अशोक यादब रौतहट, असार १४ गते।
रौतहटको गढीमाई नगरपालिका–८ स्थित श्री माध्यमिक विद्यालय, बिरनगराका कक्षा ८ मा अध्ययनरत विद्यार्थी अमित कुमार रौनियारले सामाजिक सञ्जालमार्फत नगरप्रमुख श्री श्याम प्रसाद यादव र वडा नं. ८ का वडाध्यक्ष श्री बजरंगी प्रसाद यादवलाई विद्यालयमा आधारभूत सुविधाको व्यवस्था गरिदिन आग्रह गरेका छन्।
विद्यार्थी रौनियारले विद्यालयका कक्षा ८, ९ र १० मा पंखाको व्यवस्था नभएको तथा शुद्ध खानेपानीको सुविधा समेत अभाव रहेको उल्लेख गरेका छन्। अत्यधिक गर्मीका कारण विद्यार्थीहरूलाई पठनपाठन गर्न कठिनाइ भइरहेको भन्दै उनले यथाशीघ्र पंखा र खानेपानीको व्यवस्था गरिदिन सम्बन्धित जनप्रतिनिधिसँग अनुरोध गरेका छन्।
उनले सामाजिक सञ्जालमा लेख्दै भनेका छन्, “हाम्रो विद्यालयमा कक्षा ८, ९ र १० मा पंखा छैन। यति गर्मीमा विद्यार्थीहरूलाई अध्ययन गर्न निकै समस्या भइरहेको छ। साथै खानेपानीको पनि उचित व्यवस्था छैन। नगरप्रमुखज्यू र वडाध्यक्षज्यूले हाम्रो विद्यालयमा पंखा तथा खानेपानीको व्यवस्था गरिदिनुहुन हार्दिक अनुरोध गर्दछु।”
विद्यार्थीको यस अनुरोधप्रति स्थानीय अभिभावक तथा सरोकारवालाले पनि विद्यालयमा आवश्यक शैक्षिक पूर्वाधारको व्यवस्था गरी विद्यार्थीलाई सहज वातावरणमा अध्ययन गर्ने अवसर उपलब्ध गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।
रौतहट,१० गते असार । रौतहट । यमुना माइ गाउँपालिका को १२औँ गाउँसभा बुधवार सम्पनन भएको छ। आगामी आर्थिक वर्ष २०८३र०८४ का लागि बजेट, नीति तथा कार्यक्रम प्रस्तुत तथा पारित गर्ने उद्देश्यले गाउँसभाको अधिवेशन प्रारम्भ गरिएको हो। गाउँसभाको उद्घाटन गाउँपालिका अध्यक्ष शेख ईर्सादको अध्यक्षतामा सम्पन्न भएको थियो।
अधिवेशनमा गाउँपालिकाका जनप्रतिनिधि, विभिन्न राजनीतिक दलका प्रतिनिधि, कर्मचारी तथा सरोकारवाला निकायका पदाधिकारीहरूको सहभागिता रहेको थियो। गाउँसभामा आगामी आर्थिक वर्षका लागि गाउँपालिकाले सञ्चालन गर्ने विकास निर्माण, शिक्षा, स्वास्थ्य, कृषि, पूर्वाधार, खानेपानी तथा सामाजिक सुरक्षासम्बन्धी योजना तथा कार्यक्रमहरू प्रस्तुत गरिने जनाइएको छ।
साथै, गाउँपालिकाको समग्र विकासलाई प्राथमिकतामा राख्दै बजेट तथा नीतिगत कार्यक्रममाथि छलफल गरी पारित गर्ने कार्यसूची तय गरिएको छ। गाउँपालिका नेतृत्वले स्थानीय आवश्यकताअनुसार जनमुखी र विकासमुखी कार्यक्रमलाई प्राथमिकता दिँदै आगामी आर्थिक वर्षको बजेट तर्जुमा गरिएको जनाएको छ। गाउँसभाबाट पारित हुने नीति, कार्यक्रम तथा बजेटले स्थानीय विकास र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने अपेक्षा गरिएको छ। गाउँसभाका अन्य कार्यसूचीहरू क्रमशः छलफल तथा निर्णय प्रक्रियामार्फत अघि बढाइने गाउँपालिकाले जनाएको छ।
शिवनाथ कुशवाहा, रौतहट, । दुर्गाभगवती गाउँपालिका को १२औँ गाउँसभा तथा १०औँ बजेट अधिवेशन उत्साहजनक सहभागिताका बीच भव्य रूपमा सम्पन्न भएको छ। गाउँपालिकाका अध्यक्ष शम्भुकुमार सिंह को सभाअध्यक्षतामा आयोजित अधिवेशनको उद्घाटन मधेश प्रदेश सरकारका स्वास्थ्य मन्त्री नागेन्द्र साह ले गर्नुभएको थियो। अधिवेशनमा अध्यक्ष सिंहले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि नीति तथा कार्यक्रमसहित ३९ करोड ३८ लाख ८१ हजार रुपैयाँको अनुमानित बजेट प्रस्तुत गर्नुभएको छ। प्रस्तुत बजेटमा गाउँपालिकाको समग्र विकास, आधारभूत सेवा प्रवाह तथा पूर्वाधार निर्माणलाई प्राथमिकता दिइएको जनाइएको छ।
उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री साहले स्थानीय तहको विकास, सुशासन र बजेटको प्रभावकारी कार्यान्वयनका लागि जनप्रतिनिधि, कर्मचारी तथा नागरिकबीच सहकार्य र हातेमालो आवश्यक रहेको बताउनुभयो। उहाँले स्थानीय सरकारलाई विकासको आधारस्तम्भका रूपमा उल्लेख गर्दै उपलब्ध स्रोत–साधनको अधिकतम उपयोग गर्न आग्रह गर्नुभयो। कार्यक्रममा गाउँपालिकाका सम्पूर्ण जनप्रतिनिधि, कार्यपालिका सदस्य, विभिन्न विषयगत शाखाका कर्मचारी, स्थानीय बुद्धिजीवी तथा भद्रभलाद्मी, सुरक्षा निकायका प्रतिनिधि र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। गाउँपालिकाका अनुसार व्यापक सहभागिता र सकारात्मक वातावरणबीच सम्पन्न भएको उक्त अधिवेशनले आगामी आर्थिक वर्षका विकास योजना तथा बजेट कार्यान्वयनको मार्गचित्र तय गरेको छ।
रौतहट । राजदेवी नगरपालिका को १६औँ नगरसभा अधिवेशन नगर प्रमुख भिखारी प्रसाद यादव को अध्यक्षता तथा नगर उपप्रमुख राज कुमारी देवी सहित सम्पूर्ण नगरसभा सदस्यहरूको उपस्थितिमा सम्पन्न भएको छ। अधिवेशनमा प्रमुख अतिथिका रूपमा सहभागी भएका रामअयोध्या यादव ले शुभकामना मन्तव्य व्यक्त गर्दै स्थानीय सरकारको प्रभावकारी सञ्चालन, विकास निर्माण तथा जनमुखी कार्यक्रमहरूको सफल कार्यान्वयनका लागि नगरसभाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो। कार्यक्रममा अतिथिहरूलाई स्वागत गर्दै विकाउ यादव ले नगरपालिकाले विगतमा गरेका विकासका कार्यहरू तथा आगामी योजनाबारे जानकारी गराउनुभएको थियो।
उहाँले नगरको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने प्रतिबद्धता समेत व्यक्त गर्नुभयो। नगरसभामा आगामी आर्थिक वर्षका नीति तथा कार्यक्रम, बजेट, विकास योजना तथा नगरपालिकाको समग्र प्रगतिबारे छलफल भएको जनाइएको छ। सहभागीहरूले नगरको दिगो विकास, पूर्वाधार विस्तार, शिक्षा, स्वास्थ्य तथा कृषि क्षेत्रको उन्नयनका लागि आवश्यक सुझावहरू प्रस्तुत गरेका थिए। कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको नगरपालिकाले जनाएको छ।
राैतहट । प्रादेशिक अस्पताल गौर परिसरमा नव-निर्मित पञ्चमुखी हनुमान मन्दिरको उद्घाटन गौर नगरपालिकाका नगर प्रमुख शम्भु साहले गर्नुभएको छ। नगर प्रमुख साहले वि.सं. २०८० फागुन २४ गते शिलान्यास गर्नुभएको उक्त मन्दिरको निर्माण कार्य गौर नगरपालिकाको बजेटबाट सम्पन्न गरिएको हो। मन्दिरमा स्थापित पञ्चमुखी हनुमानको मूर्ति भने नगर प्रमुख साहको व्यक्तिगत सहयोगमा प्राप्त भएको जनाइएको छ।
मन्दिर उद्घाटन कार्यक्रममा बोल्दै नगर प्रमुख साहले धार्मिक तथा सांस्कृतिक सम्पदाको संरक्षण र प्रवर्द्धनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्दै आएको बताउनुभयो। उहाँले अस्पताल परिसरमा निर्माण गरिएको मन्दिरले बिरामी, उनका आफन्त तथा सर्वसाधारणलाई आध्यात्मिक शान्ति र धार्मिक आस्थाको केन्द्रका रूपमा सेवा पुर्याउने विश्वास व्यक्त गर्नुभयो। अस्पताल प्रशासनका अनुसार मन्दिरको दैनिक पूजा–आराधना तथा व्यवस्थापनसम्बन्धी खर्च अस्पताल प्रशासनले व्यहोर्नेछ। धार्मिक तथा सांस्कृतिक महत्व बोकेको उक्त मन्दिरले अस्पताल परिसरमा आउने श्रद्धालु तथा सर्वसाधारणलाई पूजा–आराधना, ध्यान तथा आध्यात्मिक शान्ति प्राप्त गर्ने उपयुक्त स्थल प्रदान गर्ने अपेक्षा गरिएको छ। उद्घाटनसँगै मन्दिर सर्वसाधारणका लागि खुला गरिएको छ।
करण कुमार मिश्र,रौतहट, असार १० गते । रौतहट जिल्लाका सातवटा स्थानीय तहले आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि बुधबार आ–आफ्नो बजेट सार्वजनिक गरेका छन् । कृषि, शिक्षा, स्वास्थ्य, पूर्वाधार विकास, पर्यटन प्रवद्र्धन तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै पालिकाहरूले बजेट ल्याएका हुन् ।
अन्तरसरकारी वित्तीय व्यवस्थापन ऐन, २०७४ को दफा २१ अनुसार प्रत्येक स्थानीय तहले असार १० गतेभित्र आगामी आर्थिक वर्षको आय–व्यय अनुमान सम्बन्धित नगरसभा वा गाउँसभामा पेश गर्नुपर्ने कानुनी व्यवस्था अनुसार बजेट सार्वजनिक गरिएको हो । संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण, सशर्त, विशेष तथा समपूरक अनुदानसँगै आन्तरिक आयलाई आधार बनाएर बजेट निर्माण गरिएको जनाइएको छ ।

जिल्लामध्ये सबैभन्दा ठूलो बजेट चन्द्रपुर नगरपालिकाले ल्याएको छ । १७ औँ नगरसभाबाट पारित बजेटअनुसार चन्द्रपुरले आगामी आर्थिक वर्षका लागि १ अर्ब २१ करोड ८० लाख रुपैयाँको बजेट सार्वजनिक गरेको हो । चन्द्रनिगाहपुरस्थित होटल ए.एन. प्लाजामा आयोजित नगरसभामा नगर उपप्रमुख जयमाला चौधरीले बजेट प्रस्तुत गरेकी थिइन् ।

त्यसैगरी गौर नगरपालिकाले ५३ करोड ८८ लाख १२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । १८ औँ नगरसभामा नगर प्रमुख शम्भु साहले समग्र विकास, सुशासन र समृद्धिलाई केन्द्रमा राख्दै बजेट प्रस्तुत गरेका हुन् । राजदेवी नगरपालिकाले ५० करोड ९० लाख ४० हजार रुपैयाँको बजेट सर्वसम्मत रूपमा पारित गरेको छ । नगर प्रमुख भिखारी यादवले सीमित स्रोत–साधनको अधिकतम उपयोग गर्दै स्वरोजगार सिर्जना तथा आधारभूत सेवाको गुणस्तर सुधारलाई प्राथमिकतामा राखिएको बताए । परोहा नगरपालिकाले ६८ लाख ९७ हजार ४ सय ४४ रुपैयाँको बजेट सार्वजनिक गरेको छ ।

नगर प्रमुख शेख वकिलका अनुसार शिक्षा, सामाजिक विकास, महिला सशक्तीकरण, कृषि आधुनिकीकरण, पर्यटन तथा युवा रोजगारीलाई मुख्य प्राथमिकता दिइएको छ । बजेटले कृषि व्यवसायीकरण, महिला उद्यमशीलता, सहकारी सुधार तथा युवालाई स्वरोजगारमुखी कार्यक्रममार्फत आर्थिक समृद्धिको लक्ष्य लिएको छ । मौलापुर नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ४२ करोड ३० लाख १ हजार रुपैयाँको बजेट ल्याएको छ । नगरपालिकाले ‘नगर मास्टर’ र ‘नगर डाक्टर’ कार्यक्रमलाई निरन्तरता दिनुका साथै निःशुल्क बिजुली, निःशुल्क खानेपानी तथा ‘छोरीसँग मेयर कार्यक्रम’लाई पनि निरन्तरता दिएको छ ।

साथै दलित समुदायका लागि नमूना एकीकृत दलित बस्ती निर्माण तथा ‘कच्ची सडक मुक्त नगर’ अभियानलाई अघि बढाउने घोषणा गरिएको छ। नगर प्रमुख रीना साहले यी कार्यक्रमले मौलापुरलाई आधुनिक र समृद्ध नगरका रूपमा स्थापित गर्ने विश्वास व्यक्त गरिन् । दुर्गाभगवती गाउँपालिकाले ३९ करोड ३८ लाख ८१ हजार रुपैयाँको बजेट सार्वजनिक गरेको छ । शिक्षा, कृषि, स्वास्थ्य, पर्यटन, पूर्वाधार विकास तथा रोजगारी सिर्जनालाई प्राथमिकतामा राख्दै ‘समृद्ध गाउँपालिका, सुखी नागरिक’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने लक्ष्य लिइएको छ ।

यमुनामाई गाउँपालिकाले पनि आगामी आर्थिक वर्षका लागि ३६ करोड ९ लाख ८२ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ । यद्यपि जिल्लाका तीन स्थानीय तह फतुवा विजयपुर नगरपालिका, कटहरिया नगरपालिका र गरुडा नगरपालिकाले भने निर्धारित समयभित्र बजेट सार्वजनिक गर्न सकेनन्। ती पालिकाहरूमा बजेट प्रस्तुत हुन नसक्नुको कारण खुलाइएको छैन् । जिल्लाका अधिकांश स्थानीय तहले कृषि उत्पादन वृद्धि, उद्यमशीलता विकास, सेवा प्रवाहमा सुधार तथा पूर्वाधार विस्तारलाई प्राथमिकता दिएका छन् । तर सीमित आन्तरिक आम्दानी र संघीय अनुदानमाथिको उच्च निर्भरता आगामी आर्थिक वर्षमा पनि स्थानीय सरकारका लागि प्रमुख चुनौतीका रूपमा रहने देखिएको छ ।
शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार ।
रौतहटको गुजरा नगरपालिका को १४औँ नगरसभाले आगामी आर्थिक वर्षका लागि कुल ५६ करोड २५ लाख ७० हजार रुपैयाँको अनुमानित बजेट सार्वजनिक गरेको छ । नगरसभामा चालु तर्फ ३२ करोड ६४ लाख १ हजार रुपैयाँ तथा पुँजीगत तर्फ २३ करोड ६१ लाख ६९ हजार रुपैयाँ खर्चको अनुमान प्रस्तुत गरिएको छ । नगरप्रमुख सन्तलाल चौधरी ले नगरसभाको अध्यक्षता गर्दै विकास, सुशासन र जनमुखी सेवा प्रवाहलाई केन्द्रमा राखेर बजेट ल्याइएको बताउनुभयो ।
उपप्रमुख रत्ना लामाले नगरको समग्र विकास र जनअपेक्षा सम्बोधन गर्ने कार्यक्रमहरू बजेटमा समेटिएको उल्लेख गर्नुभयो । प्रमुख प्रशासकीय अधिकृत डमरु दाहालले बजेट तथा कार्यक्रम कार्यान्वयनमा प्रशासन प्रतिबद्ध रहेको जानकारी दिनुभयो । लेखापाल शैलेन्द्र श्रीवास्तवले प्रस्तुत बजेट नगरपालिकाको आन्तरिक आम्दानी, राजस्व बाँडफाँट, संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई आधार बनाएर तयार गरिएको बताउँदै विकास निर्माण, सेवा प्रवाह र संस्थागत सुदृढीकरणलाई प्राथमिकतामा राखिएको जानकारी दिनुभयो ।
नगरसभामा सबै वडाका वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी तथा अन्य सरोकारवालाहरूको उपस्थिति रहेको थियो । सभाले आगामी आर्थिक वर्षका लागि प्रस्तावित बजेट, नीति तथा कार्यक्रम पारित गरेको जनाएको छ ।
आरके श्रीवास्तव,रौतहट,०८ गते असार । रौतहटको इलाका प्रहरी कार्यालय मौलापुरको आयोजनामा सोमबार लागुऔषध दुव्र्यसनविरुद्ध जनचेतनामूलक कार्यक्रम सम्पन्न गरिएको छ । कार्यालय प्रमुख प्रहरी निरीक्षक भरत के.सी.को नेतृत्वमा मौलापुर नगरपालिका–८, सोनरनियास्थित श्री जनता माध्यमिक विद्यालयमा अध्ययनरत कक्षा ८, ९ र १० का विद्यार्थीहरूलाई लक्षित गरी कार्यक्रम सञ्चालन गरिएको हो ।

कार्यक्रममा विद्यार्थीहरूलाई लागुऔषधको प्रयोगबाट हुने शारीरिक, मानसिक तथा सामाजिक असरका बारेमा जानकारी गराइएको थियो । साथै, लागुऔषधको कुलतबाट टाढा रहन, स्वस्थ जीवनशैली अपनाउन तथा समाजमा बढ्दो दुव्र्यसन नियन्त्रणमा युवाहरूको भूमिका महत्वपूर्ण रहने विषयमा समेत सचेतना प्रदान गरिएको थियो । प्रहरी निरीक्षक भरत के.सी.ले विद्यार्थीहरूलाई लागुऔषधको दुष्प्रभावबारे जानकारी दिँदै यसको प्रयोगले व्यक्ति, परिवार र समाजमा गम्भीर असर पार्ने भएकाले यसबाट बच्न आग्रह गर्नुभयो ।

कार्यक्रममा सहभागी विद्यार्थीहरूले समेत लागुऔषधविरुद्ध सचेत रहने र अरूलाई पनि सचेत गराउने प्रतिबद्धता व्यक्त गरेका थिए । विद्यार्थीहरूमा सकारात्मक सोचको विकास गर्दै लागुऔषध दुव्र्यसन न्यूनीकरण गर्ने उद्देश्यले सञ्चालन गरिएको उक्त कार्यक्रम प्रभावकारी तथा उपलब्धिमूलक रहेको आयोजकले जनाएको छ ।
शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार ।
रौतहटको फतुवा विजयपुर नगरपालिका अन्तर्गत रहेको इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाका इन्चार्ज प्रहरी निरीक्षक सुरेन्द्र यादवको सफल कार्यकाल पूरा भई सरुवा भएपछि उहाँलाई मायाको चिनो प्रदान गर्दै भावपूर्ण बिदाइ गरिएको छ । कार्यक्रममा सहभागीहरूले इन्स्पेक्टर यादवले आफ्नो कार्यकालमा शान्ति सुरक्षा कायम गर्न, अपराध नियन्त्रण तथा नागरिकमैत्री प्रहरी सेवाको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान पु¥याएको उल्लेख गर्दै आगामी जिम्मेवारीका लागि शुभकामना व्यक्त गरेका थिए । यस अवसरमा सरुवा भई जाने क्रममा इन्स्पेक्टर सुरेन्द्र यादवलाई सफल र उज्ज्वल भविष्यको कामना गर्दै सम्मानसहित बिदाइ गरिएको थियो ।
त्यसैगरी, इलाका प्रहरी कार्यालय विजयपुर लक्ष्मिनियाको नयाँ इन्चार्जका रूपमा पदस्थापन भई आउनुभएका प्रहरी निरीक्षक रादेश खत्री लाई हार्दिक स्वागत गरिएको छ । स्थानीय सरोकारवाला तथा शुभेच्छुकहरूले इन्स्पेक्टर खत्रीको नेतृत्वमा यस क्षेत्रको शान्ति सुरक्षा व्यवस्था अझ प्रभावकारी र सुदृढ हुने विश्वास व्यक्त गरेका छन् । नवनियुक्त इन्चार्ज खत्रीलाई सफल कार्यकालको शुभकामना दिँदै समुदाय र प्रहरीबीचको सहकार्यलाई अझ मजबुत बनाउने अपेक्षा समेत व्यक्त गरिएको छ ।
शिवनाथ कुशवाहा ,रौतहट,०८ गते असार ।
रौतहटको बौधीमाई नगरपालिकाको १२ औँ नगरसभा तथा अधिवेशन (खुला सत्र) सोमबार नगरपालिकाको सभाहलमा भव्य रूपमा सम्पन्न भएको छ । नगर प्रमुख प्रदिप कुमार यादवको अध्यक्षतामा सम्पन्न सभामा नगर उपप्रमुख प्रमिला देवी विशिष्ट अतिथिका रूपमा सहभागी हुनुभएको थियो ।
सभामा आगामी आर्थिक वर्ष २०८३÷०८४ का लागि ६३ करोड १६ लाख ४ हजार रुपैयाँ रुपैयाँको बजेट, नीति तथा कार्यक्रम प्रस्तुत गरिएको थियो । प्रस्तुत बजेटले नगरको चौतर्फी विकास, आर्थिक समृद्धि तथा जनआकांक्षा सम्बोधन गर्ने लक्ष्य लिएको नगरपालिकाले जनाएको छ ।

कार्यक्रममा जनप्रतिनिधि, राष्ट्रसेवक कर्मचारी, पत्रकार तथा नगरवासीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत उदयशंकर चौधरी ले सभा सफलतापूर्वक सम्पन्न भएको जानकारी दिनुभयो । नगर प्रमुख प्रदिप कुमार यादवले सभा सफल बनाउन सहयोग पु¥याउने सम्पूर्ण जनप्रतिनिधि, कर्मचारी, सञ्चारकर्मी तथा नगरवासीप्रति हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्नुभएको छ । यो अधिवेशन बौधीमाई नगरपालिका को आगामी आर्थिक वर्षको विकास योजना तथा बजेट पारित गर्ने महत्वपूर्ण मञ्चका रूपमा सम्पन्न भएको हो ।