काठमाडौं, २० चैत ।
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवमा ‘चिसो मान्छे’ ले उत्कृष्ट चलचित्र पुरस्कार जीतेको छ ।
चलचित्र चिसो मान्छेको लेखन तथा निर्देशन दिपेन्द्र के खनालले गरेका हुन् । चिसो मान्छेबाटै नायिका स्वस्तिमा खड्काले उत्कृष्ट अभिनेत्रीको अवार्ड प्राप्त गरेकी छिन् ।
एक सटमा खिचिएको बाल मनोविज्ञानमा आधारित लघु चलचित्र ‘घुर्रा’ को लेखन तथा निर्देशन रंगकर्मी मोहन अभिलाषीले गरेका छन् । चलचित्र ‘महापुरुष’ बाट हरिवंश आचार्यले उत्कृष्ट अभिनेता र प्रदिप भट्टराईले उत्कृष्ट निर्देशकको अवार्ड पाएका छन् ।
हरिवंश अवार्ड लिन स्वयं उपस्थित भएका थिए भने निर्देशक भट्टराई कार्यक्रममा देखिएनन् । त्यस्तै चलचित्र ‘छक्कापन्जा–४’ बाट दीपकराज गिरीले उत्कृष्ट लेखक र दीपाश्री निरौलाले ‘छक्कापन्जा–४’ बाटै जुरी मेन्सन अवार्ड पाएकी छिन् । दीपकराज गिरी छक्कापन्जा पाँचको स्कृप्टमा व्यस्त भएकोले कार्यक्रममा आउन नसकेको भन्दै दुवै अवार्ड दीपाश्रीले नै लिएको थिईन् ।
राष्ट्रियतर्फ उत्कृष्ट सांस्कृतिक चलचित्रमा ‘थिमु’, वातावरणीय चलचित्रमा ‘दिअर ईज नो टुमारो’, उत्कृष्ट डकुमेन्ट्रीमा ‘मकै विवाह’, उत्कृष्ट महिला चलचित्र ‘द गोर्खा गर्ल’, उत्कृष्ट बाल चलचित्रमा ‘ईअर्ली होम’ले अवार्ड पाएको छ भने स्पेशल जुरी मेन्सन अवार्ड ‘जर्ना’ र ‘युवराज’ले प्राप्त गरेको छ ।
लघु चलचित्र ‘साउण्ड अफ ड्रिमिङ’बाट चिन्तनराज भण्डारीले उत्कृष्ट छायाँकारको अवार्ड पाए । प्रमुख अतिथिका रुपमा नेपाली कांग्रेसका प्रदिप पौडेल उपस्थित रहेको थिए । मिथिला शर्मा, भुवन चन्द, हरिवंश आचार्य, दीपाश्री निरौला, सुश्मा कार्की, आर्यन सिग्देल, मोहन निरौला लगायत थुप्रै कलाकारहरुको उपस्थित थिए ।
चलचित्र महोत्सवमा विभिन्न विधाका उत्कृष्ट राष्ट्रिय चलचित्रतर्फ १५ र अन्तराष्ट्रिय चलचित्रतर्फ उत्कृष्ट १५ अवार्ड वितरण गरिएको थियो । अन्तरास्ट्रियतर्फ उत्कृष्ट चलचित्र भारतको ‘मुझे स्कुल नही जाना’ र लघु चलचित्रमा बेलायतको ‘नो फ्रिडम नो आर्ट’ ले अवार्ड पाएको छ । बंगलादेशको प्रशुन रहमानले चलचित्र ‘डियर सत्यजित’ बाट उत्कृष्ट निर्देशक अवार्ड पाए ।
उत्कृष्ट महिला चलचित्रमा पाकिस्तानको ‘ईन्टरभलु’, डकुमेन्ट्रीमा बहराइनको ‘शैख अल तानवीरु, बाल चलचित्रमा भारतको ‘शट बुट थ्री’, वातावरणीय चलचित्रमा साउथ अफ्रिकाको ‘द लाष्ट सीड’, मानव अधिकार चलचित्रमा बेल्जियमको ‘ह्वेर ह्याभ अल द स्माईल्स गन’ले अवार्ड प्राप्त गरेको छ ।
उत्कृष्ट अभिनेतामा बंगलादेशको चलचित्र ‘जुद्धो जोएर किशोर नायक’ बाट अतिक्युर रहमान शिहान, अभिनेत्रीमा क्यानडाको चलचित्र ‘जेन’बाट जोभान्ना बुर्की, उत्कृष्ट लेखकमा चेक रिपब्लिकको ‘सेक्रेट्स अफ एन वर्ल्ड गन टु’ बाट ईभो मचारेक, उत्कृष्ट छायाँकारमा अमेरिकाको ‘द समिट’ बाट कोर्बन रबीले अवार्ड पाएका छन् । जुरी मेन्सन अवार्ड नेपालमा छायांकन गरिएको जर्मनीको ‘नमस्ते हिमालय’ र स्पेसल मेन्सन अवार्ड फ्रान्सबाट ‘ईमाकुलेट’ र पाकिस्तानको ‘समटाईम्स ईभन द सोर ड्रन्स’ ले पाएको छ ।
विदेशबाट धेरैजसो विजेताहरु कार्यक्रममा स्वयं सहभागी भएरै अवार्ड लिएका थिए । चलचित्र विकास बोर्डको हलमा अन्तर्राष्ट्रिय चलचित्र महोत्सव भईरहँदा विकास बोर्डकै अध्यक्ष भुवन केसी भने अनुपस्थित रहेका थिए । चलचित्रलाई माया गरेर विदेशबाट धेरै चलचित्रकर्मीहरु नेपाल आइरहँदा चलचित्र विकास बोर्डकै अध्यक्षले बेवास्ता गरेको धेरै सहभागीहरूले गुनासो व्यक्त गरेका
थिए ।
पाँचौ अन्तराष्ट्रिय सांस्कृतिक चलचित्र महोत्सवको राष्ट्रिय निर्णायकको रूपमा नायिका आँचल शर्मा, कलाकार मोहन निरौला, अभिनेत्री सुष्मा कार्की, चलचित्रकर्मी मोहन राई, पत्रकार शान्ती प्रिय, जय निशान्त र सुवास प्रधान रहेका थिए । त्यस्तै अन्तराष्ट्रिय निर्णायकमा पोल्याण्डकी म्याग्डालेना जुज्जिक, जर्मनीकी डर्क गिल्सन, सर्बियाकी ल्जुबिन्का स्टोजानोभिक, जर्मनीका जान स्लेंक, भारतका मुश्ताक अली अहमद खान, क्रोएसियाका इभा गालोभिक, कोरियाकी मिरियम ग्लेजर छन् । भारतका मुश्ताक अलि, जर्मनीका जान स्लेक, सर्बियाकी ल्जुबिन्का, पोल्यान्डकि म्याग्डालेना महोत्सवमा उपस्थित रहेका थिए । सबैले नेपालीमा बोल्ने प्रयास गरेर महोत्सवको माहोललाई तताएका थिए ।
तीन दिने महोत्सवको उद्घाटन नेपाल पर्यटन बोर्डमा गरिएको थियोे भने समापन चलचित्र विकास बोर्डको हलमा गरिएको थियो । महोत्सवमा विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्म प्रदर्शनसँगै प्यानल डिस्कशन र मास्टर क्लास समेत भएको थियो । चलचित्र विकास बोर्डमा सर्बियाकी लजुबिन्का स्टोजानोभिकले चलचित्र सम्बन्धी कार्यशाला दिएकी थिईन् भने अन्तिम दिन भारतका मुश्ताक अली अहमद खानले मास्टर क्लास गरेका थिए । चलचित्र महोत्सवको समापन गर्दै महोत्सव निर्देशक सन्तोष सुवेदीले देश तथा विदेशबाट चलचित्र क्षेत्रलाई माया गरेर महोत्सवमा उपस्थित सबैलाई धन्यवाद ज्ञापन साथै अतिथिहरुलाई मायाको चिनो प्रदान गरेका थिए ।न्युज कारखाना
काठमाडौँ ।
‘जात्रा’ र ‘जात्रै जात्रा’ पछि षट्कोण आर्ट्सले निर्माण गरेको तेस्रो भाग ‘महाजात्रा’ नेपालसहित विश्वभर आक्रामक व्यापार गरिरहेको छ ।
पहिलो सातामा नेपालमा ६ करोड २४ लाखको ग्रस कलेक्शनसहित विश्वभर दश करोडको ग्रस कलेक्सन गरेको फिल्म हेर्न दोस्रो सातामा पनि दर्शकको भिड कम भएको छैन । नेपाल झैँ विदेशमा पनि दर्शकको उस्तै प्रतिक्रिया र ब्राण्डले निर्माण गरेको हाइपको आधारमा फिल्मले व्यावसायिक रुपमा पनि इतिहास बनाउदैछ ।
अष्ट्रेलिया, अमेरिका झैँ फिल्मले मध्यपूर्वका देशमा पनि आक्रामक व्यापार गरिरहेको छ । गत चैत १५ (मार्च २८) देखि मलेसिया, दुबई, बहराइन, ओमान र कतारमा फिल्म प्रदर्शनमा छ । अर्थात् फिल्म नेपाल झैँ प्रचारप्रसार गरेर नियमित शो (बक्सअफिस) मा लगाईएको छ । मध्यपूर्वका देशहरूमा वितरणको अधिकार खरिद गरेको सुप्रिम फिल्म प्रोडक्सन एण्ड डिस्ट्रिव्युसन र प्रदर्शन गरिरहेको कन्सेप्ट भिजनका प्रमुख अनिश सिंह ठकुरीले अघिल्ला सबै रेकर्ड तोड्दै ‘महाजात्रा’ ले नयाँ इतिहास बनाउने बताए ।
मध्यपूर्वका ठूला सिनेमा चेनहरु भक्स, स्टार, सिने रोयल, सिनेपोलिस, सिनेको र नोभामा फिल्म विदेशी झैँ नियमित प्रदर्शन भइरहेको बताए । ‘हामीले नेपालमा झैँ फिल्मको प्रचारप्रसार गरेर मध्यपूर्वका देशहरूमा नियमित शोमा प्रदर्शन गरिरहेका छौँ । यो किसिमको रिलिज र फिल्ममा दर्शकको उपस्थिति संवत पहिलोपटक भएको हो’, वितरक ठकुरीले भने,‘फिल्म हेर्न समूह समूहमा दर्शक आइरहेका छन् । हेरेकाले नै अन्यलाई हेर्न सिफारिस गरेपछि अहिले मध्यपूर्वमा महाजात्राले अघिल्ला फिल्मको व्यावसायिक सबै रेकर्ड तोड्दै इतिहास बनाउदै छ ।’
साथीभाई इन्टरटेनमेन्ट्सका हरी मोक्तानको बजार व्यवस्थापन र हर्क पोडकास्टको सहयोगमा नेपाली फिल्मको बजारलाई मध्यपूर्वका देशहरूमा थप बलियो बनाइरहेको वितरक ठकुरीले बताए । उनले हालसम्म मध्यपूर्वमा ५ हजार र मलेसियामा पन्ध्रसय दर्शकले फिल्म हेरिसकेको जानकारी दिए । उनका अनुसार सुरुआती चरणमा भएको शो र त्यसमा दर्शकले दिनुभएको प्रतिक्रियाले आगामी दिनमा भव्य व्यापार हुने तय छ ।
‘पहिलो चरणमा नै देखिएको दर्शकको उपस्थितिले हामीलाई उत्साहित बनाएको छ । दोस्रो चरणमा हामीले इतिहास बनाउने छौँ’, वितरक ठकुरीले भने । उनले फिल्म हेर्न दर्शकको चाँप हलमा बढेपछि प्रदर्शन भइरहेको भक्स सिनेमाजले नेपाली फिल्मलाई हेर्ने नजरियामा नै फरक परिरहेको बताएका छन् ।
‘यहाँ वर्षेनी धेरै फिल्म प्रदर्शनमा आउँछन्, तर दर्शकले रुचाएको फिल्म सिमित छन् । यही वर्ष पनि केही फिल्म प्रदर्शन त भए तर दर्शक आएनन्, सोही कारण महाजात्रा बारे पनि प्रदर्शक विश्वस्त थिएनन् । तर, अहिले हलमा दर्शकको उपस्थिति देखेपछि आउँदो समयमा नेपाली फिल्मलाई धेरै सजिलो हुन्छ’, वितरक ठकुरीले भने ।
उनले विगत दशकदेखि आफूसहितको समूहले नेपाली फिल्मको प्रचार र बजार विस्तारमा गरिरहेको मेहनतको परिणाम प्राप्त हुने थालेको बताए ।
उनका अनुसार मलेसियामा अप्रिल ५ देखि नियमित प्रदर्शन तथा साउदी अरेबिया र कुवेतमा भने अप्रिल १८ सम्ममा प्रदर्शन हुने छ । फिल्मको भारत बाहेकको प्रदर्शन अधिकार खरिद गरेको एमएसएम इन्टरटेनमेन्ट्सले मध्यपूर्व झैँ अष्ट्रेलिया, दक्षिण कोरिया, न्युजिल्यान्ड, क्यानडा, जापान लगायतका देशमा आयोजित अधिकाँस शो ‘सोल्ड आउट’ भएको जनाएको छ । साथै, संयुक्तराज्य अमेरिका र बेलायतमा मध्यपूर्व झैँ नियमित बक्सअफिसमा प्रदर्शन भइरहेको छ ।
प्रदीप भट्टराईको लेखन तथा निर्देशनमा तयार भएको फिल्मका कार्यकारी निर्माता रवीन्द्रसिंह बानियाँ हुन् ।
आपतकालीन रुपमा आइपर्ने पैसा व्यवस्थापन गर्ने अवसर र त्यसले निम्त्याउने समस्यालाई रोचक शैलीमा प्रस्तुत गरिने ‘महाजात्रा’मा हरिवंश आचार्य, विपिन कार्की, रविन्द्रसिंह बानियाँ, वर्षा राउत, अर्जुनजंग शाही, प्रकाश घिमिरे, राजाराम पौडेल, प्रवीण खतिवडा, दिव्यदेव, सुमन कार्की, शिशिर बाङ्देल, गौमाया गुरुङ, अरविन खड्का लगायतको अभिनय रहेको छ । फिल्ममा म्याक्स दीपेश खत्री र यज्ञश्वर पौडेल निर्माता छन्न्युज कारखाना ।न्युज कारखाना
काठमाडौँ ।
बलिवुड फिल्मका लागि २०२४ त्यति राम्रो देखिएको छैन । यस बर्षका शुरुका तीन महिना बितिसकेको छ। अप्रिल सुरु भएको छ । यस बर्ष अहिलेसम्म बक्स अफिसमा कुनै पनि फिल्मले ५०० करोड कमाई गर्न सकेका छैनन् । अहिलेसम्म फिल्म ‘हनुमान’ ले विश्वभर ३३० करोडको आँकडा छुन सकेको छ ।
२०२४ को पहिलो तीन महिनामा रिलिज भएका शीर्ष ११ फिल्मको कलेक्शन पनि जनवरी २०२३ मा रिलिज भएको ‘पठान’ को भारतीय कलेक्शनको बराबर छैन । गत वर्षको पहिलो तीन महिनामा बलिउडले करिब १५०८ करोड रुपैयाँ कमाएको थियो । जसमा पठानको कमाई सबैभन्दा बढी थियो ।
जनवरी २५, २०२३ मा रिलिज भएको शाहरुख खानको पठानले भारतीय बक्स अफिसमा करिब ६५४ करोड रुपैयाँ कमाएको थियो । योसँगै ग्लोबल बक्स अफिसमा यसको कमाई १०५० करोड रुपैयाँ थियो ।
जनवरी-मार्च २०२४ को बीचमा जम्मा १३ वटा बलिउड फिल्म थिएटरमा रिलिज भएका छन् । जसमध्ये शीर्ष ११ फिल्मको विश्वव्यापी बक्स अफिस कलेक्सन करिब ८९९.९४ करोड भारु छ । जबकि भारतीय बक्स अफिसमा मात्र यी फिल्मको कलेक्सन ६१०.५५ करोड भारु रहेको छ ।
यस बर्ष रिलिज भएका फिल मध्ये फाइटरले भारतीय बक्स अफिसमा २१२ करोड भारु तथा विश्वभर ३३७ करोड कमाएको छ । त्यस्तै अजय देवगनको शैतानले भारतमा १३२ करोड कमाएको छ भने विश्वभर १८७ करोड भारु कमाएको छ ।
त्यस्तै शाहिद कपुरको फिल्म तेरी बातो मे ऐसा उल्झा दियाले भारतमा ८७ करोड कमायो भने विश्वभर १३३ करोड कमाएको थियो । त्यस्तै आर्टिकल ३७० ले भारतमा ७८ करोड र विश्वभर १०५ करोड कमाएको थियो ।
अप्रिलमा दुई ठूला फिल्मको भिडन्त
अप्रिल २०२४ को सुरुमा दुई ठूला फिल्मको भिडन्त हुनेछ । अक्षय कुमार र टाइगर श्राफ स्टारर फिल्म बडे मियाँ छोटे मियाँ बक्स अफिसमा अजय देवगनको फिल्म ‘मैदान’सँग भिड्नेछ ।
५६ वर्षीय अक्षय कुमारको ‘बडे मियाँ छोटे मियाँ’ बाहेक अन्य तीन फिल्म रिलिज हुनेछन् जसमा ‘सिंघम अगेन’ अगस्ट १५ मा, ‘स्काई फोर्स’ अक्टोबर २ र ‘वेलकम टु द जङ्गल’ डिसेम्बर २० मा रिलिज हुनेछ ।
योसँगै अजय देवगन एकमात्र बलिउड स्टार हुन् जसका ६ फिल्म यस वर्ष रिलिज हुनेछन् । जसमध्ये ‘शैतान’ रिलिज भइसकेको छ भने अब ‘मैदान’ चैत १० गते रिलिज हुँदैछ । यसबाहेक अजय ‘सिंघम अगेन’, ‘रेड २’, ‘अरों मे कहाँ दम था’ र ‘गोलमाल ५’ जस्ता फिल्ममा देखिनेछन् ।न्युज कारखाना
मुम्बइ, १९ चैत ।
शाहरुख खानको पठान २ को बारेमा हरेक दिन नयाँ अपडेटहरू आइरहेका छन्।
हालै आदित्य चोपडाले सिद्धार्थ आनन्दलाई ‘पठान २’ निर्देशन गर्न नचाहेको खबर आएको थियो । त्यसैले उनीहरु नयाँ निर्देशकको खोजीमा छन् । अब ‘पठान २’ लाई साउथका ठूला निर्देशकले निर्देशन गर्न सक्ने खबर आइरहेको छ ।
पिपिङमुनको रिपोर्टका अनुसार आदित्य चोपडा स्पाइ युनिभर्सको कुनै पनि फिल्ममा दोहोरिएको हेर्न चाहँदैनन् । ‘जासूस ब्रह्माण्ड’ अन्तर्गत बनेका हरेक फिल्ममा ताजापन हुनुपर्छ भन्ने उनको चाहना छ । शट, एक्शन वा निर्देशनमा कुनै पनि दोहोर्याउनु हुँदैन। त्यसैले उनी ‘पठान २’ सिद्धार्थ आनन्दलाई हस्तान्तरण गर्न चाहँदैनन् । यही कारण उनी नयाँ निर्देशकको दृष्टिकोणबाट ‘पठान’लाई दर्शक सामु प्रस्तुत गर्न चाहन्छन् ।
यो खबर फैलिएदेखि नै सामाजिक सञ्जालमा मानिसहरुले अड्कलबाजी गर्न थालेका छन् । ‘पठान २’ साउथका कुन ठूला निर्देशकको हातमा जानेछ भन्ने मानिसहरु आ–आफ्नै तरिकाले अनुमान गरिरहेका छन् । यीमध्ये पहिलो नाम ‘जवान’का डाइरेक्टर एट्लीको हो ।
एट्लीको फिल्म ‘जवान’ले गत वर्ष राम्रो व्यापार गरेको थियो । यसले विश्वभरबाट ११०० करोड भन्दा बढी कमाएको छ। यस्तो अवस्थामा धेरै ठूला प्रोडक्सन हाउस एट्लीसँग काम गर्न चाहन्छन् । यशराज फिल्म्सले पनि ‘पठान २’ को लागि एट्लीलाई फाइनल गरेमा अचम्म मानिने छैन । त्यसपछि ‘जवान’ जस्तै शाहरुख र एट्लीको जोडीले ‘पठान २’ मा पनि चमत्कार गर्न सक्छ।
एट्ली बाहेक सबैभन्दा चर्चामा रहेको नाम लोकेश कनागराजको हो । ‘विक्रम’, ‘लियो’ र ‘कैथी’ जस्ता अमेजिङ लार्जर देन लाइफ फिल्म बनाएका लोकेशले ‘पठान २’ पनि निर्देशन गर्न सक्नेछन् । साउथ फिल्ममा जसरी बलियो एक्सन र सिक्वेन्स बनाइन्छ, मेकर्स ‘ पठान २’ मा पनि त्यस्तै होस् भन्ने चाहन्छन् । तर, अहिले लोकेश कनागराज रजनीकान्तसँग आफ्नो फिल्ममा काम गरिरहेका छन् । यस्तो अवस्थामा उनले ‘पठान २’ जस्तो ठूलो प्रोजेक्ट लिने कि नलिने भन्ने चर्चा छ ।
यिनीहरु बाहेक ‘असुरन’ निर्माता वेत्रीमारन, निर्देशक एस. शंकर र विष्णुवर्धनको नाम पनि सुझाइएको छ । तर विष्णुवर्धनको नाम यससँग जोड्न सकिँदैन किनभने अहिले उनी सलमान खान र करण जोहरको अर्को फिल्म ‘द बुल’ मा काम गरिरहेका छन् । यस्तो अवस्थामा आदित्य चोपडा ‘पठान २’ को लागि कसलाई फाइनल गर्छन् भन्ने जान्न रोचक हुनेछ ।
सिद्धार्थ आनन्दले ‘पठान २’ निर्देशन नगर्ने भए पनि उनी शाहरुखसँग सहकार्य भने गर्नेछन । शाहरुख खानकी छोरी सुहाना खान सिद्धार्थको प्रोडक्सन हाउसको अर्को फिल्म ‘किंग’ बाट बलिउडमा डेब्यु गर्दैछिन् । जसमा शाहरुख खानको पनि भूमिका रहनेछ । यो फिल्मलाई सुजोय घोषले निर्देशन गर्नेछन् । यो फिल्म अर्को महिनादेखि फ्लोरमा जानेछ ।न्युज कारखाना
मुम्बइ, १९ चैत ।
राजकुमार राव र नुसरत भरुचा स्टारर फिल्म ‘एलएसडी’ ले नयाँ पुस्ताका लागि प्रेमको परिभाषा देखाएको छ ।
चलचित्र मन परेको भए पनि यसको निकै आलोचना पनि भयो । अहिले चर्चा फिल्म ‘एलएसडी २’ को दोस्रो पार्टको छ, जसको टिजर अब केही घण्टामा रिलिज हुँदैछ ।
‘एलएसडी २’ को स्टार कास्टिङका लागि हालसम्म केही नाम अगाडि आएका छन् । फिल्मको मुख्य अभिनेत्रीको रुपमा उर्फी जावेदको नाम आइरहेको थियो तर आधिकारिक रूपमा अझै जानकारी दिइएको छैन ।
यसैबीच फिल्मको टिजर सोमबार अर्थात अप्रिल १ गते रिलिज हुँदैछ । यसै अवसरमा निर्देशक दिवाकर बनर्जीले टिजर रिलिज हुनुअघि एक ‘डिस्क्लेमर’ जारी गरेका छन् ।
दिवाकर बनर्जी निर्देशित ‘एलएसडी २’ मा निर्माण पक्षले संवेदनशील र चकित पार्ने सामग्री ल्याउने तयारी गरेको छ । आजको डिजिटल युगमा व्यक्तिगत समस्यालाई ध्यानमा राखेर सोच्नुपर्छ किनभने यो फिल्म विशेष गरी यो पुस्ताका युवाहरुलाई लक्षित गरी बनाइएको हो ।
फिल्मले केही सत्यतामा प्रकाश पार्नेछ जुन कसैलाई सजिलै पचाउन गाह्रो हुनेछ। उनले कसैलाई चासो नभएकोले हेर्न नहुने पनि स्पष्ट पारेका छन् । ‘एलएसडी’ बनाउन र सत्य देखाउन सम्भव छैन । ‘एलएसडी’ २मा पनि त्यस्तै हुनेछ।
दिवाकर बनर्जीले भनेका छन्, ‘हामी वरपर जे भइरहेको छ, त्यो देखाउँदैछौँ । चलचित्रमा वयस्क सामग्री रहेको छ । उनले यो चलचित्र साथीभाइसँग वा गर्लफ्रेण्ड–ब्वायफ्रेन्डसँग हेर्न सकिने तर परिवारसँग हेर्ने नसकिने बताए । तपाईलाई बताउन दिनुहोस् कि ‘एलएसडी २’ एकता कपुरले निर्माण गरेको चलचित्र हो। चलचित्र १९ अप्रिलमा हलमा रिलिज हुँदैछ ।न्युज कारखाना
मुम्बइ, १९ चैत ।
आर माधवन र अजय देवगनको फिल्म शैतान मार्च ८ मा रिलिज भएको थियो । यो फिल्मले बक्स अफिसमा अझै पनि धुम मच्चाइरहेको छ । फिल्मले ३१ मार्चसम्म १३८.७७ करोड कमाएको छ ।
अब ओटीटीमा यो फिल्मको फ्यानहरू उत्सुकताका साथ पर्खिरहेका छन्। यस्तो अवस्थामा अब अजय देवगन र आर माधवनका फ्यानका लागि खुसीको खबर आएको छ । चलचित्रको ओटीटी रिलिज मिति सार्वजनिक भएको छ ।
सिनेमा हलमा रिलिज भएको करिब दुई महिनापछि निर्माताले ओटीटी प्लेटफर्ममा पनि फिल्म रिलिज गर्ने गरेको प्रायः देखिन्छ । यस्तो अवस्थामा सैतानको कुरा गर्ने हो भने मे महिनामा दुई महिना पूरा हुनेछ । यसैबीच, फ्री प्रेस जर्नलको रिपोर्ट अनुसार शैतान मे ३ मा ओटीटी प्लेटफर्ममा रिलिज हुँदैछ। अब ुशैतान ओटीटीमा आतंक मच्चाउन तयार छ।
हालै यो फिल्मको डिजिटल अधिकार नेटफ्लिक्ससँग रहेको खबर आएको थियो तर यसको आधिकारिक घोषणा भने भएको छैन । यस्तो अवस्थामा फिल्म निर्माताले कहिले घोषणा गर्ने हो ? त्यो हेर्न बाँकी छ ।
गुजराती फिल्म ‘वाश’ सन् २०२३ मा रिलिज भएको थियो, जसको हिन्दी रिमेक ‘शैतान’ हो । यो चलचित्रलाई निर्देशक विकास बहलले निर्माण गरेका हुन् । फ्यानहरुले यसको धेरै तारिफ गरिरहेका छन् ।
फिल्मको कथाको कुरा गर्ने हो भने चलचित्रमा अभिनेत्री ज्योतिका अजय देवगनकी श्रीमतीको भूमिकामा छिन् । जहाँ आर माधवन खलनायकको भूमिकामा छन् । फिल्मको कथा एउटा परिवारको वरिपरि घुमेको छ, जसलाई एक व्यक्तिले आफ्नो अलौकिक शक्तिले बन्धक बनाएको छ । फिल्मले अहिलेसम्म १३८.७७ करोडको व्यापार गरिसकेको छ । न्युज कारखाना
मुम्बई, १९ चैत ।
पिंक, विक्की डोनर र पिकु जस्ता फिल्म निर्माता सुजित सरकारको एउटा फिल्म भने डेढ दशकदेखि अलपत्र परेको छ ।
अमिताभ बच्चन अभिनित यस फिल्मको नाम ‘शुबाइट’ हो । यो पूर्ण रूपमा सन् २०१२ मा निर्माण भएको थियो। तर आपसी मतभेदका कारण फिल्म रिलिज हुन भने अझै सकेको छैन् । अहिले भर्खरै सुजितले ‘शुवाइट’को बारेमा मात्रै बोलेका छैनन्, त्यो फिल्ममा अमिताभको अभिनयलाई पनि उत्कृष्ट भनेर प्रतिक्रिया दिएका छन् ।
सुजित सरकारका अनुसार अमिताभले आफ्ना सबै फिल्ममा काम गरेका छन् । जसमध्ये उनको मनपर्ने ‘शुबाइट’ हो । बक्स अफिस वर्ल्डवाइडको रिपोर्ट अनुसार सुजितले फिल्मको बारेमा कुरा गर्दै भने, ‘शुबाइट मेरो मुटुको धेरै नजिक छ। यो मेरो र अमिताभको पहिलो सँगै फिल्म हो। म तपाईंलाई देखाउन चाहन्छु कि अमिताभ बच्चनले आफ्नो मन र आत्मालाई त्यो क्यारेक्टरमा कसरी राखेका छन्। यो बिल्कुल ओभरड्रामेटिक पनि होइन। अभिव्यक्ति, शान्तता र समझ शक्ति। अमिताभ बच्चन उनको डायलग डेलिभरीको लागि परिचित छन्। तर ‘शुबाइट’ मा उनी बोलेको देखिने छैन। यो केवल शुद्ध भावनाहरू मात्रै प्रकट भएको देखिनेछ ।’
सुजितलाई थप प्रश्न गरियो कि मतभेद सुल्झिएको छ ? के यो फिल्म कुनै पनि ओटीटी प्लेटफर्ममा देखिने छ ? यसबारे सुजितले भने, ‘हामी चीजहरू समाधान गर्न कडा प्रयास गरिरहेका छौं तर यो धेरै गाह्रो पनि छ। यद्दपी, मलाई आशा छ कि यो समाधान हुन्छ र हामी फिल्म रिलिज गर्न सक्छौं ।’
एक स्रोतलाई उद्धृत गर्दै रिपोर्टमा फिल्मको अधिकार डिज्नी र फक्ससँग रहेको लेखिएको छ । यो फिल्म हलमा रिलिज हुने कि ओटीटीमा रिलिज गर्ने भन्ने निर्णय निर्माताले गर्नुपर्ने हुन जान्छ ।
शुबाइट रोनी स्क्रूवालाको कम्पनी युटिभी मोशन पिक्चर्स द्वारा सुरु गरिएको थियो। फिल्मको सह निर्माता तब २०औं सेंचुरी फॉक्स थियो। जसका लागि चर्चित हलिउड फिल्म निर्माता निर्देशक मनोज नाइट शम्लानले यो कथा लेखेका थिए । खासमा उनले युटिभीलाई फिल्म बनाउन अनुमति दिए तर पछि उनले आफैं अंग्रेजीमा बनाउने निर्णय गरे र उनी आफ्नो अंग्रेजी फिल्म पहिले रिलिज हुने र त्यसपछि मात्रै त्यही कथामा हिन्दी फिल्म रिलिज हुने कुरामा अडिग रहे पछि त्यसयता यो फिल्म अलपत्र रहेको छ, रिलिज हुन सकेकाे छैन् ।
‘शुबाइट’ को कथा जोन परेरा (जोनी मस्ताना) नाम गरेका व्यक्तिको बारेमा बताइएको छ, जो आफ्नो ५० को दशकमा छन्। यो शान्त मानिस घर छोडेर काँधमा झोला लिएर पैदल हिड्दै छ। भारतमा एक ठाउँबाट अर्को ठाउँमा। उसले कतै पुग्नुपर्छ । उसले खोजेको कुराको पछाडि प्रेम कथा छ। उनी र उनकी श्रीमतीको। यो यात्रामा उनले आफूलाई पनि भेट्छन् र एक किसिमको प्रायश्चित पनि गर्छन् ।’ शुबाइट’ मा अमिताभसँगै सारिका, दिया मिर्जा, जिम्मी शेरगिल र नवाजुद्दीन सिद्दीकी पनि मुख्य भूमिकामा छन् ।
सुजित सरकारद्वारा निर्मित फिल्म ‘वो भी दिन थे’ मार्च २९ मा रिलिज भएको थियो। यो फिल्म पनि करिब एक दशकदेखि रोकिएको थियो। फिल्मको वास्तविक नाम ‘बनाना’ थियो । तर पछि यसको नाम परिवर्तन भयो। ‘वो भी दिन थे’ ओटीटी प्लेटफर्म जी ५ मा रिलिज भएको छ। यस फिल्ममा रोहित सराफ, आदर्श गौरव र सञ्जना सांघी मुख्य भूमिकामा छन् । फिल्मका निर्देशक साजिद अली हुन् । न्युज कारखाना
काठमाडौँ ।
दिनेश राउतको निर्देशनमा तयार भएको फिल्म ‘पूजार सार्की’ मा पल शाहको नयाँ लुक्स सार्बजनिक भएको छ । शनिबार पलको लुक्स सार्वजनिक गरिएको हो ।
सार्बजनिक लुक्समा पल काँधमा बन्दुक भिरेर खोलाको बगरमा हिँडिरहेको देखाइएको छ । भादगाउँले टोपी लगाएका पलले कोट, सर्ट र पाइन्ट लगाएका छन् । यो लुक्स हेर्दा फिल्ममा पलको नकारात्मक भूमिका रहेको संकेत गर्छ ।
फिल्ममा पहिलोपटक तीन अभिनेताहरु आर्यन सिग्देल, प्रदीप खड्का र पल शाह एकसाथ देखिँदैछन् । छायांकनकै क्रममा आर्यन र प्रदीपको क्यारेक्टर लुक्स सार्वजनिक भइसकेको छ ।
संगीतकार सुवास भुसालको निर्माण रहेको फिल्ममा राजेश श्रेष्ठको छायांकन छ । जातीय विभेदविरुद्धको कथामा आधारित भएर फिल्म बनाइएको छ । न्युज कारखाना
काठमाडौं, १६ चैत ।
नेपाली फिल्म महाजात्राले पहिलो सातामा ६ करोड २४ लाख कमाएको छ ।
चैत ९ गतेदेखि प्रदर्शनरत फिल्म महाजात्राले नेपालसँगै विदेशमा समेत भव्य व्यापार गरिरहेको छ ।
नेपालमा भने पहिलो सातामा नै ६ करोड २४ लाखको ग्रस कलेक्सन गरेको निर्देशक प्रदिप भट्टराइले जानकारी दिए ।
सो फिल्ममा हरिबंश आचार्य, विपिन कार्की, बर्षा राउत, रवीन्द्रसिंह बानियाँ, रविन्द्र झालगायतले अभिनय गरेका छन ।
सो फिल्म बानियाँसहित म्याक्स दीपेश खत्रीसहितको षट्कोण आर्ट्सले निर्माण गरेको हो ।
न्युज कारखाना
काठमाडौँ ।
यसै वर्षको अन्त्यतिर मेक्सिकोमा हुने मिस युनिभर्स प्रतियोगितामा साउदी अरेबिया पहिलो पटक सहभागी हुने भएको छ । साउदी अरेबियाको प्रतिनिधित्व २७ वर्षीय मोडल रुमी अलखतानीले गर्नेछिन् ।
रुमीले यसअघि मिस साउदी अरेबिया, मिस मिडल इस्ट, मिस अरब वर्ल्ड पिस र मिस वुमन (साउदी अरेबिया) जस्ता सौन्दर्य प्रतियोगिता जितिसकेकी छन् । रुमीले सामाजिक सञ्जाल पोस्ट गर्दै मिस युनिभर्सिटीमा आफ्नो सहभागिताको घोषणा गरेकी हुन् ।
‘द न्यु अरब’ न्युजका अनुसार मिस वर्ल्डमा स्विमवेयरको इभेन्ट हुन्छ तर मिस युनिभर्समा यो कार्यक्रम हुँदैन ।
रुमी साउदी अरबको राजधानी रियादकी बासिन्दा हुन् । मोडल हुनुका साथै उनी सामाजिक सञ्जाल सेलिब्रेटी पनि हुन् । इन्स्टाग्राममा उनका १० लाखभन्दा बढी फलोअर्स छन् । हालै उनले मिस एसियन प्रतियोगिता जितेकी थिइन् । ‘एमिरेट्स वुमन’ म्यागजिनको रिपोर्टका अनुसार रुमी आफैंले सामाजिक सञ्जालमा मिस युनिभर्समा सहभागी भएको बताएकी छन् । यससँगै उनले आफ्नो पछिल्लो तस्विर पनि सेयर गरेकी छन् । उनको नजिकै साउदी अरबको राष्ट्रिय झण्डा पनि देखिन्छ ।
क्याप्सनमा रुमीले लेखेका छन्– ‘मिस युनिभर्सिटी २०२४ मा सहभागी हुन जानु मेरो लागि गर्वको कुरा हो । मिस युनिभर्स प्रतियोगितामा भाग लिने पहिलो साउदी महिला हुन पाउँदा खुसी लागेको छ ।’
मिस युनिभर्स सौन्दर्य प्रतियोगिता पहिलो पटक सन् १९५२ मा भएको थियो । सौन्दर्य प्रतियोगितामा लेबनान, बहराइन जस्ता अरब देशका युवतीहरु सहभागी हुँदै आएका छन् । तर, साउदी अरेबियाबाट भने पहिलो पटक सहभागिता हुन लागेको छ ।
मिस युनिभर्स प्रतियोगितामा पौडी खेल्ने पहिरन लगाउन आवश्यक पर्दैन भने मिस युनिभर्समा परम्परागत पहिरन कार्यक्रम पनि हुन्छ । न्युज कारखाना