मुम्बई, ३ असार ।
फिल्म ‘आदिपुरुष’का निर्माताहरु भलै पहिलो दिन फिल्मले विश्वभर १ सय ४० करोड रुपैंयाँ कलेक्सन भएको दाबी गरिरहेका छन् । तर फिल्मलाई लिएर विरोध गर्नेको संख्या पनि कम छैन ।
फिल्ममा जसरी रामकथा देखाइयो र भगवान राम–हनुमान र लंकेश रावणको भूमिका बताइयो, त्यो कुरामा दर्शकको गुनासो बढिरहेको छ । फिल्मको समीक्षा र सामाजिक सञ्जालमा फिल्ममाथि आम दर्शकको प्रतिक्रिया हेरेपछि कैयौं मानिसहरुले एडभान्स बुकिङ गरेका टिकट धमाधम रद्द गर्न थालेका छन् । उनीहरुले रद्द गरेका टिकट सामाजिक सञ्जालमा राखिरहेका छन् ।
सामाजिक सञ्जालमा आदिपुरुष, बाइकट आदिपुरुष र डिजास्टर आदिपुरुष ह्यासट्याग ट्रेण्ड भइरहेको छ । अधिकांश दर्शकले शनिबार र आइतबारका लागि बुक गरेका टिकट रद्द गरिरहेका छन् । फिल्मलाई लिएर हरेक स्थानमा असन्तोष बढिरहेपछि अनलाइन बुकिङ गर्नेहरुले टिकट रद्द गर्ने लहर चलाइरहेका छन् ।
रामको रुपमा दर्शकले प्रभासलाई स्वीकार्न सकेका छैनन् । फिल्मको खराब भीएफएक्सले दर्शक दुःखी बनेका छन् । सोहीकारण पनि एडभान्स बुकिङ धमाधम रद्द भइरहेको छ । टिकट रद्द गरेका एक ट्वीटर प्रयोगकर्ताले आफ्नो छोरीलाई गलत रामायण नपढाउनकै लागि फिल्मको टिकट रद्द गरेको उल्लेख गरेका छन् । अर्का प्रयोगकर्ताले फिल्म रामायण नभएको उल्लेख गरेका छन् ।
मुम्बई, ३ असार
करिब १० वर्षसम्म टेलिभिजनमा बिग बोस होस्ट गरेपछि अभिनेता सलमान खान अब ओटीटीमा डेब्यू गर्दैछन् । १६ जुनमा बिग बोस ओटीटी प्रोमोसनल इभेन्ट भएको थियो । यो मौकामा सलमानले शोसँग जोडिएका केही स्मरण साझा गरेका थिए ।
सलमानका अनुसार यो १० वर्षसम्म उनलाई कैयौं फोन आयो । ठूला ठूला राजनीतिकर्मीदेखि लिएर कलाकारसम्मले उनलाई यो शोमा आफ्ना मान्छेलाई सहभागी गराउन आग्रह गरेका । ‘तर मैले कहिल्यै पनि शोका निर्मातासँग कसैको नाम सिफारिस गरिनँ’, सलमान भन्छन्, ‘एकपटक मैले एक इच्छुक व्यक्तिको नाम सिफारिस गरेको थिएँ । तर उनीहरुले यो कुरालाई स्वीकारेनन् । त्यसपछि कहिल्यै पनि मैले कसैको सिफारिस गरिनँ ।’
सलमानका अनुसार शो शुरु हुनासाथ उनलाई यति धेरै फोन आउँछ कि आजित भएर उनी मोबाइल नै स्वीचअफ गर्छन् । ‘मलाई नेता, कलाकारदेखि कैयौं क्षेत्रका मानिसहरुको फोन आउँछ’, उनी भन्छन् ।
सलमानको बुझाईमा उनलाई मानिसले आफूलाई जानेर बुझेर फोनको जवाफ नदिने गरेको ठान्छन् ।
मुम्बई, ३ असार।
ओम राउतको फिल्म ‘आदिपुरुष’ सामाजिक सञ्जालमा मीम सामाग्री बनिसकेको छ । फिल्म रिलिज हुनासाथ इन्टरनेटमा यसको चर्को आलोचना भइरहेको छ । फिल्मको संवाददेखि लिएर ‘सीता भारतकी छोरी हुन्’ भन्ने सम्मका कैयौं विवादमा फिल्म फसिसकेको छ ।
अहिले भने नयाँ विवाद सुरु भएको छ । फिल्मका सदस्यले केही सामाजिक सञ्जाल प्रयोगकर्तालाई नकारात्मक समीक्षा हटाउनका लागि पैसाको अफर गरिरहेका छन् । ती सदस्यहरुले सामाजिक सञ्जालमा आफूलाई आएका अफरको स्क्रिनसट राख्न थालेका छन् ।
‘केही एजेन्सीहरुले मलाई टी–सिरिज र आदिपुरुषको तर्फबाट सन्देश पठाइरहेका छन् । उनीहरुले मलाई तपाईंको ट्वीट डिलिट गर्नु भनेर भीख मागिरहेका छन् । यसको बदलामा उनीहरुले मलाई पैसाको अफर गरेका छन् । क्षमा गर्नुहोला, तपाईंले गलत मान्छे छनोट गर्नुभएको छ’, रोशन राय नामका ट्वीटर प्रयोगकर्ताले ट्वीट गरेका छन् ।
अर्का प्रयोगकर्ताले पनि आफूलाई निर्माताले पैसाको अफर गरेको दाबी गरेका छन् । ‘आदिपुरुष टिमले मलाई फिल्मको सकारात्मक समीक्षा लेख्न प्रति ट्वीट ६५ सय रुपैंयाँ दिने कुरा गरेका छन् । तर म बिकाऊ होइन’, ती प्रयोगकर्ताले लेखेका छन् ।
तमाम विरोधका बाबजुद फिल्मले पहिलो दिन विश्वव्यापी रुपमा १ सय ४० करोड रुपैंयाँको कारोबार गरेको छ । ओम राउत निर्देशित फिल्ममा प्रभास, सैफ अली खान, र कृति सेनन प्रमुख भूमिकामा छन् ।
काठमाडौं, २ असार
सौन्दर्य प्रतियोगिता ‘मिस एसईई नेसनल २०२३’ को ताज कृतिका रेग्मीले जितेकी छन् । जमलस्थित राष्ट्रिय नाचघरको डबलीमा आयोजित प्रतियोगीताको अन्तिमस्पर्धामा उनले भ्युअर्स च्वाइस विधासमेत हात पारेकी छन् ।
प्रतियोगितामा त्रिदेवी श्रेष्ठ फस्ट रनरअप तथा अदिती ढकाल सेकेन्ड रनर अप छानिए । त्रिदेवीले फोटोजेनिक अवार्ड प्राप्त गर्दा अदितीले ट्यालेन्ट विधाको अवार्ड आफ्नो पोल्टामा पारिन् । प्रतिस्पर्धा अन्तर्गत थर्ड रनरतर्फ सुजिना भण्डारी र फोर्थ रनरअप तर्फ कृस्टिना ढुंगाना भए । सुजिनाले म्यानेज्मेन्ट च्वाइस र कृष्टिना पब्लिक च्वाइस विधाको समेत विजेता बने ।

युहान इन्टरनेसनल इभेन्ट्सको ब्यानरमा संचालन भएको प्रतियोगितामा सरिना भारती भ्युअर्स च्वाइस, प्रिन्सा थापा पब्लिक च्वाइस, समिका तामाङ पर्सनालिटी, दिया तिमिल्सिना क्याटवाक, मुक्तिना खरेल कन्जिनियालिटी, साकिरा सिंम्खडा कन्फिडेन्ट, ऐश्वर्या पुडासैनी इन्टेलिजेन्ट, जेनिसा खत्री डिलिजेन्ट र आर्या लामा मिस ग्ल्यामरका रुपमा विजेता घोषित भए ।
३२ जना छात्राहरुको सहभागितामा रहेको प्रतियोगितामा शिक्षाविद्ध छविलाल पाण्डे, सम्पादक साहिल खान, मोडल एवं संचारकर्मी रीता कट्टेल तथा नेपाल एयरहोस्टेस् एकेडेमीका रेजिना तुलाधर निर्णायकको रुपमा रहेका थिए । प्रतियोगिताको संचालन एवं कोरियोग्राफी फेसन कोरियोग्राफर एवं संचारकर्मी रोजिन शाक्यले गरेका थिए ।
विजेता सबैले उपाधिका साथमा विभिन्न अवसर समेत हात पारेका छन् ।

हैंदाराबाद, २ असार ।
अभिनेता प्रभास स्टारर फिल्म ‘आदिपुरुष’ शुक्रबारबाट विश्वव्यापी रिलिज भएको छ । कृति सेनन, सैफ अली खान र सनी सिंहको समेत प्रमुख भूमिका रहेको फिल्म रिलिजसँगै विवाद र चर्चामा तानिएको छ ।
भारतका केही स्थानमा भने फिल्म हेर्न गएका दर्शकले थिएटर तोडफोड गरेका छन् । तेलंगना राज्यमा यस्तै घटना भएको छ । फिल्म हेर्न गएका दर्शकले फिल्म ढिलो रिलिज गरेको भन्दै त्यहाँको हल तोडफोड गरेका छन् ।
दर्शकले तेलांगनाको सांगारेडी सहरमा रहेको ज्योति सिनेमा तोडफोड गरेका हुन् । तोडफोड गर्दै गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा केहीले ‘जय श्री राम’ भनिरहेका छन् भने केहीले थिएटरको सिसामा ढुंगा प्रहार गरेका छन् ।
थिएटर साउण्ड सिस्टममा खराबी भएको भन्दै फिल्म ४० मिनेट ढिलो रिलिज गरेको थियो । जसकारण दर्शक आक्रोशित भएका थिए ।
यो घटनापछि प्रहरीमा उजुरी परेको छ । प्रहरीले घटनाको अनुसन्धान गरिरहेको छ । फिल्ममा ओम राउतको निर्देशन छ ।
काठमाडौं, २ असार ।
अभिनेत्री पुजा शर्मालाई दर्शकले फिल्ममा एक्सन अवतारमा सायदै कमैमात्र देखेका छन् । किनकी उनी बढी मात्रामा प्रेमकथाका फिल्ममा मात्र देखिन्छिन् ।

‘प्रेमगीत, म यस्तो गीत गाउँछु, म यस्तो गीत गाउँछु २’ जस्ता सफल प्रेमकथाका फिल्मले पूजाको परिचय बनाएका छन् । तर, अब पूजा आफ्नो दशौं प्रोजेक्टमा एक्सन अवतारमा देखिने भएकी छिन् । चाडै नै छायांकन सुरु हुन लागेको फिल्म ‘दान्भी’मा पूजालाई एक्सन लेडीको रुपमा देख्न सकिनेछ ।
फिल्ममा पूजाको जोडीको रुपमा कुन्साङ बोमजम देखिँदैछन् । कुन्साङको यो डेब्यू फिल्म हो । फिल्मलाई रुपेश तामाङले निर्देशन गर्दैछन् । रुपेशले यस अगाडि निर्देशन गरेको फिल्म ‘जय शम्भु’ले तारिफ पाएको थियो ।

‘यसपटक हामीले फिल्ममा नयाँ एक्सनको शैली भित्राउने तयारी गरेका छौं । फिल्मले दर्शकलाई पूर्ण रुपमा मनोरञ्जन दिनेछ,’ रुपेशले भने ।
फिल्मको छायांकन नेपाल र सिक्किममा हुनेछ । अनुप गडाल निर्माता रहेको फिल्ममा पवन राना मगर कार्यकारी निर्माताको रुपमा छन् ।
श्रवण कुमार श्रेष्ठ, गोकुल सुवेदी र हर्क बहादुर वाइवा फिल्मका सह–निर्माता हुन् । फिल्मका अन्य कलाकार र टिम चाडै नै सार्वजनिक गरिने निर्देशक तामाङले जानकारी दिए ।
काठमाडौं, १ असार ।
काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन)ले आपत्तिजनक शब्द नहटाएसम्म नेपालमा भारतीय चलचित्र चल्न नदिने व्यवस्था गर्न सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई पत्राचार गरेका छन् ।
उनले दक्षिण भारतीय चलचित्र आदिपुरुषमा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आपत्तिजनक संवाद चलचित्रबाटै हटाउन कूटनीतिक पहल थाल्न आग्रह गरेका छन् ।
आदिपुरुषमा रहेको उक्त संवाद हटाएर सेन्सर बोर्डले नेपालमा सञ्चालनका लागि स्वीकृति दिएको बेला महानगर प्रमुख शाहले मन्त्रालयलाई पत्राचार गरेका हुन् ।
काठमाडौं, १ असार ।
प्रदर्शनरत फिल्म ‘नीरफूल’ दक्षिण कोरियामा प्रदर्शन हुने भएको छ ।
धनजित वाइबाको समूहले कोरियाका विभिन्न सहरमा प्रदर्शनको अधिकार लिएको हो । फिल्मका निर्देशक फूलमान बलका अनुसार बिहीबार दुबै पक्षबिच प्रदर्शन अधिकार सम्झौता भएको छ ।
निर्देशक बलले भुकम्पका कारण विछोडिएका एक परिवारको सदस्यहरुले पुर्नमिलनको लागि गरेका प्रयासमा आधारित फिल्मलाई अन्य देशमा पनि प्रदर्शन गर्ने तयारी भइरहेको बताए ।
गणेश हिमालको फेदी रुबी भ्याली, रसुवा र काठमाडौंमा छायांकन गरिएको फिल्ममा दयाहाङ राई, रेखा थापा, शान्ति वाइबा, बुद्धि तामाङ, पुष्कर गुरुङ, जिम्मे छ्योइकी घिसिङ, राजन खतिवडा, सरोज अर्याल, सरिता गिरी, रोशन फ्युबा लगायतको अभिनय छ ।
फिल्म नेपाल म्यानमार फ्रेण्डसीप काउन्सिलको सहकार्यमा सेलो प्रोडक्सनले निर्माण गरेको हो ।
काठमाडौं, १ असार ।
‘आदिपुरुष’ चलचित्रका बारेमा काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले लिएको कदममा कलाकार दिपकराज गिरीले समर्थन जनाएका छन ।
मेयर साहले सीतालाइ भारतीय छोरी भनेर सो चलचित्रमा उल्लेख गरे पछि सो शब्द नसच्चाएसम्म काठमाडौंमा चलाउन नदिने भन्दै गरेको घोषणामा गिरीले समर्थन जनाएका हुन ।
‘सारा हिन्दु जगतले मानेको कुरा सिता नेपाल कि छोरी हुन्, त्यो कुरामा छेडछाड गर्नु गलत कुरा हो, यो बिरूद्दको आबाज सहि हो, सच्चाउनु पर्छ’ गिरीले समर्थन जनाउँदै भनेका छन् ।
मेयर साहले ‘जानकी भारतीय छोरी हुन्’ भनेर उल्लेख गरेको भन्दै आपत्ति जनाएका थिए । ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’ मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तबसम्म काठमाडौ महानगरपालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’
मेयरको शाहको यो कदमलाई धेरै कलाकारले समर्थन जनाएका छन् ।
काठमाडौं, १ असार ।
चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले हिन्दी चलचित्र ‘आदिपुरुष’ का बारेमा मुख खोलेका छन् ।
काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आदिपुरुषको संबादलाई लिएर काठमाडौंमा सो सिनेमा चलाउन नदिने जनाएको प्रसङ्ग जोडदैँ बोर्डले भनेको नमान्दा यो स्थीति आएको पनि उनले जनाएका छन् ।
‘कुनै पनि विदेशी चलचित्रलाई नेपाल ल्याई प्रदर्शन गर्दा महिना दिन अगाडी सेन्सर गर्नुपर्ने चलचित्र विकास बोर्डको योजनालाई व्यापक विरोध गरियो,’ उनले भनेका छन, ‘विरोधका वावजुद कम्तीमा सात दिनभित्र सेन्सर सिफारिस लिनुपर्ने नियम लगाइयो, त्यसमा पनि केहि चल्तापुर्जाहरुलाई ऐठन भयो र तीन दिनमा झारियो। तीन दिनको कुरामा पनि विरोध हुन छोडेको छैन।’
उनका अनुसार नेपालमा विदेशी फिल्मको प्रदर्शनीपूर्व त्यस फिल्ममा रहेका बिषयमा कुनै विवाद शृजना नहोस्, नेपालको सार्वभौमिकता, अखण्डता, राष्ट्रियता लगायतका संवेदनशील कुराहरुमा समय लिएर सुल्झाउन सकियोस्, नेपालमा प्रदर्शन हुने कुनै पनि फिल्मले हाम्रो स्वाधिनता, हाम्रा विभूतिहरु माथिको दाबी, सीमा लगायत बिषयमा त्रुटी वा नियत भेटिए सच्याउन सकियोस् भन्ने ध्येयले बोर्डले उक्त कदम चालेको थियो ।
‘र, नेपाली फिल्मको व्यापार विशुद्ध व्यापार नभई राष्ट्रको पहिचान समेत भएको हुँदा बोर्डले नेपाली फिल्मको पक्षमा विभिन्न निर्णय गरेको मध्ये एक केहि दिन अगावै विदेशी फिल्मको सेन्सर गर्नुपर्ने पनि थियो,’ उनले भने ।
भारतको बहुप्रतिक्षित फिल्म आदिपुरुषका बारेमा उनले भनेका छन, ‘पछिल्लो समय भारतीय फिल्म आदिपुरुषको संवादलाई लिएर जुन विवाद शृजना भएको छ, यसले विदेशी फिल्मको वकालत गर्ने कसैलाई पनि फाईदा गरेको छैन। यस्तो अवस्था आउनुमा सम्बन्धित वकालतकर्ताहरुकै प्रमुख हात छ।’
‘यस प्रकारको घटनाले भोली हल संचालकहरुमा कुनै समस्या आइपर्दा त्यसको जिम्मेवार को रहला ? रिलिजको मुखमा आएर रोकिनुपर्यो भने आखिरमा कसलाई घाटा भयो ?’ उनलेक भनेका छन, ‘तसर्थ, बोर्डले गरेको निर्णय आत्मसाथ गरेको भए आज यो दिन आउने नै थिएन,’ उनले भने ।
मेयर साहले सीतालाइ भारतीय छाेरी भनेर साे चलचित्रमा उल्लेख गरे पछि काठमाडाैंमा प्रतिबन्ध लगाउने घाेषणा गरेका छन्, ‘दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन । यो सच्याउन ३ दिनको समय दिइएको छ । माता सीताको जय होस ।’