काठमाडौं, १२ भदौ ।
संसदमा न्यायाधीहरूलाई ‘अपराधी’को संज्ञा दिँदै महाअभियोग लगाउन माग गरिएको छ । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा एकीकृत समाजवादीका सांसद अमरबहादुर थापाले सांसद विकास कोषको विपक्षमा अन्तरिम आदेश दिने सर्वोच्च अदालतका न्यायाधीशहरूलाई ‘अपराधी’ को संज्ञा दिँदै महाअभियोग लगाउनुपर्ने माग गरेका हुन् ।
शक्ति पृथकीकरणको सिद्धान्त अनुरुप नचलेको र व्यवस्थापिकाले पास गरेको अर्थ विधेयकलाई अदालतले चुनौती दिएको उनकाो भनाइ छ ।
बैठकमा उनले भने, ‘शक्ति पृथकीकरणको सिद्धान्तलाई लापरवाही गरेर आफू खुसी गर्ने अदालतका न्यायधीहरू कि यो बजेट पनि सर्वोच्चले बनाओस् हामी संसद्ले बनाउनु पर्दैन । यो बजेट र सबै शक्ति सबै अदालतले लिनसक्ने संविधान संशोधन गर्नुपर्यो । होइन भने शक्ति पृथकीकरण विधायिकामाथि हस्तक्षेप यस्ता प्रविधिका काम गर्नेहरूमाथि कडाभन्दा कडा कारबाही गर्नुपर्छ । कडा कारबाही भनेकै महाअभियोग हो । महाअभियोग लागनुपर्छ अपराधीलाई । कसैलाई भ्रष्टचारको कारबाही गर्नुपर्छ भने कसैलाई महाअभियोगबाट त्यस्ता अपराधीहरूलाई कारबाही गर्नुपर्छ । मेरो सरकारसँग यही माग छ ।’
तनहुँ, १२ भदौ ।
बालिका बलात्कार आरोपमा एक विद्यालयका प्रधानाध्यापक पक्राउ परेका छन् । १२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा तनहुँ ऋषिङ गाउँपालिका–७, ज्यामिरेमाइ आधारभूत विद्यालयका प्रधानाध्यापक झुलबहादुर थापा पक्राउ परेका हुन् ।
उनलाई लमजुङको भोर्लेटारबाट पक्राउ गरिएको हो । गत ३१ साउनमा प्रधानाध्यापक थापाले १२ वर्षीया बालिकालाई बलात्कार गरेको भन्दै परिवारले प्रहरीमा उजुरी दिएका थिए । उजुरी दिएपछि थापा फरार थिए । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
काठमाडौं, १२ भदौ ।
राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कोशी प्रदेशमा सत्ता गठबन्धनलाई आफ्नो पार्टीले नसघाएको जानकारी दिएका छन् ।
मध्य पूर्वी देशको साताव्यापी भ्रमण सकेर मंगलबार स्वदेश फर्किने क्रममा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरूसँग कुरा गर्दै अध्यक्ष लिङ्देनले प्रतिनिधिसभाको संसदीय समितिको सभापति लिएर कोशीमा सत्ता गठबन्धनलाई सघाएको भन्ने कुरामा कुनै सत्यता नरहेको दाबी गरेका हुन् ।
कोशीमा सत्तारुढ गठबन्धनलाई सघाउने सहमति नभएको बताउँदै उनले मुख्यमन्त्री दिँदा समेत नलिएको राप्रपाले कोशीमा सभामुख र मन्त्री लिएर सत्ता गठबन्धनलाई सघाउने सहमति नभएको स्पष्ट पारेका छन् ।
‘कोशी प्रदेशको सभामुख त फालाफाल छ । हामीले मुख्यमन्त्री नै अस्वीकार गरेको कुरा कांग्रेसकै मुख्यमन्त्रीले भनिसकेका छन् । सभामुख र एक मन्त्री लिएर गठबन्धनलाई सघाउने भन्ने सरासर गलत प्रचार हो । हामीले चाह्यौँ भने मुख्यमन्त्री नै पाउन सक्छौँ,’ उनले भने ।
काठमाडाैं, १२ भदाै ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा काठमाडौं नरेफाट बस्ने ईलाम, ईलाम नगरपालिका-९ घर भएका ५२ वर्षीय सूर्य बहादुर भण्डारीलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ । भण्डारीले ती किशोरीलाई भक्तपुरकाे सूर्यबिनायक नगरपालिका-९ पलासेस्थित रिसोर्टमा आइतबार दिउँसो जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा जिल्ला प्रहरी परिसर भक्तपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
५८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा उदयपुरकाे कटारी नगरपालिका-१ बेलसोत बस्ने २५ वर्षीय जय बहादुर खपाङ्गी मगरलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मगरले ती महिलालाई आइतबार राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय कटारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौ, १२ भदौ ।
नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ६०० रुपैयाँले बढेर १ लाख ११ हजार ७०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ११ हजार १५० रुपैयाँ निर्धारण भएको छ ।
यसअघि, सोमबार छापावाल सुन १ लाख ११ हजार १०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १० हजार ५५० रुपैयाँ निर्धारण भएको थियो ।
मंगलबार चाँदीको भाउ पनि प्रतितोला ५ रुपैयाँले बढेर १४ सय ६५ रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ६० रुपैयाँ कायम रहेको थियो ।
अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस १ हजार ९२४.१२ डलरमा र चाँदी प्रतिऔंस २४.३३ डलरमा कारोबार भइरहेको छ ।
काठमाडौं, १२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले ललिता निवास जग्गा हिनामिनादेखि नक्कली भुटानी शरणार्थी प्रकरणमा दोषी बचाउने काम नभएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा सांसद असिम शाहले गरेको प्रश्नको जवाफ दिँदै उनले कुनै भ्रष्टाचार र अनियमिततामाथिको छानबिनका क्रममा दोषीलाई उन्मुक्ति दिने काम नभएको बताए ।
प्रधानमन्त्री नै दोषी देखिए पनि कारबाहीको दायरा ल्याउनुपर्ने आफूले प्रहरीलाई बताएको उनले जानकारी दिए ।
नक्कली भुटानी शरणार्थी र ललिता निवास जग्गा लगायतका प्रकरणमाथि भइरहेको छानबिन र कारबाही प्रक्रियाले जनतामा उत्साह बढाएको प्रधानमन्त्री प्रचण्डको भनाइ छ ।
काठमाडौं, १२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अब मेलम्ची खानेपानीको वितरण सहज हुने बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले मनसुन रोकिएको डेढ महिना पश्चात् मेलम्ची खानेपानीको वितरण सहज हुने जानकारी दिएका हुन् ।
साउन महिनाको बाढीले मेलम्ची खानेपानीको हेडकवर्कस बगाएको र मेलम्ची बजारदेखि उक्त स्थानसम्म मुग्ने मार्गमा अवरोध भएको प्रधानमन्त्रीको भनाइ छ ।
काठमाडौं, १२ भदौ ।
प्रतिनिधिसभा बैठक बसिरहेको छ । जारी बैठकमा प्रधानमन्त्रीसँग सांसदको प्रश्नोत्तर कार्यक्रम भइरहेको छ । सांसदहरुले विभिन्न क्षेत्रका विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग जिज्ञासा राखिरहेका छन् ।

देशको आर्थिक अवस्था, विकाश निर्माण, धार्मिक तथा सामाजिक सद्भाव र एकता, भौतिक पूर्वाधारका क्षेत्रमा भइरहेका ढिलासुस्ती, सुशासनलगायतका विषयमा सांसदहरुले प्रधानमन्त्री प्रचण्डसँग प्रश्न गरेका छन् ।

साथै प्रधानमन्त्री प्रचण्डको चीन भ्रमणबारे पनि सांसदले चासो राखेका छन् ।

काठमाडौं, १२ भदौ ।
पार्टीका भ्रातृ तथा शुभेच्छुक संगठनलाई महाधिवेशन केन्द्रित हुन नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले आग्रह गरेका छन्। काठमाडौंमा आयोजित एक समारोहबीच नेपाल महिला संघ , नेविसंघ र तरुण दलको केन्द्रीय समितिमा मनोनीत भएका सुदूर पश्चिम, कर्णाली, लुम्विनी, मधेष र गणडकी प्रदेशबाट प्रतिनिधित्त्व गर्ने केन्द्रीय सदस्यहरूलाई अन्तरक्रियात्मक बधाई ज्ञापन गर्दै नेविसंघ पूर्व अध्यक्षसमेत रहेका नेता महरले महाधिवेशन केन्द्रित हुन निर्देशन दिएका हुन्।
‘पार्टीका भ्रातृ र शुभेच्छुक संस्थाको गतिशीलता रोकिनु हुँदैन। क्याम्पस, जिल्ला, प्रदेश र केन्द्र सबै ठाउँमा भ्रातृ तथा शुभेच्छुक संस्था गतिशील हुनुपर्छ। गतिशीलता प्रदानका लागि पार्टी नेतृत्व पनि गम्भीर बन्नुपर्छ। तपाईंहरूलाई महाधिवेशन केन्द्रित हुन जिम्मेवारी प्रदान गर्दै पार्टीले केन्द्रीय सदस्यमा मनोनीत गरेको छ। आफ्नो जिम्मेवारीमा केन्द्रित हुनुहोस्, मेरो शुभकामना,’ महरले भने। महाधिवेशन केन्द्रित हुँदा कतै कुनै असहजता भए सहजताका लागि आफूले प्रयास र सहजीकरण गर्नेसमेत महरले प्रतिबद्धता जनाएका छन्।
उनले इमानदारितापूर्वक महाधिवेशन सम्पन्न गर्न केन्द्रीय समितिमा मनोनीत भएका सदस्यहरूले नै वातावरण निर्माण गर्नुपर्ने बताए। ‘युवाहरूप्रति जनताको ठूलो अपेक्षा हुन्छ। हामी सबै जना जनताको मन जित्ने कार्यमा लाग्नुपर्छ। संगठनलाई गतिशील बनाउँदै जनताको प्रिय पनि बन्न सक्नुपर्छ’, उनी भन्छन्। गतिशील व्यक्तिमात्र राजनीतिमा सफल हुने महरले बताए।
राजनीतिप्रति युवा वर्ग र बाहिर रहेका मानिसको आकर्षण बढाउन पनि चाँडोभन्दा चाँडो भ्रातृ संस्थाको महाधिवेशनको अपरिहार्यता रहेको महरले औंल्याए। उनले पार्टीका सबै भ्रातृ सङ्गठनमा पदाधिकारीसहितको पूर्ण आकारको निर्वाचित कमिटी आउनुपर्छ भन्नेमा आफू दृढ रहेको बताएका छन्।
सबै भ्रातृ र शुभेच्छुक संस्थाको पूर्ण कमिटी बनाउँदा १५ हजार मानिसले जिम्मेवारी पाउने महरले बताए। जिम्मेवारी प्राप्त गर्दा मानिसको सक्रियता बढ्ने भएकाले गठबन्धनबीनै पनि पार्टी आगामी निर्वाचनमा प्रतिस्पर्धा गर्न सक्षम हुने महरको भनाइ छ।
‘जिम्मेवारी विहीनले के माग गर्ने? कसलाई काम लगाउने? अहिले धेरै युवा रनभुल्लमा छन्। अब यो परिस्थितिको अन्त्य हुनुपर्छ। पार्टीलाई जीवन्त पार्न भ्रातृ संस्थालाई पूर्णता दिनै पर्छ,’ महरले भने। महाधिवेशन भएर निर्वाचित नेतृत्व आउँदा भ्रातृ संस्थालाई सशक्त र पुनर्ताजगी बनाउन सञ्जीवनी बुटीको काम गर्ने उनले बताए।
उनले गाउँ-गाउँसम्म भ्रातृ संगठन पुग्दा जनताको घरघरमा पुगेर पार्टीको मिसन र भिजन बुझाउन सहज हुने बताएका छन्। ‘नेविसंघ कांग्रेसको मुटु हो। तरुण दल युवाहरूको ऊर्जा हो। महिला संघ लगायत भातृ संस्था ज्ञानेन्द्रिय हुन हुन ।यस्ता थुप्रै संगठनको महाधिवेशन तोकिएकै समयमा हुनुपर्छ। ठूलो समूह जाम भएर बसेको छ। जसले पार्टीका गतिविधिमा ठूलो असर गरेको छ,’ महरले भने। त्यसका लागि जिम्मेवारी प्राप्त साथीहरूको प्रतिबद्धता र सक्रियता आवश्यक रहेको महरको भनाइ छ।
फरक प्रसंगमा बोल्दै नेता महरले अहिले संविधानमाथि सबै क्षेत्रबाट प्रहार हुने गतिविधि भइरहेको बताएका छन्। यसतर्फ चिन्ता व्यक्त गर्दै नेता महरले युवा वर्ग पनि सचेत रहनु पर्ने धारणा राखेका छन्। ‘निकै ठूलो बलिदानीबाट प्राप्त संविधानको रक्षा हामी सबैको दायित्व हो। संविधान र संघीय व्यवस्थामाथि प्रहार भयो भने पुनः मुलुकमा अस्थिरता निम्तिन्छ। कसैका कुनै असन्तुष्टि भए संवाद र छलफलको माध्यमबाट यहीभित्र समाधान खोज्ने हो। तर, संविधानमाथि नै प्रहार गर्ने गतिविधि गर्नु हुँदैन। यसतर्फ पनि कांग्रेसका भ्रातृ तथा शुभेच्छुक संस्था सचेत हुनुपर्छ,’ उनी भन्छन्।
काठमाडौं, १२ भदौ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले देशको अर्थतन्त्र लयमा फर्किंदै गएको बताएका छन् ।
मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा ‘प्रधानमन्त्रीसँगको प्रश्नोत्तर’ कार्यक्रममा उनले विभिन्न आर्थिक सूचाकांक पेस गर्दै देशको अर्थतन्त्र लयमा फर्किएको दाबी गरेका हुन् ।
अर्थतन्त्रमा देखिएका समस्या विस्तारै समाधान हुँदै गएको दाबी गर्दै देशको रेमिट्यान्स बढेर गत असार मसान्तसमम १२ खर्ब २० अर्ब ५६ करोड पुगेको जानकारी दिए । १० महिनालाई आयात धान्ने सञ्चित रकम रहेको प्रधानमन्त्रीको भनाइ छ ।