काठमाडाैं मंसिर २०,/
नेपाल राष्ट्र बैंकले बुधबारका लागि तोकेको विदेशी मुद्राको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १३३ रुपैयाँ १२ पैसा र बिक्रीदर १३३ रुपैयाँ ७२ पैसा रहेको छ । यसैगरी युरो एकको खरिददर १४४ रुपैयाँ १२ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७७ पैसा रहेको छ ।

काठमाडौँ मंसिर २०,/
काठमाडौँको कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बुधबारका लागि कृषि उपजहरुको मूल्य निर्धारण गरेको छ । जसअनुसार गोलभेँडा ठुलो (नेपाली)को अधिकतम थोक मूल्य प्रतिकिलो ७० रुपैयाँ तथा गोलभेँडा सानो (लोकल)को १५ रुपैयाँ रहेको छ ।

काठमाडौं, १९ मंसिर ||
पछिल्लो समय सुनको मूल्य निरन्तर बढ्ने क्रममा छ । केही दिन यताको सुनको बजार भाउ हेर्ने हो भने नेपालको इतिहासमै सर्वाधिक रह्यो । सोमवार सुनको मूल्यले प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड कायम गरेको थियो । तर मंगलवार तोलामा २ हजार ४ सय रुपैयाँ घटेको छ । तर सुनको मूल्य अझै बढ्ने व्यवसायीहरु बताउँछन् ।
नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार मंगलवार नेपाली बजारमा छापावाल सुनको भाउ प्रतितोला १ लाख २१ हजार १ सय रुपैयाँ रहेको थियो । त्यस्तै, तेजाबी सुनको मूल्य प्रतितोला १ लाख १८ हजार ६ सय ५० रुपैयाँ कायम भएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको देखिन्छ । नेपाली बजारमा गत कात्तिकमा सुनको मूल्य प्रतितोला १ लाख १६ हजार ४ सय ५० रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरे पनि त्यसपछि लगातार रुपमा सुनको मूल्यमा गिरावट हुँदै आएको थियो ।
तर पछिल्लो दुई हप्ता लगातार रुपमा सुनको मूल्य उच्च रुपमा बढिरहेको छ । तर मंगलवार भने २ हजार ४ सय रुपैयाँले एकै दिन गिरावट आएको छ । मंगलबार चाँदीको मूल्य पनि तोलामा ४५ रुपैयाँले घटेर १ हजार ५ रुपैयाँ कायम भएको छ । विश्वव्यापी अर्थतन्त्रमा मन्दि बढ्दै गइरहेको अवस्थामा सुनको मूल्यमा निरन्तर उतारचढाव छ । विश्वका लगानीकर्ताहरुले अन्य क्षेत्र भन्दा सुन सुरक्षित लगानीको रुपमा लिदाँ विश्व बजारमा सुनको मूल्य वृद्धि भएको जानकारहरु बताउँछन् ।
नेपाल सुन चाँदी व्यवसायी महासंघका संस्थापक अध्यक्ष मणिरत्न शाक्यले अन्तर्राष्ट्रिय युद्ध, व्यापारमा मन्दि, मूल्यवृद्धि र उद्योगधन्दा समस्या परेको कारण लगानीकर्ताहरुको ध्यान सुनमा गएकाले सुनको मूल्य उच्च रुपमा वृद्धि भएको बताउनु भयो । उहाँले दुई, तीन हप्तादेखि उच्च रुपमा सुनको मूल्यमा वृद्धि हुनु रुस र युक्रेन युद्धको असर अन्तर्राष्ट्रिय अर्थतन्त्रमा कायम रहनु, अमेरिका र चीनबीचको व्यापारीक युद्धको असर र प्यालेस्टाइन र इजरायलको युद्ध प्रमुख कारण देखिएको बताउनु भयो ।
उहाँले विश्व ठूला लगानीकर्ताले विभिन्न क्षेत्रमा लगाएको लगानी डुब्ने चिन्ताले अन्य क्षेत्रमा लगाएको लगानी झिकेर सुरक्षित लगानीका रुपमा सुनमा लगानी गरेको बताउनु भयो । उहाँले विश्वका लगानीकर्ताहरुले सुनमा लगानी गर्दा सुरक्षित देखेर लगानी वृद्धि गरेकाले सुनको मूल्य उच्च रुपमा बढेको दाबी गर्नुभयो । संस्थापक अध्यक्ष शाक्यले अमेरिकी फेडरल रिजर्व बैंकले कही दिन अगाडि निक्षेपको ब्याजदर बढाउन नसक्ने निर्णयपछि निक्षेपमा भएको पैसा पनि बैंकबाट निकालेर सुनमा लगानी लगाए थालेको बताउनु भयो।
उहाँले अहिले विगतमा सस्तोमा किनेको सुन मूल्य वृद्धि भएकाले विश्वभर नै बजारमा सुन किन्ने भन्दा बेच्ने वृद्धि भएकाले मंगलवार मूल्यमा गिरावट आएको बताउनु भयो । उहाँले नेपाली बजारमा पनि त्यसैको असर देखिएको बताउनु भयो । उहाँले नेपाली बजारमा मंसिर महिनाको विवाहको लगनको बेलामा विगतमा दैनिक ६० किलो खपत हुने गरेकोमा अन्तर्राष्ट्रिय बजार मूल्यको असरका कारण २० किलोबाट अहिले दैनिक १० केजी मात्रै खपत रहेको बताउनु भयो ।
काठमाण्डाै,मंसिर १८,/
– रुसी सेनामा भर्ना भएका ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि भएकाे छ । परराष्ट्र मन्त्रालयले आज साेमवार एक विज्ञप्ति निकालेर रुसी सेनामा कार्यरत ६ जना नेपालीकाे ज्यान गएकाे पुष्टि गरेकाे हाे ।
ज्यान गुमाउनेहरूमा गोरखाका सन्दीप थपलिया, कपिलवस्तुको वाणगङ्गा नगरपालिका–१ का रूपक कार्की, पोखराका देवान राई, स्याङ्जाकाे पुतलीबजार नगरपालिका–५ का पितम कार्की, दोलखाको मेलुङ गाउँपालिका–६ का राजकुमार रोका र इलामका गङ्गाराज मोक्तान रहेका छन् ।
नेपाल सरकारले ज्यान गुमाएकाहरूकाे शव यथाशीघ्र नेपाल पठाउन तथा पीडित परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन रुसी सरकारलाई आग्रह गरेकाे छ । सरकारले नेपालीलाई रुसी सेनामा भर्ना नगर्न र कुनै नेपालीलाई भर्ना गरेको भए तत्काल नेपाल फर्काउन रुसी सरकारलाई आग्रह गरेको छ ।
रुसी सेनामा भर्ना भई अहिले युक्रेनमा बन्दी अवस्थामा रहेका नेपाली विवेक खत्रीलाई स्वदेश फिर्ता गर्ने सम्बन्धमा कुटनीतिक पहल भइरहेकाे पनि मन्त्रालयकाे विज्ञप्तिमा उल्लेख छ ।
काठमाडाैं,२०८० मङ्सिर १३
नेपाल–दुबई व्यावसायिक सम्मेलन १४ मंसिरमा संयुक्त अरब इमिरेट्स (युएई)को दुबईमा आयोजना हुने भएको छ । नेपाल उद्योग वाणिज्य महासंघ र दुबई चेम्बर अफ कमर्सको आयोजनामा हुने व्यावसायिक सम्मेलनमा मुख्य अतिथिका रूपमा प्रधानमन्त्री पुुष्पकमल दाहाल ‘प्रचण्ड’ सहभागी हुने बताइएको छ । सम्मेलन युएईस्थित नेपाली राजदूतावासको सहयोगमा हुन लागेको महासंघले जनाएको छ ।
सम्मेलनमा दुवै देशका करिब सयजना उद्यमी–व्यवसायीको उपस्थिति रहने बताइएको छ । उक्त सम्मेलनमा दुुवै देशबीच आर्थिक व्यावसायिक सम्बन्ध विस्तार, लगानी प्रवद्र्धन एवं श्रम बजार विस्तार, नेपाली कृषि उत्पादनको मध्यपूर्वमा बजार विस्तार तथा सम्भाव्यताका विषयमा छलफल हुनेछ । सम्मेलनबाट नेपालमा मध्यपूर्वको लगानी आकर्षण एवं नेपाली कृषि उत्पादनको मध्यपूर्वका राष्ट्रहरूमा निर्यात प्रवद्र्धनमा सहयोग पुुग्ने विश्वास महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले व्यक्त गरे । उनले भने, ‘सम्मेलनबाट ऊर्जा एवं पर्यटन क्षेत्रमा पनि आपसी सहकार्यको ढोका खुल्ने विश्वास छ ।’
काठमाडौँ, १२ मङ्सिर :
अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य बढेसँगै स्थानीय बजारमा पनि त्यसको प्रभाव परेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार सात सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार एक सय ५० कायम भएको छ । सोमबार छापावाल सुनको मूल्य प्रतितोला रु एक लाख १७ हजार चार सय र तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख १६ हजार आठ सय ५० मा कारोबार भएको थियो । यसैगरी, प्रतितोला चाँदीको मूल्य रु एक हजार पाँच सय निर्धारण भएको छ । रासस
११ मंसिर २०८०,काठमाडौं ।
नेपाली बजारमा सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला १ लाख १७ हजार ४०० रुपैयाँमा कारोबार भइरहेकाे जनाएकाे छ ।
आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १६ हजार ९०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १६ हजार ३५० रुपैयाँ थियो ।
यस्तै, आज चाँदीको बिक्री मूल्य तोलामा १५ रुपैयाँले बढेको छ । महासंघका अनुसार हिजोको तुलनामा मूल्य बढेसँगै आज १५ सय रुपैयाँमा चाँदीको कारोबार भइरहेको छ । हिजो चाँदीको मूल्य प्रतितोला १४ सय ८५ रुपैयाँ थियो । न्यूज अफ नेपाल
नवलपरासी मंसिर ८,/
पश्चिम नवलपरासीका एमाले नेता थानप्रसाद गैरेले सरकारी विद्यालयको जग्गा बिक्री गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लगाएको छ । उनले सरकारी जग्गा अतिक्रमण गरी बिक्री गरेको भन्दै अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अघि बढाउन नगरपालिकालाई पत्राचार गरेको हो ।

आयोगको बुटवल कार्यालयले नवलपरासीको सुनवल नगरपालिकालाई शुक्रवार पत्र लेख्दै नगरपालिका क्षेत्र अन्तर्गतको जनसेवा माविको जग्गामध्ये १५ कठ्ठा नम्बरी जग्गा गैरैले दर्ता गरी बिक्री गरेको खुल्न आएको दाबी गरेको छ । अख्तियारले छानबिन गरी कारबाही प्रक्रिया अगाडि बढाइ आफ्नो निर्णय कार्यान्वयन गराउन भनेको छ ।
गैरे एमालेका लुम्बिनी प्रदेश कमिटी सदस्य हुन् । उनी गत प्रदेशसभा सदस्य निर्वाचनमा नवलपरासी क्षेत्र नं. २ ‘क’बाट एमालेबाट पराजित भएका थिए ।
विद्यालयका नाममा साविक सुनवल गाविस–६ ‘ख’को कित्ता नम्बर ११ को ४ बिघा १८ कठ्ठा १८ धुर जग्गा रहेको छ । सोही जग्गामध्ये १५ कठ्ठा जग्गा गैरेले अतिक्रमण गरेको भन्ने उजुरी आयोगमा परेको थियो । सोही उजुरीका आधारमा आयोगले छानबिन गर्दा उक्त जग्गा उनले अतिक्रमण गरी बिक्री गरेको भन्ने खुल्न आएको भन्दै स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ र ९७ बमोजिब छानबिन गरी कारबाही गर्न नगरपालिकालाई आयोगले पत्राचार गरेको हो ।
गैरेले अतिक्रमण गरी बिक्री गरेको भनिएको जग्गा सोधखोज गर्दा उक्त जग्गा गैरेकी श्रीमती लीलादेवी गैरेले सुकुम्बासी समस्या समाधान आयोगबाट दर्ता गरी लिएको मालपोत कार्यालयको श्रेस्तामा देखिएको छ । श्रेस्ताअनुसार विद्यालयसँगै जोडिएको ८ कठ्ठा जग्गा गैरेकी श्रीमती लीलादेवीको नाममा तत्कालीन लुम्बिनी बसोबास कम्पनीको मिति २०४६ जेठ ९ को निर्णयअनुसार सुकुम्बासी समस्या समाधान आयोग नवलपरासीले २०५८ असार २० गते दर्ता गरेको देखिएको छ ।
विद्यालयका तत्कालीन विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टीकाराम तिमिल्सिनाले विद्यालयका नाउँमा रजिष्ट्रेसन पास भइसकेपछि खोजबिन गर्ने क्रममा उक्त जग्गा अतिक्रमण भएको पाइएको बताए । २०३४ सालदेखि उक्त जग्गा विद्यालयले भोगचलन गर्दै आएको छ । २०७४ चैतको मन्त्रिपरिषद्को निर्णयले उक्त जग्गा विद्यालयको नाममा रजिष्ट्रेसन पास भएको हो ।
आयोगको निर्णय कार्यान्वयनबारे नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत चेतनाथ गिरीले कार्यपालिकाको बैठक बसेर त्यसबारे निर्णय गर्ने बताए । विद्यालयका प्रधानाध्यापक रमेश पौडेलले करिब ५ बिघा जग्गामध्ये अहिले विद्यालयले २ बिघा मात्रै भोगचलन गरेको जानकारी दिए ।
मंसिर ८,
गणतन्त्र विरोधी आन्दोलनको बाछिटा तल्लो तहसम्म पुगेको छ। ‘राष्ट्र, राष्ट्रियता, राजसंस्थासहितको बैद्धिक, सनातन हिन्दु राष्ट्र पुर्नस्थापना अभियान’ले शुक्रबार कञ्चनपुरको महेन्द्रनगरमा गणतन्त्रविरुद्ध प्रदर्शन गरेको छ।
उनीहरूले महेन्द्रनगरस्थित भीमदत्त वाटिकामा रहेको किसान नेता भीमदत्त पन्तको सालिक तोडफोड पनि गरेका छन्।
नेपाल धितोपत्र बोर्ड
(सेबोन)ले जलविद्युत् कम्पनीको साधारण सेयर (आइपिओ) र हकप्रद सेयर निष्कासन रोकेको विषयलाई लिएर जलविद्युत् उद्यमीले सरकारको ध्यानाकर्षण गराउने भएका छन्।
बोर्डले आइपिओ र हकप्रद सेयर निष्कासनका लागि स्वीकृति दिन आलटाल गरेपछि ऊर्जा उद्यमीहरूले प्रधानमन्त्री कार्यालयदेखि अर्थ मन्त्रालयसम्मको ध्यानाकर्षण गराउने तयारी गरेका हुन्।
धितोपत्र बोर्डमा नयाँ अध्यक्ष आएपछि सकारात्मक कार्य भई धेरै कम्पनीको धितोपत्र निष्कासन गरेकोमा त्यसको सराहना गरे पनि यतिवेला भने बोर्ड खुला बजार नीतिविपरीत जान लागेको इप्पानका महासचिव बलराम खतिवडाले बताए।
कुनै कम्पनीबाट ऐन–नियमविपरीत कार्य भएको भए त्यस्ता कम्पनीलाई आवश्यक सुपरिवेक्षण तथा छानबिन गरी कारबाही गर्नुपर्नेमा समग्र ऊर्जा क्षेत्रलाई नै बदनाम गराउने प्रयास भएको भन्दै बोर्डको पछिल्लो गतिविधिप्रति ऊर्जा उद्यमीहरूले असन्तुष्टि जनाएका छन्।
केही कम्पनीका संस्थापकहरूले धितोपत्र बिक्री गरेको भन्ने आधारमा सम्पूर्ण कम्पनीलाई धितोपत्र निष्कासन गर्न रोक्न नहुने र यसो गरेमा यो क्षेत्र नै धराशायी भई अर्थतन्त्रमा नकारात्मक असर पर्ने महासचिव खतिवडाको भनाइ छ।
नेपाल धितोपत्र बोर्डबाट विगतमा सहज रूपमा धितोपत्र निष्कासन भइरहेको र हाइड्रोपावर कम्पनीहरूले सहज रूपमा निष्कासन अनुमति पाएपछि यस क्षेत्र उत्साहित भई धेरै कम्पनीले निष्कासनका लागि निवेदन दिन थालेका थिए। तर, हाल धितोपत्रको आपूर्ति बढी भएको भन्ने बहानामा धितोपत्रको सार्वजनिक तथा हकप्रद निष्कासनमा ढिलाइ गरेकोमा उद्यमीहरूको आपत्ति छ।
हाइड्रोपावर कम्पनीहरूले देशको अर्थतन्त्रमा ठूलो योगदान गरेको अवस्थामा यसको योगदानलाई कदर गरी आवश्यकताअनुसार धितोपत्र जारी गर्न दिनुपर्ने महासचिव खतिवडाले बताए।
पुँजी बजारमा आउने सबै कम्पनीलाई समान रूपमा एकै प्रकारको व्यवहार हुनुपर्नेमा हाइड्रोपावर कम्पनीका लागि मात्र कडा व्यवस्था गरी आइपिओ तथा हकप्रद सेयर निष्कासन गर्न रोक्न नहुने ऊर्जा उद्यमीहरूको माग छ।