नवलपरासी । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को गैँडाकोट नगरपालिका–१४, भागरबाट हराएका साढे दुई वर्षीय बालकलाई दुई दिनपछि सामुदायिक वनबाट सकुशल उद्धार गरिएको छ ।
भदौ २ गते बिहान करिब ७ बजे भागर निवासी हेमकुमारी आले घरनजिकै रहेको शंखदेवी सामुदायिक वनमा च्याउ टिप्न गएकी थिइन् । उनी घर फर्किँदा उनका नाति साढे दुई वर्षीय शिवान तामाङ घरमा नभएको पाइएको थियो ।
स्थानीय बासिन्दा तथा छरछिमेकीले वन क्षेत्रमा खोजतलास गर्दा पनि बालक फेला नपरेपछि इलाका प्रहरी कार्यालयमा निवेदन परेको थियो । बालकको खोजीका लागि स्थानीय बासिन्दासँगै इलाका प्रहरी कार्यालय गैँडाकोट, इलाका प्रहरी कार्यालय रजहर तथा अस्थायी प्रहरी पोस्ट बेल्डियाबाट टोली परिचालन गरिएको थियो ।
खोजतलासका क्रममा भदौ ४ गते बिहान करिब १० बजे बालक शिवानलाई गैँडाकोट नगरपालिका–१४ स्थित शंखदेवी सामुदायिक वनअन्तर्गत भागर खोलाको सिरानमा फेला पारिएको थियो ।
सकुशल उद्धार गरिएका बालकलाई आवश्यक प्रक्रिया पूरा गरी सम्बन्धित आफन्तको जिम्मा लगाइएको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी,
बज्जिकाञ्चल संवाददाता,०४ गते भदौ ।
काठमाडौँ । राष्ट्रिय मानव अधिकार आयोगले बैंक, लघुवित्त, सहकारी, मिटरब्याजपीडित तथा भूमिहीन सुकुम्बासीका मागप्रति ध्यान दिँदै धर्नामा बसेकाको स्वास्थ्य, खानपान, बसोबास र सुरक्षाको उचित व्यवस्था गर्न सरकारसँग आग्रह गरेको छ ।
विभिन्न माग राखेर पाँच दिनदेखि आयोगको पुल्चोकस्थित कार्यालयअगाडि सडकपेटीमा धर्ना दिइरहेकाको आयोगले निरन्तर अनुगमन गरिरहेको जनाएको छ ।
लामो समय सडकपेटीमा बस्दा महिला, बालबालिका, अशक्त तथा ज्येष्ठ नागरिकको स्वास्थ्यमा समस्या आउन सक्ने भन्दै आयोगले धर्नामा रहेकालाई उचित स्थानमा स्थानान्तरण गरी आवश्यक स्वास्थ्योपचार, बसोबास र सुरक्षाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको हो ।
सरकार र राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ अभियान नेपालबीच वार्ता टोली गठन भएको विषयलाई सकारात्मक रूपमा लिँदै आयोगले समस्याको समाधान वार्ता र संवादबाटै खोज्न आग्रह गरेको छ । दुवै पक्षका वार्ता समितिलाई वार्तालाई निरन्तरता दिई वार्ताकै माध्यमबाट समाधान निकाल्न आयोगले अनुरोध गरेको छ ।एभरेष्ट न्यूज एजेन्सी
बज्जिकाञ्चल संवाददाता,०४ गते भदौ ।
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ३ जनाको मृत्यु भएको छ भने ९१ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ९१ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २४ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १६ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २८ जना, बागमतीमा १ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा ८ जना र गण्डकीमा १ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले महानगरअन्तर्गत सञ्चालित २२ माध्यमिक र १४ आधारभूत सामुदायिक विद्यालयका प्रधानाध्यापक पदका लागि दरखास्त आह्वान गरेको छ ।
रिक्त रहेका तथा पदावधि सकिन एक महिनाभन्दा कम समय बाँकी रहेका प्रधानाध्यापक पदमा पदपूर्ति गर्न महानगरपालिकाले योग्य स्थायी शिक्षकबाट दरखास्त माग गरेको हो ।
योग्यता पुगेका इच्छुक स्थायी शिक्षकले २०८३ भदौ १६ गतेभित्र आवश्यक कागजात र विद्यालय विकास प्रस्तावसहित सम्बन्धित विद्यालयमा दरखास्त पेस गर्नुपर्नेछ ।
प्रधानाध्यापक पदका लागि आवश्यक न्यूनतम शैक्षिक योग्यता, उम्मेदवारीको प्राथमिकता, छनोट प्रक्रिया, विद्यालयको विवरण तथा दरखास्त फारामको ढाँचा काठमाडौँ महानगरपालिकाको आधिकारिक वेबसाइट वा शिक्षा विभागबाट प्राप्त गर्न सकिने महानगरपालिकाले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
हेटौडा । काठमाडौँबाट वीरगञ्जतर्फ जाँदै गरेको स्कारपियो मकवानपुरको भीमफेदी गाउँपालिका–६ जुरीखेलमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् ।
मंगलबार बिहान करिब ७ बजे प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो अनियन्त्रित भई सडकबाट करिब ५०–६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको हो ।
दुर्घटनामा घाइते भएका सबैलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाइएको छ । घाइतेमध्ये एक जनाको अवस्था गम्भीर र पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ । घाइते हुनेमा स्कारपियो चालक दाङको राप्ती नगरपालिका–८ का करिब ३२ वर्षीय छुनिलाल चौधरी छन् । उनको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ र अवस्था मध्यम रहेको छ ।
त्यस्तै, दाङको तुलसीपुर उपमहानगरपालिका–९ का करिब ५७ वर्षीय उच्च अदालत जनकपुर वीरगन्ज ईजलासका मुख्य न्यायाधीश गोकर्ण डाँगीको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था पनि मध्यम रहेको छ ।
बैतडीको दशरथचन्द नगरपालिका–७ सुर्कालका करिब ५१ वर्षीय तारादत्त बडुको शरीरका विभिन्न भागमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ । उनकी श्रीमती करिब ४९ वर्षीया लक्ष्मी बडुको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था गम्भीर रहेको छ ।
त्यस्तै, उनका छोरा करिब २५ वर्षीय रितेन्द्र बडुको टाउकोमा चोट लागेको छ। उनको अवस्था मध्यम रहेको छ । उनकी दिदी करिब ३१ वर्षीया रिता बुडको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ । उनको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको साहस, रहस्य, चुनौती र जलवायु परिवर्तनको प्रभावलाई केन्द्रमा राखेर निर्माण गरिएको वृत्तचित्र ‘रोड टु एभरेस्ट’ को अफिसियल ट्रेलर सार्वजनिक गरिएको छ। ट्रेलरले समुद्री सतहदेखि विश्वको सर्वोच्च शिखरसम्मको असाधारण यात्रासँगै मानवीय साहस, संघर्ष र दृढ संकल्पको शक्तिशाली झलक प्रस्तुत गरेको छ।
नितान्त नेपाली प्राविधिकहरूको संलग्नतामा निर्माण गरिएको यस वृत्तचित्रमा कुनै पनि कृत्रिम वा कम्प्युटर सिर्जित दृश्य प्रयोग नगरिएको निर्माण पक्षले जनाएको छ। समुद्री सतहदेखि सगरमाथाको शिखरसम्मको वास्तविक यात्रालाई समेटिएको ‘रोड टु एभरेस्ट’ पूर्णतः वास्तविक दृश्यमा आधारित पहिलो वृत्तचित्र भएको निर्माण पक्षको दाबी छ।
दुई वर्षको अनुसन्धान, छायांकन तथा निर्माण प्रक्रियापछि तयार भएको यस वृत्तचित्रको कथा सञ्चारकर्मी सन्तोष आचार्य र निर्मल श्रेष्ठ ले लेखेका हुन्। चर्चित सञ्चारकर्मी भूषण दाहालको आवाज रहेको वृत्तचित्र नेपाली र अंग्रेजी दुवै भाषामा तयार गरिएको छ।
वृत्तचित्रमा ५० वर्ष नाघेका राज गुरुङको प्रेरणादायी यात्रा प्रस्तुत गरिएको छ, जसले उमेर, समय र आफ्नै सीमालाई चुनौती दिँदै सगरमाथा आरोहणको सपना पछ्याउँछन्। उनको यात्रा केवल एउटा आरोहणको कथा नभई सपना, संघर्ष, आत्मविश्वास र असम्भवलाई सम्भव बनाउने मानवीय इच्छाशक्तिको कथा बन्न पुगेको निर्माण पक्षको भनाइ छ।
निर्मल श्रेष्ठको निर्देशनमा तयार भएको वृत्तचित्रले सगरमाथाको भव्यता मात्र प्रस्तुत गर्दैन, आरोहणका जोखिम, शेर्पा समुदायको अथक योगदान, मानवीय साहस तथा जलवायु परिवर्तनका कारण तीव्र रूपमा बदलिँदै गएको हिमाली वातावरणलाई समेत गहिराइका साथ प्रस्तुत गरेको छ। वृत्तचित्रले सगरमाथालाई केवल एउटा हिमालका रूपमा नभई साहस, संघर्ष, अठोट र मानवीय क्षमताको प्रतीकका रूपमा प्रस्तुत गर्ने प्रयास गरेको छ।
‘रोड टु एभरेस्ट’ मा कीर्तिमानी आरोही फुर्वा तेन्जिङ शेर्पा र निमा ग्याल्जेन शेर्पा आरोहीका रूपमा देखिनेछन्। फुर्वाले हालसम्म सगरमाथाको १८ पटक सफल आरोहण गरेका छन् भने निमाले १० पटक सगरमाथा सफलतापूर्वक आरोहण गर्नुका साथै विश्वका ८,००० मिटरभन्दा अग्ला सबै १४ वटा हिमालको सफल आरोहण गरिसकेका छन्। यात्रामा विनोद गुरुङ, सुरज गुरुङ र निर्मल श्रेष्ठ पनि सहयात्री पात्रका रूपमा देखिनेछन्।
निर्माण पक्षका अनुसार ‘रोड टु एभरेस्ट’ को नेपाल प्रिमियर भदौ ६ मा काठमाडौं र अन्तर्राष्ट्रिय प्रिमियर २८ भदौ मा हङकङमा हुनेछ। त्यसपछि वृत्तचित्रलाई नेपालका विभिन्न स्थानसँगै अन्तर्राष्ट्रिय मञ्च, फिल्म फेस्टिभल तथा सिनेमा हलहरूमा प्रदर्शन गर्ने तयारी भइरहेको छ।
सामाजिक संस्था वि विल राइज फाउण्डेसन द्वारा निर्मित यस वृत्तचित्रको उद्देश्य दर्शकलाई प्रेरित गर्नुका साथै नेपालको पर्यटनलाई विश्वस्तरमा प्रवर्द्धन गर्नु र हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारिरहेको प्रभावबारे विश्वव्यापी ध्यानाकर्षण गराउनु पनि रहेको निर्माण पक्षले जनाएको छ। वृत्तचित्रको अवधि ५० मिनेट रहेको छ ।
रोल्पा । रोल्पाको सुनछहरी गाउँपालिका–२ फलबाङमा पहिरोले घर पुरिँदा तीन जना बेपत्ता भएका छन् ।
शुक्रबार बिहान ८: १० बजे स्थानीय वीरबहादुर घर्ती मगरको घर पहिरोले पुरिएको हो । उक्त घरमा वीरबहादुर घर्ती मगर, उनकी श्रीमती शनि घर्ती मगर र छिमेकी ललि घर्ती मगर राति बसेका थिए । पहिरोले घर पुरिएपछि तीनै जना बेपत्ता भएका छन् ।
यस्तै, सुनछहरी गाउँपालिका–२ गिट्ठेस्थित लादे बुढा मगरको घरसमेत पहिरोले पुरिएको छ । घटनाको थप विस्तृत विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ५ जनाको मृत्यु भएको छ भने ११७ जना घाइते भएका छन् ।
नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा मधेश, कोशी, गण्डकी, बागमती र काठमाडौँ उपत्यकामा एक एक जनाको मृत्यु भएको छ ।
त्यस्तै देशभर भएका दुर्घटनामा ११७ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २२ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा ३० जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा ८ जना घाइते भएका छन् भने लुम्बिनीमा १९ जना, सुदूरपश्चिममा ८ जना, गण्डकीमा ५ जना र कर्णालीमा ३ जना घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । उद्योग मन्त्रालय मातहतको वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौंस्थित होटल रेडिसनमा छापा मार्दा ठूलो परिमाणमा ग्यास लुकाएर राखेको भेटिएको छ । विभागका अनुसार होटलमा मात्रै करिब १८४ वटा ग्यास सिलिन्डर फेला परेका छन् ।
पर्याप्त मात्रामा ग्यास आपूर्ति भइरहे पनि उपभोक्ताले ग्यास नपाएको गुनासो बढेपछि विभागले विभिन्न होटल तथा व्यवसायिक प्रतिष्ठानमाथि निगरानी बढाएको थियो । सोही क्रममा गरिएको अनुगमनका क्रममा रेडिसन होटलमा नेपाल ग्यास र एसटीसी ग्यासका सिलिन्डर ठूलो संख्यामा भेटिएका हुन् ।
विभागका अनुसार होटलमा नेपाल ग्यासका ११७ वटा फुल सिलिन्डर र एसटीसी ग्यासका ६७ वटा सिलिन्डर भेटिएका छन् । त्यस्तै, होटलका चुलोमा करिब ७० वटा सिलिन्डर प्रयोग भइरहेको समेत पाइएको विभागले जनाएको छ ।
उपभोक्ताका लागि बजारमा ग्यासको अभाव देखिएका बेला होटलले ठूलो परिमाणमा ग्यास मौज्दात राखेको पाइएपछि सम्बन्धित होटलमाथि कारबाहीको तयारी भइरहेको उद्योग मन्त्रालयले जनाएको छ ।
मन्त्रालयले बजारमा पर्याप्त ग्यास हुँदाहुँदै उपभोक्ताले अभाव झेल्नुपर्ने अवस्था अन्त्य गर्न होटल, व्यवसायिक प्रतिष्ठान तथा ग्यासको अनधिकृत भण्डारणमाथि निगरानीलाई थप कडाइ गर्ने जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी
काठमाडौँ । जेन्जी आन्दोलनका क्रममा केन्द्रीय कारागार सुन्धाराबाट फरार भएका बलात्कार मुद्दाका एक प्रतिवादी पक्राउ परेका छन् ।
सिन्धुपाल्चोकको लिसंखुपाखर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–५ जोरपाटी बस्दै आएका ६१ वर्षीय पदम घ्याम्छो तामाङलाई बिहीबार भक्तपुर मालपोत कार्यालय नजिकबाट प्रहरीले पक्राउ गरेको हो ।
तामाङ बलात्कार मुद्दामा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका बेला २०८२ भदौ २४ गते भएको जेन्जी आन्दोलनका क्रममा फरार भएका थिए । फरार रहेका तामाङलाई २०८३ साउन २८ गते पक्राउ गरिएको प्रहरीले जनाएको छ। उनीमाथि थप अनुसन्धान भइरहेको छ।एभरेष्ट न्यूज एजेन्सी