२०८३ आश्विन २०
२०८३ आश्विन २०

 

बज्जिकाञ्चल संवाददाता,रौतहट,चैत २५ गते ।

रौतहट जिल्लाको माधव नारायण नगरपालिका–५ मिठुअवास्थित श्री राधा कृष्ण माध्यमिक विद्यालयमा ६ कोठे नयाँ भवन निर्माण कार्य सम्पन्न भएको छ । उक्त भवन च्वाईस नेपालको आर्थिक सहयोगमा निर्माण गरिएको हो । निर्माण सम्पन्न भवनको नगर प्रमुख बैजनाथ प्रसाद यादव, प्रमुख प्रशासकीय अधिकृत नगेन्द्र प्रसाद यादव तथा संस्थाका प्रमुख प्रदिक शर्मा लगायतको उपस्थितिमा एक कार्यक्रमबीच औपचारिक रूपमा उद्घाटन तथा विद्यालयलाई हस्तान्तरण गरिएको छ ।

यसैबीच, सोही वडामा अत्याधुनिक सुविधा सम्पन्न ८ कोठे दुई तले बर्थिङ सेन्टर भवन निर्माणका लागि पनि आजै शिलान्यास गरिएको छ। स्थानीय स्वास्थ्य सेवामा सुधार ल्याउने उद्देश्यसहित उक्त भवन निर्माण गर्न लागिएको जनाइएको छ । स्थानीय तह र सहकार्य संस्थाहरूको संयुक्त पहलमा भइरहेको यस्ता पूर्वाधार विकासका कामले शिक्षा तथा स्वास्थ्य क्षेत्रमा सकारात्मक प्रभाव पार्ने विश्वास लिइएको छ । साथै, समुदायको समग्र विकासका लागि यस्ता कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर अघि बढाइने जनाइएको छ ।

बज्जिकाञ्चल संवाददाता,रौतहट,चैत २५ गते ।

रौतहट मौलापुर नगरपालिकाकी नगरप्रमुख रीना कुमारी साह ‘नेपालका ५० प्रभावशाली महिला २०८२’ को सूचीमा पहिलो स्थान हासिल गरेपछि उनलाई आज बिरगंजमा विशेष समारोहबीच सम्मान गरिएको छ । ओम पार्टी प्यालेसमा आयोजित उक्त कार्यक्रममा विभिन्न क्षेत्रका व्यक्तित्वहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।

कार्यक्रममा वक्ताहरूले मेयर साहले महिला सशक्तिकरण, पारदर्शिता र सुशासन प्रवद्र्धनमा पु¥याएको योगदानको उच्च प्रशंसा गर्दै मौलापुरलाई विकासको नमुना नगरका रूपमा स्थापित गर्न खेलेको भूमिकालाई सराहना गरे । सम्मान कार्यक्रममा सहभागीहरूले उनको नेतृत्व, दूरदर्शिता र समर्पणले स्थानीय तहमा सकारात्मक परिवर्तन सम्भव भएको उल्लेख गर्दै आगामी दिनमा पनि यस्तै उदाहरणीय कार्यको अपेक्षा व्यक्त गरेका छन् ।

 

बज्जिकाञ्चल संवाददाता,रौतहट,चैत २५ ।

रौतहट जिल्लाको कटहरिया नगरपालिका स्वास्थ्य शाखाको आयोजनामा आज कटहरिया नपा ३ बिर्तीप्रष्टोका स्वास्थ्य चौकीमा पाठेघरको क्यान्सर पहिचानसम्बन्धी विशेष शिविर सञ्चालन गरिएको छ । एचपीभी डीएनए विधिमार्फत गरिएको उक्त स्क्रिनिङ कार्यक्रममा ३० देखि ४९ वर्ष उमेर समूहका महिलाहरूको सक्रिय सहभागिता देखिएको थियो । शिविरमा कुल १५२ जना महिलाले सेवा लिएको स्वास्थ्य शाखाले जनाएको छ ।

महिलाहरूमा पाठेघरको क्यान्सर समयमै पहिचान गरी जोखिम न्यूनीकरण गर्ने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रमले स्थानीय स्तरमा स्वास्थ्य सचेतना अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पु¥याएको विश्वास लिइएको छ । साथै, यस्ता जनस्वास्थ्य केन्द्रित कार्यक्रमहरू आगामी दिनमा पनि निरन्तर सञ्चालन गरिने जनाइएको छ ।

प्रदिप दास,रौतहट,२५ गते चैत ।

रौतहट । जिल्ला प्रशासन कार्यालय रौतहटमा पछिल्लो समय सेवाग्राहीको अत्यधिक चाप बढेपछि सेवा प्रवाहलाई प्रभावकारी बनाउन प्रमुख जिल्ला अधिकारी (प्रजिअ) दिनेश सागर भुसाल स्वयं सक्रिय रुपमा फाँटमै खटिएका छन् । नागरिकता, राहदानी, सिफारिस लगायत अत्यावश्यक प्रशासनिक सेवा लिन आउने सेवाग्राहीको संख्या उल्लेख्य रूपमा बढेपछि कार्यालयमा भीड व्यवस्थापन र सेवा छिटोछरितो बनाउने उद्देश्यले प्रजिअ भुसाल प्रत्यक्ष रुपमा सेवामा सहभागी भएका हुन् ।

कार्यालय परिसरमा बिहानैदेखि लामो लाइन लाग्ने अवस्था देखिएपछि सेवाग्राहीलाई अनावश्यक झन्झट नहोस् भन्ने हेतुले प्रजिअ भुसालले आफैं कागजात जाँच गर्ने, आवश्यक निर्देशन दिने तथा कर्मचारीलाई समन्वय गर्दै सेवा प्रवाहलाई व्यवस्थित बनाउने काम गरिरहेका छन् । उनको यस सक्रियताले सेवाग्राहीमा सकारात्मक सन्देश गएको छ ।

आरके श्रीवास्तव,मधेस,२४ गते चैत । 

जनकपुरधाम । महोत्तरी जिल्लाको एकडारा गाउँपालिका वडा नं. ५ अन्तर्गत जलेश्वर–बर्दिवास हुलाकी सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा परी ३ जना युवा विद्यार्थीको ज्यान गएको दुःखद घटना सार्वजनिक भएको छ। एसईई परीक्षा दिएर घर फर्किंदै गरेका ती विद्यार्थीहरूको असामयिक निधनले स्थानीय समुदाय मात्र होइन, समग्र समाजलाई नै स्तब्ध बनाएको छ ।

उक्त दुर्घटनामा अन्य ३ जना विद्यार्थी गम्भीर घाइते भएको बताइएको छ। घाइतेहरूको उपचार भइरहेको छ र उनीहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरिएको छ ।

यस घटनाप्रति मधेश प्रदेश सरकारकी शिक्षा तथा संस्कृति मन्त्री तिवारीले गहिरो दुःख व्यक्त गर्दै दिवंगत आत्माहरूको चिरशान्तिको कामना गरेकी छन् । साथै उनले शोकसन्तप्त परिवारजनप्रति हार्दिक समवेदना प्रकट गर्दै यस पीडादायी क्षण सहन सक्ने शक्ति प्रदान गरियोस् भनी ईश्वरसँग प्रार्थना गरेकी छन् ।

मन्त्री तिवारीले सवारी साधन चलाउँदा अत्यधिक सावधानी अपनाउन, ट्राफिक नियमहरूको पूर्ण पालना गर्न तथा तीव्र गति नियन्त्रणमा राख्न सबै नागरिकलाई आग्रह गरेकी छन् । यस्ता दुर्घटना न्यूनीकरणका लागि सबै पक्ष जिम्मेवार र सचेत हुनुपर्नेमा उनले जोड दिएकी छन् ।

आरके श्रीवास्तव,रौतहट,२२ गते चैत ।
रौतहटको फतुवा विजयपुर नगरपालिकाकी कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले नगरभित्र रहेका विभिन्न स्वास्थ्य चौकीहरूमा छड्के अनुगमन गरेकी छन् । अनुगमनका क्रममा स्वास्थ्य सेवा प्रवाहमा देखिएको ढिलासुस्ती र कर्मचारीको लापरवाहीप्रति उनले कडा असन्तुष्टि जनाएकी छन् ।

अनुगमन टोलीसहित खातुन स्वास्थ्य चौकी विजयपुर लक्ष्मीनिया र स्वास्थ्य चौकी सन्तपुर पुगेकी थिइन् । लक्ष्मीनिया स्वास्थ्य चौकीमा पुग्दा इन्चार्ज बिरेन्द्र झा निर्धारित समयभन्दा ढिलो, करिब १२ बजे मात्र कार्यालय पुगेका थिए । अनुगमन टोली पुग्दा उनी कार्यालयमा अनुपस्थित रहेको पाइएको थियो ।

स्थानीय सेवाग्राहीहरूले चिकित्सकको ढिलासुस्तीका कारण आफूहरू मर्कामा परेको गुनासो गरेका छन् । बर्थिङ सेन्टरसमेत रहेको उक्त स्वास्थ्य संस्थामा बिहान १० बजेदेखि लाइनमा बसेका सेवाग्राहीहरूले घण्टौंसम्म कुर्नुपरेको बताएका छन् ।

अनुगमनका क्रममा बिना जानकारी कार्यालयमा अनुपस्थित हुने तथा समयअगावै कार्यालय छाड्ने कर्मचारीहरूको हाजिरी पुस्तिकामा रातो मसी लगाइएको कार्यवाहक नगरप्रमुख खातुनले जानकारी दिइन् । उनले नियमित र प्रभावकारी सेवा प्रवाह सुनिश्चित गर्न यस्तो कदम चालिएको स्पष्ट पारिन् ।

त्यस्तै, स्वास्थ्य चौकी सन्तपुरमा गरिएको अनुगमनमा पनि कर्मचारीहरू ढिलो गरी उपस्थित भएको पाइएको थियो। कार्यवाहक नगरप्रमुख खातुनले सबै कर्मचारीलाई कार्यालय समयको कडाइका साथ पालना गर्न अन्तिम चेतावनी दिँदै केही कर्मचारीको हाजिरी समेत काटिएको बताइन् ।

नगरप्रमुख खातुनले स्वास्थ्य संस्थामा अनुशासन कायम गरी सेवाग्राहीलाई सहज र गुणस्तरीय सेवा उपलब्ध गराउन यस्ता अनुगमनलाई निरन्तरता दिने बताएकी छन् ।

आरके श्रीवास्तव,बारा, चैत २३ ।
बारा जिल्लाको बारागढी गाउँपालिकामा आर्थिक वर्ष २०८२/०८३ को हिउँदे गाउँ सभा सम्पन्न भएको छ। गाउँ कार्यपालिकाको कार्यालय खोपवाको आयोजनामा सोमबार गाउँ कार्यपालिकाको सभा हलमा कार्यक्रम आयोजना गरिएको हो।


गाउँपालिका अध्यक्ष अशोक कुमार जयसवाल र उपाध्यक्ष लक्ष्मी देवी रायले संयुक्त रूपमा सभाको उद्घाटन गरेका थिए। कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत मुकेश कुमार मिश्रले स्वागत मन्तव्य व्यक्त गर्दै आगामी आर्थिक वर्षमा प्रशासनिक कार्यदेखि विकास निर्माणका गतिविधिसम्म प्रभावकारी रूपमा अघि बढाउने विश्वास व्यक्त गरे।
सभालाई सम्बोधन गर्दै अध्यक्ष जयसवालले आफ्नो चार वर्षे कार्यकालमा पालिकावासीका अपेक्षाअनुसार अधिकांश योजनाहरू सफलतापूर्वक कार्यान्वयन गरिएको दाबी गरे। उनले बारा जिल्लाका १६ वटा पालिकामध्ये विकास निर्माण र सेवा प्रवाहका दृष्टिले बारागढी गाउँपालिका अग्रस्थानमा रहेको उल्लेख गरे।
अध्यक्ष जयसवालले आगामी आर्थिक वर्षमा नयाँ योजना ल्याउनेभन्दा पनि पुराना तथा अधुरा योजनाहरूलाई प्राथमिकतामा राखी सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे।
कार्यक्रममा जनप्रतिनिधि, कर्मचारी तथा सरोकारवालाहरूको उल्लेख्य सहभागिता रहेको थियो। गाउँ सभाबाट आगामी योजनाहरूको प्रभावकारी कार्यान्वयन र सेवा प्रवाहलाई अझ सुदृढ बनाउने अपेक्षा गरिएको छ ।

बज्जिकाञ्चल संवाददाता,२१ गते चैत । 

जनकपुरधाम । रौतहटको फतुवा विजयपुरमा कार्यरत कर्मचारी संजीव साह मधेस प्रदेश उद्यम विकास सहजकर्ता संघको अध्यक्ष पदमा सर्वसम्मत रूपमा चयन भएका छन् । जनकपुरधाममा आयोजित एक कार्यक्रममा उनलाई उक्त जिम्मेवारी प्रदान गरिएको हो ।

मधेस प्रदेशका १३६ पालिकामा कार्यरत उद्यम विकास सहजकर्ता तथा उद्यमशीलता विज्ञहरूको भेलाबाट साहलाई अध्यक्षमा चयन गरिएको हो । संघको उपाध्यक्षमा सरिता चौधरी, महासचिवमा शोभा केवट मण्डल, सचिवमा अजय कुमार साह र कोषाध्यक्षमा निर्मला चौधरी चयन भएका छन् । त्यसैगरी सदस्यहरूमा रामईश्वर रामलगायत रहेका छन् ।

भेलाबाट पाँच सदस्यीय सल्लाहकार समिति पनि गठन गरिएको छ । समितिमा श्याम कुमार विक, पंचा पण्डित, राजेश चौहान, निर्मला चौधरी र निलम यादव सदस्य रहेका छन् ।

कार्यक्रमका प्रमुख अतिथि मधेस प्रदेश सरकारका उद्योग, वाणिज्य तथा पर्यटन मन्त्री कनिष पटेल रहेका थिए । कार्यक्रममा सम्बोधन गर्दै मन्त्री पटेलले देशमा रोजगारी सिर्जनाको आवश्यकता औंल्याउँदै लघु उद्यमशीलता विकासलाई आगामी बजेट तर्जुमामा समावेश गर्न पहल गर्ने प्रतिबद्धता व्यक्त गरे ।

कार्यक्रममा सहभागीहरूले प्रदेशभर उद्यमशीलता प्रवर्द्धन तथा लघु उद्यम विकासमा सहकार्य गर्दै अघि बढ्ने प्रतिबद्धता समेत जनाएका थिए ।

चन्दन कुमार महताे,गाैर,२१ गते चैत । 

जिल्ला कुखुरा व्यवसायी किसान संघ, रौतहट को आयोजनामा पहिलो साधारण सभा सम्पन्न भएको छ । उक्त कार्यक्रम रौतहट अन्तर्गत दुर्गा भगवती गाउँपालिकाको सामुदायिक भवनमा शनिबार आयोजना गरिएको थियो ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा भेटनरी अस्पताल तथा पशु सेवा विभाग गौरका कार्यालय प्रमुख ईन्दु राय यादव, जिल्ला प्रशासन कार्यालयका अधिकृत प्रमेश शिवा, रामनरेश साह ,राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) जिल्ला अध्यक्ष प्रदिप साह लगायतको उपस्थिति रहेको थियो । साथै, संघका पदाधिकारीहरू, विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरू, किसान तथा व्यवसायीहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रमको सञ्चालन राधेश्याम साहले गरेका थिए ।

सभामा कुखुरा व्यवसायसँग सम्बन्धित समस्या, बजार व्यवस्थापन, रोग नियन्त्रण तथा व्यवसाय प्रवर्द्धनका विषयमा व्यापक छलफल गरिएको थियो । सहभागीहरूले किसानको हकहित संरक्षण तथा उत्पादन वृद्धि गर्न समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्नेमा जोड दिएका थिए ।

कार्यक्रमको अध्यक्षता संघका अध्यक्ष उमाशंकर साहले गरेका थिए भने अन्य वक्ताहरूले पनि कुखुरा व्यवसायलाई थप व्यवस्थित र सुदृढ बनाउन आवश्यक पहलका विषयमा आ-आफ्ना धारणा व्यक्त गरेका थिए ।

साधारण सभाले आगामी कार्ययोजना तय गर्नुका साथै किसानको हितमा विभिन्न महत्वपूर्ण निर्णयहरू समेत पारित गरेको आयोजकले जनाएको छ ।

आरके श्रीवास्तव,राैतहट,२१ गते चैत । 

रौतहट जिल्लाको उत्तरी–पश्चिम भेगमा अवस्थित गुजरा नगरपालिकाले आफ्नो क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग गर्दै गृह मन्त्रालयलाई औपचारिक पत्राचार गरेको छ।
गुजरा नगरपालिका नगर कार्यपालिकाको कार्यालय, सिमराभवानीपुरले प्रहरी चौकी स्थापनाको आवश्यकता औंल्याउँदै नेपाल सरकार, गृह मन्त्रालय, सिंहदरबार, काठमाडौंलाई सिफारिससहित अनुरोध गरेको हो। नगर प्रमुख सन्तलाल प्रसाद चौधरीले हस्ताक्षर गरेको पत्रमा नगर क्षेत्रको शान्ति सुरक्षा सुदृढ गर्न प्रहरी चौकी अत्यावश्यक रहेको उल्लेख गरिएको छ।


नगरपालिकाका अनुसार गुजरा क्षेत्रको अधिकांश भूभाग सघन वन क्षेत्रले ढाकिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार वन क्षेत्र तथा वन्यजन्तुको संरक्षण र सम्वर्द्धन गर्ने जिम्मेवारी स्थानीय तहमा रहेको छ। यस्ता भौगोलिक अवस्थाका कारण यहाँ बसोबास गर्ने नागरिकको जीउ–धनको सुरक्षामा चुनौती देखिएको जनाइएको छ।
विशेषगरी वडा नं. २ अन्तर्गत पर्ने सघन वन क्षेत्रदेखि करिब १ किलोमिटर दक्षिणतर्फ रहेको कटानी बजारमा प्रहरी चौकी स्थापना गर्न उपयुक्त स्थान रहेको नगरपालिकाले प्रस्ताव गरेको छ।
नगरपालिकाले उक्त क्षेत्रमा प्रहरी चौकी स्थापना भएमा अपराध नियन्त्रण, वन संरक्षण तथा आम नागरिकको सुरक्षा व्यवस्थामा उल्लेखनीय सुधार हुने विश्वास व्यक्त गरेको छ।
यस सम्बन्धमा आवश्यक प्रक्रिया पूरा गरी शीघ्र प्रहरी चौकी स्थापना गरिदिन गृह मन्त्रालयसँग आग्रह गरिएको नगरपालिकाले जनाएको छ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।