२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौ, १३ भदौ ।

प्रि-ओपन सेसनमा नेप्से सूचक १.२० अंकले बढेको छ । यससँगै सूचक १९९४.६३ विन्दुमा आएको छ । १७ लाख ८३ हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । १८ कम्पनीको ६ हजार २ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।

 

यो सेसनमा कुल ४५ पटक सेयर कारोबार भएको हो । १० कम्पनीको भाउ बढ्दा ७ वटाकै मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

 

काठमाडौ, १३ भदौ । 

नेपाली बजारमा सुनको भाउ फेरि चम्किन थालेको छ। बुधबार पनि सुनको भाउ तोलामा ८०० रुपैयाँले बढेको छ। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ५०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ९५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

मंगलबार पनि सुनको भाउ तोलामा ६०० रुपैयाँले बढेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख ११ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार १५० रुपैयाँमा कारोबार भएको थियो।
मंगलबार र बुधबार गरी सुनको भाउ तोलामा १ हजार ४०० रुपैयाँले बढिसकेको छ।

बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँले बढेर १ हजार ४८५ रुपैयाँ कायम भएको छ। मंगलबार तोलामा ५ रुपैयाँले बढेर चाँदी १ हजार ४६५ रुपैयाँमा किनबेच भएको थियो।

 

काठमाडौ, १३ भदौ ।

माछापुच्छ्रे बैंकले गत आर्थिक वर्षको नाफाबाट १४ प्रतिशत लाभांश दिने भएको छ । बैंकले १३.३० प्रतिशत बोनस सेयर र कर तिर्न ०.७०% नगद गरी कुल १४ प्रतिशत लाभांश दिने निर्णय गरेको हो । योसँगै माछापुच्छ्रे वाणिज्य बैंकमध्ये सबैभन्दा पहिला लाभांश प्रस्ताव गर्ने बैंक बनेको छ ।

 

प्रस्तावित लाभांश नियामक नेपाल राष्ट्र बैंक र यस बैंकको आगामी वार्षिक साधारण सभाले अनुमोदन गरेपछि वितरण हुनेछ । अघिल्लो वर्ष यस बैंकको सेयरधनीलाई कुनै प्रतिफल वितरण गरेको थिएन ।

 

काठमाडौ, १३ भदौ ।

जीवन बिमा कम्पनीहरुले गत आर्थिक वर्ष २०७९–८० मा कुल १ खर्ब ४२ अर्ब ३५ करोड ५६ लाख रुपैयाँभन्दा बढी बिमा शुल्क आर्जन गरेका छन् ।

 

नेपाल बिमा प्राधिकरणको गत आर्थिक वर्षको असार मसान्तसम्मको तथ्यांक अनुसार १५ वटा जीवन बिमा कम्पनी र दुई वटा लघुबिमा कम्पनीहरुले उक्त बिमा शुल्क आर्जन गरेका हुन् । जसमध्ये हालै सञ्चालनमा आएका दुई लघुबिमा कम्पनीले २ लाख रुपैयाँ बढी मात्र बिमा शुल्क आर्जन गरेका छन् ।

 

बिमा प्राधिकरणको तथ्यांकअनुसार अघिल्लो आर्थिक वर्ष २०७८–७९ को तुलनामा गत आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुको बिमा शुल्क आर्जन २.६८ प्रतिशतले मात्र बढेको हो । अघिल्लो आर्थिक वर्षमा जीवन बिमा कम्पनीहरुले १ खर्ब ३८ करोड ६४ लाख ५ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेको देखिन्छ । यस अवधिमा नेपाल लाइफ इन्स्याेरेन्सले सबैभन्दा धेरै ३७ अर्ब १७ करोड ५१ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ ।

 

त्यसपछि, लाइफ इन्स्याेरेन्स कर्पोरेसनले १७ अर्ब ४६ करोड १४ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । तेस्रोमा, नेसनल लाइफ इन्सुरेन्स कम्पनीले १६ अर्ब ४३ करोड ११ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ । यता, हालैदेखि सञ्चालनमा आएका दुई लघुबिमा कम्पनी गार्डियन माइक्रोलाइफ र क्रेष्ट माइक्रोलाइफ इन्सुरेन्सले क्रमशः १ लाख ४१ हजार रुपैयाँ र ६४ हजार रुपैयाँ बिमा शुल्क आर्जन गरेका छन् ।

 

विराटनगर, १३ भदौ ।

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमसीसी कार्यान्वयन हुने बताएका छन् । बुधबार विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले संसदबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा जाने बताएका हुन् ।

संसदबाट पारित गर्नु उपयुक्त हो होइन भनेर त्यसबेला सोच्नुपर्ने भन्दै उनले तर, अब सदनबाट पारित भइसकेकाले एमसीसी कार्यान्वयनमा दुविधा नरहेको बताए ।  उनले एमसीसी पास गर्ने बेला गरिएको १२ बुँदे व्याख्यात्मक घोषणालाई झुटको खेस्राको संज्ञा दिए ।

 

काठमाडौं, १३ भदौ ।

नेपालका लागि संयुक्त अधिराज्य (युके)का नवनियुक्त संयुक्त अधिराज्यका राजदूत रोब फेनले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेटवार्ता गरेका छन् ।

बुधबार भएको शिष्टाचार भेटमा उनीहरुबीच दुई देशबीचको आपसी हित र चासोको विषयमा कुराकानी भएको छ ।

नवनियुक्त राजदूत फेनले नेपाल आएपछि प्रधानमन्त्री प्रचण्डसँग पहिलो पटक भेटवार्ता गरेका हुन् ।

 

काठमाडौं, १३ भदौ ।

सभामुख देवराज घिमिरेले प्रतिनिधिसभाअन्तर्गतकोसमितिका नवनिर्वाचित सभापतिहरुसँग छलफल गरेका छन् ।

 


बुधबार सिंहदरबारमा सभामुख घिमिरे र नवनिर्वाचित संसदीय समितिका सभापतिहरूबीच समितिका कामकारबाही र विचाराधीन विधेयकहरूका सम्बन्धमा छलफल भएको छ ।

छलफलमा सभामुख घिमिरे, उपसभामुख इन्दिरा रानासहित सार्वजनिक लेखा समिति सभापति ऋषिकेश पोखरेल, पूर्वाधार विकास समिति सभापति दीपकबहादुर सिंह, अर्थ समिति सभापति सन्तोष चालिसे, राज्य व्यवस्था तथा सुशासन समिति सभापति रामहरि खतिवडा, कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिमा डा.आरजु राणा देउवा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको सभापति अब्दुल खान, कानून, न्याय तथा मानवअधिकार समिति सभापति विमला सुवेदी र महिला तथा सामाजिक मामिला समिति सभापति किरणकुमार साह सहभागी थिए ।

 


छलफलमा शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति सभापति भानुभक्त जोशी र अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादव भने उपस्थित भएनन् ।

 

काठमाडौं, १३ भदाै ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का प्रवक्ता ज्ञानेन्द्र शाहीले चितवनका शंकर तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालतसहित तिन निकायमा गाली बेइज्जती मुद्दा दर्ता गराएका छन्। सामाजिक संजालमार्फत् चरित्र हत्या गरेको भन्दै नेता शाहीले चितवन रत्ननगर नगरपालिका वडा नम्बर ४ का तिवारीविरुद्ध काठमाडौं जिल्ला अदालत,नेपाल प्रहरीको केन्द्रीय साइवर व्युरो र प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका हुन्। जिल्ला अदालतले तिवारीलाई आगामी असोज १२ गते उपस्थित हुन आदेश दिएको छ।

उजुरी दिएपश्चात् शाहीले एक प्रेस विज्ञप्ती जारी गर्दै विगत एक डेढ महिनादेखि आफूलाई पत्रकार भन्ने शंकर तिवारी नाम गरेको व्यक्तिले सामाजिक संजालमार्फत् चरित्र हत्या गर्ने र समाजलाई भ्रमित पार्ने काम गरेकोले मुद्धा दर्ता गरेको जानकारी गराएका छन्।

शाहीले विज्ञप्तिमा लेखका छन्,’मैले गर्दै नगरेका मलाई थाहै नभएका विषयहरू बनाइ मेरो चरित्र हत्या गरी जनताको नजरमा मलाई खराब देखाउने, मैले जनताको पक्षमा बोल्दा निरुत्साहित गर्ने मनसायले मलाई तथानाम गाली बेइजती गर्ने, कपोकल्पित कुराहरू प्रचारप्रसार गरी मेरो मानमर्दन गर्दै आएको कुरा अवगत गराउन चाहन्छु। निजले म उपर लगाएका लाञ्छना र गाली-बेइजतीका केही नमुनाको फोटोकपी सामाजिक संजाल फेसबुक तथा इन्टरनेटबाट डाउनलोड गरी सुरक्षित राखेको छु।’

शाहीले आफूले कल्पना नै गर्न नसक्ने कार्य अर्थात तीनवटा विहे गरेको, विभिन्न महिलासँग अवैध सम्बन्ध राखेको, जबर्जस्ती बैवाहिक सम्बन्ध गाँसेको, निर्वाचन आयोगमा आफ्ना झुट्टा विवरण बुझाएको,विभिन्न युवतीसँग लिभिङ टुगेदरमा बसेको, कीर्ते र ठगी गरेको भनी तिवारीले सामाजिक संजालमा प्रकाशन गर्दै आएपछि तिवारीविरुद्ध मुद्धा दर्ता गरेको प्रष्ट पारेका छन्।

उक्त कपोकल्पित कुरा गरेर आफ्नोबारे भ्रम नफैलाइदिन शाहीले तिवारीलाई पटक-पटक आग्रह गर्दा पनि तिवारीले भ्रम फैलाउन नछाडेपछि कानुनी प्रक्रियामा जान बाध्य भएको शाहीको भनाइ छ। ‘आफूविरुद्ध सामाजिक संजालमा नउत्रिन शाहीले सुझाव दिँदासमेत सचेत नभइ तिवारीले सो कार्यलाई निरन्तरता दिँदै विभिन्न लाञ्छना लगाएर चरित्र हत्या गर्ने कार्यमा झन् उक्साहट र हौसिएर मैले सोच्न पनि नसक्ने लाञ्छना लगाइ विभिन्न संचारमाध्यम मार्फत मेरो मानमर्दन र गाली बेइजती गर्ने, चरित्र हत्या गर्ने कार्य गरिरहेकोले म बाध्य भइ निजलाई कानुनी कारबाहीका लागी अदालतमा मुद्दा दायर गरेको छु।’

उनले विज्ञप्तिमा लेखेका छन्,‘नेपालको कानुन बमोजिम यस किसिमका गलत हर्कत गर्नेलाई हदैसम्मको कानुनी कारवाही गरी भविष्यमा यसकिसिमका कपोकल्पित हर्कत गर्ने छुट कोही कसैलाई गर्न नसकोस र कसैले गर्न नपाओस् भनी सम्मानित अदालतमा कानुनी उपचारको लागि मुद्दा दायर गरेको छु।’ शाही गत निर्वाचनमा जुम्लाबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्। उनी राप्रपा संसदीय दलका प्रमुख सचेतकसमेत हुन्।

 

काठमाडौ, १३ भदौ ।

सेयर बजार सुस्त बन्ने क्रमले बुधबार पनि निरन्तरता पाएको छ । यस दिन नेप्से सूचक २.८२ विन्दुले घटेर १९९०.५९ अंकमा अडिएको छ । १ अर्ब १३ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

दुई बाहेक बाँकी सबै समूह घटेका छन् । केही दिन यताको समग्र बजार मूल्यांकन गर्दा नेप्से साइडवेजमा गएको देखिन्छ । सूचकमा खासै उतारचढाव नहुने, कारोबार रकम पनि न्यून हुने अवस्थालाई सामान्यतयः साइडवेजको अवस्था मान्न सकिन्छ ।

नीतिगत अवरोध र चर्को बैंक ब्याजदरका कारण बजार प्रभावित हुँदै आएको छ । लाभांशको सिजन सुरु भइसकेको छ । बैंकहरुले समेत लाभांश घोषणा गर्न थालिसकेका छन् । बुधबारमात्रै माछापुच्छ्रे बैंकले लाभांश घोषणा गरेको छ । बैंकले बोनस सेयरलाई प्राथमिकता दिएको छ ।

अब क्रमशः अरु बैंक तथा सूचीकृत कम्पनीहरुले पनि लाभांश घोषणा गर्न थाल्नेछन् । समग्रमा अबको केही समय सेयर बजारका लागि लाभांशकै अवधि हुनेछ । यस्तो बेलामा पनि आम लगानीकर्ताको मनोबल भने निकै कमजोर देखिएको छ ।

यस दिन २७६ कम्पनीको ३८ लाखभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । १० करोड रुपैयाँभन्दा बढीसहित कारोबार रकममा माछापुच्छ्रे बैंक अग्रस्थानमा छ ।  यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः आइएमई लाइफ इन्सुरेन्स र लक्ष्मी सनराइज बैंक रहेका छन् ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।