२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

धनगढी, १ असोज ।

धनगढी उपमहानगरपालिकाले नगर क्षेत्रका विपन्न नागरिकलाई दाहसंस्कार खर्च दिने भएको छ। आर्थिक समस्याका कारण अन्त्येष्टिमा कसैलाई समस्या नपरोस् भनेर नगरपालिकाले पाँच हजार रुपैयाँ दाहसंस्कार खर्च दिने निर्णय गरेको हो।

आइतबार बसेको कार्यपालिका बैठकले दाउरा खरिदका लागि विपन्न परिवारलाई आर्थिक सहयोग गर्ने निर्णय गरेको कार्यपालिका सदस्य एवम् वडा नम्बर ३ का वडा अध्यक्ष राजबहादुर ऐरले बताए।

आर्थिक सहयोग प्रत्येक वडाका वडा अध्यक्षको समन्वयमा उपलब्ध गराइने छ।

यसैगरी, मृतक हरेक व्यक्तिको अन्त्येष्टिमा नगर प्रहरीले घाटमै गएर सम्मान दिने पनि कार्यपालिका बैठकले निर्णय गरेको छ। नगर क्षेत्रभित्र कुनै पनि व्यक्तिको मृत्यु भएमा धनगढी उपमहानगरपालिकालाई जानकारी गराउनु पर्ने ऐरले बताए।

 

काठमाडौं, १ असोज ।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकअघि संस्थापनइतर समूहले छुट्टै बैठक बोलाएको छ।

नेता शेखर कोइरालाले १४औं महाधिवेशनमा आफू पक्षबाट उम्मेदवार भई जितेका पदाधिकारी र केन्द्रीय सदस्यहरूको बैठक बोलाएका हुन्।

कांग्रेसले असोज ४ गते केन्द्रीय समिति बैठक बोलाएको छ।

उक्त बैठकमा सामूहिक रूपमा धारणा प्रस्तुत गर्न विभिन्न विषयमाथि छलफल गर्न कोइरालाले आफू पक्षको बैठक बोलाएका हुन्।

 

काठमाडौं, १ असोज ।

राप्रपा नेपालले आगामी असोज ३ गते देशब्यापी प्रदर्शन गर्ने निर्णय गरेको छ। आज पार्टी अध्यक्ष कमल थापाको उपस्थितिमा बसेको समिक्षा बैठकले गणतन्त्र, धर्मनिरपेक्षता र संघीयता बोकेको भ्रष्ट शासकको पुत्ला जलाउन तथा राँके जुलुश प्रर्दशन गर्ने निर्णय गरेको छ।

प्रदर्शनलाई ब्यापकता दिई अफल बनाउन पार्टीले पार्टीको  जिल्ला कमिटी, भातृसंगठन र आमजनतालाई आह्वान समेत गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए।

आज बसेको बैठकमा गत भाद्र २९ गते भएको बिरोध प्रदर्शनको समिक्षा र भाबी कार्यक्रमको बारेमा छलफल भएको थियो। बैठकलाई सम्बोधन गर्दै अध्यक्ष थापाले अहिले संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाले मुलुकलाई सड्ढटको दलदलमा फसाएकोले मुक्तिका लागि अब सडक संघर्षका माध्यमबाट ब्यबस्था परिवर्तनमा जोड दिए।

‘यो व्यवस्था र प्रणालीले मुलुक बचाउन र बनाउन सकिन्न, अब आन्दोलनबाट नै सबै अटाउने ब्यबस्था ल्याउनुपर्दछ’ थापाले भने। बैठकमा पार्टीका पदाधिकारी सदस्य तथा जनवर्गीय संगठनका प्रमुखहरु र उपत्यकाका जिल्ला अध्यक्षहरुले आन्दोलनमा जान जोड दिएका थिए।

 

काठमाडौं, १ असोज।

नेपाल भ्रमणमा रहेको कम्युनिष्ट पार्टी अफ चाइना (सिपिसी) को युनान प्रान्तको स्थायी समिति सदस्य तथा प्रान्तीय प्रचार विभाग प्रमुख जेङ यानको नेतृत्वको टोलीले आज उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग शिष्टाचार भेटवार्ता गरेको छ।

भेटवार्ताका क्रममा दुई देशबीच रहिआएको सौहार्द्रपूर्ण सम्बन्धलाई थप प्रगाढ बनाउन चाल्न सकिने कदमबारे छलफल भएको उपराष्ट्रपतिको कार्यालयले जनाएको छ। सो अवसरमा उपराष्ट्रपति यादवले नेपाल र चीनबीचको सम्बन्ध शान्तिपूर्ण, सहअस्तित्वका सिद्धान्त, मित्रता, आपसी सहयोग एवं साझेदारी, एकअर्काको आधारभूत चासो तथा संवेदनशीलताको जगमा बलियोसँग उभिएको बताए।

उपराष्ट्रपति यादवले मित्रराष्ट्र चीन नेपालको प्रमुख एवं लामो समयदेखिको विकास साझेदार रहिआएको बताए। उनले गत अगस्तमा चीन भ्रमणका क्रममा युनान प्रान्तबाट पाएको अतिथि सत्कारको प्रशंसा गर्दै युनानको कुनमिङ्गमा सातौँ चाइना–साउथ एसिया एक्स्पोजिसन र २७औँ चाइना (कुनमिङ) इम्पोर्ट एन्ड एक्स्पोर्ट फेयर सफलतापूर्वक आयोजना गरेकामा टोलीसमक्ष धन्यवाद व्यक्त गरे।

‘नेपालको कूल बाह्य व्यापारमध्ये चीनसँगको हिस्सा करिब १४ प्रतिशत रहेकामा यसलाई वृद्धि गर्न सकिने सम्भावनाहरु धेरै छन्’, उपराष्ट्रपति यादवले भने, ‘द्विपक्षीय व्यापारलाई दिगो र व्यापक बनाउन चिनियाँ पक्षलाई तुलनात्मक लाभका विभिन्न उत्पादनहरुमा उत्पादक क्षमता बढाउनाका साथै तरकारी, मासुजन्य उत्पादन, चिया र जडीबुटी जस्ता उत्पादनहरूको निकासी गर्न अनुरोध गर्दछु।’

उपराष्ट्रपति यादवले सुमधुर द्विपक्षीय सम्बन्धका आयामहरुमध्ये जनस्तरको सम्बन्ध एउटा महत्वपूर्ण आयाम रहेकाले दुई देश बीचको सम्बन्ध जनस्तरमा अझै सुदृढ हुनेमा आफू विश्वस्त रहेको समेत बताए। चिनियाँ भ्रमण टोलीका नेतृत्व गरिरहेकी जेङ यानले आफूहरूको यो भेटघाट उपलब्धिमूलक रहेको बताउँदै दुई देशको सम्बन्धलाई थप प्रगाढ, सुदृढ र बलियो बनाउन आफ्नो स्तरबाट प्रयास गर्ने बताइन्।

 

काठमाडौं, १ असोज ।

बारामा गाडीको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ।

सोमबार साँझ पौने ६ बजे जितपुर सिमरा उपमहानगरपालिका-१६ बाराकिलोस्थित पूर्व-पश्चिम लोकमार्गमा पिकअप गाडीले मोटरसाइकललाई ठक्कर दिँदा चालकको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जानकारी दिएको छ।

निजगढबाट पथलैया जाँदै गरेको प्र.न.३-०३-००१ प ००३९ नंको मोटरसाइकललाई वीरगंजबाट विराटनगर जाँदै गरेको प्र.न.-३-०१०-२२ च ३१९७ नंको पिकअप गाडीले ठक्कर दिएको हो।

दुर्घटनाबाट मकवानपुर हेटौंडा उपमहानगरपालिका-११ बस्ने २४ वर्षीय निशान श्रेष्ठको मृत्यु भएको हो।

उक्त मोटरसाइकलमा सवार २१ वर्षीय मिलन बरुवालको बाँया हात र ढाडमा चोट लागेको छ। उनको उपचार भइरहेको छ।

पिकअप गाडी चालक काभ्रे नमोबुद्ध नगरपालिका-२ बस्ने २३ वर्षीय सुरेश भुजेललाई प्रहरीले नियन्त्रणमा लिएको छ।

 

रियो दि जिनरियो, ३१ भदौं ।

ब्राजिलको अमेजोनास राज्यमा शनिबार एउटा विमान दुर्घटना भएको छ ।

 

जस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ ।

 

समाचार अनुसार सो राज्यको राजधानी मनौसबाट करिब ४०० किलोमिटर टाढा रहेको बार्सेलोसमा बिमान दुर्घटना भएको हो । मृत्यु हुनेमा अमेरिकी नागरिक पनि रहेको मिडिया रिपोर्टमा दाबी गरिएको छ ।

 

अमेजनस राज्यका गभर्नर विल्सन लिमाले सामाजिक सञ्जाल पोस्टमा भने, ‘शनिबार बार्सिलोसमा भएको विमान दुर्घटनामा परी १२ जना यात्रु र दुई चालक दलका सदस्यको मृत्यु भएकोमा गहिरो दुःख लागेको छ।  हाम्रा टोलीहरू आवश्यक सहयोग प्रदान गर्न काम गरिरहेका छन्। मृतकका परिवार र आफन्तजनमा मेरो समवेदना र प्रार्थना छ।’

 

यसअघि मानौस एरोट्याक्सी एयरलाइन्सले विमान दुर्घटनाको पुष्टि गर्दै घटनाको अनुसन्धान गरिरहेको बताएको थियो तर मृत्युबारे कुनै जानकारी दिइएको थिएन। एयरलाइन्सले एक विज्ञप्तिमा भनेको छ कि हामी यस कठिन समयमा दुर्घटनामा ज्यान गुमाउनेहरूको गोपनीयताको सम्मानमा भरोसा गर्दछौं र अनुसन्धान अगाडि बढ्दै जाँदा सबै जानकारी प्रदान गरिनेछ।

विशाल बस्नेत/ न्युज कारखाना ,३१ भदौ, महोत्तरी ।

पहाडको फेदिमा खयरले छाएका फुसका घरहरु छन । आकाशमा बाक्लै लोपोन्मुख जातको चरा गिद्व र चिलहरु घुमिरहेका छन  । पाखाहरुमा बाख्राहरु चरिरहेको छन । गोठालाहरु सुस्केरा हालेर स्थानिय गीत गाईरहेको सुनिन्छ । त्यस माथी चराचुरुङ्गीहरुको संगीतमय चिरविरले यहाँ पुगेपछी जो कोहीले छुट्टै आनन्द लिन सक्छन ।

 

प्राकृतिक छट्टाले अनेकौ तरहले सिंगारिएको यो  मनमोहक दृश्य हो, महोत्तरीको उत्तरवर्ती क्षेत्र राई मन्डलको ।

 

बर्दिवास नगरपालिकाको समथर भु-भाग छाडेर झन्डै ७ किलोमीटर माथी उक्लेपछी राईमन्डल पुगिन्छ । यही राईमन्डलमा रहेका भिम डाँडा र सोली घोप्टे नामक अजंग पहाडका दुई टाकुरालाई देखेपछि मधेशको समथर भु-भाग नियालिरहेको जस्तो महसुस हुन्छ ।

 

समुन्द्री सतहवाट झण्डै ३६२ फिट अग्ला यी पहाडहरु तराईका गहना हुन भने बर्दिवासको समृद्धिको आधार पनि । पहिचान, परिचय र पर्यटकीय अवसरको पर्खाईमा रहेका यी डाँडाहरु देख्दा जति मनोरम छन, त्यतिकै प्राचीन र आध्यात्मिक विरासत समेत बोकेका छन । स्थानियका अनुसार शान्ति र देवत्व प्राप्तिका लागी लामा र अध्यात्मिक व्यक्तिहरु यहाँ आएर तपस्या समेत गर्ने गरेका छन ।

 

प्रचारप्रसारको अभावमा ओझेलमा रहेको यी डाँडाहरु मधेशका पाकृतिक भ्यू टावर समेत मानिन्छ । स्थानिय युवा विजय पोखरेल यी डाँडामा उक्लिएपछि भारतको सिमाना देखि जनकपुर सहर समेत दृश्यावोलकन गर्न सकिने बताए । `यहाँका सम्भावनाका बिषयमा हामीले सरोकारवालाहरुलाई निक्कै झकझक्याएका छौ तर सुनुवाई हुन सकेको छैन,´ उनले भने, `महोत्तरीको उत्तरवर्ती क्षेत्र बर्दिवासको समृद्धिको मुख्य आधार पनि पर्यटन नै हो ।´ बर्दिवास नगर क्षेत्रमा रिसोर्ट देखि हाेटलसम्म ७० भन्दा बढी छन ।

निक्कै ठुलो लगानी गरेका होटलहरु दिन्हु धरासयी बन्दा व्यापारीहरुमा चिन्ता बढदै गएको छ । होटल तथा पर्यटन व्यवसायी संघ महोत्तरीका अध्यक्ष गुन्ज कार्की बर्दिवासमा भएका प्राकृतिक दृश्य र यस्को व्यवस्थापन गर्न नसक्दा पर्यटकहरुलाई एकदिन पनि नबस्ने गरेको गुनासो गर्छन । राइ मण्डलसम्म जाने गरी पर्यटकलाइ लैजान सके बर्दिबासकाे हाेटल ब्यावसाय उकासिने उनकाे तर्क छ ।

 

अझ राई मन्डलको वरपर मध्यपाषण युगको हतियार कारखाना भएको जर्मनी नागरिक गुड्रन कर्विन्सले आफ्नो किताब ‘प्रि हिस्टोरिक कल्चर इन नेपाल’मा उल्लेख गरेपछि यस्को महत्व थप चुलिएको छ । कार्विन्सले उक्त किताबको भोलम १, पृष्ठ २३९ मा अहिलेको राईमन्डल अर्थात पाटु  र रातु नदी वरपरको मानव सभ्यता १० हजार वर्ष पूरानो भएको उल्लेख गरेकी छन् । यसका लागि उनले सन् १९८५ को दशकमा १० वर्ष लगाएर पाटुको अध्ययन गरेकी थिइन् । रातो माटोले पुरिएको अवस्थामा हजारौ मध्य पाषण युगका हतियारहरु भेटिए पछि यो नै सबैभन्दा पुरानो मानव सभ्यता भएको उनले आफ्नो किताबमा वर्णन गरेकी छिन् ।

 

मध्यपाषण १२ देखि १२ हजार बर्ष अघिको अवधि र ६ देखि १०  हजार वर्ष अघिको नवपाषणको अवधिलाई भनिन्छ । यसरी गुड्रन कार्विन्सले गरेको अध्ययनअनुसार यो ठाउँ  १० हजार वर्ष अघिको अर्थात् मध्य पाषण युगको सभ्यता रहेको निष्कर्ष निकालिएको छ ।

 

पहिले त कर्विन्सले नेपालमा ढुंगे युगमा मानव चहलपहल थियो भन्ने तथ्य विश्वलाई बताएकी छन् ।  कर्विन्स राइमन्डल आसपास र पाटुमा  नै किन आइन् ? भन्ने विषय अझै रहस्यमय छ । तर, १० वर्ष लगाएर गरिएको अनुसन्धान पछि उनले निकालेको निष्कर्षको विषयमा भने धेरै मानिसहरु बेखवर छन ।

राईमन्डलका अग्ला डाडाहरुमा जिपलाइनका सम्भावना र कर्विन्सले भनेको यस्को फेदीमा थप खोजी गरि नविन पर्यटकिय गन्तव्य बनाउन सकिने आधारहरु देखिएका छन ।

 

 

भक्तपुर, ३१ भदाैं ।

भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले कक्षा १२ पास गरेपछि नै विदेश जाने अहिलेको विद्यार्थीको प्रबृतिले भविष्यमा गम्भीर संकट आउन सक्ने भन्दै चिन्ता व्यक्त गरेका छन् ।

 

एभरेस्ट इगलिश स्कुल मिवाछें व्यासीमा शनिबार भएको एकदिने आठौ विद्यार्थी गुणीय चक्रको उदघाटन गर्दै ज्ञानको पवित्र मन्दिरको रुपमा रहेको विद्यालयलाई बन्द, हड्ताल र तालाबन्दीलगायतका अवाञ्छित गतिविधिबाट टाढा नै राख्न जरुरी रहेकोसमेत उनले बताए ।

 

प्रमुख प्रजापतिले ज्ञानविज्ञानको केन्द्रको रुपमा अगाडि बढिरहेको भक्तपुरलाई शिक्षा, स्वास्थ्य, पर्यटनलगायतका क्षेत्रमा देशकै उत्कृष्ट गन्तव्यस्थल बनाउने उद्देश्यले भक्तपुर नपाले काम गर्दै आइरहेको बताएका छन । विद्यार्थीले परीक्षामा उच्च अंक प्राप्त गर्दैमा त्यो विद्यार्थीले समाजको लागि काम गर्छ भन्ने कुरा सत्य नहुन सक्छ भन्दै उनले विद्यार्थीमा नैतिक शिक्षाको धेरै खाँचो रहेको बताए ।

 

समाजलाई योगदान गर्न सक्ने जनशक्तिको खाँचो अहिले आवश्यकताबोध भएको बताउँदै उनले उच्च शिक्षा, रोजगारीको लागि विदेशिने सोचबाट विद्यार्थीलाई टाढा राख्नुपर्ने धारणा व्यक्त गरे । संघीयताको असल कार्यान्वयन भक्तपुरले गरिरहेको बताउँदै भक्तपुर नपाले समाजवादउन्मुख काम गर्दै आइरहेको र स्थानीय तहलाई नै अधिकारसम्पन्न गर्नुपर्ने धारणा उनले सोही अवसरमा व्यक्त गरेका छन् ।विद्यार्थी र शिक्षकहरुले पनि देशको राजनीतिप्रति चासो राख्नुपर्ने बताउँदै बौद्धिक र प्रबुद्ध व्यक्तिहरुले आफ्नो व्यक्तिगत मात्र नभई सिंगो देशको भविष्यको चिन्ता गरेर अगाडि बढ्नुपर्ने आवश्यकता रहेको उनकाे भनाइ छ ।

 

कार्यक्रममा एभरेस्ट इंगलिस स्कुलका प्रअ भक्त राजभण्डारीले एस.क्यु.सीको अवधारणाले विद्यार्थीहरुमा आत्मविश्वास जागउनुका साथै आफ्ना समस्या पहिचान गरी आफै समाधान गर्ने क्षमता अभिवृद्धि गरेको बताए । उनले स्कुलले देशभक्त अनुशासित विद्यार्थी उत्पादन गर्नेमा विशेष जोड दिँदै आएको बताउँदै एभरेष्टमा एस.क्यु.सीको गठनले धेरै उपलब्धीहरु प्राप्त भएको बताए ।

 

सम्मेलनमा १८ वटा विद्यालयका ३३ समूह गरी दुई सय ४५ जना विद्यार्थीहरु सहभागी भएको जनाइएको छ । कार्यक्रममा विभिन्न विद्यालयका प्रिन्सिपल, मास्टर टे«नर्स, शिक्षक प्रतिनिधिहरुसहित करिव पाँंच सय जनाको जमघट भएको स्कुलले जनाएको छ ।

 

 

अर्घाखाँची ३० भदाैं ।

अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेका गरिब, असहाय र अति विपन्न विद्यार्थीलाई झोला वितरण गरिएको छ ।
पहिलो पाइला नेपालले भूमिकास्थान नगरपालिका वडा नम्बर ३ मा रहेको सिद्धार्थ आधारभूत विद्यालय र शंकर जनसेवा आधारभूत विद्यालयमा अध्ययनरत १ सय १० जना विद्यार्थीलाइ झोला वितरण गरेको संस्थाका बुटबल शाखा उपाध्यक्ष सन्तोष बन्जाडेले बताए ।

‘भाग्य बोक्ने झोला कार्यक्रम’ अन्तर्गत विद्यार्थीहरुलाई सिद्धार्थ आधारभूत विद्यालयको प्रांगणमा एक समाराेहका बीच जिल्ला समन्वय समितिका प्रमुख जीवनारायण कोइरालाकाे उपस्थितिमा शैक्षिक सामग्री र सरसफाइ सामग्री प्रदान गरिएकाे हो ।
कार्यक्रममा प्रत्येक विद्यार्थीलाई एक सेट झोला, एक दर्जन कापी, एक दर्जन पेन्सिल, तथा सरसफाइ सामग्री अन्तर्गत खाजा राख्ने टिफिन, पानी खाने बोतल, ब्रस, मन्जन, नेलकटर र  रुमाल प्रदान गरिएको पहिलो पाइला नेपालका केन्द्रीय महासचिव विनोद महतले जानकारी दिए ।

 

शैक्षिक सामग्री तथा सरसफाइ सामग्री प्राप्त गरेपछि बिद्यार्थीहरु खुसी भएका थिए । आफूहरुले प्राप्त गरेको सामग्रीले अध्ययन तथा सरसफाइमा ठूलो सहयोग पुग्ने विद्यार्थीहरुले बताएका छन ।

 

काठमाडौं, ३१ भदौं ।

आज दर खाने दिन ।

 

नेपाली हिन्दु महिलाहरुको महान पर्व हरितालिका तीजको पहिलो दिनमा दर खाने चलन रहेको छ ।

 

हरितालिका तीजमा बेस्सरी नाँच गान गर्नका लागि आज राती १२ बजे अघि नै महिलाहरुले दर खाने गर्दछन् । आज राती मिठा मिठा परिकार बनाएर खाने चलन रहेको छ । अझ माइती पुगेकी चेलीलाई आमाबुवा दाजुभाईले खीर, काक्रोसहित फलफूलहरु खुवाउने चलन छ ।

 

त्यसपछि भोलीवाट सुरु हुने हरितालिका तीजका लागि निराहर ब्रत बस्ने चलन रहदैँ आएको छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।