काठमाडौं, २३ साउन ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको ५ सय दरको १ हजार १ सय थान गरी जम्मा ५ लाख ५० हजार भारतीय रूपैयाँसहित भारतीय नागरिक ४७ वर्षीय बरूनेश चन्द्रलाई प्रहरीले पक्राउ गरेको छ । ईन्डिगोको उडानद्वारा काठमाडौंबाट दिल्ली जान लागेका उनलाई बिमानस्थलको प्रस्थान ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त भारतीय रूपैयाँ फेला परेको हो ।
यसैगरी त्रिभुवन अन्तर्राष्ट्रिय बिमानस्थलबाट अवैध रूपमा लुकाई छिपाई बाह्य मुलुकतर्फ लैजान लागेको १ सय दरको १ सय ४२ थान गरी १४ हजार २ सय अमेरिकी डलरसहित साउदी अरेबियन नागरिक ५३ वर्षीय अलयम्नी अबदुल्लाह अबदुलरहमानलाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । बाटिक एयरको उडानद्वारा मलेसिया जान लागेका उनलाई बिमानस्थलको ह्याण्ड ब्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा उनको साथबाट उक्त परिमाणको अमेरिकी डलर फेला परेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान एवं कानूनी कारबाहीको लागि राजश्व विभाग हरिहरभवनमा बुझाउने प्रयोजनार्थ प्रहरी वृत गौशलामा पठाइएको छ ।
श्रावण २३, काठमाडौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्षायाममा प्राकृतिक प्रकोपबाट हुनसक्ने सम्भावित क्षतिप्रति पूर्वसतर्कता अपनाउन र विपद् व्यवस्थापनको पूर्वतयारी प्रभावकारी बनाउन निर्देशन दिएका छन् ।
मंगलबार बिहान प्रधानमन्त्री प्रचण्डले प्रहरी महानिरीक्षक वसन्त कुँवरलाई वर्षाका कारण विभिन्न जिल्लामा आएको बाढीपहिरोबाट ठूलो धनजनको क्षति भएकोप्रति सचेत रहन आग्रह गर्दै उक्त निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री प्रचण्डले उद्धार, राहत र पुनर्स्थापनाका लागि सम्पूर्ण रूपले सक्रिय हुन निर्देशन दिएका हुन् ।
काठमाडौं ।
ललितपुरको च्यासलस्थित नेकपा एमाले पार्टी केन्द्रीय कार्यालय डुबानमा परेको छ ।

मनोहरा नदीमा आएको बाढीले पार्टी कार्यालय डुबानमा परेको एमाले उपमहासचिव विष्णु रिमालले जानकारी दिएका छन् । पार्टी कार्यालय डुबानमा परेको तस्बिर र भिडियो सामाजिक सञ्जालमा पोष्ट गर्दै उपमहासचिव रिमालले डुबानमा परेको जानकारी दिएका हुन् । अहिले नदीमा पानीको बहाव सतह घट्दै गएको छ भने कार्यालयभित्र पसेको पानी निकालिएको छ । बाढी सडक र कार्यालयभित्र पसेपछि बाटो भने हिलोमग्न भएको छ ।

सोमबार रातिदेखि परेको वर्षाले काठमाडौं उपत्यकाका बागमती, विष्णुमती, मनोहरा, हनुमन्तेलगायतका खोला तथा नदीमा पानीको बहाव बढेको थियो । वर्षा रोकिएसँगै नदीमा पनि पानीको बहाव घटेको छ ।


काठमाडौं, २३ साउन ।
सोमबार रातिदेखि परेको अविरल वर्षाले देशका अधिकांश स्थानमा डुबान भएको छ । काठमाडौं उपत्यकाका नदी करिडोर क्षेत्र डुबानमा परेको छ ।

काठमाडौंको धोबिखोला करिडोरका घरहरु डुबानमा परेका छन् । नदीमा पानी बहाव सतह घट्दै गएपछि अहिले बाटो हिलोमग्न भएको छ । जस कारण आउजाउमा समस्या परेको छ ।

घरभित्र पसेको पानी निकाल्न थालिएको छ भने केही स्थानमा अहिले पनि डुवाइरहेको छ ।


भैरहवा, २३ साउन ।
लुम्बिनी विकास कोषले बुद्धजन्मस्थल लुम्बिनीबाट ७ किमि दक्षिण निपनिया दानव नदी किनारमा देखिएको कुषाणकालीन माटोद्वारा निर्मित इनारको उद्धार उत्खनन गर्ने भएको छ । कोषका सदस्य सचिव सानुराजा शाक्यको नेतृत्वमा निपयिन स्थित दानव नदी क्षेत्रको स्थलगत निरीक्षणपछि नदीकिनारमा रहेको कुषाणकालीन माटोको इनारलाई उद्धार उत्खनन गर्ने भएको हो ।

रुपन्देहीको लुम्बिनी सांस्कृतीक नगरपालिका वडा न. १२ मा पर्ने अमहवा गाउँ नजिकै रहेको निपनियामा दानव नदीको कटानले प्राचिन इनार, कुवा, माटाका भाडाहरु बगाउन थालेको भन्दै स्थानीयहरुले खबर गरेका थिए । लुम्बिनी विकास कोषको कार्यक्षेत्रमा नपरे पनि अमरहवा गाउँ नजिकैको निपनिया क्षेत्रमा पुरातात्विक भग्नावशेषहरु भेटिएकाले स्थलगत रुपमा निरीक्षण गरेको सदस्य सचिव सानुराजा शाक्यले बताए ।
उनले दानव नदीको कटानले इनार (रिंग) हरु बगाएर भारततर्फ लगेको देखिएकाले अहिले नदीको कनिारमा अवस्थित इनारलाई उद्धार उत्खनन गरि लुम्बिनी संग्रालयमा लैजाने तयारीमा जुटेको बताए । ‘नदीको कटानले प्राचिन समयका महत्वपूर्ण इनार, माटाका भाडाहरु बगाएर भारत लगेको देखिन्छ, यसको संरक्षणका लागि कोष एक्लेले केही गर्न सक्दैन,’ उनले भने, ‘यसका लागि स्थानीय, प्रदेश र पुरातात्व विभाग सबैले मिलेर काम गर्नुपर्छ ।’ सदस्य सचिव शाक्यले लुम्बिनी गामे भनेर अशोक स्तम्भमा उल्लेख भएअनुसारकै प्राचिन बस्ती रहेको अनुमान गर्न सकिने बताए ।
स्थलगत निरीक्षणपछि कोषका पुरातात्व विभागका प्रमुख हिमाल कुमार उप्रेतीले निपनियामा बर्सेनि पुरातात्विक इनार र अन्य महत्वपूर्ण बस्तुहरु बग्दै गएकाले यसको संरक्षण गर्नुपर्ने बताए । उनले कोषले अहिले नदी किनारमा बाढीको उच्च जोखिममा रहेको इनारलाई उद्धार उत्खनन गरि संग्रालयमा सुरक्षित गर्ने तयारी गरेको बताए । ‘प्रत्येक वर्ष यहाँ आउँदा माटोको इनार नदीको किनारमा देखिन्छ, तर बाढीले बगाइरहेको छ, यहाँ रहेको इनारलाई यो पटक उद्धार उत्खनन गर्छौँ,’ उप्रेतीले भने ।
पुरातात्विक हिसाबले यो क्षेत्र निकै महत्वपूर्ण रहेको बताउँदै भारतका पुरातात्वविद प्रोफेसर एसबी देवले सन् १९६४ मा उत्खनन गर्दा बुद्धीष्ट साइटको उत्तरापथमा पर्ने व्यापरिक क्षेत्रका रुपमा व्याख्खा गरेको उनले बताए । उनले निपनियालाई बुद्ध सर्किटको क्षेत्रसँग जोडेर पर्यटक आर्कषित गर्न सकिने बताए ।
भारतका प्रख्यात पुरातात्वविद एसबी देवले बन्जरही र पैसियामा उत्खनन गर्दा विभिन्न किसिमका माटाका भाँडाकुँडा, कचौरा, बिटबिनाका कचौरा, भाँडा, प्लेट, लामो घाँटी भएका घैँटो, हातबाट बनाइएका भूदेवीको मुखौटो, साँढे, हात्ती, थालहरू, आरी लगायतका सामग्री भेट्टाएका थिए । निपनियामा अहिले यी सामाग्रीहरु दानव नदीको बाढीसँगै बग्दै आएका छन् ।
कोषले स्थलगत रुपमा गरेको निरीक्षणमा सदस्य सचिव सानुराजा शाक्य, पुरातात्व महाशाखा प्रमुख हिमाल कुमार उप्रेती, कार्यकारीणी सदस्य राजेश शाक्य, प्रेस कन्सल्ट्यान्ट विनोद परियार, कोषका कर्मचारीहरु नवराज अधिकारी, भोला प्रसाद गुप्ता र चन्द्रप्रकाश पाठक गएका थिए ।

काठमाडौं, २३ साउन ।
सदनको अवरोध हटाउन भन्दै सभामुख देवराज घिमिरेसहित प्रमुख तीन दलका शीर्षनेताहरुको बैठक बसिरहेको छ ।
बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा जारी बैठकमा एक क्विन्टल सुन तस्करी प्रकरणममा उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने प्रमुख प्रतिपक्षी दल एमालेको मागको विषयमा कुराकानी भइरहेकको छ । उक्त माग राखेर केही दिनयता एमालेले लगाातार सदन अवरुद्ध गर्दै आएको छ ।
जारी बैठकमा सभामुख घिमिरेसहित प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कांग्रेसका सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओली तथा यी दलका प्रमुख सचेतकहरू सहभागी छन् ।
यसअघि सोमबार पनि उनीहरुबीच छलफल भएको थियो । सहमति हुन नसकेपछि सोमबार बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबार अपरान्ह ३ बजेका लागि साारिएको छ ।
विशाल बस्नेत महोत्तरी, २३ साउन ।
सोमबारदेखि परेको अविरल वर्षाका कारण रातु नदीको वहाव ह्वात्तै बढेको छ । नदीको तटिय क्षेत्रका कतिपय उर्बरभूमी डुवानमा परेका छन् भने बस्तीसमेत जोखिमा परेका छन् । पानीको सतह माथि आएपछी बर्दिबासस्थित पाटुमा त खोला नै धान खेतबाट बगेको छ ।

क्षतिको औपचारिक जानकारी प्राप्त नभए पनि उर्बर क्षेत्रमा ठुलो नोक्सान भएको हुन सक्ने अनुमान गरिएको छ । नदी प्रणाली क्षेत्रमा काम गरेका कतिपय चुरे विज्ञहरुले त तटिय क्षेत्रमा बसोबास गर्ने मानिसहरुलाइ सजग रहन सचेत गराएका छन् ।

चुरेविज्ञ नागदेव यादवले रातुले गराउन सक्ने क्षतिप्रति सचेत गराउँदै आफ्नो फेसबुकबाट नै रातुको उर्लंदो बाढीप्रति संवेदनशील बन्न सुझाव दिएका छन् ।
बर्दिबास, बल्वाको लेउरी, भल्गी, धमौरा, तिलगढ, भगवतीपुर, संग्रामपुर, कविलाशा, दोस्तिया, हातिसर्वाजस्ता ठाउँका कतिपय भागहरु डुवानमा परेका पूर्व बाढी सूचना क्षेत्रमा काम गर्दै आएको सामुदायिक विकास तथा पैरवी मञ्चले जनाएको छ ।
बाढीमापन गर्दा रातु नदीमा २.५० मिटरको पानीको वहाव रहेको चुरेविज्ञ नागदेव यादवले बताए । रातभरि पानी परे पनि पानीको वहाव सतह भने बिहान ५ बजेपछि बढेको हुनाले मानवीय क्षति भने हुन नपाएको जनप्रतिनिधिहरुले बताएका छन् ।

काठमाडौ, २३ साउन ।
सुनको भाउ मंगलबार तोलामा ३०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले घटेर १ लाख १२ हजार १०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार ५५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ११ हजार ८५० रुपैयाँ निर्धारण भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि तोलामा २५ रुपैयाँले घटेर १४ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय २५ रुपैयाँ कायम रहेको थियो ।
काठमाडौ, २३ साउन ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.५४ विन्दुले घटेको छ । यससँगै सूचक २०४७.७१ अंकमा अडिएको छ । ४ लाख ३९ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १७ कम्पनीको ९१६ कित्ता सेयर कारोबार भएको छ ।
यो सेसनमा कुल ७४ वटा कारोबार भएको छ । ६ कम्पनीको भाउ बढ्दा ९ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौं, २३ साउन । नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटवार्ता गरेकी छन् ।

मंगलबार बिहान बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा पुगेकी राजदूत डेप्रेजले प्रधानमन्त्री प्रचण्डसँग बिदाइ भेटवार्ता गरेकी हुन् ।
सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्रेजबीच नेपाल–इयुबीचको द्विपक्षीय सम्बन्ध र सहकार्यका विषयमा छलफल भएको छ ।
