काठमाडौं, २० भदौ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पार्टीका सहमहामन्त्री महेन्द्र यादवको स्वास्थ्य अवस्था बुझ्न ट्रमा सेन्टर पुगेका छन्।
कांग्रेस समहामन्त्री यादवमाथि रिपोर्टस् क्लबमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा श्यामबाबु सापकोटाले खुकुरी प्रहार गरेका थिए।
खुकुरी प्रहारबाट घाइते भएका यादवको ट्रमा सेन्टरमा उपचार भइरहेको छ। खुकुरी प्रहार गर्ने नुवाकोट सापकोटा पक्राउ गरिसकेका छन्।
काठमाडौं, २० भदौ ।
नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताएका छन्।
बुधवार नेपाल आदिवासी जनजाती महासंघ (समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै सम्मानित नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा एमालेभित्र बिस्फोट र बिद्रोह हुने दाबी गरेका हुन्।
एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उनले बनताए। जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेले बुझ्नुपर्ने उनको भनाइ छ। एमाले आफ्ना नीतिहरूमा परिवर्तन गर्न बाध्य हुने पनि उनले बताए।
उनले भने, ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ। यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जाँदैछ। र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्न सक्छ। उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ। देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ। अब जबजबाट समाजवाद आउँदैन भन्ने कुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ। र एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ। यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ। बिस्फोट हुनसक्छ।’
उनले एमालेको गलत कार्यदिशाका कारण आफूहरुले सो पार्टीबाट विद्रोह गरेको भन्दै आफूहरुले सही विचार र कार्यदिशा लिनुपर्ने बताए। उनले एमाले राप्रपा, लोसपा र काँग्रेस जो सँग पनि गठबन्धन गर्न तयार भएको भन्दै ऊ सँग कुनै सिद्धान्द र दृष्टिकोण नभएको बताए। एमाले भयानक अलमलमा रहेको पनि उनको टिप्पणी थियो।
उनले भने, ‘अहिले नेकपा(एमाले)को नेतृत्व हेर्नुस् त राप्रपासँग भएपनि अंगालो मार्ने। भन्न चाहीँ पुनःउत्थानवादी भन्ने। लोसपासँग पनि अंगालो मार्ने। भन्नेचाहीँ यो प्रो इण्डियन हो भन्ने। फेरि अंगालो हाल्ने। काँग्रेस र एमाले मिलेर पो हामीले स्थायित्व दिनसक्छौँ, ठूला–ठूला पार्टी मिलेर सरकार बनाऔँ भन्छन्। त्यो साँठगाँठ गर्न पनि तयार नै देखिन्छ। त्यसो हुनाले उनीहरुको सिद्धान्त के हो ? को सँग मिल्ने ? कोसँग नमिल्ने ? कोसँग मोर्चा हुन्छ ? कोसँग हुँदैन ? वर्ग दृष्टिकोण भनेको के हो ? को वर्ग मित्र हो ? को वर्ग शत्रु हो ? यो बारेमा एमाले भयानक अलमलमा देखिन्छ। यस्तो अलमल भएको पार्टीले क्रान्ति हाँक्दैन। त्यसकारणले हाम्रो पार्टीले यस्ता कुराहरुमा प्रष्ट भएर जानुपर्छ।’
सम्मानित नेता खनालले एमसीसी पारित भएसँगै प्रत्येक महिना अमेरिकी नेताहरु नेपाल आइरहेका भन्दै यसप्रति आशंका व्यक्त गरे। उनीहरु नेपाल आएर सबभन्दा पहिले तिब्बती शरर्णार्थीहरुलाई भेटिरहेका उनले बताए। उनले अमेरिकीहरुको नेपालप्रतिको चासोलाई मित्रराष्ट्र चिनसँग जोडेर पनि हेर्नुपर्ने बताए।
काठमाडौं, २० भदौ ।
नेपाली कांग्रेसले पार्टीका सहमहामन्त्री महेन्द्र यादवमाथि भएको आक्रमणको निन्दा गरेको छ। कांग्रेस मुख्यसचिव कृष्णप्रसाद पौडेलले विज्ञप्ति जारी गर्दै यादवमाथि भएको सांघातिक हमलालाई कांग्रेसले गम्भीरतापूर्वक लिएको बताउँदै दोषिमाथि कडा कारबाहीको माग गरेका छन्।
‘यो घटनाको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ। रिपोटर्स क्लवमा भएको कार्यक्रमबाट बाहिरिने क्रममा भएको आक्रमण पछि उहाँको अहिले काठमाडौंको ट्रमा सेन्टरमा उपचार भैरहेको छ,’ विज्ञप्तिमा भनिएको छ।
कांग्रेसले यादवको स्वास्थ्यलाभको कामना समेत गरेको छ ।
काठमाडौं, २० भदौ।
एसिया कप–२०२३ खेलेर नेपाली राष्ट्रिय क्रिकेट टोली नेपाल फर्किएको छ ।
बुधबार दिउँसो श्रीलंकन एयलाइन्सबाट नेपाली टोली स्वदेश आइपुगेको हो । भारत र पाकिस्तानसँग खेलेर स्वदेश फर्किएका नेपाली खेलाडीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भब्य स्वागत गरिएको छ ।
एसिया कपमा पहिलो पटक छनोट भएको नेपाली टिमले दुईवटा खेलेको थियो । दुईवटै खेलमा पराजित भए पनि नेपाली टिमको प्रशंसा भएको छ ।
प्रतियोगिताको समूह ‘ए’ मा नेपालले भारत र पाकिस्तानसँग प्रतिस्पर्धाको गरेको थियो । तर, नेपाल पहिलो खेलमा पाकिस्तानसँग २३८ र दोस्रो खेलमा भारतसँग १० विकेटले पराजित भएको थियो ।
नेपालले प्रतियोगिताको पहिलो खेल पाकिस्तानको मुल्तानमा र दोस्रो खेल श्रीलंकाको क्यान्डीमा खेलेको थियो ।
काठमाडौं, २० भदौ ।
प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व बुधबार देशभर श्री कृष्णको पूजाआजा र दर्शन गरेर मनाइँदै छ

ललितपुरको पाटनस्थित कृष्ण मन्दिरमा बिहानैदेखि भक्तजन र दर्शनार्थीको घुइँचो लागेको छ ।

ज्ञानयोग, कर्मयोग र भक्तियोगका प्रणेता भगवान् श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा यश दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो।

काठमाडौं, २० भदौ ।
काठमाडौंको थापाथलीमा रहेको परोपकार प्रसूति तथा स्त्री रोग अस्पातलले बुधबारदेखि अनलाइन टिकटको व्यवस्था सुरु गरेको छ । अस्पतालले ६४ औं वार्षिकोत्सवको अवसर पारेर बुधबारदेखि अनलाइन व्यवस्था सुरू गरेको हो ।
बिरामीको चापलाई मध्यनजर गरेर अनलाइन टिकटको व्यवस्था सुरु गरेको अस्पतालले बुधबारदेखि अनलाइन टिकट र थप एक–एक वटा बिलिङ र टिकट काउन्टरसमेत थप गरी सञ्चालनमा ल्याएको जनाएको छ ।
स्त्रीरोग अस्पतालले सेवाग्राहीले औषधि खरिद गर्ने सहजताको लागि फार्मेसी काउन्टरसमेत थप गरेको छ ।
काठमाडौँ, २० भदौ ।
काठमाडौँ महानगरपालिकाकी उपमेयर सुनिता डंगोलले काठमाडौँको मैतिदेवी मन्दिरमा पुगेर पूजा अर्चना गरेकी छिन् । मैतीदेवी युनाईटेड क्लबको आयोजनामा मैतीदेवी मन्दिरबाट लाखे नाच निकालिएको अवसरमा उपमेयर डंगोलले मन्दिरमा नै पुगेर पूजा अर्चना गरेकी हुन् ।

पूजा गर्दै उपमेयर डैगोलले सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाचले भोलीका दिनमा पनि निरन्तरता पाउने कुरामा आँफु विश्वस्त भएको बताइन् । भदौ ४ गतेदेखि सुरु भएको लाखे नाच १६ दिनसम्म चल्ने मैतीदेवी युनाईटेड क्लबका संस्थापक अध्यक्ष राम खड्गीले जानकारी दिए । संस्कृति बचाउने एक मात्र उदेश्यले संचालनमा ल्याइएको मैतीदेवीको लाखे नाचको भित्री कथा भने भिन्न छ ।
सदिऔँदेखि चल्दै आएको मैतीदेवीको यो लाखे नाच विभिन्न कारणले ३ दशकदेखि रोकिएर अहिले आएर आजबाट संचालनमा आएको स्थानीय बासिन्दाहरु बताउँछन् । यसअघि यो परम्परा जोगाउने नाच संचालन गर्दै आएका स्थानीयहरु बसाई सरेर गएका कारण, आर्थिक हिसाबले पनि खर्चिलो भएका कारण ३ दशकदेखि रोकिएको यो परम्परालाई निरन्तरता दिने चेष्टामा मैतीदेवी युनाईटेड क्लबको जुझारु टिम लागिपरिरहेको छ ।
जसका कारण लाखे नाचको पहिलो दिन मुकुटको पूजा अर्चना गरि लामो समयदेखि स्थगित लाखे नाचलाई निरन्तरता दिने काम सुरु गरिएको स्थानीय तथा संस्कृतिविद्ध कृष्ण निरब शाही बताउँछन् । लाखे नाचको ठाउँ अनुसार आ आफ्नै मूल्य र मान्यता भएता पनि मैतीदेवीको लाखेको कथा अन्य स्थानको भन्दा भिन्न छ । अन्य स्थानमा लाखे नाच प्रेमसँग सम्बन्धित हुँदा मैतीदेवीको लाखेलाई धोबी खोलामा झुक्याएर लगेर कृष्ण अष्टमीका दिन वध गरिएको हो भन्ने किंवदन्ती छ । खासमा लाखेले स्थानीयलाई अनाहकमा दिएको दुखपछि लाखेलाई वध गर्नुपर्नेसम्मको अवस्थामा स्थानीयहरु पुग्न बाध्य हुन्छन् । र पछि सोही सम्झनामा नागपंचमीको दिनदेखि कृष्णअष्टमीको दिनसम्म लाखे नाच नाच्ने परम्परा रही आएको हो ।
काठमाडौं, २० भदौ ।
चर्चित निर्देशक दिवाकर भट्टराई करिब चार वर्षपछि पुनः निर्देशनमा कमव्याक गर्ने भएका छन् । पछिल्लोपटक फिल्म ‘क्याप्टेन’ निर्देशन गरेका दिवाकर अब फिल्म ‘मायावी’मार्फत निर्देशनमा कमव्याक गर्न लागेका हुन् ।
निर्देशक भट्टराईले श्रीकृष्ण जन्माष्टमीको अवसर पारेर ‘मायावी’को घोषणा गरेका हुन् । फिल्ममा भट्टराई स्वयंको कथा रहनेछ । निर्देशक भट्टराईले प्रेमकथाको फिल्ममा तीन ‘नायक’ र दुई ‘नायिका’ रहने बताए ।
फिल्ममा दुई नायिकामध्ये यसअघि नै नायिका दीपिका प्रसाई फाइनल भइसकेकी छन् । फिल्म ‘ऐश्वर्या’ पछि दिवाकर र दीपिकाको यो दोस्रो सहकार्य हो ।
फिल्मका अन्य कलाकार र प्राविधिक चाँडै सार्वजनिक गरिने निर्देशक भट्टराईले जानकारी दिए ।
क्रिएटिभ सिने आर्टस्ले निर्माण गर्न लागेको फिल्ममा एसडी योगीको संगीत, राम थापा अविरलको गीत रहनेछ । फिल्म असोज २ गतेबाट फ्लोरमा जानेछ ।
दिवाकरले फिल्म ‘मेरो जीवन साथी’, ‘स्टुपिड मन’, ‘ड्रिम्स’, ‘ऐश्वर्य’ र ‘क्याप्टेन’ निर्देशन गरिसकेका छन् ।
काठमाडौ, २० भदौ ।
नेपाली बजारमा बुधबार सुनको भाउ ओरालो लागेको छ।
आज सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको छ । योसँगै प्रतितोला छावपावाल सुन १ लाख १२ हजार ४०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ।
हिजो मंगलबार पनि सुनको भाउ तोलामा ३०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार ७०० रुपैयाँ र तेजाबी सुन १ लाख १२ हजार १५० रुपैयाँमा किनबेच भएको थियो।
आज चाँदीको भाउ पनि तोलामा १५ रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ कायम भएको छ। हिजो तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४४५ रुपैयाँमा कारोबार भएको थियो।
काठमाडौ, २० भदौ ।
सनराइज क्यापिटलको साधारण सभा असोज १० गते हुने भएको छ । सभामा सनराइजले ३०प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव लैजाँदैछ । सनराइज क्यापिटल, कमलपोखरी काठमाडौंमा बिहान १०.३० बजे सुरु हुनेछ ।
सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका एजेन्डामा पनि छलफल हुनेछ ।
यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने अर्को एजेन्डा पनि पेश हुनेछ ।