२०८३ श्रावण २०
२०८३ श्रावण २०

काठमाडौँ । पछिल्लो २४ घण्टामा देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा ४  जनाको मृत्यु भएको छ भने १०५ जना घाइते भएका छन् ।

नेपाल प्रहरीले दिएको जानकारी अनुसार दुर्घटनामा काठमाडौँ उपत्यकामा २ जना र मधेश र सुदूरपश्चिम प्रदेशमा एक एक जनाको मृत्यु भएको छ ।

त्यस्तै देशभर भएका दुर्घटनामा १०५ जना घाइते भएका छन् । जस अनुसार मधेश प्रदेशमा २५ जना घाइते भएका छन् भने काठमाडौँ उपत्यकामा १९ जना घाइते भएका छन् । त्यस्तै कोशीमा २२ जना, बागमतीमा १६ जना घाइते भएका छन् भने लुम्बिनीमा १३ जना, सुदूरपश्चिममा ४ जना, गण्डकीमा १ जना र कर्णालीमा ५ घाइते भएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाल चिकित्सक संघले वीरगञ्जस्थित नारायणी अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि सेवाकै क्रममा भएको आक्रमण, अस्पतालमा गरिएको तोडफोड तथा गुण्डागर्दीको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

संघले विज्ञप्ति जारी गर्दै आकस्मिक कक्षमा उपचारका क्रममा गम्भीर मुटुरोगीको निधन भएपछि घटनाको यथार्थ नबुझी अस्पतालमा तोडफोड गरिएको तथा विवाद समाधानका लागि छलफलमा जाँदै गरेका मेडिकल अफिसर डा. प्रमोद राममाथि करिब ४०-५० जनाको समूहले मरणासन्न हुने गरी सांघातिक आक्रमण गरेको भन्दै घटनाको कडा भर्त्सना गरेको हो ।

संघले यस्ता घटनाले चिकित्सक तथा स्वास्थ्यकर्मीको पेशागत सुरक्षा कमजोर बनाउनुका साथै स्वास्थ्य सेवा प्रवाहमा गम्भीर असर पुग्ने जनाएको छ ।

संघले घटनामा संलग्न व्यक्तिलाई तत्काल पक्राउ गरी स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६ (पहिलो संशोधन, २०७९) बमोजिम कडा कारबाही गर्न तथा स्वास्थ्य संस्थामा सुरक्षित र भयरहित वातावरण सुनिश्चित गर्न सरकारसँग माग गरेको छ।

संघले आक्रमणमा परेका चिकित्सकसहित आकस्मिक कक्षमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई अस्पताल प्रशासनले निलम्बन गरेकोप्रति पनि गम्भीर आपत्ति जनाएको छ । निलम्बनको निर्णय तत्काल फिर्ता लिन र चिकित्सकलाई सुरक्षित वातावरणमा काम गर्ने व्यवस्था मिलाउन पनि संघले आग्रह गरेको छ ।

संघले घटनामा संलग्न दोषीमाथि तत्काल कानुनी कारबाही नभए आन्दोलनका कार्यक्रमसहित थप कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यलाई विभिन्न उपसमितिको सहजीकरणको जिम्मेवारी बाँडफाँट गरेको छ ।

पार्टीका उपसभापति तथा प्रतिष्ठान प्रमुख विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले विभिन्न उपसमितिको कार्यलाई प्रभावकारी बनाउन केन्द्रीय पदाधिकारी र सदस्यलाई जिम्मेवारी तोक्ने निर्णय गरेको हो ।

बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका नेताहरूलाई यसलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक काम गर्न निर्देशन दिएका छन् । उनले प्रत्येक उपसमितिले नागरिक सरोकारका विषयलाई अभियानसँग जोडेर अघि बढाउनुपर्ने र जनजीवनसँग सम्बन्धित मुद्दालाई कांग्रेसको नीतिगत एजेन्डा बनाउनुपर्नेमा जोड दिएका छन् ।

बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिका संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ तथा दुर्व्यसनमुक्त समाजका लागि सचेतना तथा समन्वय उपसमितिका संयोजक डा. डी.बी. सुनारले आ–आफ्नो कार्ययोजना र अवधारणा प्रस्तुत गरेका थिए ।

प्रतिष्ठानको अर्को बैठक साउन ११ गते बिहान ११:३० बजे बस्ने तय भएको कार्यवाहक मुख्य सचिव कृष्णप्रसाद दुलालले जानकारी दिएका छन् ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायतर्फको एमबीएस प्रथम सेमेस्टरको प्रश्नपत्र सार्वजनिक गरेको आरोपमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी) ले एक जनालाई पक्राउ गरेको छ ।

सिआईबीका अनुसार साउन ८ गते सञ्चालन भएको एमजीटी ५१५ (सङ्गठनात्मक व्यवहार) विषयको परीक्षाको प्रश्नपत्र विभिन्न ह्वाट्सएप समूहमार्फत सार्वजनिक गरी शिक्षा ऐन, २०२८ अन्तर्गत प्रश्नपत्रको गोपनीयता भङ्ग गरेको आरोपमा सन्दीप सिंहलाई पक्राउ गरिएको हो ।

कैलालीको घोडाघोडी नगरपालिका–११ स्थायी घर भएका ३३ वर्षीय सिंह हाल भक्तपुरको मध्यपुर थिमी नगरपालिका–१ बस्दै आएका थिए । उनलाई आइतबार मध्यपुर थिमीबाट पक्राउ गरिएको सिआईबीले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

साथै, सिआईबीले एमबीएस प्रथम सेमेस्टरका अन्य विषयको परीक्षा अझै बाँकी रहेकाले प्रश्नपत्र चुहावट वा अन्य गैरकानुनी गतिविधिमा संलग्न नहुन सबैलाई आग्रह गर्दै यस्ता गतिविधिमा संलग्न भएको पाइएमा प्रचलित कानुनअनुसार कारबाही गरिने चेतावनी दिएको छ ।एभरेष्ट न्यूज एजेन्सी

काठमाडौं । नेपालको जलस्रोत क्षेत्रमा विकासको ढाँचा, सम्भावना तथा जलवायु परिवर्तनले सिर्जना गरेका चुनौतीमा केन्द्रित पुस्तक ‘नेपालको जलस्रोत’ सार्वजनिक भएको छ । आइतबार काठमाडौंस्थित प्रज्ञा प्रतिष्ठान कमलादीमा आयोजित विशेष समारोहका प्रमुख अतिथि एवं जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र अन्य विशिष्ट अतिथिहरुले उक्त पुस्तकको लोकार्पण गरेका हुन्।

जलस्रोत विज्ञ तथा राजनीतिज्ञ महाजन यादवद्वारा नेपाली र अङ्ग्रेजी भाषामा लेखिएको उक्त पुस्तकले नेपालको जलस्रोत विकासको वर्तमान अवस्था, नीतिगत चुनौती, जलवायु परिवर्तनको प्रभाव, जल व्यवस्थापन, ऊर्जा, सिँचाइ तथा दिगो विकासका आयामलाई तथ्य र विश्लेषणसहित प्रस्तुत गरेको लेखकले बताएका छन्।

पुस्तक सार्वजनिक गर्दै प्रमुख अतिथि उपेन्द्र यादवले नेपाल विश्वकै जलसम्पन्न मुलुक भएपनि त्यसको वैज्ञानिक, योजनाबद्ध र राष्ट्रिय हितअनुकूल उपयोग हुन नसकेको उल्लेख गरे। जलस्रोतलाई केवल ऊर्जा उत्पादनसँग मात्र सीमित नराखी कृषि, खानेपानी, सिचाई, उद्योग, वातावरण संरक्षण तथा समग्र आर्थिक रूपान्तरणसँग जोडेर दीर्घकालीन राष्ट्रिय रणनीति निर्माण गर्न आग्रह गरेका छन्।

लेखक महाजन यादवले पुस्तक तयार पार्नुको उद्देश्य नेपालमा जलस्रोतसम्बन्धी नीतिगत बहसलाई थप तथ्यपरक बनाउनु र नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी तथा सरोकारवालाका लागि उपयोगी सन्दर्भ सामग्री उपलब्ध गराउनु रहेको बताए। लेखकका अनुसार यो पुस्तकले नेपालको जलस्रोत विकासको ऐतिहासिक पृष्ठभूमिदेखि भविष्यका अवसर र चुनौतीसम्मको विस्तृत विश्लेषण प्रस्तुत गर्दै जलवायु परिवर्तनको युगमा अपनाउनुपर्ने नीतिगत तथा व्यावहारिक उपायहरूलाई समेत समेटेको छ। जलस्रोत क्षेत्रसँग सम्बन्धित नीति निर्माण, अध्ययन तथा अनुसन्धानमा उपयोगी सन्दर्भ सामग्रीका रूपमा पुस्तकले महत्वपूर्ण योगदान पुर्‍याउने अपेक्षा गरिएको आयोजकले जनाएको छ।

कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जलस्रोत तथा ऊर्जा क्षेत्रका विज्ञ, प्राध्यापक, अनुसन्धानकर्ता, सरकारी अधिकारी, सञ्चारकर्मी तथा विभिन्न क्षेत्रका विशिष्ट व्यक्तित्वहरूको उल्लेख्य उपस्थिति रहेको थियो।एभरेष्ट न्यूज एजेन्सी

बुटवल । नेपाली काँग्रेस लुम्बिनी प्रदेश सरकारबाट बाहिरिने तयारी गरेको छ । नेकपा एमाले नेता चेतनारायण आचार्य नेतृत्वमा रहेको प्रदेश सरकारबाट काँग्रेसका पाँच मन्त्रीहरूले सामुहिक राजीनामा दिने तयारी गरेका छन् ।

उनीहरुले कांग्रेस संसदीय दलमा सामूहिक राजीनामा बुझाएको र अब संसदीय दलले नै मुख्यमन्त्रीलाई राजीनामा बुझाउने बताइएको छ ।

नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारमा सहकार्य गर्ने सहमति भएपछि कांग्रेस प्रदेश सरकारबाट बाहिरिन लागेको हो ।

लुम्बिनी प्रदेशमा कांग्रेसबाट सहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला मन्त्री धनेन्द्र कार्की, उद्योग, पर्यटन तथा यातायात मन्त्री प्रचण्डविक्रम न्यौपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सेना र वन तथा वातावरण मन्त्री देवकरण कलवार सहभागी रहेका छन् ।

अब लुम्बिनी प्रदेशमा एमालेकै नेतृत्वमा नेकपासँगको सहकार्यमा सरकार बन्ने भएको छ । नेकपासँगको सहमतिमा लुम्बिनी प्रदेशको मुख्यमन्त्री एमालेले लिने सहमति भएको छ ।

८३ सदस्यीय प्रदेस सभामा एमालेका २९, काँग्रेसका २७, नेकपाका १३ राप्रपाका ४, जसपा नेपाल र जनमतका ३-३, जसपाका २ र राष्ट्रिय जनमोर्चा र स्वतन्त्र सांसद एक एक रहेका छन् ।एभरेष्ट न्यूज एजेन्सी

मोरङ । मोरङमा १७ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा सुन्दरहरैँचा नगरपालिका-६ सीसौबारी टोल बस्ने २३ वर्षीय प्रतिक राईलाई  प्रहरीले पक्राउ गरेको छ ।

प्रतिकले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा प्रहरी चौकी गछीयाबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ  ।  एभरेष्ट न्यूज एजेन्सी

काठमाडौँ । बुद्ध एयरले नेपालकै पहिलो एटीआर ७२-६०० विमान थपेको छ । कम्पनीले यो विमानलाई आधुनिक प्रविधि, उच्च सुरक्षा, इन्धनको किफायती प्रयोग तथा यात्रुका लागि थप आरामदायी यात्राको अनुभव दिने नयाँ पुस्ताको विमानका रूपमा सार्वजनिक गरेको हो ।

कम्पनीका अनुसार ९एन-एओएस दर्ता नम्बर रहेको यो विमान अत्याधुनिक उडान प्रणालीसँग सुसज्जित छ । यसमा रहेको आधुनिक उडान उपकरण र आरएनपी-एआर प्रविधिले उडान सञ्चालनलाई अझ भरपर्दो, सुरक्षित र प्रभावकारी बनाउन सहयोग गर्ने विश्वास गरिएको छ ।

बुद्ध एयरले यो विमानको आगमनसँगै नेपालभर सुरक्षित, भरपर्दो र आधुनिक हवाई सेवा उपलब्ध गराउने आफ्नो प्रतिबद्धता थप बलियो भएको जनाएको छ ।

कम्पनीले नयाँ विमान थपिनु नेपाली हवाई सेवाको विकासमा अर्को महत्त्वपूर्ण उपलब्धि भएको उल्लेख गर्दै यात्रुहरूको विश्वास र साथप्रति आभार व्यक्त गरेको छ ।

यो विमान फ्रान्सको एयरबस र इटालीको लियोनार्दो कम्पनीको संयुक्त साझेदारीमा रहेको एटीआर कम्पनीले निर्माण गरेको हो । यो विमानमा एकपटकमा ७० देखि ७८ जना यात्रुसम्म यात्रा गर्न सक्ने क्षमता रहेको छ । विमानमा दुईवटा प्राट एन्ड ह्विट्नी पीडब्लु १२७ एम टर्बोप्रप इन्जिन जडान गरिएका छन्, जसमा छ पात भएको प्रोपेलर प्रयोग गरिएको छ। यसले इन्धनको खपत कम गर्दै प्रभावकारी उडान सञ्चालनमा सहयोग पुर्‍याउँछ ।

एटीआर ७२–६०० ले करिब १ हजार ५२८ किलोमिटरसम्म उडान भर्न सक्छ । यसको औसत उडान गति करिब २७५ नटिकल नट (झण्डै ५१० किलोमिटर प्रतिघण्टा) रहेको छ ।

यो विमानको अर्को विशेषता यसको माथिल्लो भागमा रहेको पखेटाको बनावट हो, जसले दुर्गम तथा क्षेत्रीय विमानस्थलमा सञ्चालनलाई सहज बनाउँछ । साथै, धेरैजसो एटीआर ७२–६०० विमानमा यात्रु चढ्न र ओर्लिनका लागि विमानमै जोडिएको भर्‍याङ हुने भएकाले छुट्टै भर्‍याङको आवश्यकता पर्दैन र यात्रु चढाउने तथा ओर्लाउने प्रक्रिया छिटो सम्पन्न हुन्छ ।

आधुनिक प्रविधि, इन्धनको किफायती प्रयोग, उच्च सुरक्षा मापदण्ड र क्षेत्रीय विमानस्थलमा सहज सञ्चालनका कारण एटीआर ७२–६०० अहिले विश्वका लोकप्रिय क्षेत्रीय यात्रुवाहक विमानमध्ये एक मानिन्छ ।एभरेष्ट न्यूज एजेन्सी

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कँडेलले राजीनामा दिएका छन् ।

मुख्यमन्त्री कँडेलले प्रदेश सभामा सम्बोधन गर्दै प्रमुख दल नेपाली काँग्रेस र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले आफुविरुद्ध अविश्वास प्रस्ताव ल्याएको भन्दै आफुले राजीनामा दिने घोषणा गरेका थिए ।

मुख्यमन्त्रीले राजीनामाको घोषणा गरेपछि अविश्वासको प्रस्ताव अगाडी बढाउन आवश्यक नभएको भन्दै प्रदेश सभा बैठक स्थगित भएको छ ।

यसअघि नेपाली काँग्रेस र नेकपाले मुख्यमन्त्री कंडेलविरुद्ध अविश्वासको प्रस्ताव दर्ता गरेका थिए ।

कांग्रेस र नेकपा मिलेर गत बिहीबार दर्ता गरेको अविश्वासको प्रस्तावमा मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता जीवनबहादुर शाहीलाई प्रस्ताव गरिएको छ ।

४० सदस्यीय प्रदेश सभामा काँग्रेस र नेकपाका १४-१४ सांसद छन् भने एमालेका १० तथा राप्रपा र स्वतन्त्र एक एक सांसद छन् ।एभरेष्ट न्यूज एजेन्सी

 

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले अनलाइन सट्टेबाजी (बेटिङ) र अवैधानिक वित्तीय कारोबार हुने दुई लाखभन्दा धेरै वेबसाइट तथा एप बन्द गरेको छ ।

यो वर्षको फिफा विश्वकप आयोजना भएयता फेरि दुई लाख २३ हजार ५६८ त्यस्ता एप तथा वेबसाइट बन्द गरिएको प्राधिकरणले जनाएको छ।

विश्कपका बेला यस्ता बेटिङ एपको प्रयोग बढ्नसक्ने भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले पनि यसमा विशेष चासो देखाएपछि प्राधिकरणले तदारुकताका साथ कारबाही अगाडि बढाएको हो। प्राधिकरणले यसका लागि छुट्टै टाक्स फोर्स पनि गठन गरेको छ।

टाक्स फोर्समा रहेका दूरसञ्चारका सहायक निर्देशक तथा इन्जिनियर ओमप्रकाश महतोका अनुसार विश्वकप शुरु भएपछि इन्टरनेट सेवा प्रदायक (आईएसपी)का प्रतिनिधिहरुलाई प्राधिकरणमै राखेर त्यस्ता वेबसाइटलाई बन्द गर्ने काम गरिएको थियो।

आईएसपीसँगको सहकार्यमा त्यस्ता वेबसाइट चल्ने यूआरएललाई ब्लक गरिने सहायक निर्देशक महतोले बताउनुभयो। उहाँका अनुसार यति धेरै वेबसाइट एकएक गरेर खोज्न कठिन हुने भएको अधिकार प्रदत्त विभिन्न संस्था तथा निकायले पहिचान गरेर राखेका त्यस्ता बेटिङ साइट तथा अवैधानिक वित्तीय कारोबार हुने वेबसाइटहरुलाई आईएसपीसँगको सहकार्यमा बन्द गरिन्छ।

यसमा पनि एउटा बन्द गर्दा अर्को नयाँ वेबसाइट खुलिरहने चुनौती हुन्छ। यस्तो अवस्थामा जति नयाँ खुल्दै जान्छन् त्यतिलाई बन्द गर्दै जानुपर्छ।  यसका लागि ‘थ्रेड इन्टिेलिजेन्स टुल’ प्रयोग गरेर हन्टिङ गर्ने गरिन्छ। यसका लागि पनि छुट्टै जनशक्तिको व्यवस्था गरिएको उहाँको भनाइ छ।

कसैलाई यस्ता अवैधानिक वेबसाइटबारे थाहा भए github.com/NTA-OPM लिंकमा अपडेट गराउन सकिने पनि प्राधिकरणले जनाएको छ ।एभरेष्ट न्यूज एजेन्सी

 

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।