२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, १९ भदौ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले २५ हजार रुपैयाँ घुससहित नेपाल विद्युत प्राधिकरण, इनरुवा वितरण केन्द्रमा कार्यरत फोरम्यान विर्जुकुमार महतोलाई पक्राउ गरेको छ।

महतोले उद्योगमा विद्युत क्षमतावृद्धि गरिदिए वापत सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा आयोगको कार्यालय इटहरीबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको हो।

उनको साथबाट सेवाग्राहीबाट २५ हजार रुपैयाँ घुसबापतको रकम भेटिएको अख्तियारका प्रवक्ता भोला दाहालले बताए। घुस लिइसकेको अवस्थामा उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान भइरहेको जानकारी उनले दिए।

 

काठमाडौं, १९ भदौ ।

सरकार नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन अनन्तले भ्रष्टाचार र बेथिति अन्त्यका लागि सरकारले चालेको कदम नरोकिने बताएका छन्।

उनले सरकारले बेथिति अन्त्य र सुशासन कायम गर्ने एजेण्डालाई प्राथमिकतामा राखेर काम गरिरहेको भन्दै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको प्रशंसा गरे। सुशासनका लागि कदम चाल्दा दोषी कोही नउम्किउन् र निर्दोष कोही नपरुन भन्नेमा सरकार गम्भीर बन्नुपर्ने उनको भनाइ थियो।

उनले अनुसन्धानका सिलसिलामा माओवादीसहित सरकारका संलग्न दलका नेता कार्यकर्ता वा उनीहरुहरुका निकट व्यक्ति संलग्न भए पनि उन्मुक्ति पाउन नहुने स्पष्ट गरे। ‘बेथितिविरुद्ध प्रहार गर्ने क्रममा सत्तामा भएका वा नभएका दलका नेता, मन्त्री, प्रधानमन्त्री, उनका परिवारका सदस्य वा निकट व्यक्ति अपराधमा संलग्न रहेछन् भने नछुटुन्’, पार्टी सम्वद्ध अखिल नेपाल ट्रेड युनियन महासंघले मंगलबार राजधानीमा गरेको कार्यक्रममा पुनले भने, ‘तर, सत्तापक्ष वा आफ्नै पार्टीभित्र, आफूसँग असहमत प्रमुख प्रतिपक्षसहित प्रतिपक्षतर्फ लक्षित गरी राज्यशक्तिको दुरुपयोग गर्ने काम भयो भने भ्रष्टाचारविरोधी अभिायन सफल हुन सक्दैन। त्यसैले म भन्छु गल्ती गर्ने एक जना पनि नउम्कियोस, निर्दोष कोही नफसोस्।’

नहुने उनले बताए। सरकार सत्ता पक्ष, प्रतिपक्ष, सत्तापक्षलाई समर्थन गर्ने र विरोध गर्ने सबैको भएको हेक्का राखिनुपर्नेमा उनको जोड थियो।

पुनले कसैमाथि आरोप लाग्दैमा उसका वरिपरका सबैमाथि अपराधी झैं गरी सामाजिक चरित्र हत्या गर्ने प्रवृत्ति डरलाग्दो रुपमा बढेर गएकामा चिन्ता व्यक्त गरे। दलका नेता, कर्मचारी, चित्किसक, इन्जिनियर, व्यवसायीमध्ये केहीले गल्ती गर्दैमा वा आरोप लाग्दैमा ती कर्ममा संलग्न सबै खराब हुन भन्ने मनोविज्ञान समाजमा हाबी हुन खोजेकामा चिन्ता व्यक्त गरे।

पुनले विशिष्ट अवस्थामा आफ्ना अध्यक्ष प्रचण्डले नेतृत्व गरेको सरकारसँग अपेक्षा धेरै भएको बताए। कयौं विषयमा राजनीतिक मतभेद रहे पनि सरकारले राष्ट्रिय सरोकारका विषयमा प्रमुख प्रतिपक्षी एमालेसहित सबै पक्षसँग सहकार्य र साझा अवधारणा बनाएर अघि बढ्न खोजेको पुनले उल्लेख गरे। राष्ट्रिय सरोका र एजेण्डामा सबै राजनीतिक शक्तिबीच समान धारणा बन्ज्नुपर्नेमा उनले जोड दिए।

 

काठमाडौँ, १९ भदौ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापनलाई प्रभावकारी बनाउने सम्बन्धमा सरोकारवाला निकाय र पक्षका प्रतिनिधिहरूसँग छलफल गरेका छन् ।

मंगलबार दिउँसो सिंहदरबारमा प्रधानमन्त्री प्रचण्डले काठमाडौँको फोहोर व्यवस्थापन, फोहोरको दीर्घकालीन समाधान र सरकारको तर्फबाट चाल्नुपर्ने कदमबारे सरोकारवाला पक्ष र निकायहरूसँग छलफल गरेका हुन्। बैठकमा फोहोरको दीर्घकालीन समाधानका विविध पक्षबारे सहभागीहरूले आफ्नो धारणा राखे ।

बैठकमा बञ्चरेडाँडाको फोहोर व्यवस्थापन, स्थानीय प्रभावित जनताले उठाएका मागहरू, डम्पिङ साइडका लागि जग्गा खरिद लगायतका विषयहरूमा छलफल भएको थियो। यसका लागि उच्चस्तरीय संयन्त्र आवश्यक रहेको र सोका लागि कानुनी प्रबन्ध आवश्यक रहेकोमा जोड दिइएको छ।

बैठकमा बोल्दै प्रधानमन्त्रीले आउँदो मन्त्रिपरिषदको बैठकबाट देशभरिको फोहोर व्यवस्थापन गर्ने जिम्मेवारी र संयोजन सहरी विकास मन्त्रालयको हुनेगरि ठोस निर्णय गरिने जानकारी गराए ।

प्रधानमन्त्री प्रचण्डले भने, “संघीय सरकार काठमाडौँ उपत्यका लगायत देशभरिको फोहोर व्यवस्थापनका निम्ति गम्भीरतापूर्वक लागिरहेको छ। त्यसका लागि मन्त्रिपरिषदको बैठकबाट ठोस निर्णय गर्नुपर्दछ। आउँदो मन्त्रिपरिषद बैठकमा देशभरिको फोहोर व्यवस्थापनको कार्यादेश सहरी विकास मन्त्रालयलाई दिनेगरि निर्णय लिन्छौँ।”

प्रधानमन्त्रीले फोहोर व्यवस्थापन संघीय, प्रादेशिक र स्थानीय सरकारको साझा दायित्व भएकोमा जोड दिँदै फोहोरको दीर्घकालीन व्यवस्थापनका निम्ति गठन आदेशसहितको कानुनी व्यवस्था र दीर्घकालीन संयन्त्र निर्माण गरिने बताउँदै त्यसका लागि ठोस गृहकार्य गर्नसमेत निर्देशन दिए ।

प्रधानमन्त्रीले बोलाएको छलफलमा सहरी विकासमन्त्री सीता गुरूङ, नेपाल सरकारका मुख्यसचिव डा. बैकुण्ठ अर्याल, प्रधानमन्त्री कार्यालयका सचिवहरू एकनारायण अर्याल, मणिराम गेलाल, सहरी विकास मन्त्रालयका सचिव रविन्द्रमान श्रेष्ठ, लगानी बोर्डका कार्यकारी निर्देशक सुशील भट्ट, काठमाडौँ महानगरपालिकाका प्रमुख प्रशासकीय अधिृकत वसन्त अधिकारी, ललितपुर महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रदेव भारती लगायतका प्रतिनिधिहरू उपस्थित थियो ।

 

 

काठमाडौं, १९ भदौ ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी ओलीबीच पछिल्लो राजनीतिक तथा समसामयिक विषयमा छलफल भएको छ ।

 

मंगलबार दिउँसो सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटमा उनीहरुबीच संसदमा विचाराधीन अवस्थामा रहेका विधेयकका सम्बन्धमा पनि कुराकानी भएको छ ।

अमेरिका र चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले आफ्नो विदेश भ्रमणकाबारेमा पनि जानकारी गराउँदै सुझाव मागेका छन् ।।

 

काठमाडौं, १९ भदौ।

देशको विभिन्न स्थानबाट लागुऔषधसहित १४ जना पक्राउ परेका छन् ।

 

काठमाडौं महानगरपालिका-१४ डेरा गरी बस्ने पाँचथर फालेलुङ गाउँपालिका-६ घर भएका ३५ वर्षीय जंग बहादुर राईलाई अवैध लागूऔषध खैरो हेरोईन १ सय ४२ ग्राम, नगद ९ लाख ५० हजार रूपैयाँ र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनलाई आफ्नै कोठाबाट पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमतिलाई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

 

भक्तपुरको भक्तपुर नगरपालिका-१ दुधपाटी बस्ने ४९ वर्षीय शिद्धि राम सिल्पकारलाई अवैध लागूऔषध खैरो हेरोईन २१ ग्राम १० मिलिग्राम र डिजिटल तराजु १ थानसहित आइतबार प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण व्यूरो कोटेश्वरबाट खटिएको प्रहरीले उनको घर तलासी गर्दा उक्त लागूऔषध फेला पारी पक्राउ गरेको हो । उनी उपर जिल्ला अदालत भक्तपुरबाट लागूऔषध मुद्दामा म्याद थप अनुमति लिई प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

मोरङको उर्लाबारी नगरपालिका-३ मङगलबारेबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ करिब ३ सय ९० मिलिग्रामसहित ४ जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सोही ठाउँ डेरा गरी बस्ने सुनसरी ईटहरी उपमहानगरपालिका-१९ तरहरा घर भएका २४ वर्षीय जीवन विश्वकर्मा, मोरङ पथरी शनिश्चरे नगरपालिका-१ बस्ने ४० वर्षीय सन्जय सहनी, २९ वर्षीय मिथुन मण्डल र २५ वर्षीय राम कुमार सहनी रहेका छन् । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय उर्लाबारीबाट खटिएको प्रहरीले जीवनको कोठा तलासी गर्दा उक्त पदार्थ फेला पारी खरिद बिक्रीमा संलग्न उनीहरूलाई पक्राउ गरेको हो ।

पर्साको वीरगंज महानगरापलिका-१५ नेशनल मेडिकल कलेज पछाडीबाट अवैध लागूऔषध खैरो हेरोईन जस्तो देखिने पदार्थ १ ग्राम ४० मिलिग्राम र सेतो हेरोईन जस्तो देखिने पदार्थ २ सय ४० ग्रामसहित सोही महानगरपालिका-१५ ब्रम्हचोक डेरा गरी बस्ने बारा कोल्बी नगरपालिका-५ घर भएका २५ वर्षीय तिर्थ नारायण चौधरी समेत ३ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । प्रहरी चौकी भिस्वागाउँबाट खटिएको प्रहरीले प्रदेश-०२-०२१ प ९७९५ र प्रदेश २-०३-०११ प ४९८९ नम्बरका मोटरसाइकल रोकी बसिरहेका उनीहरूलाई जाँच गर्ने क्रममा उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

बाराको जितपुरसिमरा उपमहानगरपालिका-२२ स्थित बगिर खोला नजिकैबाट अवैध लागूऔषध गाँजा ८ किलो ४ सय ६८ ग्रामसहित सोही उपमहानगरपालिका-२२ नयाँ बस्ती बस्ने २८ वर्षीया अन्जली थिङलाई सोमबार बेलुकी प्रहरीले पक्राउ गरेको छ । विशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरीले स्कुटर चालक थिङलाई ना.३३ प ५७४८ नम्बरको स्कुटरमा बोरामा राखी उक्त गाँजा लैजाँदै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

कैलालीको घोडाघोडी नगरपालिका-५ देउकलीयास्थित सडकबाट अवैध लागूऔषध चरेस जस्तो देखिने पदार्थ १ केजी ३ सय ग्रामसहित सोही नगरपालिका-१० बस्ने ४८ वर्षीय नर बहादुर घिमिरे समेत ४ जनालाई सोमबार राति प्रहरीले पक्राउ गरेको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र ईलाका प्रहरी कार्यालय सुखडबाट संयुक्त रूपमा खटिएको प्रहरी टोलीले उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।

 

 

काठमाडौ, १९ भदौ ।

सेयर बजारले मंगलबार पनि लगानीकर्तालाई उत्साहित बनाउन सकेन । मंगलबार नेप्से सूचक ६.४५ विन्दुले घटेर १९६१.३७ अंकमा अडिएको छ । २ कम्पनी सकारात्मक सर्किट लेबलमा लाग्दा ७९ करोड ६८ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

बजार निकै सुस्त बनिरहेको छ । नेप्से सूचकका साथमा दैनिक कारोबार रकम पनि न्यून छ । खरिदकर्ता आकर्षित हुन नसक्दा कारोबार रकम निकै सुस्त भएको हो । लाभांशको सिजनमा बजार गतिहीन हुँदा लगानीकर्तमा थप अन्योलता उत्पन्न भएको छ ।

यस दिन २७७ कम्पनीको २४ लाख ८० हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । कारोबार रकममा हिमालयन एभरेष्ट इन्स्योरेन्स ७ करोड ५८ लाख रुपैयाँसहित अग्रस्थानमा रहेको छ । यसैगरी, दोस्रो र तेस्रो स्थानमा क्रमशः साल्ट ट्रेडिङ र आइएमई लाइफ इन्सुरेन्स परेका छन् ।

 

गेन्ट, १९ भदाै । 

बेल्जियमस्थित नेपाली महिलाहरुले हरितालिका तीज मनाएका छन् । गेन्टस्थित नेपाल डिलाइट रेष्टुरेन्टमा आयोजित तीज कार्यक्रममा गायिका मल्लिका कार्कीले आफ्नो प्रस्तुती दिएकी थिइन् ।

 

सोमबार साँझ आयोजित कार्यक्रममा गैरआवासीय नेपाली संघ बेल्जियमकी महासचिव रुविना शर्मा प्रमुख अतिथिको रुपमा उपस्थित थिइन् । कार्यक्रमको संयोजक समाजसेवी सरिता पौडेलले गरेकी थिइन् ।

 

कार्यक्रममा सहभागी महिलाहरुले नवनिर्वाचित महासचिव शर्मालाई सम्मान गरेका थिए । कार्यक्रममा गायिका कार्कीले रातै सारी रातै टिकी, यति धेरै मान्छेहरुको बीचमा, अच्छालिकीन लण्डनको चिसोले समाउलालगायतका गीत प्रस्तुत गरेकी थिइन् ।

कार्यक्रममा रेनु केसी, मैया नेपाल, एनआरएनए बेल्जियमकी संयोजक शारदा धिताल, सम्झना लामिछाने, कविता थपलिया, रस्मी निरौला र उमा पोखरेल लगायतको उपस्थिति थियो ।

 

 

काठमाडौं, १९ भदौ ।

सामाजिक सञ्जाल इन्स्ट्राग्रामको टाइमलाइन स्टोरीमा आकर्षक तलब सुविधामा वैदेशिक रोजगारको लागि क्यानडा पठाई दिने भन्दै प्रलोभनमा पारी रकम ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कास्की माछापुच्छ्रे गाउँपालिका-६ ठेगाना भएका ३० वर्षीय लक्ष्मण नेपाली र सप्तरी राजविराज नगरपालिका-४ ठेगाना भएका ३५ वर्षीय महावीर प्रसाद साह रहेका छन् । उनीहरूलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले पक्राउ गरेको हो ।

क्यानडाको वर्क परमिट भिसा पाइने भन्दै सामाजिक सञ्जालमा नक्कली बिज्ञापन पोष्ट गरी सम्पर्कमा आएका पीडितलाई क्यासियरको काम लगाइदिन्छु, मासिक ५ लाख ४५ हजार रूपैयाँ तलव हुन्छ, प्रोसेसिङको लागि आवश्यक कागजातहरु पठाउन रकम तिर्नुपर्छ भन्दै विभिन्न व्यक्तिहरूका नामको खाताहरुमा पटक-पटक गरी जम्मा ३४ लाख ५७ हजार ७ सय १० रूपैयाँ रकम पठाउन लगाई उनीहरुले ठगी गरेको प्रारम्भिक अनुसन्धानको क्रममा खुल्न आएको छ ।

उनीहरूलाई ठगी सम्बन्धी कसूरमा आवश्यक अनुसन्धान एवं कारवाहीको लागि जिल्ला प्रहरी परिसर भक्तपुर पठाइएको छ ।

 

मोरङ, १९ भदौ ।

विराटनगर महानगरपालिका-११ बरमपुरा बस्ने ७० वर्षीय हरि कुमालको कुटिपट गरी हत्या गरेको अभियोगमा सोही ठाउँ बस्ने ५१ वर्षीय नरेश मेहता र उनकै श्रीमती ४९ वर्षीया कुमारी तामाङलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

कुखुराको अण्डाको विषयलाई लिएर उनीहरूबीच वादविवाद भई कुटपिट भएको र दुवै पक्ष आ-आफ्नो घर गएकोमा हरि कुमालको मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ वडा प्रहरी कार्यालय विराटनगरबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, १९ भदौ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले मुस्ताङस्थित वारागुङ मुक्तिक्षेत्र गाउँपालिका(कागबेनी) बाढीबाट भएको क्षतिको मंगलबार स्थलगत अवलोकन गरेका छन् ।

अविरल वर्षासँगै साउन २८ गतेको स्थानीय कागखोलाको बाढीले घर, कृषि उपज, सार्वजनिक एवम् व्यापारीक संरचना, होटल, पुल, विद्यालय, प्रहरी चौकी, पशुपंक्षी, सवारीसाधन, गुम्बा, कागबेनी श्राद्दस्थल, खानेपानी, सिंचाइ र नगद तथा अन्य भौतिक वस्तुसहित अर्बौंको क्षति गरेपछि तत्काल राहतमा वृद्धि र कागबेनी जस्तो ऐतिहासिक तिर्थस्थलको दीर्घकालीन पुनर्निर्माणको प्रतिबद्धता समेत गृहमन्त्री श्रेष्ठले जनाउनुएको छ। समयमै बाढीको सूचना पाएपछि यहाँ कुनै मानवीय क्षति भने भएन।

क्षतिको अवलोकनपछि प्रभावितसहित जनप्रतिनिधि र स्थानीय प्रशासनलाई संक्षिप्त सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले तत्कालीन प्राथमिक आवश्यकलाई समाधान गर्दै प्राविधिक र योजनावीद् अध्ययन आधारित निष्कर्ष निकालेर कागबेनीको पुनर्निर्माण गरिने, रणनीतिक रुपले व्यवस्थित बस्ती बसाइने बताए । त्यसक्रममा उनले खानेपानी, गुणस्तरीय खाद्यवस्तु र बसोबासमा कुनै कमजोरी हुन नदिन समेत स्थानीय प्रशासनलाई निर्देशन दिए ।

संघीय, प्रदेश र स्थानीय सरकार वा संघसंस्थामार्फत सामान्य तत्कालीन राहत पुगे पनि त्यो पर्याप्त , व्यवस्थित र एकद्वार हुन नसकेको जनप्रतिनिधि तथा स्थानीयको गुनासो थियो। जनताको यस्तो दु:खबाट आफु पनि उत्तिकै दुःखित भएको र संघीय, प्रदेश र स्थानीय सरकारको उचित समन्वयमा आधारभूत सेवा, राहत र पुनर्निर्माणलाई व्यवस्थित बनाइने गृहमन्त्री श्रेष्ठले बताए ।

माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्षसमेत रहेका श्रेष्ठले आजै पार्टीका स्थानीय नेताकार्यकर्तासँग समेत मुस्ताङमा संक्षिप्त भेटघाट गरे । तीनमहिने ‘जनतासँग माओवादी’ अभियानले पार्टीमा उत्साह पैदा गरेको र सरकारले सुशासनका पक्षमा थालेका कामले जनतामा समेत उत्साह पैदा गरेको उनले बताए। तर भ्रष्टाचार र अपराधका शृङ्खला नियन्त्रण गर्दै सामाजिक न्याय आधारित गुणात्मक आर्थिक विकासको ध्येय पूरा गर्न माओवादी केन्द्र नै बलियो हुनुको विकल्प नभएको, जनतासँगको सम्बन्ध बलियो हुनसक्दा मात्रै पार्टी बलियो हुने कुरालाई गहिरोसँग आत्मसात गर्न उनले नेताकार्यकर्ताहरू आह्वान गरे ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।