काठमाडौं,२४ गते असार ।
नेपालको डिजिटल अर्थतन्त्रलाई सुदृढ पार्ने र सूचना प्रविधि (आईटी) क्षेत्रको प्रवर्द्धन तथा विकास गर्ने महत्वपूर्ण कदमका रूपमा कम्प्युटर एसोसिएसन नेपाल महासंघ (क्यान महासंघ) र नेपाल चेम्बर अफ कमर्स (एनसीसी) को सूचना प्रविधि समितिबीच समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। यस रणनीतिक सहकार्यको अवधारणा क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीले परिकल्पना गर्नुभएको हो।
एनसीसीका अध्यक्ष कमलेश कुमार अग्रवाल र क्यान महासंघकी अध्यक्ष सुनैना घिमिरे पाण्डेको उपस्थितिमा सम्पन्न यो हस्ताक्षरले दुई प्रमुख संस्थाहरूबीच संयुक्त कार्य र दीर्घकालीन सहकार्यका लागि बलियो ढाँचा स्थापित गरेको छ। यो साझेदारीले वकालत, लगानी, नेटवर्किङ र संयुक्त पहलहरू मार्फत आईटी उद्योगको विकासलाई नयाँ उचाइमा पुर्याउने अपेक्षा गरिएको छ।
समझदारी पत्रका उद्देश्यहरू र सहकार्यका मुख्य विन्दुहरू
यस सम्झौताको मुख्य लक्ष्य नेपालको आईटी उद्योगमा दिगो र सहयोगात्मक इकोसिस्टम लाई बढावा दिनु हो। क्यान महासंघका वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीको दूरदृष्टिकोणमा आधारित यो पहलले निम्न प्रमुख उद्देश्यहरू हासिल गर्ने लक्ष्य राखेको छ:
नीति वकालत र सिफारिसहरू: दुवै संस्थाहरूले नेपाल सरकारसँग रचनात्मक नीतिगत संवादमा संलग्न भई नेपालको डिजिटल रूपान्तरणलाई बढावा दिनका लागि संयुक्त आईटी नीति सिफारिसहरू, नियमहरू र डिजिटल ढाँचाहरू पेश गर्नेछन्।
लगानी परिचालन: समझदारी पत्रले नेपालको आईटी उद्योगमा स्वदेशी र विदेशी लगानी आकर्षित गर्ने योजनाहरू समावेश गर्दछ। संयुक्त अभियान र लगानी प्रवर्द्धन गतिविधिहरूले नेपाललाई दक्षिण एसियामा एक व्यवहार्य प्राविधिक गन्तव्य को रूपमा स्थापित गर्न मद्दत गर्नेछ।
आईटी भेटघाट र नेटवर्किङ कार्यक्रमहरू: हरेक छ महिनामा, दुवै संस्थाहरूले पेशेवरहरू, स्टार्टअपहरू र उद्यमहरूबीच नेटवर्किङ, सहकार्य र ज्ञान आदानप्रदानलाई प्रवर्द्धन गर्न उद्योग भेटघाटहरू, प्राविधिक कार्यक्रमहरू र फोरमहरू सह-आयोजना गर्नेछन्।
आपसी ब्रान्डिङ र सार्वजनिक संलग्नता: व्यापक दृश्यता सुनिश्चित गर्न, दुवै संस्थाहरूले प्राविधिक प्रदर्शनीहरू, सम्मेलनहरू र कार्यक्रमहरूमा एकअर्काको लोगो प्रदर्शन गरेर क्रस-ब्रान्डिङ लाई समर्थन गर्नेछन्।
सदस्यता प्रवर्द्धन: यस सहकार्यले सक्रिय सदस्यता संलग्नतालाई प्रोत्साहन गर्दछ। आईटी पेशेवरहरू, संस्थाहरू र स्टार्टअपहरूलाई स्रोतहरू, एक्सपोजर र समुदायको समर्थनबाट लाभ उठाउन दुवै संस्थाहरूमा सामेल हुन उत्प्रेरित गरिनेछ।
प्रमुख नेताहरूद्वारा संयुक्त पहल र कार्यान्वयन
यो समझदारी पत्र एनसीसी आईटी समितिका केन्द्रीय सदस्य तथा अध्यक्ष श्री विज्ञान श्रेष्ठ र क्यान महासंघका वरिष्ठ उपाध्यक्ष तथा आईसीटी नीति समितिका अध्यक्ष श्री चिरञ्जीवी अधिकारीले संयुक्त रूपमा प्रारम्भ गरेका हुन्।
प्रभावकारी कार्यान्वयन सुनिश्चित गर्न, क्यान महासंघ र एनसीसी आईटी समिति दुवैले फोकल संयोजकहरू नियुक्त गर्नेछन्। यी प्रतिनिधिहरूले समझदारी पत्र अन्तर्गतका गतिविधिहरूको योजना, कार्यान्वयन र अनुगमनको व्यवस्थापन गर्नेछन्। प्रगति समीक्षा गर्न र आगामी सहयोगात्मक कार्यक्रमहरूको योजना बनाउन नियमित त्रैमासिक बैठकहरू आयोजना गरिनेछ।
अवधि र हस्ताक्षरकर्ताहरू
यो सम्झौता हस्ताक्षर भएको मितिदेखि तीन वर्षसम्म लागू रहनेछ र आपसी लिखित सहमतिमा यसलाई विस्तार गर्न सकिनेछ।
समझदारी पत्रमा क्यान महासंघको तर्फबाट चिरञ्जीवी अधिकारी (वरिष्ठ उपाध्यक्ष) तथा एनसीसी आईटी समितिको तर्फबाट विज्ञान श्रेष्ठ (आईटी समिति अध्यक्ष) ले आधिकारिक रूपमा हस्ताक्षर गरेका छन्।
नेपालको आईटी इकोसिस्टमका लागि महत्त्व
क्यान महासंघ र नेपाल चेम्बर अफ कमर्स आईटी समितिबीचको यो रणनीतिक साझेदारीले नेपाललाई सूचना तथा सञ्चार प्रविधि (आईसीटी) को प्रतिस्पर्धी र नवीन केन्द्रको रूपमा स्थापित गर्ने संयुक्त दृष्टिकोणलाई प्रतिबिम्बित गर्दछ। साझा स्रोतहरू, रणनीतिक पङ्क्तिबद्धता र नीतिगत प्रभाव मार्फत, यो समझदारी पत्रले डिजिटल रूपमा सशक्त अर्थतन्त्रतर्फ नेपालको यात्रालाई गति दिनेछ। चिरञ्जीवी अधिकारीको नेतृत्वमा भएको यस सहकार्यले राष्ट्रिय आईटी उद्योगमा आगामी वर्षहरूमा ठोस प्रगति देखिने अपेक्षा गरिएको छ।
आरके श्रीवास्तव,राैतहट,१० गते असार ।
रौतहटको गुजरा नगरपालिकाले आर्थिक वर्ष २०८२/८३ का लागि ५० करोड ४ लाख १८ हजार ३ सय ६० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । मंगलबार १२ औं नगरसभा मार्फत बजेट, नीति तथा कार्यक्रम सार्वजनिक गरिएको हो ।
नगरप्रमुख सन्तलाल चौधरीको अध्यक्षतामा सम्पन्न नगर सभामा उपप्रमुख रत्न लामाले आगामी आर्थिक वर्षका लागि नीति तथा कार्यक्रम प्रस्तुत गरेकी थिइन् । प्रमुख प्रशासकीय अधिकृत उदय देवकोटाले बजेट वक्तव्य पढेर सुनाएका थिए ।

बजेटमा विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, रोजगार सिर्जना, पूर्वाधार तथा सामाजिक सुरक्षालगायतका क्षेत्रमा प्राथमिकता दिइएको जनाइएको छ । आगामी वर्षमा नगरको सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यसहित बजेट निर्माण गरिएको नगरपालिकाले जनाएको छ ।

नगरसभामा सम्बाेधन गर्दै नगर प्रमुख चौधरीले जनताको आवश्यकता र सुझावका आधारमा योजनाहरू समेटिएको उल्लेख गर्दै बजेट कार्यान्वयनमा सबैको सहयोग आवश्यक हुने बताए । उपप्रमुख लामाले नीति तथा कार्यक्रममा समावेश परियोजनाहरू समावेशी, दिगो र विकासमुखी हुने दाबी गरिन् ।
बज्जिकाञ्चल संवाददाता,रौतहट, १० गते असार ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले देशले लोकतान्त्रिक बाटो बिराएकाले त्यसलाई करेक्सन गर्नुपर्ने बताएका छन् ।
रौतहटको मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनको आज (मंगलबार) उदघाटन गर्दै उनले यस्तो बताएका हुन् । आजपा अध्यक्ष साहको गृहनगर समेत रहेका मौलापुरबाट मुलुकको विकास र समृद्धिका लागि दलहरु लोकतान्त्रिक मार्गमा हिड्नुपर्ने बताए ।
‘मुलुकले लोकतान्त्रिक बाटो बिराएको छ । त्यो करेक्सन हुनुपर्छ । कांग्रेस र एमालेको गठबन्धन अलोकतान्त्रि, अप्राकृतिक र अनैतिक रहेकोले जनतामा निरासा छाएको छ । त्यसका कारण कांग्रेस लोकतान्त्रिक बाटोमा हिड्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
मौलापुर नगरपालिकाको नगर सभा एवं ९औँ बजेट अधिवेशनमा मेयर रिनाकुमारी साह आ.ब.२०८२/०८३ को नीति तथा कार्यक्रम एवं बजेट प्रस्तुत गरेकी छन् । उनले मौलापुर नगरपालिकाको आ.ब. २०८२/०८३ मा ३९ करोड ५० लाखको नीति, बजेट तथा कार्यक्रम प्रस्तुत गरेकी छन् ।
मौलापुर नगरपालिकाले हरेक बर्षझै यस बर्ष पनि शिक्षा क्षेत्रमा अत्याधिक बजेट बिनियोजन गरेको छ । शिक्षा क्षेत्रमा मौलापुरले कुल बजेटको ४० प्रतिशत भन्दा बढी रकम छुट्याएको छ । मौलापुरमा नगर प्रहरीको साटो नगर शिक्षक र चिकित्सक रहेको छ । शिक्षा क्षेत्रमा मोडेल बन्दै गईरहेको मौलापुर नगरपालिका देशमै उत्कृष्ट काम गरेवापत पोखरामा एक महिना अघि आयोजित एक कार्यक्रममा सम्मानित समेत भएको छ । गुणस्तरीय शिक्षा, साक्षरता अभियान, उच्च शिक्षा र प्राविधिक शिक्षाको क्षेत्रमा मौलापुरले अत्याधिक बजेट खर्च गर्दै आएको छ ।

यस्तै मौलापुर नगरपालिकाले शुन्य कर नीतिलाई निरन्तरता दिएको छ । विगत ८ बर्षदेखी मौलापुरका मेयर रहेकी साहले यस बर्ष पनि शुन्य कर नीतिलाई निरन्तरता दिइएको फ्रि बिजुली, फ्रि पानी, यही आर्थिक बर्षमा नगरलाई कच्ची सडक मुक्त नगरको रुपमा घोषणा गरिने लक्ष्य समेत लिइएको जनाएकी छन् ।
‘हामी शासक होईन, सेवक हौँ, जनतासंग लिने होईन दिने हो । नगर प्रहरी होईन, नगर शिक्षक र नगर चिकित्सक राखेर हामी जनतालाई बढीभन्दा बढी सेवा दिन दिनरात जनताकै सेवामा खटने हो,’ मौलापुरका मेयर साहले भनेकी छन् ।
यस्तै मौलापुरका मेयर साहले छोरीसंग मेयर कार्यक्रमलाई समेत निरन्तरता दिएकी छन् । यो कार्यक्रम पनि उनी मेयर भएदेखी लागु भएको छ । यो कार्यक्रम अन्तरगत बिहेको समयमा हरेक छोरीलाई ३० हजार नगद सहयोग पालिकाले गर्दैआएको छ । यसैगरी मौलापुरले नमुना एकीकृत दलित बस्ती निर्माण, धुवा चुलो मुक्त अभियानलाई निरन्तरता दिएको छ ।
‘आगामी आ.व. २०८२/०८३ मा नगरपालिकाबाट नगर गौरवको आयोजनाको रुपमा विगत देखी सञ्चालन हुँदै आएको पुरातात्विक महादेव मन्दिर, मौलापुर शहरीकरण, एकीकृत नमुना बस्ती विकास, मोडेल प्राविधिक शिक्षालयको थप व्यवस्थागर्ने आयोजनाहरु र यस नगरपालिकाले सञ्चालन गर्दै आएको कच्ची सडक मुक्त नगर, हर हातमे हुनर, साक्षरता अभियान, निशुल्क बिजुली पानी र बेटीके साथ मेयर लगायतका लोकप्रिय कार्यक्रमहरुलाई निरन्तरता दिदै नवीनतम प्रविधि र गुणस्तरयुक्त शिक्षाको लागि विद्यालयहरुमा स्मार्ट कक्षा सहितको भौतिक तथा मानवसंशाधान थप व्यवस्था गर्ने,’ मेयर साहले भनेकी छन्, ‘वर्तमान समयको माग अनुसार नगर कार्यपालिकाको कार्यालय तथा यस मातहतका शाखा, वडा कार्यालयबाट हुने सेवा प्रवाहलाई अझ छिटो छरितो र व्यवस्थित गर्ने, स्वास्थ्य संस्थाहरुलाई थप व्यवस्थि तगर्ने, वेरोजगारहरुलाई स्वरोजगार बनाउने र कृषि व्यवसायलाई प्रतिस्पर्धी बनाउने र नयाँ एकीकृत दलित बस्ती निर्माण गरी झोपडी मुक्त नगर निर्माणको अभियानमा थप कार्यक्रम सञ्चालन गर्नुका साथै सुशासनलाई विशेष प्राथमिकता दिने नीति अवलम्बन गरिएको छ ।’
आरके श्रीवास्तव,राैतहट,१० गते असार ।
रौतहटकाे परोहा नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्दै आफ्नो ९ औं नगरसभा भव्यरूपमा सम्पन्न गरेको छ । मंगलबार नगरपालिकाको प्रशासकीय भवनमा आयोजित सभामा नगरप्रमुख शेख वकिलले ५३ करोड ६७ लाख ८२ हजार ६४ रुपैयाँको वार्षिक बजेट सार्वजनिक गरेका छन् ।

सभालाई सम्बोधन गर्दै नगरप्रमुख वकिलले परोहालाई राज्यमै एक उदाहरणीय नगरपालिका बनाउने लक्ष्यसहित शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि, महिला, बालबालिका, जेष्ठ नागरिक तथा सामाजिक विकास जस्ता प्राथमिक क्षेत्रमा विशेष जोड दिइएको बताएका छन् । “नगरवासीको साथ र सक्रिय सहभागिताका कारण नै परोहा आज यो स्थानमा आइपुगेको हो,” उनले भने ।
उक्त बजेटमा संघीय, प्रदेश तथा आन्तरिक स्रोतबाट प्राप्त रकम समावेश गरिएको छ । नगरप्रमुखका अनुसार बजेटको ठुलो अंश पूर्वाधार सुधार, आधारभूत सेवा प्रवाह तथा समावेशी विकासमा केन्द्रित हुने छ ।
कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित नेपाली काँग्रेस रौतहटका सचिव रामचन्द्र गिरीले परोहामा शिक्षा, स्वास्थ्य, कृषि र सिँचाइ क्षेत्रमा उल्लेखनीय प्रगति भएको बताउँदै स्थानीय सरकारको सेवा प्रवाहप्रति नागरिक सन्तुष्ट रहेको बताए ।
सभामा उपप्रमुख सुगान्धी गिरी, निमित्त प्रमुख प्रशासकीय अधिकृत महम्मद महफुज, इन्जिनियर दिपेन्द्र यादव, वडाध्यक्षहरू तथा वडा सचिवहरू समेत उपस्थित थिए । उनीहरूले नगरपालिकाले स्थापना कालदेखि नै विकास निर्माणका क्षेत्रमा देखाउँदै आएको अग्रणी भूमिका र सफलताहरूको प्रशंसा गरेका छन् ।
नगरसभाको समापनसँगै आगामी वर्षको योजनाहरू कार्यान्वयन चरणतर्फ उन्मुख हुने संकेत दिइएको छ । अब स्थानीय नागरिक र सरोकारवालाहरूको चासो, प्रस्तुत योजनाहरूको व्यवहारिक कार्यान्वयनमा केन्द्रित रहने देखिन्छ ।
मुकेश कुमार साह, चपुर,०९ गते असार ।
चन्द्रपुर नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल १ अर्ब २१ करोड ५९ लाख ५१ हजार ६४० रुपैयाँको बजेट सार्वजनिक गरेको छ । नगरसभाको १५ औँ अधिवेशनमार्फत सार्वजनिक गरिएको उक्त बजेटमा अधुरा योजना सम्पन्न गर्ने र सामाजिक रूपान्तरणमा जोड दिइएको छ ।
उपप्रमुख जयमाला चौधरीले बजेट प्रस्तुत गर्दै नगरभित्र अलपत्र रहेका योजनाहरूलाई प्राथमिकता दिने स्पष्ट पारिन् । उनले करिब ६ करोड रुपैयाँ लागतमा निर्माणाधीन रहेको शीतभण्डारको काम आगामी वर्षभित्रै सम्पन्न गरिने बताइन् । साथै, बालश्रम र बालविवाहमुक्त वडा घोषणालाई पनि नगरको प्राथमिक एजेन्डा बनाइने जनाइन् ।
नगरप्रमुख संजय कुमार काफ्लेले चालू बजेटलाई नागरिकको आवश्यकता, माग र समग्र विकासका क्षेत्रमा सन्तुलितरूपमा विनियोजन गरिएको उल्लेख गरे। “यो बजेट जनताको आवाजलाई प्रतिनिधित्व गर्छ,” उनले भने, “हामी समावेशी र दिगो विकासप्रति प्रतिबद्ध छौं ।”
अघिल्लो आर्थिक वर्षको तुलनामा यसपटकको बजेटमा झण्डै २५ करोड ७७ लाख रुपैयाँको कटौती गरिएको छ। विगत वर्ष चन्द्रपुरले १ अर्ब ४७ करोड ३६ लाख रुपैयाँभन्दा बढीको बजेट प्रस्तुत गरेको थियो।
प्रदेशसभा सदस्य युवराज भट्टराईले नगरको समृद्धिका लागि सबै जनप्रतिनिधिहरू एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिँदै प्रदेश सरकारको सहयोग निरन्तर रहने आश्वासन दिए ।
यसैबीच, रौतहट जिल्लाका १८ स्थानीय तहमध्ये १० नगरपालिकाले आगामी वर्षका लागि बजेट सार्वजनिक गरिसकेका छन्। चन्द्रपुरसँगै गौर, राजदेबी, इशनाथ, गढीमाइ, माधवनारायण, बौधीमाइ, राजपुर, कटहरिया र गरुडा नगरपालिकाले नगरसभा सम्पन्न गरेका छन् । गुजरा नगरपालिकाले असार १० गते बजेट प्रस्तुत गर्ने तयारी गरिरहेको छ भने बाँकी पालिकाले अझै बजेट सार्वजनिक गरेका छैनन् । आज पराेहा र माैलापुर नगरपालिकाले बजेट सार्वजनिक गर्दैछन् ।
चन्द्रपुर नगरपालिकाको यसपटकको बजेटले अधुरा योजना पूरा गर्दै सामाजिक परिवर्तन र जनउत्तरदायी विकासतर्फ दृढ पाइला चाल्ने संकेत दिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०९ गते असार ।
रौतहटको गुजरा नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा उप सचिव उदय प्रसाद देवकोटाले पदभार ग्रहण गर्नुभएको छ । उहाँको आगमनप्रति नगरपालिकाले हार्दिक स्वागत गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरेको छ ।
नगरप्रमुख सन्तलाल चौधरी र उपप्रमुख रत्न लामाले नगरपालिकाको तर्फबाट देवकोटा ज्यूलाई स्वागत गर्नुभएको हो । स्वागत कार्यक्रममा बोल्दै नगरप्रमुख चौधरीले भने, “नयाँ प्रमुख प्रशासकीय अधिकृतको आगमनले नगरको विकास तथा सेवा प्रवाहमा गति आउने विश्वास लिएको छु ।”
उपप्रमुख लालमाले पनि शुभकामना व्यक्त गर्दै उहाँको अनुभव र दक्षताले गुजरा नगरलाई संस्थागत रूपमा सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गर्नुभयो ।
गत असार ०१ गते डा. श्रवणकुमार साह गुजरा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतका रूपमा हाजिर हुनुभएको थियो । तर, पदभार ग्रहण गरेको २४ घण्टा नबित्दै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उहाँलाई सरुवा गरेको थियो । त्यसपछि पालिकामा केही समयसम्म कार्यकारी नेतृत्वको अभाव रहँदा दैनिक कामकाज प्रभावित भएको थियो ।
गुजरा नगरपालिकाका यसअघिका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल ढकाललाई मन्त्रालयले जनकपुरधाम उपमहानगरपालिकामा सरुवा गरेपछि महिनाैं दिन नगरपालिका प्रमुख प्रशासकीय अधिकृतविहीन भएको थियो ।
अब उदय प्रसाद देवकोटाको आगमनसँगै नगरपालिकाको प्रशासनिक काम पुनः नियमित हुने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०९ गते असार ।
रौतहट जिल्लाको गौर नगरपालिकाले सोमबार एक भव्य समारोहका साथ १६ औं नगरसभा सम्पन्न गरेको छ । नगरपालिकाको प्रांगणमा आयोजित कार्यक्रममा नगर प्रमुख शम्भु साहले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि कुल रु. ६१ करोड १५ लाख ९७ हजार २ सय ६१ को बजेट सार्वजनिक गरेका छन् । सो बजेटलाई नगरसभाबाट सर्वसम्मत पारित गरिएको छ ।

नगर प्रमुख साहले “हाम्रो अभियान समृद्धि, विकास र गौर नगरपालिका श्रेष्ठ पहिचान” भन्ने मूल नारासहित नगरपालिकाको आगामी योजना र प्राथमिकता सार्वजनिक गरेका हुन् । उनले शिक्षा, स्वास्थ्य, रोजगार, कृषि तथा महिला र बाल विकासका क्षेत्रहरूमा विशेष प्राथमिकता दिँदै विकास योजना अघि बढाइने प्रतिबद्धता व्यक्त गरेका छन् ।
नगरपालिकाको बजेट संघीय सरकारबाट प्राप्त समानीकरण अनुदान, ससर्त चालू तथा पुँजीगत अनुदान, विशेष र समपूरक अनुदान, प्रदेश सरकारबाट प्राप्त वित्तीय समानीकरण अनुदान तथा राजस्व बाँडफाँटका रकमहरू समेटेर तयार गरिएको हो ।
नगरसभामा निमित्त प्रमुख प्रशासकीय अधिकृत सुभाष ठाकुर, उप–नगर प्रमुख शैलदेवी साह, सबै वडाका वडा अध्यक्ष, कार्यपालिका सदस्य, नगरसभा सदस्य, कर्मचारी, पत्रकार तथा सुरक्षाकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
गौर नगरपालिकाले आगामी वर्षमा जनतालाई केन्द्रमा राखेर समावेशी र दिगो विकासका कार्यहरू अघि बढाउने स्पष्ट संकेत दिएको छ ।
आरके श्रीवास्तव,गरूडा,०७ गते असार ।
रौतहटकाे गढीमाई नगरपालिकाको १२ औं नगर सभा शनिबार समनपुरस्थित कार्यपालिका भवनमा भव्य रूपमा सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथिका रूपमा उपस्थित जिल्ला समन्वय समितिका सभापति रामअयोध्या यादवले नगर सभाको उद्घाटन ब्यानर पढेर गरेका थिए ।

नगरप्रमुख श्यामप्रसाद यादवले आर्थिक वर्ष २०८२/८३ का लागि कुल ५४ करोड ९१ लाख ७२ हजार १०८ रुपैयाँको बजेट सार्वजनिक गरेका छन् । बजेटमा संघीय र प्रदेश सरकारबाट प्राप्त विभिन्न शीर्षकको अनुदान तथा आन्तरिक स्रोत समेटिएको छ ।
नगरप्रमुख यादवका अनुसार बजेटमा संघीय सरकारबाट
समानीकरण अनुदान ११ करोड २१ लाख,सशर्त अनुदान २५ करोड ५७ लाख,राजस्व बाँडफाँड १० करोड ८७ लाख ६५ हजार १०८,प्रदेश सरकारबाट समानीकरण अनुदान ७७ लाख ४९ हजार,विशेष अनुदान ३० लाख,समपूरक अनुदान: २० लाख,राजस्व बाँडफाँड ६३ लाख ५८ हजार,सशर्त अनुदान: ९५ लाख,सडक बोर्ड नेपाल ४० लाख रहेको छ ।
त्यसैगरी, मालपोतबाट राजस्व बाँडफाँड अन्तर्गत २ करोड र आन्तरिक श्रोतबाट पनि २ करोड रुपैयाँ बजेटमा समेटिएको छ ।

चालु खर्चतर्फ ३५ करोड ७६ लाख २३ हजार १०८ रुपैयाँ र पूँजीगत खर्चतर्फ १९ करोड १५ लाख ४९ हजार रुपैयाँ विनियोजन गरिएको नगरप्रमुख यादवले जानकारी दिए ।
नीति तथा कार्यक्रम प्रस्तुत गर्दै नगरप्रमुख यादवले शिक्षा, स्वास्थ्य, खानेपानी, कृषि तथा धार्मिक क्षेत्रमा उल्लेखनीय काम भएको जनाउँदै आउँदो दिनमा गढीमाईलाई अन्य पालिकाभन्दा अगाडि राख्ने प्रतिबद्धता व्यक्त गरेका छन् । विशेषगरी कृषि क्षेत्रलाई प्राथमिकता दिँदै मोटर, स्प्रे ट्यांकी, कृषि विधतीकरण, कृषि मिटरको बिल पालिकाले व्यहोर्ने व्यवस्था गरिने जानकारी दिए ।
कार्यक्रममा उपप्रमुख अस्मिता यादवले स्वागत मन्तव्य दिँदै सम्पूर्ण अतिथिहरूलाई स्वागत गरिन् । वडाध्यक्षहरूले प्रस्तुत नीति तथा कार्यक्रममाथि आ–आफ्ना धारणा राखेको निमित्त प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादवले जानकारी दिएका छन् ।
आरके श्रीवास्तव,गरूडा,०७ गते असार ।
रौतहटकाे ईशनाथ नगरपालिकाले आगामी आर्थिक वर्ष २०८२/०८३ का लागि कुल ४९ करोड ६४ लाख ५२ हजार ४ सय ९७ रुपैयाँको बजेट सार्वजनिक गरेको छ । सोमबार नगरसभाको सभाहलमा बसेको ११ औं अधिवेशनमार्फत नगर प्रमुख कौशलया देवी सिन्हाले नीति तथा कार्यक्रमसहित बजेट प्रस्तुत गरिन् ।
प्रमुख प्रशासकीय अधिकृत नन्दनकिशोर गुप्ताले भने, “आगामी वर्षको बजेट समावेशी, दिगो र नतिजामुखी विकासलाई ध्यानमा राखेर तयार गरिएको हो । हाम्रा सबै योजना स्थानीय आवश्यकता र सम्भावनाको मूल्यांकनका आधारमा तय गरिएका छन् ।”
उनका अनुसार शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, रोजगार सृजना, कृषि प्रवर्द्धन र सफा खानेपानीका कार्यक्रमहरूमा बजेटको विशेष ध्यान केन्द्रित गरिएको छ । गुप्ताले थपे, “विगतका वर्षमा सिकेका अनुभवका आधारमा हामीले कार्यान्वयन योग्य र परिणाम दिने योजना छनोट गरेका छौं । बजेट पारदर्शिता र जिम्मेवारीताका साथ कार्यान्वयन हुनेछ ।”

नगर प्रमुख सिन्हाले पनि नीति तथा कार्यक्रम प्रस्तुत गर्दै समावेशी विकास, डिजिटल सेवा विस्तार, बालमैत्री नगरपालिका निर्माण, महिला सशक्तिकरण, वातावरण संरक्षण तथा सडक सञ्जाल विस्तारलाई प्राथमिकता दिने प्रतिबद्धता जनाएकी थिइन् ।
नगरपालिकाको यो बजेटले स्थानीय स्तरमा शिक्षा, स्वास्थ्य, कृषि, र सामाजिक सुरक्षामा सकारात्मक प्रभाव पार्ने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०६ गते असार ।
रौतहट – गरुडा नगरपालिकाको १३ औं नगरसभा तथा नवौं बजेट अधिवेशन आज भव्य रूपमा सम्पन्न भएको छ । नगरसभा कार्यक्रमको अध्यक्षता नगरप्रमुख कन्थमनी जयसवालले गर्नुभएको थियो ।

सभामा नगर उपप्रमुख पुनम चौधरीले आर्थिक वर्ष २०८२/०८३ का लागि कुल रु. ६९ करोड २६ लाख १७ हजार ३ सय ६७ को संशोधित बजेट, कार्यक्रम तथा योजनाहरू प्रस्तुत गर्नु भएको थियोे । प्रस्तुत बजेटलाई नगर सभाबाट सर्वसम्मत रूपमा पारित गरिएको छ ।

नगर प्रमुख जयसवालका अनुसार बजेटले शिक्षा, स्वास्थ्य, कृषि, सडक, रोजगारी, लघु उद्यम, पशु सेवा, महिला तथा बालबालिका, अपाङ्गता, दलित तथा पिछडिएको वर्गका पूर्वाधार विकासलाई प्राथमिकता दिएको छ । साथै, कृषकहरूको हितमा जारी कृषि सहुलियत नीतिलाई यस वर्ष पनि निरन्तरता दिइने जानकारी गराइएको छ ।
कार्यक्रमको उद्घाटन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ताले गर्नुभएको थियो । मन्त्री गुप्तालाई नगरप्रमुख जयसवालले ५१ किलोकाे मालाले स्वागत गर्दै धन्यवाद ज्ञापन गर्नुभएको छ भने नेकपा एमालेका जिल्ला इन्चार्ज अजय कुमार गुप्तालाई समन्वयको लागि विशेष धन्यवाद प्रकट गरिएको छ ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री गुप्ताले संघीय निजामती विधेयकमा कमा र फुलस्टप पनि परिवर्तन नहुने बताएका छन् । गरुडा नगरपालिकाको बजेट अधिवेशनको शुक्रबार उद्घाटन गर्दै मन्त्री गुप्ताले संघीय निजामती विधेयक छिट्टै प्रतिनिधि सभामा पेश हुने र पास भएर राष्ट्रिय सभामा जाने बताएका छन् ।
नगर प्रमुखले उपप्रमुख, वडा अध्यक्ष तथा सदस्यहरू, राजनीतिक दलका प्रतिनिधिहरू, सुरक्षाकर्मी, नागरिक समाज, सञ्चारकर्मी, कर्मचारी तथा नगरवासी सबैलाई कार्यक्रम सफल बनाउन गरेको योगदानका लागि आभार व्यक्त गरिएको छ ।
मेयर जयसवालले गरुडा नगरको समुन्नत, समावेशी र समृद्ध भविष्य निर्माणका लागि सबैको साथ र सहकार्य आवश्यक रहेको उल्लेख गर्नुभएकाे छ ।