२०८३ भाद्र ५
२०८३ भाद्र ५

 

काठमाडाैं, ४ असाेज ।

सनातन धर्मको महत्व दर्शाउने कार्यक्रम ‘युटोपिया- एक सुन्दर भविष्य’ निर्माण हुने भएको छ । मेगा आर्ट एण्ड ईन्टरटेन्मेन्टको ब्यानरमा निर्माण हुन लागेको कार्यक्रमलाई राष्ट्रिय टेलिभिजनबाट छिट्टै प्रशारण गर्ने तयारी समेत गरिएको छ ।  चलचित्र लेखक, निर्देशक, पत्रकार एवं युवा ज्योतिषको रूपमा परिचित जनक खड्काले कार्यक्रम प्रस्तुत एवं निर्देशन गर्नेछन्  ।

 

‘सनातन’ को अर्थ – शाश्वत वा ‘अनन्त’ अर्थात्, जसको न त सुरुवात छ न अन्त्य नै भन्ने हुन्छ ।   यस धर्मको कोही प्रवर्तक नभई साक्षात ईश्वरलाई नै यस धर्मले मान्ने गर्दछ।  त्यस्तै अंग्रेजी शब्द युटोपियाको अर्थ  स्वप्नलोक वा रामराज्य हुने गर्दछ ।

राजनितिज्ञ एवं लेखक नवराज लम्सालको कार्यकारी निर्माणमा बन्न लागेको यस कार्यक्रमका निर्माता समाजसेवामा क्रियाशील रहेका पिटर कुमार श्रेष्ठ रहेका छन् ।  कार्यक्रममा देशका बिशिष्ट योगदान पुर्याउने ब्यक्तिहरूलाई  अतिथिको रूपमा बोलाएर हिन्दु धर्मको चुनौती, महत्व र अवसरलाई विश्लेषण गर्दै वैदिक ज्योतिषशास्त्रको आधारमा समेत अतिथिको जन्मकुण्डलि बिश्लेषण गर्ने कार्यक्रमको लक्ष्य रहेको सञ्चारकर्मी तथा कार्यक्रम निर्माण समुहका सदस्य विवेक कुमार ठाकुरले  बताएका छन् । उनका अनुसार सञ्चारकर्मी पंकज मिश्रले कार्यक्रममा एक हिन्दू धर्म सम्वन्धी विशेष रिपोर्ट प्रस्तुत गर्नेछन् ।

 

अहिलेको अत्याधुनिक युगमा जीउन सिकाउने शास्त्र भनेकै सनातन धर्म भएको  तथा सनातन धर्ममा आधारित भएर विज्ञान बनेकोले यसको प्रार गर्न आवश्यक भएको निर्देशक खड्काले बताए ।  कार्यक्रममा धर्मका साथै धर्मसंग जोडिएको विज्ञानको विषयमा समेत बहस हुनेछ ।

 

काठमाडौं, ४ असाेज ।

काठमाडौं महानगरपालिका-९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ८ हजार अमेरिकी डलरसहित ताप्लेजुङ पाथीभरा याङवरक गाउँपालिका-७ बस्ने ३४ वर्षीय रविन इजाम समेत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

 

भिस्तारा एयरको उडानद्वारा काठमाडौंबाट दिल्ली हुँदै मौरिसस जान लागेका उनीहरुलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अन्तर्राष्ट्रिय उडान तर्फको प्रस्थान ह्याण्ड व्यागेज चेकिङ एरियामा जाँच गर्ने क्रममा अवैध रुपमा बाह्य मुलुकतर्फ लैजान लागेको उक्त अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

 

उनीहरुलाई थप अनुसन्धान तथा कारबाहीको लागि प्रहरी वृत्त गौशलामा पठाइएको छ ।

 

काठमाडौ, ४ असोज ।

नेपाली कांग्रेसको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घ (नेविसंघ) मातहतको बलियो सङ्घ हो – स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल । जसको प्रतिनिधित्व देशभरि नै  नेविसंघबाट प्रतिनिधि भएर  निर्वाचित हुने स्ववियु सभापति, पदाधिकारी एवं सदस्यहरूले गर्ने व्यवस्था छ ।

 

 

२०५२ मा स्थापना भएको स्ववियु परिषद्का संस्थापक अध्यक्ष तत्कालीन सभापति एवं वर्तमान नेपाली काँग्रेसका सहमहामन्त्री किशोर सिंह राठौर हुन्, जसको उद्देश्य काँग्रेसलाई मजबुद बनाउने र प्रत्येक क्याम्पसमा नेविसंघका प्रतिनिधिलाई  देशभरि नै सङ्गठित गर्ने थियो र अहिलेसम्म पनि स्वतन्त्र विद्यार्थी युनियन परिषद् नेपाल  देशभरि नै आफ्नो सङ्गठनलाई प्रादेशिक संरचनाअनुसार नै विस्तार गरेको  र केन्द्रीय समितिले पनि पूर्णता पाएको थियो, जसका अध्यक्ष निराजन नेपाल छन् ।

 

२०७३ को स्ववियु निर्वाचनबाट निर्वाचित सभापति निराजन परिषद्को अध्यक्ष हुँदा अधिवेशनबाटै नेतृत्व लिएको हाे । त्रिविको नियमावलीअनुसार २/२ वर्षमा हुने भने पनि  २०७३ मा भएको निर्वाचन ६ वर्षपछि २०७९ मा भएको थियो, जसमा नेविसंघ प्रथम स्थानमा रहेको सङ्गठनको दाबी छ । तर, अन्य पार्टीका भ्रातृ सङ्गठनको पनि यही दाबी भएकाले  यसको उत्तर त्रिविले नै दिनुपर्ने परिषद्का अध्यक्ष नेपाल बताउँछन् । ‘नेविसंघ नै प्रथम हो । देशभरिकै रेकर्ड हामीसँग छ, जो त्रिविले दिन सकेको छैन,’ उनले भने ।

 

२०७९ चैत्रमा स्ववियु निर्वाचनसँगै निर्वाचित साथीहरू नयाँ सोचअनुसार सङ्गठनलाई चलायमान बनाउन आइसकेका कारण अब नेतृत्व हस्तान्तरण गर्न तयार भएको र समयावधिभित्रै गर्नुपर्ने पनि आजको आवश्यकता भएको उनी बताउँछन्  । तर, नेतृत्व चयन तथा  हस्तान्तरण अधिवेशनबाट मात्रै सम्भव रहेको र अधिवेशनलाई नै लक्षित गरी आफ्नो तयारी गरिरहेको नेपालको भनाइ छ । उनकै भनाइ अनुसार निर्वाचनका लागि आफ्नो व्यक्तिगत उम्मेदवार  नरहेको पनि हाम्रो कुराकानीमा उनले भनेका छन्, ‘मेरो व्यक्तिगत उम्मेदवार परिषद्को अधिवेशनमा छैन, सबै साथीहरू आफू नै सक्षम भएर नै निर्वाचित भएर आउनु भएको छ  । उम्मेदवार को को बन्नुहुन्छ, त्यो पछि सङ्गठनले निर्णय गर्छ, जो निर्वाचित हुन्छ, उसलाई स्वागत र हस्तान्तरण गर्न तयार छु ।

 

दाङ, ४ असोज ।

फिरन्ते जीवन बिताइरहेका राउटे समुदायका प्रतिनिधिहरुले लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसँग भेटघाट गरेका छन । बिहीवार मुख्यमन्त्री कार्यालयमा आएका राउटे मुखियाका प्रतिनिधि विर्खेबहादुर शाहीको टोलीर मुख्यमन्त्रीबीच भेटघाट भएको हो ।

 

राउटे शाहीले सरकारसँग दशैँ खर्च माग्न आएको भन्दै मुख्यमन्त्रीलाई दशै खर्च दिन आग्रह गरेका छन । अब दशैँ आइसक्यो, हाम्रो जनताले दशैमा बलि पनि दिनु पर्छ, खसी पनि खानु पर्छ, सरकारले पैसा दिनु पर्‍यो, उनले भने ८६ घर जनता छ, खसी खाना सरकारले २ लाख दिनु पर्छ । सबै मत्रीहरुले हामीलाई दशै खर्च दिनुपर्‍यो, हामीले लगेर सबै जनतालाई बाड्ने काम हुन्छ । खसी किन्न पैसा चाहियो । उनले आफुहरु अहिले दैलेखमा बसीरहेको र दशै खर्चका लागि दाङ आएको बताए । तिज खर्चकै लागि आएका हौ, उनले भने, तीज गइगो अब दशै खर्च जुटाउनु परेको छ ।

 

मुख्यमन्त्री चौधरीले राज्ले राउटे समुदायको लागि गर्न सहयोग गर्ने, दशै खर्चको व्यवस्थापन गर्न सकारात्मक भएको बताए । उनले दशै खर्चका लागि आबश्यक रकम राउटे समुदायलाई दिने व्यवस्था गरिने बताए । राउटेहरुलाई पहिलेदेखि नै सरकारले दशै खर्च दिदै आएको इतिहास पनि रहेछ, राउटेलाई खर्चकै कारण दशै मनाउन समस्या हो भने लुम्बिनीले पनि केहि सहयोग गर्छ, मुख्यमन्त्री चौधरीले भने, २/३ दिनमा सरकारको केहि सहयोग हुन्छ । भेटघाटमा अर्थमन्त्री धनबहादुर मास्की तथा प्रमुख सचिव राधिका अर्यालको समेत सहभागिता रहेको थियो ।

 

फोटो : राउटेहरुसँग लुम्बिनी प्रदेशका मुख्यमन्त्री डिल्लीबहादुर चौधरी ।

 

रुपन्देही, ४ असाेज ।

दैनिक हजारौंको सङ्ख्यामा उपचारका लागि आउने बुटवलको लुम्बिनी प्रादेशिक अस्पताल नजिककालाई जागिर खुलाउन भर्तीकेन्द्रको रुपमा स्थापित भएको छ । आफ्ना आसेपासे तथा निकटका नेताहरुलाई खुसी बनाउन अस्पतालमा मेडिकल सुपरेटेन्डेन डा. सुदर्शन थापाले अवैध रुपमा ३ दर्जन बढी नियुक्ती गरेको बाहिरिएको छ । उनले गएको वैशाखयता अस्पतालमा नियमावलीविपरीत ३९ जना नयाँ कर्मचारी भर्ना गरेका छन् ।

 

अस्पताल बिकास समितिलाई समेत अटेर गर्दै थापाले आफूखुसी काम गरिरहेको स्रोतको दाबी छ । हालै मात्र मेसु थापाले अस्पतालको नर्सिङमा १९ जना, मेडिकल डाक्टर ८ जना, फार्मेशीमा २ जना तथा ल्याव र सुरक्षा गार्डमा १–१ जना कर्मचारी नियुक्त गरेका छन् । त्यस्तै गएको वैशाख ३ गते ४ जना स्टाफ नर्स र ४ जना कार्यालय सहयोगी नियुक्त गरिएको छ । उनीहरुलाई वैशाख ७ गतेदेखि लागू हुनेगरी नियुक्त गरिएको अस्पताल स्रोतले बताएको छ ।

 

अस्पताल सुधारका लागि नयाँ कार्यविधि निर्माण तथा लागू गर्ने पक्षमा समेत नदेखिएका थापाले एकपछि अर्को नियम मिच्दै गएको अस्पताल प्रशासनका एक कर्मचारीले बताए । लुम्बिनी अञ्चल अस्पताल नियमावली २०६३ मा अस्पतलमा नयाँ कर्मचारी भर्ना वा कर्मचारी बढुवा, पदपूर्ति समितिको सिफारिशका आधारमा गर्ने व्यवस्था छ । पदपूर्ति समितिमा अध्यक्ष वा निजले तोकेको व्यक्ति अध्यक्ष, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रतिनिधि सदस्य र मेडिकल सुपरिटेण्डेण्ट सदस्य सचिव रहने व्यवस्था नियमावलीले गरेको छ । तर मेडिकल सुपरिटेण्डेण्ट थापाले नियमावलीको यो व्यवस्थालाई मिचेर मनोमानी ढंगले  कर्मचारी नियुक्त गरेको ती कर्मचारीले बताए ।

 

त्यस्तै प्रदेश सरकारले बनाएको करार कर्मचारी व्यवस्थापन कार्यविधि २०८० ले पनि करार कर्मचारी भर्नाका लागि व्यवस्था गरेको छ । उक्त कार्यविधिमा करार कर्मचारीको छनोट तथा पदपूर्तिको लागि सिफारिश गर्न पदपूर्ति समिति गठन गरिने उल्लेख छ । उक्त पदपूर्ति समितिमा अधिकृतस्तरको कर्मचारी पदपूर्तिका लागि सम्बन्धित मन्त्रालयका सचिव अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका नवौं वा दशौं तहका अधिकृत सदस्य र प्रशासन महाशाखा÷शाखा प्रमुख वा अध्यक्षले तोकेको सम्बन्धित निकायको अधिकृत कर्मचारी सदस्य सचिव रहने व्यवस्था कार्यविधिमा छ ।

 

त्यस्तै पदपूर्ति समितिमा सहायकस्तरको कर्मचारी भर्नाका लागि कार्यालय प्रमुख वा अधिकृत नवौं÷दशौं तहको सम्बन्धित निकायको कर्मचारी अध्यक्ष, मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयका अधिकृत प्रतिनिधि सदस्य र प्रशासन महाशाखा÷शाखा प्रमुख वा अध्यक्षले तोकेको सम्बन्धित निकायले तोकेको कर्मचारी सदस्य सचिव रहने व्यवस्था छ ।

 

अस्पतालका लेखा अधिकृत टेकलाल भुर्तेलले नयाँ कर्मचारी भर्नाबारे थाहा नभएको बताए । ‘नयाँ कर्मचारी भर्नाबारे लेखालाई जानकारी छैन,’उनले भने । तर अस्पतालका मेसु थापाले यी कुनै पनि व्यवस्था पालना नगरीकनै कर्मचारी भर्ना गरेको अस्पतालका एक चिकित्सकले बताए ।

 

करार कर्मचारी पदपूर्तिको लागि पद, तह, आवश्यक न्यूनतम योग्यता, पारिश्रमिक, सेवाका शर्त समेत तोकी सहायकस्तरको हकमा निकाय/कार्यालयको सूचना पाटी र वेभसाइटमार्फत तथा अधिकृतस्तरका लागि राष्ट्रिय वा प्रदेशस्तरको पत्रिकामार्फत कम्तीमा १५ दिनको समयसीमा तोकी सूचना प्रकाशन गर्नुपर्ने व्यवस्था कार्यविधिमा छ । यो कार्यविधीको व्यवस्था पनि हालै भएका कर्मचारी नियुक्तीका हकमा लागू भएको देखिँदैन ।

 

अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. सुदर्शन थापाले भने पदपूर्ति समितिले सिर्जना गरेका दरवन्दीमा नयाँ कर्मचारी भर्ना गरिएको बताए । ‘अहिले भर्ना भएका नयाँ कर्मचारी पदपूर्ति समितिले यसअघि नै सिर्जना गरेका दरबन्दीका लागि हो,’ उनले भने । डा. थापाले नयाँ कर्मचारी पुरै ज्यालादारीमा भर्ना गरिएको दावी गरे । “ज्यालादारीमा भर्नाका लागि पदपूर्ति समितिको सिफारिश आवश्यक पर्दैन”–उनले भने ।

 

यस विषयमा अस्पताल विकास समितिका अध्यक्ष अजयमान श्रेष्ठले  कर्मचारी भर्नाका विषयमा लुम्बिनी अञ्चल अस्पताल नियमावली २०६३ र प्रदेशको “करार कर्मचारी व्यवस्थापन गर्ने सम्बन्धी कार्यविधि २०८०” ले स्पष्ट व्यवस्था गरेको भन्दै सोही अनुसार हुनुपर्छ भन्ने आफ्नो मान्यता रहेको बताए । “यसबारेमा के भएको हो, म बुझेर मात्रै भन्छु”–उनले भने ।  अस्पताल नियमावलीको परिच्छेद ६ मा मेसु डा. थापाले भने विपरितको व्यवस्था छ । उक्त नियमावली अनुसार अस्पतालको कामको निमित्त तत्काल नियुक्त नगरेमा सेवाको काममा गम्भीर असर पर्ने भएमा मेडिकल सुपरिटेण्डेण्टले सो पदको लागि तोकिएको योग्यता पुगेका कुनै व्यक्तिलाई दैनिक ज्यालादारीमा बढीमा एक महिनासम्मका लागि नियुक्त गरी काममा लगाउन सक्ने व्यवस्था छ । यसरी ज्यालादारीमा नियुक्त गरिएको जानकारी अध्यक्षलाई दिनुपर्ने व्यवस्था नियमावलीमा छ ।

 

लुम्बिनी प्रदेश स्वास्थ्य मन्त्रालयका सचिव डा. जनार्दन पन्थीले भने पदपूर्ति समितिको सहमतिबिना कुनै कर्मचारी भर्ना गर्न नपाइने बताए । “जुनसुकै तहको कर्मचारी नियुक्त गरेपनि पदपूर्ति समितिको सहमति चाहिन्छ, सहमति बिना नियुक्त गर्न मिल्दैन”–उनले भने ।

 

काठमाडौं, ४ असाेज ।

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणकाे टोली सार्वजनिक गरिएकाे छ ।असोज ६ देखि १३ सम्म आठ दिन हुने प्रधानमन्त्री प्रचण्डकाे चीन भ्रमणकाे टाेली सार्वजनिक गरिएकाे हाे ।

परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गरेर दिएकाे जानकारीअनुसार भ्रमण टोलीमा गंगा दाहाल, परराष्ट्रमन्त्री नारायण प्रकाश साउद, खानेपानी मन्त्री महिद्र राय यादव, भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला, राष्ट्रिय सुरक्षा सल्लाहकार शङ्करदास बैरागी, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष मीनबहादुर श्रेष्ठलगायत छन् ।

 

अमेरिकाबाट सिधै चीन भ्रमणमा जान लागेका प्रधानमन्त्री प्रचण्डले चीनमा रहँदा चिनियाँ राष्ट्रपति सी चिनफिङ र चिनियाँ समकक्षी ली छ्याङसहित शीर्ष नेतृत्वसँग भेटवार्ता गर्नेछन् ।

 

बैतडी, ४ भदौ ।

दोगडाकेदार गाउँपालिका-१ रिम बस्ने ४५ वर्षीय बिष्णु सिंह साउदलाई भरूवा बन्दुक १ थानसहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

साउदले भरुवा बन्दुक लिएर हिँडिरहेको भन्ने सूचनाको आधारमा प्रहरी चौकी खोचलेकबाट खटिएको प्रहरीले उनलाई उक्त बन्दुकसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

 

काठमाडौं, ४ असाेज ।

राप्रपा नेपालका अध्यक्ष कमल थापाले नेपालमा राजसंस्था अपरिहार्य भएको बताएका छन् ।

 

पछिल्लो समय संघीय गणतन्त्रको नाममा कायम भ्रष्ट ब्यबस्थाको अन्त्य हुनुपर्ने भन्दै थापा आक्रामक रुपमा आन्दोलनको पक्षमा उभिएका छन् । महाधिवेशन पछि राप्रपा नेपाललाई पुनर्जागृत गर्दै अघि बढेका थापाले पछिल्लो समय राजसंस्था पनि पार्टीको कार्यनीति हुने निर्णय केन्द्रिय समितीबाट गराएका छन् ।

 

महाधिवेशनको समयमा निर्मल निवासबाट खेलिएको असहयोगी भुमिकाबाट बिच्किएका थापाले अब त्यो गुनासो र असन्तुष्टिलाई मन मै राख्ने र बिर्सने प्रयास गरेका छन् । आज बिहान सामाजिक संजाल ट्विटरबाट आफ्नो भावना ब्यक्त गर्दै थापाले राजा प्रतिको गुनासो आफ्नो ठाउँमा रहने भन्दै त्यसलाई गौण रुपमा लिने अभिब्यक्ती दिएका छन् ।

 

थापाले सबै गुनासो ,चित्त दुखाईलाई तपसिलमा राखेर आन्दोलनमा जाने र हालको ब्यबस्थाको बिकल्प खोज्ने समेत बताएका छन् । सांगठनिक रुपमा कमजोर रहेको राप्रपा नेपालको हिजोको देशब्यापी प्रदर्शनबाट थापा थप हौसिएका छन् । उनले आज ट्विट मार्फत भनेका छन् ” राजा प्रतिको मेरो गुनासो,असंतुष्टी आफ्नो ठाउँमा छ।तर,जब देशका प्रमुख राजनीतिक दलका शीर्षनेताहरू र कतिपय चल्तिका आमसंचार माध्यमहरु समेत आफ्नो स्वाभिमान र आत्मसम्मानलाई बिदेशीको पैसासँग साटी रहेको देख्छु,म अत्यन्त चिन्तित हुन्छु। अनि नेपालमा राजसंस्थाको अपरिहार्यता महसुस गर्दछु ।”

 

काठमाण्डौँ ।

प्रथम शहीद लखन थापा मगर (ऐतिहासिक दस्तावेज संग्रह) पुस्तकको बिमोचन गरिएको छ ।

 


नेपाल प्रज्ञा प्रतिष्ठानमा आयोजित एक कार्यक्रमका बीच गृहमन्त्री नारायणकाजी श्रेष्ठले पुस्तकको बिमोचन गरेका हुन् । प्रथम शहीद घोषणा भएको आठौँ बार्षिकोत्सवको अवसर पारेर पुस्तकको बिमोचन गरिएको प्रथम शहीद लखन थापा मगर स्मृती प्रतिष्ठानले जनाएको छ ।

प्रतिष्ठानले प्रकाशन गरेको उक्त पुस्तकमा समावेश सामग्रीहरुको संकलन र सम्पादन जीवन आले मगरले गरेका हुन् । उक्त पुस्तकमा चार खण्ड रहेका  छन् । खण्ड ‘क’ मा शहीद लखन थापाको समसामयिक सन्दर्भका सामग्रीहरु उल्लेख गरिएको छ ।

 

खण्ड ‘ख’ मा इतिहासकारहरुले आफ्नो पुस्तकहरुमा लखन थापाले आन्दोलनमा निर्वाह गरेको भूमिका र योगदानको बारेमा उल्लेख गरेका कुराहरुलाई समावेश गरिएको बताइएको छ । खण्ड ‘ग’ मा जीवनी पुस्तकमा लखन थापाको बारेमा समेटिएका बिषयवस्तु र खण्ड ‘घ’ मा खोजअनुसन्धानकर्ता र लेखकहरुले आफ्नो लेखहरुमा थापाको बारेमा उल्लेख गरेका कुराहरुलाई समावेश गरिएको छ । लखन थापाको समग्र अध्ययन र जानकारीका लागी उक्त पुस्तक उपयोगी हुने बताइएको छ ।

 

प्रतिष्ठानद्वारा आयोजित उक्त कार्यक्रमको अवसरमा लखन थापालाई परिचित र सम्मानित गराउन भूमिका खेल्ने गोरखाका तीनसहित १८ जना सम्मानित भएका छन् । सम्मानित हुनेहरुमा रुलबहादुर आले, चिरञ्जीवी वाग्ले, चीनकाजी श्रेष्ठ, डा. मिनेन्द्र रिजाल, सुरेश आले मगर, अमरसिंह पुन, शिवलाल थापा मगर, प्रा.डा. श्रीरामप्रसाद उपाध्याय, बाबुराम सिंह थापा क्षेत्री, त्रिलोक सिंह थापा मगर र डा. हर्षबहादुर बुढा मगर रहेका छन् ।

 

त्यस्तै इतिहासकार प्रा.डा. तुल्सीराम वैद्य, चित्रकार टेकबीर मुखिया, गोरे बहादुर खपाङ्गी, क्याप्टेन यमबहादुर बुढाथोकी, लखन थापाका सन्तति बिनोद थापा मगर, क्रिपासुर शेर्पा, उच्च अदालत धनकुटाका न्यायाधीश रामबहादुर थापा पनि सम्मानित भएका छन् । सँगै नेपाल मगर संघलाई पनि सम्मान गरिएको छ । कदर पत्रले उनीहरुलाई सम्मान गरिएको हो ।

कार्यक्रमकै अवसरमा प्रतिष्ठानले सात बुदेँ मागसहितको ज्ञापन पत्र गृहमन्त्रीलाई बुझाएको छ । लखन थापालाई राष्ट्रिय विभूति घोषणा गर्नुपर्ने, थापासँगै मारिएका अन्य ६ जनालाई पनि शहीद घोषणा गर्नुपर्ने, थापाले शहादत प्राप्त गरेको दिन फागुन २ लाई राष्ट्रिय दिवसको रुपमा मनाइनु पर्ने र थापाको प्रेरणा मूलक जीवनी विद्यालय र विश्व बिद्यालयको पाठ्यक्रममा समावेश गर्नुपर्ने उनीहरुको माग छ ।

 

बुंकोटमा रहेको बिद्रोही किल्लाको उत्खनन र त्यहाँ रहेका पुरातात्विक सामग्रीहरुको समबर्धन र विकासका लागि आवश्यक योजना र बजेटको व्यवस्था गर्न पनि उनीहरुले माग गरेका छन् । प्रथम शहीदको नाममा संग्रहालयको निर्माण, राष्ट्रिय सम्मान तथा बिभूषणको घोषणा र आर्थिक सामाजिक पूर्वाधारहरुको निर्माण गरी प्रथम शहीदलाई आम रुपमा परिचित गराई सम्मानको वातावरण निर्माण गर्नुपर्ने उनीहरुको माग छ ।

 

लखन थापाको नाममा सरकारी प्रतिष्ठानको निर्माण गरी अध्ययन अनुसन्धान तथा तथ्य प्रमाणको दस्तावेजीकरण गर्ने व्यवस्था मिलाउन समेत ज्ञापन पत्रमार्फत माग गरिएको छ ।

 

 

काठमाडौं, ४ असोज ।

आयरल्याण्ड भ्रमणमा रहेका सभामुख देवराज घिमिर र आयरल्याण्डका समकक्षीसँग भेटघाट भएको छ ।

 

सभामुख घिमिरेले बुधबार साँझ आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलसँग भेटबार्ता गरेका हुन ।

सो भेटमा दुई देशका संसदबीच संसदीय आदान प्रदान, द्विपक्षीय सहयोग लगायतका विषयमा कुरा भएको भेटमा सहभागी सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराईले जानकारी दिए ।

 

नेपाल र आयरल्याण्डबीच सन् १९९९ अगष्ट १९ मा कुटनीतिक सम्बन्ध स्थापना भएको थियो । दुई देशबीच विगतमा पनि उच्चस्तरीय भ्रमण हुँदै आएका छन् । सन् २०१९ मा आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले नेपाल भ्रमण गरेका थिए ।

सभामुख घिमिरेले उच्चस्तरीय भ्रमणले दुइै देशको आपसी बुझाइ, सदभाव तथा सम्बन्ध थप प्रगाढ हुने विश्वास व्यक्त गरेका छन । ‘दुई देशको सम्बन्ध प्रगाढ र बलियो बनाउन हाम्रा संसद र सांसदहरुको भूमिका छ,’ सभामुखले भेटमा भने, ‘संसदीय अभ्यासको आपसी अनुभव आदान प्रदानमार्फत संसदीय लोकतन्त्रलाई परिस्कृत गर्दै आफ्ना नागरिकहरुका हक अधिकार सुनिश्चित गर्न सकिन्छ ।’

सभामुख घिमिरेले नेपालमा नयाँ संविधान जारी भएपछि दुईपटक तीनै तहको निर्वाचन सम्पन्न भइसकेको जानकारी दिँदै संविधानले प्रदान गरेका मौलिकहरुलाई कार्यान्वयन गर्न धेरै कानूनहरु निर्माण भइसकेको र केही कानूनहरु निर्माणका लागि संसदले काम गरिरहेको जानकारी दिएका छन । उनले नेपालको संघीय संसदमा मैत्री समूहहरु निर्माणको चरणमा रहेको जानकारी दिँदै आयरल्याण्डसँग सम्बन्ध स्थापित गर्न नेपाल–आयरल्याण्ड मैत्री समूह गठन गर्ने जानकारीसमेत दिए ।  ‘त्यस समूहले दुई देशका संसदबीचको संवाद र सहकार्यलाई निरन्तर अघि बढाउनेछन्,’ सभामुखको भनाइ थियो । उनले संसदीय अभ्यास सिकाइका लागि दुई देशको संसदका कर्मचारी बीच आदानप्रदान कार्यक्रम सञ्चालन गर्न सकिने धारणा राखेका छन ।

सभामुख घिमिरेले संयुक्त राष्ट्र संघ, अन्तर–व्यवस्थापिका संघ जस्ता बहुपक्षीय मञ्चहरूमा जलवायु परिवर्तन र यसका प्रभावजस्ता विश्वव्यापी साझा मुद्दामा नेपाल र आयरल्याण्डले सहकार्य गर्न सक्ने धारणा राखेका छन ।

 

आयरल्याण्डको प्रतिनिधि सभाका सभामुख सान ओ फारगेलले सन् २०१९ मा भएको नेपाल भ्रमणमा आफूले पाएको न्यायो स्वागतको स्मरण गरेका छन । उनले नेपाल प्राकृतिक रुपमा धनी देश रहेको बताउँदै आफूले नेपाल जति सुन्दर मुलुकमा आफूले त्यसअघि भ्रमण नगरेको समेत उल्लेख गरेका छन । उनले आयरल्याण्डमा दुई देशको संसदीय मैत्री समूह गठन भइसकेको जानकारी दिँदै संसदीय आदान प्रदानमा जोड दिएका छन ।

आयरल्याण्डका सभामुखले आफ्नो मुलुकले वार्षिक अफ्रिकाका १६० विद्यार्थीलाई छात्रवृत्ति उपलब्ध गराउँदै आएको जानकारी दिँदै नेपाललाई पनि आईरिस एडमार्फत समावेश गर्ने बताएका छन ।
सभामुख फारगेलले आयरल्याण्डमा नेपाली विद्यार्थीहरुको उपस्थिति वृद्धि हुँदै गएको बताउँदै उनीहरुको शिक्षा र आवास प्रबन्धमा भएका समस्या समाधान गर्न पहल गर्ने प्रतिबद्धता जनाएका छन । उनले  दुई देशबीच कृषि र खाद्य प्रविधिको आदान प्रदानको सम्भावना रहेको उल्लेख गरेका छन ।

 

आइरिस संसदको तल्लो सदन डोयल एरियनका सभामुख सान ओ फारगेलको निमन्त्रणामा आइतबार एक साताका लागि सभामुख घिमिरे आयरल्याण्डको राजधानी डब्लिन प्रस्थान गरेका हुन । सभामुखको भ्रमण टोलीमा प्रतिनिधि सभाका सचिव पद्मप्रसाद पाण्डेय र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश भट्टराई र नेपाली राजदूतावास, लन्डनका द्वितीय सचिव रामबाबु नेपाल सहभागी छन ।

 

औपचारिक भ्रमण पूरा गरी सभामुख नेतृत्वको टोली असोज ७ गते नेपाल फर्कने कार्यक्रम छ ।

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।