२०८२ चैत्र २६
२०८२ चैत्र २६

आरके श्रीवास्तव,राैतहट,०५ गते माघ । 

रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभा निर्वाचनमा नेकपा एमालेको तर्फबाट उम्मेदवारी दिने तयारीमा रहनु भएका नेकपा एमालेका केन्द्रीय सदस्य कुन्दन कुशवाहाले औपचारिक रूपमा आफ्नो उम्मेदवारीबारे जानकारी गराउनु भएको छ ।

कुशवाहाका अनुसार आगामी फाल्गुन २१ मा हुुने निर्वाचनमा  नेकपा एमालेको पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार रौतहट क्षेत्र नम्बर ३ मा प्रत्यक्षतर्फको टिकट सुनिश्चित भइसकेको छ । “पार्टीको निर्णयअनुसार मलाई प्रत्यक्षतर्फ उम्मेदवार बनाइएको छ। पार्टी र जनताको विश्वासलाई जितमा बदल्न म पूर्ण रूपमा प्रतिबद्ध छु,” उहाँले बताउनु भयो ।

उहाँ २०७४ सालको निर्वाचनमा मधेस प्रदेश सभामा निर्वाचित भइसकेका अनुभवी नेता हुनुहुन्छ । विगतको राजनीतिक अनुभव र संगठनात्मक सक्रियताका कारण यस क्षेत्रका कार्यकर्ता तथा समर्थकहरू उत्साहित देखिएका छन् ।

कुशवाहाले मनोनयन दर्ताका लागि आफू पूर्ण रूपमा तयार रहेको पनि स्पष्ट पार्नु भएको छ । “आगामी निर्वाचनमा रौतहट क्षेत्र नम्बर ३ बाट नेकपा एमालेको विजय सुनिश्चित गर्न सबैसँग सहकार्य गर्दै अघि बढ्नेछु,” उहाँको भनाइ छ ।

यसैबीच, नेकपा एमाले रौतहट क्षेत्र नम्बर ३ ले पार्टी केन्द्रीय सचिवालयको निर्णयअनुसार कमरेड कुन्दन कुशवाहालाई प्रत्यक्षतर्फ टिकट सुनिश्चित भएकोमा अग्रिम बधाई तथा शुभकामना व्यक्त गरेको छ । पार्टीले आगामी निर्वाचनमा कुशवाहाको नेतृत्वमा सशक्त प्रतिस्पर्धा हुने विश्वास व्यक्त गरेको छ ।

आरके श्रीवास्तव,राैतहट,०४ गते माघ । 

जेनजी २.० का राैतहट अध्यक्ष सोनु कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । केही दिनअघि जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सीके राउतले उनलाई औपचारिक रूपमा पार्टीमा स्वागत गरेका थिए ।

 

जेनजी २.० का अध्यक्षका रूपमा कुशवाहाले केवल विरोधमा सीमित नभई विभिन्न सामाजिक तथा सार्वजनिक सरोकारका विषयमा सम्बन्धित निकायको ध्यानाकर्षण गराउँदै सकारात्मक अभियान सञ्चालन गरेका थिए । उनको पहलमा परोहा नगरपालिकाका विद्यालय तथा अस्पतालहरूमा उल्लेखनीय सुधार आएको बताइन्छ । यस्तै, बौधीमाई नगरपालिकामा पनि उनले सुधारमुखी अभियान चलाएका थिए ।

 

पार्टी प्रवेशपछि ईशनाथ नगरपालिकाको औरैया क्षेत्रमा जनमत पार्टीका नेता तथा कार्यकर्ताहरूले कुशवाहालाई स्वागत तथा सम्मान थिए । आईटी इन्जिनियर, समाजसेवी एवम् गायकसमेत रहेका कुशवाहा आगामी राैतहट निर्वाचन क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्य पदका लागि उम्मेदवार बन्ने तयारीमा छन् । उनी जनमत पार्टीकै तर्फबाट निर्वाचन लड्ने मुडमा रहेको बुझिएको छ ।

 

हाल कुशवाहाले गाउँ–गाउँमा पुगेर स्थानीय जनतासँग प्रत्यक्ष भेटघाटलाई तीव्र बनाएका छन् । सोही क्रममा बन्जारहा गाउँमा स्थानीय जनतासँग विशेष भेटघाट कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा स्थानीयले विकास, शिक्षा, स्वास्थ्य र रोजगारीका विषयमा आफ्ना धारणा राखेका थिए ।

स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म सक्रिय भूमिका खेल्दै आएका कुशवाहाको जनमत पार्टी प्रवेशलाई राैतहटको राजनीतिक परिवेशमा अर्थपूर्ण रूपमा हेरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०४ गते माघ । 

रौतहट । आज आइतवार र भोलि सोमबार रौतहटको राजनीतिक वातावरण निकै रोचक बनेको छ । प्रतिनिधिसभा निर्वाचनका लागि दलहरूले टिकट वितरण प्रक्रिया सुरु गरेसँगै जिल्लाको चुनावी माहोल अर्को चरणमा प्रवेश गरेको छ ।

 

निर्वाचन आयोगले माघ ०६ गते उम्मेदवारहरूको मनोनयन दर्ता गराउने कार्यतालिका सार्वजनिक गरेसँगै दलहरू थप दबाबमा परेका छन् । तोकिएको समयभित्र उम्मेदवारको टुंगो लगाउनुपर्ने भएकाले राजनीतिक गतिविधि झनै तीव्र बनेको हो ।

 

रौतहटका चारवटै निर्वाचन क्षेत्रमा निर्वाचन कार्यालय स्थापना भइसकेको छ । कार्यालय सञ्चालनमा आएसँगै राजनीतिक दल, उम्मेदवार र कार्यकर्ताहरू थप सक्रिय देखिएका छन् । चिया पसलदेखि टोल–टोलसम्म चुनावी चर्चा चर्किएको छ ।

 

नेकपा एमालेले रौतहट जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवारहरूको टुंगो लगाइसकेको छ । एमालेका तर्फबाट उम्मेदवारहरू यस प्रकार रहेका छन् । निर्वाचन क्षेत्र नम्बर १ : अजय गुप्ता,क्षेत्र नम्बर २ : शैलेन्द्र साह,क्षेत्र नम्बर ३ : कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ : रामजी शाह रहेका छन् ।

एमालेले उम्मेदवार घोषणा गरेसँगै चुनावी प्रचार–प्रसारको तयारीलाई तीव्र बनाउने संकेत दिएको छ ।

 

उता नेपाली काँग्रेसमा भने पार्टीको केन्द्रीय तहमा देखिएको विवादको असर रौतहटमा स्पष्ट देखिएको छ । कसले टिकट पाउने भन्ने विषयमा अझै टुंगो नलाग्दा काँग्रेसका कार्यकर्ता अन्योलमा परेका छन् । सम्भावित उम्मेदवार र समर्थकहरू केन्द्रको निर्णयको प्रतिक्षामा छन् ।

 

अन्य राजनीतिक दलहरू पनि मनोनयन दर्ताको मिति नजिकिँदै जाँदा आफ्ना उम्मेदवार छनोटको अन्तिम तयारीमा जुटेका छन् । केही नयाँ दलहरूले भने यसपटक नयाँ अनुहार खोजी गर्दै स्थानीयस्तरमै छलफल र परामर्श गरिरहेका छन् ।

 

माघ ०६ गतेको मनोनयन दर्तापछि रौतहटमा उम्मेदवारहरूको औपचारिक तस्वीर स्पष्ट हुने र चुनावी प्रतिस्पर्धा थप चर्किने अपेक्षा गरिएको छ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते माघ । 

रौतहट । नेकपा एमालेले आगामी फाल्गुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि देशैभरिका उम्मेदवार टुंगो लगाउने क्रममा रौतहट जिल्लाका चारै निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको छ । पार्टी स्राेतका अनुसार क्षेत्र नम्बर १ मा अजय गुप्ता, क्षेत्र नम्बर २ मा शैलेन्द्र साह, क्षेत्र नम्बर ३ मा कुन्दन कुशवाहा र क्षेत्र नम्बर ४ मा रामजी शाह उम्मेदवार रहेका छन् ।

क्षेत्र नम्बर १ का उम्मेदवार अजय गुप्ता यसअघि २०७९ मा  सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपालसँग केही मतान्तरले पराजित भएका थिए। यसपटक गुप्ताले पुनः चुनावी प्रतिस्पर्धामा उत्रँदै क्षेत्रको विकास र जनसमस्यालाई प्रमुख एजेन्डा बनाउने बताएका छन् ।

त्यस्तै क्षेत्र नम्बर ३ बाट उम्मेदवार बनेका कुन्दन कुशवाहा २०७४ सालको निर्वाचनमा मधेस प्रदेश सभामा निर्वाचित भइसकेका अनुभवी नेता हुन् । प्रदेशस्तरको अनुभव बोकेका कुशवाहाले संघीय संसदमा पुगेर मधेसका मुद्दालाई अझ सशक्त रूपमा उठाउने प्रतिबद्धता व्यक्त गरेका छन् ।

क्षेत्र नम्बर २ का शैलेन्द्र साह र क्षेत्र नम्बर ४ का रामजी शाहलाई पनि पार्टीले संगठन मजबुत बनाउने र स्थानीय जनताको विश्वास जित्न सक्ने उम्मेदवारको रूपमा अघि सारेको जनाएको छ ।

नेकपा एमालेले रौतहटमा यसपटक चारै क्षेत्रमा जित हासिल गर्ने लक्ष्यसहित चुनावी तयारी तीव्र बनाएको छ । पार्टी नेताहरूका अनुसार संगठन परिचालन, जनसम्पर्क र विकासमुखी एजेन्डामार्फत मतदाताको समर्थन जुटाइनेछ ।

 

आरके श्रीवास्तव,राैतहट,०३ गते माघ । 

रौतहट । प्रतिनिधि सभा सदस्य निर्वाचन २०८२ का लागि रौतहट जिल्लामा कायम मतदाता, मतदान स्थल र मतदान केन्द्रसम्बन्धी विवरण सार्वजनिक भएको छ । जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार जिल्लाभर कुल ४ लाख ३६ हजार ६११ मतदाता रहेका छन् ।

 

रौतहट जिल्लामा ४ वटा प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका छन् । ती क्षेत्रमा जम्मा १५७ वडा, २७७ मतदान स्थल र ५४१ मतदान केन्द्र तोकिएका छन् ।

 

निर्वाचन क्षेत्रगत रूपमा हेर्दा निर्वाचन क्षेत्र नं. ४ मा सबैभन्दा बढी १ लाख १० हजार ३१४ मतदाता रहेका छन् । यस क्षेत्रमा ३० वडा, ६१ मतदान स्थल र १३४ मतदान केन्द्र छन् । यसपछि निर्वाचन क्षेत्र नं. २ मा १ लाख ८ हजार ८७२, निर्वाचन क्षेत्र नं. १ मा १ लाख ८ हजार ७२६ र निर्वाचन क्षेत्र नं. ३ मा १ लाख ८ हजार ६९९ मतदाता रहेका छन् ।

लैंगिक आधारमा हेर्दा रौतहट जिल्लामा पुरुष मतदाता २ लाख ४० हजार २६७ र महिला मतदाता १ लाख ९६ हजार ३४३ रहेका छन् । अन्य लिङ्गका मतदाता १ जना मात्र रहेको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

निर्वाचन क्षेत्र नं. १ मा ६० हजार २६९ पुरुष र ४८ हजार ५९७ महिला मतदाता छन् । निर्वाचन क्षेत्र नं. २ मा ६१ हजार १९४ पुरुष र ४७ हजार ६७८ महिला, निर्वाचन क्षेत्र नं. ३ मा ५९ हजार ९६८ पुरुष र ४८ हजार ७३० महिला तथा निर्वाचन क्षेत्र नं. ४ मा ५८ हजार ८३६ पुरुष र ५१ हजार ४७८ महिला मतदाता रहेका छन् ।

 

जिल्ला निर्वाचन कार्यालय रौतहटका अनुसार तोकिएका मतदान स्थल र केन्द्रमा आवश्यक पूर्वतयारी समयमै पूरा गरी निर्वाचनलाई स्वच्छ, निष्पक्ष र शान्तिपूर्ण रूपमा सम्पन्न गरिनेछ ।

आरके श्रीवास्तव,राैतहट,०३ गते माघ । 

रौतहट । कानु हलवाई समाज महासंघ नेपाल तथा कानु समाज कल्याण समिति जिल्ला रौतहटको आयोजनामा जागरण सभा एवं सम्मान समारोह भव्य रूपमा सम्पन्न भएको छ । रौतहटको मौलापुरमा आयोजित उक्त कार्यक्रममा प्रमुख अतिथिका रूपमा राजकुमार साहको उपस्थिति रहेको थियो ।

 

कार्यक्रमको अध्यक्षता कानु समाज कल्याण समिति जिल्ला रौतहटका अध्यक्ष सर्फलाल गुप्ताले गर्नुभएको थियो । कार्यक्रममा पूर्व मन्त्री ज्वाला साह, बाबुलाल साहलगायत विभिन्न विशिष्ट व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

सो अवसरमा भारत छापरा विधानसभाकी नव निर्वाचित विधायक छोटी कुमारी साह कानुको विशेष उपस्थिति रहेको थियो । हालै सम्पन्न निर्वाचनमा भोजपुरीका चर्चित गायक कलाकार खेसारीलाल यादवलाई पराजित गर्दै विजयी भएकी विधायक साहलाई कार्यक्रममा भव्य स्वागत तथा सम्मान गरिएको थियो । कार्यक्रममा सम्बोधन गर्दै उनले कानु समुदायले शिक्षामा विशेष जोड दिनुपर्ने आवश्यकता औंल्याइन् ।

 

कार्यक्रममा देशभरबाट कानु समुदायका प्रतिनिधि तथा सदस्यहरूको सहभागिता रहेको थियो । साथै छिमेकी राष्ट्र भारतबाट समेत कानु समुदायका व्यक्तिहरूको उल्लेखनीय उपस्थिति देखिएको थियो । कार्यक्रममा कानु समुदायका जनप्रतिनिधि, विभिन्न सामाजिक व्यक्तित्व तथा पत्रकारहरूलाई पनि सम्मान गरिएको थियो ।

 

कानु समुदायको एकता, जागरण र शैक्षिक तथा सामाजिक विकासलाई केन्द्रमा राखेर आयोजना गरिएको यस कार्यक्रमले समुदायभित्र सकारात्मक सन्देश प्रवाह गरेको आयोजकले जनाएका छन् ।

आरके श्रीवास्तव,रौतहट, २ गते माघ ।

आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै रौतहट जिल्लामा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । जिल्लाका चारवटै निर्वाचन क्षेत्रमा शुक्रबारदेखि निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ काे कटहरिया नगरपालिकाको कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ । यस क्षेत्रमा निर्वाचनलाई व्यवस्थित, निष्पक्ष र प्रभावकारी रूपमा सम्पन्न गर्न आवश्यक सम्पूर्ण तयारी अघि बढाइएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख छोटेलाल दासले जानकारी दिनुभयो ।

 

निर्वाचन क्षेत्र नम्बर ३ का लागि उपसचिव अवध किशोर प्रसाद कुश्वाहा निर्वाचन अधिकृतको जिम्मेवारीमा खटिनुभएको छ । उहाँको नेतृत्वमा निर्वाचनसम्बन्धी प्रशासनिक, प्राविधिक तथा व्यवस्थापकीय तयारीलाई तीव्रता दिइएको जनाइएको छ ।

 

यसैबीच, निर्वाचन क्षेत्र नम्बर १ का लागि सदरमुकाम गौरस्थित आन्तरिक करदाता सेवा कार्यालयमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ भने निर्वाचन क्षेत्र नम्बर २ का लागि परोहा नगरपालिकास्थित कृषि, पशु तथा पन्छी सेवा केन्द्रमा कार्यालय सञ्चालनमा ल्याइएको छ । यस्तै, निर्वाचन क्षेत्र नम्बर ४ का लागि चन्द्रपुर नगरपालिका–५ मा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।

 

अन्य क्षेत्रहरूमा पनि निर्वाचन अधिकृतका रूपमा निर्वाचन क्षेत्र नम्बर १ मा जिल्ला न्यायाधीश मनोज केसी, निर्वाचन क्षेत्र नम्बर २ मा इजलास अधिकृत सिताराम खड्का तथा निर्वाचन क्षेत्र नम्बर ४ मा उपरजिस्ट्रार उद्धव ढोडारी खटिनुभएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

अर्जुन यादव,रौतहट,२९ गते पुस ।

रौतहट जिल्लाको देवाही गोनाही नगरपालिकामा नयाँ प्रमुख प्रशासकीय अधिकृतका रूपमा पवन कुमार केशरीले औपचारिक रूपमा कार्यभार सम्हालेका छन्। नगरपालिकामा आयोजित एक संक्षिप्त तर अर्थपूर्ण कार्यक्रमबीच नगर प्रमुख प्रेमलाल साह र उप–प्रमुख परनिया देवी पटेलको रोहवरमा प्रमुख प्रशासकीय अधिकृत केशरीले पदभार ग्रहण गरेका हुन्।

कार्यभार ग्रहण कार्यक्रममा नगरपालिकाका विभिन्न शाखाका कर्मचारी, स्थानीय राजनीतिक दलका प्रतिनिधि तथा सरोकारवालाहरूको उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रममा बोल्दै नगर प्रमुख प्रेमलाल साहले नयाँ प्रमुख प्रशासकीय अधिकृतलाई सफल कार्यकालको शुभकामना व्यक्त गर्दै नगरपालिकाको समग्र विकास, सुशासन र सेवा प्रवाहलाई अझ प्रभावकारी बनाउने दिशामा सहकार्यको अपेक्षा व्यक्त गरे। उप–प्रमुख परनिया देवी पटेलले पनि नगरवासीको हितलाई केन्द्रमा राखी पारदर्शी र जवाफदेही प्रशासन सञ्चालन गर्न आग्रह गरिन्।

नव नियुक्त प्रमुख प्रशासकीय अधिकृत पवन कुमार केशरीले आफ्नो जिम्मेवारीप्रति प्रतिबद्धता जनाउँदै नगरपालिकाको प्रशासनिक कार्यलाई चुस्त, प्रभावकारी र जनमैत्री बनाउने बताए। उनले कर्मचारीहरूबीच समन्वय, नियम–कानुनको पालना र सेवा प्रवाहमा गुणस्तर अभिवृद्धिलाई प्राथमिकतामा राख्ने स्पष्ट पारे। साथै, स्थानीय तहमा देखिएका समस्या समाधानका लागि जनप्रतिनिधि, कर्मचारी र समुदायसँग मिलेर काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

हनुमत कुमार यादव,गाैर,२७ गते पुस । 

‎गाैर ।  राष्ट्रिय एकता दिवसको अवसरमा रौतहट जिल्लाको सदरमुकाम गौरस्थित प्रादेशिक अस्पताल गौरमा रक्तदान कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ । अस्पतालका अध्यक्ष अवधेश यादवको सक्रियतामा आयोजित उक्त कार्यक्रम अस्पताल प्रशासनको समन्वयमा विभिन्न सामाजिक संघ–संस्था, स्वास्थ्यकर्मी तथा स्थानीय युवाहरूको उल्लेखनीय सहभागितामा सम्पन्न भएको हो ।

‎कार्यक्रममा अस्पतालका चिकित्सक तथा कर्मचारी, स्थानीय जनप्रतिनिधि, समाजसेवी र सर्वसाधारणले उत्साहपूर्वक रक्तदान गरेका थिए । रक्त अभावका कारण बिरामीहरूलाई उपचारमा समस्या नहोस् भन्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले आपतकालीन अवस्थामा उपचाररत बिरामीहरूको जीवन बचाउन महत्वपूर्ण सहयोग पुग्ने विश्वास लिइएको छ ।

‎कार्यक्रमलाई सम्बोधन गर्दै प्रादेशिक अस्पताल गौरका अध्यक्ष अवधेश यादवले रक्तदान मानव जीवनसँग प्रत्यक्ष जोडिएको महान् कार्य भएको उल्लेख गर्दै भने, “रक्त अभावकै कारण कुनै पनि बिरामीले ज्यान गुमाउन नपरोस् भन्ने हाम्रो उद्देश्य रहेको बताए । राष्ट्रिय एकता दिवसजस्तो महत्वपूर्ण दिनमा आयोजित यस कार्यक्रमले समाजमा मानवीय सेवा र एकताको सन्देश प्रवाह गर्छ भन्ने कुरा व्यक्त गरे । उनले यस्ता कार्यक्रमलाई विभिन्न पालिका, संघ-संस्था, सकृय युवा संग समन्वय गरी निरन्तरता दिने प्रतिबद्धता पनि व्यक्त गरे ।

‎त्यसैगरी कार्यक्रममा मन्तव्य राख्दै मे.सु. मुरारी ठाकुरले स्वस्थ व्यक्तिले नियमित रूपमा रक्तदान गर्नुपर्ने आवश्यकता औँल्याउँदै भने, “रक्तदान महादान हो । थोरै समय र इच्छाले अरूको जीवन बचाउन सकिन्छ । यस किसिमका कार्यक्रमले स्वास्थ्यप्रति सचेतना बढाउनुका साथै समाजमा सहयोगको भावना मजबुत बनाउँछ ।

‎प्रादेशिक अस्पताल गौरका व्यवस्थापन पक्षले सामाजिक उत्तरदायित्वलाई आत्मसात गर्दै भविष्यमा पनि यस्ता सामाजिक तथा मानवीय कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ । राष्ट्रिय एकता दिवसको अवसरमा सम्पन्न यस रक्तदान कार्यक्रमले समुदायमा सकारात्मक सन्देश प्रवाह गर्नुका साथै आपसी सहकार्य र एकताको भावना अभिवृद्धि गरेको वे. स. स. ओमप्रकाश साह मधेशीयाको भनाइ रहेको छ ।

आरएन पटेल, रौतहट,पुस २६ गते ।

रौतहटको गौरमा DOTIM परिसंघको जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको संगठनात्मक सशक्तीकरणका लागि DOTIM परिसंघ (Dalit, Oppressed, Tharu, Indigenous and Minority) को रौतहट जिल्ला स्तरीय भेला तथा बृहत् अन्तरक्रिया कार्यक्रम आज गौरमा सम्पन्न भएको छ।
गौरस्थित श्री रामजानकी धर्मशालामा सुरु भएको उक्त कार्यक्रम जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) रौतहट जिल्ला समितिको विस्तारित बैठकको निर्णयअनुसार आयोजना गरिएको हो ।

कार्यक्रमको उद्घोषणा तथा सञ्चालन DOTIM परिसंघका महासचिव शशिकपुर मियाँले गर्नुभएको छ भने DOTIM परिसंघका केन्द्रीय संयोजक चन्देश्वर पासवानले अध्यक्षता ग्रहण गर्नुभएको थियो।
कार्यक्रममा जसपा नेपालका राष्ट्रिय अध्यक्ष तथा प्रमुख वक्ता माननीय उपेन्द्र यादव प्रमुख अतिथिका रूपमा सहभागी हुनु भएको थियो। यस्तै जसपा नेपालका पदाधिकारीहरू विशिष्ट अतिथिका रूपमा उपस्थित थिए, जसमा सहअध्यक्ष रकम चेम्जोङ, उपाध्यक्ष गोविन्द चौधरी र केन्द्रीय कार्यकारणी सदस्य राम किशोर यादव रहेका थिए।
कार्यक्रमका सल्लाहकारहरूमा डा. पि.के. (पुरुषोत्तम) ठाकुर (प्रमुख सल्लाहकार) तथा पूर्व मन्त्री योगेन्द्र राय यादव सहभागी हुनु भएको थियो।
त्यसैगरी DOTIM परिसंघका सह-संयोजकहरू पंचराम तामाङ (आदिवासी), डा. मोफिज सिद्दीकी (मुस्लिम) र रामआश्रय चौधरीले पनि कार्यक्रममा आसन ग्रहण गर्नुभएको थियो।

कार्यक्रमकै क्रममा DOTIM परिसंघको रौतहट जिल्ला समिति काशीराम पासवानको अध्यक्षतामा २१ सदस्यीय समिति चयन गरिएको हो। कार्यक्रममा वक्ताहरुले चयन भएका नव गठित DOTIM परिसंघ रौतहटका सम्पूर्ण पदाधिकारीहरुलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन।

कार्यक्रममा दलित, पिछडावर्ग, थारु, आदिवासी तथा अल्पसंख्यक समुदायको राजनीतिक सहभागिता, संगठन विस्तार, अधिकार संरक्षण तथा प्रतिनिधित्व सुदृढीकरणका विषयमा गहन छलफल हुने आयोजकले जनाएको छ। सहभागी वक्ताहरूले समावेशी लोकतन्त्र र सामाजिक न्यायको स्थापनाका लागि यी समुदायहरूको सशक्तीकरण अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन।
DOTIM परिसंघमार्फत पार्टीभित्र रहेका उत्पीडित तथा सीमान्तकृत समुदायलाई संगठित गर्दै उनीहरूको आवाज नीति निर्माण तहसम्म पुर्‍याउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको जसपा नेपाल रौतहट जिल्ला अध्यक्ष राजीव रंजन यादवले बताएको छ।
कार्यक्रममा पार्टीका केन्द्रीय, प्रदेश तथा जिल्ला तहका नेता-कार्यकर्ता, विभिन्न समुदायका प्रतिनिधि तथा स्थानीय अगुवाहरूको उपस्थिति रहेको थियो।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।