२०८२ चैत्र ३०
२०८२ चैत्र ३०

काठमाडौ, २४ असोज ।

नेपाल राष्ट्र बैंकले बुधबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ।

 

जसअनुसार भारतीय रूपैयाँ एक सयको खरिद दर १६० रूपैयाँ रहेको छ भने बिक्री दर १६० रूपैयाँ १५ पैसा रहेको छ ।

 

नेपाल राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलरको खरिद दर १३२ रुपैयाँ ९० पैसा र बिक्री दर १३३ रुपैयाँ ५० पैसा रहेको छ। युरो एकको खरिद दर १४० रुपैयाँ ८१ पैसा र बिक्री दर १४१ रुपैयाँ ४४ पैसा रहेको छ।

 

बेलायती पाउण्ड एकको खरिद दर १६३ रुपैयाँ ०० पैसा र बिक्री दर १६३ रुपैयाँ ७३ पैसा, अस्ट्रेलियन डलर एकको खरिद दर ८५.१८  रुपैयाँ र बिक्री दर ८५.५७  रुपैयाँ तथा क्यानेडियन डलर खरिदमा ९७ रुपैयाँ ७५ पैसा र बिक्रीदर ९८ रुपैयाँ १९ पैसामा काराेबार हुनेछ ।

 

जापानिज येन १० को खरिदमा ९ रुपैयाँ ९३ पैसा र बिक्रीदर ९ रुपैयाँ ९७ पैसामा काराेबार हुदाँ दक्षिण काेरिया वन १०० को खरिदमा ९ रूपैयाँ ८७ पैसा र बिक्री दर ९ रूपैयाँ ९१ पैसामा खरिदबिक्री गर्न सकिनेछ ।

 

कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ ४४ पैसा र बिक्री दर ३६ रुपैयाँ ६१ पैसामा काराेबार गर्न सकिने जनाएकाे राष्ट्र बैंकले साउदी रियाल एकको खरिद दर ३५.४३ रुपैयाँ र बिक्री दर ३५.५९ रुपैयाँ तथा मलेसियन रिंगिट एकको खरिद दर २८.१ रुपैयाँ रहेको छ भने बिक्री दर २८.२२ रुपैयाँमा काराेबार गरिनेछ ।

 

साथै, कुवेती दिनार १ को खरिद मूल्य ४२९.८५ पैसा र विक्रीदर ४३१.७९ पैसामा काराेबार हुनेछ ।

काठमाडौ, २३ असोज ।

सेयर बजार ओरालो लाग्ने क्रमले मंगलबार पनि निरन्तरता पाएको छ । सूचकसँगै कारोबार रकम पनि सुस्त बनिरहेको छ । यस दिन नेप्से सूचक १९.०६ विन्दुले घटेर १८८९.५९ अंकमा आएको छ । सबै समूहका सूचक घट्दा १ अर्ब २८ करोड रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ ।

 

बजार निरन्तरजसो घट्दै पुनः १८ सयकै लाइनमा झरेको छ । मंगलबार नेप्सेले १९ सयभन्दा माथिको मनोवैज्ञानिक विन्दुलाई पनि छाडेर तल आएको हो ।

 

नेप्से निरन्तर ओरालो लागेपछि सर्वसाधारण लगानीकर्ताको मनोविज्ञान थप कमजोर देखिएको छ । बजार घट्नेक्रम नरोकिएपछि सेयर खरिद गर्ने योजनामा रहेकाहरु पनि अब ‘पर्ख र हेर’को रहेका छन् ।

 

यद्यपि, विगतमा कसिएका नीतिहरु विस्तारै खुकुलो बनाउँदै जानेक्रम सुरु भएको छ । सेयर धितो कर्जामा १२ करोडको सीमा लगाइएपछि पनि नेप्से २२ सय माथि पुगिसकेको हो । तर अहिले त अझ सीमा बढाएर २० करोडसम्म पुर्याइएको छ । यो भनेको सुधारको क्रम नै हो ।

 

यस दिन २८२ कम्पनीको ४२ लाख ८७ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । २० करोड ३७ लाख रुपैयाँसहित कारोबार रकममा सानिमा जीआइसी इन्सुरेन्स अग्रस्थानमा आएको छ । यसैगरी, दोस्रोमा नबिल बैंक र तेस्रोमा एनआइसी एसिया बैंक परेका छन् ।

काठमाडौ, २३ असोज ।

अरुण काबेली पावरले असोज ३० गतेदेखि २० लाख १४ हजार ८१७ कित्ता सेयर लिलामीमा बेच्ने भएको छ ।

 

कम्पनीले सर्वसाधारण समूहको सेयर बिक्री गर्न लागेको हो । यस लिलामीमा लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलपत्रमा सहभागी हुनुपर्नेछ । यसमा न्यूनतम १०० कित्ता देखि अधिकतम सबै कित्ताका लागि आवेदन दिन सकिनेछ । आवेदन दिने अन्तिम म्याद कात्तिक १४ गतेसम्म रहेको छ ।

 

यसमा बिक्री प्रबन्धकको काम नबिल इन्भेष्टमेन्ट बैंकिङले गर्नेछ । यसअघि कम्पनीले भदौ ११ देखि ३१ गतेसम्म १ करोड ८५ लाख ५२ हजार १०५ कित्ता शतप्रतिशत हकप्रद सेयर बिक्री खुला गरेको थियो । सो अवधिमा कम्पनीले बिक्री नभएको बाँकी सेयर कम्पनीले लिलामीमा ल्याउन लागेको हो ।

काठमाडौ, २३ असोज

।  सुनको भाउ लगातार ३ दिन बढेको छ । यो ३ दिनमा सुनको भाउ १६ सय रुपैयाँले बढ्न पुगेको छ । जसमा, आइतबार र सोमबार सुनको भाउ क्रमशः ३०० र १ हजार रुपैयाँले बढेको थियो । त्यसैगरी, सुनको भाउ आज पनि ३०० रुपैयाँले बढेको छ ।

 

नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार छापावाल सुन प्रतितोला ३०० रुपैयाँले बढेर १ लाख ८ हजार ९०० रुपैयाँ कायम भएको छ । यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख ८ हजार ४०० रुपैयाँ निर्धारण भएको छ ।

 

यसअघि, सोमबार छापावाल सुन १ लाख ८ हजार ६०० रुपैयाँ कायम रहेको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख ८ हजार १०० रुपैयाँ निर्धारण भएको थियो ।

 

यता, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले घटेर १४ सय ४० रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको भाउ प्रतितोला १४ सय ४५ रुपैयाँ कायम रहेको थियो ।

काठमाडौ, २३ असोज । 

प्रभु बैंकले संस्थापक सेयरधनी विनोद थकालीको नाममा रहेको १ लाख ५२ हजार ८०५ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको छ । यसमा बैंकका विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । बैंकले सेयर भाउ भने तोकेको छैन ।

सेयर खरिद गर्न इच्छुक संस्थापकले आज (असोज २३ गते) बाट ३५ दिनभित्र बैंकको केन्द्रीय कार्यालय बवरमहल, काठमाडौंमा निवेदन पेश गर्नु पर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीको आवेदन परेन भने अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

लण्डन, २३ असाेज।

गैरआवासीय नेपाली संघ (एनआरएनए) ले आफ्नो स्थापना दिवस मनाउने तयारी गरेको छ । गैरआवासीय नेपाली संघका महासचिव गौरीराज जोशीका अनुसार संघले परम्परागत रुपमा भोलि  बुधवार (अक्टोवर ११) तारिखमा पुजापाठ गरेर सो दिवस बनाउने तयारी गरेको हो ।

संघका अनुसार बुधबार बिहान ७ देखि ८.३० बजे सम्म स्वयम्भूमा गैरआवासीय नेपालीहरु जम्मा भएर पुजापाठ गर्ने छन् । यस्तै विहान ९.१५ देखि १०.३० बजे सम्म पशुपतिनाथको दर्शन गर्ने कार्यक्रमतय गरिएको छ।

 

यस्तै दिउंसो संघको केन्द्रीय कार्यालयमा रक्तदान, एनआरएनए फाउण्डेशनको साधारण्सभा, भवन कृतिरत्न अवार्ड वितरण लगायत ९ औं राष्ट्रिय खेलकुदका विजेता खेलाडिहरुको सम्मानमा एक कार्यक्रमको आयोजना  गरिने संघका समाचार संयोजक चिरन शर्माले जानकारी दिए ।

 

गैरआवासीय नेपाली संघको ११ औं महाधिवेसन १७ अक्टोबरदेखि औपचारिक रुपमा सुरु हुने छ । सो महाधिवेसनको उद्धघाटन राष्ट्रिपति रामचन्द्र पौडेलले गर्ने भएका छन् ।

 

संघको नयाँ नेतृत्वको लागि निर्वाचन १९ अक्टोवरमा हुने कार्यतालिकतय गरिएको छ ।

काठमाडौ, २३ असोज । 

प्रि-ओपन सेसनमा नेप्से सूचक ०.३७ विन्दुले घटेको छ । यससँगै सूचक १९०८.२८ अंकमा आएको छ । ९० हजार रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ८ कम्पनीको १ सय ८५ कित्ता सेयर कारोबार भएको हो ।

यो सेसनमा कुल १० पटक सेयर कारोबार भएको हो । ३ कम्पनीको भाउ बढ्दा ६ वटाको मूल्य घटेको छ । बाँकी कम्पनीको भाउमा कुनै पनि परिवर्तन भएको छैन ।

काठमाडौं, २३ असोज ।

बैद्य अर्गनाइजेशनको सहायक कम्पनी ‘बैद्य इनर्जी’ले भारतीय इलेक्ट्रीक स्कुटर कम्पनी एथर इनर्जीका उत्पादन नेपालमा बिक्री सुरु गर्न लागेको छ। भारतकै सर्वाधिक सफल र चर्चित इलेक्ट्रीक स्कुटर निर्माता एथरका उत्पादन नेपालमा छिट्टै उपलब्ध गर्न लागिएको हो।

 

बैद्य्ज अर्गनाइजेशनले सधैं गुणस्तरिय उत्पादन ल्याउने र उपभोक्तालाई अलग अनुभव प्रदान गर्ने लक्ष्य लिएको छ। त्यहि लक्ष्य अनुसार कम्पनीले नेपालमा विश्वकै सफल कार ब्राण्ड टोयोटाका उत्पादन विगत ५६ वर्षदेखि बिक्री गर्दै आएको छ।

 

एथरले आफ्ना उत्पादन विश्व बजारमा लाने रणनीति बनाए अनुसार आफ्नो सर्वाधिक बिक्री हुने फ्ल्यागशिप मोडल ‘४५० एक्स‘ नेपालमा सार्वजनिक गर्नेछ। कम्पनीले नेपालमा एथर स्पेश निर्माण गर्नेछ। जहाँ नयाँ अनुभव प्रदान गर्न सक्ने किसिमका रिटेल आउटलेट र फास्ट चार्जिङ नेटवर्क पनि निर्माण हुनेछन्।

 

एथरको सफल मोडल ‘४५० एक्स’ दुई फरक ब्याट्री अप्सनमा नेपालमा उपलब्ध हुनेछ। जसमा २.९ किलोवाट आवर र ३.७ किलोवाट आवरको दुई ब्याट्री रहने छन्। ग्राहकले आफ्नो आवश्यकता अनुसारको भर्सन छनोट गर्न सक्नेछन्।

 

एथर ‘४५० एक्स’ अविश्वसनिय फिचरको कारण चर्चामा रहेको इलेक्ट्रीक स्कुटर हो। यसमा पार्किङ एसिस्ट, अटो होल्ड, फलसेफ, गुगल म्याप जोडिएको ७ इन्चको टीएफटी डिस्प्ले जस्ता फिचर उपलब्ध छन्। यसको टप स्पीड ९० किलोमिटर प्रतिघन्टा रहेको छ।

 

भारतीय बजारमा निकै सफल हुँदै गएको ‘४५० एक्स’लाई सिंगल चार्जमा १४६ किलोमिटरसम्म गुडाउन सकिने छ।

 

न्यू इनर्जी भेहिकलको क्षेत्रमा विश्व अटोमोवाइल क्षेत्र अगाडि बढिरहेको समयमा भारतकै प्रतिष्ठित इलेक्ट्रीक ब्राण्ड एथरको आधिकारीक वितरण पाएका कम्पनीले जनाएको छ। यसलाई हामीले बस्तु वितरणको अधिकार मात्र नभई फ्यूचर मोविलीटीको क्षेत्र अग्रणी भूमिका निर्वाह गर्ने मौकाको रुपमा लिइएको बताइएको छ।

 

‘हामी सधैँ नविन खोज, उत्कृष्ट डिजाइन र त्योभन्दा पनि बढी सुरक्षा र टेक्नलोजीमा विश्वास गर्छौ। त्यसले हाम्रा उपभोक्तालाई अविश्वसनीय अनुभव प्रदान गराउने छ। त्यसमा एथरका उत्पादनले महत्वपूर्ण भूमिका निर्वाह गर्ने हाम्रो विश्वास छ,’ कम्पनीले भनेको छ।

 

बैद्य इनर्जी र एथर इनर्जी बीच भएको सहकार्यले नेपालमा पनि दिगो यातायातमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा लिएको कम्पनीका सीईओ सूर्यान्स बैद्यले बताए।

 

आफ्नो भावी योजना र रणनीतिका बारेमा बैद्य भने, ‘हामी गतिसिलतासँगै मानव जीवन आनन्ददायी र रोमान्चक हुने कुरामा विश्वास गर्छौ। एथर इनर्जीसँगको सहकार्यबाट हामी प्रिमियम मोविलीटी सोलुसन नेपालमा उपलब्ध गराउन सक्षम हुनेछौं। कटिङ एज टेक्नलोजीमा आधारित इलेक्ट्रीक भेहिकलले नयाँ लेवलको अनुभव प्रदान गराउने छौं।’

 

‘हामी प्रोडक्ट बिक्रीलाई मात्रै प्राथमिकतामा राख्दैनौं। हाम्रो विगतले पनि यसलाई पुष्टि गर्छ। त्यसैले नयाँ उत्पादनसँगै सर्भिस र अन्य पूर्वाधार निर्माणमा काम छौं। साथै, ग्राहकलाई दुई पाङ्ग्रे साधनमा अलग अनुभव प्रदान गर्नेछौं सीईओ बैद्यले भने।

 

नेपालमा यथर इनर्जीको उत्पाधन बिक्री बितरण गर्न लागेको बारे जानकारी दिँदै एथर इनर्जी भारतका प्रबन्धक तरुन मेहता र स्वप्नील जैनले अन्तराष्ट्रीय बजारमा प्रवेश गरिएको त्यो प्रवेश बिन्दु नेपाल भएको बताए। ‘त्यसमा हामी निकै खुशी छौं। क्लीन इनर्जी मा नेपालले जुन किसिमको सफलता हासील गरेको छ। त्य क्लीन इनर्जी बाट संचालन हुनु यथरका बिद्युतिय साधन आगामी नोभेम्बर (कार्तिक) बाट उपलव्ध गराउने छौं। अटो मोबाइल भविष्यमा नेपाल कै पुरानो र प्रतिष्ठीत कम्पनी संग मिलेर हाम्रा उत्पादन नेपालमा उपलव्ध हुंदा ग्राहकहरुले उत्कीष्ट सेवा पाउनेमा ढुक्क छौं,’ उनीहरू भन्छन्।

 

एथर इनर्जी एक प्रख्यात हाईपफर्मेन्स इलेक्ट्रीक स्कुटर उत्पादन गर्ने कम्पनी हो। यसको स्थापना नै नवीनतम र श्रेष्ठ डिजाइन मार्फत प्रयोगकर्तालाई आकर्षक फाइदा प्रदान गर्ने रहेको छ।

 

नेपाली बजारमा उच्च गुणस्तरका विद्युतीय साधनको माग दिन दिनै बढ्दै गएको समयमा हामीले ल्याएको एथरका प्रोडक्टले ग्राहकलाई ठूलो फाइदा पुग्ने विस्वास लिएका छौं। विद्युतीय साधनले इन्धनमा हुने धेरै परिमाणको खर्च कटौती गर्छ।  एकदमै कम मेन्टीनेन्स खर्च, इफिसीयन्ट र तिब्र गतिमा चलाउन सकिने यसको मुख्य विशेषता हुन्।

काठमाडौ, २३ असोज ।

नेपाल वेयर हाउजिङ कम्पनी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि कात्तिक १० गतेदेखि आईपीओ बिक्री खुला गर्ने भएको छ । कम्पनीले सर्वसाधारणलाई छुट्याइएको कुल १३ लाख ७५ हजार कित्ता सेयरमध्ये १० प्रतिशतले हुने १ लाख ३७ हजार ५०० कित्ता सेयर वैदेशिक रोजगारीमा रहेकालाई बिक्री गर्न लागेको हो ।

यता, २७ हजार ५०० कित्ता सेयर कर्मचारीहरुका लागि र ६८ हजार ७५० कित्ता सेयर म्युचुअल फन्डहरुलाई छुट्याइएको छ । बाँकी रहेको ११ लाख ४१ हजार २५० कित्ता सेयर भने सर्वसाधारणलाई बिक्री हुनेछ । पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुलाई आइपीओ बिक्री गरिसकेपछि मात्र सर्वसाधारणलाई खुला गरिने कम्पनीले जानकारी गराएको छ ।

वैदेशिक रोजगारीमा रहेकाले कात्तिक २४ गतेसम्म आवेदन दिन सक्नेछन् । प्रतिकित्ता १०० रुपैयाँको दरले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ । यसमा हिमालयन क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।  लगानीकर्ताले मेरोसेयरमार्फत अनलाइन आवेदन दिन सक्नेछन् । यस कम्पनीलाई इन्फोमेरिक्स क्रेडिट रेटिङ लिमिटेडले वित्तीय दायित्व पूरा गर्ने क्षमतामा मध्यम जोखिम रहेको ‘आइआरएन डबल बी माइनस (आइएस)’ रेटिङ दिएको छ ।

नेपाल वेयर हाउजिङ कम्पनीले व्यापारिक र औद्योगिक उद्देश्यका लागि अन्नको व्यापार गर्ने किसान, व्यापारी, मिलर र व्यापारीहरुको अन्न भण्डारण आवश्यकताहरु पुरा गर्दै आएको छ । कम्पनीले प्रदेश नम्बर १, मधेश प्रदेश र लुम्बिनी प्रदेशमा ५५ हजार मेट्रिक टन क्षमताका भण्डारण गृहहरु सञ्चालन गर्दै आएको जानकारी गराएको छ ।

कम्पनीको आन्तरिक प्रतिफल दर १५.१९% रहेको छ । साधारण लगानी फिर्ता हुने अवधि ९.२९ वर्ष र डिस्काउन्टमा लगानी फिर्ता हुने अवधि १३.६५ वर्ष रहेको छ । गत असार मसान्तसम्म यो कम्पनी प्रतिसेयर ८.८७ रुपैयाँ नोक्सानमा रहेको थियो भने चालु आर्थिक वर्षमा प्रतिसेयर ५.५२ रुपैयाँ आम्दानी गर्ने प्रक्षेपण रहेको छ । आगामी आर्थिक वर्षमा प्रतिसेयर आम्दानी १६.११ रुपैयाँ हुने प्रक्षेपण छ ।

काठमाडौ, २३ असोज । 

चिरख्वा हाइड्रोपावर लिमिटेडको आज मंगलबार असोज २३ गतेदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला भएको छ ।

 

यसअघि यस कम्पनीले १०% अर्थात् ८० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्कासन गरिसकेको छ । २% अर्थात् १६ हजार कित्ता सामूहिक लगानी कोष र ५% अर्थात् ४० हजार कित्ता कर्मचारीचारीलाई बाँडफाँट गरिसकेको छ ।

साथै, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई ४ लाख कित्ता सेयर निष्कासन गरेको थियो । स्थानीयले २ लाख ४ हजार ७ सय कित्ता सेयरको लागि मात्रै आवेदन दिएकाले बाँकी रहेको १ लाख ९५ हजार ३ सय कित्ता पनि थप गरेर कम्पनीले ८ लाख ५९ हजार ३ सय कित्ता सेयर सर्वसाधारणका लागि सेयर निष्कासनमा ल्याएको हो । यसमा असोज २६ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा कात्तिक ३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सक्नेछन् । सी–आस्वा प्राप्त बैंक तथा वित्तीय संस्था तथा मेरो सेयरमार्फत सेयर भर्न सकिनेछ । कम्पनीको सेयर निष्कासन तथा बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ ।

रेटिङ एजेन्सी इक्रा नेपालले यो आइपीओलाई ‘इक्रा एनपी डबल बी माइनस’ रेटिङ प्रदान गरेको छ । जसले कम्पनीको वित्तीय दायित्व बहन गर्ने क्षमतामा औसत स्तरको जोखिम रहेको संकेत गर्छ । इक्रा नेपालले २०७९ साल फागुन १ गते उक्त रेटिङ दिएको थियो । यो रेटिङ २०८० साल फागुन १ गतेसम्म बाहल रहनेछ ।

 

यस जलविद्युत उत्पादन केन्द्र भोजपुर जिल्लाको षडानन्द नगरपालिका वडा नं १,२ र ३ मा रहेको छ । कम्पनीले भोजपुर जिल्लास्थित चिरख्वा खेलाको पानी प्रयोग गरी ४.७ मेगावाट जडित क्षमताको जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

 

चिरख्वा हाइड्रोपावरको अधिकृत पुँजी ४० करोड रुपैयाँ रहेको छ । यस्तै, जारी पुँजी पनि ४० करोड रुपैयाँ नै रहेको छ । आइपीओ निष्कासनपछि चुक्ता पुँजी जारी पुँजी बराबर नै अर्थात ४० करोड रुपैयाँ पुग्नेछ ।

 

यसमध्ये संस्थापक सेयरधनीको हिस्सा ७०%, आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाको हिस्सा १०% र सर्वसाधारण सेयरधनी, आयोजनामा कार्यरत कर्मचारी तथा सामूहिक लगानी कोषको हिस्सा गरेर २०% रहनेछ । कम्पनीले आर्थिक वर्ष २०८१-८२ सम्म पुँजी बढाउने कुनै योजना बनाएको छैन ।

 

यता, चालु आर्थिक वर्षको अन्त्यसम्म प्रतिसेयर आम्दानी ११ रुपैयाँ ४२ पैसा र प्रतिसेयर नेटवर्थ १०६ रुपैयाँ ८० पैसा कायम हुने प्रक्षेपण गरेको छ । आर्थिक वर्ष २०८१–८२ सम्ममा प्रतिसेयर आम्दानी १३ रुपैयाँ ११ पैसा हुने प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ११ पैसा हुने प्रक्षेपण छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।