काठमाडौ, १३ भदौ ।
सेयर बजार सुस्त बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.८२ विन्दुले घटेर १९९०.५९ अंकमा अडिएको छ । १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।
दुई बाहेक बाँकी सबै समूह घटेका छन् । केही दिन यताको समग्र बजार मूल्यांकन गर्दा नेप्से साइडवेजमा गएको देखिन्छ । सूचकमा खासै उतारचढाव नहुने, कारोबार रकम पनि न्यून हुने अवस्थालाई सामान्यतयः साइडवेजको अवस्था मान्न सकिन्छ ।
नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । लाभांशको सिजन सुरु भइसकेको छ । बैंकहरुले समेत लाभांश घोषणा गर्न थालिसकेका छन् । बुधबारमात्रै माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले बोनस सेयरलाई प्राथमिकता दिएको छ ।
अब क्रमशः अरु बैंक तथा सूचीकृत कम्पनीहरुले पनि लाभांश घोषणा गर्न थाल्नेछन् । समग्रमा अबको केही समय सेयर बजारका लागि लाभांशकै अवधि हुनेछ । यस्तो बेलामा पनि आम लगानीकर्ताको मनोबल भने निकै कमजोर देखिएको छ ।
यस दिन २७६ कम्पनीको ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र लक्ष्मी सनराइज बैंक रहेका छन् ।
बर्दिया, १३ भदाै ।
१७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-६ जयपुरगाउँ बस्ने २१ वर्षीय हरी खड्कालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । खड्काले ती किशोरीलाई भदौ ५ गते राति जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बनियाभारबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
यसैगरी १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा बारबर्दिया नगरपालिका-४ गुरुवागाउँ बस्ने २३ वर्षीय ईश्वर थारूलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । थारूले ती किशोरीलाई गत वैशाख १५ गते राति जबरजस्ती करणी गरी गर्भ रहन गएको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय मोतिपुरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।
दुवै घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १३ भदौ ।
पाकिस्तानमा बुधबारबाट एसिया कप क्रिकेटको उद्घाटन सत्रमा नेपाली गायिका त्रिशला गुरुङले आफ्नो प्रस्तुति दिएकी छन् ।
मुल्तानमा सुरु भएको एसिया कप क्रिकेटको उद्घाटन सत्रमा उनले आफ्नो प्रस्तुति दिएकी हुन् ।
उद्घाटन सत्रमा नेपाल र पाकिस्तानबीचको खेल भइरहेको छ ।
काठमाडौं, १३ भदौ ।
एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । छैटौँ ओभरको तेस्रो बलमा नेपालले पहिलो विकेट लिएको छ । नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले छैटौँ ओभरको तेस्रो बल सकिँदा एक विकेटको क्षतिमा २१ रन जोडेको छ ।
काठमाडौं, १३ भदौ ।
एसिया कपअन्तर्गत पाकिस्तानविरुद्ध नेपालले पहिला बलिङ गरिरहेको छ । सातौँ ओभरको पहिलो बलमा नेपालले दोस्रो विकेट लिएको छ । पाकिस्तानका इमाम उल हक रन आउट भएका हुन् ।
यसअघि छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरेका हुन् ।
टस जितेर ब्याटिङ रोजेको पाकिस्तानले सातौँ ओभरका पहिलो बल सकिँदा २ विकेटको क्षतिमा २५ रन जोडेको छ ।
महोत्तरी, १३ भदाै ।
मनरा शिसवा नगरपालिका-३ सुनौलस्थित सडकबाट श्रोत नखुलेको नगद २५ लाख १० हजार नेपाली रूपैयाँसहित भारत घर भएका ३७ वर्षीय विनय साहलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
प्रहरी चौकी इटहर्वाकट्टीबाट खटिएको प्रहरीले भोल्ही हुँदै सुनौलतर्फ जाँदै गरेको बीआर ३० एस ८५८९ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा सिट मुनि लुकाई छिपाई राखेको उक्त रकम फेला पारी मोटरसाइकलमा सवार उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
कञ्चनपुर, १३ भदाै ।
पुनर्वास नगरपालिका-३ स्थित बीएन पोलीक्लिनिकमा जुवातास खेलिरहेको अवस्थामा पोलिक्लिनिकका संचालक बर्दिया, बारबर्दिया नगरपालिका-२ घर भएका ३२ वर्षीय सागर केसी समेत ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले उनीहरूलाई नगद ८५ हजार ८ सय ३५ रूपैयाँ र ४ बुक ताससहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
काठमाडौं, १३ भदाै ।
नेपाल प्रहरी प्रधान कार्यालय साईबर व्यूरोको काठमाडौं सामाखुशीमा निर्माण हुने भवनको प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले बुधबार आयोजित कार्यक्रमबीच शिलान्न्यास गरेका छन् । कार्यक्रममा उपस्थित नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क तइयाेङ र प्रहरी महानिरीक्षक कुँवरले संयुक्त रूपमा उक्त भवनको ताम्रपत्र अनावरण गर्नुको साथै भवन निर्माण कार्य शुरूवातको लागि भूमि पूजन समेत गरे ।
राजदूत तइयाेङले वर्तमान समयमा बढ्दै गएको साईबर अपराधको अनुसन्धान तथा नियन्त्रणका लागि नेपाल प्रहरीले साईबर ब्यूरोको क्षमताको स्तरोन्नति गर्दै आमनागरिकलाई साईबर अपराधबाट जोगाउन थप प्रभावकारी भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे । आगामी दिनमा साईबर व्यूरोको क्षमता अभिवृद्धिका लागि नेपाल प्रहरीसँग आपसी सहयोग तथा सहकार्य गर्ने उले बताए ।
प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले विज्ञान र प्रविधिको क्षेत्रमा देखिएको विकास नेपालमा मात्र नभई हाल विश्वमै ठूलो आयाम र चुनौतिको रूमपमा खडा भएको र यसले नेपाल प्रहरीको कार्यक्षेत्रमा समेत ठूलो परिवर्तन ल्याएको बताए । सीमित साधन स्रोत एवं पूर्वाधारका वावजुद साइबर व्यूरोले आफ्नो क्षमता र दक्षताले सम्भव भएसम्मको सेवा प्रवाह गर्दै आइरहेको उल्लेख गर्दै उनले आगामी दिनमा साईबर अपराधसँग सम्बन्धित विभिन्न आपराधिक क्रियाकलाप नियन्त्रणको लागि साईबर व्यूरोको संरचना सुदृढिकरण, प्रविधि र दक्ष जनशक्तिको उपलब्धता अत्यन्त जरूरी भएको बताए । महानिरीक्षक कुँवरले मित्रराष्ट्र कोरियाबाट उपलब्ध भएको सहयोग नेपाल प्रहरीको संस्थागत विकासको सन्दर्भमा दूरगामी महत्वको प्रारम्भ विन्दुको रूपमा रहने विश्वास व्यक्त गरे ।
काठमाडौं, १३ भदौ ।
एसिया कपअन्तर्गत पाकिस्तान र नेपालबीचको खेल भइरहेको छ ।
पाकिस्तानको मुल्तानमा भइरहेको खेलमा घरेलु टोलीले ब्याटिङ गरिरहेको छ भने नेपालले बलिङ छ । ११ ओभर सकिँदा पाकिस्तानले २ विकेटको क्षतिमा ४९ रन जोडेको छ ।
छैटौ र सातौँ ओभरमा नेपालले एक एक विकेट लिएको छ । सातौँ ओभरको पहिलो बलमा पाकिस्तानका इमाम उल हक रन आउट भए भने छैटौँ ओभरको तेस्रो बलमा नेपालका करण केसीले पाकिस्तानका आक्रामक ब्याट्सम्यान फकार जमानलाई आउट गरे ।
काठमाडौं, १३ भदाै ।
देशका विभिन्न स्थानबाट लागुऔषधसहित चारजना पक्राउ परेका छन् । काठमाडौंकाे बुढानिलकण्ठ नगरपालिका-८ रूद्रमती डेरा गरी बस्ने बाँके नेपालगञ्ज उपमहानगरपालिका-१३ घर भएका २६ वर्षीय विशाल बुढाथोकीलाई अवैध लागूऔषध ब्राउनसुगर १३ ग्राम ५ मिलिग्राम, २ थान मोबाइल र नगद २१ हजार रूपैयाँसहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
विशेष सूचनाको आधारमा प्रहरी प्रभाग कपनबाट खटिएको प्रहरीले उनलाई अवैध लागूऔषध ब्राउनसुगर १ ग्रामसहित बुढानिलकण्ठ नगरपालिका-१० कपन बालुवाखानी मैनाली पुल नजिकबाट पक्राउ गरेको थियो । थप अनुसन्धानको क्रममा उनको डेरा कोठाबाट थप १२ ग्राम ५ मिलिग्राम लागूऔषध फेला परेको हो ।
बाराकाे जितपुरसिमरा उपमहानगरपालिका-१ पथलैयाबाट अवैध लागूऔषध गाँजा करिब ५ किलो ५ सय ग्रामसहित २ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा पर्सा कालिकामाई गाउँपालिका-१ भेडियारी बस्ने ३५ वर्षीय लालबाबु आलम र पर्सा वीरगंज महानगरपालिका-१५ लक्ष्मणवा बस्ने ३५ वर्षीय शेख सिकन्दर मिँया रहेका छन् । ईलाका प्रहरी कार्यालय सिमाराबाट खटिएको प्रहरीले ना.५२ प ५१४२ नम्बरको मोटरसाइकललाई जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-२ सेतु बिक चोकबाट अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ९ सय मिलिग्रामसहित सोही उपमहानगरपालिका-१ धम्बोझी बस्ने ३२ वर्षीय सेराज खानलाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।