आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
राैतहटकाे मौलापुर नगरपालिकाले दीर्घकालीन सिँचाइ समाधानको लक्ष्यसहित नविनतम यान्त्रिक सिँचाइ आयोजनाको घोषणा गरेको छ । नगर प्रमुख रिना कुमारी साहको अध्यक्षतामा आज सम्पन्न एक महत्त्वपूर्ण बैठकबाट आगामी ३ वर्षभित्र नगरपालिका क्षेत्रभित्र ५६ वटा डिप बोरिङ जडान गर्ने निर्णय गरिएको हो ।
बैठकमा कृषि उत्पादनमा आत्मनिर्भरता हासिल गर्दै स्थानीय किसानको जीवनस्तर सुधार गर्न आधुनिक तथा व्यावसायिक खेतीपातीसम्बन्धी तालिमहरू सञ्चालन गर्ने निर्णय पनि गरिएको छ । यस आयोजनाबाट मौलापुर नगरपालिका अन्तर्गत ३ हजार ७ सय ५० बिघा क्षेत्रफलमा भूमिगत सिँचाइ सुविधा पुगोस् भन्ने लक्ष्य लिइएको छ ।
नगर प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहका अनुसार आयोजनाले किसानहरूलाई समृद्धि र रोजगारीतर्फ उन्मुख गराउनेछ। “यस पहलमार्फत कृषि क्षेत्रमा आधुनिक प्रविधिको प्रयोग बढ्दै जानेछ र उत्पादनमा गुणात्मक सुधार आउनेछ”, उहाँले बताउनुभयो ।
नगरपालिका प्रशासनले उक्त आयोजनाको सफल कार्यान्वयनका लागि सम्पूर्ण नगरवासी, विशेष गरी किसानहरूबाट सक्रिय सहभागिता र सहयोगको अपेक्षा गरेको छ ।
आरके श्रीवास्तव,राैतहट,२१ गते साउन ।
रौतहटकाे फतुवा बिजयपुर नगरपालिका–११, हिमालीबासमा एक तल्ले ७ कोठे आधारभूत स्वास्थ्य सेवा केन्द्रको समुद्घाटन गरिएको छ । बुधबार एक कार्यक्रमका बीच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले उक्त भवनको उद्घाटन गरिन् ।
नगरपालिकाको ५५ लाख रुपैयाँ लागतमा निर्माण भएको यो स्वास्थ्य केन्द्रमा २६ लाख रुपैयाँको थप नयाँ भवन पनि तयार भएको छ । स्वास्थ्य सेवा प्रवाहका लागि आवश्यक मेडिकल सामग्रीहरू पनि ९ लाख ९० हजार रुपैयाँमा खरिद गरिएको छ । केन्द्रमा हाल भेन्टिलेटर २ थान, नेबुलाईजर २ थान, एक्सरे फोटो मेसिन १ थान, बेड ६ वटा र ट्रली बेड १ थान लगायतका अन्य सामानहरू उपलब्ध छन् ।

कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादव, स्वास्थ्य संयोजक प्रमोद प्रसाद गुप्ता, सह–संयोजक रमेश प्रसाद यादव, शिक्षा संयोजक सुबोध प्रसाद यादव, हिमालीबास माविका प्रधानाध्यापक बुनिलाल यादव, उपभोक्ता समिति अध्यक्ष अच्युत मैनाली, अहेव कर्मचारी परमेश्वर यादव लगायत स्थानीय भद्रभलादमीहरूको उपस्थिति रहेको थियो ।
कार्यक्रममा प्रदेश सांसद प्रत्यासी शेख सेराजले आम नागरिककाे स्वास्थ्यलाई मध्यनजर गरि नगरपालिका बाट भएको कामकाे सराहना गरे । अगामी दिनमा पनि स्वास्थ्य क्षेत्रलाई प्राथमिकतामा राखेर काम सुझाव दिए ।
कार्यक्रममा कार्यवाहक नगरप्रमुख खातुनले स्वास्थ्य क्षेत्रको सुदृढीकरणमा नगरपालिका गम्भीर रहेको उल्लेख गर्दै भनिन्, “नागरिकको स्वास्थ्य सुरक्षालाई पहिलो प्राथमिकतामा राख्दै हामी गाउँघरमै गुणस्तरीय स्वास्थ्य सेवा दिन चाहन्छौं।” उनले आगामी दिनमा थप सेवा विस्तार गर्ने प्रतिवद्धता व्यक्त गरिन् ।

प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भने, “नगरपालिकाको समग्र विकासमा स्वास्थ्य एक महत्वपूर्ण आधार हो । अहिलेको पहलले गाउँमा उपचारको पहुँच सहज बनाउनेछ ।”
उपस्थित वक्ताहरूले खातुनको नेतृत्वमा स्वास्थ्य क्षेत्रमा भइरहेको सुधारात्मक कामको प्रशंसा गर्दै कार्यक्रमको सफलताको शुभकामना व्यक्त गरेका थिए ।
आरके श्रीवास्तव,रौतहट, साउन २१ गते।
“सम्पूर्ण किसान मजदूर एक होऔं, वित्तीय शोषण तथा उत्पीडन विरुद्ध संघर्ष गरौं” भन्ने मूल नारासहित मिटरब्याज विरुद्ध किसान मजदूर आन्दोलन, नेपाल अन्तर्गत भोजपुरा कमाण्डको रौतहट जिल्ला सम्मेलन गरुडाको ए एन पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

कार्यक्रमको उद्घाटन अघि सहभागीहरूले गरुडा नगर परिक्रमा गरी सम्मेलन स्थलमा जुलुस सहित प्रवेश गरेका थिए । सम्मेलनको प्रमुख अतिथि निर्ग नविनले काठमाडौंमा चाँडै हुने आन्दोलनका लागि सबैलाई तयार रहन आह्वान गर्दै भने, “यो केवल रौतहटको सवाल होइन, सम्पूर्ण नेपालभरका किसान मजदुरहरूको साझा लडाइँ हो। अब काठमाडौंमा निर्णायक संघर्ष गर्ने बेला आएको छ।”

कार्यक्रमको अध्यक्षता गर्दै भोजपुरा कमाण्ड इन्चार्ज तथा जिल्ला अध्यक्ष शिवशंकर महतोले भने, “वित्तीय शोषण, विशेषतः मिटरब्याजजस्ता अवैध ऋण प्रणालीका विरुद्ध अहिले सबै किसान मजदुरहरू एकजुट हुनुको विकल्प छैन। न्यायका लागि संयुक्त आन्दोलन अपरिहार्य भइसकेको छ।”
सम्मेलनको बन्द सत्रबाट शिवशंकर महतोको अध्यक्षतामा १५ सदस्यीय जिल्ला कार्य समिति गठन गरिएको छ । जसमा उपाध्यक्ष मो. ईस्लाम, सचिव राम अकलेश पटेल, सह–सचिव जुनैद अन्सारी, कोषाध्यक्ष शेख मुस्तुफा, तथा सचिवालय सदस्यहरू गुदर बैठा, गोपाल सहनी, हृदय नारायण दास लगायत अन्य सदस्य चयन गरिएका छन् ।

वक्ताहरूले मिटरब्याज पीडित किसान मजदुरको पीडा अब सहनसक्ने अवस्थामा नरहेको भन्दै, राज्यले गम्भीरता नदेखाए सशक्त आन्दोलन अपरिहार्य हुने चेतावनी पनि दिएका थिए । उदघाटन सत्रमा कार्यक्रमकाे उदघाेषण बैधनाथ सहनीले गर्नुभएको थियाे ।
राकेश यादव, १९ गते साउन ।
रौतहट जिल्लाको इशनाथ नगरपालिकामा बिधुतको करेन्ट लागेर एक जनाको मृत्यु भएको छ।
धानको खेतमा पानी लगाउने क्रममा करेन्ट लागेर इशनाथ नगरपालिका वडा नम्बर ८ निवासी ५५ बर्षीय शेख जाफिरको मृत्यु भएको हो ।
जिल्ला प्रहरी कार्यालय रौतहटका अनुसार धान बालीमा बिधुतिय मोटर प्रयोग गरि पानी पटाउने क्रममा करेन्ट लागेर घाइते भएका जाफिरको मृत्यु भएको हो।
करेन्ट लागेर घाइते भएका किसान जाफिरलाइ उपचारको लागि प्रादेशिक अस्पताल गौरमा ल्याउदा उपचारको क्रममा निधन भएको प्रहरी नायव उपरिक्षक दिपक कुमार रायले जानकारी दिएका छन्।
खडेरी परेको कारण बिधुतिय मोटर द्वारा सिचाई गर्ने क्रममा रौतहटमा अहिले सम्म ८ जना किसानको मृत्यु भै सकेको छ।
सिचाईको क्रममा करेन्ट लागेर मृत्यु हुने घटना बढ्न लाग्दा जिल्ला प्रहरी कार्यालय र जिल्ला प्रसाशन कार्यालयले साबधानी पुर्वक बिधुतको प्रयोग गर्न सार्वजनिक रुपमा आग्रह गरेका छन्।
आरके श्रीवास्तव,राैतहट,१९ गते साउन ।
राैतहटकाे मौलापुर नगरपालिका–४ स्थित श्री जनता माध्यमिक विद्यालय सोनरनियामा ३ तले १२ कोठे नयाँ विद्यालय भवनको शिलान्यास एक विशेष समारोहबीच सम्पन्न भएको प्रधानाध्यापक दिनेश यादवले जानकारी गराएका हसा् । भवन निर्माणको शिलान्यास प्रतिनिधि सभा सदस्य तथा पूर्वमन्त्री प्रभु साहको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो ।
समारोहमा बोल्दै पूर्व मन्त्री साहले विद्यालयको भौतिक पूर्वाधार विकाससँगै शैक्षिक गुणस्तर सुधार गर्नुपर्नेमा जोड दिनु भयो । साथै, उहाँले निकट भविष्यमा श्री जनता माविमा क्याम्पस स्थापनाका लागि आवश्यक पहल गरिने स्पष्ट प्रतिबद्धता समेत व्यक्त गर्नुभयो ।

शिलान्यास समारोहमा मौलापुर नगरपालिकाकी नगरप्रमुख रिना कुमारी साहले विद्यालयमा गुणस्तरीय शिक्षा सुनिश्चित गर्न नगरपालिकाको तर्फबाट आवश्यक सहयोग निरन्तर जारी रहने बताउनु भयो । प्रमुख प्रशासकीय अधिकृत रामबाबु साहले विद्यालय भवनको निर्माण कार्य स्वीकृत डिजाइनअनुसार गुणस्तरीय रूपमा सम्पन्न गर्नुपर्नेमा जोड दिनुभयो ।
हाकिम साहका अनुसार निर्माण कम्पनी सत्यश्वर-एएसीसी-एसआर जेभी, सर्लाहीले ३ कराेड ४५ लाख ५६ हजार ६ सय ८ रूपैयाँकाे लागतमा निर्माण गर्न लागेको हाे ।

कार्यक्रममा माैलापुर वडा नम्बर ८ का वडा अध्यक्ष शिवपर्सन यादव,वडा नम्बर ९ का वडा अध्यक्ष श्यामकिशाेर साह, विद्यालय व्यवस्थापन समिति, शिक्षक, अभिभावक तथा सर्वसाधारणको उल्लेखनीय उपस्थिति रहेको थियो ।
आरके श्रीवास्तव,राैतहट,१९ गते साउन ।
रौतहट जिल्लाकाे गरूडा नगरपालिका स्थित प्रसिद्ध शिवनगर महादेव मन्दिरमा तेस्रो सावन साेमवार महाेत्सव २०८२ भव्य रूपमा सम्पन्न भएकाे छ । गरूडा नगरपालिकाकाे आयाेजनामा भइरहने याे वार्षिक महाेत्सव सावन महिनाकाे प्रत्येक साेमबार विभिन्न धार्मिक तथा सांस्कृतिक कार्यक्रमका साथ सम्पन्न हुँदै आएको छ ।
यस वर्षकाे महाेत्सवकाे उद्घाटन सावन महिनाकाे पहिलाे साेमबार गरूडा नगरपालिकाका नगर प्रमुख कन्थमनी जयसवालले गर्नु भएकाे थियाे । प्रमुख जयसवालले शिवनगर महादेव मन्दिरलाई धार्मिक पर्यटकीय गन्तव्यकाे रूपमा विकास गर्न नगरपालिकाले दीर्घकालीन योजना अघि बढाएकाे उल्लेख गर्दै यस किसिमका महाेत्सवहरू धार्मिक पर्यटन प्रवर्द्धनका लागि महत्वपूर्ण हुने बताए ।

कार्यक्रमकाे समापन सावनकाे तेस्राे साेमबार विशेष समारोहका साथ सम्पन्न भएकाे हाे ।
महाेत्सवमा गरूडा नगरपालिका वडा नम्बर ५ का वडा अध्यक्ष रामबिनाेद जयसवाल प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुँदै भने, “शिवनगर महादेव मन्दिर र सावन साेमार महाेत्सव हाम्रो क्षेत्रकाे पहिचान हाे । यसलाई विश्वसामु चिनाउन हामी प्रत्येक वर्ष याे कार्यक्रमलाई अझ भव्य र व्यवस्थित बनाउन प्रतिबद्ध छाैं ।”
कार्यक्रमकाे अध्यक्षता टिकटाक स्टार राजकुमार साहले गर्नु भएकाे थियाे भने संयाेजककाे रूपमा कलाकार तथा कमेडियन माेहरलाल पटेल (एमएल पटेल) ले भूमिका निर्वाह गर्नुभएकाे थियाे ।
महाेत्सवमा भारत, बिहारका चर्चित कलाकार अलवेला अशाेक तथा नेपालका लोकप्रिय मैथिली गायक जागेश ठाकुर, किरण साह लगायतका कलाकारहरूले आफ्नाे प्रस्तुति दिएका थिए । धार्मिक श्रद्धालुहरूका साथै हजारौं दर्शक तथा भक्तजनहरूकाे उल्लेख्य उपस्थिति रहेको याे महाेत्सवले रौतहटको सांस्कृतिक र धार्मिक पहिचानलाई अझ प्रगाढ बनाएकाे छ ।

महाेत्सवलाई सफल पार्न सहयोग गर्न हुने कलाकार,पत्रकार र विभिन्न व्यक्तित्वहरूलाई मायाकाे चिन्हाे सहित सम्मान गरिएको थियोे ।
आरके श्रीवास्तव,राैतहट,१९ गते साउन ।
रौतहट जिल्लाको गुजरा नगरपालिका वडा नं. ८ मा अवस्थित केवल राम सुरत क्याम्पसको समिति पुनः गठन गरिएको छ । आइतबार सम्पन्न विशेष कार्यक्रम मार्फत क्याम्पस समितिको अध्यक्षमा गुजरा नगरपालिकाका नगर प्रमुख सन्तलाल चौधरीलाई पुनः दोस्रो कार्यकालका लागि सर्वसम्मत चयन गरिएको छ ।

उक्त कार्यक्रम नेपाल सरकारका पूर्व संविधानसभा सदस्य तथा जनता समाजवादी पार्टी (जसपा) का राष्ट्रिय उपाध्यक्ष गोविन्द चौधरीको विशेष उपस्थिति तथा आतिथ्यतामा सम्पन्न भएको हो ।

नवनिर्वाचित क्याम्पस समितिमा सदस्यहरूमा राष्ट्रिय सभा सदस्य पुजा चौधरी,हविव मिया मंसुरी,रामाअश्रे चौधरी,खुबल चौधरी र पुनित राम रहेका छन् ।
क्याम्पस प्रमुखको जिम्मेवारी रामेश्वर चौधरीलाई दिइएको छ भने शिक्षक प्रतिनिधिका रूपमा उपेन्द्र मिश्राको सहभागिता रहेको छ । विद्यार्थी प्रतिनिधिको रूपमा सरिता कुमारी लगायत अन्य प्रतिनिधिहरू चयन गरिएको छ ।

नवगठित समितिलाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दै कार्यक्रममा बोल्ने वक्ताहरूले क्याम्पसको शैक्षिक गुणस्तर सुधारमा समिति अझ बढी सक्रिय भई काम गर्ने अपेक्षा राखेका थिए ।
आरके श्रीवास्तव,राैतहट,१९ गते साउन ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकामा आजदेखि विश्व स्तनपान सप्ताह सुरु गरिएको छ । नगरपालिकाको स्वास्थ्य शाखाले आयोजना गरेकाे उक्त कार्यक्रम स्वास्थ्य शाखा प्रमुख प्रमोद गुप्ता र स्वास्थ्य सहसंयाेजक रमेश प्रसाद यादवले उद्घाटन गरेका हुन् । यादवका अनुसार स्तनपान सप्ताह साउन १६ गतेदेखि २२ गतेसम्म मनाइनेछ ।
नगरपालिकाका ८ वटै स्वास्थ्य संस्थाहरूमा एकैसाथ स्तनपान सप्ताह मनाइँदैछ । कार्यक्रम अन्तर्गत ‘सुनौलो हजार दिन’ अन्तर्गतका आमाहरूलाई स्तनपानको महत्वबारे जानकारी गराउने उद्देश्य राखिएको छ ।
कार्यक्रममा आमाहरूलाई बच्चा जन्मिएको १ घण्टाभित्रै आमाको पहिलाे बिगाैती दूध खुवाउनुपर्ने, ६ महिना सम्म बच्चालाई मात्र आमाको दूध खुवाउने, र ६ महिनापछि स्तनपानसँगै फलफूल, लिटाे, गेडागुडी, माछामासु जस्ता पौष्टिक खाना खुवाउनुपर्ने सन्देश दिइएको छ ।
फतुवा बिजयपुर नगरपालिकाका कार्यवाहक नगर प्रमुख अम्बेया खातुनले स्तनपान सप्ताह जस्ता कार्यक्रमहरूले मातृत्व स्वास्थ्य र शिशु विकासमा ठूलो टेवा पुग्ने बताउँदै भनिन्, “हामीले नगरपालिकास्तरबाट आमाहरूलाई स्तनपानको महत्व बुझाउने यस्ता जनचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं। स्वस्थ आमा र बच्चा नै स्वस्थ समाजको आधार हुन्।”
सप्ताहभर विभिन्न सूचना, परामर्श सेवा, समुदायस्तरीय अन्तरक्रिया कार्यक्रम लगायतका गतिविधिहरू सञ्चालन गरिने जनाइएको छ ।
राकेश यादव,राैतहट,१८ गते साउन ।
जनता समाजवादी पार्टी नेपाल (जसपा) जिल्ला कार्य समिति रौतहटले आज एक प्रतिनिधिमण्डल मार्फत प्रधानमन्त्री तथा मधेश प्रदेश सरकारका मुख्यमन्त्रीलाई सात बुँदे मागसहित ज्ञापनपत्र बुझाएको छ । सुख्खाग्रस्त क्षेत्र घोषणा गरिए पनि पीडित किसानहरूलाई राहत नपुगेको भन्दै तत्काल राहत प्याकेज उपलब्ध गराउन माग गरिएको छ ।
जिल्ला अध्यक्ष राजिव रंजन यादवको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले जिल्ला प्रशासन कार्यालय रौतहटमार्फत सहायक प्रमुख जिल्ला अधिकारी किरणनिधि तिवारीलाई ज्ञापनपत्र बुझाएको हो ।

ज्ञापनपत्रमा किसानका लागि राहत प्याकेज सुनिश्चित गर्नु पर्ने, पानीका स्रोतको संरक्षण गर्न चुरे क्षेत्रको दोहन तत्काल रोक्नु पर्ने, अबैध उत्खनन नियन्त्रण तथा कानुन विपरित सञ्चालन भइरहेका क्रसर उद्योगहरूमाथि कडा कार्यवाही गर्नुपर्ने माग गरिएको छ ।
त्यसैगरी, बिरगंजदेखि बारा, रौतहट, सर्लाही, महोत्तरी र धनुषासम्मका जिल्लामा देखिएको पानीको समस्या समाधान गर्न तुरुन्त कदम चाल्न आग्रह गरिएको छ। साना किसानलाई मोटर, स्यालो, ट्युबेल जडान गर्न हालको २ बिघा जग्गा शर्त हटाई सहज पहुँच हुने व्यवस्था मिलाउन र उखु किसानका बाँकी भुक्तानी तुरुन्त दिनु पर्ने माग पनि उल्लेख छ।
ज्ञापनपत्र बुझाउने कार्यक्रममा गुजरा नगरपालिकाका मेयर सन्तलाल चौधरी, माधव नारायण नगरपालिकाका उपप्रमुख निर्मला रमण, पूर्व राज्य मन्त्री योगेन्द्र राय यादव, पूर्व गौर नगरपालिकाका उपप्रमुख किरण ठाकुर लगायत सयौं पार्टी कार्यकर्ताहरू सहभागी थिए ।
प्रेमचन्द्र झा,राैतहट,१८ गते साउन ।
रौतहट । राजदेवी नगरपालिका–१ निवासी प्रभु राय यादवले सूचना अधिकार ऐन २०६४ को दफा ३ अनुसार राजदेवी नगरपालिकासँग विभिन्न विकास योजनाहरू, खर्च विवरण, कर्मचारी नियुक्ति, स्वास्थ्य सेवा, कृषि कार्यक्रम, सञ्चारमाध्यमलाई वितरण गरिएको रकमलगायतका विषयमा विस्तृत १३ बुँदे सूचना माग गरेका छन्।
उहाँले मिति २०८२ साल साउन ४ गते नगरप्रमुख तथा प्रमुख प्रशासकीय अधिकृत समक्ष निवेदन दिँदै नगरपालिकाबाट विद्यालयहरूमा छात्रवृत्ति, खाजा, विज्ञान प्रयोगशाला जस्ता शीर्षकहरूमा कति रकम खर्च भएको, कुन विद्यालयमा कति रकम विनियोजन गरिएको हो भन्ने विवरण माग गरेका छन्। साथै, विद्यालयहरूमा हाल कति बालबालिका छन्, राहत तथा अनुदान कोटाको संख्या कति छ, त्यसको विवरण पनि उहाँले माग गर्नुभएको छ। २०७९ सालदेखि हालसम्म विद्यालयहरूमा कति बजेट विनियोजन गरिएको छ, कुन शीर्षकमा कति खर्च भएको छ भन्ने कार्यक्रमगत विवरण माग गरिएको छ।
त्यस्तै, वडा नं. १ देखि ९ सम्मका विद्यालय, स्वास्थ्य चौकी तथा वडा कार्यालयहरूमा करार तथा नयाँ रूपमा कति नियुक्ति भएका छन्, कुन पदमा को–को नियुक्त भएका छन् भन्ने नामावलीसहितको सूचना माग गरिएको छ। राजदेवी नगरपालिकाले नगरस्तरीय योजना अन्तर्गत कुन–कुन वडामा कति योजना सञ्चालन गरेको हो भन्ने विवरण पनि माग गरिएको छ।
स्वास्थ्य क्षेत्रमा २०७९ सालदेखि हालसम्म कति बजेट छुट्याइएको छ, आयुर्वेदमा कति रकम विनियोजन भएको छ, कुन किसिमको औषधिहरू उपलब्ध छन् भन्ने विवरण पनि सोधिएको छ। साथै, नगरपालिकाबाट कृषि क्षेत्र अन्तर्गत धान र गहुँको बीउ, मोटर, बोरिङ्ग, च्यास्फर्म, पोल–तार वितरण गरिएको कागजात मागिएको छ।
बेरुजुसम्बन्धी विवरणमा नगरपालिकामा हालसम्म कति बेरुजु छ, पहिलेको कति थियो, फछ्र्यौट भएको रकम कति हो र कुन कर्मचारी वा व्यक्तिको नाममा कति बेरुजु रकम छ भन्ने विस्तृत विवरणसहित नामावली माग गरिएको छ। नगरपालिकाले टिपर, डोजर, कल्टिभेटर, एम्बुलेन्सलगायतबाट २०७९ सालदेखि हालसम्म कति आम्दानी गरेको छ भन्ने विवरण पनि उक्त निवेदनमा समेटिएको छ।
वडा नं. १ मा २०७९ सालदेखि हालसम्म कुन शीर्षकमा कति रकम बजेट गरिएको हो, कार्यालयको महिनाको भाडा, रंगरोगनको खर्च, अफिस सञ्चालन खर्चजस्ता विवरण पनि समावेश छन्। श्री माध्यमिक विद्यालय पथरामा २०७९ सालदेखि हालसम्म कुन शीर्षकमा कति रकम खर्च भएको हो भन्ने विवरण र त्यसको नामावलीसमेत माग गरिएको छ। अन्त्यमा, नगरपालिकाबाट सञ्चारमाध्यमलाई दिइएको रकम कति हो, कुन मिडियालाई कति दिइएको हो भन्ने नामावलीसहितको विवरण पनि यादवले माग गरेका छन्।
निवेदक प्रभु राय यादवले नागरिकले सूचनाको हक प्रयोग गरेर सार्वजनिक निकायको पारदर्शिता र जवाफदेहितामा नागरिक निगरानीको अभ्यास गर्न सक्ने बताउँदै यस्तो माग गर्नु नागरिकको अधिकार मात्रै नभई कर्तव्य पनि भएको उल्लेख गर्नुभएको छ।
यादवले भने अनुसार, निवेदन दर्ताका लागि साउन ४ गतेदेखि पाँच दिनसम्म पटक–पटक कार्यालय गइसकेपछि बल्ल साउन १८गते आइतवार निवेदन दर्ता गरिएको हो। प्रमुख प्रशासकीय अधिकृत प्रलव कायस्थले नगरपालिकाका अधिकांश कर्मचारी भारतको देवघरलगायतका स्थानमा तिर्थ गर्न गएको हुँदा सूचना पाउन अझै महिना दिन लाग्न सक्ने प्रतिक्रिया दिएका छन्। यादवले नगरप्रमुख भिखारी यादवलाई समेत यस विषयमा जानकारी गराइसकेको बताउनु भएको छ।
सूचना अधिकार ऐन २०६४ अनुसार, निवेदन परेको मितिदेखि १५ कार्य दिनभित्र आवश्यक सूचना उपलब्ध गराउनुपर्ने कानूनी व्यवस्था रहेको छ। यदि सो समयमा पनि सूचना प्राप्त नभएमा राष्ट्रिय सूचना आयोगमा उजुरी दिन सकिने प्रावधान छ।
यस घटनाले जनताले सार्वजनिक कार्यालयमाथि निगरानी राख्न, बजेट पारदर्शिता माग गर्न र सुशासन सुनिश्चित गर्न सूचना हकलाई प्रभावकारी रूपमा प्रयोग गर्न थालेका छन् भन्ने स्पष्ट सङ्केत दिएको छ।