२०८२ चैत्र २९
२०८२ चैत्र २९

काठमाडौं, १कात्तिक  ।

कैलाली क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य अरुण कुमार चौधरीले हालै सम्पन्न १९औँ एशियाली खेलकुद प्रतियोगितामा पदक विजेता तथा प्रशिक्षकहरुलाई सम्मान गरेका छन् ।

नेपाललाई विभिन्न खेलमा पदक जिताएपनि सरकारद्वारा वेवास्ता गरिएको भन्दै सांसद चौधरीले खेलाडीहरुको आत्मसम्मान् र उत्प्रेरणा बढाउने उदेश्यले सम्मान गरेका हुन् । सांसद चौधरीका अनुसार विभिन्न विधाका खेलाडी तथा प्रशिक्षकहरु गरेर ८५ जनालाई सम्मानीत गरिएको छ । सोही कार्यक्रमको अबसरमा थारु जातिका विभिन्न अन्तर्राष्ट्रिय खेलाडीहरुलाई पनि सम्मानित गरिएको छ ।

‘हाम्रो देशलाई खेलाडीहरुले विभिन्न खेल मार्फत विश्वभर चिनाइरहेका छन् । तर, सरकारले उनीहरुलाई आवश्यक तालिम, प्रशिक्षण पनि राम्रोसँग दिएको पाइँदैन् । खेलाडीहरुका थुप्रै समस्याहरु छन्, आवश्यक र उचित सेवा सुबिधा पनि दिइँदैन’, उनले भने, ‘सरकारले आगामी दिनमा आम खेलाडीहरुको तमाम समस्या बुझेर त्यसको समाधान गर्दै उच्च सम्मान दिएर उत्प्रेरित गर्दै जानुपर्छ ।’

सरकारले खेल क्षेत्र र खेलाडीहरुका हकहितको संरक्षण नगरेका कारण पछिल्लो समय नेपाली खेलाडीहरु पलायन हुन थालेको बताउँदै यस्तो परिस्थितिको सिर्जना हुँँदा राष्ट्रलाई अतुलनीय क्षति हुने सांसद चौधरीको तर्क छ ।

चीनको होङ्झाओमा भएको एसियाली खेलकुद प्रतियोगितामा नेपालले एक रजत र एक कांस्य पदक जितेको थियो ।  कराँते खेलाडी एरिका गुरुङले महिला कुमुते ६८ केजीभन्दा माथिको तौलसमूहमा रजत पदक जितेकी थिइन् ।  एसियाली खेलकुदमा महिला कबड्डी टोलीले पनि कांस्य पदक जितेको छ । महिला कबड्डी टोली एसियाली खेलकुदको पहिलो सहभागितामै कांस्य पदक जितेको हो । त्यसैले यो पदक पनि नेपाली खेलकुदका लागि ऐतिहासिक बनेको छ ।

प्रतियोगितामा कराते तर्फ रजतपदक विजेता एरिका गुरुङले यस्ता कार्यक्रमले खेलाडीको मनोवल उच्च हुने भन्दै खुसी व्यक्त गरिन् ।

‘खेल मार्फत देशलाई चिनाउन पाउँदा खुसी लागेको छ । देशका लागि खेलेर फर्कँदा यसरी पाउने सम्मानले आगामी दिनमा थप मिहिनेत गर्दै अघि बढ्ने उत्प्रेरणाा मिल्छ’, गुरुङले भनिन् ।

कार्यक्रममा नेपाल राष्ट्रिय तथा अन्तराष्ट्रिय खेलकुद संघका अध्यक्ष दिपक श्रेष्ठ, कबड्डी प्रशिक्षक पार्वती राई, कराते प्रशिक्षक बिर कृष्ण शाही, छोरी डङ्गोल, कुशल श्रेष्ठ, कबड्डी कास्य पदक विजेताका सम्पूर्ण खेलाडीहरु लगायतको उपस्थिती रहेको थियो ।

काठमाडौं, १ कार्तिक ।

टी-२० विश्वकप छनोट अघिको अभ्यास खेलका रूपमा रहेको त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा युएई नेपालसँग सात विकेटले पराजित भएको छ।

मुलपानी क्रिकेट मैदानमा भएको खेलमा युएईले दिएको १ सय ४१ रनको लक्ष्य पछ्याएको नेपालले १८.५ ओभरमा ३ विकेट गुमाएर लक्ष्य पुरा गरेको हो।

नेपालको जितमा कप्तान रोहित पौडेलले ५१ रनको अविजित अर्धशतकीय इनिङ खेल्दा दिपेन्द्र सिंह ऐरीले ३४ रनको अविजित इनिङ खेले। त्यसअघि ओपनर कुशल भुर्तेलले १४ रन बनाउँदा आशिफ शेख २३ रनमा आउट भए। त्यस्तै कुशल मल्लले ११ रन बनाएका थिए। युएईका लागि निलन्सा केशवानाले १-१ विकेट लिएका थिए।

 

युएईका लागि बसिल हमीदले सर्वाधिक ५१ रनको अर्धशतकीय इनिङ खेल्दा अली नसिरले ३२ रन बनाए। त्यस्तै असिफ खानले १५ रन बनाउँदा कप्तान मुहम्मद वासिमले १७ रन बनाए। नेपालका लागि करण केसीले ३ विकेट लिंदा गुल्सन झाले २ तथा सोमपाल कामी र अभिनास बोहोराले समान १-१ विकेट लिएका थिए।

काठमाडौँ, १ कात्तिक ।

जात्रा’ र ‘जात्रै जात्रा’ को सफलतापछि षट्कोण आर्ट्सको निर्माणमा बन्न लागेको तेस्रो शृङ्खला फिल्म ‘महाजात्रा’ मा नयाँ कलाकार जोडिएका छन् । नयाँ शृङ्खलामा हरिवंश आचार्य जोडिएको खबर केही समय अगाडी नै सार्वजनिक भइसकेको छ भने दिव्यदेव पन्त, गौमाया गुरुङ र शिशिर बाङ्ग्देल समेत जोडिएका छन् ।

 

उनीहरूले आफ्नो लुक्स टेस्ट गरिसकेका छन् भने छायाङ्कनको लागि आफ्नो पात्रबारे पूर्ण रुपमा तयार भइसकेका छन् । फिल्मका अभिनेता तथा कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँका अनुसार उनीहरूको आगमनले टिमको लाइनअप अझैँ बलियो बनेको छ ।

‘हामीले आर्टिस्टको लाइनअपलाई बलियो बनाएका छौँ । शृङ्खला प्रति बढ्दो दर्शकको विश्वासले गर्दा पनि स–सानो भूमिकामा समेत उहाँहरुको प्रिय कलाकारलाई कास्ट गरिरहेका छौँ’, कार्यकारी निर्माता बानियाँले भने ।

 

कात्तिक १३ गतेबाट छायाङ्कन गर्ने तयारीमा रहेको फिल्ममा प्रदीप भट्टराईको लेखन तथा निर्देशन रहेको छ भने यसलाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्दैछन् । यो फिल्मका अघिल्ला भागले घरेलु फिल्ममा कसरी कमेडी पनि यथार्थपरक र परिस्थितिजन्य हुन्छ भन्ने पुष्टि गरेको थियो ।

स्थापित ब्राण्ड र दर्शकको विश्वासिलो समुहसँग सहकार्य गर्न पाउँदा आफू उत्साहित रहेको अभिनेत्री गौमायाले बताइन । उनले भनिन्,‘एउटा कलाकारको रुपमा उहाँहरूसँग काम गर्ने इच्छा पुरा हुँदैछ । दर्शक समक्ष नयाँ भूमिकामा प्रस्तुत हुने कुराले उत्साहित छु ।’

 

यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, वर्षा राउत, रवीन्द्र झा, अरविन्द खड्का, राजाराम पौडेल लगायतका कलाकारको अभिनय रहनेछ ।  महापुरुष र जात्रा शृंखला जस्ता सुपरहिट फिल्म दिएको कारण षट्कोण आर्ट्सको फिल्म पनि दर्शकमाझ प्रतीक्षित छ ।

फिल्म छायाङ्कन नहुँदै फिल्मको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार एमएसएम इन्टरटेनमेन्टले खरिद गरिसकेको छ । फिल्म आगामी चैत ९ गते नेपालसँगै विश्वभर एकसाथ प्रदर्शन हुनेछ ।

काठमाडौं, ३० असाेज ।

कान्तिपुर फिल्म एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज’को शुभारम्भ गरेको छ । सोमबार काठमाडौंमा एक कार्यक्रम आयोजना गरि एकेडेमीले ओटीटी प्लेटफर्म ‘कान्तिपुर सिनेमाज्’ सुरुवात गरेको हो ।


‘कान्तिपुर सिनेमाज्’मा इन्टरनेटको माध्यमबाट संसारभर रहेका दर्शकले मोबाइल फोन, एन्ड्रोइड, आईओएस, वेभ र स्मार्ट टीभीबाट ‘कान्तिपुर सिनेमाज’मा रहेका कन्टेन्ट सजिलै हेर्न सक्नेछन् ।


‘कान्तिपुर सिनेमाज्’मा दर्शकले सुरुवातमा ‘ज्याकी आईएम ट्वान्टी वान’ र ‘जुलेबी’ फिल्म हेर्न सक्नेछन् । यस्तै, सिरिज ‘ब्रह्माण्ड’ र ‘लभसूत्र’ पनि हेर्न पाउनेछन् । सर्ट फिल्म ‘मदर’, ‘खरानी’, ‘ऋतु’ र ‘मिस सेक्रेट’ लगायत पनि एपमा उपलब्ध छन् ।


कार्यक्रमको उद्घाटन पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गरेका थिए । ओलीले शुभकामना दिदै नयाँ प्रविधिलाई आत्मसाथ गर्दै सुरु भएको प्लेटफर्मले सफलता पाउने विश्वास व्यक्त गरे । उनले भने–‘नेपालमा भारत र चीनको जस्तो ठूलो जनसंख्या छैन । यसैले, यहाँ थुप्रै फिल्म चलेर पनि कलाकारहरुलाई जीवन जिउन गाह्रो छ । धेरै जनसंख्या भएको मुलुकमा एउटा गीत चलेपनि जिन्दगी बन्छ । तर, यहाँ दीपकराज गिरी जस्ता कलाकारहरुलाई अझै भोली के हुने हो भन्ने चिन्ता छ ।’ ओलीले यस्तो परिस्थितीको बिचमा सुरु भएको ‘कान्तिपुर सिनेमाज्’ले विश्वभर रहेका नेपालीहरुको मन जित्न सक्ने भन्दै शुभकामना दिएका थिए ।
कान्तिपुर फिल्म एकेडेमीका सीईओ प्रकाश पुरीले ‘कान्तिपुर सिनेमाज’मा मासिक २९९ रुपैयाँ तिरेर सबै सामाग्री हेर्न सकिने जानकारी दिए ।


पुरीले अनलाइन पेमेन्ट गरेर सब्स्क्रिप्सन गर्न सकिने बताउँदै ‘कान्तिपुर सिनेमाज’ नेपालको पहिलो सब्स्क्रिप्सन ढाँचाको ओटीटी प्लेटफर्म भएको दाबी गरे । ‘यो प्लेटफर्ममा नयाँ नेपाली फिल्म, सर्ट फिल्म र सिरिजहरू हेर्न पाउनुहुनेछ ।’ उनले अगाडि भने–‘संसारभर यस्ता खालका ओटीटी प्लेटफर्महरू छन् । जुन आज हलको विकल्पका रूपमा स्थापित भइसकेका छन् ।’ उनले, यस्तै प्रकारको प्लेटफर्मको विकास आफूहरुले गर्न चाहेको पनि बताए ।


कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष भुवन केसीले ‘कान्तिपुर सिनेमाज’ दर्शक र मेकर दुवैका लागि उपयुक्त प्लेटफर्म हुन सक्ने बताए । विश्वभर रहेका नेपाली सिनेमाका पारखीका लागि ओटीटी राम्रो माध्यम भएको भन्दै उनले यसले नेपाली सिनेमालाई थप विस्तार गर्ने विश्वास व्यक्त गरे ।


नेपाली सिनेमाको ओटीटी रिलिज गर्न पनि मेकर तयार हुने अवस्था सिर्जना गर्न ‘कान्तिपुर सिनेमाज’ सफल हुने उनको धारणा थियो । यसले विश्वभरका नेपालीलाई जोड्ने माध्यमको काम गर्ने भुवनको भनाई थियो ।
कार्यक्रममा बोल्दै हाँस्य कलाकार दीपकराज गिरीले ओटीटी प्लेटफर्म संचालन गर्नु भनेको एउटा ठूलो चुनौतीको काम भएको भन्दै यसमा सफलता पाउनेमा विश्वास व्यक्त गरे ।


सानो बजार रहेकाले कन्टेन्टको आवश्यकता हुने र नयाँ सिनेमा पाउनु र दर्शकलाई दिन सक्नु नै ओटीटीका लागि मुख्य चुनौती भएको गिरीको भनाई थियो ।

यस्तै, कार्यक्रममा बोल्दै टेलिभिजन प्रस्तोता सुरज सिंह ठकुरीले ओटीटीबाट अन्य मुलुकका नागरिकहरुलाई पनि नेपाली बिषयवस्तुमा आकर्षित गर्न सकिने बताए । यसका लागि सब–टाइटल राखेको खण्डमा राम्रा सामाग्रीले नेपालीको मात्र नभएर विदेशीहरुको पनि मन जित्न सक्ने उनको भनाई थियो ।

मुम्बइ, २४ असाेज ।

गत हप्ता प्यालेस्टिनी अतिबादी समूह हमासले गरेको अचानक आक्रमणपछि गाजा पट्टीमा हमासविरुद्ध इजरायलको आक्रमण तीव्र भएको छ। युद्धको चौथो दिनसम्ममा तीन हजारभन्दा बढी मानिसको मृत्यु भइसकेको छ ।

 

सो युद्धका कारण दुइ देशीय सीमामा बसोबास गर्ने दुबै देशका जनता सो आक्रमणबाट आफ्ना प्रियजन गुमाए पछि शोकमा छन्। हमासको निरन्तर आक्रमण र गाजाको ‘पूर्ण नियन्त्रण’ लिनको लागि इजरायलको बलियो अभियानको बीचमा निर्दोष मानिसहरू विरुद्ध बर्बरताका कथाहरू देखा परिरहेका छन्।

 

यसै सन्दर्भमा, भारतीय टिभी अभिनेत्री मधुरा नाइकले आफ्ना काका र उनका छोराछोरीको ‘क्रूरतापूर्वक हत्या’ भएको बताएकी छन्। इन्स्टाग्राममा सेयर गरेको भिडियो सन्देशमा भारतीय मूलकी यहूदी नागिन अभिनेत्रीले भनिन्, ‘मेरो परिवारले भोगेको पीडालाई शब्दले व्यक्त गर्न सक्दिन् । आजसम्म इजरायल पीडामा छ र सडकमा छ, क्रोधसहित हमासको आगोमा जलिरहेको छ।’ नायिकाले अगाडी भनिन्, ‘महिला, बालबालिका, वृद्ध, कमजोर सबैलाई निशाना बनाइएको छ ।’

 

उनले आफ्नी बहिनी र आफ्नो परिवारको तस्बिर पोस्ट गरेकी थिइन, त्यसपछि सामाजिक सञ्जालमा उनी ट्रोल भएकी थिइन । उनले भनिन, ‘यसले पनि प्यालेस्टाइन समर्थक एजेन्डा कति गहिरो छ भन्ने देखाउँछ। म यहूदी हुँ भनेर मलाई अपमानित गरिएको छ।’

 

ओडाया र उनको परिवारकाे घटनाले जारी सबैभन्दा रक्तपातपूर्ण इजरायल–हमास युद्धहरूको क्रूरता देखाउँछ। धेरै बालबालिका अहिले अनाथ भएका छन् र लगातार रकेट आक्रमण र प्रतिशोधात्मक हवाई आक्रमणमा धेरैको मृत्यु भएको छ। यस युद्धका दुवै पक्षका मृत्यु, डर र विनाशको अन्धकारले ढाकेका छन्।

 

यहुदी कानून बमोजिम शव निकाल्ने परोपकारी संस्था जाकाका स्वयंसेवक मोती बुक्जिनले भने कि हमासका बन्दुकधारीहरूले बिरी किबुत्जमा मात्रै १०० भन्दा बढी व्यक्तिको हत्या गरेका थिए।

काठमाडौं, २३ असोज ।

‘खोजी एउटा उत्कृष्ट प्रवासी नेपाली आवाजको’ मूल ध्येय लिएर सञ्चालन भइरहेको रियलिटी शो ‘एनआरएन द सिङगर’ अन्तिम चरणमा प्रवेश गरेको छ। सोमबार राति स्पेस फोर के टेलिभिजनमार्फत उत्कृष्ट १० जनाको प्रस्तुती पछि फाइनलमा प्रतिस्पर्धा गर्ने ५ जनाको टुंगो लागेको हो। यी ५ जनाले अब अक्टोबर १५ तारिखमा काठमाडौंमा हुने ग्रान्ड फिनालेमा प्रतिस्पर्धा गर्ने छन्। उत्कृष्ट १० बाट कर्मा दोङ तामाङ, विष्णु क्षत्री, सुवासचन्द्र पुनमगर, गुना मगर निसु र युक्ती विमलीले ग्रान्ड फिनालेका लागि स्थान पक्का गरेको कार्यक्रम उत्पादक युनिटेकका सुरज राइले जानकारी दिए।

 

काभ्रे घर भइ जापान बस्ने ३० वर्षीय कर्मा दोङ तामाङ अहिले जापानमा विद्यार्थी भिसामा रहेर काम गरिरहेका छन्। विदेशमा बसेपनि नेपाली गिस संगीतबाट कहिल्यै टाढा नभएका तामाङले फिनालेमा पुग्नका लागि राजु लामाको चर्चित गीत ‘गाउँकी चेली साह्रै नै राम्री फरिया र चोलोमा झनै राम्री’ बोलको गीत प्रस्तुत गरेका थिए।

 

पर्वतमा जन्मिएका विष्णु क्षत्री १५ वर्षदेखि युरोपको नर्वेमा बस्दै आएका छन्। विदेशमा काम गर्दै गर्दा पनि नेपाली गीत संगीतलाई माया गरेका क्षत्रीले त्यहाँ हुने कार्यक्रममा आफ्नो प्रस्तुतीले नेपाली समूदायमा राम्रो छाप छाड्न सफल एनआएन द सिङगरको फाइनलमा पुग्दै आफूलाई फेरि एक पटक अब्बल सावित गरेका छन्। उनले फाइनल पुग्नका लागि रामकृष्ण ढकालको आरोह एल्बमको ‘हिरा काट्ने हिरैमा राखेर’ बोलको गीतलाई सुन्दर ढंगले प्रस्तुत गरेका थिए।

 

भोजपुरमा जन्मिएकी गुना मगर वैदेशिक रोजगारीका लागि कतारको दोहामा रहेकी छिन्। आफ्नो गाउँघर बन पाखालाई सम्झदै कामबाट थोरै फुर्सद हुँदा गीत संगीतका माध्यमबाट आफूलाई विदेशी भूमीमा चिनाउने प्रयास गर्दै गरेकी गुनाले फिनालेमा स्थान बनाउनका लागि इन्डियन आइडल जितेका प्रसान्त तामाङले गोरखा पल्टन चलचित्रका लागि गाएको ‘ज्यान सुहाउन लाको चोली तानसेन बजारैको बोलक’ गीत प्रस्तुत गरिन्।

 

बेलायतमा जन्मिएकी युक्ती विमली नेपाली भाषामा पोख्त नभए पनि सानै उमेरदेखि नेपाली संगीतमा भने रुची राख्थिन्। वेलायतमा हुने विभिन्न नेपाली सांस्कृतिक कार्यक्रमहरुमा प्रस्तुती दिएको युक्ति विमलीले ग्रान्ड फिनालेमा स्थान बनाउन शिशिर योगीको ‘ छाडेर काम सारा एक मानिस खोजी रहेछु’ बोलको चर्चित राष्ट्रिय गीत प्रस्तुत गरेकी थिइन्।

 

रोल्पामा जन्मिएका सुवासचन्द्र पुन मगर परम्परागत सोरठी नाचका गुरु आफ्नै हजुरबुवा र बाबा भएका कारण गीट्ट संगीतमा यिनको रुची बढेको हो। उनी अहिले रोजगारीको शिलसिलामा पोर्चुगलमा रहेका मगरले फिनालेमा स्थान बनाउनका लागि रोहित थापाले गाएको ‘ घर त मेरो यहाँ होइन’ बोलको गीत प्रस्तुत गरेका थिए।

 

समग्रमा १० जनाले प्रस्तुती दिएकोमा फिनालेका लागि ५ जना छनोट भएका हुन्।  उत्कृष्ट १० बाट ग्रान्ड फिनाले मा पुग्दा ७५ प्रतिशत भोटिङ र २५ प्रतिशत निर्णायकको अंकले काम गरेको थियो। तर अब ग्रान्ड फिनालेमा ५ जनाबीच प्रतिस्पर्धा हुँदा सर्वाधिक भोट ल्याउनेले नै ‘एनआरएन द सिंगरको’ पहिलो उपाधि जित्ने छ।

 

उपाधि जित्नले नगद रु  ५ लाख प्राप्त गर्दा फस्ट रनरअपले रु २ लाख  र सेकेन्ड रनरअपले रु १ लाख नगद पुरस्कारका  साथै ट्रफि र प्रमाणपत्र पाउने एनआरएन द सिङ्गरका प्रमुख संयोजक गोविन्द प्रसाद गौतमले जानकारी दिए।  ग्रान्ड फिनाले फिनाले घटस्थापना का दिन असोज २८ गते (अक्टोबर १५) मा काठमाडौंमा आयोजना गरिने कार्यक्रमका उपसंयोजक प्रवीण गुरुङले बताए।

 

“प्रवासमा रहेका उत्कृष्ट प्रतिभा पहिचान गरी नेपाली भाषा, संस्कृति र सम्पदाको प्रवर्द्धन गर्ने उद्देश्यले आयोजित यस कार्यक्रममा दर्शकहरुले देखाउनु भएको स्नेहबाट हामी अत्यन्तै उत्साहित भएका छौं,” गैरआवासीय नेपाली संघ (एनआरएनए आइसीसी) का सचिव तथा संघको संस्कृति तथा सम्पदा समितिका अध्यक्ष एवं एनआरएन द सिंङगरका प्रमुख संयोजक गौतमले भने। झन्डै २ वर्ष पहिलेदेखि तयारी गरिएको यो कार्यक्रमलाई सफल बनाउन सहयोग गर्न उनले सबैलाई आग्रह पनि गरे।

 

एनआरएनएबाट उत्कृष्ट सिंगरको खोजीका लागि जज (निर्णायक) को रुपमा वरिष्ठ गायक तथा सर्जक शम्भु राई (नेपाल),  शर्मिला बर्देवा (युके) र रुपककुमार शाही समुदा (अस्ट्रिया) रहेका छन्।

खल्ती एपबाट कसरी भोट गर्ने ?

 

आफुले मन पराएका उत्कृष्ट प्रतिभा छनोट गर्न सबै भन्दा पहिले खल्ति एप डाउनलोड गर्नु पर्ने छ।  उक्त एप खोले पछि इन्टरटेनमेन्ट सेक्सनमा ‘एनआरएन द सिंगर’ देखिने छ। त्यसपछि आफुलाई  मन पर्ने प्रतिस्पर्धीलाई ट्याप गरेर भोट गर्न सकिने छ।

काठमाडौं, २२ असोज ।

नेपाली चलचित्र क्षेत्रमा देखिएको बिबाद मिलाउनका लागि चलचित्र सम्बध संस्थाहरु अक्षम भएको आरोप लाग्न थालेको छ ।

 

पछिल्लो समयमा चलचित्र सबन्धी बिबादहरु प्रहरी प्रशासनकोमा पुग्न थाले पछि ती संस्थाहरुको औचित्यमाथी प्रश्न उठन थालेको हो ।

 

चलचित्र क्षेत्रमा आबद्यसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद असिम शाहले ती संस्थाहरुमाथी प्रश्न उठाएका हुन् । ‘चलचित्र सम्बन्धी एत्रा संघ संस्था भएर पनि बिबाद मिलाऊने सुलझाउने काम गर्न न सक्नु अनि न्यायका लागी प्रहरी गुहार्न पर्ने अवस्था आउनु कलाकार, निर्माता, बितरकको पक्राउ पुर्जी जारी हुनु दुःखद कुरा हो’ सांसद शाहले भनेका छन, ‘अदालत पूगेर नै सबै  विवाद मिलाऊने हो भने चलचित्र क्षेत्रको हित गर्ने भनेर खोलेको संस्थाको औचित्य चाई के हो ? ’

अनमोल केसी पक्राउ प्रकरण तथा ओएसआर डिजिटलमा प्रबन्धक ओम प्रकाश अर्याल प्रकाउ प्रकरण सार्बजनिक भईरहेको बेला सांसद शाहले चलचित्र सम्बध संस्थाहरुको औचित्य माथी प्रश्न उठाएका हुन ।

काठमाडौं, २१ असोज ।

चलचित्र ‘प्रसाद २’ का निर्माता सुदर्शन बस्नेतको उजुरीपछि पक्राउ परेका ओएसआर डिजिटलका सञ्चालक ओमप्रकाश अग्रवाललाई चारदिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति प्राप्त भएको छ ।

प्रहरीले गत शुक्रबार पक्राउ गरेर आइतबार अदालतमा उनलाई उपस्थित गराएको हो । सोही क्रममा काठमाडौं जिल्ला अदालतले उनलाई चारदिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो ।

 

आफ्नो अनुमति र मन्जुरीबिना अग्रवाल, निर्देशक सुदर्शन थापा र मिलन श्रेष्ठले स्वदेश तथा विदेशमा चलचित्र प्रसारण गरी आफूलाई एक करोड ५० लाख रुपैयाँ आर्थिक नोक्सानी पु¥याएको भन्दै निर्माता बस्नेतले उनीहरुविरुद्ध जाहेरी दिएका हुन् ।

काठमाडौँ, २१ असोज ।

नेपाली चलचित्रले लगानी उठाउने मात्र नभई विदेशी बजारबाट मुनाफा पनि प्राप्त गर्न थालेको छ । नेपालका राम्रा र प्रतिष्ठित समूहले निर्माण गरेका चलचित्रलाई विदेशमा रहेका दर्शकले पनि हेर्न थालेपछि नेपाली चलचित्रको बजार विस्तार हुनुका साथै मुनाफा दिने भएको छ । यसले नेपाली चलचित्रको अन्तर्राष्ट्रियबजार बलियो बनाउनुका साथै दर्शकसमेत बढाइरहेको छ । मौलिक कथा र कलात्मक प्रस्तुति रहेका नेपाली चलचित्रका लागि अष्ट्रेलिया, अमेरिका, जापान, बेलायत, मध्यपूर्व लगायतका देशमा बजार बलियो भईरहेको छ । कुनै समय रेस्टुराँ वा सामुदायिक भवनमा प्रदर्शन हुने ती चलचित्र अहिले विदेशी चलचित्र जसरी नै चलचित्र भवनमै दर्शकले हेर्न पाउँछन् ।

 

दर्शक बढाउने काम केही चलचित्रहरूले गरेका छन् । ती मध्येको एक हो ,‘जात्रा’ शृङ्खला । षट्कोण आटर््सले निर्माण गरेको चलचित्रहरूले अन्तर्राष्ट्रियबजार विस्तारमा उल्लेख्य भूमिका निर्वाह गरेको छ । त्यहिँ कारण उक्त कम्पनिले निर्माण गर्ने आगामी चलचित्र ‘महाजात्रा’ निर्माण प्रारम्भ नहुँदै विदेशका अधिकाँस देशमा प्रदर्शन अधिकार विक्री भईसकेको छ ।

 

अष्ट्रेलियामा रहेर केही समययता नेपालबाहेक विश्व प्रदर्शन अधिकार खरिद गरिरहेको एमएसएम इन्टरटेन्मेन्टका लागि वितरक छत्र थापाले ‘महाजात्रा’ को भारत बाहेकका लागि प्रदर्शन अधिकार खरिद गरेका छन् । उनले कथाले पूर्णता नपाउदै चलचित्रको अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गर्नुलाई ‘जात्रा’ शृङ्खला प्रति दर्शकमा रहेको विश्वासलाई मुख्य कारण देखाए ।

‘जात्राका दुवै शृङ्खलाले दर्शकको मन जितेको छ । अन्य चलचित्रको प्रदर्शनीको समयमा समेत जात्राको आगामी शृङ्खला कहिले आउँछ ? भन्ने जिज्ञासा सुनिन्छ । त्यहिँ कारणले पनि मैले निर्माण पक्षलाई दर्शकको भावना सुनाए । उहाँहरूले निर्माण तय गरेर लेखनकै क्रममा हुँदा अन्तर्राष्ट्रिय प्रदर्शन अधिकार खरिद गरें’, वितरक थापाले भने,‘मैले खरिद गरेको थाहा भएपछि धेरैले मसँग अधिकाँस देशमा प्रदर्शन अधिकार खरिद गरिसक्नु भएको छ । सबैले मेकर्सलाई विश्वास गर्नुभएको छ, साथै जात्राको अघिल्लो शृङ्खलाले बनाएको ब्राण्डको विश्वसनीयता पनि हो ।’

वितरक थापाले प्रवासमा रहनुभएका नेपाली दर्शकले निर्देशक प्रदीप भट्टराई, षट्कोण आर्ट्स, रवीन्द्रसिंह बानियाँ लगायतको समुहलाई निर्धक्क विश्वास गर्ने भएकाले अहिलेसम्मकै महँगो मुल्य तिरेर प्रदर्शन अधिकार खरिद गरेको जानकारी दिए ।


‘चलचित्रको कति मुल्य पर्यो भन्दा पनि यसले उचित मुल्य पाएको छ । मैले यसका पछिल्ला शृङ्खलाले गरेको व्यापार र प्रवासमा वितरक र दर्शकको माँग बुझेर अहिलेसम्मकै महँगो मुल्यमा खरिद गरेको हुँ । मैले जुन विश्वासले चलचित्र किने, त्यहिँ विश्वासले मसँग अधिकाँस देशका वितरकले खरिद गरिसकेका छन् । त्यसले पनि महाजात्रालाई लिएर दर्शक कति प्रतिक्षित छन् भन्ने प्रस्ट्याउछ । मैले कहिँ कतै किनिदेउ भनेको छैन, चलचित्र नपाउने साथी रिसाएका छन्’, वितरक थापाले भने ।

उनले जापान, हङ्गकङ्ग, न्युजिल्यान्ड, दक्षिण कोरिया, मध्यपूर्वका देशहरू, अष्ट्रेलिया, युरोपमा चलचित्र नेपालकै मिति चैत्र ९ मा प्रदर्शन हुने तय भएको र अन्य बाँकी देशमा उक्त समयसम्म प्रदर्शन तय हुने जानकारी दिए । वितरक थापाले ‘महाजात्रा’ मार्फत केही नयाँ देशहरूमा नियमित चलचित्र प्रदर्शनको सुरुआत हुने समेत जानकारी गराए ।

 

विशेषतःविदेशमा मौलिक नेपालीपन बोकेको चलचित्रको बजार बलियो देखिएको छ । सरल नेपाली चलचित्र हेर्न परिवार नै साथै आउने गरेका छन् । चलचित्रका कार्यकारी निर्मातासमेत रहेका अभिनेता रवीन्द्रसिंह बानियाँले ‘जात्रा’ शृङ्खलाको सफलता र दर्शकको प्रतीक्षाले नै ‘महाजात्रा’ निर्माण हुन् लागेको बताए ।

 

‘हाम्रो पछिल्लो चलचित्र जात्रै जात्रा इन्टरनेट रिलिज भएपछि अधिकाँस दर्शकले सामाजिक सञ्जालमार्फत आगामी शृङ्खला ल्याउन आग्रह गर्दै जिज्ञासा राख्नु हुन्थ्यो । हामीलाई दर्शकसँगै समीक्षकमार्फत पाएको प्रतिक्रियाले शृङ्खलालाई निरन्तर दिन हौसाएको हो’, कार्यकारी निर्माता बानियाँले भने,‘हामीले शृङ्खला थप्न हतार गरेनौँ । अहिले कथा अगाडी बढाउने आइडियामा निर्माण समुह सहमत भएपछि काम अगाडी बढाएका छौँ ।’

 

उनले अन्तर्राष्ट्रिय वितरकले गरेको विश्वास र दर्शकले दिएको मायाले पछिल्ला शृङ्खलाको तुलनामा बलियो हुनुपर्ने दायित्व महसुस भएको बताए । ‘हामीले सानो रुपमा सुरू गरेको जात्रासँग अहिले दर्शकको भावनात्मक सम्बधन जोडिएको छ । यसले गर्ने व्यापार, प्रवासको बजार लगायतले हाम्रो मात्र नभई अन्य नेपाली चलचित्रलाई पनि टेवा पु¥याउने छ भन्नेमा विश्वास छौँ’, कार्यकारी निर्माता बानियाँले भने ।

आपतकालीन आइपर्ने अवसर र त्यसको व्यवस्थापनले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’ मा लेखन तथा निर्देशन प्रदीप भट्टराईको रहेको छ । यसमा विपिन कार्की, रवीन्द्रसिंह बानियाँ, रवीन्द्र झा, वर्षा राउत, अरविन खड्कासँगै यसपटक हरिवंश आचार्य जोडिनुभएको छ । दर्शकको विश्वास जितेर एकपछि अर्को सफलता प्राप्त गर्दै नयाँ रेकर्ड बनाइरहेको ‘जात्रा’ शृङ्खलाको आगामी चलचित्र ‘महाजात्रा’ लाई म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेलले निर्माण गर्नेछन् । प्रोडक्सन म्यानेजरमा रूपक प्रताप अधिकारी रहेको चलचित्रको छायाङ्कन दसैँलगत्तै सुरु हुनेछ ।

 

मुम्बई, ६ असोज ।

शिल्पा शेट्टीको फिल्म सुखी शुक्रबारबाट हलमा रिलिज भएको छ ।

 

यो फिल्म विक्की कौशलको फिल्म ‘द ग्रेट इन्डियन फॅमिली’ सँग टक्कर लिईरहेको छ । दुबै फिल्मले शाहरुख खानको जवानसँग सामना गर्नुपरेको थियो, जसका कारण बक्स अफिस खराब अवस्था देखिएको छ ।

 

सुखीको अवस्था निकै खराब छ । फिल्मको पहिलो दिनको कलेक्शन सार्वजनिक भएको छ । यो फिल्मले पनि १ करोडको व्यापार गर्न सकेन ।

 

शिल्पा शेट्टीको फिल्मको पहिलो दिनको अंक निकै कम छ । यो फिल्म पहिलो दिनमै बक्स अफिसमा असफल भएको छ । फिल्मको पहिलो दिनको कलेक्शनको बारेमा जानकारी राखौं ।

 

सैकनिल्कको रिपोर्ट अनुसार शिल्पा शेट्टीको फिल्मले पहिलो दिन मात्र ३० लाख भन्दा कमको व्यापार गरेको छ। यो थोरैबाट सुरु भयो। सप्ताहन्तमा आम्दानी थोरै बढ्न सक्छ। अब करोड भित्र्याउन भने अलि गाह्रो हुन सक्छ ।

 

‘द ग्रेट इन्डियन फेमली’ र  शाहरुखकाे ‘जवान’ दुवैका कारण ‘सुखी’को अवस्था नाजुक बनेकाे हाे । उता, विक्की कौशलको फिल्मले पनि खासै व्यापार गर्न सकेकाे छैन तर पनि सुखीभन्दा धेरै कमाएको छ । ‘द ग्रेट इन्डियन फेमली’ ले पहिलो दिन १ करोड ४० लाख रुपैयाँ कमाएको छ ।

 

अर्कोतर्फ शाहरुख खानको जवानले दुवै फिल्मलाई कडा टक्कर दिइरहेको छ । जवान रिलिज भएको २ हप्ता भन्दा बढी भइसक्यो तर अझै पनि यो चलचित्रलाई कसैले पछाडी पार्न सकेको छैन् ।

 

‘सुखी’ लाई सोनाली जोशीले निर्देशन गरेकी हुन् । फिल्ममा शिल्पासँगै कुशा कपिला, अमित साध, दिलनाज इरानी, ​​किरण कुमार, विनोद नागपालको पनि महत्वपूर्ण भूमिका रहेको छ । यो फिल्म ३८ वर्षकी गृहिणीको कथा हो ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।