२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडौं, २२ भदाै ।

काठमाडौं महानगरपालिका-१५ स्वयम्भूबाट १ हजार दरका १ सय थान नक्कली नेपाली नोट र २ थान मोबाईलसहित गोरखा, गोरखा नगरपालिका-४ धारापानी घर भई काठमाडौं नागार्जुन नगरपालिका-८ भिमढुङ्गा बस्ने ३८ वर्षीय गौरव थापालाई प्रहरीले पक्राउ गरेको छ ।

 

स्वयम्भू क्षेत्रमा नक्कली नोटको कारोवार भइरहेको छ भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उनलाई उक्त नक्कली नोटसहित पक्राउ गरेको हो । उनलाई आवश्यक कारवाहीका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ ।

 

काठमाडौं, २२ भदाै ।

चन्द्रागिरी नगरपालिका-२ नागढुङ्गाबाट नियन्त्रित लागूऔषध फेनारगन १ सय ४२ एम्पुल, बुप्रेनुर्फिन १ सय ४७ एम्पुल, डाइजेपाम १ सय ३७ एम्पुल र नाईट्राभेट १ हजार ५ सय ट्याब्लेटसहित सर्लाही ईश्वरपुर नगरपालिका-१ बस्ने ३० वर्षीय अन्सारूल अंसारीलाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

 

लागूऔषध नियन्त्रण ब्यूरो र प्रहरी प्रभाग नागढुङ्गाबाट खटिएको प्रहरीले बा.प्र ०३-००१ ख २५०२ नम्बरको बसलाई जाँच गर्ने क्रममा बसमा सवार उनलाई उक्त लागूऔषधसहित पक्राउ गरेको हो ।

 

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, २२ भदौ ।

उदयपुर र झाापाबाट बलात्कारको आरोपमा एक एकजना पक्राउ परेका छन् ।

 

उदयपुरमा ३४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सुनसरी बराहाक्षेत्र नगरपालिका-२ बस्ने ३१ वर्षीय राजेश तामाङलाई बिहीबार साँझ प्रहरीले पक्राउ गरेको छ । तामाङले ती महिलालाई उदयपुर बेलका नगरपालिका-८ धोपास्थित पाखा बारीमा लगेर बुधबार साँझ जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय रामपुरठोक्सिलाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

झापामा२४ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको र ११ वर्षीया बालिकालाई बालयौन दुरूपयोग गरेको अभियोगमा बुद्धशान्ती गाउँपालिका-३ किनारा बस्ती बस्ने ७३ वर्षीय होम बहादुर बिश्वकर्मालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

 

बिश्वकर्माले सोमबार दिउँसो ११ वर्षीया बालिकालाई ललाई फकाई पीडितकै घरमा बालयौन दुरुपयोग गरेको र भदौ १५ गते दिउँसो २४ वर्षीया महिलालाई डर त्रास देखाई जबरजस्ती करणी गरेको उजुरीको आधारमा ईलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।

दुवै घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

 

काठमाडौ, २२ भदौ ।

ज्योति क्यापिटलको साधारण सभा सम्पन्न भएको छ । सभा ज्योति विकास बैंकको केन्द्रीय कार्यालय कमलपोखरी काठमाडौंमा सम्पन्न भएको हो । उक्त सभाले आर्थिक वर्ष २०७९–८० को नाफाबाट १०.५२६३ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ ।

सभाले गत आर्थिक वर्षको सञ्चालक समितिको वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गरेको छ ।

लेखापरीक्षकको प्रतिवेदन सहितको यस क्यापिटलको २०८० असार मसान्त सम्मको वासलात तथा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान हिसाव तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरु उपर छलफल गरी स्वीकृत गरेको छ ।

सभाले आर्थिक वर्ष २०८०–८१ को लेखापरीक्षण गर्न लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, क्यापिटलको सञ्चालक समितिमा संस्थापक सेयरधनीहरुको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालकको निर्वाचन गर्ने, सञ्चालक समितिको बैठक भत्ता, पारिश्रमिक तथा सुविधा अनुमोदन गर्ने प्रस्ताव पारित गरेको छ । साथै, सभाले क्यापिटलको रजिष्टर्ड कार्यालयको ठेगाना परिवर्तन प्रस्ताव पनि पारित गरेको छ ।

 

काठमाडौ, २२ भदौ ।

एनआइसी एसिया डाइनामिक डेब्ट फन्डले आफ्ना इकाइधनीलाई नगद लाभांश वितरण गर्न सुरु गरेको छ ।

 

फन्डले बैंक खातामा नगद लाभांश पठाउन थालेको छ । यता, फन्डको योजना व्यवस्थापक एनआइसी एसिया क्यापिटलले हालसम्म डिम्याट खातामा बैंक खाता अद्यावधिक नगराएका इकाइधनीहरुलाई खाता अद्यावधिक गराउन भनेको छ ।

 

यसका लागि इकाइधनीले आफ्नो डिम्याट खाता खोलेको निक्षेप सदस्यमा गएर इकाई डिम्याट गर्नुपर्नेछ । यसैगरी, हालसम्म हितग्राही खाता नखोलेकाले भने खाता खोलेर इकाई डिम्याट गर्नुपर्नेछ । खाता अद्यावधिक गरेपछिमात्र लाभांश जम्मा हुने एनआइसी एसिया क्यापिटलले जनाएको छ । आर्थिक वर्ष २०७९/८० को नाफाबाट फन्डले १० प्रतिशत नगद लाभांश (कर सहित) वितरण गरेको हो ।

 

यसका साथै फन्डको लाभांश पुनः लगानी योजनामा सहभागि हुन आवेदन दिएका सम्पूर्ण इकाइधनीहरुको थप इकाई सम्बन्धित इकाइधनीहरुको हितग्राही खातामा चाँडै जम्मा गरिने बताएको छ ।

 

काठमाडौ, २२ भदौ ।

प्रभु बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १४ लाख १६ हजार ७६३ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।

यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले यो सेयरको भाउ भने तोकेको छैन ।

यसमा सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (भदौ २२ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ ।

उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई पनि सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

 

काठमाडौ, २२ भदौ ।

हाथवे इन्भेष्टमेन्ट नेपालको आईपीओमा ५८ करोड ८७ लाख २३ हजार रुपैयाँ बराबरको आवेदन परेको छ ।

सीडीएसका अनुसार यसमा आज (भदौ २२ गते) बिहान सम्ममा ४ लाख ७७ हजार ९२९ जना आवेदकले १ करोड १७ लाख ७४ हजार ४६० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ४.८५ गुणा बढी आवेदन हो । यसमा भदौ २५ गतेसम्म आवेदन दिन पाइनेछ ।

कम्पनीले बिहीबार (भदौ २१ गते) देखि सर्वसाधारणलाई आईपीओ बिक्री खुला गरेको हो । कम्पनीले आफ्नो जारी पुँजी १ अर्ब १७ करोड रुपैयाँको १२.५०प्रतिशत  अर्थात् १४ करोड ६२ लाख ५० हजार रुपैयाँ बराबरको आइपीओ जारी गरेको हो । कम्पनीले प्रतिकित्ता ५० रुपैयाँका दरले कुल २९ लाख २५ हजार कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

जसमध्ये २ प्रतिशत  अर्थात् ५८ हजार ५ सय कित्ता सेयर कम्पनीका कर्मचारीका लागि छुट्याइएको छ । त्यस्तै, १ लाख ४६ हजार २५० कित्ता सेयर सामूहिक लगानी कोषलाई बाँडफाँट गरिएको छ । यसैगरी, २ लाख ९२ हजार ५ सय कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीलाई पनि बाँडफाँट भइसकेको छ ।

बाँकी २४ लाख २७ हजार ७५० कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । सर्वसाधारणले यसमा न्यूनतम २० देखि अधिकतम १ लाख कित्ताका लागि आवेदन दिन सक्नेछन् । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ । लगानीकर्ताले सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सक्नेछन् ।

रेटिङ एजेन्सी इक्रा नेपालले यस कम्पनीको आइपीओलाई ‘इक्रा एनपी ट्रिपल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यमस्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ चैत २४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८० चैत २३ गतेसम्म बाहल रहनेछ ।

 

काठमाडौ, २२ भदौ ।

मीड सोलु हाइड्रोपावरले भदौ २८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।

सर्वसाधारणका लागि प्रतिकित्ता १०० रुपैयाँ दरले ६ लाख २१ हजार १७२ कित्ता सेयर जारी गर्न लागेको हो ।

सर्वसाधारणलाई छुट्याइएको ७ लाख ४८ हजार ४०० कित्ता सेयरमध्ये वैदेशिक रोजगारीमा गएका नेपालीलाई ७४ हजार ८४० कित्ता सेयर बाँडफाँट गरिसकेको छ ।

यस्तै, कम्पनीका कर्मचारीलाई १४ हजार ९६८ कित्ता र म्युचुअल फन्डलाई ३७ हजार ४२० कित्ता सेयर सुरक्षित गरी बाँकी रहेको सेयर सर्वसाधारणलाई खुला गर्न लागिएको हो ।

यस आइपीओमा असोज १ गतेसम्म आवेदन दिन सकिनेछ । उक्त समयसम्म सबै सेयर बिक्री नभएमा भने असोज ११ गतेसम्म खुला रहनेछ ।

न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सकिने बिक्री प्रबन्धक एनआइसी एसिया क्यापिटलले जानकारी गराएको छ ।

यसमा सी–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर एपमार्फत आवेदन दिन सकिनेछ । क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस कम्पनीलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको जानाउने ‘इक्रा एनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ ।

कम्पनीले सोलुखुम्बु जिल्लामा ९।५ मेगावाट क्षमताको ‘मध्य सोलु खोला जलविद्युत आयोजना’ निर्माण सम्पन्न गरी २०७९ पुस १५ गतेदेखि नियमित विद्यतु उत्पादन गर्दै आएको जानकारी गराएको छ ।

आयोजनाको कुल अनुमानित २ अर्ब ८ करोड ४१ लाख रुपैयाँ (निर्माण अवधिको ब्याजसहित) रहेको छ । यसको प्रतिमेगावाट लागत २१ करोड ९३ लाख रुपैयाँ रहेको छ ।

 

काठमाडौ, २२ भदौ ।

साताको अन्तिम कारोबार दिन शुक्रबार सुनको भाउ उकालो लागेको छ।

आज सुनको भाउ तोलामा ३०० रुपैयाँले बढेको हो। योसँगै प्रतितोला छापावाल सुन १ लाख १२ हजार ३०० रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ७५० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो सुनको भाउ तोलामा ४०० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला छापावाल सुन १ लाख १२ हजार रुपैयाँ र तेजाबी सुन १ लाख ११ हजार ४५० रुपैयाँमा कारोबार भएको थियो।

आज चाँदीको भाउ तोलामा ५ रुपैयाँले घटेर १ हजार ४०५ रुपैयाँ कायम भएको छ। हिजो पनि तोलामा २० रुपैयाँले घटेर चाँदी १ हजार ४१० रुपैयाँमा किनबेच भएको थियो।

 

बारा, २२ भदौं ।

सुन तस्करी प्रकरणमा थप एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

 

६० केजी सुुन तस्करी प्रकरण अनुसन्धानका क्रममा सुनचाँदी व्यवसायी संघका बारा अध्यक्ष शिवकुमार सरार्फ पक्राउ परेका हुन ।

 

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले बिहीबार राति बारास्थित उनको निवासबाट पक्राउ गरेको हो ।

 

प्रहरी प्रवक्ता डीआईजी कुँवेर कडायतका अनुसार ६० केजी सुन तस्करी प्रकरणमा अनुसन्धान गर्दै जाँदा उनी पनि संलग्न रहेको देखिए पछि थप अनुसन्धान गर्नका लागि उनलाई पक्राउ गरिएको हो ।

 

बाराका अध्यक्ष पक्राउ परेसँगै  सो ६० किलो सुन प्रकरणमा पक्राउ पर्नेको संख्या अहिलेसम्म २८ पुगेको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।