२०८२ चैत्र २३
२०८२ चैत्र २३

आरके श्रीवास्तव,राैतहट,१८ गते माघ ।
राैतहटकाे गुजरा नगरपालिका अन्तर्गत सिमराभवानीपुर बजारमा ६४९ औँ शिरोमणि गुरु श्री रविदास जन्मोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ । चमार कल्याण समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा उत्साह, श्रद्धा र सामुदायिक एकताको अनुपम दृश्य देखिएको थियो ।


हवन–जापबाट सुरु भएको कार्यक्रम नगर परिक्रमा सहित अघि बढेको थियो । परिक्रमाका क्रममा गुरु रविदासको जयजयकार गर्दै सहभागीहरूले सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा चमार समाजका अगुवा, बुद्धिजीवी, युवाहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


समारोहको अध्यक्षता चमार कल्याण समाज नेपालका उपाध्यक्ष पुनीत रामले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी तथा विशिष्ट अतिथि चन्द्रपुर अस्पतालका संचालक सुबास चौधरी रहेका थिए ।


वक्ताहरूले १५ औँ शताब्दीका महान सन्त गुरु रविदासको जीवन, दर्शन र समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानमाथि प्रकाश पारे । जातीय विभेद, छुवाछुत र अन्यायविरुद्ध आवाज उठाउँदै मानव समानता, श्रमको सम्मान र प्रेमको मार्ग देखाउने गुरु रविदासको शिक्षा आज पनि उत्तिकै सान्दर्भिक रहेको उनीहरूको भनाइ थियो । “मन चंगा तो कठौती में गंगा” जस्ता वाणीले समाजलाई सकारात्मक सोच र आत्मशुद्धितर्फ प्रेरित गर्ने उल्लेख गरियो ।


अध्यक्षीय मन्तव्यमा पुनीत रामले गुरु रविदासको शिक्षाले समुदायलाई आत्मसम्मान, एकता र चेतनाको मार्गमा अघि बढ्न प्रेरणा दिएको बताए ।
प्रमुख अतिथि सन्तलाल प्रसाद चौधरीले विभेदरहित समाज निर्माणमा गुरु रविदासको सन्देश महत्वपूर्ण रहेको भन्दै मानवताको मूल्य आत्मसात गर्नुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि सुबास चौधरीले गुरु रविदासका विचारले नयाँ पुस्तालाई सही दिशा दिने उल्लेख गर्दै शिक्षित, सचेत र एकताबद्ध समाज निर्माण आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान र सामुदायिक अन्तरक्रियाले समारोहलाई थप अर्थपूर्ण बनाएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा अतिथिहरू लाई सम्मान पनि गरिएको थियोे ।

फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,१७ गते माघ । 

रौतहट  । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कटहरिया नगरपालिका अन्तर्गत २२५ सदस्यीय नगर स्तरीय निर्वाचन परिचालन समिति भव्य रूपमा गठन गरिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको उक्त समितिको अध्यक्षतामा मेयर प्रत्यासी नसरूदिन अंसारी चयन भएका छन् भने सह–संयोजकको जिम्मेवारी भूपेन्द्र महतोले पाएका छन् ।

समिति गठन कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समितिले निर्वाचन अवधिभर पार्टीको नीति, कार्यक्रम तथा उम्मेदवारहरूको पक्षमा संगठित रूपमा प्रचार–प्रसार तथा परिचालनको कार्य गर्ने जनाइएको छ ।

यसैबीच, रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि पुनम यादवले उम्मेदवारी दर्ता गरिसकेको जानकारी पनि कार्यक्रममा दिइएको छ । पार्टीले क्षेत्रीय तथा नगर स्तरमा संगठनलाई थप सशक्त बनाउँदै निर्वाचनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

निगमले डिजेल/मट्टीतेलको मूल्य लिटरमा तीन रुपैयाँले बढाएको छ । पेट्रोल र खाना पकाउने एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले जनाएको छ ।

“इन्डियन आयल कर्पोरेसनबाट आज ३१ जनवरी, २०२६ (माघ १७, २०८२) मा प्राप्त पेट्रोलियम पदार्थको नयाँ खरिद मूल्यअनुसार प्रतिलिटर पेट्रोलमा रु. ०।१२, डिजेलमा रु. ४।६६ र एलपी ग्यासमा सिलिन्डर रु. ४५।४९ ले बढेर तथा हवाई इन्धनमा प्रतिलिटर रु. १०८ ले घटेर आएको छ,” निगमले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

हवाई इन्धन आन्तरिकतर्फ प्रतिलिटर एक रुपैयाँले घटाइएको छ । हवाई इन्धन अन्तर्राष्ट्रियतर्फ काठमाडौंका निम्ति प्रतिकिलोलिटर सात डलरले घटाइएको निगमले जनाएको छ । सभार बाह्रखरी

धनकुटा, १७ माघ । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले सत्ता लम्ब्याउन चाहने सुशीला कार्कीहरु र जेनजी आन्दोलनबाट बढारिएका ओलीहरु चुनाव हार्ने डरले निर्वाचन भाँड्ने षड्यन्त्रमा लागेको आरोप लगाएका छन् । उनले देश र जनता निर्वाचनमा होमिएको अवस्थामा कसैले पनि संसद् ब्युँताउने वा अहिलेको सत्ता लम्ब्याउने षड्यन्त्र गरे जनताले प्रतिकार गर्ने चेतावनी दिए ।

आज (शनिबार) धनकुटामा आयोजित पार्टीको निर्वाचन परिचालनसम्बन्धी कार्यक्रमलाई सम्बोधन गर्दै साहले यस्तो बताएका हुन् । उनले सुशीला कार्कीहरु जेनजी आन्दोलनको अपहरणकारी भएको र आकस्मिक सत्तारोहण गरेको भन्दै उनीहरु नियन्त्रित अस्थिरताको पक्षमा रहेको आरोप लगाए । जेनजी आन्दोलनमा दमन गरेर र युवाहरुको हत्या गरेका ओलीहरु चुनावबाट बढारिने भयले निर्वाचन भन्दापनि संसद् पूनःस्थापनातर्फ आँखा लगाएर बसेको भन्दै दुवै अतिवादीहरुको गतिविधि जनताले नजिकबाट नियाँलिरहेको बताए ।

देशले परिवर्तन र असलस् बदलाव चाहेको भन्दै त्यसको लागि निर्वाचनलाई संघर्षकै रुपमा आफ्नो दलले उपयोग गरेको बताए । उनले यो निर्वाचनमार्फत जनताले नक्कली नायकहरूलाई कहिल्यै पनि उठ्न नसक्नेगरि परास्त गर्नुपर्ने बताए । नयाँ र पूराना भन्नेहरुले नक्कली नायक खडा गरेको र जनतामा मिठो भ्रम बाँडेको भन्दै कोही पनि देशभक्त र विकासप्रेमी जनता झुक्किननहुने साहको मत छ ।

बालेन शाह, रवि लामिछाने र कुलमान घिसिङले देशलाई दिशा दिन नसक्ने ठोकुवा गरे । उनले यही तीनै पात्र टेस्टेड क्यारेक्टर भएकोले अब नयाँ र विकल्प दिन्छौं भन्ने नाममा फेरि जनतालाई ठग्न आउन खोजेको भन्दै सचेत हुन आम जनतालाई अपिल गरे ।

अहिले रास्वपामा प्रवेश गरेर प्रधानमन्त्रीको उम्मेदवारको रुपमा अघि सारिएका बालेन पनि नयाँ नभएको र काठमाडौं महानगरमा तीन वर्षभन्दा लामो समय नेतृत्व प्रदान गर्दा असफल भएको बताए । उनले देशकै सबभन्दा जेठो र ठूलो महानगरलाई बालेनले सही तवरले नेतृत्व प्रदान नगर्दा काठमाडौंको विकास नभएको आरोप लगाए । २५ अर्बभन्दा बढि बजेट भएको महानरले पुँजीगत खर्च ५० प्रतिशत पनि पुर्याउन नसक्नु आँफैमा मेयरको असफलता भएको साहको टिप्पणी छ । महानगरले यहाँको शिक्षा र स्वास्थ्यमा उल्लेखनीय योगदान पुर्याउन नसकेको र जनतासँग भारी मात्रामा कर लिएर सुविधा नदिएको भन्दै साहले आलोचना गरे ।

उनले भने,‘काठमाडौं महानगरले जनतासँग करमाथि कर थुपरेको छ, तर बदलामा महानगरवासीलाई केही पनि सुविधा दिन सकेको छैन । वर्षौ २५ अर्बको बजेट आउँछ, तर पुँजीगत खर्च एकदमै न्यून छ । आज युवा र स्वतन्त्र मान्छेले मेयर जित्दा पनि काठमाडौंको मुहार फेरिएन ।’ उनले जनतासँगको सम्बन्ध नै विच्छेद गरेर ‘खोपीको देउता’ भएर बसेको भन्दै साहले उनले महानगरको नेतृत्वमा हुँदा जनताको हितको लागि काम नगरेको आरोप लगाए ।

उनले आजपा गठन गरेदेखि नै आफूले जनताको आवाज बोकेको र सडक–संघर्ष गरेको स्मरण गराए । उनले यो पटकको निर्वाचनमा भ्रष्टाचारीलाई कारबाही गर्नको लागि पनि पूराना र नयाँ दुवैतर्फबाट ठगहरुलाई पराजित गर्नुपर्ने बताए । धनकुटाको गौरव उठाउनको लागि पनि यसपटकको निर्वाचनमा सही व्यक्ति संसद्मा पुग्नुपर्ने उनको सुझाव छ । ‘यो जिल्ला राष्ट्रिय राजनीतिमा ख्याँतिकमाएको जिल्ला हो, यहाँबाट सुर्यबहादुर थापा प्रधानमन्त्री हुनुभयो, जिल्लाको विकासको कुरा तपाईंहरुलाई थाहा होला, अब नायक होईन, सेवक रोज्नुहोस ।’

आरके श्रीवास्तव,राैतहट,१७ गते माघ ।
रौतहट क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका उम्मेदवार रामकृपाल यादवले पत्रकारहरू सँग कुराकानी गर्नु हुँदै भावुक अभिव्यक्ति दिएका छन् । उनले शिक्षण पेशा तथा स्थायी जागिर त्यागेर राजनीतिमा आएको बताउँदै यो निर्णय व्यक्तिगतभन्दा बढी सामाजिक उत्तरदायित्वबाट प्रेरित भएको स्पष्ट पारेका छन् ।

यादवले भने, “मैले शिक्षण पेशा छोडेर आफ्ना छोरा–छोरीमाथि अन्याय गरेको जस्तो लाग्न सक्छ, तर मेरो परिवारमाथि अन्याय हुँदा पनि समाजमाथि अन्याय नहोस् भन्ने सोचले राजनीतिमा आएको हुँ ।” उनले देशमा अमेरिकाजस्तो नेतृत्व खोज्ने हो भने त्यस्तै सचेत र जिम्मेवार मतदाता तथा नागरिक पनि आवश्यक पर्ने धारणा राखे ।

 

आफूले ठूलो साहसका साथ राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै उनले यो चुनाव आफू मात्र होइन, क्षेत्र नम्बर ३ का जनताका लागि पनि “अग्निपरीक्षा” भएको बताए । “मतदाताले मलाई सेवकका रूपमा काम गर्ने अवसर दिनुहुन्छ कि शासक बन्न खोज्ने व्यक्तिलाई रोज्नुहुन्छ, त्यो निर्णय अब जनताको हातमा छ,” उनले भने ।

धेरैले आफूले जागिर छोडेर राजनीतिमा आउने कल्पना नगरेको स्मरण गर्दै यादवले राजनीति पैसा र शक्तिको खेलमा सीमित भए राम्रो सोच भएका र समाज निर्माणको अभियानमा लाग्न चाहने व्यक्तिहरू अघि नबढ्ने चेतावनी दिए । उनले नयाँ र पुरानोको बहसमा केही पुरानै अनुहार नयाँको आवरणमा आउने गरेको टिप्पणी पनि गरे ।

“हामी युवा नेतृत्वको सोचसहित परिवर्तन र सुशासन खोज्दै आएका छौं,” यादवले भने, “यसपटक क्षेत्र नम्बर ३ का प्रत्येक नागरिकले बदलाव चाहेका छन् ।”

पहिले आरामदायी जीवन बिताइरहेको उल्लेख गर्दै उनले अहिले जनतामाझ दौडधुप गरिरहेको बताए । “मैले पेशा छोडेको छु भने अवश्य नै मेरो भित्र समाजका लागि केही गर्ने दृढ सोच छ,” उनले भावुक हुँदै थपे ।

आरके श्रीवास्तव,रा‌ैतहट,१६ गते माघ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले आज (शुक्रबार) गरूडा नगरपालिका वडा नम्बर ७ पिपरियामा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।


भेटघाटका क्रममा स्थानीय मतदाताहरूले आफूहरूले सांसद भएको अनुभूति गर्न नसकेको गुनासो गरेका थिए । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा अझै पनि क्षेत्र पछाडि रहेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे । पिपरिया पुल अहिलेसम्म पनि निर्माण हुन नसक्नु विकासको स्पष्ट उदाहरण भएको मतदाताहरूको भनाइ थियो । “हामी परिवर्तन चाहन्छौं,” उनीहरूले बताएका थिए ।


मतदाताको जिज्ञासा र गुनासोको जवाफ दिँदै उम्मेदवार चौधरीले परिवर्तनको चाहना जनतामै रहेको उल्लेख गरे । “जनताको आग्रह र चाहनाका कारण नै मैले उम्मेदवारी दिएको हुँ,” उनले भने, “यदि तपाईंहरूलाई लाग्छ म परिवर्तन गर्न सक्छु भने मलाई मत दिनुहोस् । यो मेरो अन्तिम प्रयास हो।”
गोविन्द चौधरीले आफू जनताबाटै बनेको नेता भएको उल्लेख गर्दै भने, “गोविन्द चौधरीलाई जनताले गोविन्द चौधरी बनाएका हुन् । तपाईंहरूले चाहनुभयो भने परिवर्तन अवश्य सम्भव छ।”


कार्यक्रममा गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादवसहित जसपा नेपालका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

आरके श्रीवास्तव,रौतहट,१६ गते माघ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट नेकपा (एमाले) को तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार कुन्दन कुशवाहाले आफ्नो चुनावी एजेन्डाबारे पत्रकारहरूसँग जानकारी गराएका छन् ।
कटहरिया गाविसका पूर्व अध्यक्ष जादाेलाल महतोका छोरा कुशवाहा २०७४ सालको मधेस प्रदेश सभा निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ (ख) बाट निर्वाचित भएका थिए । हाल उनी कटहरिया नगरपालिकाको वडा नम्बर ४ का स्थायी बासिन्दा हुन् ।
पत्रकारहरू सँग बोल्दै कुशवाहाले सूर्य चिन्ह लिएर एमालेमा प्रवेश गरेपछि आफूले पदसमेत गुमाउनुपरेको स्मरण गरे । “तर पद गयो भन्दैमा जनताप्रतिको दायित्व कहिल्यै घटेन,” उनले भने, “रौतहट क्षेत्र नम्बर ३ का ४४ वटै वडाका हरेक समुदायको दुःख–सुखमा म सधैं साथ दिँदै आएको छु ।”
अब संघीय सांसदको रूपमा चुनावी मैदानमा उत्रिएको उल्लेख गर्दै उनले सबैको साथ र सहयोगको आवश्यकता रहेको बताए । “यो क्षेत्रको समग्र विकास कसरी सम्भव हुन्छ भन्ने विषयमा म स्पष्ट छु,” उनले भने, “जनतासँग मेरो आग्रह छ—मलाई एक पटक अवसर दिएर जाँच गर्नुहोस् ।”
‘किन तपाईंलाई भोट दिने?’ भन्ने पत्रकारको प्रश्नको जवाफ दिँदै कुशवाहाले विकासका हरेक मोडालिटीमा आफू सक्रिय रहने दाबी गरे । “प्रदेश सांसद हुँदा कटहरियालाई मलाही–कटहरिया–समनपुर र धनसरदेखि इनरवा, नरकटिया हुँदै कटहरियामा प्लस सडक बनाउने काम मैले नै गरेको हुँ,” उनले भने, “केही नेताले यसको श्रेय आफूले लिएको प्रचार गरिरहेका छन्, तर त्यो सत्य होइन् ।”
कटहरियाको व्यापारिक विकासका लागि समेत आफू निरन्तर काम गरिरहेको उनको भनाइ छ । उनले क्षेत्रको मुख्य समस्या सरकारको पैसा व्यक्तिहरूले दुरुपयोग गर्नु रहेको आरोप लगाए । “नाम मात्रको विकास भइरहेको छ,” उनले भने, “जनता विकास भएको भ्रमबाट बाहिर निस्कन जरुरी छ । यी सबै सत्य चाँडै जनतामाझ आउनेछ।”
अन्त्यमा कुशवाहाले मतदातालाई आफूलाई मत दिएर परीक्षण गर्न आग्रह गर्दै रौतहट क्षेत्र नम्बर ३ लाई वास्तविक विकासको बाटोमा लैजाने प्रतिबद्धता व्यक्त गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,१६ गते माघ । 

रौतहट । रौतहट क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा)का उम्मेदवार गोविन्द चौधरीले आज गरुडा नगरपालिका वडा नम्बर ७ भिमडाबरमा मतदाताहरूसँग भेटघाट गरेका छन् । स्थानीय मतदातासँग प्रत्यक्ष संवाद गर्दै उनले आफ्नो चुनावी एजेन्डा र भावी योजनाबारे जानकारी गराएका थिए ।

उक्त कार्यक्रममा गरुडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादवको नेतृत्वमा स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रममा बोल्दै उम्मेदवार चौधरीले विकास, सुशासन र जनताको अधिकारका लागि आफू प्रतिबद्ध रहेको उल्लेख गर्दै आगामी निर्वाचनमा छाता छाप मा मतदान गर्न मतदातासँग आग्रह गरे ।

भेटघाट कार्यक्रममा स्थानीय मतदाताहरूले विभिन्न समस्या तथा अपेक्षाहरू राखेका थिए । उम्मेदवार चौधरीले ती समस्या समाधानका लागि संसद्मा सशक्त रूपमा आवाज उठाउने प्रतिबद्धता व्यक्त गरे। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाइएको छ ।

आरके श्रीवास्तव,राैतहट,१५ गते माघ । 

गरूडा । जनता समाजवादी पार्टी (जसपा) नेपालबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का उम्मेदवार गोविन्द चौधरीले आफूले कसैलाई समर्थन गर्ने भन्ने हल्लालाई कडा शब्दमा खण्डन गरेका छन् ।

बिहीबार गरुडा नगरपालिका वडा नम्बर ६ पोठियाहीमा आयोजित मतदाता भेटघाट कार्यक्रममा बोल्दै चौधरीले भने,

“आम जनतालाई गोविन्द चौधरीको आवश्यकता थियो, जनताको आदेशमै मैले उम्मेदवारी दिएको हुँ। अफवाहको पछि नलाग्न म सबैलाई आग्रह गर्दछु।”

उनले चुनावी मैदानमा आएपछि एक इन्च पनि पछि नहट्ने स्पष्ट चेतावनी दिँदै भने,“मेरो लागि सबैभन्दा ठूलो सम्पत्ति मेरो इज्जत र प्रतिष्ठा हो। चुनावमा आइसकेपछि म एक इन्च पनि पछाडि हट्दिन।”

आफूले आजसम्म कसैको समर्थन नगरेको दाबी गर्दै चौधरीले  आफ्नो राजनीतिक इतिहास हेर्न चुनौतीसमेत दिए ।

“मेरो इतिहास हेर्नुहोस्, मैले कहिल्यै कसैको समर्थन गरेको छैन् । म स्वस्थ नभएकाे कारण यसअघिका चुनावमा उठ्न सकिन् ।”

उनले केही तत्वहरूले भ्रम र अफवाह फैलाएर भ्रामक प्रचार गरिरहेको आरोप लगाउँदै त्यसप्रति कडा आपत्ति जनाए ।

कार्यक्रममा जसपा नेपाल रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का जननिर्वाचन परिचालन समितिका संयोजक रामप्रवेश दास, गरुडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादव लगायत जसपा नेपालका स्थानीय नेता तथा कार्यकर्ताहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

गोविन्द चौधरीको यो स्पष्ट र आक्रामक अभिव्यक्तिले रौतहट क्षेत्र नम्बर ३ को चुनावी माहोल थप तातिएको छ ।

हनुमत कुमार यादव,गा‌ैर,१५ गते माघ । 

‎गाैर । रौतहट जिल्लाको राजदेवी नगरपालिका–७, मुडवलवामा निर्माण हुन लागेको करिब ७ करोड रुपैयाँ लागतको कन्वेन्सन सेन्टरको विधिवत रूपमा शिलान्यास कार्यक्रम सम्पन्न भएको छ । धार्मिक तथा सांस्कृतिक विधिअनुसार सम्पन्न उक्त कार्यक्रममा जग्गादाता तथा स्थानीय जनप्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।



‎कन्वेन्सन सेन्टर निर्माणको पहिलो चरणअन्तर्गत चालु आर्थिक वर्षमा ३ करोड ३० लाख रुपैयाँ बराबरको निर्माण कार्य अघि बढाइने नगरपालिकाले जनाएको छ। उक्त निर्माण कार्यका लागि आवश्यक जग्गा पाँच जना स्थानीय जग्गादाताले निःशुल्क दान गरेर उदाहरणीय योगदान दिएका छन् ।

‎जग्गादाताहरूको सम्मानस्वरूप नगरपालिकाले शिलान्यास कार्यक्रममा उनीहरूलाई नै पूजाआजा गराई विधिवत रूपमा कार्यक्रम सम्पन्न गरेको हो । यस कार्यले स्थानीय तहमा विकासप्रति देखिएको सहकार्य, त्याग र सामाजिक उत्तरदायित्वको भावनालाई उजागर गरेको सहभागीहरूले बताएका छन् ।

‎निःशुल्क जग्गा दान गर्ने व्यक्तिहरू विजय शंकर प्रसाद यादव (वडा अध्यक्ष), रुपलाल राय यादव, जितेन्द्र प्रसाद यादव, अमरेन्द्र कुमार यादव, अनिल कुमार यादव रहेका छन् ।

‎नगरपालिकाका अनुसार कन्वेन्सन सेन्टर निर्माण सम्पन्न भएपछि स्थानीय तहमा विभिन्न सामाजिक, सांस्कृतिक, शैक्षिक तथा औपचारिक कार्यक्रम सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ । यस परियोजनाले क्षेत्रीय विकासमा टेवा पुग्ने विश्वास लिइएको छ ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।