२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, १४ भदौं ।

हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको उत्तरतिर अवस्थित छ। साथै बंगालको खाडीको उत्तर पूर्वी भागमा न्यून चापीय प्रणाली विकसित भइरहेको छ ।

 

जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली रहेको छ।

 

दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदलि रहनेछ। कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा थोरै स्थानहरुमा हल्का देखि मध्यम र बाँकी भू-भागका एक वा दूई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।

 

राती भने देशको पहाडी भू-भागमा आंशिक देखि सामान्य बदली तथा बाँकी भू-भागमा आंशिक बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशको थोरै स्थानहरूमा र बाँकी प्रदेशहरूको एक दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ।

 

कोशी प्रदेश सहित बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागका थोरै स्थानहरूमा र देशका बाँकी भू-भागका एक वा दुई स्थानमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भू क्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

 

चितवन, १३ भदौ ।

चितवन प्रशासनले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ ।

 

जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने जनाएको हो ।

प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो । प्रशासनले सार्वजनिक स्थल र पार्टी प्यालेसहरुमा मेला, महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्वस्वीकृती आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ ।

‘सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लाका राजनीतिक दल, नागरिक समाज, पेशासगत संघसंस्था सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरिएको छ,’
सूचनामा भनिएको छ। यदि कसैले कानुनको बर्खिलाप हुने कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले

जनाएको छ

 

 

धनगढी, १३ भदौ ।

कैलालीको अत्तरियाबाट लागूऔषधसहित एक जना पक्राउ परेका छन्।

 

अत्तरिया बसपार्कबाट डडेल्धुराको नवदुर्गा गाउँपालिका–२ बेडपानीका एक जना लागूऔषधसहित पक्राउ परेका हुन्। हाल गोदावरी नगरपालिका–२ तेघरीमा भाडामा बस्दै आएका २९ वर्षीय निराजन बिष्ट लागूऔषधसहित पक्राउ परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ।

 

बुधबार दुई ग्राम ५८६ मिलिग्राम लागूऔषधसहित उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ परेका बिष्टलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको छ।

 

धनगढी, १३ भदौ ।

कैलालीको जमुनानगरका एक युवक आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका छन्।

गोदावरी नगरपालिका–७ जमुनानगरका २२ वर्षीय उत्तम वली आफ्नै घरभित्र मृत अवस्थामा फेला परेका हुन्।

आज १२:१० बजेको समयमा आफ्नै एक तले ४ कोठे घरको आफु सुत्ने कोठामा वली मृत अवस्थामा फेला परेको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ। शवलाई पोष्टमार्टमको लागि सेती प्रादेशिक अस्पताल धनगढीमा राखिएको छ। घटनाको विषयमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

 

काठमाडौं, १३ भदौ ।

त्रिभुवन विमानस्थलबाट अवैध रुपमा सुन लुकाएर  ल्याउने गिरोहसँग साँठगाँठ रहेको आरोपमा पक्राउ परेका राहुल महरामाथि छानबिन गर्न पाँच दिन म्याद थप भएको छ।

बुधबार काठमाडौं जिल्ला अदालतले महरालालाई पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) लाई अनुमति दिएको हो।

नेकपा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महराका छोरा राहुललाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आज दिउँसो पक्राउ गरेको थियो। उनीविरूद्ध संगठित अपराधमा मुद्दा चल्ने भएको छ।

 

काठमाडौं, १३ भदौ ।

कप्तान बाबर आजमको शानदार शतकसँगै पाकिस्तानले नेपाललाई ३ सय ४३ रनको लक्ष्य  दिएको छ। मुल्तानमा भएको एसिया कपको उद्घाटन खेलमा पाकिस्तानले निर्धारित ५० ओभरमा ६ विकेटको क्षतिमा ३ सय ४२ रन जोडेको हो।

पाकिस्तानका लागि कप्तान आजमले उत्कृष्ट प्रदर्शन गर्दै १३१ बलमा १५१ रन बनाए। उनी अन्तिम ओभरमा सोमपाल कामीको बलमा क्याचआउट भएका थिए। उनले यस क्रममा १४ चौका र ४ छक्का प्रहार गरे।

त्यस्तै इफ्तिकार अहमदले पनि शतकीय पारी खेले। उनले नटआउट रहँदै १०९ रन बनाए। उनले ११ चौका र ४ छक्का प्रहार गरेका थिए।

नेपालले खेलमा राम्रो सुरुवात गर्दै दुवै ओपनरलाई सस्तोमा आउट गरेपछि घरेलु टोली दबाबमा परेको थियो। फखर जमान १४ रन बनाएर करन केसीको शिकार बने भने इमाम उल हक ५ रन बनाएर रनआउट भए।

त्यसपछि कप्तान बाबरले मोहमद रिजवानसँग मिलेर पाकिस्तानको पारी सम्हालेका थिए।

नेपालका लागि सोमपाल कामीले २ तथा सन्दीप लामिछाने र करन केसीले १–१ विकेट लिए। एसिया कप क्रिकेट प्रतियोगिताको १६औं संस्करण बुधबारदेखि सुरु भएको छ।

 

काठमाडौ, १३ भदौ ।

माण्डु हाइड्रोपावरको आईपीओमा आवेदन दिने बुधबार अन्तिम दिन हो । लगानीकर्ताले आज कार्यालय समयभित्र यस कम्पनीको आइपीओमा आवेदन दिन सक्नेछन् ।

सीडीएसका अनुसार यसमा भदौ १२ गते सम्ममा ७ लाख २२ हजार १५९ जनाले ७९ लाख ३१ हजार कित्ताका लागि आवेदन परिसकेको छ । यो सर्वसाधारको लागि बिक्री खुला गरिएको कित्तालाई आधार मान्दा ६.५७ गुणा बढी आवेदन हो ।

यस कम्पनीले भदौ १० गतेदेखि फेस भ्याल्यू १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रतिकित्ता २०६ रुपैयाँ दरले १३ लाख ६ हजार ३०६ कित्ता सेयर आइपीओ जारी गरेको हो । जसमध्ये २८ हजार ८५३ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि छुट्याइएको छ  । त्यस्तै, ७२ हजार १३३ कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ ।

बाँकी १२ लाख ५ हजार ३२० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । कम्पनीले यसअघि आफ्नो जारी पुँजी १ अर्ब ३६ करोड ३६ लाख ३७ हजार रुपैयाँको १०% अर्थात ७२ हजार ७३० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई बिक्री गरिसकेको छ । सर्वसाधारणले न्यूनतम १० कित्तादेखि ५० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल रहेको छ ।

लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् । रेटिङ एजेन्सी इक्रा नेपालले माण्डु हाइड्रोपावरको आइपीओलाई इक्रा एनपी डबल बी माइनस रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा उच्च मध्यमस्तरको सुरक्षित रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ असोज १३ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० असोज १२ गतेसम्म बाहल रहनेछ ।

 

काठमाडौ, १३ भदौ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको मूल्यसूची सार्वजनिक गरेको छ । जसअनुसार नेपाली गोलभेडा मेरो प्रतिकेजी मूल्य ७०, भारतीय ठूलो गोलभेडा ७०,टनेल गोलभेडा सानो ७५, लोकल गोलभेडा सानो ५०,घिउ सिमी लोकल १००,काउली स्थानिय प्रतिकेजी ९० रुपैयाँ , आलु रातो ५५,मुडे आलु रातो ५०,भारतीय आलु रातो ३५,लौका ७०,हरियो फर्सी रू ५०,घिरौँला ६० कायम भई कारोबार भइरहेको छ ।

 

त्यसैगरी डल्लेच्याउ प्रतिकेजी ३५० रुपैयाँ ,बन्दा लोकल ७०, गाजर १२०, मूला सेतो ९०,मूला रातो ७०,भन्टा डल्लो ७०, भन्टा लाम्चो ६०,मकै बोडी १००, टाटे सिमी ९०,तितो करेला ९०,ब्रोकाउली २५०, कागती १४० रुपैयाँ, भिण्डी रू ६०,न्यूरो ८० रुपैयाँ, रातो बन्दा प्रतिकेजी १५० रुपैयाँ ,लोकल काक्रो १२०,अदुवा प्रतिकेजी २५० रहेको समितिले जनाएको छ ।

समितिका अनुसार कुरीलो प्रतिकेजी ५००,केरा दर्जन १५०,अनार ३०० रुपैयाँ, नासपाती ७०,आभोकाडो २५० रुपैयाँ,कालो अंगुर ४००,किवि ७००, हरियो खुर्सानी अकबरे २५० रुपैयाँ,रहु माछा ३१५, छडी माछा २३५, ताजा माछा(मुंगरी) २३५ रुपैयाँ कायम भइ खरिद बिक्री भइरहेको समितिले जनाएको छ ।

यस्तै लप्सी प्रतिकेजी ५०,हरियो धनिया १५०,खु्र्सानी सुकेको ४५०,नेपाली सुकेको लसुन २५०, चाइनिज लसुन २३०,गुन्दुक प्रतिकेजी २५०,भारतीय प्याज सुकेको ७२,लसुन हरियो २००, रुख कटहर ६०,छ्यापी सुकेको २००,भेडे खु्र्सानी ८०,शरीफा २००,फूजी स्याउ ३२०,अम्बा १२०,जुनार ३००,तोफु ११०,पिंडालू ७०,तामा ९०,चुकुन्दर ७०,कन्य च्याउ २२०, तने बोडी प्रतिकेजी ११० मा कारोबार भइरहेको छ ।

 

काठमाडौं, १३ भदौ ।

नेकपा एमालेका शीर्ष नेताहरु चढेको विमानमा खराबी देखिएपछि काठमाडौं फिर्ता भएको छ ।

बुधबारदेखि सिरहामा बस्न लागेको सचिवालय बैठकमा सहभागी हुन एमाले नेताहरु जनकपुर जाँदै थिए । उनीहरु सवार बुद्ध एयरमा समस्या आएपछि जनकपुर अवतरण नगरी पुनः काठमाडौं नै फिर्ता आएको छ ।

विमानको अटो पाइलट सिस्टममा समस्या आएपछि काठमाडौं फिर्ता ल्याइएको उक्त विमानमाा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्षहरु सुवास नेम्वाङ,युवराज ज्ञवाली, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, विष्णु रिमाल, प्रदीप ज्ञवालीलगायतका नेताहरु सवार थिए ।

 

काठमाडौं, १२ भदाै।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले एसिया कप क्रिकेटका लागि पाकिस्तान पुगेको नेपाली क्रिकेट टिमलाई जीतका लागि शुभकामना दिएका छन् । बुधबार बिहान पाकिस्तानमा रहेको नेपाली टिमसँग भर्चुअल बैठक गर्दै प्रधानमन्त्री प्रचण्डले जितका लागि शुभकामना व्यक्त गरेका हुन् ।

 

शुभकामना व्यक्त गर्दै प्रधानमन्त्रीले प्रतियोगितामा नेपालले राम्रो नतिजा निकाल्ने विश्वास व्यक्त गर्दै खेल क्षेत्रक‍ो विकास र खेलाडीहरूको हितका निम्ति आफूले हमेसा ध्यान दिएको बताए ।

 

भर्चुअल बैठकमा नेपाली टिमका क्याप्टेन रोहित पौडेलले टोलीले राम्रो तयारी गरिरहेको र त्यहीअनुसार प्रतिस्पर्धामा प्रस्तुति रहने प्रधानमन्त्रीलाई जानकारी गराए ।

नेपालले बुधबार घरेलु टिम पाकिस्तानसँग खेल्दै छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।