आरके श्रीवास्तव,मधेस,२६ गते पुस ।
जनकपुरधाम । जनकपुर वडा नम्बर २४ बसहियास्थित श्री गोगल प्रसाद नमुना माध्यमिक विद्यालयमा शिक्षा तथा संस्कृति मन्त्रालय, मधेश प्रदेशद्वारा आर्थिक वर्ष २०८१/०८२ अन्तर्गत निर्माण गरिएको २ कोठे पक्की भवनको उद्घाटन गरिएको छ ।

आज सम्पन्न उद्घाटन कार्यक्रममा प्रमुख अतिथिका रूपमा शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारीको सहभागिता रहेको थियो ।

उद्घाटन कार्यक्रममा बोल्दै प्रमुख अतिथि मन्त्री तिवारीले शिक्षा क्षेत्रमा पूर्वाधारको सुदृढीकरणले सिकाइ वातावरणलाई अझ सहज, सुरक्षित र प्रभावकारी बनाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले विद्यालय भौतिक पूर्वाधारको विकाससँगै गुणस्तरीय शिक्षामा समेत ध्यान दिन आवश्यक रहेको उल्लेख गर्नुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समिति, शिक्षक, विद्यार्थी, अभिभावक तथा स्थानीय जनप्रतिनिधिहरूको उपस्थिति रहेको थियो । नयाँ भवन निर्माणपछि विद्यार्थीहरूलाई अध्ययन–अध्यापनमा थप सहजता हुने अपेक्षा गरिएको छ ।
काठमाडौं, २५ पुस
काठमाडौं क्षेत्र नं. ९ को सांसद पदका प्रत्याशी इरस श्रेष्ठ आम जनता पार्टी (आजपा)मा प्रवेश गरेका छन् । २०७९ को आम प्रतिनिधिसभा निर्वाचनमा श्रेष्ठ काठमाडौं क्षेत्र नं. ९ बाट ‘लौरो’ चुनाव चिन्हबाट प्रतिस्पर्धा गरेका थिए ।
काठमाडौंको कोटेश्वर स्थित आजपाको केन्द्रीय कार्यालयमा आज श्रेष्ठ सहित दर्जनौं नेताहरुले आजपामा प्रवेश गरेका हुन् । आजपा अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले श्रेष्ठ सहितका नेताहरुलाई पार्टीमा प्रवेश गराउदै सफल राजनीतिका लागि शुभकामना दिए ।

श्रेष्ठ सहित रौतहटको गुजरा नगरपालिकाका सामाजिक व्यक्तित्व तथा युवा प्रतिभाहरू नेयाज देवान, मो. साफिक, फिरोज देवान, समिम मिया, जाबेद हुसैन, बच्चे बाबु, हाफिज मह्मद, जुनैद देवान, मो. काबिर लगायतकाले पार्टी प्रवेश गरेको आजपा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

पार्टी प्रवेश कार्यक्रममा आजपा कार्यालय सदस्य सुधिर यादव, प्रवक्ता चन्द्रभुषण साह, आजपा नेताहरु बिजय यादव, बबिता यादव लगायतको विशेष सहभागिता रहेको थियो । श्रेष्ठ आजपा प्रवेश गरेसंगै २१ फागुनमा हुने प्रतिनिधिसभा निर्वाचनमा काठमाडौं क्षेत्र नं. ९ बाट सांसदको उम्मेदवार हुने चर्चा छ ।
आरके श्रीवास्तव,राैतहट,२५ गते पुस ।
राैतहट । गुजरा नगरपालिकामा जलवायु जोखिम तथा संकटासन्नताका लागि सामुदायिक उत्थानशील परियोजना अन्तर्गत जलवायु परिवर्तन नीति मस्यौदा २०८२ माथि छलफल तथा साझेदारी कार्यशाला सम्पन्न भएको छ ।

ग्रामीण विकास केन्द्र नेपाल र अक्सफाम नेपालको सहकार्यमा आयोजना गरिएको उक्त कार्यशाला २०८२ साल गुजरा नगरपालिकाको सभाहल सिमराभवानीपुरमा सम्पन्न भएको हो ।
कार्यशालामा जलवायु नीति मस्यौदा २०८२ का विषयमा विस्तृत छलफल गरिएको थियो । नीति निर्माण प्रक्रियाको दोस्रो चरणका रूपमा आयोजित कार्यक्रममा प्रशिक्षकका रूपमा बिमल घिमिरे र समी कुँवर रहनु भएको थियो भने कार्यक्रम उद्घोषण ज्योती फुयाल मिश्रले गर्नुभएको थियो ।
आरडीसी नेपालका बोर्ड सदस्य नरवदा लामाको अध्यक्षतामा सम्पन्न कार्यक्रममा गुजरा नगरपालिकाकी उपप्रमुख रत्ना लामा प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुन्थ्यो । साथै प्रमुख प्रशासकीय अधिकृत शान्ति विक, नगरपालिकाका जनप्रतिनिधि, कार्यपालिका सदस्य, शाखा प्रमुखहरू, सब–डिभिजन कार्यालयका प्रतिनिधि, सामुदायिक वन उपभोक्ता समूह, कृषि समूह तथा सहकारी, जलवायु अनुकूलता तथा विपद् व्यवस्थापन समितिका सदस्यहरूको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमको उद्देश्यबारे आरडीसी नेपालका संयोजक (जलवायु जोखिम तथा संकटासन्नताका लागि सामुदायिक उत्थानशील परियोजना) चिरञ्जीवी महतोले जानकारी गराउनुभएको थियो । उहाँका अनुसार विगत १० महिनादेखि गुजरा नगरपालिकामा परियोजना सञ्चालनमा रहेको छ भने जिल्लाको चन्द्रपुर नगरपालिकामा पनि सो परियोजना कार्यान्वयन भइरहेको छ ।
परियोजनाले कृषि, जैविक तटबन्धन तथा महिला सशक्तीकरण संवाद केन्द्र सञ्चालनजस्ता क्षेत्रमा काम गरिरहेको जानकारी दिइयो । गुजरा नगरपालिकाको वडा नम्बर ५ हरिहरपुर र वडा नम्बर ३ सिमरीमा परियोजनाका गतिविधि सञ्चालन भइरहेको बताउँदै उद्घोषक मिश्राले सिमरीमा जलवायु अनुकूलन गाउँ निर्माणका लागि आवश्यक नीति तथा नियम निर्माण गरी सोही आधारमा परियोजनाका कार्यहरू अघि बढाइएको जानकारी दिनुभयो ।
कार्यशालामा सामाजिक परिचालक सालिम गाैहर, कृषि प्राविधिक सचिन्द्र यादवलगायत संस्थाका कर्मचारीहरूको समेत उपस्थिति रहेको थियो । सहभागीहरूले जलवायु परिवर्तनका स्थानीय प्रभाव, अनुकूलन रणनीति र नीति मस्यौदामा समेटिनुपर्ने विषयहरूबारे सुझाव तथा गुनासो प्रस्तुत गरेका थिए ।
संजय सहनी,राैतहट,२४ गते पुस ।
हजमिनिया । रौतहटको राजदेवी नगरपालिका-५, हजमिनिया दरबारका २४ वर्षीय उमेश महतो विगत केही समयदेखि ब्लड क्यान्सरसँग लडिरहेका छन् ।
आर्थिक अवस्था अत्यन्तै कमजोर भएका कारण उपचारमा समस्या परिरहेको बेला ‘हेल्प मधेशी परिवार’ र समाजसेवी प्रकाश थारुले उहाँको जीवन रक्षाका लागि तत्परता देखाएका छन् ।
बिहीबार आयोजित एक कार्यक्रमका बीच समाजसेवी प्रकाश थारु संग गएका स्थानीय समाजसेबी नबिन सिंह ,पत्रकार संजय सहनी ,कन्हैया पटेल सहितको टोलीले ‘हेल्प मधेशी समाज’ बाट संकलित २४,५०० रुपैयाँ पीडित उमेश महतोलाई हस्तान्तरण गरेको छ ।

छोराको ज्यान बचाउन आमा प्रमिला देवी महतोले आफ्नो भएको एउटा घडेरी समेत ७ लाखमा बिक्री गरेर उपचार सुरु गर्नुभएको छ। “म जसरी पनि छोरा बचाउन चाहन्छु, सबैको सहयोग चाहियो,” भन्दै उहाँले भक्कानिँदै सहयोगको अपिल गर्नुभएको छ।
छोरा क्यान्सरसँग जुधिरहँदा पनि स्थानीय जनप्रतिनिधिहरूले कुनै वास्ता नगरेको र कोही हेर्न समेत नआएको अवस्थामा समाजसेवी थारु ‘भगवान’ बनेर आएको भन्दै बुवा फेकन महतोले खुसी व्यक्त गर्नुभयो।
उमेशको उपचारका लागि अझै ४/५ जति रकमको खाँचो रहेको छ। उहाँलाई सहयोग गर्न चाहने सहयोगी मनहरूले सिधै तलको बैंक खातामा रकम जम्मा गर्न सक्नुहुने स्थानीय समाजसेबी नबिन सिंहले अपिल गर्नु भएका छन् ।
खातावालाको नाम: उमेश महतो (Umesh Mahato)
,खाता नम्बर: २६२०१००७९५५८८९०००००१
बैंकको नाम: नेपाल बैंक लिमिटेड, राजदेवी शाखा रहेको छ।
समाजसेवी प्रकाश थारुले उमेशको जीवन रक्षाका लागि देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरूलाई सहयोगको अपील गर्नुभएको छ।
हनुमत कुमार यादव,गाैर,२२ गते पुस ।
रौतहट । सघन सहरी विकास कार्यक्रमअन्तर्गत प्रदेशीक अस्पताल गौर, रौतहटका लागि निर्माणाधीन अस्पताल भवनको निरीक्षण गरिएको छ । निरीक्षण कार्यक्रम प्रदेशीक अस्पताल विकास समितिका अध्यक्ष अवधेश यादवको अध्यक्षतामा सम्पन्न भएको हो ।
निर्माणाधीन भवनलाई निर्धारित समयभित्र गुणस्तरीय रूपमा सम्पन्न गरी अस्पताललाई हस्तान्तरण गर्ने उद्देश्यले अनुगमन गरिएको अध्यक्ष यादवले जानकारी दिनुभयो । उहाँले निर्माण कार्यमा कुनै पनि किसिमको लापरवाही स्वीकार्य नहुने बताउँदै समयसीमा र गुणस्तर दुवैमा कडाइका साथ ध्यान दिन निर्देशन दिनुभयो ।

अनुगमन कार्यक्रममा सघन सहरी विकास कार्यालय वीरगञ्जका इन्जिनियरहरू, प्रदेशीक अस्पताल गौरका मेडिकल सुपरिटेन्डेन्ट डा. मुरारी ठाकुर, जिल्ला प्रशासन कार्यालय रौतहटका प्रतिनिधि, जनस्वास्थ्य कार्यालय नि. प्रमुख प्रशासकीय अधिकृत राजेश सिह, ओम प्रकाश साह मधेशीया, निर्माण कम्पनीका ठेकेदार तथा अन्य प्राविधिक टोलीको सहभागिता रहेको थियो ।
निरीक्षणका क्रममा भवनको संरचना, निर्माणको प्रगति, प्रयोग गरिएका सामग्रीको गुणस्तर तथा सुरक्षाका मापदण्डहरूबारे विस्तृत छलफल गरिएको थियो । प्राविधिक टोलीले निर्माण कार्य सन्तोषजनक गतिमा अगाडि बढिरहेको जानकारी गराउँदै तोकिएको समयभित्र काम सम्पन्न गरिने प्रतिबद्धता व्यक्त गरेको छ ।
निर्माण सम्पन्न भएसँगै प्रदेशीक अस्पताल गौरको सेवा प्रवाह थप प्रभावकारी हुने र रौतहटसहित आसपासका जिल्लाका नागरिकले गुणस्तरीय स्वास्थ्य सेवा प्राप्त गर्ने अपेक्षा गरिएको छ ।
फाेटाे फिचर:

आरके श्रीवास्तव,राैतहट,२२ गते पुस ।
रौतहट । रौतहट निर्वाचन क्षेत्र नं. २ मा छिट्टै क्रिकेट स्टेडियम निर्माण हुने भएको छ । मधेश प्रदेशका खेलकुद मन्त्री ई. बसन्त कुशवाहाले जेनजी २.० रौतहटका अध्यक्ष तथा युवानेता सोनु कुशवाहासँगको भेटघाटका क्रममा उक्त स्टेडियम निर्माणका विषयमा औपचारिक प्रतिबद्धता व्यक्त गर्नुभएको हो ।
भेटका क्रममा मन्त्री कुशवाहाले रौतहटमा खेलकुद पूर्वाधार विकासको आवश्यकता औंल्याउँदै क्रिकेट स्टेडियम निर्माणलाई प्राथमिकतामा राखिने बताउनुभयो । साथै, छिट्टै नै प्रस्तावित स्थलको फिल्ड भिजिट गरिने र आवश्यक प्रक्रिया अगाडि बढाइने आश्वासन पनि दिनुभएको सोनु कुशवाहाले जानकारी दिनुभयो ।
यो महत्वपूर्ण पहल युवानेता सोनु कुशवाहाको सक्रिय प्रयास र निरन्तर पहलका कारण सम्भव भएको बताइएको छ । लामो समयदेखि रौतहटमा व्यवस्थित खेलकुद संरचनाको अभाव महसुस हुँदै आएको अवस्थामा क्रिकेट स्टेडियम निर्माणको प्रतिबद्धताले स्थानीयवासी तथा युवाहरूमा उत्साह थपेको छ ।
निर्माण सम्पन्न भएपछि रौतहटका युवाहरूमा खेलकुदप्रति रुचि र सहभागिता बढ्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादनमा समेत टेवा पुग्ने विश्वास लिइएको छ । स्थानीय सरोकारवालाहरूले यस पहललाई रौतहटको खेलकुद विकासतर्फको ऐतिहासिक कदमका रूपमा लिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,२२ गते पुस ।
सार्क जर्नलिस्ट फोरम इन्टरनेशनल (भारत च्याप्टर) को कार्यक्रम नालंदा भारतमा रौतहटका दुई जना पत्रकार सम्मानित भएका छन । संगठनका नेपाल च्याप्टर मधेश प्रदेशका सदस्य रहेका रौतहट जिल्ला निवासी स्थानीय न्यूज मिडिया प्रा. लि. का सञ्चालक तथा स्थानीय पोष्ट साप्ताहिक पत्रिकाका प्रधान सम्पादन राज नारायण पटेल ( आरएन पटेल ) तथा सी. एच. खबरका सञ्चालक पत्रकार चन्दन कुमार महतो नालन्दा अंतर्राष्ट्रीय सहभागिता समागम सम्मान- २०२६ द्वारा सम्मानित भएका हुन ।

भारतको बिहारस्थित नालन्दा खुला विश्वविद्यालयमा पुष २० र २१ गते आयोजित अन्तराष्ट्रिय मातृभाषा पत्रकार सम्मेलनको अवसरमा सो सम्मान गरिएको हो ।कार्यक्रममा नेपालका १२ जना पत्रकार सहित सार्क क्षेत्रका विभिन्न मुलुकका पत्रकारूलाई नालन्दा अन्तराष्ट्रिय अवार्ड प्रदान गरेको छ ।
सार्क जर्नलिष्ट फोरमका अध्यक्ष राजु लामा, नेवा पत्रकार राष्ट्रिय दबूका केन्द्रीय अध्यक्ष नृपेन्द्रलाल श्रेष्ठ, एभीन्यूज खबरका राजु नापित, पर्सा बिरगंजका मधेश प्रदेश संयोजक चयन भएका सदाब मलिक, दिपेन्द्र प्रजापति,अभिलाष गुप्ता, शैलेश गुप्ता, राजन कुमार सिंह र सुभास राम लागायत बाराका श्यामल गिरी सहित नेपाली पत्रकारहरूलाई अवार्ड तथा सम्मान पत्रले सम्मानित गरिएको हो । मातृभाषाको पत्रकारिताको विकासमा योगदान पुर्याए वापत ती पत्रकारहरूलाई अवार्ड सम्मान पत्र प्रदान गरिएको आयोजकले बताएको छ ।

आम्रपाली काला साहित्य सम्मेलन वैशाली बिहार तथा मानवाधिकार टुडेको आयोजनामा सम्पन्न कार्यक्रममा बंगलादेश र भारतका पत्रकारहरूलाई समेत अवार्डद्वारा सम्मान गरिएको छ ।
सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा अन्तर्राष्ट्रिय संस्कृति संवाहिका डा. सरिता बुद्धू, नेपालबाट सार्क जर्नलिस्ट फोरमका अन्तर्राष्ट्रिय अध्यक्ष राजु लामा, तथा थाइल्याण्डका प्रतिनिधि डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो । सम्मेलनमा ‘पत्रकारिता र मानवअधिकार एक वैश्विक चुनौति’ विषयमा सहभागीहरूले छलफल गरेका थिए ।

कार्यक्रमबारे जानकारी दिँदै सार्क जर्नलिस्ट फोरम बिहारका अध्यक्ष तथा मानवअधिकार टुडेका सम्पादक शशि भूषण कुमारले यो सम्मेलन बिहारमा आयोजना भएको चौथो अन्तर्राष्ट्रिय सम्मेलन भएको बताउनु भयो । यसअघि विगत तीन वर्षभित्र वैशालीमा तीनवटा अन्तर्राष्ट्रिय मातृभाषा सम्मेलन सफलतापूर्वक सम्पन्न भइसकेका उनले बताए ।
सार्क राष्ट्रका करिव दुई सयजना पत्रकार सहभागी सम्मेलनमा अन्तर्राष्ट्रिय सहभागिता, मातृभाषा, संस्कृति र पत्रकारिताको सुदृढीकरणमा केन्द्रित सम्मेलनले नेपाल-भारतसहित विभिन्न देशबीच आपसी समझदारी र सहकार्यलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ । डा.पी. सी. चन्द्रा लगायत विदेशबाट करिब तीन दर्जन अन्तर्राष्ट्रिय अतिथिहरूको सहभागिता रहेको थियो।
दोस्रो दिन सहभागीहरूलाई नालन्दा विश्वविद्यालयका ऐतिहासिक भग्नावशेषहरूको अवलोकन तथा भ्रमण गराइएको थियो । यस क्रममा नालन्दाको ऐतिहासिक महत्त्व, शैक्षिक परम्परा र प्राचीन वैभवको रुपमा रहेका नालन्दा खण्डर अवलोकन गराई त्यसबारे जानकारी गराइएको थियो ।
आरके श्रीवास्तव,राैतहट,१७ गते पुस ।
रौतहट । रौतहटको राजपुर नगरपालिकाको प्रशासकीय भवनको छतमा स्वचालित साइरन सेट (Automated Siren Set) जडान गरिएको छ । आपतकालीन सूचना प्रवाह, विपद् पूर्वसूचना तथा समुदायको सुरक्षा सुदृढ गर्ने उद्देश्यले उक्त साइरन जडान गरिएको हो । यो प्रणाली रेन परियोजनाको सहयोगमा स्थापना गरिएको नगरपालिकाले जनाएको छ ।
स्वचालित साइरन प्रणालीमार्फत विभिन्न प्रकारका जोखिम र आपतकालीन अवस्थाका लागि फरक–फरक आवाज (सिग्नल) प्रयोग गरिनेछ । प्रणालीमा चराको आवाज, ध्यानाकर्षण, एकाग्रता लगायतका संकेत समावेश छन् । यसैगरी बाढी, जनावर आक्रमण, आगलागी, मेघगर्जन/चट्याङ तथा पहिरो जस्ता विपद् संकेतका लागि छुट्टाछुट्टै साइरन कोड निर्धारण गरिएको छ । नगरपालिकाका अनुसार “एक नम्बर, एक आवाज—सयौंको सुरक्षा” भन्ने अवधारणाअनुसार यो प्रणाली सञ्चालन गरिनेछ ।
साइरन सक्रिय गर्न नगरपालिकाले मेसेज बक्स खोल्ने, नम्बर डायल गर्ने तथा एस.एम.एस. पठाउने जस्ता सुविधासमेत व्यवस्था गरिएको जनाएको छ । यसले आकस्मिक अवस्थामा छिटो सूचना प्रवाह भई नागरिकको ज्यान जोगाउन सहयोग पुग्ने विश्वास लिइएको छ ।
नगर प्रमुख डा. राजिक आलमले विपद् व्यवस्थापनमा पूर्वसूचना प्रणाली अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गर्दै राजपुर नगरपालिका जोखिमयुक्त क्षेत्र भएकाले स्वचालित साइरन समयमै सूचना दिन प्रभावकारी हुने बताए । “साइरन बजाउनुहोस् र जीवन बचाउनुहोस् भन्ने सन्देशसहित यो प्रणाली लागू गरिएको हो,” उनले भने ।
प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुरले यो प्रणाली नगरको समग्र विपद् जोखिम न्यूनीकरण योजनाको महत्वपूर्ण हिस्सा भएको बताए । उनले रेन परियोजनाको सहयोगमा स्थापना भएको प्रणालीको नियमित परीक्षण, सञ्चालन र नागरिकलाई साइरन संकेतबारे जानकारी गराइने जानकारी दिए ।
नगरपालिकाले आगामी दिनमा वडा स्तरसम्म यस्ता पूर्वसूचना प्रणाली विस्तार गर्न जानकारहरूले सुझाव समेत दिएका छन् ।
आरके श्रीवास्तव,राैतहट,१७ गते पुस ।
रौतहट । फतुवा विजयपुर नगरपालिकाले विद्युत् महसुलको बक्यौता नतिरेसम्म नगरपालिकाबाट सञ्चालन हुने कुनै पनि योजनाको सम्झौता नगर्न निर्देशन दिएको छ ।
नगर कार्यपालिकाको कार्यालय, लक्ष्मीनिया (दो), रौतहटबाट मिति २०८२/०९/१७ गते जारी गरिएको पत्रमार्फत प्रमुख प्रशासकीय अधिकृत मदन थापालाई यस्तो जानकारी गराइएको हो । पत्रमा नगरपालिकाको विद्युत् महसुल लामो समयदेखि बक्यौता रहेको उल्लेख गर्दै सो बक्यौता पूर्णरूपमा नतिरेसम्म हाललाई यस कार्यालयबाट कुनै पनि योजनाको सम्झौता कार्य नगराउन आग्रह गरिएको छ ।

कार्यवाहक नगर प्रमुख अमवेया खातुनले हस्ताक्षर गरेको उक्त पत्रमा नगरपालिकाको आर्थिक अनुशासन कायम गर्न तथा बक्यौता चुक्ता गराउन यो निर्णय लिइएको जनाइएको छ ।
नगरपालिकाको यस निर्णयपछि चालु तथा आगामी योजनाका सम्झौताहरू अस्थायी रूपमा प्रभावित हुने देखिएको छ । विद्युत् महसुल बक्यौता छिटो चुक्ता भएपश्चात् मात्रै योजना सम्झौता प्रक्रिया अघि बढाइने नगर स्रोतले जनाएको छ ।
आरके श्रीवास्तव,राैतहट,१५ गते पुस ।
औरैया । ईशनाथ नगरपालिकाले अत्यधिक जाडोका कारण विद्यार्थीहरूको स्वास्थ्यमा असर पर्न सक्ने भन्दै नगरभित्रका सम्पूर्ण विद्यालयहरूमा तीन दिनको जाडो विदा दिएको छ ।
नगर कार्यपालिकाको कार्यालय अन्तर्गत शिक्षा, युवा तथा खेलकुद शाखाले जारी गरेको सूचनाअनुसार सामुदायिक विद्यालय, मदरसा तथा संस्थागत निजी विद्यालयहरूमा मिति २०८२ साल पुस १६ गतेदेखि १८ गतेसम्म तीन (३) दिनको जाडो विदा दिइएको हो । उक्त विदा वर्षे विदाबाट कट्टा हुने गरी व्यवस्था गरिएको नगर शिक्षा अधिकारी नन्दकिशोर गुप्ताले जानकारी दिएका छन् ।
हाल केही दिनदेखि मधेश प्रदेशसहित रौतहट जिल्लामा चिसो अत्यधिक बढ्दै गएको र साना बालबालिका तथा विद्यार्थीहरूको स्वास्थ्यमा नकारात्मक असर पर्न सक्ने अवस्थालाई मध्यनजर गर्दै यो निर्णय गरिएको नगरपालिकाले जनाएको छ ।
सूचनाको अवगतार्थ नगर प्रमुख, उप–प्रमुख तथा प्रमुख प्रशासकीय अधिकृतलाई समेत जानकारी गराइएको छ । नगरपालिकाले चिसो मौसममा विद्यार्थीहरूलाई आवश्यक सावधानी अपनाउन विद्यालय तथा अभिभावकहरूलाई आग्रह पनि गरेको छ ।
ईशनाथ नगरपालिका शिक्षा, युवा तथा खेलकुद शाखाद्वारा जारी यस सूचनापछि नगरभित्रका सबै विद्यालयहरूमा तीन दिनसम्म पठनपाठन स्थगित हुने भएको छ ।