काठमाडौं,०८ गते साउन ।
रौतहट जिल्लाको गुजरा नगरपालिका–४, कनकपुरका २१ वर्षीय युवा सामाजिक अभियन्ता अब्दुल सलाम राष्ट्रिय युवा संसद २०८२ मा रौतहट क्षेत्र नं. ३ बाट विजयी भएका छन् । समाज रूपान्तरणका लागि समर्पित उनको निरन्तर संघर्षले राष्ट्रिय स्तरमा नयाँ सफलता हासिल गरेको छ ।
राजधानी काठमाडौंस्थित राष्ट्रिय सभागृहमा बिहीबार आयोजित एक भव्य समारोहमा उनले राष्ट्रिय युवा सांसदको रूपमा सपथ ग्रहण गरे । सयौं प्रतिस्पर्धीलाई पछि पार्दै राष्ट्रिय प्रतिनिधित्व गर्न सफल भएका सलामले बालअधिकार, शिक्षा, स्वास्थ्य, लैंगिक समानता, महिला सशक्तीकरण, युवा नेतृत्व सशक्तीकरण तथा रोजगारका क्षेत्रमा सक्रिय रहँदै आएका छन् ।

विसं २०७५ देखि सामाजिक अभियानमार्फत युवाहरूलाई शिक्षित, सशक्त र जागरूक बनाउने कार्यमा समर्पित सलामले नेतृत्व गरेका विविध कार्यक्रम र अभियानले दर्जनौं युवामा सकारात्मक सोच र परिवर्तनको भावना जगाएको छ ।
उनको काम केवल स्थानीय सीमामा सीमित नभई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय युवा सम्मेलन, मंच र प्रशिक्षणहरूमा सहभागी हुँदै उनले आफूलाई एक प्रेरक युवा नेतृत्वको रूपमा स्थापित गरिसकेका छन् ।
सपथपछि सञ्चारकर्मीसँग कुरा गर्दै सलामले भने,
“यो जित मेरो मात्र होइन, रौतहटका सम्पूर्ण युवाको जित हो । युवा संसद कार्यक्रममार्फत म भावी नेतृत्व विकास र नीति निर्माण प्रक्रियामा युवाहरूको सक्रिय सहभागिता सुनिश्चित गर्नेछु। साथै युवाको आवाज राज्यसम्म पुर्याउने छु।”
उनले समावेशी नीति निर्माण, गुणस्तरीय शिक्षा, तथा रोजगारीको अवसर सृजनामा विशेष पहल गर्ने प्रतिबद्धता पनि व्यक्त गरे ।
सलामको यस उपलब्धिलाई लिएर रौतहटको गुजरा नगरपालिका, विभिन्न युवा संघसंस्था, सामाजिक अभियन्ता तथा स्थानीयवासीहरूले सामाजिक सञ्जालमार्फत शुभकामना व्यक्त गरेका छन्।
अब्दुल सलामको यो सफलता न केवल उनको व्यक्तिगत क्षमताको प्रमाण हो, यो सम्पूर्ण युवा पुस्ताको प्रतिबद्धता, ऊर्जा र परिवर्तनको सम्भावनाको विजय हो ।
उनको यो यात्रा आजको युवापुस्ताका लागि प्रेरणाको स्रोत बनेको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन ।
राैतहटकाे मौलापुर नगरपालिकाका कार्यपालिका सदस्य तथा प्रवक्ता चन्देश्वर बैठाको आज करेन्ट लागेर निधन भएको छ । बैठाको निधनले स्थानीय तहका जनप्रतिनिधि, शुभचिन्तक र नगरवासीहरू शोकमा डुबेका छन् ।
आम जनता पार्टी (आजपा) का अध्यक्ष तथा रौतहट क्षेत्र नं. ३ का सांसद प्रभु साहले सामाजिक सञ्जालमार्फत शोक व्यक्त गर्दै विद्युत प्राधिकरणको लापरवाहीका कारण यो दुर्घटना भएको बताएका छन् । उनले दोषीमाथि कानुनी कारबाही हुनु पर्ने र पीडित परिवारलाई उचित क्षतिपूर्ति दिनुपर्ने माग समेत गरेका छन् ।
“मौलापुर नगरपालिकाको प्रवक्ता एवं मेरो प्रिय मित्र चन्देश्वर बैठाको आज करेण्ट लागेर भएको दुःखद निधनको खबरले मर्माहत भएको छु,” सांसद साहले लेखेका छन्।
“विद्युत प्राधिकरणको लापरवाहीले भएको यस दुःखद घटनाको दोषीलाई कानुन बमोजिम कारबाही सहित पीड़ित परिवारलाई उचित क्षतिपूर्तिको माग गर्दछु । साथै मृतकप्रति भावपुर्ण श्रद्धांजलि एवं शोकाकुल परिवारजनमा गहिरो संवेदना व्यक्त गर्दछु।”
यस्तै, मृतकप्रति श्रद्धाञ्जली अर्पण गर्दै नगरपालिकामा शोकको वातावरण छ ।
चन्देश्वर बैठा मौलापुर नगरपालिकामा जनप्रतिनिधिको भूमिकामा सक्रिय थिए र जनसमस्या समाधानमा अग्रसर व्यक्तित्वका रूपमा चिनिन्थे ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,०८ गते साउन ।
नेपाल पत्रकार महासंघ एसोसिएट प्रदेश समितिले रौतहट न्यूजका पत्रकार राजकुमार यादवमाथि साउन ५ गते भएको सशस्त्र आक्रमणप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै कडा निन्दा गरेको छ । पूर्वमन्त्री प्रभु साहका छोरा विवेक साह संलग्न रहेको आरोप लगाइएको विज्ञप्तिमा घटनाले स्वतन्त्र पत्रकारितामाथि प्रहार भएको भन्दै दोषीलाई कडा कारबाहीको माग गरिएको छ ।

यस्तै पत्रकार यादवमाथिको कुटपिट घटनाप्रति श्रमजीवी पत्रकार संघ, रौतहटले गम्भीर आपत्ति जनाउँदै घटनालाई पत्रकारिता माथिको आक्रमण भनेको छ । संघले विवेक साहसहित चारजनामाथि आक्रमणको आरोप लगाउँदै पत्रकारको स्वास्थ्य उपचार र दोषीउपर कडा कारबाहीको माग गरेको छ ।

यसैगरी पत्रकार महासंघको विज्ञप्तिमा लगाइएको आरोपलाई अस्वीकार गर्दै विवेक साहले उक्त दाबीलाई “पूर्वनियोजित चरित्र हत्या” को संज्ञा दिएका छन् । उनले घटनास्थल सुरक्षाकर्मीको निगरानीमा रहेको भन्दै पत्रकार यादवले निषेधित क्षेत्रमा प्रवेश गरी झुटो प्रचार गरेको आरोप लगाए । साथै, सत्यतथ्य छानबिनको माग गर्दै प्रेस काउन्सिल नेपाललाई संलग्न गरिनुपर्ने बताएका छन् ।

यस विषयमा भने नेपाल पत्रकार महासंघ राैतहट शाखाकाे भने अहिलेसम्म आधिकारिक धारणा आउन सकेको छैन् ।
काठमाडौं, ८ साउन ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीले पटक पटक श्रीरामको जन्म नेपालमै भएको भन्दै झुठको खेती गरी जनतामा भ्रम फैलाइरहेको बताएका छन् ।
प्रतिनिधिसभाको आज (बिहीबार) बसेको बैठकमा बोल्दै आजपा अध्यक्ष साहले नेपालका आदीवासी जनजातीको इतिहास मेटाउने गरी झुठ र भ्रमको खेती गरिरहेको बताए ।
‘प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीरामजी नेपालमै जन्मेको कुरा पटक पटक भन्दैहुनुहुन्छ । उहाँ (ओली)ले भन्नुहुन्छ राम चितवनमा जन्मेका हुन । चतरा विश्वामित्रको आश्रमस्थल हो । म सोध्न चाहन्छु, नेपालको भूभागको असली वारिस आदीबासी जनजाती हो की क्षेत्री बाहुन हो ?,’ आजपा अध्यक्ष साहले प्रश्न गर्दै भने, ‘रामायण भनेको क्षेत्रीबाहुनको पौराणिक कथा हो । यदी क्षेत्रीबाहुन यस भूभागका वारिस हो भने यहाँको थारुहरु के हुन भन्ने प्रश्न गर्न चाहन्छु । के चितवनका आदीबासी थारु होईनन ? के चतराका आदीबासी किराँती होइनन ?’
यदी किराँती, थारुहरु नै आदीबासी जनजाती हुन भने प्रधानमन्त्री ओलीले यहाँ बाहुन क्षेत्रीलाई घुसाएर के प्रमाणित गर्न खोजेका हुन भन्ने संसदलाई जानकारी गराउन उनले माग गरे । राजनीतिक स्टण्डका लागि जे पनि गर्ने, प्रधानमन्त्रीले नै झुठको खेती गर्न मिल्छ कि मिल्दै भन्दै उनले प्रश्न गरे । प्रधानमन्त्रीले देशको नेतृत्व गर्ने, देशलाई सही दिशा निर्देशन गर्नुको साटो जनतामा भ्रम फैलाउँने, विभाजन गर्ने र झुठको खेती गर्ने काम बन्द गर्नुपर्ने उनले बताए ।
‘सबैलाई थाहा छ, सत्यको बाटो हिड्यो भने समाजले सही दिशा लिन्छ । झुठले समाजलाई अन्धाकारमा धकेल्छ, द्धन्द्धमा धकेल्छ र बिनाश तिर लान्छ । क्यान्सरको रोगलाई तपाईले टिवि लेख्दिनुहुन्छ भने त्यो विरामीले कहिल्यै पनि उपचार प्राप्त गर्न सक्दैन,’ आजपा अध्यक्ष साहले भने, ‘हाम्रो समाजको वास्तविकता देखाउनुपर्ने हो । नेपाल कहिल्यै पनि गुलाम भएन । त्यो सबैको एउटै कारण हो यहाँको जनजाती आदीबासी । यहाँको मुलबासिन्दा कै कारणले हो जसको कारण हामी कहिल्यै पनि गुलाम भएनौँ ।’
नेपालको एकीकरण भन्दा पहिला पनि स–साना राज्यहरु भए पनि कहिल्यै पनि कसैको गुलाम नभएको बताउदै उनले जनजाती, आदीबासीले त्यसको अस्तित जोगाएको बताए । प्रधानमन्त्रीले ति इतिहासको खोतलेर स्थापित गर्नुको साटो गुमराह बनाइदिने, तोडमतोड गर्ने कार्य गर्नु ठिक नभएको साहले बताए ।
‘आदीबासी जनजातीको राज्य खोसियो, अधिकार खोसियो, पहिचान अस्वीकार गरियो र आज उनीहरुको इतिहासमाथि छेडछाड गर्ने काम भईरहेको छ । इतिहास मेटाउने काम भइरहेको छ । नेपाललाई कता लान खोजिएको छ भन्ने प्रश्न उठछ । प्रधानमन्त्री जस्तो व्यक्तिले किराँतीको इतिहास खोतल्नुपथ्र्यो । किराँतीहरु कस्ता राजा थिए कि कसैको गुलाम भएन् । त्यस्ता कुरा उजागर गर्नुको साटो राजीतिक स्टण्ड गर्ने, भ्रमको खेती गर्ने, गुमराह बनाउँने काम बन्द गर्न म विशेष आग्रह गर्न चाहन्छु,’ आजपा अध्यक्ष साहले भने ।
प्रधानमन्त्री ओली भारत भ्रमणमा जान लागेको कुरा मिडियाबाट थाहा भएको बताउदै उनले भारत जाँदा भारतीय सरकारसंग यस बारेमा सत्य, तथ्य कुरा गर्न र पुरातात्विक विभागको प्रमाणको आधारमा वार्ता गर्न आग्रह गरे । र आफैले बोल्दै आएको कुरा स्थापित गर्न प्रधानमन्त्री ओलीलाई आजपा अध्यक्ष साहले चुनौति समेत दिए ।
‘नेपालको राष्ट्रिय विभुति सीता । दुनियाले स्वीकारेको यो कुरा त प्रधानमन्त्रीले स्वीकार गर्नुहुन्न । म उहाँको क्याबिनेटको एउटा मन्त्रि थिए । सीता जयन्ती क्यालेन्डरमा राख्न भन्दै गर्दा, अडान लिदैगर्दा उहाँ मान्नु भएन । घण्टौ अडान लिदा समेत क्यालेन्डरमा सीता जयन्ती राख्न नमान्ने प्रधानमन्त्रीले राम नेपालमै जन्मेको विवादस्पद अभिव्यक्ति दिएर के सन्देश दिन खोज्नुभएको हो ? नेपाललाई गुमराह बनाउने अधिकार कसैलाई छैन् । प्रधानमन्त्री जस्तो गरिमामा बसेर आमलाई इमिलि भन्ने र झुठको खेती गर्ने काम बन्द गर्नुपर्छ,’ आजपा अध्यक्ष साहले भने ।
नेपाललाई अन्धाकारमा धकेल्ने अधिकार कोहीकसैसंग नभएको भन्दै उनले सत्य, तथ्यको आधारमा अभिव्यक्ति दिनुपर्ने बताए । यदी उहाँले सत्य, तथ्य नै बोलेको हो भने त्यसबारेमा संसदमा बहस गराउनुपर्ने उनले बताए । तर झुठको खेती गर्ने, भ्रम फैलाउने काम नगर्न प्रधानमन्त्री ओलीलाई उनले ध्यानाकर्षण गराए । यसबारेमा सभामुखले समेत रुलिङ गर्नुपर्ने माग गरे ।
राजेश निर्माणी,वृन्दावन, साउन ८ गते — पानी नपरेका कारण किसानहरू चिन्तित भइरहेका बेला वृन्दावन नगरपालिकाका नगर प्रमुख विनोद प्रसाद कुर्मीले किसानहरूको समस्यालाई मध्यनजर गर्दै तत्काल समाधानको पहल गरेका छन् । नगर प्रमुख कुर्मीले वडा नम्बर ६, कमलपटीमा नयाँ कुलो निर्माण गराएर नहरमार्फत सिंचाइको व्यवस्था मिलाएका छन् ।
धेरै किसानले समयमा धान रोप्न नपाएको र लगातारको खडेरीका कारण उत्पादनमा भारी असर पर्ने चिन्ताले सताइरहेका बेला नगर प्रमुखको यो कदमले किसानहरूमा केही आशा जगाएको छ। उनले किसानहरूका समस्यालाई प्राथमिकतामा राख्दै अन्य वडाहरूमा पनि पानीको व्यवस्था मिलाउने कार्य अघि बढाएका छन्।
नगर प्रमुख कुर्मीले मधेस प्रदेशभरि नै पानीको अभाव भएको भन्दै प्रदेश सरकारले मधेसलाई सुक्खाग्रस्त क्षेत्र घोषणा गरेपछि, आफूले पनि पालिकाभित्रका सबै वडाहरूमा पानीको अवस्थाको अनुगमन थालेको बताएका छन्। उनले हरेक वडामा पुगेर समस्या बुझ्ने र समाधान गर्ने कार्यलाई निरन्तरता दिने प्रतिबद्धता जनाएका छन्।
कृषि मुख्य पेशा रहेको वृन्दावन नगरपालिकाका किसानहरूका लागि यो पहलले ठूलो राहत दिएको छ। अब नगरपालिकाको अन्य वडाहरूमा पनि यस्तो किसिमको कार्य अघि बढाइने नगर प्रमुखको भनाइ छ।
स्थानीय किसानहरूले नगर प्रमुखको यो कदमको प्रशंसा गर्दै अन्य स्थानमा पनि यस्ता तत्कालीन समाधान ल्याउन आग्रह गरेका छन्।
आरके श्रीवास्तव, रौतहट ०८ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधानअनुसार महाेत्तरीका विकास कुमार मण्डललाई केन्द्रीय सदस्य पदमा मनोनीत गरिएको छ। संघका अध्यक्ष कामरेन्द्र वर्माले मनोनयनको जानकारी दिँदै उनलाई बधाई तथा शुभकामना व्यक्त गरेका छन् ।
मण्डललाई मनोनीत गरिएको विषयमा संघका अध्यक्ष वर्माले पठाएको पत्रमा देश, मधेश, पत्रकारिता क्षेत्र तथा पार्टीको हितमा उहाँको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गरिएको छ ।

केन्द्रीय सदस्यमा मनोनीत भएपछि मण्डलले आफूले पाएको जिम्मेवारीलाई इमान्दारिताका साथ पूरा गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
लोकतान्त्रिक पत्रकार संघले पत्रकारिता क्षेत्रमा सक्रियरूपमा लागिरहेका व्यक्तिहरूलाई जिम्मेवारी प्रदान गर्दै आएको छ। संघको यो कदमले संगठनात्मक सुदृढीकरणमा थप टेवा पुग्ने अपेक्षा गरिएको छ ।
- अभिमनु कुमार पटेल, रौतहट, ७ गते साउन । सीमावर्ती क्षेत्रको सुरक्षामा चौबीसै घण्टा तत्पर सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहटले सुरक्षा मात्र होइन, मानवसेवा र सामाजिक उत्तरदायित्वमा समेत आफुलाई समर्पित गर्दै आएको छ।
भर्खरैको घटनामा, रौतहट माधवनारायण नपा वडा नं ४ विषनपुरवाकी २८ वर्षीया लक्ष्मीनिया देवीलाई डेलिभरीको समयमा A+ve ब्लडको आपतकालीन आवश्यकता परेको थियो। यस्तो संकटपूर्ण अवस्थामा सशस्त्र प्रहरी बलमा कार्यरत हबल्दार उपेन्द्र मुखियाले प्रादेशिक अस्पताल गौर पुगेर तुरुन्तै रक्तदान गरे।

सामाजिक उत्तरदायित्वमा सक्रिय उक्त गणका प्रहरी उपरीक्षक संतोष बस्नेतका अनुसार, चालु आर्थिक वर्षमा मात्रै गण तथा मातहतका कार्यालयहरूबाट ६३ जना सशस्त्र प्रहरी जवानहरूले बिरामीका लागि स्वेच्छिक रक्तदान गरेका छन्। “हाम्रो टोली मात्र सुरक्षा कार्यमा सीमित छैन, जब समाजलाई रक्तको आवश्यकता पर्छ, हामी त्यहाँ पनि उपस्थित हुन्छौं,” एसपी बस्नेतले बताए।
सामाजिक कार्य र रक्तदानमा अग्रसर यस गणले हरेक वर्ष स्थापना दिवसको अवसरमा पनि सामूहिक रक्तदान गर्दै आएको छ। यस वर्ष वैशाख महिनामा मात्र २४ जना सशस्त्र प्रहरी जवानले रक्तदान गरेका थिए।
एसपी बस्नेतका अनुसार, “प्रादेशिक अस्पताल गौरमा होस् वा पर्सा जिल्लाको वीरगंजमा, जब कहिले रक्तको खाँचो पर्दछ, सिधै हामीलाई सम्झिने चलन बनेको छ। आवश्यकता अनुसार रौतहटबाट प्रहरी जवान पठाएर रक्तदान गराउने काम हामीले गर्दै आएका छौं।”
एसपी बस्नेतले विगत ५ महिनादेखि प्रमुखको जिम्मेवारी सम्हाल्दै गर्दा, सीमावर्ती क्षेत्रदेखि ग्रामीण बस्तीसम्म शान्तिको अनुभूति दिलाउने खालका रणनीतिहरू अपनाएका छन्। सुरक्षा मात्र होइन, समाजप्रति जिम्मेवार अभिव्यक्तिको रूपमा रक्तदान, जनसहभागिता, सहकार्य र मानवता प्राथमिकतामा परेको उनले स्पष्ट पारे।
“हामीले प्रत्येक समस्यालाई राज्यको तर्फबाट सेवा गर्ने अवसरको रूपमा लिन्छौं। रगत होस्, विपत होस्, अपराध नियन्त्रण होस् वा जनताको विश्वास, सशस्त्र प्रहरी बल एक परिवार हो जसले राष्ट्र र जनताको सेवा नै धर्म ठानेको छ,” उनले बताए।
देशको दक्षिणी सीमावर्ती क्षेत्रअन्तर्गत पर्ने रौतहट, जहाँ अवैध क्रियाकलाप, तस्करी, आपराधिक गतिविधिहरूको जोखिम उच्च छ, त्यहाँ सशस्त्र प्रहरी बल, नेपाल नं. ११ गण हे.क्वा. रौतहट कानून पालन, शान्ति सुरक्षा र सीमा निगरानीमा बलियो गढको रूपमा परिचित छ। तर, यति मात्र होइन, यो गण सामाजिक सेवा, सद्भाव र मानवीय भावनामा समेत जिम्मेवार संस्थाको रूपमा स्थापित हुँदै आएको छ।
- रक्तदान जस्ता संवेदनशील कार्यमा निरन्तरता दिँदै, संकटमा परेका नागरिकको साहारा बनेको यो गण रौतहट जिल्लामा पहिलो संस्थाको रूपमा यथार्थ सेवाको उदाहरण बनिरहेको छ। यसरी, सुरक्षा र सेवा दुबै मोर्चामा क्रियाशील सशस्त्र प्रहरी बल, नेपाल नं. ११ हे.क्वा. रौतहट आज एक प्रेरणादायी संस्थाको रूपमा जिल्लामा स्थापित बन्दै गएको छ।
प्रेमचन्द्र झा,साउन ७ गते
रौतहट । जिल्लामा दुई दिनको अन्तरालमै सिचाइका लागि मोटर चलाउँदा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ।
बुधबार बिहान ७ बजेतिर रौतहटको माधव नारायण नगरपालिका–४ बिसनपुर्वा मानपुरका करिब ४० वर्षीय रामबाबु मुखियाको करेन्ट लागेर मृत्यु भएको हो। आफ्नै खेतमा सिचाइ गर्न मोटर चलाउने क्रममा विद्युत प्रवाह भएको तारले छोएपछि उनी गम्भीर घाइते भएका थिए। तत्कालै उपचारका लागि प्रादेशिक अस्पताल गौर ल्यादा पनि बिहान ७:५० बजे चिकित्सकले मृत घोषणा गरेका थिए। शव सोही अस्पतालमा राखिएको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।
हिजो मंगलबार दिउँसो १ बजे रौतहटको कटहरिया नगरपालिका–२ जमुनियाका करिब ५२ वर्षीय मोक्तार देवानको पनि त्यस्तै घटनामा ज्यान गएको थियो। उनी पनि आफ्नै खेत सिचाइ गर्नका लागि मोटर जडान गर्ने क्रममा करेन्ट लागेर गम्भीर घाइते भएका थिए। तत्कालै गरुडा स्थित ग्राण्डी अस्पताल पुर्याइए पनि चिकित्सकले मृत घोषणा गरेका थिए। उनको शव पोस्टमार्टमका लागि गौर अस्पताल पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय रौतहटले दुवै घटनाबारे आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ। खेत सिचाइका क्रममा सुरक्षाका मापदण्ड नअपनाउँदा करेन्ट लाग्ने घटनाहरू बढिरहेका छन्। स्थानीय प्रशासनले यसप्रकारका दुर्घटना न्यूनीकरण गर्न सतर्कता अपनाउन सर्वसाधारणलाई आग्रह गरेका छन।
बज्जिकाञ्चल संवाददाता,रौतहट, ०६ गते साउन ।
नेपाली काँग्रेस रौतहटले गौर नगरपालिकामा स्थायी पार्टी कार्यालय निर्माणका लागि ५ कठ्ठा ९ धुर जग्गा खरिद गरी ऐतिहासिक पहलको थालनी गरेको छ । जिल्ला सभापति एवम् मधेश प्रदेश सरकारका अर्थमन्त्री सुनिल कुमार यादवको दृढ संकल्प र नेतृत्व क्षमताले यो कार्य सफल भएको हो ।
सभापति यादवले उक्त अवसरमा प्रतिक्रिया दिँदै भने, “नेपाली काँग्रेस जस्तो विचार र सिद्धान्तमा आधारित पार्टीलाई संस्थागत गराउने बाटो भौतिक संरचनाबाट सुरु हुन्छ । गौरमा हाम्रो आफ्नै कार्यालय हुनु केवल भौतिक उन्नति मात्र होइन, यो संगठनको आत्मसम्मानको प्रतीक पनि हो।”
उनले थपे, “रौतहटमा काँग्रेस पार्टीले देश र मधेश आन्दोलनमा अग्रणी भूमिका खेलेको गौरवपूर्ण इतिहास छ। सोही गौरवलाई आत्मसात गर्दै सबै कार्यकर्ताको अपनत्व हुने किसिमले कार्यालय भवन निर्माण गरिनेछ।”
नेपाली काँग्रेसले वर्षौंदेखि भाडाको संरचनाबाट पार्टी सञ्चालन गर्दै आएपनि अब भने स्थायी संरचना निर्माणको बाटो खुलेको छ। यो अभियान मधेश प्रदेश समितिका सभापति कृष्णप्रसाद यादवको मार्गदर्शन तथा पार्टीका जिल्ला सचिव मिथिलेश कुमार मिश्र लगायतका नेपाली काँग्रेसका नेताहरूकाे सक्रियतामा अघि बढाइएको हो ।
जग्गा खरिदका लागि आवश्यक सबै प्राविधिक, कानुनी र प्रशासनिक प्रक्रिया पूरा गरिएको सचिव मिश्रले जानकारी दिए । उनका अनुसार, खरिद गरिएको जग्गाको मूल्य प्रति कठ्ठा रु २५ लाख रहेको छ, र यसमा जिल्लाका विभिन्न नेताहरू, कार्यकर्ता, शुभेच्छुक र चन्दा सहयोगदाताको उल्लेखनीय भूमिका रहेको छ ।
विश्लेषकहरूका अनुसार, यो निर्णयले पार्टीभित्र संरचनात्मक सुदृढीकरणमा नयाँ आयाम थप्नेछ। यसले कार्यकर्तामा ऊर्जा थप्ने, संगठनमा स्थायीत्व ल्याउने र जिल्लाको राजनीतिक भूमिकामा काँग्रेसको उपस्थिति थप प्रष्ट बनाउने अपेक्षा गरिएको छ ।
सचिव मिश्रले भने, “पार्टी कार्यालयको निर्माणले काँग्रेसप्रति प्रेम, समर्पण र निष्ठा भएका सबैमा उत्साह थपेको छ।”
सभापति यादवको नेतृत्वमा अघि बढाइएको यो कदम केवल तत्कालीन आवश्यक्ता पूरा गर्ने कार्य होइन, भविष्यप्रति गरिएको दीर्घकालीन लगानी हो, जसले रौतहटको काँग्रेस इतिहासमा नयाँ युगको थालनी गर्ने विश्वास गरिएकाे छ ।
आरके श्रीवास्तव,राैतहट,०६ गते साउन ।
नेपाली कांग्रेसका संस्थापक नेता तथा नेपालका प्रथम निर्वाचित प्रधानमन्त्री वीपी कोइरालाको ४३ औं स्मृति दिवसको अवसरमा सोमबार रौतहटको चन्द्रपुर नगरपालिका–८, सन्तपुर बेतौनास्थित कोटिहोम परिसरमा वृक्षारोपण तथा विचार गोष्ठी कार्यक्रम सम्पन्न भएको छ ।
नेपाली कांग्रेस रौतहट जिल्ला कार्यसमितिको आयोजनामा सम्पन्न सो कार्यक्रममा दर्जनौं प्रजातिका बिरुवाहरू रोपिएका थिए । कार्यक्रममा प्रमुख अतिथि रहेका मधेश प्रदेशका अर्थमन्त्री तथा कांग्रेस रौतहटका जिल्ला सभापति सुनिलकुमार यादवले वीपी कोइरालाको योगदान आज पनि प्रेरणादायी रहेको उल्लेख गरेका छन् ।

उनले भने, “महामानव वीपी कोइरालाले नेपालको मात्र होइन, भारतको स्वतन्त्रता आन्दोलनमा समेत ऐतिहासिक भूमिका निर्वाह गर्नुभएको थियो। उहाँले देखाएको राष्ट्रियता, लोकतन्त्र र समाजवादको मार्ग आजको सन्दर्भमा झन् सान्दर्भिक बनिरहेको छ।”
मन्त्री यादवले वर्तमान राजनीतिक परिवेशमा वीपीका मूल्य र सिद्धान्तलाई आत्मसात गर्दै अघि बढ्नुपर्नेमा जोड दिँदै वीपी कोइरालालाई शोषित, पीडित र वञ्चित वर्गको मुक्तिको संवाहकको रूपमा स्मरण गरेका छन् ।
कार्यक्रममा अन्य वक्ताहरूले पार्टी सुदृढीकरणका लागि संगठनात्मक अनुशासन र विचारप्रति प्रतिबद्धता आवश्यक रहेको बताए ।
वि.सं. १९७१ भदौ २४ गते जन्मिएका वीपी कोइराला २०१६ जेठ १४ गते नेपालका प्रथम प्रजातान्त्रिक प्रधानमन्त्री बनेका थिए । २०३९ सालको साउन ६ गते उहाँको निधन भएको थियो । नेपाली कांग्रेसले प्रत्येक वर्ष यस दिनलाई “वीपी स्मृति दिवस” का रूपमा देशभर विभिन्न कार्यक्रम गरी मनाउँदै आएको छ । राैतहटमा मनाईएकाे साे कार्यक्रममा नेपाली काँग्रेस राैतहटका नेतागणहरूकाे सहभागीता रहेको थियो ।