आरके श्रीवास्तव,राैतहट,०६ गते साउन ।
रौतहटको गरुडा नगरपालिका–४ स्थित नापी कार्यालय नजिकै चेकजाँचको क्रममा प्रहरीले ठूलो परिमाणमा लागुऔषध जस्तो देखिने गाँजा बरामद गरेको छ । मङ्गलवार बिहान करीब ८:३० बजे चपुर–गौर सडकखण्डमा चेकजाँचको क्रममा एक कार भागेपछि प्रहरीले उक्त सवारी साधन झाझपुल नजिकै सडकको पश्चिम साइडमा खाल्टोमा करीब १० फिट तल फसेको अवस्थामा फेला पारेको थियो ।
चेकजाँच गर्दा ग ३ च ६८९६ नम्बरको रातो रङको कारको डिक्कीमा प्लास्टिकका १३ वटा पोका फेला परेका छन् । जसमा अन्दाजी १३३ केजी लागुऔषध गाँजा जस्तो देखिने पदार्थ लुकाइएको थियो । गाडी चालक भने घटनास्थलबाट फरार भएको र हालसम्म फेला नपरेको प्रहरीले जनाएको छ ।
बरामद गरिएको गाडी र लागुऔषध इलाका प्रहरी कार्यालय गरुडाको नियन्त्रणमा राखिएको छ । फरार चालकको पहिचान र खोजी कार्य तीव्र रूपमा भइरहेको ईप्रका गरूडाका डिएसपी राजन कार्कीले जानकारी दिनुभयो ।
प्रहरीले लागुऔषध कारोबार नियन्त्रण गर्ने उद्देश्यले सडकमा निगरानी र चेकजाँच कार्यलाई अझ सशक्त बनाइरहेको जनाएको छ।
आरके श्रीवास्तव, रौतहट, साउन ५ गते ।
रौतहटको फतुवा विजयपुर नगरपालिका–२ स्थित श्री माध्यमिक विद्यालय सितलपुरले पछिल्ला दिनहरूमा उल्लेखनीय सुधार हासिल गरेको छ। यस सफलतामा वडा अध्यक्ष अनिरुद्ध प्रसाद यादव (संजय) को नेतृत्वदायी भूमिका निर्णायक रहेको छ ।

शिक्षालाई प्राथमिकता दिने प्रतिबद्धतासहित अध्यक्ष यादवको सक्रिय पहलमा विद्यालयमा थुप्रै सुधारात्मक कार्यहरू सम्पन्न भएका छन्। स्थानीय स्रोतको अधिकतम उपयोग, वडा कार्यालय तथा नगरपालिकासँगको सहकार्यबाट विद्यालयमा शैक्षिक र भौतिक सुधार सम्भव भएको हो।

विद्यालयको आफ्नै आम्दानीबाट झण्डै ३ लाख रुपैयाँ खर्चेर विद्यालयकाे कम्पाउण्ड वाल निर्माण निर्माण भएको हाे । भने नगरपालिकाकाे सहयाेगमा मूल गेटमा रंगरोगन गरिएको छ । जसले विद्यालयलाई आकर्षक र सुरक्षित बनाएको छ ।

बालबालिकाको प्रारम्भिक शिक्षालाई प्रभावकारी बनाउन नगरपालिकाको सहयोगमा बाल विकास कक्षाकोठाको व्यवस्थापन पनि गरिएको छ । अन्य आवश्यक भौतिक सुधार कार्यहरू वडा कार्यालयको सक्रियतामा सम्पन्न भएका हुन् । स्तरीय साैचालय पनि निर्माण गरिएकाे छ ।

वडा अध्यक्ष यादवले भने, “समुदाय र जनप्रतिनिधिबीचको सहकार्यबाट मात्रै शिक्षा क्षेत्रमा दिगो सुधार सम्भव छ । विद्यालय सुधार हाम्रो साझा दायित्व हो र म यसको लागि सधैं अग्रसर रहन्छु।” उनले आगामी दिनमा विद्यालयमा थप पूर्वाधार विकासका योजनाहरू अघि बढाउने प्रतिबद्धता व्यक्त गरे ।

विद्यालयका प्रधानाध्यापक मुकेश यादवले पनि सकारात्मक परिवर्तन ल्याउन समर्पित भएर काम गरिरहेका छन्। उनको नेतृत्वमा शिक्षण सिकाइको गुणस्तर सुधारसँगै विद्यालयको समग्र वातावरणमा सुधार आएको छ ।

स्थानीय बासिन्दाहरूले विद्यालयमा भइरहेको सुधार कार्यप्रति सन्तोष व्यक्त गर्दै वडा अध्यक्ष यादवको नेतृत्वको खुलेर प्रशंसा गरेका छन् । उनीहरूका अनुसार यस्तो समन्वय र नेतृत्वले मात्रै शिक्षाको स्तरमा वास्तविक परिवर्तन सम्भव छ ।
राजेन्द्र महताे,सिराहा,५ गते साउन ।
प्रदेश टाइम्स राष्ट्रिय दैनिकका सम्पादक रामपुकार यादवमाथि भएको दुर्व्यवहार र ज्यान मार्ने धम्कीको घटनाले स्वतन्त्र पत्रकारिता र अभिव्यक्ति स्वतन्त्रतामाथि गम्भीर खतरा उत्पन्न गरेको छ ।
विष्णुपुर गाउँपालिकासँग सम्बन्धित समाचार लेखेको निहुँमा यादवलाई स्थानीयवासी सन्तोष यादव, पवन यादव र निर्माण व्यवसायी लालविहारी यादवले मादक पदार्थ सेवनको अवस्थामा गालीगलौज, दुर्व्यवहार तथा फोनमार्फत ज्यान मार्ने धम्की दिएको पीडित यादवले बताएका छन् ।

सम्पादक यादवले आफ्नो पत्रिकामा गाउँपालिकाबाट वितरण हुनुपर्ने चेकहरू अन्यत्रबाट बाँडिएको विषयमा समाचार प्रकाशित गरेका थिए। सोही विषयलाई लिएर योजनाबद्ध रूपमा पत्रकारमाथि दवाव र आक्रमण गरिएको हो भन्ने आरोप छ ।
नेपाल पत्रकार महासंघ, सिराहा शाखाले घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै दोषीहरूलाई अविलम्ब कानुनी कारबाहीको दायरामा ल्याउन सम्बन्धित निकायसँग माग गरेको छ । महासंघले विज्ञप्तिमार्फत यस्ता घटनाहरू पत्रकारिता क्षेत्रका लागि अपमानजनक र अस्वीकार्य भएको स्पष्ट गर्दै सम्पूर्ण सञ्चारकर्मीहरूलाई धैर्य, एकता र प्रेस स्वतन्त्रताका पक्षमा संगठित हुन आह्वान गरेको छ ।

महासंघले अभिव्यक्ति स्वतन्त्रता कुण्ठित गर्ने कुनै पनि गतिविधि सह्य नहुने चेतावनी समेत दिएको छ ।
आरके श्रीवास्तव,राैतहट,०५ गते साउन ।
रौतहटकाे कटहरिया नगरपालिका वडा नम्बर ५ मा सडक पक्कीकरण कार्य तीव्र गतिमा अगाडि बढाइएको छ । वडाध्यक्ष सर्फलाल गुप्ताको पहलमा गल्ली गल्लीका कच्ची सडकहरू अहिले ढलान भई व्यवस्थित बन्दै गएका छन् ।

वडाका विभिन्न टोलहरूमा ढलानको काम धमाधम भइरहेको छ । स्थानीयवासीहरू भन्छन्, “पहिला वर्षाैँसम्म हिलो र धुलोमा हिँड्नुपर्थ्याे, अहिले भने ढलान भएका सडकमा सजिलै हिँडडुल गर्न पाएका छाैं।”

वडाध्यक्ष गुप्ताले आफ्नो नेतृत्वमा ‘विकास र सुविधा जनताकाे घर आँगनमै’ भन्ने नारालाई सार्थक बनाउँदै आएको जनगुनासो छ । पहिलो कार्यकालमै वडाको आधारभूत पूर्वाधारमा व्यापक सुधार ल्याएपछि जनताले उनलाई दोस्रो कार्यकालका लागि पनि मौका दिएका थिए ।

“जनताले दिएको विश्वास र जिम्मेवारीप्रति म गम्भीर छु। वडामा हरेक टोलसम्म सडक, नाला, विजुली, खानेपानीजस्ता सेवाहरू पुर्याउन लागिपरेका छौं,” वडाध्यक्ष गुप्ताले बताए ।
हाल ढलान भएका सडकहरूलाई दिगो बनाउने र नियमित मर्मतकाे योजना पनि वडा कार्यालयले अघि सारेकाे छ । स्थानीय तह, प्रदेश सरकारकाे बजेट सदुपयोग गर्दै वडाध्यक्ष गुप्ताले कटहरिया–५ लाई विकासको नमुना वडा बनाउने दाबी गरेका छन् ।
राजिव राय,महोत्तरी,०४ गते साउन ।
नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री तथा लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का वरिष्ठ नेता माननीय शरतसिंह भण्डारी महोत्तरी जिल्लाको गौशाला नगरपालिका–११, कालिपुरमा अवस्थित ऐतिहासिक शनिदेव मन्दिरमा आयोजित भव्य कलशयात्रामा सहभागी हुनुभयो।

कार्यक्रमका अवसरमा मन्त्री भण्डारीले मन्दिरका पुजारी मोहन महतोबाट वैदिक विधिपूर्वक शनिदेवको पूजा अर्चना गरी आशीर्वाद ग्रहण गर्नुभयो।
उक्त कार्यक्रममा भूमि समस्या समाधान आयोग महोत्तरीका जिल्ला अध्यक्ष तथा लोसपा नेपालका केन्द्रीय सदस्य पिताम्वर महतो,केन्द्रीय सदस्य देव नारायण महतो, नगर अध्यक्ष उपेन्द्र महतो, नगर उपाध्यक्ष दिप नारायण राय पटेल, युवा नेता प्रमोद महतो गौशाला नगरपालिकाका वडा अध्यक्ष रामपृत महतो लगायत हजारौं श्रद्धालु भक्तजन र पार्टी कार्यकर्ताहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
कलशयात्रामा सहभागी महिलाहरू परम्परागत भेषभूषामा कलश बोकी आकर्षक झाँकीमा देखिन्थे भने युवाहरूको सांगीतिक टोलीले वातावरण झनै भक्ति र उल्लासमय बनाएको थियो। कार्यक्रममा धार्मिक, सांस्कृतिक तथा सामाजिक सद्भावको सन्देश समेत प्रवाह भएको जनाइएको छ।
बज्जिकाञ्चल संवाददाता,धनुषा,०४ गते साउन । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाल, धनुषा जिल्ला समितिको आयोजनामा जिल्ला स्तरीय कार्यकर्ता भेटघाट कार्यक्रम भव्य रूपमा सम्पन्न भएको छ ।
कार्यक्रमको अध्यक्षता लोसपा नेपाल धनुषा जिल्ला अध्यक्ष जिबेन्द्र झाले गर्नुभएको थियो भने कार्यक्रममा प्रमुख अतिथि रूपमा पार्टीका राष्ट्रिय अध्यक्ष महन्थ ठाकुरको गरिमामय उपस्थितिले कार्यक्रमलाई विशेष बनायो ।

कार्यक्रममा विशिष्ट अतिथि रूपमा नेपाल सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपाका वरिष्ठ नेता शरद सिंह भण्डारीको उपस्थिति रहेको थियो । साथै पार्टीका महासचिव परमेश्वर साह,संसदीय दलका नेता जयनुल राईन, सचिवद्वय सदाशिव मिश्र र ज्ञानेन्द्र झा, प्रदेश समिति उपाध्यक्षद्वय राम ज्ञान मण्डल र अरुण पाठक, लगायत अन्य थुप्रै नेता, कार्यकर्ता तथा शुभेच्छुकहरूको उल्लेखनीय उपस्थिति रहेको थियो ।
कार्यक्रममा पार्टीको वर्तमान राजनीतिक परिस्थिति, संगठन विस्तार, कार्यकर्ता सुदृढीकरण तथा भावी रणनीति सम्बन्धमा गहन छलफल र मार्गनिर्देशन गरिएको थियो । नेताहरूले जनतामाझ पार्टीको विश्वसनीयता र सशक्त उपस्थिति निर्माण गर्न सबै कार्यकर्तालाई सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरे ।
उक्त कार्यकर्ता भेटघाट कार्यक्रमले पार्टीभित्र एकता, सहकार्य र नयाँ ऊर्जा थपेको सहभागीहरूले बताएका छन् ।

धनुषाको राजनीतिक वातावरणमा लोसपाको सशक्त उपस्थिति पुनः पुष्टि गर्नेगरी यो कार्यक्रम सफल र उत्साहजनक भएको आयोजकले जनाएको छ ।
बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,०३ गते साउन ।
महोत्तरी जिल्लाको बलवा नगरपालिका–८ मा निर्माण हुन लागेको व्यावसायिक प्रशिक्षण केन्द्र भवनको भूमि पूजन कार्यक्रम आज एक विशेष समारोहबीच सम्पन्न भएको छ ।
उक्त भूमि पूजन कार्यक्रम लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका राष्ट्रिय अध्यक्ष तथा सम्माननीय नेता महन्थ ठाकुर र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री तथा लोसपा नेपालका वरिष्ठ नेता माननीय शरदसिंह भण्डारीको संयुक्त उपस्थितिमा सम्पन्न भएको हो ।

समारोहमा स्थानीय जनप्रतिनिधि, समाजसेवी, विभिन्न राजनीतिक दलका प्रतिनिधि, युवा तथा महिलाहरूको उल्लेखनीय सहभागिता रहेको थियो । कार्यक्रममा बोल्दै लाेसपा नेताहरूले युवालाई दक्ष जनशक्ति बनाउने लक्ष्यसहित स्थापना हुन लागेको व्यावसायिक प्रशिक्षण केन्द्रले रोजगारीको अवसर सिर्जना गर्ने र स्थानीय विकासमा योगदान पुर्याउने विश्वास व्यक्त गरे ।

उक्त भवन निर्माणपछि सिलाइ, बुनाइ, इलेक्ट्रिसियन, प्लम्बिङ, कम्प्युटर तथा अन्य सीपमूलक तालिम सञ्चालन गरिने योजना रहेको जनाइएको छ ।
कार्यक्रमको सफल आयोजनाका लागि सहयोग गर्ने सबैलाई आयोजक समितिले आभार व्यक्त गरेको छ । साथै, भवन निर्माण कार्य छिट्टै प्रारम्भ भई गुणस्तरीय ढंगले सम्पन्न गरिने प्रतिबद्धता पनि व्यक्त गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,महाेत्तरी,०२ गते साउन ।
मटिहानी नगरपालिकाको आयोजना तथा प्राविधिक शिक्षा प्रवर्द्धनको उद्देश्यले श्री राम माध्यमिक विद्यालय, मटिहानीका कक्षा ११ मा प्राविधिक धारमा अध्ययनरत विद्यार्थीहरूलाई ल्यापटप वितरण गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष एवं सम्मानित नेता महन्त ठाकुर तथा विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको हातबाट ल्यापटप वितरण सम्पन्न भएको हो ।

उक्त अवसरमा मधेस प्रदेश सरकारका शिक्षा तथा संस्कृति मन्त्री रानी शर्मा तिवारी, लाेसपा नेपाल मधेस प्रदेश संसदीय दलका नेता जयनुल राइन,नगरप्रमुख हरिप्रसाद मण्डल, नगर उपप्रमुख, नगर शिक्षा शाखा प्रमुख, विद्यालयका प्राचार्य, शिक्षकगण, अभिभावक तथा स्थानीय बुद्धिजीवीहरू पनि उपस्थिति रहेका थिए ।
कार्यक्रममा मन्तव्य दिंदै नेता ठाकुरले आधुनिक शिक्षामा प्रविधिको प्रयोग अपरिहार्य भएको उल्लेख गर्दै यस्तो पहलले विद्यार्थीको सिकाइ क्षमतामा ठुलो योगदान पुर्याउने विश्वास व्यक्त गर्नुभयो । मन्त्री भण्डारीले भने सरकारले प्राविधिक शिक्षामा विशेष ध्यान दिइरहेको उल्लेख गर्दै यस्ता कार्यक्रमहरू ग्रामीण तथा अर्धशहरी क्षेत्रमा समेत विस्तार गर्नुपर्नेमा जोड दिनुभयो ।

नगरप्रमुख मण्डलले मटिहानी नगरपालिकाले प्रविधि र शिक्षाको संयोजनमार्फत समावेशी तथा व्यवहारिक शिक्षालाई प्राथमिकतामा राखेको बताउँदै आगामी दिनहरूमा थप शिक्षामैत्री कार्यक्रमहरू ल्याइने जानकारी दिनुभयो ।

कार्यक्रमको समापनमा विद्यालयका प्राचार्यले नगरपालिकाप्रति आभार व्यक्त गर्दै, ल्यापटप वितरणले विद्यार्थीहरूको डिजिटल दक्षता अभिवृद्धिमा सहयोग पुर्याउने विश्वास व्यक्त गरे ।
बज्जिकाञ्चल संवाददाता,महोत्तरी,०२ गते साउन ।
नेपाल सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को बजेटमा जलेश्वर नगरपालिका वडा नं. २ मा निर्माण गरिने क्रीकेट एकेडेमीका लागि ३ करोड रुपैयाँ विनियोजन गरिएको छ । सो एकेडेमी निर्माणको सन्दर्भमा शुक्रबार विशेष निरीक्षण कार्यक्रम सम्पन्न भएको छ ।
लोसपा नेपालका केन्द्रीय अध्यक्ष महन्थ ठाकुर, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत सिंह भण्डारी, मधेश प्रदेशका शिक्षा तथा संस्कृति मन्त्री माननीय रानी कुमारी तिवारी, मधेश प्रदेशका सांसद एवम् संसदीय दलका नेता जैनुल राईन, नेपाल–भारत मैत्री समाजका मधेश प्रदेश अध्यक्ष लव राजा सिंह, तथा जलेश्वर नगरपालिकाका नगर प्रमुख सुरेश साह सोनारको गरिमामय उपस्थिति रहेको कार्यक्रमका क्रममा एकेडेमी निर्माणको लागि तोकिएको जग्गा स्थलगत निरीक्षण गरिएको हो ।

कार्यक्रममा जिल्ला क्रीकेट संघ महोत्तरीका अध्यक्ष तथा नेपाल क्रीकेट संघ (क्यान) का उपाध्यक्ष रोशन कुमार सिंहले जग्गाको अवस्थाबारे जानकारी गराउँदै एकेडेमी निर्माणको आवश्यकता र सम्भावनाबारे प्रष्ट पार्नुभएको थियो । उहाँले एकेडेमीले जिल्लाका युवाहरूको प्रतिभा उजागर गर्ने प्लेटफर्म बन्ने विश्वास व्यक्त गर्नुभयो ।
निरीक्षणपछि उपस्थित माननीयहरूले निर्माण कार्य यथाशीघ्र सुरु गर्न सकरात्मक पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । उहाँहरूले एकेडेमी निर्माणले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरका खेलाडी उत्पादन गर्न सहयोग पुर्याउने उल्लेख गर्दै स्थानीय युवा तथा खेलकुद क्षेत्रको विकासका लागि यो एक महत्वपूर्ण परियोजना हुने बताउनुभयो ।
एकेडेमी निर्माण कार्य स्थानीय सरोकारवालाको समन्वय, पारदर्शिता र गुणस्तरीय निर्माणका आधारमा अघि बढाइने जानकारी आयोजक समितिले दिएको छ ।
बज्जिकाञ्चल संवाददाता,महोत्तरी,०२ गते साउन ।
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का अध्यक्ष तथा वरिष्ठ नेता महन्थ ठाकुरले नेपाल–भारतबीचको जनस्तरको सम्बन्ध अत्यन्त बलियो र प्रगाढ रहेको बताएका छन् ।
शुक्रबार महोत्तरीको जलेश्वरमा नेपाल–भारत मैत्री संघद्वारा आयोजित सम्मान तथा पुरस्कार वितरण समारोहमा प्रमुख अतिथि रहेका अध्यक्ष ठाकुरले दुई देशबीचको सम्बन्धलाई केवल राजनीतिक वा कूटनीतिक तहमा सीमित नगरि जन–जनको आत्मीयता र ऐतिहासिक सम्बन्धको जगमा आधारित रहेको बताए ।

“अधिकारको लागि संघर्षको मैदान कहिल्यै छोड्नु हुँदैन,” उनले जोड दिँदै भने, “तर सम्बन्ध सधैं जनताको तहमा गहिरो र स्थायी हुन्छ । त्यसलाई अझ सुदृढ गर्न हामी सबैको भूमिका हुनुपर्छ।”
कार्यक्रममा विशिष्ट अतिथि श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले बदलिंदो भूराजनीतिक परिस्थितिमा नेपाल–भारत खुला सिमानाको सुरक्षा दुवै देशको साझा दायित्व भएको उल्लेख गर्दै, नेपाली भूमि भारतविरुद्ध प्रयोग हुन नदिन सबै पक्ष सचेत रहनुपर्नेमा जोड दिए ।

समारोहमा धनुषाका २४ र महोत्तरीका १८ विद्यार्थीलाई साइकल र प्रमाणपत्र प्रदान गरिएको थियो । कार्यक्रम नेपाल–भारतबीचको मित्रता प्रगाढ बनाउन आयोजित गरिएको आयोजक संस्थाले जनाएको छ ।
