२०८२ चैत्र २५
२०८२ चैत्र २५

काठमाडौँ । २०२४ को पहिलो ६ महिनामा ओटीटी प्लेटफर्ममा धेरै हेरिएका फिल्मको सूची सार्बजनिक भएको छ ।

ओरम्याक्स मिडियाले २०२४ को पहिलो हाफमा सबैभन्दा धेरै हेरिएका हिन्दी चलचित्रहरूको सूची सार्वजनिक गरेको हो । २०२४ को पहिलो ६ महिनामा ओटीटीमा धेरै हेरिएको फिल्म इम्तियाज अलीको फिल्म अमर सिंह चमकिला रहेको छ । फिल्मले अहिलेसम्म १.२९ करोड भ्युज पाएको छ । यस फिल्ममा दिलजीत दोसांझ मुख्य भूमिकामा थिए ।

दोस्रो स्थानमा सारा अली खान, करिश्मा कपूर र विजय वर्मा स्टारर फिल्म मर्डर मुबारक छ, जसलाई स्ट्रिमिङ प्लेटफर्ममा १.२२ करोड मानिसहरूले हेरिसकेका छन् । फिल्ममा पंकज त्रिपाठी पनि मुख्य भूमिकामा रहेका  छन् । त्यस्तै तेस्रो स्थानमा सारा अली खानको ए वतन मेरे वतन है, जसलाई १.१५ करोड भ्युज प्राप्त भएको छ । फिल्ममा सारा अली खान मुख्य भूमिकामा थिइन् ।

त्यस्तै चौथो स्थानमा रहेको फिल्म महाराजको एक करोड ६ लाख भ्यूज रहेको छ । यस फिल्मबाट आमिर खानका छोरा जुनैदले डेब्यु गरेका थिए । त्यस्तै यस सूचीमा पाँचौं फिल्म पटना शुक्ला रहेको छ । यस फिल्मले अहिलेसम्म ९८ लाख भ्यूज पाएको छ । यस फिल्ममा रविना टण्डन पनि लामो समयपछि यो फिल्ममा देखिएकी हुन् ।

गत वर्षको तुलनामा ओटीटीमा चलचित्र हेर्नेको संख्या घटेको रिपोर्टमा उल्लेख छ । सन् २०२३ को मध्यसम्ममा शाहिद कपूरको फिल्म ब्लडी डैडी १.६६ करोड मानिसले हेरेका थिए ।

ओरम्याक्सले भारतभरका सबै ओटीटी प्लेटफर्महरूमा सबैभन्दा धेरै हेरिएका वेब शो र चलचित्रहरूको सूची जारी गर्दछ । यदि दर्शकले कम्तिमा ३० मिनेटको एपिसोड वा चलचित्र हेरेमा त्यसको आधारमा यो डाटा निकालिने ओरम्याक्सले जानाएको छ ।न्युज कारखाना

काठमाडौँ । मदन पुरस्कार २०८० को लागि पाँच कृतिको छनौट गरिएको छ ।

मदन पुरस्कार गुठीले ‘मदन पुरस्कार २०८०’ का लागि भक्त स्याङतानको ‘डम्फुको आत्मालाप’, जीवन क्षेत्रीको नुन-तेल,  भावेश भुमरी र प्रणिता चामलिङको भावलिपि, मोहन मैनालीको मुकाम रणमैदान र  रोशन थापा ‘नीरव’ को सन्त्रासका साठी दिन

कृतिहरू छनौट गरेको जानकारी दिएको छ । यी मध्ये एकलाई वर्ष २०८० को मदन पुरस्कार अर्पण गरिने मदन पुरस्कार गुठीले जनाएको छ । मदन पुरस्कार छनौटका लागि ३०४ पुस्तकहरू प्राप्त भएको गुठीले जानकारी दिएको छ ।न्युज कारखाना

काठमाडौँ ।

पाकिस्तानी गायक राहत फतेह खानले दुबईमा आफु गिरफ्तार भएको खबर झुटो भएको दाबी गरेका छन् ।

राहतले सामाजिक सञ्जालमा एक भिडियो सेयर गर्दै आफु गिरफ्तार भएको झुटो खबर फैलाइएको भन्दै सो खबरमा विश्वास नगर्न आग्रह गरेका छन् । उनले भनेका छन्- मेरो अनुरोध छ, की यस्ता खबरमा विश्वास नगर्नु होला, म छिटै देश फर्किने छु । मैले सधै जस्तै मेरा उत्कृष्ट गीतले तपाईहरुको मनोरंजन गरिरहने छु ।’

यसअघि राहतका पुर्व प्रबन्धक सलमान अहमदको उजुरीमा दुबईमा प्रहरीले हिरासतमा लिएको बताइएको थियो । राहतको सलमानसँगको विवाद केहि बर्षदेखि नै चलिरहेको थियो ।

गायक राहत पटक पटक विवादमा आइरहन्छन् । यस अघि उनले एक व्यक्तिलाई जुत्ताले हानेको भिडियो भाइरल भएको थियो भने उनलाई २०१९ मा विदेशी मुद्रा स्मलिंग गरेको आरोप लागेको थियो ।

पाकिस्तानी गायक राहतले बलिवुडमा गाएका चर्चित गीतका लागि परिचित छन् ।     न्युज कारखाना

काठमाडौँ ।

श्रीलंका भ्रमणअघि पत्रकार सम्मेलनमा भारतीय पुरुष क्रिकेट टोलीका नयाँ प्रशिक्षक गौतम गम्भीरले रोहित शर्मा र विराट कोहलीको भविष्यबारे टिप्पणी गरेका छन् ।

प्रशिक्षक बनेपछि पहिलो पटक पत्रकार सम्मेलनमा बोल्दै सोमबार  गौतम गम्भीरले दुवै क्रिकेटरले सन् २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्ने बताएका छन् ।

उनले भने, ‘मलाई लाग्छ कि उनले टी–२० विश्वकप र ५० ओभरको विश्वकपमा के दिन सक्छन् भन्ने देखाएको छ । मलाई लाग्छ दुबैमा र विशेष गरी च्याम्पियन्स ट्रफी र अष्ट्रेलिया भ्रमणका लागि धेरै क्रिकेट बाँकी छ ।’ उनले भने ‘दुवै धेरै उत्प्रेरित छन् र २०२७ को विश्वकपसम्म आफ्नो फिटनेस कायम राख्न सक्छन् । यो उनको व्यक्तिगत निर्णय हो । म भन्न सक्दिन कि उनीहरुमा कति क्रिकेट बाँकी छ तर यो पूर्णतया उनमा निर्भर छ ।’

गम्भीरले विराट र रोहित अझै पनि विश्व स्तरका खेलाडी रहेको र कुनै पनि टोलीले सकेसम्म लामो समयसम्म उनीहरूलाई साथ दिन चाहने बताए । न्युज कारखाना

काठमाडौं- ‘किताब जात्रा’को छैटौं संस्करण साउन १८ र १९ गते आर्मी अफिसर्स क्लब, सुन्धारा, काठमाडौंमा हुने भएको छ। किताब यात्रा फाउन्डेसनले आयोजना गर्ने किताब जात्रा यस वर्ष भौतिक रूपमा दुई दिन हुन लागेको हो।

‘किताब जात्राको छैठौं संस्करण घोषणा गर्न पाउँदा हामी निकै उत्साहित छौं,’ फाउन्डेसनका अध्यक्ष तथा फेस्टिभल डाइरेक्टर ऋषिराम अधिकारीले भने, ‘हामी दुई वर्षपछि फेरि भौतिक रूपमै फेस्टिभल गर्दैछौं। प्रतिकूल अर्थतन्त्रका कारण २०८० को संस्करण हामीले गर्न नसकेपनि किताब जात्राको यात्रालाई यो वर्ष फेरि नयाँ आयामका साथ निरन्तरता दिँदैछौं।’

जात्रामा साहित्यका अतिरिक्त आर्थिक, सामाजिक, कलालगायतका क्षेत्रका समसामयिक विमर्श सञ्चालन हुनेछन्। फेस्टिभल कोअर्डिनेटर विकेश भट्टराईका अनुसार जात्रामा विमर्शका साथै काव्य सन्ध्या, पुस्तक प्रदर्शनी, स्टार्ट–अप प्रदर्शनी, ओपन–माइक, कला प्रदर्शनी, क्यालिग्राफी, रक्तदानजस्ता सहभागितामूलक सिर्जनात्मक गतिविधि हुनेछन्। जात्रामा मिस्टिक नेपाल अवधारणामा आधारित रहेर संगीत र कला क्षेत्रका विशिष्ट प्रस्तुति रहने उनले बताए।

लेखक र पाठकबीच अन्तरङ्ग विमर्श हुने जात्रामा यस वर्ष भाषा, साहित्य, सिनेमा, समाज, बैंकिंगलगायतका विभिन्न क्षेत्रका व्यक्तित्वहरू समावेश हुने १५ वटा सेसन रहने डाइरेक्टर ऋषिराम अधिकारीले जानकारी दिए। साथै  ‘संगम श्रुति’ ब्यान्डको सांगीतिक प्रस्तुति पनि रहने उनले बताए।

पठन संस्कृतिलाई जनजीवनको अभिन्न अंग बनाउने उद्देश्यले स्थापित फाउन्डेसनले आयोजना गर्ने ‘किताब जात्रा’को यो संस्करणमा विविध क्षेत्रका पुस्तकहरूको विशेष प्रदर्शनी रहने किताब यात्रा प्रालिका सिइओ विकेश भट्टराईले जानकारी दिए। पुस्तक प्रदर्शनीको संयोजन अनलाइन पुस्तक बिक्रेता किताब यात्राले गर्दैछ।

किताब जात्रामा १ लाख ११ हजार १ सय ११ रुपैयाँ राशिसहितको ‘प्रेम साहित्य सम्मान’ पनि घोषणा गरिनेछ। सर्लाही जिल्लाका शिक्षासेवी स्व. प्रेमप्रसाद अधिकारीको स्मृतिमा स्थापना गरिएको सम्मान हरेक वर्ष नेपाली साहित्य र वाङ्मयमा विशिष्ट योगदान दिने स्रष्टालाई प्रदान गरिन्छ।

गत वर्ष साहित्यकार ध्रुवचन्द्र गौतमलाई उक्त सम्मान प्रदान गरिएको थियो।

जात्राका अवसरमा ‘किताब यात्रा’ले आफ्नो प्लेटफर्मबाट सर्वाधिक बिक्री भएको पुस्तकलाई ‘किताब यात्रा बेस्ट सेलर अवार्ड’ प्रदान गरिनेछ। गत वर्ष लेखक गिरिश गिरि लिखित ‘सत्यमोहन’लाई उक्त अवार्ड प्रदान गरिएको थियो।

किताब जात्राकै अवसरमा एक जनालाई खुला आवेदनको आधारमा किताब जात्रा पश्चात सिए अध्ययनका लागि ‘प्रेम प्रसाद मेमोरियल स्कलरशीप’ प्राइम सिएको सहकार्यमा छात्रवृति प्रदान गरिनेछ।

न्युज कारखाना

काठमाडौं । बलिवुड फिल्म ब्याड न्यूजले बक्स अफिसमा भने सुखद न्यूज पाएको छ ।

शुक्रबार रिलिज भएको विक्की कौशल, तृप्ति डिमरी र अमी विर्क अभिनित ब्याड न्यूजले भारतीय बक्स अफिसमा सुखद शुरुवात गरेको छ ।

शुक्रबार ८.६२ करोडको कमाई गरेको यस फिल्मले शनिबार १०.५५ करोड कमाई गरेको छ । दुई दिनमा फिल्मले १९.१७ करोड कमाई गरेको फिल्म विश्लेषक तरण आदर्शले जानकारी दिएका छन् ।

यस फिल्मलाई आनन्द तिवारीले निर्देशन गरेका हुन् । फिल्ममा विक्की, तृप्ति र अमीका अलावा फातिमा साना सेख, सान्या मल्होत्रा, नेहा धुपियालगायतको पनि अभिनय रहेको छ । फिल्मलाई करण जोहरले निर्माण गरेका हुन् । न्युज कारखाना

काठमाडौँ । हाँस्य टेलिश्रृंखलामा सफलता हासिल गरेको अर्को टिम ‘सक्किगोनि’ का कुमार कट्टेल र अर्जुन घिमिरेले फिल्म बनाउने घोषणा गरेका छन् । यो टिमले शुक्रबार एक कार्यक्रमका बीच पहिलो फिल्मको रुपमा ‘लाज शरणम्’को औपचारिक घोषणा गरेको हो ।

गत फागुनमा पोस्टरमार्फत् फिल्मको नाम सार्वजनिक गरिएको थियो । तर, निर्देशकसहित कलाकारहरुको नाम खुलाइएको थिएन । शुक्रबार घोषणा कार्यक्रममा कुमार कट्टेल (जिग्री) ले फिल्मको निर्देशन गर्ने जानकारी गराइयो । यसमा उनी स्वयंको लेखन छ । कुमारले यसअघि ‘भद्रगोल’ र अहिले ‘सक्किगोनि’मा पनि अभिनयसहित लेखन र निर्देशनको जिम्मेवारी सम्हाल्दै आइरहेका छन् ।

महाशिवरात्रीको दिन पारेर आगामी फागुन १४ गतेलाई प्रदर्शन मिति घोषणा गरिएको फिल्ममा ‘सक्किगोनि’ टेलिश्रृंखलाबाट अर्जुन घिमिरे (पाँडे), सागर लम्साल (बले), कमलमणि नेपाल (खुपीका बाउ) छन् भने अन्य कलाकारहरुमा मुकुन्द श्रेष्ठ, विजय बराल र माला लिम्बू छन् । कुमारको भने अभिनय रहने वा नरहने तय छैन । यद्यपि, उनको केमियो भूमिका हुनसक्ने बताइएको छ ।

सुदीप बरालको छायांकन रहने फिल्मको निर्मातामा नविन श्रेष्ठ र सह-निर्मातामा नरेश शाह छन् । फिल्मको आगामी भदौपछि छायांकन हुन लागेको जानकारी दिइएको छ ।न्युज कारखाना

काठमाडौँ । निर्देशक तथा अभिनेता निश्चल बस्नेत र अभिनेत्री स्वस्तिमा खड्का दम्पतीको प्रमुख भूमिका रहेको फिल्म ‘बेहुली फ्रम मेघौली’को नयाँ गीत सार्वजनिक गरिएको छ ।

‘उडायो मन’ बोलको गीतमा इन्द्रकला राईको गायन रहेको छ भने जयन जे. वाइबाको शब्द रचना तथा संगीत छ । यो गीतमा केही अन्तरा थारु भाषामा पनि छ ।

शेखर घर्ती मगरको कोरियोग्राफीमा तयार भएको गीतमा स्वस्तिमासहित अर्की अभिनेत्री सिम्रन खड्का पनि प्रस्तुत छिन् । आगामी असोज १७ गते (घटस्थापना) देखि फिल्म प्रदर्शन हुँदैछ ।

साजन काफ्ले र आकाश बरालको संयुक्त लेखन एवं निर्देशन रहेको फिल्ममा स्वस्तिमा, निश्चल र सिम्रनसहित विजय बराल, टीका पहारी, बसुन्धरा भुसाल, लोकेन्द्र लेखक, सिरु विष्ट, अमीर गौतम, लुनिभा तुलाधर, मुकुन्द मैनाली, रामबाबु रेग्मी लगायतको पनि अभिनय छ । निश्चल र स्वस्तिमा दम्पती आफैं निर्माता रहेको फिल्मको कार्यकारी निर्मातामा शंकर पाण्डे र फिरोज खड्का छन् ।

यो फिल्ममा नरेन्द्र मैनालीको छायांकन, निमेष श्रेष्ठको सम्पादन, प्रदीप लामा र केवीका खत्रीको कोरियोग्राफी तथा जयन जे वाइबा र कुशल पोखरेलको संगीत रहेको छ । न्युज कारखाना

गीतको लिंक- https://www.youtube.com/watch?v=OwLvKrenonw

 

काठमाडौँ । साउन १८ गते रिलिज हुने फिल्म ‘मोदीबेनी’ को ट्रेलर सार्वजनिक भएको छ । सार्वजनिक ट्रेलरमा वर्षा शिवाकोटी, अमर प्रताप श्रेष्ठ र प्रवीण खतिवडा लगायतका कलाकारको अभिनय रहेको छ ।

ट्रेलर त्रिकोणात्मक प्रेम कथावरिपरि घुमेको छ । यो पर्वत जिल्लाको मोदीबेनी क्षेत्रमा घटेको अविश्वसनीय घटनामा आधारित छ । यस फिल्ममार्फत अमरले डेब्यु गर्दैछन् ।

फिल्ममा सरोज खनाल, कमलमणि नेपाल, जीवन भट्टराई, सरोज अर्याल,रेजिना उप्रेती, अनामिका लामिछाने, स्नेहा भट्टराई, लाबिस गर्तौला, सुब्रत आचार्य लगायतको अभिनय रहेको छ । यस चलचित्रको कथामा त्यहाँको मात्र कथा नभई नेपालको जुनसुकै स्थानमा पनि त्यस्ता घटनाहरू भइरहेको पाइने निर्देशक शङ्कर कोइरालाले बताए ।

डिनेस्ट इन्टरटेनमेन्टको प्रस्तुतिमा बनेको यो चलचित्रलाई आनन्द विक्रम क्षेत्रीले लेखेका छन् । फिल्मका निर्माता भने दिलिप केसी हुन् । यस चलचित्रलाई रिच इन्टरटेन्मेन्टले काठमाडौं उपत्यका र एफडी कम्पनीले उपत्यका बाहिर वितरण गर्ने निर्माण पक्षले जानकारी दिएको छ ।न्युज कारखाना

ट्रेलर लिंक: https://youtu.be/ombRozqVn4I

काठमाडौं । छायांकन अगावैबाट चर्चामा रहेको फिल्म ‘एक्टर’को छायांकन सम्पन्न भएको छ । गत बैशाख महिनाको अन्त्यतिरबाट पोखराको विन्ध्वासिनी मन्दिरमा पुजा गर्दै छायांकन सुरु गरिएको फिल्मको दुई चरण गरी ४५ दिनमा छायांनक पुर गरिएको हो ।

पोखरामा १० दिन खिचेपछि काठमाडौंमा ३५ दिन छायांकन गरिएसँगै फिल्मको एउटा गीत खिच्न बाँकी राख्दै सम्पूर्ण छायांकन सकिएको निर्माता थमन कुमार भण्डारीले जानकारी दिए । ‘समय लगाएरै फिल्मको छायांकन सकिएको छ, सुटिङ अवधिभर कलाकार र प्राविधिकहरुको साथ मिल्नाले सोचे अनुरुप नै काम सक्काइयो, अब बाँकी गीतको छायांकन युरोपमा गर्ने सोचमा छौं । फिल्म कस्तो बन्यो भन्ने आम दर्शकलाई लाग्न सक्छ, जो होस् अब आउने तीन महिनाको अवधिमा हाम्रा टिजर, ट्रेलर र फस्टलुकबाट थाहा पाइनै हाल्नु हुने छ, यति हो प्रदीप खड्कालाई हेर्दै आएको भन्दा फरक देख्न सक्नुहुनेछ,’ निर्माता भण्डारीले भने ।

राजन भुसालको डेब्यु निर्देशनमा बन्न लागेको फिल्ममा प्रदीप र दिव्यासहित राजबल्लभ कोइराला, आना शर्मा, सुशील सिटौला, दिव्य देव, उषा रजक, प्रदीप चौधरी ‘पिके’, बादल भट्ट, अनोज पाण्डे, सुप्रज्ञा शर्मा, सिर्जना अधिकारीलगायतको अभिनय रहेको छ ।

दिव्याको भने यो पहिलो फिल्म हो । राजबल्लभले यही फिल्मबाट करिब दश वर्षपछि कमब्याक गरेका छन् । नायक खड्काले पहिलो पटक फिल्मी पर्दामा दिव्या र आनासँग सहकार्य गरेका हुन् ।

अदृत फिल्मसको प्रस्तुतिमा मोती फिल्मस्को निर्माण रहेको यो फिल्ममा थमन कुमार भण्डारीको लगानी छ । एनिस भुसाल सह-निर्माता रहेको यो फिल्मको क्रियटिभ प्रोड्युसर मोती कार्की हुन् ।  फिल्मका छायाँकार नरेन्द्र मैनाली हुन् ।

यो फिल्म यस वर्षको तिहारको अवसर पारेर कात्तिक १५ गते लक्ष्मीपूजामा रिलिज हुने छ । फिल्मको जापान प्रदर्शन अधिकार समेत बिक्री भएको छ। ‘एक्टर’को जापान राइट्स खेम राज शाहको म्याक्स इटरटेन्टमेन्टले खरिद गरिसकेको छ ।न्युज कारखाना

ताजा अपडेट

ट्रेन्डिङ

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।