चन्द्रपुर । रौतहटको चन्द्रपुर नगरपालिका–६ डावरीटोलबाट प्रहरीले ब्राउन सुगर (खैरो हिरोइन) जस्तो देखिने लागूऔषधसहित दुई जनालाई पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय चपुरमा प्राप्त विशेष सूचनाको आधारमा प्रहरी निरीक्षकसहितको टोलीले शुक्रबार साँझ करिब ६:३० बजे चन्द्रपुर–६ डावरीटोलमा खानतलासी गरेको थियो। सो क्रममा स्थानीय बलराम सापकोटाका २६ वर्षीय छोरा निराश कुमार सापकोटाको शरीर तथा साथमा रहेको पर्स जाँच गर्दा कालो प्लास्टिकमा बेरेर लुकाइछिपाइ राखिएको खैरो हिरोइन जस्तो देखिने धुलो पदार्थ फेला परेको प्रहरीले जनाएको छ।
बरामद पदार्थको तौल गर्दा प्लास्टिकसहित ०.१६० मिलिग्राम र प्लास्टिकबाहेक ०.०८० मिलिग्राम रहेको बताइएको छ। साथै सापकोटाको साथबाट नगद रु. ३२ हजार २९० समेत बरामद गरिएको प्रहरीले जनाएको छ।
प्रारम्भिक अनुसन्धानका क्रममा उक्त पदार्थ बिक्री गर्ने व्यक्तिका रूपमा चन्द्रपुर–६ शान्तिनगर टोल निवासी खडानन्द न्यौपानेका ३० वर्षीय छोरा विकास न्यौपानेको संलग्नता खुलेपछि उनलाई पनि रु. २२ हजार ३९० नगदसहित नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
दुवै जनालाई इलाका प्रहरी कार्यालय चपुरमा राखी लागूऔषध सम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
घटना स्थल इलाका प्रहरी कार्यालय चपुरबाट करिब ३ किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा पर्ने बताइएको छ। प्रहरीले घटनाबारे थप विवरण अनुसन्धानपछि सार्वजनिक गर्ने जनाएको छ।
अशोक यादव,रौतहट, जेठ २५ ।
रौतहटको गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित समनपुर–गरुडा सडकखण्डमा सवारी साधनको ठक्करबाट ज्यान गुमाएका प्रमोद सहनीलाई न्यायको माग गर्दै सोमबार स्थानीयवासी तथा आफन्तहरूले प्रदर्शन गरेका छन् ।
गरुडा नगरपालिका–९ मलाहीटोल निवासी ४३ वर्षीय प्रमोद सहनीको आइतबार बिहान अज्ञात सवारी साधनको ठक्करबाट मृत्यु भएको थियो ।
घटनापछि दोषी सवारी चालकलाई पक्राउ गरी कारबाही गर्नुपर्ने तथा पीडित परिवारलाई उचित क्षतिपूर्ति उपलब्ध गराउनुपर्ने मागसहित स्थानीयवासी आन्दोलनमा उत्रिएका हुन्।
सोमबार दिउँसो प्रदर्शनकारीहरूले गौर–चन्द्रनिगाहपुर सडकखण्ड अन्तर्गत गरुडा मेथुर चोकमा शव राखेर सडक अवरुद्ध गरेका थिए । प्रदर्शनका कारण केही समय उक्त सडकखण्डमा यातायात सेवा प्रभावित बनेको थियो।
प्रदर्शनकारीहरूले घटनाको निष्पक्ष छानबिन गरी दोषीलाई कानुनी दायरामा ल्याउन माग गरेका थिए । जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी नायब उपरीक्षक वसन्त गौतमका अनुसार मृतक सहनीको शव गढीमाई नगरपालिका–४ सुन्दरपुरस्थित सडकमा साइकलसहित फेला परेको थियो ।
उनको बाँया खुट्टा साइकलको ह्यान्डलमा अड्किएको अवस्थामा रहेको तथा टाउकोमा गम्भीर चोट देखिएको प्रहरीले जनाएको छ । प्रहरीले अज्ञात सवारी साधनले ठक्कर दिएको प्रारम्भिक अनुमान गर्दै घटनामा संलग्न सवारी साधन र चालकको खोजी कार्य जारी रहेको जनाएको छ ।
मृतकको शव परीक्षणका लागि प्रादेशिक अस्पताल गौरमा राखिएको थियो । स्थानीयवासीहरूले पीडित परिवारलाई न्याय नदिइए आन्दोलनलाई थप सशक्त बनाउने चेतावनी दिएका छन् ।
यता प्रहरीले घटनाबारे गम्भीरतापूर्वक अनुसन्धान भइरहेको र दोषीको पहिचान तथा पक्राउका लागि आवश्यक प्रक्रिया अघि बढाइएको जनाएको छ ।
शिवनाथ कुशवाहा ,रौतहट,२२ गते जेठ ।
रौतहटको फतुवा विजयपुर नगरपालिकामा पछिल्लो समय स्थानीय सरकारका विकास निर्माणका कामहरू प्रभावकारी रूपमा देखिन थालेका छन् । नगर क्षेत्रका विभिन्न कृषि तथा ग्रामीण सडकहरू स्तरोन्नति र ढलान हुने क्रम जारी रहेको छ, जसले स्थानीयवासीमा उत्साह थपेको छ । 
नगरपालिकाको वडा नम्बर १ घुसुकपुरमा कार्यवाहक नगरप्रमुख अम्बेया खातुनको बजेटबाट ३ सय मिटरभन्दा बढी सडक ढलानको काम भइरहेको छ । उक्त सडक निर्माण सम्पन्न भएपछि स्थानीयवासी तथा किसानहरूलाई आवतजावत र कृषि उत्पादन ओसारपसारमा सहज हुने अपेक्षा गरिएको छ ।
यसैगरी, सन्तपुरदेखि घुसुकपुर जोड्ने सडकलाई ढलानका लागि तयारीस्वरूप आज स्तरोन्नति (लेभलिङ तथा ग्राभेलिङ) कार्य गरिएको छ ।
यस सडकको स्तरोन्नतिपछि आगामी चरणमा ढलान कार्य गरिने जनाइएको छ । कार्यक्रममा सहभागी प्रदेश सभा सदस्यका पूर्व प्रत्याशी मोहम्मद सेराजले स्थानीय सरकार विकास निर्माणका काममा सक्रिय भएको बताउँदै ग्रामीण सडक पूर्वाधारको विकासले आर्थिक तथा सामाजिक परिवर्तनमा महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले भने, “विकासको आधार नै सडक हो । सडक राम्रो भए किसानले आफ्नो उत्पादन सहज रूपमा बजारसम्म पु¥याउन सक्छन्, विद्यार्थी र सर्वसाधारणलाई आवतजावतमा सुविधा हुन्छ। फतुवा विजयपुरमा अहिले भइरहेका सडक निर्माणका कामले स्थानीयको जीवनस्तर सुधार्न मद्दत पुग्नेछ ।
” सेराजले विकास निर्माणका कामलाई गुणस्तरीय र समयमै सम्पन्न गर्नुपर्नेमा जोड दिँदै जनताको आवश्यकतालाई केन्द्रमा राखेर थप योजनाहरू अघि बढाउन आग्रह गरे । उनले नगरको समग्र विकासका लागि सबै पक्षबीच सहकार्य आवश्यक रहेको पनि बताए । स्थानीयवासीहरूले समेत लामो समयदेखि कच्ची र जीर्ण अवस्थामा रहेका सडकहरू ढलान हुन थालेपछि खुसी व्यक्त गरेका छन् ।

कृषि क्षेत्रमा निर्भर अधिकांश बासिन्दाले सडक सुधारसँगै उत्पादनको ढुवानी तथा दैनिक आवतजावत सहज हुने विश्वास व्यक्त गरेका छन् । स्थानीय सरकारको पहलमा नगरभित्रका पूर्वाधार विकासका कामले गति लिन थालेपछि फतुवा विजयपुरमा विकासको अनुभूति हुन थालेको स्थानीयहरूको भनाइ छ ।
आरके श्रीवास्तव,रौतहट,२२ गते जेठ ।
विश्व वातावरण दिवसको अवसरमा रौतहटको कटहरियामा वृक्षारोपण कार्यक्रम सम्पन्न गरिएको छ । बाल कल्याण विद्या मन्दिरका विद्यार्थीहरूले वातावरण संरक्षण र हरियाली प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न स्थानमा वृक्षारोपण गरेका हुन् । विद्यालयका संस्थापक (फाउण्डर) बैजु दास बानियाँका अनुसार कटहरियास्थित इलाका प्रहरी कार्यालय, बौधीमाता मन्दिर परिसर लगायतका सार्वजनिक स्थानहरूमा विद्यार्थीहरूको सक्रिय सहभागितामा वृक्षारोपण गरिएको हो ।
यस अवसरमा विद्यालयका विद्यार्थीहरूले कटहरिया नगर क्षेत्रको परिक्रमा गर्दै वातावरण संरक्षणसम्बन्धी जनचेतना फैलाएका थिए । उनीहरूले “हरियो वन, नेपालको धन”, “वृक्ष रोपौं, वातावरण जोगाऔं”, “स्वच्छ वातावरण, स्वस्थ जीवन” जस्ता नारासहितका प्लेकार्ड बोकेर नगरवासीलाई वातावरण संरक्षणमा सचेत गराउने प्रयास गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै फाउण्डर बैजु दास बानियाँले वातावरण संरक्षण आजको प्रमुख आवश्यकता भएको बताए । उनले वृक्षारोपणलाई केवल औपचारिक कार्यक्रममा सीमित नराखी रोपिएका बिरुवाको संरक्षण र हेरचाहमा समेत ध्यान दिनुपर्नेमा जोड दिए । उनले भने, “वातावरण संरक्षणको जिम्मेवारी सरकार वा कुनै एक निकायको मात्र होइन, हामी सबैको साझा दायित्व हो। विद्यार्थीहरूलाई सानैदेखि प्रकृतिप्रति जिम्मेवार बनाउने उद्देश्यले यो कार्यक्रम आयोजना गरिएको हो ।
एउटा बिरुवाले भविष्यमा समाजलाई अक्सिजन, हरियाली र स्वच्छ वातावरण प्रदान गर्छ, त्यसैले प्रत्येक व्यक्तिले कम्तीमा एउटा बिरुवा रोपेर त्यसको संरक्षण गर्नुपर्छ । ” उनले जलवायु परिवर्तन, बढ्दो प्रदूषण तथा वन विनाशका कारण वातावरणीय चुनौतीहरू बढ्दै गइरहेको उल्लेख गर्दै यस्ता सचेतनामूलक कार्यक्रमले नयाँ पुस्तामा सकारात्मक सन्देश प्रवाह गर्ने विश्वास व्यक्त गरे ।
वृक्षारोपण तथा जनचेतनामूलक ¥यालीमा विद्यालयका शिक्षक, विद्यार्थी तथा स्थानीयवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले कटहरिया क्षेत्रमा वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको सहभागीहरूले बताएका छन् ।
आरके श्रीवास्तव,रौतहट,२२ गते जेठ ।
रौतहटको फतुवा विजयपुर–२ सितलपुरमा वर्षौंदेखि अलपत्र अवस्थामा रहेको खानेपानी आयोजनाको निर्माण कार्य अहिले तीव्र गतिमा अघि बढिरहेको छ । आयोजना सम्पन्न भएपछि ५ हजारभन्दा बढी स्थानीय बासिन्दाले शुद्ध तथा सुरक्षित खानेपानीको सुविधा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
खानेपानी उपभोक्ता समितिका अध्यक्ष हरिकिशोर राय यादव (परमानन्द) का अनुसार मधेश प्रदेश सरकार अन्तर्गत खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय रौतहटको ९० लाख रुपैयाँ बजेटमा ठेक्का प्रक्रियामार्फत सुमित आरपी जेबीले निर्माण कार्य गरिरहेको छ । हालसम्म खानेपानी ट्यांकीका लागि आवश्यक पिलर निर्माण सम्पन्न भइसकेको छ भने अब ओभरहेड ट्यांकी निर्माणको काम सुरु गरिने तयारी गरिएको उनले जानकारी दिए ।

हालसम्म अधिकांश स्थानीयवासी ह्याण्डपाइपको भरमा खानेपानी उपभोग गर्न बाध्य रहेका छन् । आयोजना सम्पन्न भएपछि घरघरमा शुद्ध खानेपानी पुग्ने भएकाले स्थानीयको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने विश्वास गरिएको छ । यसैबीच, वडा नं. २ का वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (संजय) ले आफू निर्वाचित भएदेखि नै वडाको समग्र विकासलाई प्राथमिकतामा राखेर काम गर्दै आएको बताए । उनले खानेपानी आयोजना वर्षौंदेखि अलपत्र परेकाले यसलाई सम्पन्न गराउन सम्बन्धित निकायसँग निरन्तर पहल र समन्वय गरेको उल्लेख गरे ।

वडा अध्यक्ष यादवले भने, “स्थानीय नागरिकको आधारभूत आवश्यकता पूरा गर्नु हाम्रो पहिलो दायित्व हो । खानेपानी आयोजना सम्पन्न भएपछि हजारौं नागरिक प्रत्यक्ष लाभान्वित हुनेछन् । यसले जनस्वास्थ्य सुधारका साथै दैनिक जीवनलाई सहज बनाउनेछ ।” उनले आफ्नो कार्यकालमा खानेपानी मात्र नभई शिक्षा, स्वास्थ्य र कृषिका क्षेत्रमा समेत उल्लेखनीय काम भएको दाबी गरे।
विद्यालयको शैक्षिक वातावरण सुधार, स्वास्थ्य सेवाको पहुँच विस्तार तथा कृषकलाई आवश्यक सहयोग उपलब्ध गराउने विषयमा निरन्तर पहल भइरहेको उनले बताए । स्थानीयवासीले पनि लामो समयदेखि रोकिएको आयोजना पुनः निर्माण चरणमा प्रवेश गरेपछि खुसी व्यक्त गरेका छन् । निर्माण कार्य निर्धारित समयमै सम्पन्न भएमा सितलपुरका हजारौं नागरिकले पहिलो पटक व्यवस्थित खानेपानी सेवा प्राप्त गर्नेछन् ।
शिवनाथ कुशवाहा ,रौतहट,२० गते जेठ ।
रौतहटको गरुडा नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय गेडहीगुठीमा प्रधानाध्यापक मौजेलाल साह आएपछि विद्यालयको भौतिक तथा शैक्षिक विकासले तीव्र गति लिएको छ । विभिन्न निकायसँग समन्वय र पहल गर्दै उनले विद्यालयको समग्र अवस्था सुधार गर्न सक्रिय रूपमा काम गरिरहेका छन् ।
हाल विद्यालयमा चार कोठे भवन निर्माण कार्य जारी रहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७७ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भइरहेको छ । निर्माण कार्य एसियन कन्स्ट्रक्सन, यमुनामाईले गरिरहेको विद्यालय प्रशासनले जनाएको छ । त्यसैगरी मधेश प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार कार्यालय रौतहटको २२ लाख रुपैयाँको लागतमा दुई कोठे अर्को भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ ।
प्रधानाध्यापक साहकै पहलमा विद्यालय परिसरमा माता सरस्वतीको मन्दिर निर्माण गरिएको छ भने विद्यालयको शैक्षिक वातावरण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । उनले निकट भविष्यमै स्मार्ट बोर्ड सञ्चालनमा ल्याइने जानकारी दिएका छन् ।
विद्यालयमा विद्यार्थीका लागि ४० वटा नयाँ बेन्च निर्माण गरिएको छ भने बाल विकास कक्षामा बालमैत्री सिकाइ वातावरण तयार गरिएको प्रधानाध्यापक साहले बताए । स्थानीयका अनुसार केही वर्षअघिसम्म विद्यालयको अवस्था कमजोर देखिन्थ्यो । तर अहिले कम्पाउण्ड वाल निर्माण, नयाँ भवनहरूको निर्माण तथा शैक्षिक पूर्वाधार विस्तारसँगै विद्यालयको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिएको छ ।
बिधालयमा १ हजार भन्दा बिधार्थी अध्यनरत्त छन् । यस अघि चार कोठो दुइ तले भवन निर्माण भइसकेको छ । त्यसमा पलास्टरको काम मात्र गर्न मात्र बाँकी छ । प्रधानाध्यापक साहले आगामी दुई वर्षभित्र विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।
“विद्यालयको भौतिक संरचना मात्र होइन, शिक्षण सिकाइको गुणस्तरमा समेत सुधार ल्याउने हाम्रो उद्देश्य हो,” उनले भने । विद्यालयमा भइरहेको विकास निर्माणका काम र शैक्षिक सुधारका प्रयासले अभिभावक तथा स्थानीय समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गरेको छ ।
बज्जिकाञ्चल एफएम,रौतहट,जेठ २० गते ।
रौतहटको कटहरिया बजारस्थित पुरानो नेपाल बैंकको भवनमा सञ्चालनमा रहेको न्यूरो पोलिक्लिनिकले सर्वसाधारणका लागि विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । क्लिनिकका सञ्चालक गोविन्द प्रसाद कुशवाहाका अनुसार क्लिनिकमा इमर्जेन्सी, फार्मेसी, एक्स–रे, अक्सिजन, बिरामी निगरानी (मोनिटर), भिडियो एक्स–रे तथा प्रयोगशाला (ल्याब) सेवाको सुविधा उपलब्ध छ ।
उनले विशेषगरी सामान्य रोगहरूको उपचार, ज्वरो, साना–ठूला चोटपटक तथा हड्डी भाँचिएको अवस्थामा प्लास्टर लगाउने सेवा यहीँबाट उपलब्ध हुने भएकाले सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने बताए । कुशवाहाका अनुसार आगामी दिनमा बाहिरी विशेषज्ञ चिकित्सकहरूलाई साप्ताहिक रूपमा क्लिनिकमा ल्याई थप विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।
साथै हरेक शनिबार गाउँ–गाउँमा पुगेर निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना समेत क्लिनिकले बनाएको छ । एक महिनाभन्दा बढी समयदेखि सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थाले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको दाबी गरेको छ । सञ्चालक कुशवाहाले आफ्नै क्षेत्रमा उपलब्ध यस्तो स्वास्थ्य संस्थाबाट लाभ लिन स्थानीयवासीलाई आग्रह गर्दै एकपटक सेवा लिने अवसर दिन अनुरोध गरेका छन् ।
आरके श्रीवास्तव,रौतहट,२० गते जेठ ।
रौतहटको कटहरिया नगरपालिका–४ स्थित श्री आधारभूत स्वास्थ्य केन्द्र कटहरियामा कडा शिघ्र कुपोषणबाट प्रभावित बालबालिकाका लागि खाद्य, पूरक पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको छ । स्वास्थ्य केन्द्रका इन्चार्ज कृष्णनन्दन साहका अनुसार संरक्षण नेपाल रौतहटद्वारा सञ्चालित पोषण परियोजनाको सहयोग तथा रौतहटसँगको सहकार्यमा सञ्चालन भइरहेको पोषण अवस्था लेखाजोखा तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ४३ जना लाभग्राहीलाई सामग्री वितरण गरिएको हो ।
वितरण कार्यक्रममा रातो कार्ड र पहेँलो कार्डधारी कुपोषित बालबालिकाका परिवारलाई प्राथमिकतामा राखिएको थियो । प्रत्येक लाभग्राहीलाई करिब रु. ३,००० बराबरको पोषणयुक्त खाद्य सामग्री तथा सरसफाइ सामग्री८८ उपलब्ध गराइएको इन्चार्ज साहले जानकारी दिए । वितरण गरिएका सामग्रीमा अण्डा, सुपर सिरियल, चना, मुंग दाल लगायतका पोषणयुक्त खाद्य वस्तु समावेश रहेका थिए । साथै बालबालिकाको स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै आवश्यक सरसफाइ सामग्री समेत प्रदान गरिएको थियो । कार्यक्रममा संरक्षण नेपालका प्रतिनिधिहरू रेखा साह र धर्मेन्द्र महतोको सहभागिता रहेको थियो ।
उनीहरूले कुपोषण न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि तथा पोषण सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए । स्थानीय स्वास्थ्यकर्मीहरूले यस्ता कार्यक्रमले कुपोषणको जोखिममा रहेका बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममार्फत कुपोषित बालबालिकाको नियमित अनुगमन तथा आवश्यक पोषण व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको जनाइएको छ ।