२०८३ असार २३
२०८३ असार २३

शिवनाथ कुशवाहा ,रौतहट,२० गते जेठ ।

रौतहटको गरुडा नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय गेडहीगुठीमा प्रधानाध्यापक मौजेलाल साह आएपछि विद्यालयको भौतिक तथा शैक्षिक विकासले तीव्र गति लिएको छ । विभिन्न निकायसँग समन्वय र पहल गर्दै उनले विद्यालयको समग्र अवस्था सुधार गर्न सक्रिय रूपमा काम गरिरहेका छन् ।

हाल विद्यालयमा चार कोठे भवन निर्माण कार्य जारी रहेको छ । शिक्षा तथा मानव स्रोत विकास केन्द्रको राष्ट्रिय शैक्षिक सुधार कार्यक्रम अन्तर्गत ७७ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण भइरहेको छ । निर्माण कार्य एसियन कन्स्ट्रक्सन, यमुनामाईले गरिरहेको विद्यालय प्रशासनले जनाएको छ । त्यसैगरी मधेश प्रदेश सरकार अन्तर्गतको भौतिक पूर्वाधार कार्यालय रौतहटको २२ लाख रुपैयाँको लागतमा दुई कोठे अर्को भवन पनि निर्माणाधीन अवस्थामा रहेको छ ।

प्रधानाध्यापक साहकै पहलमा विद्यालय परिसरमा माता सरस्वतीको मन्दिर निर्माण गरिएको छ भने विद्यालयको शैक्षिक वातावरण सुधारका लागि विभिन्न कार्यक्रम सञ्चालनमा ल्याइएको छ । उनले निकट भविष्यमै स्मार्ट बोर्ड सञ्चालनमा ल्याइने जानकारी दिएका छन् ।

विद्यालयमा विद्यार्थीका लागि ४० वटा नयाँ बेन्च निर्माण गरिएको छ भने बाल विकास कक्षामा बालमैत्री सिकाइ वातावरण तयार गरिएको प्रधानाध्यापक साहले बताए । स्थानीयका अनुसार केही वर्षअघिसम्म विद्यालयको अवस्था कमजोर देखिन्थ्यो । तर अहिले कम्पाउण्ड वाल निर्माण, नयाँ भवनहरूको निर्माण तथा शैक्षिक पूर्वाधार विस्तारसँगै विद्यालयको स्वरूपमा उल्लेखनीय परिवर्तन देखिएको छ ।

बिधालयमा १ हजार भन्दा बिधार्थी अध्यनरत्त छन् । यस अघि चार कोठो दुइ तले भवन निर्माण भइसकेको छ । त्यसमा पलास्टरको काम मात्र गर्न मात्र बाँकी छ । प्रधानाध्यापक साहले आगामी दुई वर्षभित्र विद्यालयलाई नमुना शैक्षिक संस्थाको रूपमा विकास गर्ने लक्ष्य रहेको बताए ।

“विद्यालयको भौतिक संरचना मात्र होइन, शिक्षण सिकाइको गुणस्तरमा समेत सुधार ल्याउने हाम्रो उद्देश्य हो,” उनले भने । विद्यालयमा भइरहेको विकास निर्माणका काम र शैक्षिक सुधारका प्रयासले अभिभावक तथा स्थानीय समुदायमा समेत सकारात्मक सन्देश प्रवाह गरेको छ ।

 बज्जिकाञ्चल एफएम,रौतहट,जेठ २० गते ।

रौतहटको कटहरिया बजारस्थित पुरानो नेपाल बैंकको भवनमा सञ्चालनमा रहेको न्यूरो पोलिक्लिनिकले सर्वसाधारणका लागि विभिन्न स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको छ । क्लिनिकका सञ्चालक गोविन्द प्रसाद कुशवाहाका अनुसार क्लिनिकमा इमर्जेन्सी, फार्मेसी, एक्स–रे, अक्सिजन, बिरामी निगरानी (मोनिटर), भिडियो एक्स–रे तथा प्रयोगशाला (ल्याब) सेवाको सुविधा उपलब्ध छ ।

उनले विशेषगरी सामान्य रोगहरूको उपचार, ज्वरो, साना–ठूला चोटपटक तथा हड्डी भाँचिएको अवस्थामा प्लास्टर लगाउने सेवा यहीँबाट उपलब्ध हुने भएकाले सामान्य उपचारका लागि बाहिर जानुपर्ने बाध्यता कम हुने बताए । कुशवाहाका अनुसार आगामी दिनमा बाहिरी विशेषज्ञ चिकित्सकहरूलाई साप्ताहिक रूपमा क्लिनिकमा ल्याई थप विशेषज्ञ सेवा प्रदान गर्ने लक्ष्य राखिएको छ ।

साथै हरेक शनिबार गाउँ–गाउँमा पुगेर निःशुल्क स्वास्थ्य सेवा सञ्चालन गर्ने योजना समेत क्लिनिकले बनाएको छ । एक महिनाभन्दा बढी समयदेखि सञ्चालनमा रहेको उक्त स्वास्थ्य संस्थाले स्थानीय बासिन्दालाई सहज र गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गरिरहेको दाबी गरेको छ । सञ्चालक कुशवाहाले आफ्नै क्षेत्रमा उपलब्ध यस्तो स्वास्थ्य संस्थाबाट लाभ लिन स्थानीयवासीलाई आग्रह गर्दै एकपटक सेवा लिने अवसर दिन अनुरोध गरेका छन् ।

आरके श्रीवास्तव,रौतहट,२० गते जेठ ।

रौतहटको कटहरिया नगरपालिका–४ स्थित श्री आधारभूत स्वास्थ्य केन्द्र कटहरियामा कडा शिघ्र कुपोषणबाट प्रभावित बालबालिकाका लागि खाद्य, पूरक पोषण तथा सरसफाइ सामग्री वितरण गरिएको छ । स्वास्थ्य केन्द्रका इन्चार्ज कृष्णनन्दन साहका अनुसार संरक्षण नेपाल रौतहटद्वारा सञ्चालित पोषण परियोजनाको सहयोग तथा रौतहटसँगको सहकार्यमा सञ्चालन भइरहेको पोषण अवस्था लेखाजोखा तथा व्यवस्थापन कार्यक्रम अन्तर्गत ४३ जना लाभग्राहीलाई सामग्री वितरण गरिएको हो ।

वितरण कार्यक्रममा रातो कार्ड र पहेँलो कार्डधारी कुपोषित बालबालिकाका परिवारलाई प्राथमिकतामा राखिएको थियो । प्रत्येक लाभग्राहीलाई करिब रु. ३,००० बराबरको पोषणयुक्त खाद्य सामग्री तथा सरसफाइ सामग्री८८ उपलब्ध गराइएको इन्चार्ज साहले जानकारी दिए । वितरण गरिएका सामग्रीमा अण्डा, सुपर सिरियल, चना, मुंग दाल लगायतका पोषणयुक्त खाद्य वस्तु समावेश रहेका थिए । साथै बालबालिकाको स्वास्थ्य तथा सरसफाइलाई ध्यानमा राख्दै आवश्यक सरसफाइ सामग्री समेत प्रदान गरिएको थियो । कार्यक्रममा संरक्षण नेपालका प्रतिनिधिहरू रेखा साह र धर्मेन्द्र महतोको सहभागिता रहेको थियो ।

उनीहरूले कुपोषण न्यूनीकरणका लागि समुदायस्तरमा सचेतना अभिवृद्धि तथा पोषण सुधारका कार्यक्रमहरूलाई निरन्तरता दिइने बताए । स्थानीय स्वास्थ्यकर्मीहरूले यस्ता कार्यक्रमले कुपोषणको जोखिममा रहेका बालबालिकाको स्वास्थ्य अवस्थामा सुधार ल्याउन सहयोग पुग्ने विश्वास व्यक्त गरेका छन् । कार्यक्रममार्फत कुपोषित बालबालिकाको नियमित अनुगमन तथा आवश्यक पोषण व्यवस्थापनलाई समेत प्राथमिकता दिइएको जनाइएको छ ।

आरके श्रीवास्तव,रौतहट,२१ गते जेठ । रौतहटको कटहरिया नगरपालिकाको कार्यालय तथा विभिन्न वडा कार्यालयमा लगाइएको तालाबन्दी आजदेखि खुलेको छ । कर्मचारीहरूको तलब भुक्तानीसम्बन्धी समस्या समाधान गर्ने सहमतिपछि तालाबन्दी खोलिएको नगरपालिकाले जनाएको छ ।

कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोज जयसवालका अनुसार कर्मचारीहरूको तलब जेठ मसान्तभित्र भुक्तानी गर्ने र क्यान्सरपीडित कर्मचारी श्रीराउत बरैलाई तलबको ५० प्रतिशत रकम तत्काल नगद उपलब्ध गराउने सहमति भएपछि तालाबन्दी अन्त्य गरिएको हो ।

उनले वडा अध्यक्षहरू, कार्यपालिका सदस्यहरू तथा सम्बन्धित पक्षबीच भएको छलफलबाट सहमति जुटेको जानकारी दिँदै बैंक खाता सञ्चालनमा आएलगत्तै कर्मचारीहरूको तलब भुक्तानी गरिने बताए । “हामी सबै वडा अध्यक्ष, कार्यपालिका सदस्य,कर्मचारीहरु र सरोकारवालाबीच भएको छलफलपछि कर्मचारीको तलब जेष्ठ मसान्तभित्र उपलब्ध गराउने सहमति भएको छ ।

सोही सहमतिअनुसार आजदेखि तालाबन्दी खुलेर कार्यालयको कामकाज सुचारु भएको हो,” जयसवालले भने । उनले नगरपालिकाभित्रकै परिवारबीच आपसी समझदारीबाट समस्या समाधान भएको उल्लेख गर्दै बाह्य दबाब वा कुनै राजनीतिक हस्तक्षेपका कारण तालाबन्दी खुलेको भन्ने दाबी गलत रहेको बताए ।

केही व्यक्तिले सस्तो लोकप्रयिता कमाउन यसको श्रेय लिन खोजे पनि वास्तविकता भने पालिकाभित्रकै सहमतिबाट समाधान भएको उनको भनाइ थियो । जयसवालले आफू सधैं कर्मचारीहरूको पक्षमा रहेको बताउँदै क्यान्सरपीडित कर्मचारी श्रीराउत बरैको उपचारका लागि व्यक्तिगत रूपमा सहयोग गर्ने प्रतिबद्धता जनाए । साथै अन्य सहयोगी मनका धनी व्यक्तिहरूलाई समेत सहयोग गर्न अपिल गरे ।

यस्तै, कटहरिया नगरपालिका वडा नं. ८ का वडा अध्यक्ष समिश विक्रम साहले सर्वसम्मत निर्णयका आधारमा तालाबन्दी खोलिएको जानकारी दिए । उनले यसपटक कर्मचारीहरूले निश्चित रूपमा तलब प्राप्त गर्ने विश्वास व्यक्त गरे । कटहरिया वडा नम्बर २ का वडा अध्यक्ष हरिन्द्र साह कलवारका अनुसार क्यान्सरपीडित कर्मचारी श्रीराउत बरैको उपचार सहयोगका लागि आफनो व्यक्तिगत खातामा १ लाख २५ हजार रुपैयाँ जम्मा भइसकेको छ ।

कर्मचारीको तलब निकासा भएपछि उक्त रकम सम्बन्धित सहयोगकर्तालाई फिर्ता गर्ने समझदारी भएको उनले बताए । वडा अध्यक्ष साहले कर्मचारीहरूले समयमै तलब किन प्राप्त गर्न सकेनन् भन्ने विषयमा आगामी कार्यपालिका बैठकमा गम्भीर समीक्षा हुनुपर्ने आवश्यकता औंल्याए । “तलब भुक्तानीमा ढिलाइ हुनुका कारण स्पष्ट हुनुपर्छ ।

यस विषयमा कार्यपालिका बैठकमा समिक्षा गरी वास्तविकता सार्वजनिक गरिनुपर्छ,” उनले भने । तालाबन्दीका कारण नगरपालिकाका सेवाग्राहीहरू लामो समयदेखि प्रभावित बनेका थिए । तालाबन्दी खुलेसँगै नगरपालिकाको सेवा प्रवाह पुनः नियमित हुने अपेक्षा गरिएको छ ।

१२ जेठ, रौतहट । देशमा नयाँ सरकार गठन भएर सुशासन कायम हुने आश गरिए पनि रौतहटबाट तस्करीको जालो समाप्त हुन सकेको छैन ।

कागलाई बेल पाक्यो, हर्ष न विस्मात भने झै जुनसुकै सरकार आएपनि रौतहटको तस्करी नरोकिने भएको छ । अहिले रौतहट तस्करहरूका लागी सुरक्षित ट्रान्जिट प्वाइन्ट बनेको छ । जिल्लाको मुख्य नाका गौर, बंकुल, लक्ष्मीपुर बेलबिछवा, रापपुर खाप सहितका सबै नाकाबाट अहिले खुलेआम तस्करी भइरहेको स्थानीयको गुनासो छ ।

हाल रौतहटमा खाद्यान्न, कपडा, मोटरपार्टस, भैंसी, कुखुरा, मदिरा, चिनी लगायतको तस्करी भइरहेको छ । सुरक्षाकर्मीकै मिलेमतोमा जिल्ला देखी प्रदेशका अधिकारीहरुले समेत तस्करहरु संग रकम बुझेर संगठित तस्करीको लाइन संचालनमा छुट दिएका छन । भारतसँग सिमा जोडिएका विभिन्न नाकाहरुबाट निस्केका विभिन्न सामानहरु गरुडा चन्द्रनिगाहपुर हुदै देशका विभिन्न भागमा सहजै पुगिरहेका छन ।

गौरस्थित मुख्य नाकाबाट “किरनिया” भनेर चिनिने एक महिलाले संगठित तस्करीको लाइन चलाइरहेकी छिन । भारत र नेपाल दुवैतर्फको नागरिकताधारी किरनियालाई सशस्त्र प्रहरीबलले सघाएको छ । गौरबाट रुपेश दास, अमरेन्द्र, राजेश पासवान, सदाम, निरज जयसवाल र राधेश्याम साह लगायतका तस्करहरुले अवैधरुपमा भारतबाट नेपाल सामान ओसारपसार गरिरहेका छन ।

गौरस्थित सशस्त्र प्रहरीको बोर्डर आउट पोष्टका सुरक्षाकर्मीकै सेटिङ्गमा लक्ष्मीपुरबाट मदिरा, बंकुलबाट चिनी, केरा लगायतका अन्य सामग्री, रामपुरखापबाट कपडा, सुर्ति, कुखुरा, स्पेयर पार्टस लगायतका सामानको तस्करी भइरहेको छ । सुरक्षाकर्मी र तस्करको मिलेमतोका कारण राज्यले दैनिक लाखौं रुपैयाँ राजस्व गुमाइरहेको छ ।

उता लक्ष्मीपुर–बेलबिछवा नाकाबाट रुपेश र सुरेश नाम गरेका व्यक्तिहरूले नेपाली मदिरा भारततर्फ पठाउने गरेका छन ।

यता बङ्कुल नाकामा पनि विजय कुशवाहा समूह सक्रिय रहेको बताइन्छ । पूर्व वडा अध्यक्षसमेत रहेका कुशवाहा त्यहाँका “मुख्य नाइके” का रूपमा चिनिने गरेका छन् । दैनिक रूपमा भारतबाट कुशवाहाले विभिन्न सामानहरु ओसारपसार गराइरहेका छन ।द नेपाली मेडिया

रौतहट, ८ जेठ । खाने मुखलाई जुंगाले छेक्दैनन् भन्ने उखान झै स्थानीय तहमा खान पल्केकाहरुलाई जुन सुकै सरकार आएपनि बालै मतलब छैन् तर फसेपछि सबै कर्तुत बाहिर आउँछ ठिक त्यसै आजको घटनाले साबित गरिदिएको छ ।
महोत्तरीको सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीदेव यादव ७२ हजार घुसको रकम सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय वर्दीवासको टोलीले शुक्रवार दिउसो नियन्त्रणमा लिएको हो ।
अख्तियार श्रोतका अनुसार उपभोक्ता समितिका अध्यक्ष संग आर्थिक लेनदेन भईरहेको सूचनाका आधारमा खटिएका टोलीले औरही सडक खण्डबाट प्रमुख प्रशासकीय अधिकृत यादवलाई नियन्त्रणमा लिए । पक्राउ परेका प्रमुख प्रशासकीय अधिकृत यादवको साथबाट ७२ हजार रुपैयाँ बरामद भएको बताइएको छ ।
यादव संग थप रकम समेत रहेको आशंका गरिएकाले घटनाको सुक्ष्म अनुसन्धान जारी रहेको तथा यादवलाई नियन्त्रणमा लिएर आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको आयोग श्रोतबाट बुझिएको छ ।
स्थानीय तहका उच्च कर्मचारीनै घुसकाण्डमा पक्राउ परेपछि उक्त घटनाले महोत्तरी सहित मधेश प्रदेश भरीको माहौललाई तरंगीत बनाएका छन् ।
रौतहटमा रहदा श्रीदेव यादवको कर्तुत
अख्तियारद्वारा पक्राउ परेका यादव रौतहटको माधवनारायण नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत रहदा आर्थिक चलखेलको आधारमा कानुनले नमिल्ने गैरकानुनी रुपमा एउटा सब ओभरसियरलाई सातौं तहमा तहवृद्धि गरेका थिए । त्यती मात्रै नभई तहवृद्धि भएका कर्मचारी महागढीमाई नगरपालिका वारामा निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी पाएर लाखौं रकम अनाधिकृत रुपमा चलाएको थियो ।
श्रीदेव यादवले चौथो तहमा भर्ना भएका व्यक्तिलाई ऐन कानुनलाई धज्जी उडाउदै लक्ष्मण साहलाई सातौं तहमा तहवृद्धि गरे वापत आर्थिक चलखेल गरेका थिए । रौतहटको अन्य स्थानीय तहमा समेत यादवले जिम्मेवारी निर्वाह गर्दा नियमबाट नमिल्ने कर्मचारीलाई सातौं तहमा तहवृद्धि गरेको हुँदा उक्त कार्यहरुको पनि सुक्ष्म अनुगमन एवं अनुसन्धान गर्नुपर्ने यहाँका न्याय प्रेमी जनताहरुले माग गरेका छन् । तराई टप

सागर संगम ठाकुर रौतहट बैशाख १८ गते

रौतहटको देवाही गोनाही नगरपालिका–९ धरहरीमा पछिल्लो समय विकास निर्माणका कार्यहरूले तीव्रता पाएका छन्। वडा अध्यक्ष वीर बहादुर साहले वडामा रहेका अधुरा योजनालाई प्राथमिकतामा राख्दै निर्माण कार्यलाई अगाडि बढाइरहेका छन्। वडाको करिब रु ४५ लाख रुपैयाँको लागतमा नयाँ सडक तथा नाला निर्माण, श्मशान घाटमा तटबन्ध निर्माण, सडक ढलान तथा माटो भर्ने काम । इदगाहमा ट्रस्ट भवन निर्माणका कामहरू धमाधम सञ्चालन भइरहेका छन् । यी कार्यहरू आर्थिक वर्ष २०८२÷८३ अन्तर्गतका वडा स्तरीय योजनाबाट भइरहेको वडा अध्यक्ष साहले जानकारी दिनुभयो। वडा अध्यक्ष साहका अनुसार, वडा कार्यालयका लागि निःशुल्क उपलब्ध गराइने जग्गामा दुई वटा नयाँ सडक निर्माण भइरहेको छ। त्यसैगरी जय किसान बहुप्राविधिक शिक्षालय परिसरस्थित बौद्वीमाई मन्दिरदेखि स्थानीय रामबालक राय यादवको खेतसम्म करिब १५० मिटर लामो, १ मिटर चौडा र ३ फिट गहिराइको नाला निर्माण भइसकेको जानकारी दिए । त्यस्तै मुसलीमहरुको इदगाहमा ट्रस्ट भवन निर्माण गर्ने बताएका छन । मुस्लीम समुदायमा मान्छे मरेपछि इदगाहमा शवलाई गाडने परमपरा रहेको छ । वडा अध्यक्ष साहका अनुसार मुस्लीमहरुको शवलाई इदगाह सम्म लैजान प्रयोग गरिने खटोला राख्नको लागि तिन मिटर चौडा र चार मिटर लम्बाई भएको एउटा ट्रस्ट भवन निर्माण गर्न लागिएको बताए । यसका साथै हिन्दुहरको श्मशान घाटमा ढुङ्गाको तटबन्ध निर्माण तथा सडक ढलान, पुरानो ट्रस्ट भवनको प्लास्टर तथा मर्मत सम्भार हुने बताए । त्यस्तै वडा अध्यक्ष साहको घर नजिकै महेन्द्र पण्डितको घरदेखि रामचन्द्र साह भनिने (गोखुल साह) को घरसम्मको पुरानो सडकमा नाला निर्माण तथा माटो भर्ने काम गरिने बताएका छन । उक्त क्षेत्रमा सडकमा नाला नहुँदा वर्षायाममा स्थानीयवासीले ठूलो समस्या भोग्दै आएका थिए। तर अब नाला निर्माणपछि पानी निकासको समस्या समाधान हुने र स्थानीयले सहज आवतजावत गर्न पाउने विश्वास वडा अध्यक्ष साहले व्यक्त गर्नुभएको छ।

बज्जिकाञ्चल संवाददाता,राैतहट,वैशाख ९ गते । 

रौतहट जिल्लाको कटहरिया नगरपालिका वडा नं. १ मा आगामी स्थानीय तह निर्वाचन नजिकिँदै जाँदा राजनीतिक गतिविधि तीव्र बन्दै गएको छ। यसै सन्दर्भमा निर्माण व्यवसायी तथा निर्माण व्यवसाय संघ रौतहटका निर्वाचित जिल्ला सदस्य सरोज कुमार यादवले वडा अध्यक्ष पदमा उम्मेदवारी दिने चाहना सार्वजनिक गरेसँगै चुनावी माहोल थप तातेको देखिएको छ। आउँदो स्थानीय तह निर्वाचनमा कटहरिया–१ बाट सरोज कुमार यादव वडा अध्यक्षको तयारीमा रहेका छन्।

लामो समयदेखि निर्माण क्षेत्रमा सक्रिय रहँदै आएका यादवले वडाको समग्र विकास, पूर्वाधार विस्तार र रोजगारी सिर्जनालाई आफ्नो मुख्य प्राथमिकता बनाउने बताएका छन्। उनले सडक, नाला, खानेपानी, सरसफाइ लगायत आधारभूत सेवामा सुधार ल्याउँदै वडालाई नमुना बनाउने प्रतिबद्धता व्यक्त गरेका छन्।

यादवले पारदर्शी, जवाफदेही र जनमुखी नेतृत्व प्रदान गर्ने अठोट व्यक्त गर्दै युवालाई स्वरोजगारतर्फ उन्मुख गराउने, सीपमूलक अवसर सिर्जना गर्ने तथा स्थानीय स्रोत–साधनको अधिकतम उपयोगमार्फत दिगो विकास अघि बढाउने योजना अघि सारेका छन्। उनले आफ्नो उम्मेदवारीलाई विशेषगरी जेनेरेसन–जेड (Gen Z) युवाहरूको चाहना, सोच र अपेक्षासँग जोडिएको बताउँदै आधुनिक, पारदर्शी र परिणाममुखी नेतृत्वको मागलाई सम्बोधन गर्ने दाबी गरेका छन्।

उनको सम्भावित उम्मेदवारीलाई लिएर स्थानीय बासिन्दाहरूबीच, विशेषगरी युवा तथा जेन्जि पुस्तामा उत्साह र चासो बढ्दै गएको छ। कटहरिया–१ मा यसपटकको चुनाव प्रतिस्पर्धात्मक र थप रोचक हुने संकेत देखिन थालेको छ।

आरके श्रीवास्तव,रौतहट,०९ गते वैशाख ।

नेपाल कम्युनिस्ट पार्टी को ७७ औँ स्थापना दिवसको अवसरमा नेकपा एमाले रौतहट जिल्ला जनसङ्गठनद्वारा देवाही गोनाही नगरपालिका–८, गोनाही बजारमा बृहत्तर रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न गरिएको छ ।
कार्यक्रम जनसङ्गठनका प्रमुख रुपेश पटेलको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथिका रूपमा एमाले रौतहट जिल्ला अध्यक्ष सचितानन्द साह को उपस्थिति रहेको थियो ।

त्यस्तै, विशिष्ट अतिथिहरूमा नेपाल रेडक्रस सोसाइटीका मन्त्री धर्मेन्द्र सिंह, वडा नं. ८ का अध्यक्ष विजय पटेल, वडा नं. ७ का अध्यक्ष उपेन्द्र राय यादव तथा इलाका प्रहरी कार्यालयका प्रमुख लगायतको उल्लेखनीय उपस्थिति रहेको थियो ।

विभिन्न पालिकाबाट आएका नेता–कार्यकर्ता, युवाहरू तथा सर्वसाधारणको उत्साहजनक सहभागितामा कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको आयोजकले जनाएको छ । कार्यक्रममा वक्ताहरूले रक्तदानलाई जीवनदानको महत्वपूर्ण कार्यका रूपमा व्याख्या गर्दै यस्ता सामाजिक कार्यहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए ।

रक्तदान कार्यक्रममा ठूलो संख्यामा स्थानीय बासिन्दाले सहभागिता जनाउँदै सामाजिक उत्तरदायित्वको उदाहरण प्रस्तुत गरेका छन् । आयोजकका अनुसार आगामी दिनहरूमा पनि यस्ता जनहितका कार्यक्रमहरूलाई निरन्तर अघि बढाइनेछ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।