रामप्रवेश बैठा,मौलापुर,भदौ ०८ गते ।
रौतहटको मौलापुर नगरपालिकामा लालबकैया नदी कटानको निरीक्षण गरिएको छ । आज लालबकैया नदीमा आएको बाढीले मौलापुर वडा नम्बर १ मर्यादपुरमा गरिरहेकेको कटानलाई रोकथाम र नियन्त्रणको लागि निरीक्षण अनुगमन गरिएको नगर प्रमुख रिना कुमारी साहले जानकारी गराएकी हुन् ।
नदी कटानले बांधको छेउमा पुगीसकेको र पुरै बस्ती नै जोखिममा देखिएकोले तुरन्त रोकथामको लागि पहल लिन सम्बन्धित निकायलाई विशेष आग्रह गरेकी हुन् ।
साथै उनले कटान नियन्त्रणको लागि नगरपालिकाले आफÞनो तर्फबाट सम्पूर्ण पहल लिने बिश्वास सहित चिन्ता न लिन प्रभावित क्षेत्रको जनसमुदायलाई विशेष आग्रह गर्नु भएको छ । सो अवसरमा नगरप्रमुख साह सँगै उपप्रमुख नागेन्द्र राय यादव,विभिन्न वडाका वडा अध्यक्ष,स्थानियवासीको उपस्थिती रहेको थियो ।
आरके श्रीवास्तव,रौतहट,भदौ ०८ गते ।
गरुडा नगर उधोग वाणिज्य संघको निर्वाचनको कार्यक्रम सार्वजनिक भएसँगै शुक्रवार उम्मेदवारको मनोनयन दर्ता भएको छ । संघको भदौ १८ गते हुने निर्वाचनको लागि उम्मेदवारी मनोनयन दर्ता गरिएको हो ।
निर्वाचन समिति संयोजक पंडित प्रसाद जैसवालका अनुसार अन्तिम समय शुक्रवार ४ बजेसम्म ५ जना अध्यक्ष पदमा र ३६ जना सदस्याको लागि उम्मेदवारी मनोनयन दर्ता भएको छ ।
अध्यक्ष पदमा मनोनयन दर्ता गराउनेहरुमा संतोष कुमार चौधरी, चुनचुन प्रसाद साह,सतिश साह,राधेश्याम साह कलवार,राजेश कुमार साह रहेका छन् ।
त्यस्तै सदस्यहरुमा छठु प्रसाद तेली,महाशक्ति साह निराला,राकेश कुमार साह,हरिकिशोर प्रसाद साह,अनिता कर्ण,शिवम् कुमार सोनी,हेमलाल साह सोनार लगायतका व्यक्तीहर सदस्य पदका लागि मनोनय दर्ता गराएका हुन् ।
गरुडा नगर उधोग वाणिज्य संघको विधान २०७३ को परिचछेद ७ को दफा ४५ बमोजिम अगामी ३ वर्ष कार्याकालको लागि आगामी भदौ १८ गते अध्यक्ष १ र सदस्य १३ पदका लागि निर्वाचन हुन लागेको हो ।
निर्वाचनको कार्यक्रम अनुसार भदौ ०९ गते बिहान १० बजे देखि २ बजे सम्म उम्मेदवारको नाम फिर्ता लिन पाउने समय रहेको छ । यस्तै सोही दिन दिउँसो २ बजे देखि ३ बजे सम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन हुने जनाइएको छ ।
मतदान कार्यक्रम भने भदौ १८ गते बिहान ८ बजे देखि ४ बजे सम्म राखिएको छ । अध्यक्ष चयन भएपछि बहुमतको आधारमा अन्य पदाधिकारी चयन गर्ने गरेको छ । जसमा प्रथम उपाध्यक्ष,कोषाध्यक्ष लगायतका पदाधिकारीहरु चुनिन्छन् । यस अघिका गरुडा नगर उधोग वाणिज्य संघका अध्यक्ष हरेन्द्र चौधरीको कार्यकाल सकेपछि चुनाव हुन लागेको हो ।
काठमाडौं, ८ भदौ ।
शनिबार बस्ने भनिएको नेकपा एमालेको सचिवालय बैठक स्थगित गरिएको छ । सिरहाको धनगढीमाई नगरपालिका– १४ अम्बासमा शनिबार बस्ने भनिएको बैठक स्थगित गरिएको हो ।
बैठक स्थगित गरिए पनि अर्काे बैठकको मिति र समय भने तोकिएको छैन ।
काठमाडौं, ८ भदौ ।
राप्रपा नेपालका अध्यक्ष कमल थापाले आफ्नो पार्टीको आगामी एजेण्डा संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्र रहेका बताएका छन् ।
बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमलाई सम्बोधन गर्दै उनले गणतन्त्र र संघीयता खारेज गर्दै संवैधानिक राजतन्त्रसहितको प्रजातन्त्रका लागि आन्दोलन गरिने जानकारी दिए ।
राजसंस्था पुनर्स्थापना गर्न आफूहरु सफल हुने र पार्टीको मुल एजेण्डा रहने भन्दै उनले यसका लागि आन्दोलन घोषणा गरिएको बताए ।
कुनै दलमा विभाजन नभई देशको स्वाभिमान रक्षाका लागि सबै एकैस्थानमा उभिनुपर्ने भन्दै अध्यक्ष थापाले इमान्दारिक पूर्वक आफ्नो एजेण्डामा पुनर्विचार गर्न कांग्रेस, एमाले, माओवादीसहितका दलहरुलाई आग्रह गरे ।
काठमाडौं, ८ भदौ ।
देशका विभिन्न स्थानबाट आठजना लागुऔषधसहित पक्राउ परेका छन् । मोरङकाके विराटनगर महानगरपालिका-१६ हुलास चोकबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्रामसहित सुन्दर हरैचा नगरपालिका-४ बस्ने ३५ वर्षीय अनिल शर्मालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो विराटनगरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कञ्चनपुरकाे पुनर्वास नगरपालिका-१० दोदा पुलस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ७ सय ७० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही नगरपालिका-११ डोकेबजार बस्ने २० वर्षीय सुमित चौधरी र १९ वर्षीय जोगराज चौधरी रहेका छन् । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
कैलालीकाे धनगढी उपमहानगरपालिका-८ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर ५ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-७ बस्ने १९ वर्षीय गोविन्द रानालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।
सिरहाकाे गोलबजार नगरपालिका-६ दुर्गामन्दिरस्थित सडकबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ ३ सय मिलिग्रामसहित ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा नरहा गाउँपालिका-५ बस्ने १९ वर्षीय रन्जन यादव, सोही नगरपालिका-६ मझौवा बस्ने २६ वर्षीय धर्मेन्द्र महतो र मिर्चैया नगरपालिका-५ बस्ने ३१ वर्षीय दिपेन्द्र कुमार साह रहेका छन् । लागूऔषध नियन्त्रण ब्यूरो गोलबजारबाट खटिएको प्रहरीले म.प्र ०२- ००६ प १२४८ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
धादिङकाे गल्छी गाउँपालिका-७ वाईसकिलाबाट अवैध लागूऔषध गाँजा करिब २ किलोसहित मकवानपुर कैलास गाउँपालिका बस्ने १८ वर्षीय किशोरलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी गल्छीबाट खटिएको प्रहरीले ना.५ ख ५८४० नम्बरको बस जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापा, ८ भदाै ।
शिवसताक्षी नगरपालिका-९ झरना पुल नजिकै ड्यूटीमा खटिएका प्रहरी निरीक्षक युवराज कटुवाललाई बन्चरो प्रहार गरेको अभियोगमा तीनजनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा शिवसताक्षी नगरपालिका-९ बस्ने ३६ वर्षीय अशोक पोखरेल, ३२ वर्षीय बिकाश भन्ने अरूण तामाङ र ३३ वर्षीय लक्ष्मण टुडु रहेका छन् ।
उक्त स्थानमा लागूऔषध सेवन गरिरहेको भन्ने सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय झिलझिलेबाट प्रहरी निरीक्षक कटुवालको नेतृत्वमा खटिएको प्रहरी टोलीले मे.४ प २७५१ नम्बरको मोटरसाइकल लापरबाही तरिकाले चलाई आएका उनीहरुलाई सोधपुछ गर्ने क्रममा मोटरसाइकलमा सवार अशोकले लुकाई छिपाई ल्याएको बन्चरो अचानक प्रहार गर्दा घाइते भएका प्रहरी निरीक्षक कटुवाललाई स्थानीय दुधे मेडिकलमा सामान्य उपचार पश्चात थप उपचारको लागि बिएण्डसी अस्पताल बिर्तामोड लगिएको छ ।
साथै मोटरसाइकलमा चालक अरूण तामाङ, मोटरसाइकलमा सवार अशोक पोखरेल र लक्ष्मण टुडुलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान गर्ने क्रममा अशोकको साथबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ १ सय मिलिग्राम फेला परेको छ ।
काठमाडौं, ८ भदौ ।
राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनाको एजेन्डामा फर्किएको छ । बिहीबार र शुक्रबार दुई दिन चलेको केन्द्रीय समिति बैठकको निर्णय सार्वजनिक गर्न आयोजित ‘घोषणा सभा’ कार्यक्रमका वक्ताहरुले पार्टीले अब राजसंस्था पुनर्स्थापनाको एजेण्डालाई जोडदार अगाडि बढाउने बताइरहेका छन् ।
करिब डेढ वर्षअघि कमल थापा नेतृत्वको राप्रपा नेपालले राजसंस्था पुनर्स्थापनको एजेन्डा छाडेको घोषणा गरेको थियो । तर, दुई दिन चलेकाो पार्टीको केन्द्रीय समिति बैठकले भने नेपालाई हिन्दु राष्ट्र घोषणा गरिनुपर्ने र राजसंस्था पुनर्स्थापना गर्नुपर्ने निष्कर्ष निकालेको हो ।
बैठकमा अध्यक्ष कमल थापाले कार्यपत्र प्रस्तुत गर्दै ‘संवैधानिक राजसंस्थासहितको प्रजातन्त्र’ राप्रपा नेपालको मुलभूत विचार हुने उल्लेख गरेका छन् । राप्रपा नेपालले गणतन्त्र र धर्मनिरपेक्षता खारेजी र हिन्दु राष्ट्र कायम, राजसंस्था पुनर्स्थापनाका लागि बलियो राष्ट्रिय मोर्चा बनाएर सडक आन्दोलनमा जाने भएको छ ।
घोषणा सभा चलिरहेको छ । विभिन्न वक्ताले बोलिरहेका छन् ।
झापा, ८ भदाै ।
जिल्ला अदालत झापाको विभिन्न मितिको फैसला अनुसार विभिन्न मुद्दाका ४ जना फरार प्रतिवादीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दमक नगरपालिका-३ बस्ने ५९ वर्षीय ताराबिर महत भन्ने टेकबहादुर महत, कमल गाउँपालिका-४ सरस्वती टोल बस्ने ४१ वर्षीय सानु भन्ने मोहनकुमार चेम्जोङ, गौरादह नगरपालिका-२ हाँसखोरा बस्ने २६ वर्षीय मन्दिस भन्ने रोहितबहादुर अधिकारी र गौरादह नगरपालिका-२ डिठ्ठा चोक बस्ने २७ वर्षीय विवेक राजवंशी रहेका छन् ।
उनीहरूमध्ये टेकबहादुरलाई बालयौन दुरूपयोग मुद्दामा ५ महिना कैद, १० हजार रूपैयाँ जरिवाना, २५ हजार रूपैयाँ पीडितलाई क्षतिपुर्ति भराई दिनुपर्ने तथा २ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने, मोहनकुमारलाई लागूऔषध मुद्दामा ६ महिना कैद तथा २ हजार रूपैयाँ जरिवाना र रोहितबहादुर तथा विवेक राजवंशीलाई लागूऔषध मुद्दामा ६/६ महिना कैद, ५/५ हजार रूपैयाँ जरिवाना तथा २/२ सय रूपैयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने सजाय ठहर भएको थियो ।
उनीहरुलाई फैसला कार्यान्वयनको निमित्त जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।
खड्क सुनार ,मुगु, ८ भदौ ।
मुगुको छायाँनाथ रारा नगरपालिका– १४ बाम गाउँका सुनबहादुर बढुवाल, उमेर ३३ वर्ष पुगे । पढ्ने, लेख्ने उमेरमा शिक्षा क्षेत्रलाई पछि राख्दै उनले १५ वर्षको उमेरमा भेडा पालनतिर लागे । उनले अहिले ५० भन्दा बढी भेडा पालन गरेका छन् । उनी वन पाखामा भेडासँगै आफ्ना दुःखसुखका दिनहरु गीतसँगै लैजान्छन् ।
कर्णाली प्रदेशको मुगु भौगोलिक, धार्मिक, सांस्कृतिक क्षेत्रमा भरिपूर्ण मानिएको जिल्ला हो । यस जिल्लामा यतिमात्र नभई पशु वस्तुमा पनि धनी मानिएको छ । पछिल्लो समय यहाँका कृषक भेडा तथा बाख्रा पालनबाट आकर्षित हुनुका साथै मनग्य आम्दानी पनि गर्दै आएका छन् ।
सुनबहादुर मात्र होइनन् १० वर्षकै उमेरदेखि नै भेडा पाल्दै आएका कृष्णबहादुर बुढा अहिले उमेरले ७० वर्ष पुगे । उनीसँग ८० भेडा छन् । ज्येष्ठ नागरिक भए पनि उनलाई आफ्नो पेसा व्यवसायप्रतिको माया भेडा पालनमा उमेरले कहिल्यै पछि पर्न दिएन । विगतका दिनहरुमा भेडाबाख्राहरुलाई कुनै चोटपटक, रोग लागेमा जंगलकै जडीबुटीले उपचार गर्दा निको हुने गरेको उनी सम्झिन्छन् ।
पछिल्लो समय मुगुवासीको भेडा पालन नै पहिलो आयश्रोत बन्दै गएको छ । थोरै लगानी गरेर मनग्य आम्दानी हुने भएपछि किसानहरु यो व्यवसायमा अग्रसर भएका हुन् । किसानले वर्षमा एक लाखदेखि ५ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको भेडा पालक कृषक भुमबहादुर खड्काले बताए ।
भेडा–बाख्राको ऊनबाट राडीपाखी, काम्लो, फेरे लगायतका मूल्यवान वस्तु तयार गरेर कृषकले मनग्य आम्दानी गर्दै आएका छन् । स्थानीय सरकार लगायत अन्य कुनै पनि निकायबाट भेडा पालन कृषकहरुलाई अनुदानजस्ता कार्यक्रम नहुँदा अझै भेडाप्रतिको आर्कषण बढ्न नसकेका किसान स्थानीय चन्द्र बहादुर बुढाको भनाइ छ ।
जिल्लाका चार स्थानीय तहमा वर्तमान अवस्थाको प्रारम्भिक तथ्यांक अनुसार ४ हजार ९ सय घरधुरीले भेडावाख्रा पालन गरी रहेका छन् । जिल्लामा भेडाभन्दा बाख्रा पालनमा तुलनात्मक संख्याभन्दा बढी छ । अहिले जिल्लामा बाख्रा ७० हजार ४ सय रहेको छ भने ३१ हजार ३ सय ४४ भेडा रहेको तथ्यांकले देखाएको छ ।
बढी मात्रा छायाँनाथ रारा नगरपालिकाभित्रका नागरिकहरुले भेडाबाख्रा पालन गरी रहेका पशु अस्पताल तथा पशु सेवा कार्यालय मुगुका कार्यालय प्रमुख भिमचन्द्र बुढाले बताए । गर्मी समयमा भेडा–बाख्रा चरिचरणका लागि उच्च लेक तथा बुकी पाटनमा लिने गरिन्छ भने जाडोयाममा औल तथा बेसीतर्फ पाल्ने गरिन्छ । संरक्षणभन्दा पनि संख्यात्मक अनुदानले भेडा पालक कृषक मर्कामा परेको दुखेसो पोखेका छन् ।
कास्की, ८ भदाै ।
पोखरा महानगरपालिका-८ सृजनाचोक बस्ने मुस्ताङ घर भएका ५७ वर्षीय ईन्द्र बहादुर हिराचनको लक्ष्मी होटलमा जुवातास खेलिरहेको अवस्थामा हिराचनसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले नगद ४ लाख ४७ हजार ८० रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।