काठमाडौं- सरकारले राजमार्ग र रणनीतिक सडक अन्तर्गत आगामी आर्थिक वर्षमा १ सय ५० वटा पुल निर्माण कार्य सम्पन्न गरिने जनाएको छ। आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले पुल निर्माणका लागि २ अर्ब ८ करोड विनियोजन गरेको बताए।
त्यस्तै सूर्यविनायक धुलिखेल सडक खण्डको विस्तार कार्य अघि बढाउन आवश्यक रकम समेत सरकारले विनियोजन गरेको छ। काठमाडौं चक्रपथको कलंकी बसुन्धरा खण्डको सडक विस्तार तथा निर्माण कार्यलाई तीब्रता दिन २ अर्ब ७ करोड छुट्टयाएको छ।
राष्ट्रिय राजमार्गमा आवश्यकतानुसार फ्लाइओभर र अन्डरपास निर्माण गरिने, ललितपुरको ग्वार्कोमा फ्लाईओभर निर्माण कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिने जनाएको छ। त्यस्तै कोटेश्वर, सातदोबाटो र एकान्तकुनामा फ्लाईओभर र अन्डरपास निर्माण कार्य शुरूवात गरिने समेत सरकारले जनाएको छ।
काठमाडौं- पूर्व पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीब्रता दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन्।
नारायणगढ-बुटवल र कमला-कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको कार्य आगामी आर्थिक वर्षमा सम्पन्न गरिनेछ। कमला-ढल्केवर-पथलैया, वुटवल-गोरूसिङ्गे, काकडभिट्टा-लौकही, पथलैया-नारायणगढ र लमही-भालुवाङ्ग सडक खण्डको स्तरोन्नति शुरू गरिने भएको छ।
नारायणी नदी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण शुरू उनले बताएका छन्। पूर्व-पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड विनियोजन गरेको अर्थमन्त्री डा. महतले जानकारी दिएका हुन्।
नागरिक जीवनलाई सहज बनाउन तथा आर्थिक विकासको आधार तयार गर्न प्रतिफलयुक्त, सुलभ, सुरक्षित, गुणस्तरीय र दिगो यातायात पूर्वाधारमा सरकारले लगानी केन्द्रित गर्ने उनले बताए। दुर्घटना कम गर्न आवश्यक पूर्वाधार निर्माणका साथै आवश्यक नीति अगाडि बढाइने उनले बताएका छन्।
काठमाडौं १५ जेठ । सरकारले ९८ प्रकारका औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउने भएको छ ।
अर्थमन्त्री महतले मुलुकभरका ६ हजार ७ सय ४३ वडाका आधारभूत स्वास्थ्य सेवा केन्द्रबाट यो सुविधा लिन सकिने जनाएका हुन ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. महतले साे कुरा जनाएका हुन । औषधि, खोप लगायतका आधारभूत स्वास्थ्य सेवा निःशुल्क उपलब्ध गराउन १ अर्ब २८ करोड विनियोजन गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले बताएका छन् ।
कार्यक्रम अन्तर्गत स्वदेशमा नै उत्पादित औषधि खरिद गर्न प्राथमिकता दिइने समेत बताएको छ । बहुसंख्यक जनताले सेवा प्राप्त गर्ने गरी पायक पर्ने स्थानमा आधारभूत अस्पताल निर्माण तथा सञ्चालन गर्न प्राथमिकता दिइने समेत बताएको छ ।
काठमाडौं, १५ जेठ । सरकारले सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्ब ७३ करोड विनियोजन गरेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले ज्येष्ठनागरिकभत्तासहित सामाजिक सुरक्षाभत्ताका लागि १ खर्ब ५७ अर्बै ७३ करोड विनियोजन गरेको जानकारी दिए ।
उनकाअनुसार यसअघिको सामाजिक सुरक्षाभत्तालाई निरन्तरता दिइएको हो ।
काठमाडौं- अर्थमन्त्री डा. प्रकाशशरण महतले बालशिक्षालाई सरकारले उच्च प्राथमिकतामा राखेर विद्यालयमा बालबालिका टिकाउने कार्यक्रम सञ्चालन गरिने बताएका छन् ।
आधारभूत शिक्षा अन्तर्गत बालशिक्षालाई व्यवस्थित र पहुँचयोग्य बनाइने उनले बताएका छन् । प्रारम्भिक बालविकास केन्द्रको नक्शाकंन गरी पुनवितरण गरिने उनले घोषणा गरेका छन् ।
बालबालिकालाई विद्यालयमा ल्याउने सिकाउने र टिकाउने कार्यक्रमलाई विस्तार गरिने छ ।
बालबालिकालाई कृषिमा आधारित प्रयोगात्मक शिक्षा दिने व्यवस्था गरिने उनले बताएका छन् ।
हिमाली तथा दुर्गम क्षेत्रका बालबालिकालाई आवासीय छात्रवृत्ति दिइने अर्थमन्त्री डा. प्रकाशशरण महतले बताए ।
मातृभाषामा आधारभूत शिक्षा दिने व्यवस्थालाई प्रभावकारी कार्यान्वयन गरिने उनले बताए ।
काठमाडौं, १५ जेठ । सरकारले रौतहटको चन्द्रपुर–गौर सडक स्तरोन्नतिका लागि ७६ करोड विनियोजन गरेको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले चन्द्रपुर–गौर सडक स्तरोन्नति र विस्तारका लागि ७६ करोड विनियोजन गरेको जानकारी दिएका हुन् ।
काठमाडौं- सरकारले स्वरोजगार बन्न चाहाने खेलाडीहरुलाई सहुलियतपूर्ण कर्जा दिने भएको छ ।
अर्थमन्त्री डा.प्रकाश शरण महतले खेलाडीलाई स्वरोजगार बन्न चाहेमा युवा स्वरोजगार कोष मार्फत सहुलियतपूर्ण कर्जा प्रदान गर्ने व्यवस्था गरिने बताएका छन् ।
काठमाडौं- सरकारले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको बजेट १४ अर्बले बढाएको छ ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय तर्फ रु. ८३ अर्ब ९९ करोड विनियोजन गरिएको अर्थमन्त्री डा प्रकाशशरण महतले बताए ।
अर्थमन्त्री डा प्रकाशशरण महतले आर्थिक वर्ष २०८०/८१ को बजेट सार्वजनिक गर्दै स्वास्थ्यतर्फको बजेट बढाएका हुन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका लागि चालु आवमा ६९ अर्ब ३८ करोड रुपैयाँ बजेट विनियोजन गरिएको थियो । प्रदेशतर्फ ६ अर्ब २६ करोड र स्थानीय तहमा २७ अर्ब ४४ करोड रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
गत वर्षसम्म कोभिडका कारण स्वास्थ्य मन्त्रालयको बजेट ह्वात्तै बढाइएको थियो । त्यसपछि पनि स्वास्थ्य क्षेत्रलाई स्थानीय स्तरमै भरपर्दो बनाउने उद्देश्यले स्वास्थ्यतर्फको बजेट बढाएको अर्थमन्त्री डा महतले बताए ।
सरकारले दोस्रो चरणको आर्थिक सुधार र अर्थतन्त्रको संरचनागत परिवर्तनको नारासहित आर्थिक वर्ष २०८०/८१ को बजेट तयार पारेको अर्थमन्त्री डा महतले बताए ।
काठमाडौं, १५ जेठ । सरकारले त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाउने भएको छ ।
सोमबार बसेको संघीय संसदको दुवै सदनको संयुक्त बैठकमा आगामी आर्थिक वर्षको राजश्व र व्ययको वार्षिक अनुमान प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानलाई अन्तर्राष्ट्रियस्तरको बनाइने जानकारी दिएका हुन् ।
देशका विभिन्न स्थानमा क्रिकेट मैदान बनाउने आवश्यक बजेट विनियोजन गरिएको उनले जानकारी दिए ।
काठमाडौं- सरकारले नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन गरिने घोषणा गरेको छ। परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल थापाथली काठमाडौंमा नवजात शिशुका लागि मिल्क बैंक सञ्चालन जनाएको छ।
आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट प्रस्तुत गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले वी.पी. कोइराला क्यान्सर अस्पताल, जि.पि. कोइराला राष्ट्रिय स्वासप्रश्वास उपचार केन्द्र, सुशिल कोइराला प्रखर क्यान्सर अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट केन्द्र, सुरेश वाग्ले मेमोरियल क्यान्सर केन्द्र, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान र भक्तपुर क्यान्सर अस्पतालको आवश्यक पूर्वाधार विकास तथा उपकरणका लागि बजेट व्यवस्था समेत गरेको छ।