२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

चितवन, ७ भदाै।

लक्की फिल्मी अवार्डको तयारी तीव्र बनेको छ । लक्की मिडिया हाउसले असोज पहिलो साता हुने अवार्ड कार्यक्रमका लागि कलाकारसँग अन्तर्क्रिया, भेटघाटका गतिविधि हुँदै आएका छन् ।

 

दुई दर्जन कलाकारलाई विभिन्न विधामा अवार्ड दिने तयारी भइरहेको छ । अवार्ड वितरण कार्यक्रममा समाजमा उत्कृष्ट  प्रशंसनीय काम गरेका व्यक्तिलाई समेत सम्मान गरिने लक्की मिडिया हाउसका महाप्रबन्धक हरि कार्की लक्कीले बताए । मोफसलमा रहेर पनि सक्रिय पत्रकारिता गरेका पत्रकार, स्वास्थ क्षेत्रमा योगदान पुर्‍याएका चिकित्सक, शिक्षा क्षेत्रमा योगदान गरेका शिक्षकलाई पनि सम्मान गरिने बताए ।

यस्तै चितवनको खेल जगतमा योगदान गरेका खेलाडी, उद्यमशिलता-रोजगारी प्रवर्द्धन गर्न योगदान गरेका व्यवसायीलाई सम्मान गरिनेछ । कार्कीले सिने क्षेत्रलाई स्वस्थ प्रतिस्पर्धाको वातावरण  बनाउन गुणस्तरीय सिनेमा निर्माणका लागि अवार्ड कार्यक्रमले सघाउने बताए । कलाकारको योगदानको कदर गर्नेुपर्नेमा जोड दिए ।

अवार्ड वितरणका लागि नोमिनेसनको काम हुन थालेको छ। अवार्ड छनौटका लागि जूरी टिमले कार्यविधि बनाएर काम गर्न थालेको बताए । हल सञ्चालक सम्मान ,  चलचित्र बितरक सम्मान, समाजसेवी सम्मान जस्ता कार्यक्रमहरु पनि हुने बताए ।२०७१ सालमा स्थापना भएको लक्की मिडिया हाउसले चितवनबाट सिनेमा बजारको प्रचार, प्रर्वद्धनका काम तथा इभेन्टसहरु गर्दै आइरहेको छ ।

 

काठमाडौं, ७ भदौ ।

प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा सांसदहरुले विभिन्न विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका छन् ।

शून्य समयमा सांसदहरुले समसामयिक विषयमा सरकारको ध्यानाकर्षण गराइरहेका हुन् ।

एक महिनाको अवरोध बुधबार अन्त्य भएपछि संसद बैठक चालु भएको हो ।

विशाल बस्नेत,महोत्तरी, ७ भदौ ।

कानुनलाई छल्दै जनप्रतिनिधिको रुपमा निर्वाचित भएपछि सजाय समेत नहुने आशामा चुनावी मैदानमा होमिएका लक्ष्मी महतो कोइरीले अपेक्षाकृत परिणाम नै हासिल गरे । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर महोत्तरी क्षेत्र नम्बर १ बाट  प्रतिनिधिसभा सदस्य चुनावमा होमिएका कोइरीले माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई पराजित गर्दै संसद बने । तर, उनको यो खुसी धेरै दिन टिक्न नै पाएन ।

 

१९ मंसिर २०७७ मा जनकपुर उच्च अदालतले ज्यान मारेको अभियोगमा उनै कोइरीलाई पुर्पक्षको लागि थुनामा राख्ने आदेश दियो । अदालतको आदेशबमोजिम कोइरी न तारेखमा गए न त थुनामा नै बसे, प्रहरीले कोइरीलाई फरार सूचीमा राख्यो ।

 

कानुनी छिद्राबाट संसद त बने, तर संसदीय यात्रामा भने सहभागी हुन पाएनन् । अन्ततः १९ वैसाख २०८० मा उनकै पार्टी एमालेबाट सभामुख बनेका देवराज घिमिरेले संसद पदवाट नै  निलम्बन गरे । मनोनयन समेत वारेसनामा मार्फत् दर्ता गराएका कोइरीले निर्वाचित भएको प्रमाणपत्र समेत आफूले लिन पाएनन।

 

…त्यसपछि फरार भए लक्ष्मी महतो कोइरी

 

मधेस आन्दोलन हुँदै गर्दा २५ भदौ २०७२ मा मधेसी मोर्चाका कार्यकर्ताले असई थमन विकलाई नियन्त्रणमा लिएर लाठी, लात्ती र मुक्काले कुटपिट गरी गम्भीर घाइते बनाएका थिए ।उपचारका लागि लैजाँदै गर्दा घाइते विकलाई एम्बुलेन्सबाट थुतेर धान खेतमा लगेर विभत्स हत्या गरेको आरोप कोइरीमाथ लागेको थियो । यही प्रकरणअन्तर्गत जनकपुर उच्च अदालतले कोइरीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश सुनाएको हो । तर, उनी आदेश सुनाएको २०७७ देखि नै फरार छन् । सांसद बनिसकेपछी पनि पक्राउ पर्ने डरले उनी भूमिगत अवस्थामा छन् । न उनलाइ सुरक्षाकर्मीले  प्रक्राउ गर्न सकेको छ, न त पक्राउ गर्न राज्यले चासो देखाएको छ ।

 

जनप्रतिनिधिविहीन महोत्तरी–१

 

माओवादी केन्द्रका उपमहासचिव गिरिराजमणि पोखरेललाई १०३० मतले पराजित गर्दै लक्ष्मी महतो कोइरीले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । निर्वाचित भएपछि एमाले अध्यक्ष केपी शर्मा ओलीको आडमा पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिन नयाँबानेश्वरस्थित संसद भवन पुगेका कोइरीको बाक्लै आलोचना भएपछि उनी संसद बैठकमा सहभागी नै भएनन् । फरार अभियुक्त कोइरीलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउनुपर्ने दवाव बढेपछी एमालेको सिफारिसमा सभामुख घिमिरेले उनको सांसद पद निलम्बन गरेका थिए । त्यसयता महोत्तरी क्षेत्र नम्बर १ सांसदविहीन बनेको छ । यो क्षेत्रबाट संसदीय नेतृत्व नै नभएपछि विकास निर्माणका कामहरु समेत चलायमान हुन नसकेको स्थानीय बताउँछन् ।

 

यसरी बने कोइरी एमालेको हतियार

 

माओवादी केन्द्रको आधार इलाका मानिने महोत्तरी क्षेत्र नम्बर १ लाई पहिलेदेखि नेकपा एमाले तोड्न चहान्थ्यो । यसका लागि उपयुक्त उम्मेदवारको खोजीमा रहेको एमालेले लक्ष्मी महतो कोइरीलाई फेला पा¥यो । उनै कोइरी  २०७४ को संघीय निर्वाचनमा पनि गिरिराजमणि पोखरेलसँग भिडेका थिए । २०७४ को निर्वाचनमा गिरिराजमणि पोखरेलले २३ हजार ७ ७६ मत ल्याउँदा लक्ष्मी महतो कोइरीले १९ हजार ४९२ मत ल्याएर पराजित भएका थिए ।

संगठनिक संरचना नै नभएको संघीय समाजवादी फोरमबाट चुनावी मैदानमा होमिएका कोइरीले यति धेरै मत ल्याएपछि नै नेकपा एमालेले उनलाई उम्मेदवार बनाएको थियो । निर्वाचनको अघिल्लो रात नेकपा एमाले प्रवेश गरेर वारेसनामा मार्फत् मनोनय दर्ता गराएको भए पनि एमालेले भने १ वर्षदेखि गृहकार्य गरेको एमालेका युवा नेता गुरु भट्टराई बताउँछन् । माओवादी हराउने अभियानअन्तर्गत कोइरीवाहेक बलियो अस्त्र नेकपा एमालेले अरुलाइ नदेखेपछि उनलाई उम्मेदवार बनाएको हो ।

 

किन अझै फरार छन् कोइरी ?

 

निर्वाचित भएको ९ महिना बितिसक्दा पनि लक्ष्मी महतो कोइरी अझै फरार अवस्थामा छन् । पुर्पक्षको लाििग अदालतले जेल चलान गर्ने आदेश जारी गरेसँगै फरार रहेका कोइरी किन अनुसन्धान प्रक्रियामा आउन चाहेका छैनन् भन्ने गम्भीर प्रश्न बनेको छ ।

कतिपयले नेकपा एमालेको निर्देशनमा नै फरार रहेको आंकलन गरेका छन् । तर, कानुन व्यवसायीहरुले भने उनी भूमिगत हुनुले घटनाका दोषी हुन् भन्ने विषयलाई आफैले प्रमाणित गरिरहेको टिप्पणी गर्छन् । यता एमालेका जिम्मेवार नेताहरूले कोइरीका शुभचिन्तक र परिवारजनलाई यो अवस्थाबाट उन्मुक्ति दिलाएर संसदको भूमिकामा नै फर्काउने आश्वासन दिँदै आएका छन् ।

 

केन्द्रीय सदस्य जुली कुमारी महतोले  कोइरीको गृह गाउँ पुगेर एक कार्यक्रममा उनलाई उन्मुक्ति दिलाएर नै छाड्ने बताइन् । ‘हामी लागिपरेका छौँ, जसरी पनि उन्मुक्ति दिलाएर नै छाड्छौँ,’ उनले भनिन् ।
उनको अभिव्यक्तिलाई हेर्ने हो भने पनि कोइरी एमालेको निर्देशनमा नै भ्रमिगत बनेको आरोप लागेको छ । संसदमा समेत एमालेका रघुवीर महासेठले कोइरी निर्दोष रहेको अभिव्यक्ति दिएका थिए ।

 

के भन्छ प्रहरी ?

उनी कहाँ छन् भन्ने विषयमा आफूहरुले निगरानी गरिरहेको प्रहरीको दावी छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीका सूचना अधिकारी दिलीप गिरीका अनुसार कोइरीको मोबाइलसमेत ट्रयाक भइरहेको छ । कतिपयले कोइरी गृह ठाउँ निगौलमा नै रहेको बताए पनि त्यसमा कुनै सत्यता नभएको प्रहरीको भनाइ छ । ‘हामी खोजीरहेका छौँ । भेट्नासाथ पक्रन्छौँ,’ गिरीले भने, ‘तर, मोबाइलको लोकेसनअनुसार वहाँ नेपालमा भएको देखिँदैन ।’ उनलाई पक्राउ गर्न यसअघि गृहमन्त्रालयले ७७ वटै जिल्लामा सर्कुलर जारी समेत गरेको थियो । तर, उनी सांसद पदबाट निलम्बन भएपछि सुरक्षाकर्मीले उनलाइ पक्राउ गर्न बेवास्ता गरेको देखिन्छ ।

 

काठमाडौं, ७ भदौ ।

नेपाली गीत संगीतका क्षेत्रमा राधिका अधिकारीको नाम नौलो होइन् । उनले २०७१ सालमा नै अन्जु पन्तको स्वरमा आफ्नो गीत रेकर्ड गराएर गीत लेखनको औपचारिक यात्रा सुरु गरेकी हुन् । २०७२ सालमा उनको एकल एल्बम बजारमा आएको थियो । त्यसपछि केही फुटकर गीत बजारमा आए पनि सांगीतिक बजारमा उनको उपस्थिति पातलो देखियो । तर, लेखनमा भने उनी निरन्तर थिइन्।

 

उनै राधिकाको नयाँ तीज गीत ‘माइती देशको घाउ’ बजारमा आएको छ । यो गीतलाई सांगीतिक क्षेत्रमा उनको दोस्रो इनिङका रुपमा लिन सकिन्छ । नेपाली गीत लेखनमा पुरुष गीतकारको वर्चस्व रहेका बेला सांगीतिक क्षेत्रमा आएर आफूलाई उभ्याउन सफल राधिका पछिल्लो समय गीत लेखनमा कम गीत÷संगीतका स्रष्टाका बारेमा धेरै लेख्दै आएकी छिन् ।

 

राधिका ओखलढुंगामा जन्मिइन्, हुर्कंदै गएपछि बाबुआमासँगै बसाईं सरेर मकवानपुरको हेटौँडा आइन् । उनलाई आफू जन्मिएको र हुर्किएको ओखलढुंगाको सम्झना हरक्षण आउँथ्यो । ‘त्यो समयमा ओखलढुंगा सम्झिएर नरोएको क्षण थिएन । त्यो मेरो जन्मभूमि थियो । अहिले सम्झँदा त्यो रुवाई र ओखलढुंगाको प्रेम मेरो कवि चेत रोएको रहेछ,’ राधिका भन्छिन् ।

 

आर्थिक रुपमा मध्यमवर्गीय परिवारमा जन्मिएकी राधिका घरकी जेठी छोरी थिइन् । बाल्यकालको धेरै समय घर, खेतीपातीको काममा बिताइन् । यति हुँदा हुँदै पनि उनमा लेखनको रुची ताजै थियो । ओखलढुंगा र हेटौँडाका भीर, पहरा र फाँट उनलाई ‘सुन्दर कविता’ जस्ता लाग्थे । उनी वनको हरियालीमा घण्टौंसम्म एक्लै हराउँथिइन् ।

 

‘स्कुले जीवनबाटै गीत कविता लेख्न थालेँ । कविता प्रतियोगितामा थुप्रै पुरस्कार जितेकी छु । त्यो समय रेडियोको जमाना थियो । म रेडियोका सबै कार्यक्रम नबिराइ सुन्थेँ । रेडियोमा गीत–कविता पठाउने लेखन आदत जस्तै बनेको थियो,’  राधिका सम्झिन्छिन् ।

 

त्यो समयमा देशभर साहित्यिक पत्रिका प्रकाशन हुन्थे । हुलाकमार्फत् राधिकाको हातमा ती पत्रिका आइपुग्थे । आफ्नो रुची भएको विधाको पत्रिका हातमा परेपछि को नै खुशी नहोला र ? उनी पत्रिका आएकै ठेगानामा गीत, कविता, गजल लेखेर हुलाकमार्फत् पठाउँथिइन्। पत्रिकाको नयाँ अंकमा उनको सिर्जना पनि छापिएर आउँदा राधिकालाई जीवनकै ठूलो खुशी र प्रेरणाको अनुभव हुन्थ्यो ।

 

राधिकाको रुची साहित्य भए पनि सपना भने मिडिया अर्थात् सञ्चारमाध्यमको देख्थिइन् । त्यही सपनालाई पूरा गर्न एसएलसी पास गरेपछि रेडियोमा काम गर्न सुरु गरिन् ।

 

‘अरुका गीत बजाउँदै गर्दा आफ्ना गीत पनि रेकर्ड भइदिए हुन्थ्यो भन्ने सपना देख्थिइन् । ‘गीत रेकर्डको सपना मैले रेडियो यात्रा सुरु गरेपछि मात्रै देखेकी हुँ । तर, त्यतिबेला हेटौंडामा गीत रेकर्डिङ स्टुडियो थिएनन् । गीत गाउन थालेपछि गायक, गायिका काठमाडौं नै बस्थे। कसैसँग भेटघाट हुँदैनथ्यो’, राधिका सम्झिन्छिन् ।

 

‘प्लस टु’को पढाई सकेपछि उनी काठमाडौं आएर रेडियोमै काम गर्न थालिन् । काठमाडौं आएपछिमात्र उनी गीत रेकर्डको सपना पूरा हुनेमा ढुक्क भइन् । २०७० सालमा उनले पहिलो गीत ‘जिन्दगीले आफैंलाई छल्दा खेरी रोएँ’ बोलको गीत गायिका अन्जु पन्तको स्वरमा रेकर्ड गराइन् । सागर अधिकारीको संगीत रहेको उक्त गीत सुरुमा म्युजिक नेपालबाट अपलोड भएको थियो ।

 

त्यसपछि उनको भेट बिन्ध्यबासिनी म्युजिक कम्पनीका सञ्चालक सुवास रेग्मीसँग भयो । सुवासले एल्बम निकाल्ने प्रस्ताव गरेपछि २०७२ को फागनुमा बिन्धबासिनी म्युजिकले ‘किनारा’ नामक एल्बम बजारमा ल्यायो । यो एल्बममा राधिकाका ६ वटा गीत छन् । एल्बमको ‘जति छाल आए पनि’ बोलको गीत त्यो वर्षको बिन्धबासिनी म्युजिक अवार्ड र म्युजिक खबर म्युजिक अवार्डको उत्कृष्ट ५ मा परेको थियो । एल्बमले राम्रै रोयल्टी पनि प्राप्त गरेको थियो ।

 

समय सधैं एकनासले चल्दैन । राधिकाको जीवनमा पनि त्यही आइलाग्यो । पारिवारिक विखण्डनका कारण उनी संगीतमा सक्रिय हुन सकिनन् । भलै उनले संगीतलाई चट्क्कै भने छोडिनन् । तर, गीत लेखनको र रेकर्डको गति भने मन्द भयो ।

 

उनले अघिल्लो वर्ष तारा अधिकारीको स्वरमा ‘न त तिमीले दिएको चोट देखाउन सके’ बोलको गीत बजारमा ल्याइन् । यो वर्ष राधिका तीजको गीत लिएर पुनः आफ्ना स्रोता माझ आएकी छिन्। ‘यो तीजको गीत मेरो गीत र संगीतमा दोस्रो इनिङ हो’, राधिका भन्छिन् ।

 

उनको तीज गीत ‘माइती देशको घाउ’मा काव्य आचार्य र मिना नेपालीको स्वर छ । दीपक शर्माको संगीत रहेको गीतमा राजेन्द्र बजागाईंले संगीत संयोजन गरेका छन्। गीतमा देश छोडेर परदेश पुगेका छोरी चेलीको पीडा ब्यक्त गरिएको छ । सुखको खोजीमा मानिस जहाँ पुगे पनि आफ्नो देश र आफ्नाप्रतिको मोह सुखले छोप्न नसक्दाको भाव गीतमा व्यक्त गरिएको छ ।

गीतकाे लिंक : https://www.youtube.com/watch?v=8IPlQJ4wZwU

 

भ्यानकुभर, ७ भदाै ।

अर्थ मन्त्री डा. प्रकाशशरण महत आज ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ) ७ औं विश्व सम्मेलनकाे उद्घाटन समारोहमा सहभागी भएका छन् । क्यानाडाको भ्यानकुभरमा आयोजित सम्मेलनमा सहभागी हुँदै उनले विभिन्न अन्तर्राष्ट्रिय संघ संस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग द्विपक्षीय विषयमा छलफल गरेका छन् ।

सो अवसरमा विश्व वन्यजन्तु कोष का प्रमुख संरक्षण अधिकृत निक शेखरन, संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमप्रशासक अकिम स्टिनर तथा अन्तर्राष्ट्रिय प्रकृति संरक्षण संघ की निर्देशक डा. ग्रेथल अग्वीलरसंग जलवायू परिवर्तनले पारेको विश्वव्यापी प्रभाव तथा नेपालले सामाना गर्नुपरेका चुनौतीहरू एवं त्यसको न्यूनीकरण गर्ने उपायहरूको बारेमा छलफल गरेका छन् ।

 

द्विपक्षीय बैठककाक्रममा अर्थमन्त्री डा. महतले वातावरण संरक्षणको क्षेत्रमा नेपालले गरेका प्रयास तथा उपलब्धीको बारेमा प्रकाश पारेका थिए । त्यसैगरी मन्त्री महतले नेपालले सामुदायिक वनको अवधारणाबाट वनले ओगटेको क्षेत्रफल झण्डै ४५ प्रतिशत पुर्‍याएको, पछिल्लो दशकमा बाघको संख्यामा तेब्बर वृद्धि तथा गैंडाको संख्यामा झण्डै दोब्बर वृद्धि भएको जानकारी दिए ।

 

यो उपलब्धिका साथै नेपालमा मानव र जंगली जनावरबीच द्वन्द्वको सिर्जना भएको र  यसबाट धनजनको क्षति तथा यसका लागि नेपालले ठूलो स्रोत साधन खर्च गर्नुपरेको उनले बताए । मन्त्री महतले वन तथा वन्यजन्तु संरक्षणको लागि सडक लगायतका पूर्वाधार निर्माणमा वन्यजन्तु आवतजावतमैत्री पूर्वाधार निर्माणको साथै मानव वन्यजन्तु द्वन्द्वका कारण प्रभावित समुदायहरूको लागि जोखिम बिमा तथा स्वरोजगार एवं आय आर्जनका लागि अन्तर्राष्ट्रिय संघ संस्थाको सहयोगका लागि आग्रह समेत गरे ।

 

यसैक्रममा नेपाललाई सीप तथा क्षमता विकासका साथै बित्तीय स्रोतको आवश्यकता रहेको बिषय पनि उल्लेख गर्नु भएको थियो । वातावरणीय कोष तथा सुविधाका कार्यक्रमहरु ठोस नतिजा प्राप्तहुनेगरी राष्ट्रिय प्रणालीबाट परिचालन गर्नु पर्नेमा जोड दिदै यस्ता कार्यक्रमहरुले स्थानीय जनताको जीवनस्तर र आर्थिक अवस्थामा सकारात्मक परिवर्तन ल्याउनु पर्ने बताए ।

ग्लोबल इनभ्यारोमेन्ट फ्यासिलिटी (जीईएफ)को  ७ औं विश्व सम्मेलनमा ८३ देशका मन्त्रीहरू तथा १८५ देशमा प्रतिनिधिको सहभागिता रहेको छ भने सम्मेलनको समापन अगस्ट २५ मा हुनेछ ।

काठमाडौं, ७ भदौ ।

कोशी प्रदेश सरकारविरुद्ध परेको रिट सर्वोच्च अदालतका न्यायाधीश ईश्वरप्रसाद खतिवडाको इजलासमा परेको छ ।

 

नेकपा एमाले कोशी प्रदेशसभा संसदीय दलका नेता हिक्मतकुमार कार्कीले दायर गरेको रिटमाथि बिहीबार सुनुवाइ हुन लागेको हो ।

 

गत सोमबार मुख्यमन्त्री उद्धव थापाले विश्वास मत लिने क्रममा प्रदेशसभाको अध्यक्षता गरेका इसराइल मन्सुरीको समेत मत लिएकोविरुद्ध कार्कीले सर्वाेच्चमा रिट दिएका हुन् ।

 

प्रदेशसभाको अध्यक्षता गरेका व्यक्तिबाट विश्वास प्राप्त गर्नु असंवैधानिक काम भएको भन्दै कार्कीले बुधबार रिट दायर गरेका थिए ।

 

विराटनगर, ७ भदौ ।

कोशी प्रदेशसभाको चालु  तेस्रो अधिवेशन बिहीबारदेखि अन्त्य गरिएको छ । मुख्यमन्त्री उद्धव थापाको सिफारिसमा प्रदेश प्रमुख पर्शुराम खापुङ्गले प्रदेशसभाको चालु तेस्रो अधिवेशन अन्त्य गरेका हुन् ।

बुधबार राति बसेको प्रदेश सरकारकोे मन्त्रिपरिषद् बैठकले प्रदेशसभाको चालु अधिवेशन अन्त्य गर्न प्रदेश प्रमुसमक्ष सिफाारिस गर्ने निर्णय गरेको थियो । सोही निर्णयअनुसार प्रदेश प्रमुख खापुङ्गले बुधबार मध्यराति १२ बजेदेखि लागू हुने गरी अधिवेशन अन्त्य गरेका हुन् ।

 

काठमाडौ, ७ भदौ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार नेपाली बजारमा सुन र चाँदीकै मूल्य बढेको जनाएको छ । महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य तोलामा १०० र चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेको छ ।

बुधबार सुनको मूल्य तोलामा २०० र चाँदीको मूल्य तोलामा २५ रुपैयाँले बढेको थियो । मूल्य बढेसँगै बिहीबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ६०० र तेजाबी सुनको मूल्य तोलामा १ लाख १० हजार ५० रुपैयाँ छ ।

 

बुधबार छापावाल सुनको मूल्य तोलामा १ लाख १० हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख ९ हजार ९५० रुपैयाँ थियो ।

 

यस्तै, बिहीबार १० रुपैयाँ बढेसँगै चाँदीको मूल्य प्रतितोला १४ सय २५ रुपैयाँ पुगेको छ । बुधबार चाँदीको कारोबार प्रतितोला १४ सय १५ रुपैयाँमा भएको थियो ।

 

काठमाडौ, ७ भदौ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३९ विन्दुले बढेको छ । यससँगै सूचक २०४५.८५ अंकमा आएको छ । १ लाख ८२ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ४२२ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल २८ पटक सेयर कारोबार भएको हो । १३ कम्पनीको भाउ बढ्दा ५ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको मूल्यमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, ७ भदौ ।

नेपाल धितोपत्र बोर्डको पाइपलाइनमा १२ वटा कम्पनीले आईपीओ निष्कासन गर्न अनुमति पर्खेर बसेका छन् । जसमध्ये ३ वटा कम्पनी हाइड्रोपावर समूहअन्तर्गतका छन् । बाँकी सबै रियल सेक्टरका कम्पनीहरु हुन् ।

बोर्डले गत आर्थिक वर्षमा ४२ वटा कम्पनीलाई आईपीओ जारी गर्न अनुमति दिएको थियो । जसमध्ये २९ वटा हाइड्रोपावर कम्पनीहरूले अनुमति प्राप्त गरेका थिए । बाँकी इन्स्याेरेन्सदेखि रियल सेक्टरका कम्पनीहरू थिए ।

 

गत वर्ष हाइड्रोपावर कम्पनीहरूले लगातार अनुमति पाएका कारण पनि हाल स्वीकृति पर्खेर बस्नेको संख्यामा कमी आएको हो ।

 

स्वीकृति कुरेर बसेका मध्ये प्रायः अन्य समूहअन्तर्गतका कम्पनीहरू छन् । ७ वटा कम्पनी यस क्षेत्रका छन् । २ वटा उत्पादन तथा प्रशोधन समूहका छन् । जसअन्तर्गत सर्वोत्तम र रिलायन्स स्पिनिङ मिल्सले बुक बिल्डिङ विधिमार्फत आईपीओ जारी गर्ने अनुमति मागेका हुन् । हाल टिभी, औषधि लगायतका कम्पनीहरुले साधारण सेयर निष्कासन गर्न अनुमति मागेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।