आरके श्रीवास्तव,राैतहट,१८ गते साउन ।
रौतहट । उखु उत्पादक संघ रौतहटले जिल्ला प्रशासन कार्यालय मार्फत प्रधानमन्त्री समक्ष ज्ञापनपत्र बुझाउँदै आर्थिक वर्ष २०८१/८२ को बाँकी रहेको उखु अनुदान रकम तत्काल भुक्तानी गर्न माग गरेको छ । संघले प्रति क्विन्टल ७० रुपैयाँका दरले हुने करिब १ अर्ब ६० करोड रुपैयाँ अनुदान सरकारले अझै नदिएको भन्दै चिनी उद्योगबाट भुक्तानी भए पनि सरकारी अनुदान रोकिएको जनाएको छ ।
सर्लाहीको हरिवनमा बसेको नेपाल उखु उत्पादक महासंघको बैठक निर्णयअनुसार संघले प्रधानमन्त्रीको ध्यानाकर्षण गराउँदै उखु अनुदान र आगामी मूल्य निर्धारणका लागि त्रिपक्षीय वार्ता गराउन पनि आग्रह गरेको छ ।
किसानहरुले विगतमा आन्दोलनबाट अनुदान व्यवस्था लागू गराएको स्मरण गराउँदै संघले यदि माग सम्बोधन नभए चरणबद्ध आन्दोलन गर्ने चेतावनी दिएको उखु उत्पादक संघ राैतहटका अध्यक्ष अशाेक प्रसादले जानकारी गराउनु भएको हाे ।
पहिलो चरणमा साउन १८ गते जिल्ला प्रशासन कार्यालयमार्फत ज्ञापन पत्र, साउन २० मा चिनी उद्योग अगाडि प्रदर्शन, र भदौ ८ देखि माईतीघर मण्डलामा धर्ना कार्यक्रम घोषणा गरिएको छ । ज्ञापनपत्र बुझाउने क्रममा नेता वृजकिशाेर यादव,रामभराेस यादव लगायतका व्यक्तिहरू सहभागी थिए ।
काठमाडौं,१९ गते साउन ।
संघीय लोकतान्त्रिक मोर्चाले देशको वर्तमान राजनीतिक परिस्थितिबारे जनतालाई जानकारी गराउने उद्देश्यसहित काठमाडौंबाट एक महिनाको जनजागरण अभियान सुरु गरेको छ ।
आइतबार राजधानीमा आयोजित कार्यक्रममार्फत अभियानको शुभारम्भ गरिएको हो । कार्यक्रममा सहभागी नेताहरुले राज्यले मधेशी, आदिवासी जनजाति लगायत पछाडि पारिएका समुदायप्रति विभेदी व्यवहार गरेको आरोप लगाए ।

संविधान संशोधन सहज छैन: महन्थ ठाकुर
लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले संविधान संशोधन दलहरूले भनेजस्तो सजिलो नभएको बताए । संविधान बनाउने शक्तिहरुबाट नै संविधानमाथि खतरा रहेको भन्दै उनले सबै समुदायले मिलेर राज्यलाई दवाव दिनुपर्ने धारणा राखे। उनले मधेशी समुदाय अझै पनि समान अधिकारबाट वञ्चित रहेको उल्लेख गरेका छन् ।
विभेद हटेन भने विद्रोह हुन्छ:उपेन्द्र यादव
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले राज्यद्वारा नागरिकमाथि भइरहेको विभेद अन्त्य नभए विद्रोह हुनसक्ने चेतावनी दिए । उनले सुकुम्बासीका नाममा सरकारद्वारा चलाइएका काममा धाँधली भएको आरोप लगाए। यादवले सरकार जनपक्षीय बन्न नसकेको भन्दै समर्थन फिर्ता लिएको पनि बताए ।
देश सबैको साझा हुनुपर्छ:राजेन्द्र महत्तो
राष्ट्रिय मुक्ति मोर्चा नेपालका अध्यक्ष राजेन्द्र महत्तोले सबै समुदायले अपनत्व लिनसक्ने खालको संविधान चाहिएको बताए । देशलाई सबै जातजाति र समुदायको साझा बनाउँदै अघि बढाउनुको विकल्प नरहेको उनको भनाइ थियो ।

संघीय लोकतान्त्रिक मोर्चाले भैरहवा, नेपालगञ्ज, कैलाली, विराटनगर, राजविराज, जनकपुर हुँदै भदौ २२ गते वीरगञ्जमा अभियानको समापन गर्ने जनाएको छ ।
आरके श्रीवास्तव,राैतहट,१८ गते साउन ।
गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष पदका उम्मेदवार रमेश प्रसाद यादवसँगको विशेष अन्तर्वार्ता
प्रश्न: तपाईं जनताको सेवामा कसरी लागिरहनु भएको छ ?
👉️ म राजनीतिक पृष्ठभूमिबाट आएको व्यक्ति होइन, तर जनताले खाँचो परेको बेला सधैं सहयोग गर्दै आएको छु । जनताको विश्वास कामबाटै कमाइन्छ भन्ने मान्यता राख्दछु । शिक्षा, स्वास्थ्य वा अन्य कुनै पनि क्षेत्र जहाँ जनतालाई आवश्यकता देखिन्छ । त्यहाँ म आफूबाट सक्दो सहयोग पुर्याउने कोसिस गर्छु । किसानका लागि कृषि विद्युतिकरणको प्रयास गरिरहेको छु र गरेको छु पनि । वडाका जनताले आएर कुनै आवश्यकताहरू राखेमा करिब ७५ प्रतिशतसम्म त सक्ने सहयोग गरिसकेको छु ।
प्रश्न: विकास निर्माणका क्षेत्रमा तपाईंको योगदान कस्तो रह्यो ?
👉️ म निर्वाचित प्रतिनिधि नभए पनि विगतका दुई जना निर्वाचित वडा अध्यक्षभन्दा बढी विकास निर्माणमा योगदान पुर्याएको छु । उदाहरणका लागि, शिवनगरमा विश्वकर्मा मन्दिर निर्माण, सडक ढलान, नाला निर्माण, लक्ष्मीपुरमा पनि ढलान गराएको छु । यो वर्ष पनि छठघाट निर्माण, शिवनगरमा दुर्गामन्दिर, र महम्मदपुरदेखि भीमडाबरसम्म सडक ढलान गराएको छु । वडाकाे बजेटभन्दा बढी काम गरेको छु, तर कमाइको धन्दा भने गरेको छैन् ।
प्रश्न: तपाईं निर्वाचित नभए पनि बढी काम गरेको दाबी गर्नुहुन्छ, जनतालाई कसरी विश्वस्त बनाउनुहुन्छ ?
👉️ जनताले आफैं मूल्यांकन गर्छन् । मेरो काममा कसैलाई शंका लागे प्रमाणित गरेर देखाउन तयार छु । म प्रदेश सरकार लगायत सम्बन्धित निकायहरूसँग समन्वय गरेर विकासमा लगानी गरिरहेको छु । यदि कसैलाई शंका छ भने, सिधा जनतामाझ जानुस् । उनीहरूले नै मेरो पक्षमा बोल्नेछन् ।
प्रश्न: गरिब तथा विपन्न वर्गका लागि के योगदान दिनुभएको छ ?
👉️ मैले प्रचारको लागि होइन, कामको लागि राजनीति गरेको हुँ । सामाजिक सञ्जालमा नदेखिएको भए पनि मैले प्रदेश सरकारसँग समन्वय गरी मदन भण्डारी आवास कार्यक्रम अन्तर्गत ८ वटा घर निर्माण गराएको छु । ती घरहरू खासगरी ती गरिब परिवारलाई प्रदान गरिएको छ, जो वर्षौं गाउँबाट बाहिर बस्दै आएका थिए । कोही धनी वा कार्यकर्तालाई होइन, लक्ष्यित वर्गलाई नै सहयोग पुर्याइएको छ । मलाई विश्वास छ । राम्रो काम गरे जनताले साथ दिन्छन् ।
प्रश्न: तपाईं आफैं युवा हुनुहुन्छ, युवालाई के सन्देश दिन चाहनुहुन्छ ?
👉️ राजनीति परिवर्तन गर्न युवा पुस्ताको मुख्य भूमिका हुन्छ । पुराना सोचले देश विकास हुन सक्दैन् । जहाँ-जहाँ युवालाई अवसर दिइएको छ, त्यहाँ परिवर्तन सम्भव भएको छ । म युवालाई प्रेरित गर्न चाहन्छु कि आफ्नो समाज आफैं सुधार्न अघि बढ्नुपर्छ । म आफैं पनि दिन-रात युवाको आवश्यकतामा साथ दिन तयार छु ।
प्रश्न: अन्त्यमा वडावासीप्रति तपाईंको सन्देश ?
👉️ म आफूलाई सेवक सम्झन्छु, र जनतालाई भगवान् मान्दछु । म वडाबासीहरूलाई यही भन्न चाहन्छु कि म सेवा गर्न सधैं तयार छु, प्रतिफल तपाईंहरूकै हातमा छ । राजनीतिक यात्रामा मैले धेरै संघर्ष गरेको छु । पहिलोचोटि उम्मेदवार बनेर २-३ सय भोट पाएँ, तर यही जनताको आशीर्वादले आज धेरै ठोस काम गर्न सकेको छु । मलाई पूर्ण विश्वास छ, आगामी दिनमा जनताले मलाई थप अवसर दिनेछन् ।
रमेश प्रसाद यादव नेपाली कांग्रेसका वडा सभापति हुन् यस अघिकाे स्थानीय तहकाे निर्वाचनमा राैतहटकाे गरूडा नगरपालिका वडा नम्बर ५ बाट उम्मेदवारी दिएका थिए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते साउन ।
रौतहटको ईशनाथ नगरपालिका वडा नं. २, औरैयामा सञ्चालित बनाना रिसोर्ट (केराबारी) मा शनिबार बिहान भीषण आगलागी हुँदा ४० लाख रुपैयाँभन्दा बढीको सम्पत्ति नष्ट भएको छ ।
शनिबार बिहान करिब ३:४० बजे खाना पकाउने ग्यास सिलिन्डर लिक भएर अचानक आगो लाग्दा रिसोर्टमा रहेका कृषि प्रयोजनका मेसिन, खाद्यान्न, फर्निचर, फ्रिज, लत्ताकपडा, तथा अन्य भौतिक संरचना पूर्ण रूपमा जलेर नष्ट भएको सञ्चालक राकेश गुप्ताले जानकारी दिए ।
बनाना रिसोर्ट नेपाल सरकार र श्री जौहरीमाई कृषि तथा सहकारी संस्थाको संयुक्त लगानीमा सञ्चालित थियो । आगलागीबाट ठूलो परिमाणमा क्षति पुगेको गुप्ताले बताए ।

आगो नियन्त्रणमा लिनका लागि स्थानीयवासी, सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले संयुक्त रूपमा प्रयास गरेको थियो । ग्यास लिक भएर आगलागी भएको प्रारम्भिक आशंका गरिए पनि प्रहरीले घटनाबारे गहिरो अनुसन्धान भइरहेको जानकारी दिएको छ ।
घटनास्थल अवलोकन गर्न पुगेका नेपाली कांग्रेसका नेता तथा रौतहट क्षेत्र नं. २(क) का क्षेत्रीय सभापति लालबिहारी साहले पीडित व्यवसायीप्रति गहिरो सहानुभूति प्रकट गर्दै सम्भव भएसम्म सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
सञ्चालक गुप्ताका अनुसार, आगलागीको कारणले रिसोर्टको पूरै सेवा सञ्चालन ठप्प भएको छ र अब पुनःस्थापना तथा क्षतिपूर्ति सम्बन्धी पहल आवश्यक रहेको छ ।
प्रहरीको अनुसन्धानपछि थप विवरण सार्वजनिक हुने अपेक्षा गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,१७ गते साउन ।
रौतहटकाे गरुडा नगरपालिका–४, गरुडा मा आज एक विशेष भेलामार्फत २५ सदस्यीय वार्ड कमिटी गठन गरिएको छ । उक्त कमिटी ‘बिजुली–पानी फ्री’ अभियानलाई सशक्त बनाउने उद्देश्यले गठन गरिएको हो ।
गठित वार्ड कमिटीको अध्यक्षमा महेसिया साह चयन भएका छन् भने उपाध्यक्षमा शोभा देवी साह, सचिवमा रामधारी साह, सह–सचिवमा मोरनी देवी, र कोषाध्यक्षमा सुगान्धी देवी साह चयन भएका छन् ।
त्यसैगरी, कमिटीमा सदस्यको रूपमा सोसिला देवी साह, चाँदतारा देवी साह लगायत २५ जना सर्वसाधारणको प्रतिनिधित्व रहने गरी चयन गरिएको छ ।

कार्यक्रमका प्रमुख अतिथि आम जनता पार्टीका सचिवालय सदस्य रविन्द्र यादव रहेका थिए भने विशिष्ट अतिथिमा केन्द्रीय सदस्य अमिन्द्र यादव, मञ्जु महतो, रिता शाह, शेहरा खातुन, कमल यादव, लालबाबु शाह, अफ्रोज आलम र राजकुमार शाह सहभागी थिए ।
भेलामा वक्ताहरूले जनताको आधारभूत सेवा, विशेषगरी विद्युत् र खानेपानीमा सुधार ल्याउन नवगठित कमिटीलाई सक्रिय रूपमा लाग्न आह्वान गरेका थिए । कार्यक्रममा स्थानियवासीको उल्लेख्य उपस्थिति रहेको थियो ।
सागर संगम ठाकुर, रौतहट, १७ गते साउन ।
रौतहटको देवाही गोनाही नगरपालिका–९, धरहरीमा सञ्चालित आरपार कोचिङ सेन्टर परिवारले शिक्षक सेवा उत्तीर्ण परीक्षामा उल्लेखनीय सफलता प्राप्त गरेका विद्यार्थीहरूको स्वागत तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ ।
उक्त कार्यक्रम स्थानीय समाजसेवी हरिश्चन्द्र प्रसाद यादवको अध्यक्षतामा सम्पन्न भएको थियो भने प्रमुख अतिथि जय किसान नमूना माध्यमिक विद्यालय धरहरीका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष श्यामनन्दन साह रहनुभएको थियो। २०७९ सालदेखि निरन्तर रूपमा सञ्चालनमा रहेको आरपार कोचिङ सेन्टरले हालैको परीक्षामा ८०% विद्यार्थीलाई सफलता दिलाएको छ।

यस वर्ष तीन जना विद्यार्थी शिक्षक सेवा आयोगको परीक्षामा सफल भएसँगै सम्मान कार्यक्रमको आयोजना गरिएको हो। कार्यक्रममा बोल्दै विद्यालयका प्रधानाध्यापक श्री संजय प्रसाद गुप्ताले कोचिङ सेन्टरको प्रयासको प्रशंसा गर्दै विद्यालय र आफ्नाे व्यक्तिगत तर्फबाट आवश्यक सबै किसिमको सहयोग गर्न तत्पर रहेको बताउनुभयो। कार्यक्रममा वडाध्यक्ष वीर बहादुर साहद्वारा अघिल्लो आर्थिक वर्षमा गरिएको एक लाख रुपैयाँको सहयोग विशेष रूपमा उल्लेख गरिएको थियो। उहाँले वडाका अति विपन्न तथा पिछडिएका वर्गका विद्यार्थीहरूलाई शिक्षामा पहुँच दिलाउन निरन्तर लागिरहेकै कुरा दोहोराउनुभयो।
कोचिङ सेन्टरका संस्थापक रामानन्द प्रसाद यादव र सह-संचालक मुकेश प्रसाद यादवको नेतृत्वमा संस्था शिक्षाको गुणस्तर उकास्न सफल भएको भन्दै विभिन्न वक्ताहरूले भविष्यमा पनि संस्थालाई साथ र सहयोगको प्रतिबद्धता जनाए। कार्यक्रमको अवसरमा प्रशिक्षकहरूलाई ड्रेस वितरण गरिनुका साथै समाजसेवीहरू र पत्रकार सागर संगम ठाकुरलाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो।
आरके श्रीवास्तव,राैतहट,१७ गते साउन । लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार धनुषाकी प्रियंका शर्मा केन्द्रीय सदस्य पदमा मनोनीत भएकी छिन् । संघका अध्यक्ष कामरेन्द्र वर्माले एक औपचारिक पत्रमार्फत शर्मा लाई मनोनयन गरिएको जानकारी गराउँदै शुभकामना दिएका छन् ।
पत्रमा देश, मधेश, पत्रकारिता र पार्टीको हितमा शर्माको कार्यकाल उल्लेखनीय रहने विश्वास व्यक्त गरिएको छ । वर्माले शुभकामना सन्देशमा भनेका छन्, “यहाँलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको सहर्ष जानकारीका साथ हार्दिक बधाई छ।”
शर्माको पत्रकारिता क्षेत्रमा लामो अनुभव रहेको र लोकतान्त्रिक मूल्य र मान्यता प्रति प्रतिवद्ध पत्रकारको रूपमा चिनिएकी छिन् । उनको मनोनयनले मधेश क्षेत्रका पत्रकारमा उत्साह थपेको छ ।
काठमाडौं,१७ गते साउन ।
आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले बोलबम संस्कृतिले नेपाली समाजलाई प्रगाढरुपमा जोडदै गरहेको बताएका छन् । बोलबम संस्कृतीको सरकारले जर्गेना गर्नुपर्ने उनले बताए ।
भोलेनाथ बोलबम कावरिया संघद्धारा आज (शनिबार) काठमाडौंको कालिमाटीमा आयोजित बोलबम विशेष समारोहलाई सम्बोधन गर्दै आजपा अध्यक्ष साहले समाजलाई एकताबद्ध गर्न महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बोलबम संस्कृतिको सरकारले संरक्षण एवं प्रबद्र्धनका गर्नुपर्ने बताए ।

बोलबम संस्कृती सहितको मौलिक धर्म, संस्कृतीको जर्गेना गर्न सरकारले चासो नदिएको बताउदै उनले हिन्दु धर्मावलम्बीले नै हिन्दु धर्म, संस्कृती जोगाएको बताए । नेपालको बिभिन्न शिवालयमा साउन महिनामा बोलबम काँवरियाहरुले विशेष पुजापाठ गर्दैआइरहेको बताउदै उनले त्यसका लागि सरकारले समेत यस्तो कार्यका लागि बजेट बिनियोजन गर्नुपर्ने बताए ।
‘बोलबम काँवरियाहरुले आफ्नो निजि पैसा खर्च गरेर हिन्दु धर्म, संस्कृतीको जर्गेना गर्दै आइरहेका छन् । यस्तो कार्यमा सरकारले समेत बजेटको व्यवस्था गर्नुपर्ने हो । तर सरकारले यस्तो कार्यमा चासो दिनुको साटो अपवाह कार्यमा बढी ध्यान केन्द्रीत गरेको छ । यस्तो बिषयको जर्गेनामा सरकार उदासिन रहेको छ,’ आजपा अध्यक्ष साहले भने ।

कुर्सीका लागि प्रधानमन्त्री जस्तो गरिमामय जिम्मेवारीमा रहेका नेताले हावादारी गफ गरेर हिन्दु धर्मको जर्गेना नहुने बताउदै आजपा अध्यक्ष साहले यस्तो जिम्मेवार व्यक्ति जिम्मेवारीका साथ प्रस्तुत हुनुपर्ने बताए । तथ्य, तथ्यांक, इतिहास, प्रमाणका आधारमा मात्रै कुनै कुरा गर्दा राम्रो हुने बताउदै उनले सस्तो लोकप्रियताका लागि हावादारी गफ गर्न नहुने टिप्पणी गरे । साथै उनले प्रधानमन्त्री ओलीले हिन्दु धर्म, संस्कृतीसंग खेलवाड गरेको समेत बताए ।
भोलेनाथ बोलबम कवरिया संघका अध्यक्ष राजकुमार साह कलवारको अध्यक्षतामा भएको कार्यक्रममा सन्तोष अग्रवाल, त्रिभुवन साह, विपिन जयसवाल, चन्द्र भुषण साह लगायतको विशेष सहभागिता रहेको थियो ।
काठमाण्डौ,१७ गते साउन । पर्यावरण संरक्षणमा निरन्तर सक्रिय रहँदै आएकी अभियन्ता सुनिल यादवलाई “३१ औँ प्रकाश मानव अधिकार पुरस्कार २०८१” प्रदान गरिएको छ । पुरस्कार प्रदान कार्यक्रममा सहभागी हुँदै उनले अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) तथा अभियानमा काँधमा काँध मिलाउँदै साथ दिने सबै अभियन्ता, पत्रकार मित्र तथा वनकर्मीप्रति विशेष आभार प्रकट गरेका हुन् ।
उनले पुरस्कार स्वरूप प्राप्त नगद राशी ५० हजार रुपैयाँ सम्पूर्ण अभियानकर्मीहरूसँग साझा गर्दै, उक्त राशीबाट समाजका विभिन्न स्थानहरूमा वृक्षारोपण र विरुवा वितरण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका हुन् ।

कार्यक्रम स्थलमै ५ हजार १ सय ५० रुपैयाँ बराबरका १५० वटा कागतीका विरुवा वितरण गर्दै अभियानको नयाँ यात्रा आरम्भ गरिएको हो । यस कदमले पर्यावरण संरक्षणको अभियानमा थप ऊर्जा प्रदान गर्ने विश्वास गरिएको छ ।
उक्त अवसरमा उनले भने, “म सधैँ अभियान सँगै रहने सबै सहकर्मी, पत्रकार र वनकर्मीप्रति उच्च सम्मानका साथ धन्यवाद प्रकट गर्छु। यो सम्मान केवल मेरो मात्र नभई सम्पूर्ण अभियानको हो।”
पर्यावरणीय न्याय, हरियाली संरक्षण र जनचेतना अभिवृद्धिका लागि उनी सक्रिय रहँदै आएका छन्। भविष्यमा पनि यस्ता अभियानलाई थप सशक्त बनाउँदै लैजाने उनको प्रतिबद्धता रहेको छ ।
आरके श्रीवास्तव,राैतहट,१६ गते साउन ।
नवप्रवेशी यूवा नेता राजाबाबु साहलाई जनता समाजवादी पार्टी (जसपा) नेपालमा भव्य स्वागत गरिएको छ ।
शनिबार कटहरिया बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा साहलाई जसपा नेपाल नगर कमिटी कटहरियाले सम्मानपूर्वक स्वागत गरेको हो । कार्यक्रममा जसपा नगर अध्यक्ष रामसेवक यादवको अध्यक्षता रहेको थियो भने प्रमुख अतिथि जसपा नेपालका केन्द्रीय सदस्य चुल्हाई राय यादव रहेका थिए । कार्यक्रममा जसपा नेता बच्चा यादवलगायत पार्टीका अन्य नेता तथा कार्यकर्ताहरूको उल्लेख्य उपस्थिति थियो ।
यसअघि साहले काठमाडौंस्थित जसपा नेपालको केन्द्रीय कार्यालयमा आयोजित एक विशेष समारोहमा पार्टी प्रवेश गरेका थिए । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले उनलाई पार्टीको सदस्यता प्रदान गर्दै टीका, माला र अविर लगाएर स्वागत गरेका थिए ।
राजाबाबु साह लामो समयदेखि नेपाली काँग्रेसमा सक्रिय रहँदै आएका थिए । उनले केही दिनअघि पार्टी परित्याग गरी एकाएक जसपा नेपालमा प्रवेश गरेका हुन् ।
उनको आगमनले जसपा नेपालमा थप ऊर्जा र सशक्त राजनीतिक धार प्रवेश हुने विश्वास गरिएको छ ।