चुनावी जनलहर बढेको स्थानियहरूले बताएका छन।

आरके श्रीवास्तव,राैतहट,११ गते माघ । 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् ।

आइतवार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ती प्रष्टोमा उनले पूर्व गाविस अध्यक्ष भन्टु साह बनियासँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिक अवस्था तथा चुनावी माहोलको विषयमा छलफल भएको थियो ।

भेटका क्रममा पूर्व गाविस अध्यक्ष बनियाले गोविन्द चौधरीलाई स्वच्छ छविका, इमान्दार र निष्ठावान् उम्मेदवारको रूपमा प्रशंसा गरे । उनले गोविन्द चौधरीले आफ्नो राजनीतिक जीवनमा कसैबाट एक पैसा पनि नलिएको उल्लेख गर्दै हालका धेरै नेताहरूले राजनीति मार्फत ठूलो सम्पत्ति आर्जन गरेको भए पनि चौधरीले भने आफ्नै लाखौंको सम्पत्ति बेचेर राजनीतिमा लगानी गरेको बताए ।

कार्यक्रममा जसपा नेपालका नेता रामप्रवेश दास र खेना राय यादवले पनि आफ्नो विचार राख्दै गोविन्द चौधरीलाई जनताको पक्षमा काम गर्ने योग्य उम्मेदवारका रूपमा समर्थन व्यक्त गरेका थिए ।

स्थानीयस्तरमा यस्ता भेटघाट र संवादले चुनावी गतिविधि थप सक्रिय बन्दै गएको देखिन्छ ।

 

हनुमत कुमार यादव,गाैर,११ गते माघ । 
‎गाैर । रौतहट नेपाली कांग्रेसका सक्रिय नेता रामेश्वर प्रसाद यादवले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । उनले पार्टीको आन्तरिक निर्णय प्रक्रिया, टिकट वितरण प्रणाली र जनभावनाप्रति देखिएको असंवेदनशीलताप्रति असहमति जनाउँदै यो निर्णय लिएको बताएका छन् ।

‎रौतहट जिल्लाको साविक गा.वि.स. मडलबा वडा नं. १ हाल राजदेवी नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा यादव लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र जनआन्दोलनमा सक्रिय रहँदै आएका थिए । उनले २०६६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै २०६८ र २०७१ सालमा सम्पन्न निर्वाचनहरूमा पार्टीका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन् ।



‎यादवका अनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, रौतहटको क्षेत्रीय कार्यसमितिको कार्यालयबाट २०८२/०५/०४ गतेको पत्र तथा २०८२/०६/२६ गतेको निर्णयअनुसार मिति २०८२ फागुन २७ गते हुने निर्वाचनका लागि उनको नाम क्रम संख्या २ मा सिफारिस गरिएको थियो। तर Gen Z को भावना र स्थानीय जनअपेक्षालाई बेवास्ता गर्दै सिफारिस सूचीबाट कसैलाई पनि टिकट नदिई पार्टी नेतृत्वले एकल निर्णय गरेको आरोप उनले लगाएका छन् ।

‎उनका अनुसार यस्तो निर्णयले जनताको चाहना सम्बोधन नगरेको स्पष्ट देखिएकाले बाध्य भएर पार्टी परित्याग गर्नुपरेको हो । उनले वर्तमान राजनीतिक अवस्था, देश र जनताको मागअनुसार परिवर्तनलाई आत्मसात गर्दै अब नयाँ राजनीतिक यात्रातर्फ अघि बढ्ने बताएका छन् ।

‎यादवले आजको मितिबाट औपचारिक रूपमा नेपाली कांग्रेस पार्टी परित्याग गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दै सबैलाई सूचित गरेका छन् ।

‎उनले विज्ञप्तिको अन्त्यमा ‘जय देश, जय मधेश’ भन्दै आफ्नो प्रतिबद्धता जनाएका छन् ।

आरके श्रीवास्तव,राैतहट,१२ गते माघ ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पुनम यादव उम्मेदवार बनेकी छन् । महिला उम्मेदवारको रूपमा उनको उम्मेदवारीले स्थानीय राजनीतिमा महिला सहभागिता र नेतृत्वको विषयलाई थप सशक्त बनाएको छ ।

उम्मेदवारी घोषणा गरेसँगै यादवले रोजगारी, शिक्षा र स्वास्थ्यलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएकी छन् । विशेषगरी युवालाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउने विषयमा उनले जोड दिएकी छन् ।

सामाजिक र सांस्कृतिक गतिविधिप्रति चासो राख्ने यादव बलिउडका सेलिब्रेटी तथा सन्त–महन्तहरूसँगको लगावका कारण पनि चर्चामा रहेकी छन् । उनका अनुसार विभिन्न क्षेत्रका व्यक्तित्वबाट प्रेरणा लिनुले सार्वजनिक जीवनमा सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत पुग्ने गर्दछ ।

स्थानीय विकास, समावेशी नीति र सामाजिक न्यायका सवाललाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी पुनम यादवको उम्मेदवारीलाई रौतहट–३ मा अर्थपूर्ण राजनीतिक उपस्थितिका रूपमा हेरिएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।