हेमन्त केसी ,सुर्खेत, ३ भदाै ।
डोल्पाको जगदुल्ला गाउँपालिकामा नौ जना युवाहरु मिलेर १५ वर्षीया बालिकामाथि बलात्कार भएको घटना बाहिरिएको छ । घटना घटेको ६ महिनापछि परिवारले जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएसँगै घटना बाहिरिएको हो ।
वडा नं ६ बस्ने बालिकामाथि स्थानीय युवाहरुले पटक पटक बलात्कार गरेको किटानी जाहेरी परिवारबाट जिल्ला प्रहरी कार्यालयमा आएपछि संलग्न नौ जनामध्ये तीनजनालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय डोल्पाका प्रहरी नायव उपरीक्षक शिव बुढाथोकीले जानकारी दिए ।
पक्राउ परेका तीनमध्ये दुई जनालाई जुम्लाबाट र एक जनालाई गाउँबाटै नियन्त्रणमा लिइएको हो । ६ जना युवा फरार छन् । फरार रहेकाहरुको खोजी कार्य तिब्र रुपमा भइरहेको प्रहरीले जनाएको छ । फरार भएका युवालाई पक्राउ गर्न सजिलो होस् भनेर नियन्त्रणमा लिइएका युवाहरुको नाम प्रहरीले गोप्य राखेको छ ।
बलात्कार भएकी बालिकाको पेटमा ६ महिनाको गर्भ रहेको खुलेको छ । गर्भवती भएकी नाबालिकालाई हेरचाह केन्द्रमा स्थानान्तरण गर्नको लागि कर्णाली प्रदेश सुर्खेतमा समन्वय भइरहेको प्रहरीले जनाएको छ । पीडित बालिकाको परिवार निम्न वर्गको भएकाले गाउँमै घटना मिलाउन दबाब दिइएको थियो । पछि बालिका गर्भवती भएको थाहा भएपछि मात्रै घटना बाहिरिएको प्रहरीको भनाइ छ । बलात्कृत बालिका कक्षा ७ मा अध्ययनरत छिन् ।
काठमाडौ, ३ भदौ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघले आज नेपाली बजारमा सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको जनाएको छ । महासंघले आजको मूल्यसूची तय गर्दै गत साताको शुक्रबारको तुलनामा आज पनि मूल्य घटेको जनाएको हो ।
गत साताको शुक्रबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ४०० रुपैयाँ कायम थियो । यस्तै, उक्त मितिमा तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ८५० रुपैयाँ कायम थियो । जुन, आज आइतबार तोलामा १०० रुपैयाँले घटेर कारोबारमा आएको हो ।
महासंघका अनुसार आज छापावाल सुनको मूल्य १ लाख १० हजार ३०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ७५० रुपैयाँ कायम भएको छ ।
सुनको मूल्य घटेपनि आज चाँदीको मूल्य भने स्थिर छ ।
महासंघका अनुसार आज चाँदीको कारोबार प्रतितोला १३ सय ९० रुपैयाँ छ । गत साताको शुक्रबार पनि यही मूल्यमा चाँदीको कारोबार भएको थियो ।
काठमाडौ, ३ भदौ।
प्रि-ओपन सेसनमा नेप्से सूचक ०.०६ विन्दुले बढेको छ । यससँगै सूचक २०३३.२० अंकमा आएको छ ।
३ लाख ४७ रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १४ कम्पनीको ११ सय ८० कित्ता सेयर कारोबार भएको हो ।
यो सेसनमा कुल २० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।
काठमाडौ, ३ भदाेै ।
नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूह अन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।
बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरुले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्सुरेन्स देखि रियल सेक्टरका कम्पनीहरु थिए ।
गत वर्ष हाइड्रोपावर कम्पनीहरुले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो ।
स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूह अन्तर्गतका कम्पनीहरु छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आइपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।
काठमाडौ, ३ भदौ ।
गत साता नेप्से परिसूचक साढे १ प्रतिशत घटेको छ। अघिल्लो साता २०६६.०५ विन्दुमा बन्द भएको नेप्से, गत साता १.५९ प्रतिशत अर्थात ३२.९२ अंक घटेर २०३३.१३ विन्दुमा झरेको थियो।
पाँच कारोबार दिनमध्ये तीन कारोबार दिन बजार नकारात्मक भइ बन्द भएपछि नेप्सेले सो बराबरको अंक गुमाएको हो। गत साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से बढेर बन्द भएको थियो भने बाँकी ३ कारोबार दिन घटेर बन्द भएको हो।
साताको अन्तिम कारोबार दिन नेप्सेले डोजी मैनबत्ती बनाएको छ। यसले लगानीकर्ताहरु अबका दिनमा बजार बढ्छ कि घट्छ भन्ने अन्योलता थपेको छ ।
यद्यपि, साप्ताहिक रुपमा नेप्सेले बियरिश मैनबत्ती बनाएको छ। जसले सो साता बजारमा खरिदकर्ताको तुलनामा बिक्रीकर्ता हाबी भएको संकेत गर्दछ।
अहिले बजार ‘पर्ख र हेर’ को अवस्थामा रहेको छ। यस साता नेप्से परिसूचक उकालो लागेमा २०९० देखि २१२० को क्षेत्रमा प्रतिरोधको सामना गर्ने देखिन्छ। यद्यपि, उकालो लाग्नका लागि २०४५ को ब्रेकआउट विन्दु पार गर्नु पर्नेछ। त्यसैगरी, यस साता नेप्से ओरालो लागेमा भने १९६० देखि १९९० को क्षेत्रमा टेवा पाउने देखिन्छ।
नेप्सेसँगै गत साता भोल्यूम पनि कमजोर देखिएको छ। गत साता नेप्सेमा दैनिक औषतमा १ अर्ब ७४ करोडको शेयर खरिदबिक्री भएको छ। साताको अन्तिम कारोबार दिन नेप्सेको २० दिने औषत भोल्यूम २ अर्ब ९ करोड रहेको छ। २० दिने औषत भोल्यूमको तुलनामा दैनिक औषत भोल्यूम १७३ प्रतिशत कम हो।
हैदाराबाद, ३ भदौं ।
कमल हसन बिग बोस तमिलको नयाँ सिजनमा फर्किएका छन् । बिग बोस तमिल ७ को नयाँ टिजर प्रोमो अन्ततः अभिनेता र निर्माताहरु द्वारा सामाजिक सञ्जालमा हालै रिलीज गरिएको छ ।
प्रोमोमा, कमल हासन समुद्रले घेरिएको काठको डेकमा फसेको देखिन्छ। जब शट बिस्तारै उहाँमा जुम इन हुन्छ, अभिनेता आफ्नो अनुहारमा मुस्कान लिएर फर्कन्छ र आफ्नो औंलाहरूले इशारा गर्दछ। सिजनको नयाँ लोगो पनि सार्वजनिक गरिएको छ । यो चाँदी र सुनको डिजाइनको संयोजन हो।
बिग बोस तमिल सिजन ७ स्टार च्यानलहरू र डिजिटल स्ट्रिमिङ प्लेटफर्म डीज्नेमा प्रसारण गर्न तयार छ। यद्यपि प्रतियोगीहरूको बारेमा कुनै आधिकारिक घोषणा गरिएको छैन, धेरै रिपोर्टहरूले सुझाव दिन्छ कि ज्याकलिन, अभिनेता पृथ्वीराज, महिला बस चालक शर्मिला र बिग बोस ६ स्टार रचिताका पति दिनेश यस सिजनमा देखा पर्न सक्छन्।
आफ्नो राजनीतिक करियरमा ध्यान केन्द्रित गर्न चलचित्र क्षेत्रबाट टाढा रहेका कमल हसनसँग अहिले धेरै विशेष प्रोजेक्टहरू छन्। फिल्म बाहेक, कमल हासनले प्रसिद्ध टेलिभिजन रियालिटी शो, बिग बोस तमिल पनि होस्ट गर्छन्।
काठमाडौ, ३ भदौ ।
कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्य सूची सार्वजनिक गरेको छ ।
जस अनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य १४०, टनेल गोलभेडा सानो ७०, घिउ सिमी लोकल ८०, काउली स्थानिय प्रतिकेजी ७० रुपैयाँ , आलु रातो ५०, मुडे आलु रातो ४४, भारतीय आलु रातो ३५, भारतीय प्याज सुकेको ६०, लौका ७०, हरियो फर्सी ७०, घिरौला ५० कायम भइ कारोबार भइरहेको छ ।
त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ, बन्दा लोकल ४०, गाँजर ११०, मूला सेतो ७०, मूला रातो ६०, भन्टा डल्लो ६०, भन्टा लाम्चो ६०, मकै बोडी ८०, टाटे सिमी ७०, तितो करेला ८०, ब्रोकाउली १४०, कागती १६०, भिण्डी ८०, न्यूरो ७० रुपैयाँ, रातो बन्दा प्रतिकेजी ८० रुपैयाँ, लोकल काक्रो ७०, अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।
समितिका अनुसार कुरीलो प्रतिकेजी ५५०, केरा दर्जन १३०, अनार २८०, नासपाती ७०, आभोकाडो ५०० रुपैयाँ, कालो अंगुर ४००, किवि ७००, हरियो खुर्सानी अकबरे १५० रुपैयाँ, रहु माछा ३०५, छडी माछा २३०, ताजा माछा(मुंगरी) २८० रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।
यस्तै लप्सी प्रतिकेजी ५०, हरियो धनिया १५०, खु्र्सानी सुकेको ४५०, नेपाली सुकेको लसुन २२०, चाइनिज लसुन २५०, लसुन हरियो १८०, रुख कटहर ५०, छ्यापी सुकेको २००,भेडे खुर्सानी ६०, फूजी स्याउ ३५०, मौसम १४०, जुनार ३२०, तोफु ११०, पिंडालू ७०, तामा १००, कन्य च्याउ १८०, तने बोडी प्रतिकेजी १०० मा कारोबार भइरहेको छ ।
काठमाडौं, ३ भदौं ।
सदन अवरोध खुलाउने विषयमा छलफल गर्न सभामुख देवराज घिमिरेले आज पनि छलफल गर्दैछन् ।
झन्डै एक महिना देखी संसद अबरोध भए पछि सभामुख घिमिरेले सत्तापक्ष र विपक्षी दलका प्रमुख सचेतकहरुसँग छलफल गर्न लागेका हुन ।
सिंहदरबारस्थित संसद सचिवालय भवनमा बैठक ११ बजे बोलाईएको छ ।
सभामुखको सचिवालयका अनुसार आजको बैठकमा सत्तापक्षबाट नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्र तथा विपक्षी दलबाट नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रमुख सचेतक र सचेतक सहभागी हुनेछन् ।
सुन प्रकरणमा नेकपा एमालेले उच्च स्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग गर्दै निरन्तर संसद अबरुद्ध गरिरहेको छ । सभामुख घिमिरेले हिजो प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग पनि छलफल गरेका थिए ।
बर्दिया, ३ भदौं ।
बलात्कारको आरोपमा ५३ बर्षिया पुरूषलाइ पक्राउ गरिएको छ ।
मधुवन नगरपालिका– १ बहादुरपुरका ५३ वर्षीय कर्णबहादुर विश्वकर्मा पक्राउ गरिएको हो ।
सुष्त मनिस्थीतिकी २४ वर्षीया युवतीलाई आफ्नै घरमा बोलाई जबर्जस्ती करणी गरे पछि उजुरी आएपछि बर्दिया प्रहरीले उनलाई पक्राउ गरेर अनुसन्धान प्रकिया अघि बढाएको छ ।
जिल्ला प्रहरी कार्यालय बर्दियाका डीएसपी तथा सुचना अधिकारी हिक्कतबहादुर बोहोराका अनुसार उनलाई इलाका प्रहरी कार्यालय ढोढरीले शनिबार दिउँसो पक्राउ गरेर अहिले हिरासतमा राखेको छ । उनी माथी अनुसन्धान जारी छ ।
काठमाडौं, ३ भदौं ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको पहलकदमीमा गठन भएको समाजवादी मोर्चाको बैठक बस्दैछ ।
बैठक गठबन्धनमा आबद्ध दल नेकपा एकीकृत समाजवादी पार्टीको केन्द्रीय कार्यालय, आलोकनगरमा बस्नेछ ।
नेकपा एसका प्रवक्ता जगन्नाथ खतिवडाका अनुसार आज साँझ ६ बजेका लागि बैठक बोलाईएको छ । गौर हत्याकाण्डको छानबिन गर्ने सम्झौता सरकारले गरे पछि सो गठबन्धनमा आबद्ध मध्ये जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) प्रधानमन्त्री प्रचण्डसँग सशंकित हुदैँ आएको छ ।
साथै, सर्वोच्च अदालतले ललिता निवास प्रकरणमा पुर्व प्रधानमन्त्री तथा नेकपा एसका अध्यक्ष माधबकुमार नेपाल माथी छानबिन गर्ने बाटो खोलिदिए पछि गठबन्धन संकटमा परिरहेको बेला मोर्चाको बैठक बस्न लागेको हो ।
यसअघि तय भएको बैठक बिभिन्न कारणले सर्दै आएको थियो ।