२०८२ चैत्र २५
२०८२ चैत्र २५

आरएन पटेल, रौतहट, माघ १२ गते।
रौतहट क्षेत्र नं. ३ प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार तथा जनता समाजवादी पार्टी नेपालका कुशल नेतृत्वकर्ता गोबिन्द चौधरीले गरुडा नगरपालिका वडा नं. ०५ अन्तर्गत लक्ष्मीपुर र झाझपुल चोकमा स्थानीय देवतुल्य जनताहरूसँग आत्मीय भेटघाट गरेका छन।
भेटघाटका क्रममा उम्मेदवार चौधरीले क्षेत्रबासीहरूसँग प्रत्यक्ष संवाद गर्दै “जनता समाजवादी पार्टी नेपालको चुनाव चिन्ह छाता छाप ” मा मतदान गर्न आग्रह गरेका छन। उनले आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचन निर्णायक अवसर भएको उल्लेख गर्दै समग्र क्षेत्रको विकास, समानता र समृद्धिका लागि जसपा नेपाल नै एक मात्र भरपर्दो विकल्प रहेको बताए।
उम्मेदवार चौधरीले वर्षौं वर्षदेखि चल्दै आएको अन्यायपूर्ण र शोषणमूलक शासन प्रणाली तोडेर विकास र समृद्धिको नयाँ बाटो खोल्न जनता समाजवादी पार्टी नेपालको साथ, समर्थन र एकताबद्ध सहभागिता अपरिहार्य रहेको धारणा व्यक्त गरेका छन।
स्थानीय बासिन्दाहरूले पनि उम्मेदवार चौधरीको विकासप्रेमी सोच, सरल व्यवहार र स्पष्ट दृष्टिकोणको प्रशंसा गर्दै सकारात्मक प्रतिक्रिया दिएका छन। भेटघाट कार्यक्रमले क्षेत्र नं. ३ मा जसपा नेपालको चुनावी अभियानलाई थप उत्साह र बल पुगेको तथा चुनावी जनलहर बढेको स्थानियहरूले बताएका छन।

आरके श्रीवास्तव,राैतहट,११ गते माघ । 

रौतहट निर्वाचन क्षेत्र नम्बर ३ बाट जनता समाजवादी पार्टी (जसपा) नेपालको तर्फबाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गोविन्द चौधरीले चुनावी भेटघाटलाई तीव्रता दिएका छन् ।

आइतवार कटहरिया नगरपालिका वडा नम्बर ३ बिर्ती प्रष्टोमा उनले पूर्व गाविस अध्यक्ष भन्टु साह बनियासँग भेटघाट गरेका हुन् । भेटघाटका क्रममा उनीहरूबीच समसामयिक राजनीतिक अवस्था तथा चुनावी माहोलको विषयमा छलफल भएको थियो ।

भेटका क्रममा पूर्व गाविस अध्यक्ष बनियाले गोविन्द चौधरीलाई स्वच्छ छविका, इमान्दार र निष्ठावान् उम्मेदवारको रूपमा प्रशंसा गरे । उनले गोविन्द चौधरीले आफ्नो राजनीतिक जीवनमा कसैबाट एक पैसा पनि नलिएको उल्लेख गर्दै हालका धेरै नेताहरूले राजनीति मार्फत ठूलो सम्पत्ति आर्जन गरेको भए पनि चौधरीले भने आफ्नै लाखौंको सम्पत्ति बेचेर राजनीतिमा लगानी गरेको बताए ।

कार्यक्रममा जसपा नेपालका नेता रामप्रवेश दास र खेना राय यादवले पनि आफ्नो विचार राख्दै गोविन्द चौधरीलाई जनताको पक्षमा काम गर्ने योग्य उम्मेदवारका रूपमा समर्थन व्यक्त गरेका थिए ।

स्थानीयस्तरमा यस्ता भेटघाट र संवादले चुनावी गतिविधि थप सक्रिय बन्दै गएको देखिन्छ ।

 

हनुमत कुमार यादव,गाैर,११ गते माघ । 
‎गाैर । रौतहट नेपाली कांग्रेसका सक्रिय नेता रामेश्वर प्रसाद यादवले पार्टी परित्यागको औपचारिक घोषणा गरेका छन् । उनले पार्टीको आन्तरिक निर्णय प्रक्रिया, टिकट वितरण प्रणाली र जनभावनाप्रति देखिएको असंवेदनशीलताप्रति असहमति जनाउँदै यो निर्णय लिएको बताएका छन् ।

‎रौतहट जिल्लाको साविक गा.वि.स. मडलबा वडा नं. १ हाल राजदेवी नगरपालिका वडा नं. ७ का स्थायी बासिन्दा यादव लामो समयदेखि नेपाली कांग्रेसको संगठन निर्माण र जनआन्दोलनमा सक्रिय रहँदै आएका थिए । उनले २०६६ सालको जनआन्दोलनमा सक्रिय भूमिका निर्वाह गर्नुका साथै २०६८ र २०७१ सालमा सम्पन्न निर्वाचनहरूमा पार्टीका उम्मेदवारलाई विजयी गराउन महत्वपूर्ण योगदान पुर्‍याएको उल्लेख गरेका छन् ।



‎यादवका अनुसार नेपाली कांग्रेस प्रतिनिधि सभा क्षेत्र नं. १, रौतहटको क्षेत्रीय कार्यसमितिको कार्यालयबाट २०८२/०५/०४ गतेको पत्र तथा २०८२/०६/२६ गतेको निर्णयअनुसार मिति २०८२ फागुन २७ गते हुने निर्वाचनका लागि उनको नाम क्रम संख्या २ मा सिफारिस गरिएको थियो। तर Gen Z को भावना र स्थानीय जनअपेक्षालाई बेवास्ता गर्दै सिफारिस सूचीबाट कसैलाई पनि टिकट नदिई पार्टी नेतृत्वले एकल निर्णय गरेको आरोप उनले लगाएका छन् ।

‎उनका अनुसार यस्तो निर्णयले जनताको चाहना सम्बोधन नगरेको स्पष्ट देखिएकाले बाध्य भएर पार्टी परित्याग गर्नुपरेको हो । उनले वर्तमान राजनीतिक अवस्था, देश र जनताको मागअनुसार परिवर्तनलाई आत्मसात गर्दै अब नयाँ राजनीतिक यात्रातर्फ अघि बढ्ने बताएका छन् ।

‎यादवले आजको मितिबाट औपचारिक रूपमा नेपाली कांग्रेस पार्टी परित्याग गरेको जानकारी प्रेस विज्ञप्तिमार्फत सार्वजनिक गर्दै सबैलाई सूचित गरेका छन् ।

‎उनले विज्ञप्तिको अन्त्यमा ‘जय देश, जय मधेश’ भन्दै आफ्नो प्रतिबद्धता जनाएका छन् ।

आरके श्रीवास्तव,राैतहट,१२ गते माघ ।

आगामी फाल्गुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनमा नेपाली कम्युनिस्ट पार्टीको तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा पुनम यादव उम्मेदवार बनेकी छन् । महिला उम्मेदवारको रूपमा उनको उम्मेदवारीले स्थानीय राजनीतिमा महिला सहभागिता र नेतृत्वको विषयलाई थप सशक्त बनाएको छ ।

उम्मेदवारी घोषणा गरेसँगै यादवले रोजगारी, शिक्षा र स्वास्थ्यलाई आफ्नो प्राथमिक एजेन्डा बनाउने बताएकी छन् । विशेषगरी युवालाई स्थानीय स्तरमै रोजगारीका अवसर सिर्जना गर्ने, गुणस्तरीय शिक्षामा पहुँच विस्तार गर्ने तथा आधारभूत स्वास्थ्य सेवालाई सुलभ र प्रभावकारी बनाउने विषयमा उनले जोड दिएकी छन् ।

सामाजिक र सांस्कृतिक गतिविधिप्रति चासो राख्ने यादव बलिउडका सेलिब्रेटी तथा सन्त–महन्तहरूसँगको लगावका कारण पनि चर्चामा रहेकी छन् । उनका अनुसार विभिन्न क्षेत्रका व्यक्तित्वबाट प्रेरणा लिनुले सार्वजनिक जीवनमा सकारात्मक दृष्टिकोण विकास गर्न मद्दत पुग्ने गर्दछ ।

स्थानीय विकास, समावेशी नीति र सामाजिक न्यायका सवाललाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेकी पुनम यादवको उम्मेदवारीलाई रौतहट–३ मा अर्थपूर्ण राजनीतिक उपस्थितिका रूपमा हेरिएको छ ।

आरके श्रीवास्तव,रौतहट,११ गते माघ ।
कटहरिया । जनमत पार्टीको तर्फबाट रौतहट निर्वाचन क्षेत्र नम्बर ३ मा प्रतिनिधिसभा सदस्य पदका लागि प्रवेज आलमले उम्मेदवारी दिएका छन् । उनले आफ्नो उम्मेदवारीलाई जेन–जी आन्दोलनको देन भएको बताउँदै देशमा युवामाथि भइरहेको उपेक्षाविरुद्ध चुनावी मैदानमा उत्रिएको बताएका छन् ।

उम्मेदवार आलमले देशमा युवाका लागि न रोजगारीको व्यवस्था भएको न त स्पष्ट नीति नै रहेको आरोप लगाए । “युवालाई सधैं आश्वासन मात्र दिइयो, त्यसै कारण आज युवाहरू विदेश जान बाध्य छन्,” उनले भने ।

कटहरिया नगरपालिका वडा नम्बर ६ फतेपुर निवासी प्रवेज आलम आफू यही क्षेत्रको स्थायी बासिन्दा भएको उल्लेख गर्दै स्थानीय समस्यालाई नजिकबाट बुझेको दाबी गर्छन् । उनका अनुसार युवाको रोजगारी, शिक्षा र स्वास्थ्य उनका प्रमुख चुनावी एजेन्डा हुन् ।

“म नेता भएर भाषण गर्ने होइन, सामान्य नागरिकको छोरा बनेर काम गर्न चाहन्छु,” आलमले बताए । विगत ७ वर्षदेखि समाजसेवामा सक्रिय रहँदै आएको र कोरोना महामारीको समयमा राहत सामग्री वितरण लगायतका काम गरेको उनले जानकारी दिए ।

उनले जनतासँग जनमत पार्टीको चुनाव चिन्ह हर्न छापमा मतदान गरी सहयोग गर्न अपिल गर्दै विशेषगरी युवालाई विश्वास गर्न आग्रह गरेका छन् । “नेता बदलौँ, बदलाव ल्याऔँ । जनताले चाहे अवस्था बदलिन सक्छ,” उनको भनाइ छ ।

आरके श्रीवास्तव,राैतहट,१० गते माघ । 

रौतहट निर्वाचन क्षेत्र नं. ३ अन्तर्गत मौलापुर नगरपालिका–८ सोनरनियामा जनता समाजवादी पार्टी (जसपा) नेपालको चुनावी प्रचार–प्रसार तथा मतदाता भेटघाट कार्यक्रम सम्पन्न भएको छ ।

जसपा नेपालको प्रचार–प्रसार विभाग क्षेत्रीय सचिवालयको आयोजनामा सम्पन्न कार्यक्रममा पार्टीका केन्द्रीय नेता, स्थानीय कार्यकर्ता तथा सर्वसाधारणको उल्लेख्य उपस्थिति रहेको थियो । कार्यक्रममा रौतहट क्षेत्र नम्बर ३ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार गाेविन्द चाैधरी सहभागी भएका थिए ।

उनी पूर्व सांसद तथा पूर्व मन्त्रीसमेत भइसकेका अनुभवी राजनीतिक व्यक्तित्व हुन् । कार्यक्रममा उनले विगतमा आफूले गरेका काम, संसदीय अनुभव तथा क्षेत्रको विकासका लागि उठाइएका मुद्दाबारे जानकारी गराएका थिए ।

स्थानीय जनतासँग प्रत्यक्ष संवाद गर्दै उनले शिक्षा, स्वास्थ्य, कृषि, रोजगारी र पूर्वाधार विकासलाई प्राथमिकतामा राखेर काम गर्नुपर्ने धारणा राखेका थिए । कार्यक्रममा सहभागी स्थानीय बासिन्दाहरूले क्षेत्रका समस्या, आवश्यकता र अपेक्षाबारे आफ्ना विचार व्यक्त गरेका थिए । साे कार्यक्रममा पूर्व प्रदेस सांसद रामकिशाेर यादव पनि सहभागी थिए ।

जसपा नेपालको प्रतिनिधि सभा सदस्य पदको चुनाव चिन्ह छाता छाप रहेको छ । आगामी फाल्गुन २१ मा हुने चुनावमा छाता छापमा मतदान गर्न आग्रह गरेका थिए । कार्यक्रम शान्तिपूर्ण र सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको जनाईएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,१० गते माघ । 

रौतहट जिल्लाको कटहरिया नगरपालिका–३ स्थित प्राथमिक विद्यालय बडेडवामा चार कोठे नयाँ विद्यालय भवन निर्माण हुने भएको छ । मानव स्रोत विकास केन्द्र र कटहरिया नगरपालिकाको साझेदारीमा करिब ५५ लाख रुपैयाँको लागतमा उक्त भवन निर्माण गर्न लागिएको हो ।

विद्यालयका प्रधानाध्यापक राअयोध्या यादवका अनुसार शैक्षिक पूर्वाधार सुदृढ गर्ने उद्देश्यले भवन निर्माण प्रक्रिया अघि बढाइएको हो । नयाँ भवन निर्माण भएपछि विद्यालयको पठन–पाठन वातावरण थप व्यवस्थित हुने अपेक्षा गरिएको छ।

सरस्वती पूजाको अवसर पारेर नगर प्रमुख अजय प्रकाश जयसवाल र उपप्रमुख रिता देवी यादवले संयुक्त रूपमा भवनको शिलान्यास गरेका छन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समिति अध्यक्ष दिनानाथ यादवसहित स्थानीय समुदायका प्रतिनिधिहरूको उपस्थिति रहेको थियो ।

कटहरिया नगरपालिकाका कार्यपालिका सदस्य मनोज जयसवालको पहलमा यो योजना अघि बढेको बताइएको छ । स्थानीय तह, विद्यालय र समुदायबीचको सहकार्यबाट शैक्षिक पूर्वाधार विकासमा योगदान पुग्ने सहभागीहरूको धारणा थियो ।

निर्माण कार्य तोकिएको समयभित्र सम्पन्न गरी बालबालिकालाई सुरक्षित र सहज अध्ययनको वातावरण उपलब्ध गराउने लक्ष्य राखिएको विद्यालय प्रशासनले जनाएको छ ।

 

आरके श्रीवास्तव,राैतहट,१० गते माघ । 

गरूडा ।  प्रत्येक वर्षझैँ यस वर्ष पनि रौतहट जिल्लामा देशकै सम्भवतः सबैभन्दा ठूलो ग्रामीण काठ फर्निचर मेला शुक्रबारदेखि औपचारिक रूपमा शुरु भएको छ । श्रीपञ्चमीको पावन अवसर पारेर नेपाल विश्वकर्मा बजार समिति जयनगरको आयोजनामा गरुडा नगरपालिका–१ जयनगरमा काठ तथा फलामका सामग्रीको विशाल फर्निचर मेला सञ्चालनमा आएको हो ।

नेपाल विश्वकर्मा लोहार संघका अध्यक्ष विवेक शर्माका अनुसार २०६५ सालदेखि निरन्तर रूपमा आयोजना हुँदै आएको यो मेला हरेक वर्ष विस्तार हुँदै गइरहेको छ । ग्रामीण क्षेत्रमा लाग्ने यो मेला आकार, व्यापार र सहभागिताका हिसाबले देशकै ठूलो ग्रामीण फर्निचर मेलाका रूपमा परिचित हुँदै गएको छ ।

प्रत्येक वर्ष श्रीपञ्चमीदेखि शुरु भई झण्डै दुई महिनासम्म चल्ने यस मेलामा घरायसी प्रयोजनका काठका फर्निचरका साथै कृषिसँग सम्बन्धित फलामका विभिन्न सामग्री बिक्रीका लागि राखिएको छ। मेलामा पलङ, डाइनिङ सेट, कुर्सी, खाट, खटिया, चारपाई, बेञ्च, ढोका, टेबल, ड्रेसिङ टेबल, झ्याल, दराज, बालबालिकाका खेलौना लगायत घरायसी प्रयोगका प्रायः सबै प्रकारका काठका फर्निचर उपलब्ध छन् । त्यसैगरी फलामका कोदालो, हँसिया, कुटो, बञ्चरो, खुकुरीलगायतका सामग्री पनि बिक्रीका लागि राखिएका छन् ।

मेलामा रौतहट, सर्लाही, महोत्तरी, बारा, पर्सा लगायत विभिन्न जिल्लाका दुई सयभन्दा बढी फर्निचर व्यवसायीले आफ्ना सामग्री बिक्रीका लागि ल्याएका छन् भने फर्निचर आउने क्रम अझै जारी रहेको समितिले जनाएको छ । यसका साथै नेपालका विभिन्न स्थानबाट मात्र नभई भारतको बिहार प्रान्तबाट समेत उपभोक्ता तथा व्यापारीहरू आएर घरायसी प्रयोग र पुनः बिक्रीका लागि फर्निचर खरिद गरिरहेको देखिन्छ ।

व्यवसायीहरूका अनुसार जयनगर फर्निचर मेलामा अन्य स्थानको तुलनामा २५ प्रतिशतभन्दा बढी सस्तोमा फर्निचर उपलब्ध हुने गर्दछ । आफ्नै काठ प्रयोग गरी स्थानीय सीप र श्रमबाट फर्निचर निर्माण गरिने भएकाले मूल्य तुलनात्मक रूपमा सस्तो पर्ने उनीहरूको भनाइ छ । यही कारणले गर्दा विवाहमा दाइजोका लागि फर्निचर खरिद गर्नेहरू तथा सस्तो र गुणस्तरीय सामान खोज्ने उपभोक्ताको पहिलो रोजाइ यो मेला बन्दै गएको छ ।

मेलामा बिक्री गर्नका लागि विश्वकर्मा लोहार समुदायले २–३ महिना अघिदेखि नै फर्निचर निर्माणको काम शुरु गर्ने गर्दछन् । दिनरात खटेर बनाइएका ती सामग्री मेलामा बिक्री गरेर उनीहरूले राम्रो आम्दानीसमेत गर्दै आएका छन् ।

मेलाबाट रौतहट, सर्लाही, बारा, पर्सा, धनुषा, काठमाडौँ, पोखरा, विराटनगर, जनकपुरलगायत नेपालका विभिन्न भाग तथा भारतको बिहार प्रान्तका सीतामढी, पूर्वी चम्पारण, मुजफ्फरपुर र पटनासम्म फर्निचर ढुवानी हुँदै आएको छ ।

यातायातको सहज पहुँच, गुणस्तरीय सामग्री र सस्तो मूल्यका कारण जयनगरको फर्निचर मेला उपभोक्ता र व्यवसायी दुवैका लागि आकर्षणको केन्द्र बन्दै गएको समितिको दाबी छ । हरेक वर्ष मेलाको विस्तारसँगै कारोबार पनि बढ्दै गइरहेकोले आगामी दिनमा यसलाई थप व्यवस्थित र प्रविधिमैत्री बनाउने तयारी भइरहेको समितिले जनाएको छ ।

काठमाडौं, १० माघ ।

आम जनता पार्टी (आजपा)का अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले देशलाई जेनजी आन्दोलनको हत्यारा, दमनकारी, भ्रष्टाचारी र हाईज्याकरहरुबाट बचाउनको लागि देशभक्त र राष्ट्रवादी शक्तिहरुबीच एकताको खाँचो औंल्याएका छन् ।

उनले केपी ओली, आरजु राणा र रमेश लेखकहरुले जेनजी आन्दोलनमा दमन गरेको र युवाहरुको हत्या गरेको भन्दै एउटा कित्तामा राखेका छन् । उता, जेनजी आन्दोलनको बलमा जेलबाट भाग्ने रवि लामिछाने र आन्दोलन कब्जा गराउने बालेन शाह हाईज्याकरको रुपमा देखिएको साहको टिप्पणी छ । उनले देशलाई छद्यमभेषी र नक्कली नेताहरुबाट बचाउनको लागि पनि यो निर्वाचनमा जनताले सही तवरले मत जाहेर गर्नुपर्ने तर्क गरे ।

जेनजी आन्दोलनको मर्म र भावनालाई वर्तमान सरकारको नेतृत्वकर्ता सुशीला कार्की र उनको सरकारमा बसेका मन्त्रीहरुले एकपछि अर्को गरेर कुल्चिने काम गरेको साहको आरोप छ । आम जनता पार्टीको बागमती प्रदेश कमिटीको आयोजनामा आज (शनिबार) काठमाडौंको प्रज्ञा भवनमा बसेको निर्वाचन परिचालन समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।

गैरदलीय सरकारमा बसेर कुलमान घिसिङ, महावीर पुन, जगदीश खरेल र बब्लु गुप्तालगायतले जेनजी आन्दोलनलाई नै धोका दिएको र अहिले लोकप्रियताको हावा चलेको मौकामा संसद् छिर्ने सपना देखेको उनको आरोप छ । आजपा अध्यक्ष साहले भने, ‘एकथान मन्त्री खानको लागि जेनजी आन्दोलनको मर्म र भावनालाई कुल्चिन मिल्छ ? प्रधानमन्त्रीजीले यो सरकार निर्दलीय भन्नुभएको थियो, तर उहाँले रास्वपाका क्याडरलाई भर्ती गर्नुभएको रहेछ, अहिले त पुष्टि भयो नि, जेनजी आन्दोलनमा शाहदात प्राप्त गरेका परिवार अहिले पनि पीडामा हुनुुुहुन्छ, उहाँहरुले न्याय पाउनुभएको छैन, तर आन्दोलनमा कुनै योगदान गरेकाहरुले धमाधम अवसर लिएर बीचमै आफ्नो दायित्व भूलेर चुनावमा उत्रिएका छन् ? के यस्तै कुकर्म देख्न र नैतिकता नभएकाहरुको राजनीति हेर्नको लागि जेनजीहरुले आन्दोलन गर्नुभएको थियो ? एकचोटी सोच्न आग्रह गर्छु ।’

उनले कुलमान घिसिङ, रवि लामिछाने र बालेन शाहले देशलाई कहिल्यैपनि सही दिशा र नेतृत्व प्रदान गर्न नसक्ने ठोकुवा गरे। उनीहरु तीनै जना कोही भ्रष्ट, कोही ठग र कोही अनाडी (केही पनि नजान्ने) रहेको भन्दै साहले उनीहरुको पछि भीड देखाएर शक्ति आर्जन गर्न खोज्नु हाँस्यास्पद भएको बताए ।

उनले अहिले रास्वपाले भावी प्रधानमन्त्रीको रूपमा अघि सारेका बालेन शाह पनि नक्कली मान्छे र परिक्षण भैसकेको व्यक्ति भएको भन्दै भ्रममा नपर्न सुझाव दिए । उनले बालेन शाहले काठमाडौंको मेयर हुँदा मधेशबाट श्रम गर्न आएका मधेशी समूदाय, भुईंमान्छे र निमुखालाई खेद्ने काम गरेको र अहिले चुनावको मुखमा मधेश झरेर म मधेशको छोरा हुँ भनेर नक्कली भाषण गरेको आरोप लगाए ।

उनले भने, ‘काठमाडौंको मेयर पदमा विराजमान हुँदा तरकारी, फलफूल बेच्नेहरुको साईकल खोस्ने को थियो ? कवाडीहरुको उठीबास लगाउने र साईकल चोरिदिने को थियो ? यहाँ फूटपाथमा केही गर्छु भन्ने गरिव आमा, दिदीबहिनीलाई लेखेट्ने को हो ? उखु किसान चिसोमा खाली खुट्टा माईतीघरमा आन्दोलनमा आउँदा नाक, मुख नदेखाउने अनि जनकपुर झरेर म फुर्सदमा थिईनँ भन्ने ? त्यत्रो मिटरब्याज पीडितहरु न्याय माग्न मार्चपास गर्दै खाली गोडा काठमाडौं आए, तर मधेशको छोरा भनाउँदो बालेनले पीडितलाई भेट्ने फुर्सद पाएन, आरती साहको परिवारले न्याय माग्दा पनि उसले फुर्सद पाएन । यहाँ छठघाट बनाउन दिएन, अनि उसले मधेश झरेर म मधेशको छोरा हुँ भनेर मधेशी जनतालाई बेवकुव बनाउने ?’

काठमाडौंको मेयरमा बस्दा बालेनले जनतासँगको सम्बन्ध नै स्थापित गर्न नसकेको र खोपीको देउता बनेर बसेको भन्दै यस्ता व्यक्तिले राजनीति गर्छु र जनताको सेवा गर्छु भन्ने आँफैमा अपत्यारिलो हुने उनको टिप्पणी छ ।

आजपा नेता धनकुमारी थापाको अध्यक्षता सम्पन्न कार्यक्रममा जनादेश पार्टीका अध्यक्ष रमण कर्ण, आजपा सहअध्यक्ष तिलक थापामगर, नेता एंव वरिष्ठ पत्रकार ऋषि धमला, उपाध्यक्ष एलिजा गौतम लगायतको सहभागिता रहेको आजापा सचिवालय सदस्य सुभाष साहले जनाएका छन् ।

 

आरएन पटेल, रौतहट, माघ १० गते ।
बसन्त पञ्चमी तथा विद्या की देवी सरस्वती पूजाको पावन अवसरमा रौतहट जिल्लाको बौधिमाई नगरपालिका वडा नं. २, इनर्वामा सञ्चालनमा रहेको ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलमा भव्य सांस्कृतिक कार्यक्रमको उद्घाटन कार्यक्रम सम्पन्न भएको छ। सरस्वती पूजा २०८२ को अवसरमा विद्यालयका बालबालिकाहरूले प्रस्तुत गरेको सांस्कृतिक कार्यक्रम, स्पीच तथा नाटकीय प्रस्तुतीको शुभ उद्घाटन बौधिमाई नगरपालिकाका पूर्व नगर प्रमुख तथा जनता समाजवादी पार्टी नेपाल, रौतहटका जिल्ला अध्यक्ष राजीव रंजन यादवले गरेका हुन।
कार्यक्रममा प्रमुख अतिथि यादवले बसन्त पञ्चमीको महत्वबारे चर्चा गर्दै विद्यालयले प्रत्येक वर्ष आयोजना गर्दै आएको यस्ता सांस्कृतिक, स्पीच तथा नाटकीय कार्यक्रमहरूले विद्यार्थीहरूमा शिक्षाप्रति रुचि र सिर्जनशीलता बढाउने बताए। उनले शिक्षा मानव जीवनको “तेस्रो आँखा” भएको उल्लेख गर्दै शिक्षाले केवल साक्षर मात्र नभई आत्मनिर्भर नागरिक बनाउने भएकाले अभिभावक, शिक्षक-शिक्षिका तथा विद्यार्थीहरूले यसको महत्व बुझेर अघि बढ्नुपर्नेमा जोड दिए।


विद्यालयका फाउन्डर तथा प्रिन्सिपल जयराम प्रसाद गुप्ताले विगत दुई दशकदेखि ज्ञानकुञ्ज इंगलिश बोर्डिंग स्कूलले इनर्वा तथा आसपासका क्षेत्रहरूमा शिक्षाको उज्यालो फैलाउँदै आएकोप्रति युवा नेता दिलीप कुमार पटेल उर्फ राजकिशोर पटेलले बताए। उनका अनुसार विद्यालयबाट अध्ययन पूरा गरेका धेरै विद्यार्थीहरू आज विभिन्न सरकारी तथा गैरसरकारी निकायमा सफलतापूर्वक कार्यरत छन। साथै विद्यालयले शिक्षाप्रति खेलको उक्त भूमिकाको लागि विद्यालयको निरन्तर उन्नति र प्रगतिको युवा नेता पटेलले शुभकामना व्यक्त गरे।

त्यस्तै बौधिमाई-२ का पूर्व वडा अध्यक्ष रामबाबु प्रसाद कुशवाहाले विद्यालय परिवारको प्रशंसा गर्दै गीतमार्फत अभिभावक र विद्यार्थीहरूलाई शिक्षाको महत्वबारे सन्देश दिएका थिए। उनले यस विद्यालयले विगतमा मधेश प्रदेश स्तरीय कार्यक्रममा प्रथम स्थान हासिल गरी नगरपालिका तथा वडाको गरिमा बढाएको उल्लेख गरे।
स्थानीय समाजसेवी तथा पूर्व वडा सदस्य शंकर प्रसाद गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा रौतहट जिल्लाका पूर्व उपसभापति तथा हाल प्रतिनिधि सभा सदस्य निर्वाचनमा रौतहट क्षेत्र नं. २ का जसपा नेपालका उम्मेदवार राम अशिष राय यादव, समाजसेवी अशोक प्रसाद पटेल, वडा सदस्य रामध्यान पटेल, स्थानीय विजय प्रसाद पटेल, रामाकान्त कुमार पटेल, दीपकराज पटेल लगायत विद्यालय परिवार, अभिभावक, बुद्धिजीवी र शिक्षाप्रेमीहरूको उपस्थिति रहेको थियो।

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।