काठमाडाैं, ४ भदाै ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित पाँचजना पक्राउ परेका छन् । कैलालीका विभिन्न स्थानबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थसहित ४ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका-१७ बस्ने ३१ वर्षीय पप्पु राना, सोही उपमहानगरपालिका-३ बस्ने १९ वर्षीया करिष्मा छेडाल, सोही उपमहानगरपालिका-१ बस्ने ३० वर्षीय शाहिल नेपाली र सोही उपमहानगरपालिका-७ बेली बस्ने १८ वर्षीय किशोर रहेका छन् ।
उनीहरूमध्ये पप्पु राना र करिष्मा छेडाललाई करिब ३ ग्रामसहित धनगढी उपमहानगरपालिका-८ क्याम्पस चोकबाट, शाहिल नेपालीलाई ३ सय मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१ स्थित शिव मन्दिर नजिकबाट र किशोरलाई ३ सय १० मिलिग्रामसहित धनगढी उपमहानगरपालिका-१५ कनरीबाट प्रहरीले पक्राउ गरेको हो ।
झापाकाे मेचीनगर नगरपालिका-६ तुर्केनीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ८ सय मिलिग्रामसहित सोही नगरपालिका-६ बद्री टोल बस्ने ३२ वर्षीय बसन्त राईलाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय काँकरभिट्टा र सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट काँकरभिट्टाबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
काठमाडौ, ४ भदौ ।
बालुवाटार जग्गा काण्डले चिनिएको ललिता निवास जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र डा. बाबुराम भट्टराईसँग बयान लिएको छ ।
आफ्नो अनुसन्धान प्रतिवेदन बुझाउने तयारी गरिरहँदा आइतबार राति सीआईबीले तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग बयान लिएको हो । निर्णयकर्तालाई उन्मुक्ति दिन खोजिएको भन्दै सरकारको आलोचना भइरहेका बेला सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णयमाथि समेत अनुसन्धान गर्न आदेश दिएपछि सीआईबीले उनीहरुसँग बयान लिएको हो । सीआईबीले उनीहरूसँग सोधपुछ कागज गरेको हो ।
निर्णय गर्नेलाई कारबाही नगर्न खोजेको र निर्देशन पालना गर्ने कर्मचारी वा व्यक्तिलाई कारबाहीको दायरामा ल्याएर दोषीलाई उन्मुक्ति दिन खोजेको भन्दै सरकारको कडा आलोचना भइरहेको थियो । सर्वाेच्च अदालतको आदेशलाई तत्कालीन प्रधानमन्त्रीद्वय नेपाल र भट्टराईसँग सीआईबीलाई बयान लिन बाटो खुलेको हो ।
झापा, ४ भदाै ।
२० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दमक नगरपालिका-५ यलम्बर चोक डेरा गरी बस्ने मोरङ कानेपोखरी गाउँपालिका-३ घर भएका ४३ वर्षीय मोहन बहादुर राईलाई प्रहरीले पक्राउ गरेको छ ।
राईले ती महिलालाई ललाई फकाई गत साउन १८ गते दिउँसो दमक नगरपालिका-८ स्थित होटलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी तोपगाछीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौ, ५ भदौ ।
नेपाल राष्ट्र बैंकले मंगलबारका लागि विदेशी मुद्राको विनिमय दर सार्बजनिक गरेकाे छ ।
जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ६८ पैसा र बिक्री दर १३३ रूपैयाँ २८ पैसा तथा युराेपियन युरो एकको खरिद दर १४४ रूपैयाँ ५९ पैसा र बिक्री दर १४५ रूपैयाँ २५ पैसा कायम गरिएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६८ रूपैयाँ ९४ पैसा र बिक्री दर १६९ रूपैयाँ ७१ पैसामा काराेबार हुदाँ अस्ट्रेलियन डलर एकको खरिद दर ८५.२ रुपैयाँ र बिक्री दर ८५.४१ रुपैयाँमा तथा क्यानेडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९ पैसा र बिक्रीदर ९८ रुपैयाँ ५४ पैसामा काराेबार हुनेछ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९ पैसा र बिक्रीदर ९ रुपैयाँ १३ पैसामा खरिदबिक्रीकाे अनुमति पाएसँगै दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८८ पैसा र बिक्रीदर ९ रूपैयाँ ९२ पैसा कायम गरिएकाे छ ।
त्यसैगरी, कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ ४० पैसा र बिक्री दर ३६ रूपैयाँ ५७ पैसामा काराेबार हुने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.३७ रुपैयाँ र बिक्री दर ३५.५३ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.५४ रुपैयाँ रहेको छ भने बिक्री दर २८.६७ रुपैयाँ कायम हुदाँ कुवेत दिनार १ को खरिदमूल्य ४३०.६१ पैसा विक्रीदर ४३२.५६ पैसामा काराेबार हुनेछ ।
काठमाडौं, ५ भदौं ।
सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सरकार तयार भए पछि आज त्यसको कार्यादेश र संरचना टुंगो लगाईदैछ ।
हिजो बसेको प्रमुख राजनीतिक दलको शिर्ष नेताहरुको बैठकमा सुन तस्करी प्रकरणमा उच्च स्तरीय छानबिन समिति बनाउन सहमत भएका थिए ।
सो सहमति लगत्तै नेकपा एमालेका सुबासचन्द्र नेम्बाङ, नेपाली कांग्रेसका रमेश लेखक र माओवादी केन्द्रका हितराज पाण्डे सम्मिलित कार्यदलले छानबिन समितिको कार्यादेश र संरचनाको ड्राफ्ट बनाउने जिम्मेवारी पाएका छन् । उक्त कार्यादलले बनाएको ड्राफ्टलाई प्रमुख दलमा छलफल गरी मन्त्रीपरिषदवाट अनुमोदन गराउने योजनामा पनि दलहरु बिच सहमति भएको एमालेका प्रमुख सचेतक पदम गिरीले जानकारी दिए । जसका लागि आज बिहान ११ बजे कार्यदलको बैठक बस्नेछ ।
उच्च अदालतका न्यायाधीश प्रमुख रहने गरी जाँचबुझ आयोग ऐन २०२६ बमोजिम उक्त आयोग गठन हुने छ ।
सो छानबिन समिति नबनाएसम्म संसद चल्न नदिने प्रमुख प्रतिपक्षी दल एमालले अडान कायम राखेर संसद अबरुद्ध गर्दै आएको थियो । गत साउन १० देखी अबरुद्ध संसद छानबिन समिति गठन गर्न सरकार सहमत भएसँगै आजवाट सुचारु हुनेछ ।
लन्डन, ५ भदौं ।
सात जनाको शिशुको हत्या गर्ने बेलायती नर्स लुसी लेटबीलाई आजिवन कारावासको सजायँ सुनाईएको छ ।
उत्तरी इङ्गल्याण्डको एक अस्पतालमा काम गर्दा सात नवजात शिशुको हत्या र कम्तीमा छ जनाको हत्या प्रयास गरेको अभियोगमा बेलायतको अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो ।
न्यायमूर्ति जेम्स गसले आजीवन कारावासबाट प्रारम्भिक रिहाइको लागि सबै प्रावधान खारेज गरे र उनको अपराधको गम्भीरतालाई लिएर ३३ वर्षीया नर्सले आफ्नो सम्पुर्ण जीवन जेलमा बिताउनु पर्ने घोषणा गरे ।
लेटबीलाई गत हप्ता सात नवजात शिशुको हत्या र अन्य छ वटा बच्चाको हत्या प्रयासको सातवटा मुद्दामा दोषी ठहर गरिएको थियो। सजाय सुनाउने टिप्पणीमा न्यायमूर्ति गसले म्यानचेस्टर क्राउन कोर्टमा कडा हिरासतमा सजाय सुनाउँदै भने, ‘नर्सले विश्वासको घोर उल्लङ्घन र पूर्वचिन्तन, मूल्याङ्कन र चतुरताको साथ काम गरेकी छिन, त्यसले उनलाई भारी सजायँ दिइन्छ ।’
‘तपाईले गरेको व्यवहार बालबालिकाको पालनपोषण र हेरचाह गर्ने सामान्य मानवीय प्रवृत्तिको पूर्णतया विपरीत थियो र चिकित्सा र हेरचाह पेशामा काम गर्ने व्यक्तिहरूमा सबै नागरिकहरूले राखेको विश्वासको घोर उल्लङ्घन थियो,’ न्यायाधीशले भने।
‘तपाईंले हानि गरेका बालबालिका समयअघि नै जन्मिएका थिए र कतिपय बाँच्न नसक्ने जोखिममा थिए तर प्रत्येक घटनामा तपाईले उनीहरूलाई मार्ने नियतले जानाजानी हानी पुर्याएको देखियो,’ सजायँ सुनाउँदै उनले भने ।
गत शुक्रबार सोही अदालतका न्यायाधीशले नर्सलाई १० महिनाको सुनुवाइ पछि सात नवजात शिशुको हत्या र छ जनाको हत्या प्रयास गरेको अभियोगमा दोषी ठहर गरे पछि अहिले सजाय सुनाईएको हो ।
बेलायतमा जन्मेका भारतीय मूलका डाक्टर रवि जयरामले हत्यारा नर्सलाई समात्न महत्वपूर्ण भूमिका खेलेका थिए । डा. रवि जयराम हत्यारा नर्सको बारेमा शंका उठाउने र उच्च अधिकारीहरूलाई उजुरी गर्ने मध्ये एक थिए। उनकै उजुरीकाे अाधारमा उनलाइ पक्राउ गरी सजायँ सुनाइएकाे हाे ।
बेलायती प्रधानमन्त्री ऋषि सुनकले यसका लागि नर्सको निन्दा गर्दै उनलाई कायर भनेका छन् । आफ्नो सरकारले सजाय पाएका अपराधीलाई दोषी ठहर गरे पछि पीडितलाई सजाय भोग्न बाध्य पार्न कानून परिमार्जन गर्ने विचार गरिरहेको पनि बताए । उनले भने, ‘सबैले यो समाचार पढिरहँदा मलाई लाग्छ, यो निकै स्तब्ध र पीडादायी छ ।’
काठमाडौं, ५ भदौं।
राप्रपा नेपाल केन्द्रीय कार्य सम्पादन समितिको बैठकले केन्द्रिय समिति बैठकका लागि अजेन्डा तय गरेको छ ।

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बसेको बैठकले भाद्र ७ र ८ गते काठमाडौंमा बोलाईएको केन्द्रीय समिती बैठकका एजेन्डाहरु तय गरी पारित गरेको हो ।
अध्यक्ष थापाको राजनीतिक कार्यपत्र सङ्गै राजसंस्थाको बिषयमा पार्टीको आधिकारिक धारणा बारे प्रतिबेदन पेश गर्न उपाध्यक्ष प्रा.डा. बिष्णु भण्डारीको संयोजकत्वमा गठित कार्यदलको प्रतिबेदनलाई अनुमोदन गरि केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने समेत निर्णय गरिएको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । साे पार्टीले यसअघि संबैधानिक राजतन्त्रकाे अजेन्डा छाडेकाे थियाे । तर, अब साे अजेन्डा पारित गर्ने पक्षमा बहुमत देखिए पछि अबकाे केन्द्रिय समितिमा ब्यापक छलफल हुनेछ ।

यसै गरि बैठकमा संगठन सम्बन्धि प्रतिबेदन महामन्त्री एबम बिभाग प्रमुख राजाराम बर्तौला, आर्थिक प्रतिबेदन कोषाध्यक्ष ज्ञानेन्द्र कार्किले प्रस्तुत गर्नुका साथै मुमा बडामहारानी रत्नको शुभजन्मोत्सबको अबसरमा शुभकामना ब्यक्त गर्ने प्रस्ताव समेत पास गरिएको प्रबक्ता बसन्तमान सिंह अधिकारीले बताए ।
प्रबक्ता अधिकारिका अनुसार अम्मर केसीको संयोजकत्वमा समसामयिक बिषयमा थप एजेन्डा तय गर्न ५ सदस्यीय समिती पनि गठन गरिएको छ। बैठकमा आन्दोलनको तयारी र राष्ट्रबादी प्रजातान्त्रिक शक्तिहरुलाई एकै ठाउँमा ल्याउने बिषयमा छलफल भएको बताईएको छ ।
काठमाडौं, ५ भदौं ।
आज राष्ट्रियसभा बैठक बस्दैछ ।
संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो १ बजे बोलाईएको छ ।
संघीय संसद सचिवालयले सार्वजनिक गरेको सम्भावित कार्यसुची अनुसार आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइने छ ।
बिद्यायन ब्यबस्थापन समितिकी सभापति जयन्ती राईले संविधान अनुसार बन्न बाँकी रहेको कानुनहरुको अध्ययन प्रतिवेदन २०८० पेश गर्ने कार्यसुचीमा उल्लेख छ ।
साथै, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
काठमाडौं, ५ भदौं ।
प्रतिनिधिसभा बैठक बस्दैछ ।

संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक दिउँसो ३ बजे बोलाईएको छ ।
आजको प्रतिनिधिसभा बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र बिद्येयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिषद कार्यालयवाट प्राप्त कार्यभार तोकिएको पत्र पढेर सुनाइनेछ ।
संघीय संसद सचिवालयले सार्बजनिक गरेको सम्भावित कार्यसुची अनुसार नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका नेकपा एमालेका सांसद (सचिव) टोपबहादुर रायमाझीलाई निलम्बन गरिएको जानकारी सभामुखले गराउने छन् । साथै, सांसद सुनिल शर्मा पक्राउ र रिहाका बारेमा पनि संसदमा जानकारी गराईनेछ ।
उता, बाधा अडकाऊ फुकाउ आदेश पेश गर्ने सिलसिलामा कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले बेपत्ता पारिएका ब्यक्तिको छानबिन आयोग र सत्य निरुपण तथा मेलमिलाप आयोग २०७१ को दफा ४२ को उपदफा २ बमोजिम आयोगको कार्यबिधि थप गर्ने प्रस्ताव पेश गर्नेछन ।
साथै शिक्षा मन्त्री अशोककुमाार राईले राष्ट्रियसभामा उत्पत्ति भएको नेपाल बिश्वबिद्यालय बिद्येयक २०८० लाई बफादार छलफलका लागि सबन्धित समितिमा पठाउने प्रस्ताव पेश गर्नेछन भने सभामुखले १० वा सो भन्दा बडी बैठकमा अनुपस्थित सांसदहरुको सुचनाहरु सभाको स्विकृतिका लागि पेश गर्ने कार्यसुची रहेको छ ।
उता, बिषयगत समितिको सदस्य हेरफेर देखी १० पटकसम्म बैठकमा अनुपस्थित सांसदहरूको नामावली बाचन गरेर सुनाइने छ भने संसदीय समितिका सदस्यहरूकाे नामावली हेरफेरकाे सुचना पनि जानकारी गराइनेछ ।
काठमाडौं, ५ भदौ ।
संसद गतिरोध अन्त्यका लागि आज शितल निवासमा सर्बदलीय बैठक बस्दैछ ।
राष्ट्रपति रामचन्द्र पौडेलले संसद्मा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दलका शीर्ष नेतासँग संसद गतिरोधको बिषयलाई लिएर सर्बदलीय बैठक बोलाएका हुन ।
राष्ट्रपति पौडेलका प्रेस सल्लाहकार किरण पोखरेलका अनुसार मंगलबार बिहान साढे ८ बजे शीतलनिवासमा बोलाइएको बैठकमा प्रमुख राजनीतिक दलका शिर्ष नेताहरुको उपस्थिति रहने छ । तर, उनले समसामयिक विषयमा छलफल गर्न राष्ट्रपति पौडेलले बैठक बोलाएको जानकारी दिए ।
सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समिति बनाउनु पर्ने मागसहित प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले निरन्तर संसद अबरोध गरे पछि राष्ट्रपति पौडेलले त्यसमा चासो ब्यक्त गर्दै आएका छन । सो बिषयलाई लिएर राष्ट्रपति पौडेलले एमाले अध्यक्ष ओलीसँग तथा गत आइतबार बेलुका मात्रै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग भेटबार्ता गरी जारी संसद अबरोधको बिषयमा गम्भिर चासो ब्यक्त गरेका थिए ।
दुवै नेतासँग अलग अलग भेटबार्ता गरे पछि राष्ट्रपति पौडेलले आजका लागि सर्बदलीय बैठक बोलाएका हुन ।