२०८२ चैत्र २५
२०८२ चैत्र २५

आरके श्रीवास्तव,रौतहट,२० गते माघ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले मतदाता भेटघाट कार्यक्रमलाई तीव्रता दिएका छन् ।


सोही क्रममा उम्मेदवार चौधरीले गुजरा नगरपालिका वडा नम्बर १ अन्तर्गतका मनहर्वा, रंगपुर र कोठियार गाउँ तथा देवाही गोनाही नगरपालिका वडा नम्बर ९ धरहरीमा पुगेर स्थानीय मतदातासँग प्रत्यक्ष भेटघाट गरेका हुन् । भेटघाटका क्रममा उनले मतदाताका समस्या, गुनासा र अपेक्षाहरू ध्यानपूर्वक सुनेका थिए ।
मतदातासँगको संवादमा चौधरीले- “जनताले अनुभूति गर्ने खालको विकास र सुशासन मेरो मुख्य एजेन्डा हो,” उनले भने, “रौतहट–३ का जनताको भरोसामा खरा उत्रिने प्रतिबद्धता व्यक्त गर्दछु।”


स्थानीय बासिन्दाहरूले लामो समयदेखि प्रतिनिधित्वको अभाव महसुस गरेको भन्दै यसपटक परिवर्तनको अपेक्षा गरेका छन् । भेटघाट कार्यक्रममा स्थानीय नेता–कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य सहभागिता रहेको थियो ।
जसपा नेपालका उम्मेदवार चौधरीले आगामी दिनमा पनि क्षेत्रका विभिन्न गाउँ–बस्तीमा पुगेर मतदाता भेटघाट कार्यक्रमलाई निरन्तरता दिने जानकारी दिएका छन् ।

आरके श्रीवास्तव,राैतहट,२० गते माघ ।
रौतहट । फतुवा विजयपुर नगरपालिका वडा नम्बर ८ अन्तर्गत रहेको श्री माध्यमिक विद्यालय विजयपुरमा आजदेखि खेलकुद सप्ताह औपचारिक रूपमा सुरु भएको छ । विद्यालय परिसरमा आयोजित एक कार्यक्रमका बीच फतुवा विजयपुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मदन थापाले खेलकुद सप्ताहको उद्घाटन गरेका हुन् ।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रमुख प्रशासकीय अधिकृत थापाले खेलकुदले विद्यार्थीहरूको शारीरिक, मानसिक र सामाजिक विकासमा महत्वपूर्ण भूमिका खेल्ने बताए । उनले अनुशासन, सहकार्य र नेतृत्व विकासका लागि यस्ता प्रतियोगिताहरू आवश्यक रहेको उल्लेख गर्दै नगरपालिकाको तर्फबाट विद्यालयको शैक्षिक तथा अतिरिक्त क्रियाकलापमा निरन्तर सहयोग रहने प्रतिबद्धता जनाए ।

तीन दिनसम्म सञ्चालन हुने खेलकुद सप्ताहमा भलिबल, फुटबल, कबड्डी, हाई जम्प, लङ जम्प, चकलेट रेसलगायत विभिन्न खेलहरू समावेश गरिएको विद्यालयका प्रधानाध्यापक शंकर राय यादवले जानकारी दिए । उनका अनुसार प्रतियोगितामा विद्यालयको ईसीडीसीदेखि कक्षा १० सम्मका विद्यार्थीहरूको सहभागिता रहनेछ । विजेता खेलाडीहरूलाई पुरस्कार स्वरूप सिल्ड र प्रमाणपत्र प्रदान गरिने व्यवस्था गरिएको उनले बताए । प्रतियोगिता चार वटा हाउस रेड,ग्रिन,येलाे र ब्लु बिच विभिन्न खेलहरू हुनेछन् ।

कार्यक्रममा नगरपालिकाका शिक्षा तथा प्रशासन शाखा प्रमुख मुकेश साहले खेलकुदलाई शिक्षाको अभिन्न अंगको रूपमा विकास गर्नुपर्नेमा जोड दिए । उनले विद्यार्थीहरूको प्रतिभा पहिचान र प्रोत्साहनका लागि विद्यालयस्तरमै यस्ता गतिविधि विस्तार गर्न आवश्यक रहेको बताए ।

त्यसैगरी वडा नम्बर ८ का वडा अध्यक्ष नितेश चौधरीले विद्यालयमा खेलकुद सप्ताह आयोजना हुनु खुशीको विषय भएको बताउँदै वडाको तर्फबाट आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले स्वस्थ विद्यार्थी नै समृद्ध समाजको आधार भएको उल्लेख गरे ।

उक्त अवसरमा नगरपालिकाका शिक्षा शाखाका अर्का प्रतिनिधि विवेक यादव, जनपद प्रहरी तथा सशस्त्र प्रहरीका प्रतिनिधिहरू, शिक्षक, अभिभावक तथा विद्यार्थीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,२० गते माघ ।

रौतहट जिल्लाको यमुनामाई गाउँपालिका–सरूअठाका प्रथम गाउँपालिका अध्यक्ष तथा नेकपा नेता, प्रखर वक्ता श्रीप्रसाद मुखिया बिनको गएराति असामयिक निधन भएको छ । स्वास्थ्यमा एक्कासी समस्या आएपछि उपचारका लागि अस्पताल लैजाने क्रममा हृदयघातका कारण उहाँको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

उहाँको निधनले यमुनामाई गाउँपालिका मात्र नभई सम्पूर्ण रौतहट जिल्ला र राजनीतिक क्षेत्रले एक अनुभवी, कर्मठ तथा जनउत्तरदायी नेतृत्व गुमाएको छ । जनप्रतिनिधिका रूपमा उहाँ सधैं जनताको आवाज बुलन्द रूपमा उठाउँदै स्थानीय विकास, सुशासन र सामाजिक न्यायका पक्षमा सक्रिय रहनुहुन्थ्यो । उहाँका योगदानहरू जनतामाझ सदैव स्मरणीय रहने स्थानीयवासीहरूले बताएका छन् ।

स्वर्गीय मुखिया बिनको निधनप्रति विभिन्न राजनीतिक दल, जनप्रतिनिधि, सामाजिक संघ–संस्था तथा शुभेच्छुकहरूले गहिरो दुःख व्यक्त गर्दै श्रद्धाञ्जली अर्पण गरेका छन् ।

यस दुःखद घडीमा शोकसन्तप्त परिवारजन, आफन्त, सहकर्मी तथा समर्थकहरूप्रति गहिरो समवेदना व्यक्त गरिएको छ। दिवंगत आत्माको चिरशान्तिको कामनासहित ईश्वरले परिवारलाई यो अपूरणीय क्षति सहन सक्ने धैर्य प्रदान गरून् भन्ने प्रार्थना गरिएको छ ।

हनुमत कुमार यादव,गाैर,१९ गते माघ । 

रौतहट जिल्लाको राजदेवी नगरपालिका–७ मुडवलवामा सञ्चालित नेमधारी बासुदेव नमुना माध्यमिक विद्यालयले विविध शैक्षिक, खेलकुद तथा सांस्कृतिक कार्यक्रम आयोजना गर्दै आफ्नो ६६औँ स्थापना दिवस तथा वार्षिकोत्सव भव्य र सभ्य रूपमा सम्पन्न गरेको छ।

वि.सं. २०१७ माघ १९ गते प्राथमिक विद्यालयको रूपमा स्थापना भएको यस विद्यालयले सप्ताहव्यापी कार्यक्रममार्फत वार्षिकोत्सव मनाएको हो। समारोहको अवसरमा खेलकुद प्रतियोगिता, कविता वाचन, कला तथा सांस्कृतिक प्रस्तुति लगायतका गतिविधि सञ्चालन गरिएका थिए ।

विद्यालय प्रांगणमा आयोजित मुख्य समारोहमा प्रमुख अतिथि पूर्व संविधानसभा सदस्य रम्भा देवी यादवले नेमधारी चौधरी र बसुदेवी चौधरीले गाउँका छोरी–बुहारीलाई शिक्षित बनाउने उद्देश्यले आफ्नो सम्पत्ति दान गरी स्थापना गरेको विद्यालय आज जिल्लामै शिक्षाको क्षेत्रमा दोस्रो स्थान हासिल गरेकोमा खुशी व्यक्त गरिन्। उनले विद्यालयमा केटाभन्दा छोरीहरूको सहभागिता बढी देखिनु समाज शिक्षातर्फ उन्मुख हुँदै गएको सकारात्मक संकेत भएको उल्लेख गरिन्। विगतमा छोरी घरको काममा सीमित रहने र छोरा मात्रै विद्यालय जाने सोच अहिले परिवर्तन भएको बताउँदै यसलाई समाजको उपलब्धि भएको धारणा राखिन् ।

त्यस्तै, राजदेवी नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत विकाउ कुमार यादवले वर्तमान समयमा शिक्षा सबैका लागि अपरिहार्य रहेको बताउँदै अभिभावकलाई आफ्ना छोराछोरीलाई नियमित विद्यालय पठाउन आग्रह गरे। शिक्षा प्राप्त भए घरपरिवार र समाज दुवै शिक्षित र सचेत बन्ने उनको भनाइ थियो।

नेपाल रेडक्रस सोसाइटी, जिल्ला शाखा रौतहटका सभापति राजकिशोर प्रसाद यादवले आफ्ना पूर्वजले छाप्रोबाट सुरु गरेको विद्यालय आज नमुना विद्यालयको रूपमा विकसित भई भौतिक पूर्वाधार र शैक्षिक गुणस्तरमा फड्को मारेको देख्दा गर्व लागेको बताए।

कार्यक्रममा विद्यालयका प्रधानाध्यापक रविशंकर प्रसाद यादवले वार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक तथा भौतिक विकासका आधारमा विद्यालय जिल्लामा दोस्रो र देशभर चौथो स्थान हासिल गर्न सफल भएको जानकारी गराए। सो अवसरमा ३२ वर्षदेखि निरन्तर सेवा पुर्‍याउँदै आएका वरिष्ठ शिक्षक जितेन्द्र प्रसाद यादवलाई दीर्घ सेवा पदक प्रदान गरी सम्मान गरिएको थियो। साथै अन्य शिक्षक, शिक्षिका र कर्मचारीलाई समेत सम्मान गरिएको विद्यालय प्रशासनले जनाएको छ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामेश्वर प्रसाद यादवको सभापतित्वमा सम्पन्न समारोहमा विभिन्न खेलकुद प्रतियोगितामा विजयी विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको थियो। टेकनाथ खतिवडाले सञ्चालन गरेको कार्यक्रममा विद्यार्थीहरूले बाजागाजा तथा विभिन्न भेषभूषासहित मार्चपास प्रदर्शन गरी कार्यक्रमलाई थप आकर्षक बनाएका थिए।

समारोहमा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, पूर्व अध्यक्ष, सेवा निवृत्त प्रधानाध्यापक, शिक्षक–शिक्षिका, अभिभावक तथा स्थानीयवासीको उल्लेख्य उपस्थिति रहेको थियो।

आरके श्रीवास्तव,राैतहट,२० गते माघ ।

कटहरिया । रौतहट जिल्लाको कटहरिया बजारमा अवस्थित माही मेमोरियल पब्लिक स्कुलले बालबालिकाको प्रारम्भिक शिक्षालाई लक्षित गर्दै पिजी कक्षा (प्ले ग्रुप) सञ्चालनमा ल्याएको छ । विद्यालयका फाउन्डर राजाबाबु साहका अनुसार सरस्वती पूजाको शुभ अवसर पारेर औपचारिक रूपमा उक्त कक्षाको शुभारम्भ गरिएको हो ।

नवसञ्चालित पिजी कक्षामा साना बालबालिकाको शारीरिक, मानसिक तथा बौद्धिक विकासलाई ध्यानमा राखी आधुनिक र बालमैत्री शिक्षण पद्धति अपनाइएको छ । कक्षामा टिभीमार्फत शैक्षिक गेम देखाइने, डिजिटल स्लेटको प्रयोग गरिने तथा विभिन्न खेलकुद सामग्रीको व्यवस्था गरिएको छ, जसले बालबालिकालाई खेल्दै सिक्ने वातावरण प्रदान गर्ने विश्वास विद्यालयले लिएको छ ।

विद्यालय व्यवस्थापनका अनुसार पिजी कक्षामा अनुभवी तथा मायालु शिक्षक–शिक्षिकामार्फत बालबालिकालाई सुरक्षित, रमाइलो र सिकाइमैत्री वातावरणमा राखिनेछ । अभिभावकको बढ्दो अपेक्षा र बालबालिकाको गुणस्तरीय प्रारम्भिक शिक्षाको आवश्यकतालाई मध्यनजर गर्दै यो कक्षा सञ्चालनमा ल्याइएको फाउन्डर साहले बताउनुभयो ।

स्थानीय अभिभावकहरूले पनि अत्याधुनिक सुविधा सहितको पिजी कक्षा सञ्चालनमा आएकोमा खुशी व्यक्त गरेका छन् । माही मेमोरियल पब्लिक स्कुलले यस पहलबाट बालबालिकाको उज्ज्वल भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएकाे छ ।

आरके श्रीवास्तव,राैतहट,१९ गते माघ । 

रौतहट–२ का कांग्रेस उम्मेदवार डा. फिरदोस आलमद्वारा सामाजिक सञ्जालको अराजक गतिविधिप्रति खेद

रौतहट क्षेत्र नम्बर २ बाट नेपाली काँग्रेसका उम्मेदवार डा. फिरदोस आलमले सामाजिक सञ्जालमार्फत फैलाइँदै आएको अराजक, उत्तेजक तथा गालीगलौजपूर्ण गतिविधिप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् ।

डा. आलमले सामाजिक सञ्जाल फेसबुक तथा टिकटकजस्ता प्लेटफर्म प्रयोग गरी समाजमा द्वेष फैलाउने, जनतालाई उत्तेजित बनाउने, अश्लील तथा उच्छृंखल सामग्री पोस्ट गर्ने कार्यप्रति खेद प्रकट गर्दै यस्ता गतिविधिमा संलग्न व्यक्तिहरूलाई तत्काल पक्राउ गर्न सम्बन्धित निकायसँग जोडदार माग गरेका छन् ।

उनले दोषीलाई प्रचलित कानुन बमोजिम हदैसम्मको सजाय दिनुपर्नेमा जोड दिँदै सामाजिक सद्भाव, शान्ति र लोकतान्त्रिक मूल्य–मान्यताको रक्षा गर्न राज्य संयन्त्र जिम्मेवार ढंगले अगाडि बढ्नुपर्ने बताएका छन् ।

डा. आलमले सामाजिक सञ्जालको दुरुपयोगले समाजमा गलत सन्देश जाने भन्दै सबै नागरिकलाई जिम्मेवार र मर्यादित अभिव्यक्ति प्रयोग गर्नसमेत आग्रह गरेका छन् ।

आरके श्रीवास्तव,राैतहट,१८ गते माघ ।
राैतहटकाे गुजरा नगरपालिका अन्तर्गत सिमराभवानीपुर बजारमा ६४९ औँ शिरोमणि गुरु श्री रविदास जन्मोत्सव समारोह भव्य रूपमा सम्पन्न भएको छ । चमार कल्याण समाज नेपालद्वारा आयोजित उक्त कार्यक्रममा उत्साह, श्रद्धा र सामुदायिक एकताको अनुपम दृश्य देखिएको थियो ।


हवन–जापबाट सुरु भएको कार्यक्रम नगर परिक्रमा सहित अघि बढेको थियो । परिक्रमाका क्रममा गुरु रविदासको जयजयकार गर्दै सहभागीहरूले सामाजिक सद्भाव र समानताको सन्देश प्रवाह गरेका थिए । कार्यक्रममा चमार समाजका अगुवा, बुद्धिजीवी, युवाहरू तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।


समारोहको अध्यक्षता चमार कल्याण समाज नेपालका उपाध्यक्ष पुनीत रामले गरेका थिए । कार्यक्रमका प्रमुख अतिथि गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल प्रसाद चौधरी तथा विशिष्ट अतिथि चन्द्रपुर अस्पतालका संचालक सुबास चौधरी रहेका थिए ।


वक्ताहरूले १५ औँ शताब्दीका महान सन्त गुरु रविदासको जीवन, दर्शन र समाज सुधारमा उहाँले पुर्‍याउनुभएको योगदानमाथि प्रकाश पारे । जातीय विभेद, छुवाछुत र अन्यायविरुद्ध आवाज उठाउँदै मानव समानता, श्रमको सम्मान र प्रेमको मार्ग देखाउने गुरु रविदासको शिक्षा आज पनि उत्तिकै सान्दर्भिक रहेको उनीहरूको भनाइ थियो । “मन चंगा तो कठौती में गंगा” जस्ता वाणीले समाजलाई सकारात्मक सोच र आत्मशुद्धितर्फ प्रेरित गर्ने उल्लेख गरियो ।


अध्यक्षीय मन्तव्यमा पुनीत रामले गुरु रविदासको शिक्षाले समुदायलाई आत्मसम्मान, एकता र चेतनाको मार्गमा अघि बढ्न प्रेरणा दिएको बताए ।
प्रमुख अतिथि सन्तलाल प्रसाद चौधरीले विभेदरहित समाज निर्माणमा गुरु रविदासको सन्देश महत्वपूर्ण रहेको भन्दै मानवताको मूल्य आत्मसात गर्नुपर्नेमा जोड दिए ।
विशिष्ट अतिथि सुबास चौधरीले गुरु रविदासका विचारले नयाँ पुस्तालाई सही दिशा दिने उल्लेख गर्दै शिक्षित, सचेत र एकताबद्ध समाज निर्माण आजको आवश्यकता भएको बताए ।
कार्यक्रममा सांस्कृतिक प्रस्तुति, शुभकामना आदान–प्रदान र सामुदायिक अन्तरक्रियाले समारोहलाई थप अर्थपूर्ण बनाएको आयोजकले जानकारी दिएका छन् । कार्यक्रममा अतिथिहरू लाई सम्मान पनि गरिएको थियोे ।

फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,१७ गते माघ । 

रौतहट  । नेपाली कम्युनिष्ट पार्टी (नेकपा) कटहरिया नगरपालिका अन्तर्गत २२५ सदस्यीय नगर स्तरीय निर्वाचन परिचालन समिति भव्य रूपमा गठन गरिएको छ ।

आगामी निर्वाचनलाई लक्षित गर्दै गठन गरिएको उक्त समितिको अध्यक्षतामा मेयर प्रत्यासी नसरूदिन अंसारी चयन भएका छन् भने सह–संयोजकको जिम्मेवारी भूपेन्द्र महतोले पाएका छन् ।

समिति गठन कार्यक्रममा पार्टीका स्थानीय नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । समितिले निर्वाचन अवधिभर पार्टीको नीति, कार्यक्रम तथा उम्मेदवारहरूको पक्षमा संगठित रूपमा प्रचार–प्रसार तथा परिचालनको कार्य गर्ने जनाइएको छ ।

यसैबीच, रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभाका लागि पुनम यादवले उम्मेदवारी दर्ता गरिसकेको जानकारी पनि कार्यक्रममा दिइएको छ । पार्टीले क्षेत्रीय तथा नगर स्तरमा संगठनलाई थप सशक्त बनाउँदै निर्वाचनमा प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,१७ गते माघ ।
रौतहट क्षेत्र नम्बर ३ का नेपाली काँग्रेसका उम्मेदवार रामकृपाल यादवले पत्रकारहरू सँग कुराकानी गर्नु हुँदै भावुक अभिव्यक्ति दिएका छन् । उनले शिक्षण पेशा तथा स्थायी जागिर त्यागेर राजनीतिमा आएको बताउँदै यो निर्णय व्यक्तिगतभन्दा बढी सामाजिक उत्तरदायित्वबाट प्रेरित भएको स्पष्ट पारेका छन् ।

यादवले भने, “मैले शिक्षण पेशा छोडेर आफ्ना छोरा–छोरीमाथि अन्याय गरेको जस्तो लाग्न सक्छ, तर मेरो परिवारमाथि अन्याय हुँदा पनि समाजमाथि अन्याय नहोस् भन्ने सोचले राजनीतिमा आएको हुँ ।” उनले देशमा अमेरिकाजस्तो नेतृत्व खोज्ने हो भने त्यस्तै सचेत र जिम्मेवार मतदाता तथा नागरिक पनि आवश्यक पर्ने धारणा राखे ।

 

आफूले ठूलो साहसका साथ राजनीतिमा प्रवेश गरेको उल्लेख गर्दै उनले यो चुनाव आफू मात्र होइन, क्षेत्र नम्बर ३ का जनताका लागि पनि “अग्निपरीक्षा” भएको बताए । “मतदाताले मलाई सेवकका रूपमा काम गर्ने अवसर दिनुहुन्छ कि शासक बन्न खोज्ने व्यक्तिलाई रोज्नुहुन्छ, त्यो निर्णय अब जनताको हातमा छ,” उनले भने ।

धेरैले आफूले जागिर छोडेर राजनीतिमा आउने कल्पना नगरेको स्मरण गर्दै यादवले राजनीति पैसा र शक्तिको खेलमा सीमित भए राम्रो सोच भएका र समाज निर्माणको अभियानमा लाग्न चाहने व्यक्तिहरू अघि नबढ्ने चेतावनी दिए । उनले नयाँ र पुरानोको बहसमा केही पुरानै अनुहार नयाँको आवरणमा आउने गरेको टिप्पणी पनि गरे ।

“हामी युवा नेतृत्वको सोचसहित परिवर्तन र सुशासन खोज्दै आएका छौं,” यादवले भने, “यसपटक क्षेत्र नम्बर ३ का प्रत्येक नागरिकले बदलाव चाहेका छन् ।”

पहिले आरामदायी जीवन बिताइरहेको उल्लेख गर्दै उनले अहिले जनतामाझ दौडधुप गरिरहेको बताए । “मैले पेशा छोडेको छु भने अवश्य नै मेरो भित्र समाजका लागि केही गर्ने दृढ सोच छ,” उनले भावुक हुँदै थपे ।

आरके श्रीवास्तव,रा‌ैतहट,१६ गते माघ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालका तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले आज (शुक्रबार) गरूडा नगरपालिका वडा नम्बर ७ पिपरियामा मतदातासँग प्रत्यक्ष भेटघाट गरेका छन् ।


भेटघाटका क्रममा स्थानीय मतदाताहरूले आफूहरूले सांसद भएको अनुभूति गर्न नसकेको गुनासो गरेका थिए । शिक्षा र स्वास्थ्यजस्ता आधारभूत क्षेत्रमा अझै पनि क्षेत्र पछाडि रहेको भन्दै उनीहरूले असन्तुष्टि व्यक्त गरे । पिपरिया पुल अहिलेसम्म पनि निर्माण हुन नसक्नु विकासको स्पष्ट उदाहरण भएको मतदाताहरूको भनाइ थियो । “हामी परिवर्तन चाहन्छौं,” उनीहरूले बताएका थिए ।


मतदाताको जिज्ञासा र गुनासोको जवाफ दिँदै उम्मेदवार चौधरीले परिवर्तनको चाहना जनतामै रहेको उल्लेख गरे । “जनताको आग्रह र चाहनाका कारण नै मैले उम्मेदवारी दिएको हुँ,” उनले भने, “यदि तपाईंहरूलाई लाग्छ म परिवर्तन गर्न सक्छु भने मलाई मत दिनुहोस् । यो मेरो अन्तिम प्रयास हो।”
गोविन्द चौधरीले आफू जनताबाटै बनेको नेता भएको उल्लेख गर्दै भने, “गोविन्द चौधरीलाई जनताले गोविन्द चौधरी बनाएका हुन् । तपाईंहरूले चाहनुभयो भने परिवर्तन अवश्य सम्भव छ।”


कार्यक्रममा गरूडा नगरपालिकाका मेयर प्रत्यासी अनिल यादवसहित जसपा नेपालका अन्य नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।