काठमाडौ, १४ भदौ ।
सेयर बजार आइतबारसम्मको लागि बन्द हुने भएको छ ।
आज बिहीबार (भदौ १४ गते) जनैपूर्णिमा तथा रक्षा बन्धनको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ । सोही कारण नेप्से पनि बन्द हुने भएको हो ।
अब बजार आइतबार बिहान ११ बजे मात्र खुल्नेछ । यसअघि बुधबार नेप्से सूचक २.८२ अंकले घटेर १९९०.५९ विन्दुमा अडिएको छ ।
काठमाडौ, १४ भदौ ।
नेपाल राष्ट्र बैंकले विहीबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा कायम गरिएकाे छ ।
नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकन डलरको खरिद दर १३२ रूपैयाँ ०८ पैसा र बिक्री दर १३२ रूपैयाँ ६८ पैसा रहेको छ भने युराेपियन युरो एकको खरिद दर १४३ रूपैयाँ ७९ पैसा र बिक्री दर १४४ रूपैयाँ ४४ पैसा कायम गरिएकाे छ ।
बेलायती पाउण्ड एकको खरिद दर १६७ रूपैयाँ २० पैसा र बिक्री दर १६७ रूपैयाँ ९६ पैसा कायम गरेकाे राष्ट्र बैंकले अस्ट्रेलियन डलर एकको खरिद दर ८५.४४ रुपैयाँ र बिक्री दर ८५.८३ रुपैयाँ तथा क्यानेडियन डलर एकको खरिददर ९७ रुपैयाँ ४ पैसा र बिक्रीदर ९७ रुपैयाँ ८४ पैसा कायम गरिएकाे छ ।
जापानिज येन १० को खरिदमा ९ रुपैयाँ २ पैसा र बिक्रीदर ९ रुपैयाँ ६ पैसा कायम हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ९८ पैसा र बिक्रीदर १० रूपैयाँ २ पैसामा खरिदबिक्री गर्न पाइनेछ ।
कतारी रियालको मूल्य एकको खरिद दर ३६ रूपैयाँ २४ पैसा र बिक्री दर ३६ रूपैयाँ ४० पैसा कायम रहने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.२१ रुपैयाँ र बिक्री दर ३५.३७ रुपैयाँ, मलेसियन रिंगिट एकको खरिद दर २८.४७रुपैयाँ र बिक्री दर २८.५९ रुपैयाँ कायम गरिएकाे छ ।
साथै, कुवेती दिनार १ को खरिदमूल्य ४२८.६४ पैसा विक्रीदर ४३०.५८ पैसा रहेको छ ।
लन्डन, १४ भदौं ।
बेलायती राजधानीमा पुराना सवारीसाधनमा लाग्ने प्रदुषण शुल्कको विरोधमा शहरका बासिन्दा सडकमा उत्रिएर प्रदर्शन गरेका छन् ।
२००६ भन्दा पहिले बनेका अधिकांश ग्याँस कार र भ्यानहरू र २०१५ अघि बनाइएका डिजेल गाडीहरूले प्रति दिन लगभग १६ डलरको जरिवाना भोग्नुपरेको छ।
यो पहिलो पटक मध्य लन्डन र शहरको भित्री उपनगरहरूमा लागू गरिएको थियो। यो नियम मंगलबार देखि ग्रेटर लन्डनमा लागू भएको छ।
काबुल, १४ भदौं ।
अफगान महिला नरगिस मोमान्द हसनजाईले तालिबान शासनद्वारा लगाएको प्रतिबन्धका बीचमा मानवअधिकारप्रति दृढ प्रतिबद्धताका लागि स्वीडेनमा २०२३ को विश्व शान्ति पुरस्कार जितेकी छिन् ।
खमा प्रेसको रिपोर्ट अनुसार विश्वव्यापी रूपमा चिनिएका हसनजाईले प्रतिकूल परिस्थितिमा पनि सकारात्मक परिवर्तन ल्याउने क्षमता देखाएकी थिइन ।
हसनजाईले सम्मानको लागि हार्दिक कृतज्ञता व्यक्त गर्दै शान्ति प्रवर्द्धन गर्न आफ्नो यात्रामा सहयोग गर्नेहरूलाई धन्यवाद दिए।
सिओल, १४ भदौं ।
उत्तर कोरियाले बुधबार छोटो दुरीका दुईवटा ब्यालेस्टिक मिसाइल प्रहार गरेको छ ।
अमेरिकाले सहयोगी सैन्य अभ्यासका लागि छुट्टै बी– १बमवर्षक तैनाथ गरेको केही घण्टापछि उत्तर कोरियाको सेनाले ब्यालेस्टिक मिसाइल प्रक्षेपण गरेको जनाएको छ। यो जानकारी दक्षिण कोरियाले दिएको हो ।
उही समयमा जापानी मिडियाले उत्तर कोरियाबाट दुईवटा क्षेप्यास्त्र प्रहार गरिएको जानकारी दिएको छ, जुन जापानको एक्सक्लुसिभ इकोनोमिक जोन बाहिर खसेको छ।
न्युयोर्क, १४ भदौं ।
फ्रान्सले राष्ट्रसंघीय सुरक्षा परिषद्मा पेश गरेको प्रस्तावलाई रुसले भिटो गरेको छ ।
वास्तवमा फ्रान्स र युएईले सुरक्षा परिषद्मा मालीविरुद्ध जारी प्रतिबन्धलाई थप एक वर्ष बढाउने प्रस्ताव राखेका थिए। प्रस्तावको पक्षमा १३ सदस्यले मतदान गरे पनि रुसले त्यसको विपक्षमा भिटो गरेको थियो । रुसले भन्यो कि यो विस्तार अन्तिम हुनुपर्छ।
मतदान अघि रुसी स्थायी प्रतिनिधि भासिली नेबेन्ज्याले भने कि यूएई र फ्रान्सले प्रस्ताव गरेको प्रस्तावलाई पारित गर्नु प्रतिबन्ध शासनको प्रभावकारिता सुनिश्चित गर्न र शान्ति प्रक्रियाको लागि प्रतिकूल हुनेछ।
अफ्रिका, १४ भदौं ।
नाइजरपछि अब अर्का अफ्रिकी देश ग्याबोनमा पनि सैन्य विद्रोह भएको छ ।
विद्रोहको घोषणा गर्दै ग्याबोनका सेनाका अधिकारीहरूले भने कि उनीहरूले राष्ट्रपति अली बोङ्गो ओन्डिम्बालाई पनि नजरबन्दमा राखेका थिए, जो २००९ देखि सत्तामा रहेका छन्। रोयटर्सको रिपोर्टका अनुसार सेनाका अधिकारीहरूले एक टिभी च्यानलमार्फत विद्रोहको जानकारी दिएका थिए।
समाचार अनुसार ६४ वर्षीय राष्ट्रपति अलि बोङ्गो ओन्डिम्बालाई ‘कू’ पछि घरमै नजरबन्द गरिएको छ। यसै क्रममा उनका एक छोरा देशद्रोहको आरोपमा पक्राउ परेका छन् । तपाईलाई भनौं कि बोङ्गो परिवारले ५५ वर्ष भन्दा बढी समयदेखि ग्याबोनमा शासन गर्दै आएको छ। समाचार अनुसार सैन्य कारबाही पछि राजधानी लिब्रेभिलमा सडकमा उत्सव मनाइयो।
समाचार अनुसार भर्खरै सम्पन्न राष्ट्रपतीय निर्वाचनमा ओन्डिम्बा विजयी भएको घोषणा भए लगत्तै राजधानीमा हिंसात्मक प्रदर्शन सुरु भएको थियो । यी हिंसात्मक प्रदर्शनहरूको बीचमा सैनिकहरूले सरकारी टेलिभिजनमा आफ्नो हातमा शक्ति लिएको दाबी गरे।
यति मात्र होइन, सैनिकहरूले राष्ट्रिय गान पनि गाउन थाले। राष्ट्रिय टेलिभिजनमा विद्रोहको घोषणा गरेपछि एक सैन्य अधिकारीले घोषणा गरे कि सबै सरकारी संस्थाहरू विघटन गरिएको छ, निर्वाचन परिणामहरू रद्द गरिएको छ र सीमाहरू बन्द गरिएको छ।
सेना अधिकारीहरूले आरोप लगाए कि देशमा भएको चुनावले ग्याबोनका जनताले अपेक्षा गरेको पारदर्शिताको मापदण्ड पूरा नगरेको थियो। उल्लेखनीय छ कि राष्ट्रपति अली बोङ्गोले सन् २००९ मा आफ्ना पिता ओमारबाट सत्ता विरासतमा पाएका थिए। उनी लगातार तेस्रो पटक अध्यक्षमा निर्वाचित भएका हुन् ।
भक्तपुर, १४ भदाैं ।
भ्यागुताहरुलाई पनि भोज खुवाइयो भन्दा धेरैलाई अच्चम लाग्ला तर भक्तपुरमा बुधबार परम्परा अनुसार भ्यागुतालाई भोज खुवाइएको छ ।

भक्तपुरका किसान आ-आफना खेतहरुमा पुगेर भ्यागुतालाई भोज खुवाएका छन । प्रत्येक वर्ष जनैपूर्णिको दिन यहाँं यस्तो चलन चल्ने गर्दछ । भक्तपुर नगरपालिकाको निर्णय अनुसार भक्तपुरमा बुधबार जनैपूर्णिमा मनाइएको छ ।
हातमा ठूल्ठूला पात राखी पातमाथि भोजका परिकार राखेर भोज खुवाउन किसान खेत पुगेका थिए । भोजमा थरीथरीका परिकार रहेका हुन्छन् । भोजमा खाना, रोटीसँगै मौसमी तरकारी क्वाँटी र बोडी पनि राखिएका हुन्छन् । खानाका परिकार मात्रै होइन, गोलाकार पारेर काटिएका मूलाका चाना सिन्कोले घोचेर भातमा अड्याइएको हुन्छ । यसलाई ऐनाको रुपमा बुझिन्छ । रक्षाबन्धन धागो र सिन्दूर पनि त्यहीँ राखिएका हुन्छन् । छेवैमा धुवाँइरहेको धूपले सुगन्ध फैलाइ रहन्छ ।
जनै पूर्णिमाका अवसरमा बुधबार सबेरै देखि मठमन्दिरमा भिड चुलिँदै जाँदा भक्तपुरका किसान भने यिनै सामग्री बोकेर आफ्ना खेततिर लागेका थिए अनि आलीमा टुक्रुक्क बसेर ’पाहुना’ डाक्न थाले ।
आजका पाहुना कुनै विशिष्ट आफन्त वा नातागोता थिएनन् । यो सत्कार थियो, भ्यागुतालाई । किसानले भ्यागुतालाई परिकार पस्किदिए । सामुन्ने नआए पनि तिनलाई रक्षा बन्धनको धागो दिए । सांकेतिक रूपमा सिन्दूर पहिरायाइ दिए । अनि ऐना (भातमा गाडिएका मुलाका चाना) देखाइ दिए ।
भ्यागुतोलाई दिए पछि किसानले आलीमै बसेर आफूले पनि भोज खाए । आफू हिँडेपछि भ्यागुताले खाने विश्वासमा उनीहरूको भाग त्यहीँ छाडिदिए ।
प्रकृति पूजक किसान भ्यागुताले बालीनाली सपारिदिने विश्वास गर्छन् । र, त्यही गुन तिर्न वर्षको एक दिन उनीहरूलाई भोज खुवाउँछन् । यही परम्परा धान्न भक्तपुरे किसान परिवारका कम्तीमा एक सदस्य बुधबार किस्ती बोकेर खेततिर लागे । धेरैतिर खेत हुनेहरूलाई सबैतिर पुग्न भ्याइनभ्याइ थियो । कोही साइकलमा त कोही मोटरसाइकलमा हुइँकिइरहेका थिए ।
प्रत्येक वर्ष गाईजात्राको अघिल्लो दिन (रक्षाबन्धन) भ्यागुतालाई भोज खुवाउने परम्परा छ । यसलाई स्थानीय किसान ’ब्यां चा जानका वानेगू’ भन्छन् । नेपाल भाषामा ’ब्यां’ को अर्थ भ्यागुतो र ’जानका वानेगू’ को अर्थ खाना खान जाने हुन्छ 
कृषक लक्ष्मीकेशरी खाताखो यसपालि पनि खानेकुरा बोकेर बिहानै आफ्नो खेत पुगिन् । हरिया पात बिच्छ्याएर भ्यागुतालाई ’भोज’ पस्किदिइन् । मसलाका रूपमा सुपारीको कुड्को पनि राखि दिइन् ।
’भ्यागुताले खान्छ नै भन्ने छैन तैपनि उनीहरूका लागि एक भाग छाडिदिनु परम्परा हो,’ उनले भनिन्, ’म मात्रै होइन, यो दिन यहाँका सबै किसान भ्यागुतालाई भोज खुवाउँछन् ।’
अर्का किसान रामबहादुर कासुला भ्यागुतालाई भाग लगाइसकेपछि आफूले पनि त्यहीँ भोज खाएर आउने चलन रहेको सुनाउँछन् । ’खासगरी यो दिन भ्यागुतालाई नै भोज खुवाउने हो । हामी पनि त्यो छाक उनीहरूकै बीचमा बसेर खान्छौं, घरबाटै पुग्ने गरी खानेकुरा लैजान्छौं,’ उनले भने ।
संस्कृतिविद् तेजेश्वरबाबु ग्वंग भ्यागुतालाई किसानको सहयोगीका रूपमा लिई सम्मानसाथ भोज खुवाउने परम्परा रहेको बताउँछन् । बालीनाली संरक्षण गरिदिएको कदरसहित वर्षमा एकपटक भ्यागुतालाई सम्झने परम्परा अहिले पनि जस्ताको त्यस्तै रहेको ठान्छन् उनी

। ’भ्यागुताले विभिन्न माध्यमबाट बालीनाली संरक्षण गरी किसानलाई सहयोग गरिरहेको हुन्छ,’ उनले भने, ’भ्यागुतो उफ्रँदा बारीमा मल फिँजिन्छ, बाली बिगारिदिने कीटाणु खाइदिन्छ ।’

वासिंग्टन डिसी, १४ भदौं ।
अमेरिकाका धेरै क्षेत्र अहिले आँधीको चपेटामा परेका छन् ।
इडालिया आँधी अमेरिकाको बिग बेन्ड क्षेत्रमा पुगेको छ ।
जसका कारण अमेरिकाका एक हजारभन्दा बढी उडान रद्द भएका छन् । अमेरिकी मिडियाका अनुसार इडालिया अहिले तल झरेको छ ।
सो कारण १५७ उडान रद्ध भएको छ भने करिब २ हजार उडान रद्ध भएको छ ।
राष्ट्रपति जो बिजोनले पनि इडालियाका कारण आफ्नो यात्रा समायोजन गर्न सक्छन्।
बुधबार बिडेनले व्हाइट हाउसमा भने कि उनले इडालियाका कारण आफ्नो व्यक्तिगत र आधिकारिक यात्रा तालिका समायोजन गर्नुपर्ने हुन सक्छ। उनले आँधीबाट प्रभावित सबै सम्भावित राज्यका गभर्नरहरूसँग कुरा गरेको बताए।
बिडेनले उनीहरुलाई संघीय सरकारले आवश्यक सहयोग गर्ने आश्वासन दिएका छन् ।
चितवन, १४ भदौ ।
चितवन प्रशासनले हिन्दू नारीहरुको महान् चाड तीजलाई तडकभडक गरेर नमनाउन अनुरोध गरेको छ ।
जिल्ला प्रशासन कार्यालयले आज सूचना जारी गरेर आउँदै गरेको तीजमा खर्चिला कार्यक्रम गरेर तडकभडक गरेमा कारबाही गर्ने जनाएको हो ।
प्रशासनले सूचनामा तडकभडकका साथ तीज मनाउँदा विकृति र सामाजिक अपराधका घटनामा प्रोत्साहन हुने भएकोले त्यस्ता कार्य नगर्न निर्देशन दिएको हो । प्रशासनले सार्वजनिक स्थल र पार्टी प्यालेसहरुमा मेला, महोत्सव आयोजना गर्दा जिल्ला प्रशासन कार्यालयको पूर्व स्वीकृती आवश्यक पर्ने सूचनामा उल्लेख गरेको छ ।
‘सामाजिक शिष्टाचार, नैतिकता र अनुशासन कायम गर्ने कार्यमा जिल्लाका राजनीतिक दल, नागरिक समाज, पेशासगत संघसंस्था सञ्चारकर्मीहरु, महिला सञ्जाल र सम्पूर्ण जिल्लाबासीबाट सहयोगको अपेक्षा गरिएको छ,’ सूचनामा भनिएको छ। यदि कसैले कानुनको बर्खिलाप हुने कार्य गरेमा कानुन बमोजिम कारबाही गरिने प्रशासनले जनाएको छ ।