नयाँदिल्ली, ३ भदौं ।
चन्द्रयान- ३ को दोस्रो र अन्तिम डि बूस्टिङ अपरेसन सफलतापूर्वक सम्पन्न भएको छ। भारतीय अन्तरिक्ष अनुसन्धान संगठनका वैज्ञानिकहरूले बुधबार चन्द्रमाको सतहमा अन्तरिक्ष यान अवतरण गर्नुअघि महत्त्वपूर्ण चरणको नजिकबाट निरीक्षण गरेका थिए ।
ल्यान्डर विक्रमले आफूलाई एउटा कक्षामा स्थापित गरेको छ, जहाँबाट चन्द्रमाको सबैभन्दा नजिकको दूरी २५ किलोमिटर र सबैभन्दा टाढाको दूरी १३४ किलोमिटर छ। इसरोले यो कक्षाबाट बुधबार चन्द्रमाको दक्षिण ध्रुवीय क्षेत्रमा सफ्ट ल्यान्डिङको प्रयास गर्ने जनाएको छ ।
इशरोका अनुसार दोस्रो र अन्तिम डिबुस्टिङ अपरेसनले ल्यान्डर मोड्युलको कक्षालाई २५ किमी देखी १३४ किमीमा सफलतापूर्वक घटाएको छ। मोड्युलले आन्तरिक जाँचहरू पार गर्नेछ र सूर्योदयमा तोकिएको समयमा अब अवतरण गराईनेछ, त्यसका लागि सुर्योदय पर्खनु पर्ने हुन्छ।
इशरोका अनुसार अब अगस्ट २३ मा ५ः४५ बजे अवतरणको प्रयास गरिनेछ।
शुक्रबारको पहिलो डि बूस्टिङ अपरेसनको क्रममा इसरोका पूर्व प्रमुख के सिवनले भनेका थिए कि, चन्द्रयान ३ ल्यान्डरको डिजाइन अघिल्लो चन्द्रयान २ मिसनमा प्रयोग गरिएको जस्तै हो। उनले भने, ‘डिजाईनमा कुनै परिवर्तन भएको छैन। चन्द्रयान–२ को अवलोकनका आधारमा मिसनमा भएका सबै त्रुटि सच्याइएको छ।’
चन्द्रमामा सफल अवतरणपछि भारत यो उपलब्धि हासिल गर्ने विश्वको चौथो देश बन्नेछ ।
चन्द्रयान–३ जुलाई १४ मा प्रक्षेपण गरेपछि ५ अगस्टमा चन्द्रमाको कक्षमा प्रवेश गरेको थियो । प्रोपल्सन र ल्यान्डर मोड्युलहरू छुट्याउने अभ्यास अघि यसलाई चन्द्रमाको सतहको नजिक आउन अगस्ट ८, ९, १४ र १६ मा यसलाई चन्द्रमाको कक्षमा तल लैजाने प्रयास गरिएको थियो।
काठमाडौ, ३ भदौ ।
सिनर्जी पावर डेभलपमेन्ट कम्पनीको आज आइतबार भदौ ३ गतेदेखि २४ गतेसम्म ५० प्रतिशत हकप्रद सेयर खुला भएको छ ।
यसअघि कम्पनीले साउन २५ गतेदेखि भदौ १३ गतेसम्म हकप्रद सेयर निष्काशन गर्ने जनाएको थियो । तर पछि समय परिवर्तन गरी भदौ ३ बाट खुला गरेको हो ।
यसले २ः१ अनुपातमा ४० लाख ३२ हजार ८७५ कित्ता हकप्रद सेयर जारी गरेको हो । जसअनुसार १ सय अंकित मूल्यमा ४० करोड ३२ लाख ८७ हजार ५ सय रुपैयाँ बराबरको हकप्रद सेयर बिक्रीमा आएको छ । उक्त हकप्रद सेयरका लागि कम्पनीले साउन १२ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, साउन ११ गतेसम्म कायम लगानीकर्ताले हकप्रद सेयरको दाबी गर्न पाउनेछन् ।
यस हकप्रद सेयरलाई क्रेडिट रेटिङ एजेन्सी इक्रा नेपालले इक्रा एनपी डबल प्लस रेटिङ्ग प्रदान गरेको छ । यसले वित्तीय दायित्व पुरा गर्ने क्षमता मध्यम जोखिम रहेको संकेत गर्दछ । यसको हकप्रद सेयरमा सानिमा क्यापिटल बिक्री प्रबन्धक छ ।
हकप्रदमा सानिमा क्यापिटल र सानिमा बैंकको तोकिएको शाखा कार्यालदयबाट आवेदन दिन सकिन्छ । यसका साथै धितोपत्र बोर्डबाट आस्वा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्था र मेरो सेयरमार्फत आवेदन दिन सकिनेछ ।
हाल यस कम्पनीको चुक्ता पुँजी ८० करोड ६५ लाख ७५ हजार रुपैयाँ रहेको छ । हकप्रद सेयर निष्कासनपछि सिनर्जीको चुक्ता पुँजी १ अर्ब २० करोड ९८ लाख ६२ हजार रुपैयाँ पुग्नेछ ।
न्युयोर्क, ३ भदौं ।
अमेरिकामा करोडौं डलर घोटाला गरेको अभियोगमा भारतीय मूलका एक प्रयोगशाला मालिकलाई २७ वर्षको जेल सजाय सुनाइएको छ ।
उनलाई अमेरिकाको जर्जियामा ४६.३ मिलियन अमेरिकी डलरको आनुवंशिक परीक्षण घोटालामा संलग्न भएको आरोप लागेको थियो।
ल्याब सोलुसनका मालिक मीनल पटेललाई आनुवंशिक र अन्य प्रयोगशाला परीक्षणहरू, जुन बिरामीहरूलाई आवश्यक पर्दैन, मार्फत ४६.३ मिलियन भन्दा बढी रकम घुस र किकब्याक प्राप्त गरेको आरोप छ।
अमेरिकन एक न्याय विभागका अनुसार ४४ वर्षीया मीनल पटेलले बिरामी दलालहरू, टेलिमेडिसिन कम्पनीहरू र कल सेन्टरहरूसँग टेली मार्केटिङ कलहरू मार्फत मेडिकेयर लाभार्थीहरूलाई लक्षित गर्न षड्यन्त्र गरे। यसले झूटो दाबी गर्यो कि उनीहरूको प्याकेजमा महँगो क्यान्सर आनुवंशिक परीक्षणहरू समावेश छन्।
विभागले एक प्रेस विज्ञप्तिमा भन्यो कि मेडिकेयर लाभार्थीहरूले परीक्षणको लागि राजी गरेपछि पटेलले टेलिमेडिसिन कम्पनीहरूबाट परीक्षणहरू अधिकृत गर्ने हस्ताक्षरित चिकित्सक आदेशहरू प्राप्त गर्न बिरामीका दलालहरूलाई घूस दिए।
भारतीय मूलकी मीनल पटेलले किकब्याक लुकाउन ल्याब सोलुसन्सका लागि वैध विज्ञापन सेवाहरू उपलब्ध गराएको भन्दै बिरामी दलालहरूलाई करारमा हस्ताक्षर गर्न आग्रह गरेको आरोप छ। एफबीआई मियामी फिल्ड अफिसका प्रभारी विशेष एजेन्ट जेफ्री बी वेल्ट्रीले भने, ‘आवश्यकतामा परेका बिरामीहरूलाई वैध आनुवंशिक परीक्षण र टेलिमेडिसिन सेवाहरूको प्रावधानमा छल र घूसखोरीको कुनै स्थान छैन।’
‘पटेलले जटिल परीक्षण ठगी योजना मार्फत मेडिकेयरलाई करोडौं डलरको ठगी गरे,’ उनले भने। उनले अब यो अपराधको मूल्य चुकाउनु परेको छ ।यस मुद्दामा सम्पत्ति जफत गर्ने विषयमा सुनुवाई अगस्ट २५ मा हुने भएको छ ।
धनगढी, २ भदौ ।
कैलालीबाट लागूऔषधसहित एक महिला पक्राउ परेकी छन्।
धनगढी उपमहानगरपालिका–१३ राजपुर चोकबाट २४ मिलिग्राम लागूऔषधसहित गोदावरी नगरपालिका–२ की सिता चौधरीलाई प्रहरीले शुक्रवार राति पक्राउ गरेको हो।
त्यस्तै चौधरीलाई सोधपुछ गर्दा अन्य दुई जनाको नाम लिएपछि उनीहरूलाई नियन्त्रणमा लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। उनीहरूमाथि अनुसन्धान भइरहेकाले नाम भने खुलाएको छैन्।
धनगढी, ३ भदौं ।
क्रिकेट संघ सुदूरपश्चिम प्रादेशिक कमिटीको अध्यक्षमा बासुदेव जोशी निर्वाचित भएका छन्।
शनिबार धनगढीमा सम्पन्न संघको दोस्रो साधारणसभाबाट डडेल्धुरा निवासी जोशीको नेतृत्वमा नयाँ कमिटी चयन भएको हो।
प्रदेशका ८ वटा जिल्लाका क्रिकेट संघका प्रतिनिधिहरू सहभागी रहेको साधारणसभाबाट उपाध्यक्षमा रमेशबहादुर बोहरा (बैतडी), सचिव लक्ष्मणदत्त भट्ट (कञ्चनपुर), कोषाध्यक्ष दिनेश सिंह (डोटी), सदस्यहरूमा हरि रेग्मी (कैलाली), शेर सिंह खत्री (बैतडी), तेज कार्की (दार्चुला), अनिल कुँवर (अछाम), माया रावत साउद (कञ्चनपुर), रमेशबहादुर चन्द (डोटी), जोगबहादुर दौल्याय (बझाङ), बाबुराजा श्रेष्ठ (कैलाली) र आशिष कुमार खत्री (कञ्चनपुर) निर्विरोध निर्वाचित भएका हुन्।
संघका केन्द्रीय अध्यक्ष चतुरबहादुर चन्दको उपस्थितमा प्रदेशका भौतिक पूर्वाधारमन्त्री प्रकाश देउवाले साधारणसभाको एक समारोहबीच उद्घाटन गरेका थिए।
काठमाडौं, ३ भदौ ।
सत्तासाझेदार नेकपा एकीकृत समाजवादी पार्टीको पोलिटब्यूरो बैठक यही भदौ ३ गतेदेखि सुरु हुने भएको छ।
शनिबार काठमाडौंको आलोकनगरस्थित केन्द्रीय कार्यालयमा बसेको एकीकृत समाजवादी पार्टीको सचिवालय बैठकले भदौ ३ र ४ गते पोलिटब्यूरो बैठक बस्ने निर्णय गरेको हो।
त्यसैगरी भदौ ५, ६ र ७ गते केन्द्रीय कमिटी बैठक बोलाइएको छ। दुवै बैठकमा मुलुकको समसामयिक राजनीतिक परिस्थिति र पार्टीको आगामी कार्यभार मुख्य अजेण्डा रहेको पार्टीका प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले बताए।
पोलिटब्यूरो बैठकले केन्द्रीय कमिटी बैठकको तयारी गर्ने र त्यसले मुलुकको पछिल्लो राजनीतिक परिस्थितिबारे महत्त्वपूर्ण निर्णय गर्ने उनको भनाइ छ।
एकीकृत समाजवादी आगामी माघमा सम्पन्न हुनेगरी राष्ट्रिय महाधिवेशनको तयारीमा जुटेको छ।
काठमाडौ, ३ भदौ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ।

जस अनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६७ पैसा र बिक्री दर १३३ रूपैयाँ २७ पैसा तथा युरोपियन युराे एकको खरिद दर १४४ रूपैयाँ २५ पैसा र बिक्री दर १४४ रूपैयाँ ९० पैसामा काराेबार हुने भएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८४.९६ रुपैयाँ रहेको छ भने बिक्री दर ८५.३५ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ १ पैसा र बिक्रीदर ९८ रुपैयाँ ४५ पैसामा खरिदबिक्री हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ १२ पैसा र बिक्रीदर ९ रुपैयाँ १६ पैसा कायम हुदाँ दक्षिण काेरिया १०० को खरिदमा ९ रूपैयाँ ९ पैसा र बिक्रीदर ९ रूपैयाँ ९४ पैसा कायम गरिएकाे छ ।
यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३८ रुपैयाँ रहेको छ भने बिक्री दर ३५.५४ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.५५ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६८ रुपैयाँमा काराेबार हुने जनाइएकाे छ । साथै, कुवेती दिनार १ को खरिदमूल्य ४३०.८१ पैसा विक्रीदर ४३२.७६ पैसा मुल्य ताेकिएकाे छ ।
किभ, ३ भदौं ।
रुसी सेनाले युक्रेनको ऐतिहासिक सहर चेर्निहाइभमा मिसाइल हमला गरेको छ ।
युक्रेनको आन्तरिक मन्त्रालयले रुसी मिसाइलले भीडभाड भएको चोकमा प्रहार गर्दा ६ वर्षीय बालकसहित सात जनाको मृत्यु भएको र १२९ जना घाइते भएको जनाएको छ ।
हवाई आक्रमण हुँदा मानिसहरु धार्मिक बिदा मनाउन चर्च जाँदै गरेको मन्त्रालयले जनाएको छ । आन्तरिक मन्त्री इहोर क्लिमेन्कोले रुसी आक्रमणमा घाइते हुनेमा १५ बालबालिका र १५ प्रहरी अधिकारी रहेको सामाजिक सञ्जाल पोस्ट गर्दै बताएका छन् ।
स्वीडेनको आधिकारिक भ्रमणमा रहेका युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्कीले टेलिग्राममा एउटा पोस्टमा रुसले चर्च जानेहरू माथि मिसाइल आक्रमण गरेको र चेर्निहाइभको सहरको केन्द्रमा आक्रमण गरेको बताए। मृत्यु हुनेमा महिला र बालबालिका रहेका छन् । उनले भने कि, ‘यो रूसको राक्षसी प्रवृत्तिको अर्को दुखद दृश्य हो।’
जेलेन्स्कीले पोस्टमा आक्रमणपछिको भिडियो पनि सेयर गरेका छन्। जसमा ड्रामा थिएटर अगाडिको चोकमा भग्नावशेष छरिएको देखाइएको छ । आक्रमणबाट त्यहाँ पार्किङ गरिएका गाडीमा ठूलो क्षति पुगेको छ ।
माली, ३ भदौं ।
अफ्रिकी देश मालीमा भएको आक्रमणमा २१ जनाको मृत्यु भएको छ ।
मध्य मालीको मोप्ती क्षेत्रको एउटा गाउँमा बन्दुकधारीहरूले आक्रमण गरेका थिए। यस क्रममा उनले २१ जनाको हत्या गरेको समाचारमा जनाईएको छ ।
विदेशी सञ्चारमाध्यमका अनुसार स्थानीय स्रोतहरूले शनिबार दिउँसो मोप्तीको बन्दियागरा सहर नजिकैको यारु गाउँमा केही आक्रमणकारी प्रवेश गरेको बताएका छन्। उनीहरुले निशाना बनाएर गोली चलाएको जनाईएको छ ।
सो आक्रमणमा परी महिलासहित २१ जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन् । अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मेवारी लिएको छैन।
इस्लामबाद, ३ भदौं ।
पाकिस्तान तहरीक ए इन्साफ (पीटीआई)का अध्यक्ष इमरान खानकी पत्नी बुशरा बीबीले आफ्ना श्रीमानकाे सुरक्षाप्रति चिन्ता व्यक्त गर्दै उनलाई अटक जेलमा विष खुवाउन सकिने बताएकी छन्।
पाकिस्तानी मिडियाका अनुसार बुशरा बीबीले पञ्जाबका गृह सचिवलाई पत्र पठाएर अदालतले आफ्ना पतिलाई रावलपिंडीको अडियाला जेलमा सार्न सम्बन्धित अधिकारीहरूलाई निर्देशन दिनु पर्नेसमेत बताएकी छिन ।
उनले भनिन्, ‘मेरा श्रीमान् विना कारण अट्टक जेलमा थुनिएका छन् । कानुनबमोजिम मेरो श्रीमानलाई अडियाला जेलमा सार्नु पर्छ ।’
पूर्व प्रधानमन्त्री इमरान खानलाई यस महिनाको सुरुमा गिरफ्तार गरिएको थियो, जब उनको प्रधानमन्त्रीको कार्यकालमा विदेशी प्रतिष्ठित व्यक्तिहरूबाट प्राप्त सरकारी उपहारहरू बिक्रीसँग सम्बन्धित तोशाखाना मुद्दामा अदालतले दोषी करार भए पछि तीन वर्षको जेल सजाय सुनाइएको थियो।
पीटीआई प्रमुखलाई अक्सफोर्ड स्नातक तथा राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान भएकाले सामाजिक र राजनीतिक हैसियतअनुसार कारागारमा ‘बी’ श्रेणीको सुविधा दिनुपर्ने बुशराबीबीले माग गरेकी छिन ।
यसैबीच बुशरा बीबीले विगतमा पनि दुई पटक खानको हत्याको प्रयास भइसकेको भएपनि संलग्न अभियुक्तलाइ पक्राउ नगरेको बताइन् । ‘उनको जीवन अझै खतरामा छ र मेरो श्रीमानलाई एटक जेलमा विष खुवाउने डर छ,’ उनले पत्रमा भनिन्। मिडिया रिपोर्टका अनुसार उनले देशको पूर्वप्रधानमन्त्री भएकाले आफ्ना श्रीमानलाई जेलमा घरमा पकाएको खाना खान दिनु पर्ने बताएकी छन् । जेल म्यानुअलको सन्दर्भमा बुशराले खानलाई ४८ घण्टाभित्र सबै सुविधा उपलब्ध गराउने भनिएको तर १२ दिन बितिसक्दा पनि आफूलाई त्यो सुविधा नदिएको बताइन् ।
उनले भनिन्, ‘कारागारको नियम बमोजिम निजी चिकित्सकबाट स्वास्थ्य परीक्षण गराउने मेरो श्रीमान्को अधिकार छ । उनले पीटीआई प्रमुखलाई जेल म्यानुअल अनुसार सुविधा नदिएकोमा छानबिन गर्न मागसमेत गरेकी छिन ।
यसबाहेक गत हप्ता पीटीआई कोर कमिटीले पनि इमरान खानलाई ‘स्लो पोइजनिङ’बाट पीडित हुनसक्ने चिन्ता व्यक्त गरेको थियो र उनलाई घरमा पकाएको खाना र पानी उपलब्ध गराउन माग गरेको थियो।