काठमाडौं, २२ माघ ।
भारतको सात दिने भ्रमणमा रहेका नेपाली सांसदले गाेवा सरकारसँग ‘समुन्द्र देखी हिमालसम्म’को पर्यटन साझेदारीको प्रस्ताव गरेको छ ।
प्रतिनिधिसभा अन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समितिका सभापति राजकिशोर यादवको नेतृत्वमा हाल भारत भ्रमणमा रहेको सांसदको टोलीले सो प्रस्ताव गरेको हो ।

भारत भ्रमणको क्रममा गोवाका पर्यटनमन्त्री रोहन खाउन्टेसँगको भेटघाटका क्रममा सो प्रस्ताव राखिएको समितिका सभापति राजकिशोर यादवले जानकारी दिए । ‘पर्यटन विकासका लागि समुन्द्र देखी हिमालसम्मको पर्यटन साझेदारी हुनुपर्छ अनि मात्र दुवै देशको पर्यटन क्षेत्रमा विकास हुनेछ भनेर हामीले प्रस्ताव राखेको छौं,’ सभापति यादवले भने । उनका अनुसार नेपाली सांसदको टोलीले राखेको सो प्रस्तावमा गोवा सरकार सकारात्मक रहेको र यसका लागि चाँडै नै प्रक्रिया अगाडि बढाउने सहमति भएको छ ।
सो भेटघाटमा विश्वको सर्वोच्च शिखर सगरमाथा लगायतको हिमाल हेर्न आउने पर्यटकलाई नेपालले समुन्द्र हेर्न गोवा पठाउने र समुन्द्र हेर्न आउने पर्यटकलाई भारतले हिमाल हेर्नका लागि नेपाल पठाउने समझदारी बनेको हो । यसका लागि परराष्ट्र मन्त्रालयमार्फत चाँडै प्रक्रिया सुरु गर्न पनि दुवै पक्ष सहमत भएको सभापति यादवले जानकारी दिए ।
हिमालदेखि समुन्द्रसम्मको पर्यटकीय सम्बन्ध स्थापित गर्नका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित गर्नुपर्ने नेपाली सांसदको प्रस्तावमा पनि मन्त्री रोशन खाउन्टे सहमत भएको छन । ‘यो धेरै नै राम्रो कन्सेप्ट हो, यसका लागि म तयार छु, तपाईंहरुको तर्फबाट गर्नुपर्ने कार्य अगाडि बढाउनुस्, हामीले हाम्रो तर्फबाट हुने कार्यलाई पनि अगाडि बढाउँछौँ,’ मन्त्री खाउन्टेले नेपालको प्रस्ताव पछि प्रतिबद्दता जनाउँदै भने ।
भारतको दक्षिणी राज्य गोवामा १५ लाख मात्र जनसङ्ख्या छ तर त्यहाँ वार्षिक ५० लाख पर्यटक पुग्ने गरी मन्त्री खाउन्टेले जानकारी गराएका छन् । जस अनुसार त्यहाँ आउने र गोवाका बासिन्दालाई हिमाल देखाउनका लागि नेपालतिर पठाउने बारेमा पनि मन्त्री र नेपाली सांसदको प्रतिनिधिमण्डलसँग अनौपचारिक सहमति भएको नेपाली सांसदहरुले जनाएका छन् ।
‘हिमाल हेर्न आउने पर्यटकलाई समुन्द्र हेर्न मन छ भने उनीहरूलाई गोवा पठाइ दिनुपर्छ, त्यसका लागि पोखरा र गोवाबिच भगिनी सम्बन्ध स्थापित हुनुपर्नेमा दुवै पक्ष सहमत भएका छौं र अब यसलाई औपचारिकता दिनका लागि समितिबाट प्रक्रिया अगाडि बढाइनेछौं,’ सभापति यादवले भने ।
सो अघि भएको भेटमा भारतीय विदेश मन्त्री एस. जयशंकरले पनि दुई देश बिच आर्थिक, सामाजिक, सांस्कृतिक, धार्मिक र पर्यटन सम्बन्धलाई कसरी माथि उठाउन सकिन्छ ? भन्ने विषयमा नेपाली सांसदहरुको टोलीले कुराकानी गरेको थियो ।
न्युजकारखाना
काठमाडौं, माघ २१ ।
नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर सार्वजनिक गरेको छ ।
जसअनुसार भारतीय रूपैयाँ १०० को खरिद दर १६० रूपैयाँ हुदाँ बिक्री दर १६०.१५ पैसा कायम गरिएको छ । आइतबार अमेरिकी डलरको भाउ घटेको छ भने युरोको भाउ बढेको छ ।
आज अमेरिकी डलरको भाउ ७ पैसाले घटेर एकको खरिददर १३२ रूपैयाँ ३८ पैसा र बिक्रीदर १३२ रूपैयाँ ९८ पैसामा कारोबार भएको छ । शुक्रबार यसको खरिददर १३२ रूपैयाँ ४५ पैसा र बिक्रीदर १३३ रूपैयाँ ०५ पैसामा कारोबार भएको थियो ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको विनिमय दर अनुसार आइतबार युरोपियन युरोको एकको खरिददर १४४ रूपैयाँ ०७ पैसा र बिक्रीदर १४४ रूपैयाँ ७२ पैसा तोकिएको छ। यो मूल्य शुक्रबारको तुलनामा ९७ पैसाले बढेको हो। शुक्रबार युरोको खरिददर १४३ रूपैयाँ १० पैसा र बिक्रीदर १४३ रूपैयाँ ७५ पैसामा कारोबार भएको थियो ।
त्यस्तै, बेलायती पाउण्ड सटर्लिङ आइतबार भने १ रुपैयाँ ०६ पैसाले बढेर एकको खरिददर १६८ रूपैयाँ ९१ पैसा र बिक्रीदर १६९ रूपैयाँ ६८ पैसा कायम गरिएको छ । शुक्रबार यसको खरिददर १६७ रूपैयाँ ३१ पैसा र बिक्रीदर १६८ रूपैयाँ ०८ पैसा तोकिएको थियो ।
यता, अष्ट्रेलियन डलर एकको खरिददर भने ८७ रूपैयाँ ४४ पैसा र बिक्रीदर ८७ रूपैयाँ ८४ पैसा र क्यानेडियन डलरको एक खरिददर भने ९८ रूपैयाँ ९७ पैसा र बिक्रीमा ९९ रूपैयाँ ४२ पैसा कायम गरिएको छ ।
उता, जापानी येन १० को खरिददर ९ रूपैयाँ ०३ पैसा कायम हुदाँ बिक्री दर भने ९ रूपैयाँ ०८ रहेको छ । चाइनिज युआन एकको खरिददर १८ रूपैयाँ ४४ पैसा तथा बिक्री दर १८ रूपैयाँ ५३ पैसा तथा दक्षिण कोरिया वन १०० को खरिददर १० रूपैयाँ तथा बिक्री दर १० रूपैयाँ ०४ पैसा कायम गरेको जनाइएको छ ।
यसैगरी, आइतबार कतारी रियाल एकको खरिदमूल्य ३६ रूपैयाँ ३१ पैसा र बिक्रीमूल्य ३६ रूपैयाँ ४८ पैसा कायम गरेको राष्ट्र बैंकले साउदी अरेबियन रियाल एकको खरिददर ३५ रूपैयाँ ३० पैसा र बिक्रीमूल्य ३५ रूपैयाँ ४६ पैसा, युएई दिराम एकको खरिददर ३६ रूपैयाँ ०४ पैसा र बिक्रीदर ३६ रूपैयाँ २० पैसा तथा मलेसियन रिंगिट एकको खरिददर आइतबार २८ रूपैयाँ ०७ पैसा र बिक्रीदर २८ रूपैयाँ १९ पैसा कायम गरेको छ ।
साथै, कुवेती दिनार एकको खरिददर ४३० रूपैयाँ ८३ पैसा र बिक्रीदर ४३२ रूपैयाँ ७८ पैसा र बहराइन दिनार एकको खरिददर ३५१ रूपैयाँ १७ पैसा र बिक्रीदर ३५२ रूपैयाँ ७६ पैसा तोकिएको राष्ट्र बैंकले जनाएको छ ।न्युजकारखाना
काठमाडौं, १९ माघ ।
यती एयरलाइन्सले एकैसाथ दुइवटा जहाज थपेको छ। निजी वायुसेवा कम्पनी यतीले बिहीबार एकैपटक दुईवटा ‘एटिआर७२–५००’ सिरिजको जहाज थप गरेको हो।
जहाजले नेपाली दर्ता नम्बर ‘९एन–एओएफ’ र ‘९एन–एओएच’ पाएका छन्। विमान थप गरेसँगै यतीसँग एटीआर ७२–५०० सिरिजको जहाज ७ पुगेको छ। यी जहाज बिहीबार साँझ ५:२० र ५:३० बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अवतरण गरेको हो।
यतीले ७२ सिट क्षमताको दुईवटै जहाज बंगलादेशबाट खरिद गरी ल्याएको हो।
हाल यतीले सुगम गन्तव्य काठमाडौं, चन्द्रगढी, विराटनगर, जनकपुर, सिमरा, पोखरा, भैरहवा, नेपालगञ्ज तथा पर्वतीय उडान गर्दै आएको छ।न्युजकारखाना
रौतहट १८ माघ।
रौतहटमा सुन चाँदी व्यवसायीहरुले माउ संस्था नेपाल सुन चाँदी व्यवसायी संघको विकल्पमा नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहट गठन गरेका छन् । माउ संघले साना व्यवसायिहरुको कहिल्यै वास्ता नगरेको तथा केन्द्रबाट पाइने सुविधाबाट बञ्चित गरेको भन्दै रौतहटमा सुन चाँदीका साना व्यवसायीहरुले विकल्प खोजेका हुन् ।
यहाँका व्यवसायीहरु जिल्ला प्रसाशन कार्यालय रौतहटमा नेपाल सुन चाँदी रत्न आभूषण व्यवसायी संघ विधिवत रूपमा दर्ता गरी जिल्लाको मध्यभाग गरुडामा पहिलो साधारणसभा तथा अधिवेशन सम्पन गरेका छन्। बुधवार सम्पन्न पहिलो साधारणसभा तथा अधिवेशनबाट उमेश प्रसाद साहको अध्यक्षतामा १३ सदस्यीय नेपाल सुनचाँदी रत्न तथा आभूषण व्यवसायी संघ रौतहट चयन गरिएको छ। संघको प्रथम बरिष्ठ उपाध्यक्षमा सन्नी कुमार सर्राफ, द्वितीय उपाध्यक्षमा शिवम कुमार सोनी, महासचिवमा रामवरण कुमार सोनी, सचिव तथा प्रवक्तामा चन्दन सागर, कोषाध्यक्षमा मिना देवी, सल्लाहाकारमा कृष्ण कुमार साह, गान्धि साह सर्वसहमतिमा चयन भएका हुन् ।
यस्तै सदस्यहरुमा सचिन्द्र साह सोनार, शान्ति देवी, उमेश साह सोनार, शिवशंकर साह, अनिता कुमारी, दिपक कुमार साह निर्वाचित भएका छन् । दुईजना सदस्य भने समितिको अर्को बैठकले मनोनित गर्ने जनाईएको छ ।
संघका अध्यक्ष उमेश प्रसाद साहका अनुसार रौतहटमा सुनचाँदी व्यवसायीको माउ संस्था गठन भएदेखि नै गर्दै आएको बवास्ताका कारण एक दशकपछि अर्को संघ गठन गर्न बाध्य भएको बताए । जिल्लामा २०७० सालमा पहिलोपटक संघ दर्ता हुँदा आफू सचिव रहेको उनले बताए ।
सुनचाँदी व्यवसायी संघ दर्ता भएको जिल्लामा केन्द्र अर्थात महासंघले (सहुलियत) राष्ट्र बैँकले तोकेको दरभाउमा माग तथा आयातको आधारमा मासिक १ देखि ५ किलोग्रामसम्म सुन दिने गर्दछ। बजार भाउभन्दा ३ देखि ५ हजार प्रतितोला सस्तो हुने उक्त सुन संघमा दर्ता भएका सबै व्यापारीलाई कारोबारको मूल्याङ्कन गर्दै दामासाही अनुसार वितरण गर्नुपर्ने महासंघले व्यवस्था गरेको छ। उक्त व्यवस्थाअनुसार जिल्लाको संघले कहिलै सुन वितरण नगरेकाे आराेप छ ।
पछिल्लो १० वर्ष देखि बहालवाला अध्यक्षकै हालिमुहालीका दुईचार जना व्यापारीले उक्त सुविधा लिँदैआएको वैकल्पिक नवगठित संघका अध्यक्ष उमेश प्रसाद साहले बताए । त्यतिमात्र नभई नेपाल सुनचाँदी व्यवसायी संघ रौतहटमा तीन तीनजना वरिष्ठ उपाध्यक्षलाई पाखा लगाउँदै पावर पहुँचको भरमा साधारण सदस्य समेत नरहेका व्यक्तिलाई अध्यक्ष बनाएको कारण अर्को संघ गठन गर्न बाध्य भएको उनले बताए ।
सदरमुकाम गौर, गरुडा, चन्द्रपुर , कटहरिया लगायत जिल्लाभरिका झण्डै १५० मध्ये १२५ ब्यवसायी आफूहरुको साथ रहेको नवगठित नेपाल सुनचाँदी रत्न आभूषण व्यवसायी संघ रौतहटका महासचिव रामवरण साह सोनारले बताएका छन् । नेपाल सुन चाँदी व्यवसायी संघका पूर्वअध्यक्ष प्रकाश गहतराजले आरोपहरुको खण्डन गर्दै प्रजातान्त्रीक अभ्यास अनुसार अर्को संघ दर्ता गर्ने ब्यापारीको अधिकार भएको प्रतिक्रिया दिएका छन् ।न्युजकारखाना
काठमाडौ, १८ माघ ।
नेपाल राष्ट्र बैंकले बजारमा अधिक तरलता भएको भन्दै धमाधम निक्षेप संकलन गर्न लगातार आज तेस्रो दिन पनि २० अर्ब तान्ने भएको छ ।
अघिल्लो दुईदिन अर्थात माघ १६ गते २० अर्ब र माघ १७ गते ३० अर्ब गरि बजारबाट ५० अर्ब तानेको केन्द्रीय बैंकले आज फेरी २० अर्ब रुपैयाँ तान्न लागेको हो ।
बैंकले आज २० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने भएको हो ।
यसैगरी, बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् २० अर्ब रुपैयाँ तान्ने लागेको राष्ट्र बैंकले जनाएको हो । इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
केन्द्रिय बैंकले १४ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति फागुन ३ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ । न्युजकारखाना
काठमाडौँ, १७ माघ ।
अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको मूल्य बढेसँगै नेपालमा पनि पेट्राेल डिजेलमा मूल्य बृद्धि भएकाे छ ।
इन्डियन आयल कर्पोरेशन (आइओसी)ले जनावरी ३१ तारिखमा नयाँ मूल्य सूची पठाएको नेपाल आयल निगमले जनाएकाे छ ।

नयाँ मूल्य सूचीअनुसार बढीमा पेट्रोलकाे मूल्य प्रतिलिटर एक सय ७०, डिजेल तथा मट्टितेलकाे मूल्य प्रतिलिटर १५८, र एलपी ग्यासकाे मूल्य प्रतिसिलिण्डर १९ सय दश रुपैयाँ पुगेकाे छ ।न्युजकारखाना
काठमाडौं, १७ माघ ।
वैदेशिक रोजगारमा रहेकाहरुका लागि सर्वोत्तम सिमेन्टको आईपीओ बाँडफाँट भएको छ । आईपीओको नतिजा केही बेरपछि सीडीएससीको अनलाइन प्रणालीबाट हेर्न सकिनेछ ।
बिक्री प्रवन्धक ग्लोबल आईएमई क्यापिटलले बुधबार बिहान आईपीओ बाँडफाँट गर्दै वैदेशिक रोजगारमा रहेर आईपीओमा आवेदन दिएकामध्ये ५ हजार ३४० आवेदकलाई ५० कित्ताका दरले बाँडफाँट गरिएको छ ।
उक्त आईपीओ बुक बिल्डिङ विधिमा खुलेको भएकाले यस विधिमा कम्तीमा ५० कित्ताका लागि आवेदन दिनुपर्ने र बाँडफाँटमा पनि कम्तीमा ५० कित्ता सेयर दिनुपर्ने व्यवस्था भएकोले ५० कित्ताका दरले बाँडफाँट गर्दा थोरै संख्यामा आवेदक मात्रै समेटिएको कम्पनीले जनाएको छ ।
वैदेशिक रोजगारमा गएका कुल ३३ हजार ८२४ जनाले आवेदन दिएकोमा १४ जनाको आवेदन भने रद्द भएको थियो । बुक बिल्डिङ विधिबाट सर्वसाधारणलाई प्रतिकित्ता मूल्य ३६० रुपैयाँ ९० पैसा निर्धारण भई यस कम्पनीको आईपीओ खुलेको हो ।
पुस २५ देखि माघ १० गतेसम्म वैदेशिक रोजगारमा जाने र प्रभावित स्थानीयका लागि आईपीओ खुलेकोमा प्रभावित स्थानीयको हकमा सम्पूर्ण सेयर बिक्री नभएपछि माघ २५ सम्म आवेदन दिने अवधि लम्ब्याइएको छ । प्रभावितलाई पनि सेयर बाँडफाँट भएपछि मात्रै आम सर्वसाधारणका लागि आवेदन खुल्नेछ ।न्युजकारखाना
काठमाडौं, १७ माघ ।
नेपाली बजारमा सुनको मूल्य बढेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार लगातार ३ दिन देखी बढेको सुनको मूल्य बुधबार प्रतितोल १०० रुपैयाँले बढेर छापावाल सुन १ लाख १८ हजार ७०० रुपैयाँ कायम भएको छ ।
यसैगरी, तेजावी सुनको मूल्य तोलाको १ लाख १८ हजार १५० रुपैयाँ निर्धारण भएको छ । अघिल्लो दुइदिन पनि सुनको भाउ क्रमशः प्रतितोला ३००–३०० रुपैयाँले बढेको थियो ।
यसअघि मंगलबार सुनको मूल्य १ लाख १८ हजार ६०० रुपैयाँ कायम भएको थियो । यसैगरी, तेजावी सुनको भाउ तोलाको १ लाख १८ हजार ५० रुपैयाँ निर्धारण भएको थियो ।
यता, बुधबार चाँदीको भाउ भने स्थिर रहेको छ । आज चाँदीको भाउ तोलाको १४ सय २० रुपैयाँ कायम रहेको छ । मंगलबार पनि चाँदी सोही मूल्यमा किनबेच भएको थियो । न्युजकारखाना
काठमाडौं, १७ माघ ।
नेपाल राष्ट्र बैंकले बुधबार पनि बजारबाट ३० अर्ब रुपैयाँ तान्दैछ ।
बजारमा भएको अधिक तरलताको व्यवस्थापन गर्न बुधबार ३० अर्ब रुपैयाँको निक्षेप संकलन उपकरण जारी गर्ने केन्द्रिय बैंकले जनाएको हो ।
बैंक तथा वित्तीय संस्थाहरुको अधिक तरलता खिच्न निक्षेप संकलनमार्फत् ३० अर्ब रुपैयाँ तान्ने लागेको हो ।
राष्ट्र बैंकका अनुसार इच्छुक बैंक तथा वित्तीय संस्थाले आज दिउँसो ३ बजेसम्म बोलकबोलमार्फत आवेदन दिन सक्नेछन् ।
बैंक तथा वित्तीय सस्थाहरुले न्यूनतम १० करोड र अधिकतम ५ करोडले निःशेष भाग जानेगरी निष्कासित रकम बराबरको माग गर्न सक्नेछन् ।
यसअघि मंगलबार पनि केन्द्रीय बैंकले बजारबाट २० अर्ब रुपैयाँ तानेको थियो । बजारमा रहेको अधिक तरलता व्यवस्थापनका लागि राष्ट्र बैंकले निक्षेप संकलन उपकरण प्रयोग गर्दै आएको छ ।
केन्द्रिय बैंकले ७ दिनका लागि उक्त उपकरण प्रयोग गर्न लागेको हो । साँवा र ब्याज भुक्तानी मिति माघ २४ गते निर्धारण भएको छ । यसको ब्याजदर भने बोलकबोल बाटै निर्धारण हुनेछ । न्युजकारखाना
काठमाडौं, १७ माघ ।
नक्कली भ्याट बिल प्रयोग गरी राजस्व ठगी गरेको अभियोगमा भाटभटेनी सुपरमार्केट एन्ड डिपार्टमेन्टल स्टोर दोषी ठहर भएको छ ।
सर्वोच्च अदालतको पूर्ण इजलासले यसअघि गरेको फैसलालाई मंगलबार सदर गर्दै भाटभटेनीले कर छलेको ठहर गरेको हो । न्यायाधीशहरु कुमार चुडाल, टेकप्रसाद ढुङ्गाना र बालकृष्ण ढकालको पूर्ण इजलासले भाटभटेनीले सरकारलाई बुझाउनुपर्ने राजस्व ठगी गरेको विषयमा यसअघि सर्वोच्च अदालतबाट गरेको आदेश सदर गर्ने फैसला गरेको हो ।
यससँगै भाटभटेनीले कर, जरिबाना थप दस्तुर तथा ब्याजसमेत गरी डेढ अर्ब रुपैयाँभन्दा धेरै रकम बुझाउनुपर्ने भएको छ । तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा र न्यायाधीश प्रकाशकुमार ढुङ्गानाको संयुक्त इजलासले २०७६ पुस २६ गते फैसला गर्दै भाटभटेनीलाई दोषी ठहर गरेको थियो । यो फैसलाविरुद्ध पुनरावलोकन निवेदन दायर भएको थियो ।
पुनरावलोकनको सुनुवाइपछि पुनः अदालतले दोषी ठहर गरेको हो । अदालतले यसअघिको फैसलामा भाटभटेनी सुपर मार्केट एण्ड डिपार्टमेन्टल स्टोर, अरुण इन्टरकन्टिनेन्टल, शङ्कर ग्यास, महेश बानियाँ र आईएटी प्रालिलाई दोषी ठहर गरेर बिगो भराउने फैसला गरेको थियो । भाटभटेनीले अदालतमा पुनरावलोकनको मुद्दा दर्ता गराएर राजस्व तिर्न अस्वीकार गरेको भए पनि अदालतको फैसलासँग राजस्व ब्याज र जरिबानासहित बुझाउनुपर्नेछ । अदालतको यो फैसलाले नक्कली भ्याट बिलमा अब नयाँ नजिर स्थापित भएको छ । न्युजकारखाना