काठमाडौं, १५ साउन ।
संघीय संसद अन्तर्गतको प्रतिनिधिसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले जारी गरेको सम्भावित कार्यसुची अनुसार नेकपा एमालेका सांसद टोपबहादुर रायमाझीको पद निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् ।
यसैगरी, राष्ट्रपति कार्यालय र प्रधानमन्त्री तथा मन्त्रीपरिषदको कार्यालयवाट प्राप्त कार्यभार तोकिएको सबन्धी पत्रको ब्योहोरा पढेर सुनाइने भएको छ ।
साथै, बेपत्ता पारिएका ब्यक्तिको छानविन आयोग र सत्यनिरुपण मेलमिलाप आयोगको म्याद थप सबन्धि प्रस्ताव पेश गर्ने कार्यक्रम रहेको छ भने राष्ट्रियसभावाट उत्पत्ति भएको नेपाल विश्वबिद्यालय बिद्येयक २०८० लाई समितिमा छलफलका लागि पठाउने प्रस्ताव पेश गर्नेछन् ।
काठमाडौं, १५ साउन ।
नेपालमा मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनी न्यून चापको अक्षिय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको छ।
जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर आन्शिक देखि सामान्य बदली रही गण्डकी प्रदेशका केही तथा बाँकी प्रदेशहरुका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ।
दिउँसो देशभर सामान्य बदली रहने छ। बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। बागमती, गण्डकी र सुदूरपश्चिम प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
राती भने देशभर सामान्य बदली रहनेछ। कोशी, बागमती, लुम्बिनी र मधेश प्रदेशका केही स्थानहरुमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ ।
कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका एक दुई स्थानमा मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । मेघ गर्जन र चट्याङ्गसहित भारी वर्षाको कारण हुन सक्ने गेग्रान बहाव, बाढी, पहिरो तथा भू-क्षय जस्ता प्रकोपको जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ।
हनुमत कुमार यादव,रौतहट,गते १४ साउन ।
राैतहट जिल्लाको मौलापुर नगरपालिकाको पतौराका आमा र दुई वर्षको बच्चा लाई हत्या गरेको आरोपमा पक्राउ परेका तिन जना पुर्पक्षका लागि गौर कारागार चलान गरिएको छ । शुक्रबार जिल्ला अदालत रौतहटले पुर्पक्षका लागि गौर कारागार चलान गर्ने आदेश दिएको प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले बताएका छन । मौलापुर नगरपालिका वडा नम्वर ४ पतौरा गाउँका २४ वर्षीया कविता देवी र उनकी २ वर्षीया छोरी आरुही कुमारीलाई गत असार १५ गते बिहान घरमा हत्या गरेर आत्महत्या गरेको देखाउन झुण्डयाएको आरोपमा जिल्ला अदालत रौतहटले पक्राउ परेका तिन जनालाई पुर्पक्षका लागि गौर कारागार चलान गरेका छन् । बालिका आरुहीको शव पंखामा झुन्डिएको अवस्थामा र कविताको शव घरको सिँढीमुनि शंकास्पद अवस्थामा फेला पारे पछी प्रहरीले हत्याको आंशकामा अनुसन्धान अघि बढाएको थियो । घटनापछि मृतक कविताका श्रीमान् धीरेन्द्र साह, सासु मैनादेवी साह र जेठानी निशा देवीलाई प्रहरीले पक्राउ गरी अनुसन्धान गरेकोे थियो । ससुरा नागेन्द्र साह अझै पनि फरार रहेको प्रहरीले बताएका छन । प्रहरीले चारैजना विरुद्ध कर्तव्य ज्यान मुद्दामा अनुसन्धान सकेर अदालतमा पेस गर्दा न्यायाधीश तेजबहादुर खड्काको एकल इजलासले पक्राउ परेकाहरु निर्दोष छन् भन्ने तत्काल आधार नदेखिएकाले पुर्पक्षका लागि कारागार चलान गरिएको छ । मृतक कविताका बुवा रौतहट जिल्ला माधवनारायण नगरपालिका वडा नम्वर ५ मिठुअवाका विजयशंकर साहले ज्वाइँ धिरेन्द्र साह लगायत ४ जनाले हत्या गरेको भन्दै उनीहरु विरुद्ध कर्तव्य ज्यानसम्बन्धी किटानी जाहेरी दिएका थिए । २०७७ मंसिरमा छोरीको विवाह गर्दा उनले ज्वाइँलाई दाइजोमा मोटरसाइकल दिएका थिए । विवाहमा मागे जति सरसामान दाईजो दिए पनि दुई वर्षपछि छोरी मार्फत सुनको सिक्री, औठी र पलङ मागेको र नदिएपछि हत्या गरेको विजय शंकरको आरोप रहेको छ ।
आरके श्रीवास्तव,रौतहट,१४ गते साउन
रौतहट । जिल्लामा आर्थिक वर्ष २०७९/८० मा ८७५ साना उद्योग दर्ता भएका छन् । एक वर्षको अवधिमा घरेलु तथा साना उधोग कार्यालय गौर रौतहटमा ८७५ नयाँ साना उद्योग दर्ता भएका हुन् ।
यस अवधिमा ७५९ घरेलु उद्योगको नवीकरण भएको कार्यालय प्रमुख जयकान्त झाले जानकारी गराए । उनका अनुसार सोही अवधिमा वाणिज्यतर्फ ९४७ नयाँ दर्ता भएका छन् भने १ हजार २ सय ७१ वटाको नवीकरण भएको छ ।
गत आव २०७८÷७९ मा १६९७ साना उद्योग दर्ता भएका थिए । कार्यालय प्रमुख जयकान्त झाका अनुसार सो अवधिमा ५ सय १३ साना घरेलु उद्योगको नवीकरण भएका थिए । वाणिज्यतर्फ १ हजार ६ सय ९२ नयाँ दर्ता भएका थिए भने ८ सय ८५ नवीकरण भएका घरेलु तथा साना उधोग कार्यालय गौर रौतहटले जनाएको छ ।
गत आवको तुलनामा यस आवमा ८२२ साना उधोग दर्ता कम भएको कार्यालय प्रमुख झाले बताउनु भयो । यसको प्रमुख कारण बैंकले ऋण प्रवाह बन्द गर्नु रहेको उनको भनाइ छ । गत आव २०७८÷७९ मा बैंकले ऋण प्रवाह गरिरहेको कारण उधोग दर्तामा बृद्धि भएको थियो ।
कार्यालयका अनुसार आव २०७७÷७८ मा १७२८ साना उधोग र वाणिज्य तर्फ २१४७ दर्ता भएको थियो । सो आर्थिक वर्षमा २ करोड ४८ लाख ६० हजार १ सय राजश्व संकलन भएको थियो ।

कार्यालयले आव २०७९/८० उधोग तर्फ बाट ६७ लाख ५८ हजार २०० र वाणिज्य तर्फ १ करोड २ लाख ७७ हजार ८ सय ५० राजश्व संकलन गरेको छ । यसरी कार्यालयले आव २०७९/८० मा कुल १ करोड ७० लाख ३६ हजार ५० रुपैयाँ राजश्व संकलन गरेको छ ।
कार्यालयले गत आव २०७८÷७९ मा उधोग तर्फ बाट ९८ लाख ९ हजार १५० र वाणिज्य तर्फ १ करोड १३ लाख ५२ हजार २ सय राजश्व संकलन भएको थियो । यसरी कार्यालयले आव २०७८/७९ मा कुल २ करोड १४ लाख ४३ हजार ६ सय राजश्व संकलन गरेको थियो । यस हिसाबले राजश्व संकलन पनि घटेको छ ।
चन्द्रपुर,गुजरा,वृनदावन,कटहरिया र गढिमाइ नगरपालिकामा लगायत स्थानमा साना उद्योग÷व्यवसाय तथा पसल गर्नेको सङ्ख्या बढि रहेको कार्यालय प्रमुख झाले बताउनु भयो ।
उनका अनुसार दर्ता भएकामध्ये उधोग मध्ये अधिकांश कृषि फर्म रहेको बताए । कृषि फर्म मात्रै ७५ प्रतिशत दर्ता भएको उनको भनाइ छ । त्यस्तै २५ प्रतिशतमा फर्निचर,पार्लर ,मोटरसाइकिल मर्मत लगायतका व्यवसायहरु रहेका छन् ।
घरेलु तथा साना उधोग कार्यालयले उधमशिलता कार्यक्रममा २ सय ४,सिपमूलक तालिम एडभान्स तर्फ १ सय ५,भगतसर्वजित तर्फ सिलाइ,कटाइ,कम्प्यूटर तालिम १२३ र नियमित तर्फ ३ सय १ जनालाइ तालिम प्रदान गरेको छ ।
आ.व.२०७९÷८० मा एडभान्स तर्फ गरुडा,कटहरिया,गौर नगरपालिका, भगतसर्वजित तर्फ गौर ,चन्द्रपुर,कटहरिया र दुर्गाभगवती गापामा, नियमित तर्फ गौर,चन्द्रपुर नपा र उधमशिलता गौर,चन्द्रपुर नपा र दुर्गाभगवती गापामा तालिम संचालन भएका छन् ।
कार्यालयको आव २०७८÷७९ मा बेरुजू नरहेको र आव २०७९/८० आलेप र मलेप हुन बाँकी रहेको जानकारी गराइएको छ । कार्यालयमा स्विकृत दरबन्दी ९ जना रहेकोमा पदपूर्ति संख्या ४ रहेको र रिक्त पद संख्या ५ रहेको जनाइएको छ ।
आव २०७९÷८० मा चालु तर्फ अन्तिम २ करोड ३७ लाख ६२ हजार ४ सय बजेट रहेकोमा २ करोड १९ लाख २ हजार ८१४ बजेट निकास भइ ९२.१७ प्रतिशत बजेट खर्च भएको छ । जबकी पूँजिगत तर्फ ३ करोड १ लाख ८७ हजार ४ अन्तिम बजेट रहेकोमा २ करोड ४७ लाख १६ हजार १५० निकासा भइ ८१.८८ प्रतिशत बजेट खर्च भएको हो ।
रौतहट जिल्लामा हालसम्म ११ हजार ३ सय ४३ साना घरेलु उद्योग दर्ता भएको छ भने १३ हजार ९ सय ९६ वाणिज्य दर्ता भएको उक्त कार्यालयले जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट,१४ गते साउन
रौतहट । जिल्लाका निर्माण व्यवसायीहरुले आज एक घण्टा धर्ना दिएका छन् । केन्द्रिय सर्कुलर अनुसार निर्माण व्यवसायी संघ रौतहटमा आबद्ध व्यवासायीहरुले धर्नामा बसेका थिए ।
आइतवार जिल्ला प्रशासन कार्यालय रौतहट अगाडि निर्माण व्यवसायीको प्रतिनिधिहरुले बिहान १० बजे देखि ११ बजे सम्म धर्नामा बसेका थिए । देशभरिको ७७ वटै जिल्ला प्रशासन कार्यालय अगाडी बस्ने क्रममा रौतहटमा पनि उनीहरु बसेका थिए ।
उनीहरुले निर्माण कार्याको काँकी भुक्तानी,म्याद थप,मूल्य समायोजन,उपभोक्ता समिति खारेजी,अव्यवहारिक माइलस्टोन खारेज,बीमा निर्देशिका २०७८ खारेज,सार्वजनिक खरिद एन तथा नियमावली तुरुन्त संशोधन ,खरिद नियमावली नियम ६ लाइ कडाइका साथ लागू लगायतका ९ बुँदे माग राखेर प्रशासन कार्यालयमा धर्ना दिएका हुन् ।

केन्द्रीय कार्यक्रम अनुसारनै देशैभरीका जिल्ला प्रशासन कार्यालयहरुमा धर्ना दिएको निर्माण व्यवसायी संघ रौतहटका महासचिव श्रीकान्त यादवले बताएका छन् ।
केहि दिन अघि निर्माण व्यवसायी संघ रौतहटले सबै आयोजनाहरुको एकमुष्ट म्याद थप गर्न र योजनाको भुक्तानी माग गर्दै प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्र मार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई ज्ञापनपत्र बुझाएको थियो ।
स्मरणियहोस् रौतहट र सर्लाहीमा विभिन्न पुल, सडक लगायतका निर्माणको काम गरेबापतको भुक्तानी नपाएको भन्दै निर्माण व्यवसायी संघ रौतहटको अगुवाइमा असार ३१ गते कार्यालयको मूलगेटमा तालाबन्दी गरिएको थियो । सडक डिभिजन कार्यालयले एक महिनाभित्र व्यवसायीहरूको रकम भुक्तानी दिने प्रतिबद्धतापछि ताला खोलिएको निर्माण व्यवसायी संघ रौतहटले जनाएको थियो ।
आरके श्रीवास्तव,रौतहट,साउन १४ गते ।
रौतहट । गौर हत्याकण्डका अपराधीलाई कारबाहीको माग सहित मोटरसाइकल र्याली निकालिएको छ । बीभत्स गौर हत्याकाण्डका पिडीतहरुलाई न्याय दिलाउन अनिश्चितकालीन धर्नामा बसेका शहीद परिवारको समर्थनमा रौतहटमा आज विशाल मोटरसाइकल र्याली निकालिएको छ ।
गौर हत्याकाण्डका पिडित संघर्ष समितिको आयोजना र आम जनता पार्टीको सहयोगमा बृहत् मोटरसाइकल र्याली निकालिएको हो । जिल्ला सदरमूकाम गौर बाट सुरु भएको र्यालीमा गाउँगाउँ बाट हजÞारौंको संख्यामा मानिसहरु सहभागि रहेको गौर हत्याकाण्डका पिडित संघर्ष समितिको संयोजक रुपसागर उपाध्यायले जानकारी गराउनु भयो ।
गौरबाट सुरु भएको र्याली चन्द्रपुरमा पुगेर कोण सभामा परिणत भएको थियो । कोणसभालाइ सम्बोधन गर्दै आजपाका केन्द्रिय उपाध्यक्ष बद्रि न्यौपाने लगायतका वक्ताहरु गौर हत्याकाण्डका पिडितले न्याय पाउनु पर्ने र पिडकलाइ कानुनको दायरामा ल्याउन एक स्वरमा माग गरेको आजपाको भातृसंगठन आइटि आर्मीका महासचिव सुमन यादवले बताएकी हुन् ।

हत्याकाण्डमा मुछिएका दोषिहरुलाई कारवाही गराउनका निमित्त भोली सोमबारदेखि आजपाले अनिश्चितकालिन रौतहट बन्दको घोषणा पनि गरेको उनले बताइन् । यता आजपाका राष्ट्रिय अध्यक्ष एवम् रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का सांसद प्रभु साहले ऐतिहासिक र्यालीमा हजÞारौंका संख्यामा सहभागी हुने न्यायप्रेमी छविलाई माथि उठाउन सक्रिय साथ, सहयोग र सहभागिता जनाउनु हुने सबै सबैप्रति हार्दिक आभार सहित विशेष धन्यवाद व्यक्त गर्नु भएको छ ।
गौर हत्याकाण्डका पिडित संघर्ष समितिले साउन १ गते प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रलाई ज्ञापन पत्र बुझाउदै गौर हत्याकाण्डमा तत्कालिन समयमा परेको किटानी जाहेरीको आधारमा पिडकहरु विरुद्ध कारवाही सुरु नगरिएमा चरणबद्ध रुपमा आन्दोलनमा जाने जानकारी स्थानीय प्रशासनलाई गराएको थियो ।

गौर हत्याकाण्डको छानविनको माग गर्दै पिडित परिवारले शनिवार देखि धर्ना सुरु गरेका छन् । गौर हत्याकाण्ड पिडित संघर्ष समितिको आयोजनामा जिल्लाको चन्द्रनिगाहपुरमा आज दोस्रो दिन आइतवार जारी रहेको छ । उनीहरुले अनिश्चतकालीन धर्ना दिएका हुन् ।
रौहतटमा जसपा सहितका सताधारी दल र आजपा पार्टी यतिखेर आमनेसामने भएका छन् । आजपाले साउन १५ गते देखि रौतहट बन्दको घोषणा गरेको छ भने सर्वदलिय संघर्ष समितिले कुनै पनि हालतमा रौतहट बन्द हुन नदिने चेतावनी पनि दिइरहेका छन् । भोली रौतहटमा के हुने हो त्यो हेर्न बाँकी नै छ ।
बज्जिकाञ्चल,रौतहट,साउन १४ गते ।
रौतहट बन्दको कार्यक्रम स्थगित भएको छ । गौर हत्याकाण्ड पीड़ति संघर्ष समितिले आवहान गरेको अनिश्चतकालीन रौतहट बन्द कार्यक्रम हाललाइ स्थगित गरेको हो। आज अबेर साँझ एक बिज्ञप्ती जारी गर्दै बन्द कार्यक्रम स्थगित गरिएको जानकारी गराएको हो ।
संघर्ष समितिकी संयोजक रुपसागर देबी उपाध्यायद्धारा हस्ताक्षरित बिज्ञप्तीमा केही राजनैतिक पार्टीहरू मुठभेड़ खडा गर्न उत्सुक रहेको र खुलेआम अर्को गौर हत्याकाण्ड दोहराउने धम्की दिइरहेको जनाइएको छ । बिज्ञप्तीमा संघर्षको कार्यक्रमलाई परिमार्जन गरेको उल्लेख गरेको छ । समितिको धर्ना कार्यक्रमलाई भने यथावत राखी रौतहट अनिश्चितकालीन बन्दको कार्यक्रमलाई तत्कालका लागि स्थगित गरिएको बिज्ञप्तीमा उल्लेख छ ।

टोकियो, १४ साउन ।
रामायणमा मारिच सुनको मृग बनेको उल्लेख छ । त्यसैगरी इच्छाधारी नागिन र महिषासुरलाई भैंसीमा परिणत गर्ने प्रसंग पनि हाम्रा पुराणहरूमा आउँछ। अक्सर जब मानिसहरूले आफ्नो व्यवहार परिवर्तन गर्छन्, हामी अझै पनि भन्छौं कि तिनीहरूले आफ्नो वास्तविक रूप यति छिट्टै देखाए। मानिसहरु आफूलाई सुन्दर देखिनका लागि धेरै प्रयास गर्छन् ।
यसैक्रममा हालै एक विदेशी महिलाले आफूलाई बार्बी डल जस्तो देखाउनको लागि धेरै पटक शल्यक्रिया गराएको खबर आएको थियो ।
तर, जापानको यो समाचार यी सबै कथाहरू भन्दा फरक छ, यहाँ एक व्यक्तिले आफ्नो कुकुरबाट वफादारीको अपेक्षा नगरे पनि उनी आफै वफादार कुकुर बनेका छन् । तपाईलाई सुन्दा अचम्म लाग्न सक्छ तर यो पूर्ण सत्य हो कि एक जापानी मानिसले आफूलाई कुकुरमा परिणत गर्न २२ लाख येन खर्च गरेका छन्, उनको नाम टोको राखिएको छ ।
जापानी मिडियाका अनुसार जापानी कम्पनी जेपेट, जसले टिभी विज्ञापन र फिल्महरूको लागि पोशाक बनाउँछ, उसले मानिसको लागि अति वास्तविक कुकुरको पोशाक बनाएको थियो र यो बनाउन उनीहरूलाई ४० दिन लागेको थियो । साे कम्पनी मूर्तिकला, शरीर सूट, 3डी मोडेल आदि बनाउनमा माहिर छ।
कम्पनीका प्रवक्ताका अनुसार यो मोडल कुली कुकुरको शैलीमा डिजाइन गरिएको हो, जुन पूर्ण रूपमा वास्तविक देखिन्छ र चार खुट्टामा हिँड्छ।
‘म पशु बन्न चाहन्छु’ नामक युट्युब च्यानल चलाउने व्यक्तिले यससँग सम्बन्धित भिडियो अपलोड गरेका छन् । यस च्यानलमा ३१ हजारभन्दा बढी सब्सक्राइबर छन् र यो भिडियोलाई करिब १० लाखले हेरिसकेका छन् । यो भिडियो एक वर्ष अगाडिको हो तर हालै अपलोड गरिएको छ। भिडियोको सुरुमा लेखिएको छ, ‘मेरो बाल्यकालको जनावर बन्ने सपना साकार भयो र म भरिया बनें ।
गोरखा, १४ साउन ।
गृह जिल्लामा बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका १४ कार्यकर्ताले पार्टी परित्याग गरेका छन् ।
उनीहरुका अनुसार अन्य पार्टी भन्दा नेसपा अलग र भिन्न नहुने देखिएको आरोप लगाउँदै पार्टी परित्यागको घोषणा गरेका हुन् ।
पार्टी परित्याग गर्ने समुहले लगाएको आरोप अनुसार पुरानो प्रवृत्तिबाट जगडिएको नेतृत्व हाबी हुन थालेको तथा वैकल्पिक शक्ति निर्माण यात्रा उही पुरानो बाटोतिर फर्किएको अनुभूति भएकाले पार्टी परित्याग गर्नु परेको हो ।
‘पार्टी विधि विधानअनुसार संचालन नगरी आफू अनुकूल नेतृत्व परिवर्तन र पद बाँडफाँडको कारण विगत लामो समयदेखि कार्यकर्ताको गुनासा समस्या समाधानमा पार्टी भूमिकाविहीन अवस्थामा रहन पुग्यो,’ विज्ञप्तिमा भनिएको छ, ‘नयाँ शक्ति निर्माण अभियानदेखि हाल नेसपासम्म निरन्तर लागिरहेका थियौं, मूल नेतृत्वको विचार सही हुँदाहुँदै पनि पटक पटक पार्टी एकताको रुपमा या अन्य कारणले पार्टीको नाम, चुनाव चिह्न परिवर्तन हुनु र भिन्न दलसँग गठवन्धन गर्नुले दीर्घकालीनरुपमा जनताले नेतृत्वप्रति नै आशंका र अविश्वास उब्जनु स्वाभाविक नै थियो ।’
यसरी पार्टी परित्याग गर्नेमा गण्डकी प्रदेश सदस्य तथा गोरखा नगर अध्यक्ष ज्योति कोइराला, गण्डकी प्रदेश सदस्य रविन आचार्य, नेपाल समाजवादी विद्यार्थी युनियनका केन्द्रीय सदस्य तथा गण्डकी प्रदेश उपाध्यक्ष सुजन गर्तौला, पार्टीका जिल्ला सदस्य मिलन न्यौपाने, जिल्ला सल्लाहकार सदस्य रामहरि खनाललगायत रहेका छन् ।
मस्को, १४ साउन ।
रुसको राजधानी मस्कोमा ठूलो ड्रोन हमला भएको छ ।
एकैपटक धेरै ड्रोन आक्रमण भएपछि मस्कोमा हलचल मच्चिएको थियो । रुसी सेनाले जवाफी कारबाही गर्यो र धेरै ड्रोनहरू खसालेको छ । ड्रोन आक्रमणपछि मस्कोमा हवाई यातायात बन्द गरिएको छ । आक्रमणबाट दुईवटा भवनमा क्षति पुगेको समाचार छ ।
आक्रमणको जानकारी दिँदै रुसी राजधानीका मेयरले आइतबार बिहान मस्कोमा युक्रेनी ड्रोनले राति हमला गरेको र त्यसमा दुईवटा कार्यालय भवनमा क्षति पुगेको बताए । समाचार एजेन्सी एएफपीका अनुसार सो हमलावाट कोही घाइते नभएको उनले बताए ।
मस्कोका मेयर सर्गेई सोब्यानिनले टेलिग्राममा पोस्ट गरे, ‘युक्रेनी ड्रोनले आज राती आक्रमण गर्यो। सहरका दुईवटा कार्यालय टावरहरूको अनुहारमा सामान्य क्षति पुगेको छ। त्यहाँ कुनै पनि पीडित वा घाइते छैनन्।’
दुई दिनअघि पनि युक्रेनी ड्रोनले मस्कोमा आक्रमण गर्ने प्रयास गरेको थियो, जसलाई रुसी सेनाले असफल बनाएको थियो ।
रुसी रक्षा मन्त्रालयले शुक्रबार राति युक्रेनको ड्रोन आक्रमण असफल भएको बताएको छ । मन्त्रालयले टेलिग्राममा पोष्ट गरेको सन्देशमा भनेको छ, ‘रुसी वायु रक्षाले मानवरहित गाडीलाई ध्वस्त पारेको थियो। त्यहाँ कुनै हताहत वा क्षति भएको छैन।’