आरके श्रीवास्तव,राैतहट,२९ गते साउन ।
रौतहटकाे कटहरिया नगरपालिकाका नगरप्रमुख अजय प्रकाश जयसवाल जनतासँग प्रत्यक्ष संवाद गर्दै स्थानीय समस्याको पहिचान र समाधानको बाटोमा अग्रसर देखिएका छन् । वडा नम्बर ३ बिर्ति प्रष्टोका पुगेर उहाँले वडावासीसँग सिधा भेटघाट मात्र गरेनन्, छिट्टै आयोजना हुन लागेको कृष्ण जन्माष्टमी मेलामा आर्थिक सहयोग पनि प्रदान गर्दै सांस्कृतिक समर्पणको उत्कृष्ट उदाहरण पेश गर्नु भएको वडा अध्यक्ष श्यामाकान्त यादवले जानकारी गराएका हुन् ।

यसै क्रममा वडा नम्बर ७ बगहीमा आयोजित विशेष जनसंवाद कार्यक्रममा नगरप्रमुख जयसवाल र वडा अध्यक्ष शहिद मिया धोबीले संयुक्त रुपमा सहभागिता जनाउँदै स्थानीय जनताको समस्याहरू सुने र सुझावहरू लिएका छन्। जनताको आवाजलाई नजिकबाट बुझ्न मेयरको यस्तो सक्रियता स्वागतयोग्य मात्र नभई स्थानीय तहमा जवाफदेही शासनको अभ्यास पनि मानिएको छ ।

नगरप्रमुख जयसवालले भन्नुभयो,”हामी जनतासँग दूरी कायम गरेर होइन, उनीहरूसँग कन्धा मिलाएर अघि बढ्ने पक्षमा छौं। विकासको मुहान जनताको घरदैलोमै पुगेर खोल्नुपर्छ।”
नगरवासीहरूले मेयरको यो पहलको खुलेर प्रशंसा गर्दै यसलाई उत्तरदायी र संवेदनशील नेतृत्वको प्रतीकको रूपमा व्याख्या गरेका छन् ।
बज्जिकाञ्चल संवाददाता,सिरहा,२८ गते साउन ।
नवसर्जक साहित्य चौतारी नेपालको सिरहा जिल्ला समितिको घोषणा कार्यक्रम आज एक भव्य समारोहका बीच सम्पन्न भएको छ । कार्यक्रममा १९ सदस्यीय नयाँ जिल्ला कार्यसमिति चयन गरिएको छ ।

कार्यक्रमको प्रमुख आकर्षणको रूपमा नयाँ नेतृत्वको घोषणा गरिँदै निम्न पदाधिकारीहरू चयन गरिएको छ । जसकाे अध्यक्षमा ज्योति गुप्ता,उपाध्यक्ष सत्या चौधरी,सचिवमा इनदला यादव,कोषाध्यक्षमा गुडिया गुप्ता र सहकोषाध्यक्षमा सम्झना यादव रहेका छन् ।

यस समितिमा अन्य १४ सदस्यहरू पनि समावेश गरिएका छन् जसले संस्था र जिल्लाको साहित्यिक गतिविधिहरूलाई थप सशक्त बनाउने अपेक्षा गरिएको छ ।

कार्यक्रममा सहभागी चाैतारीका मधेस प्रदेश अध्यक्ष अभिजित रामले नवगठित समितिलाई बधाई दिंदै उनीहरूको सफल कार्यकालको शुभकामना व्यक्त गरेका थिए । संस्थाले स्थानीय साहित्य, भाषा, र संस्कृतिको प्रवर्द्धनमा अझ प्रभावकारी भूमिका खेल्ने विश्वास व्यक्त गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,२८ गते साउन ।
नेपाल विद्यालय कर्मचारी युनियन नगर कार्य समिति फतुवा विजयपुर नगरपालिकाले विद्यालयका लेखापाल तथा कार्यालय सहयोगीहरूको पारिश्रमिक वृद्धि गर्न माग गर्दै कार्यवाहक नगरप्रमुख अम्बेया खातुनकाे नाममा रहेको ज्ञापनपत्र प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवलाई बुझाएको छ ।

नगर समितिको २०८२ साल भदौ २७ गते बसेको बैठकको निर्णय अनुसार बुझाइएको उक्त ज्ञापनपत्रमा लेखापालहरूलाई प्राविधिक सहायक तृतीय श्रेणी र कार्यालय सहयोगीहरूलाई निजामती कार्यालय सहयोगी (श्रेणीविहीन) सरहको पारिश्रमिक उपलब्ध गराउन माग गरिएको छ ।
हाल नेपाल सरकारले लेखापाललाई रु.१५ हजार र कार्यालय सहयोगीलाई रु.१० हजार मात्र मासिक पारिश्रमिक उपलब्ध गराउँदै आएको उल्लेख गर्दै युनियनले यस्तो तलबमा दैनिक जीवन यापन गर्न अत्यन्त कठिन भएको जनाएको छ ।

उक्त माग नगर परिषदबाट आगामी बजेट बिनियोजनको क्रममा समावेश गर्न अनुरोध गरिएको छ । ज्ञापनपत्रमा युनियनका सचिव महेश कुमार यादव र अध्यक्ष सुरेश कुमार लामिछानेको हस्ताक्षर रहेको छ ।
विद्यालय कर्मचारीहरूको तर्फबाट उठाइएको यो आवाजले शिक्षा क्षेत्रमा काम गरिरहेका सहयोगी कर्मचारीहरूको जीवनस्तर उकास्न सहयोग पुग्ने अपेक्षा गरिएको छ ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,२७ गते साउन ।
राैतहट जिल्लाकाे माधवनरायण नगरपालिकामा बालमैत्री स्थानीय शासन घाेषणा प्रतिबद्धता समारोह सम्पन्न भएको छ।मंगलबारका दिन एक समारोहका बिच नगरपालिकाकाे वडा नम्बर -८ स्थित राजवाडामा ग्रामीण बिकास केन्द्र नेपाल र वर्ल्ड भिजन नेपालकाे आर्थिक सहयोग तथा माधवनरायण नगरपालिकाकाे समन्वयमा उक्त कार्यक्रम सम्पन्न भएको हाे।वडा अध्यक्ष तथा सभाअध्यक्ष याेगेन्द्र महताे काे अध्यक्षातामा बाेलाईएकाे कार्यक्रममा प्रमुख अतिथिका रुपमा बैजनाथ प्रसाद यादव बिशिस्ट अतिथि प्रमुख जिल्ला अधिकारी बिनाेद कुमार खडका , सशस्त्रका एसपी संताेष बस्नेत, माधवनरायणका प्रमुख प्रशासकीय अधिकृत नागेन्द्र यादव, वर्लड भिजन नेपालका प्रमिल अधिकारी , आलाेक कुमार सिंह, नेपाल पत्रकार महासंघ राैतहटका सभापति संजय कार्की , पत्रकार डिल्लीबहादुर(सुब्बा) कार्की ग्रामीण बिकास केन्द्र नेपालका सचिव प्रेम शकर कुमार यादव , काेषाध्यक्ष ममता कुमारी झा ग्रामीण विकाश केन्द्र नेपालका कार्यकरी निर्देशक आशिष कुमार सिंह, स्वास्थ्य संयाेजक श्यामजी , शिक्षा संयाेजक अरबिन्द यादव , वडा नम्बर ६ का अध्यक्ष रामनरेश राय यादव, २ का अध्यक्ष रामबिश्वास साह, वडा अध्यक्ष राजकुमार यादव लगाएतका ब्यक्तित्वहरुकाे बिशेष उपस्थितिमा कार्यक्रम बालमैत्री स्थानीय शासन घाेषना प्रतिबद्धता समारोह सम्पन्न गरिएको छ।
राकेश यादव,राैतहट, २७ गते साउन ।
मधेश प्रदेश सरकारका मुख्यमंत्री र स्वास्थ्य तथा जनसँख्या मंत्रीले प्रादेशिक अस्पताल गौरको परिसरमा सञ्चालनमा रहेका १ वर्ष पुरानो चमेना गृह क्यान्टिनका मंगलवार बेलुकी उदघाटन गरेका छन । २०८१ सालमा निर्माण भई ठेक्कामा गएको जेष्ठ महीना सम्म सञ्चालन भएको चमेना गृहको मुख्यमंत्री सतीश कुमार सिंहले उदघाटन गरेका हुन ।
३० हजार प्रति महीना रकम बुझाउने भनी २०८१ साउन देखि ठेक्कामा सञ्चालन गरिएका चमेना गृह प्रादेशिक अस्पताल गौरमा उपचार गराउन आएका जिल्लाको यमुनामाई गाउँपालिका वड़ा नम्बर २ का वड़ा अध्यक्ष सीताराम यादवलाई क्यान्टिन संचालकका कर्मचारीले बासी भात दिएपछि उत्पन्न भएको विबादका कारन अस्पताल प्रशासनले चमेना गृहमा ताला लगाएर बन्द गराएको थियो ।
पहिला दिएको ठेक्का रद गरी प्रादेशिक अस्पताल गौरले दोस्रो पटकको ठेक्का स्वीकृत गरी सकिएको बुझिएको छ ।
अस्पतालको परिसरमा दक्षिण तरफमा रहेको पुरानो घरलाइ मरमत सम्भार गरी बनाइएको एमसीएच क्लिनिकलाइ पनि मुख्यमंत्री सिंह र स्वास्थ्य मंत्री शत्रुधन प्रसाद सिंहले उदघाटन गरेका हुन । १ बर्ष पहिला निर्माण भई सञ्चालन भई सकेका चमेना गृहको वालमा आफ्नो नामको शिलालेख राख्नको लागि मुख्यमंत्री उदघाटन गरेको भनी आलोचना समेत हुन थालेका छन ।
प्रादेशिक अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिका अध्यक्ष मो अनवर हासमीले आफ्नो पदावधि बढाउने उदेश्यले यस्तो कार्य गरेको भनी स्थानीयहरुले टिपण्णी गरिरहेका छन । जनता समाजवादी पार्टी नेपालका सरकार हुदा जसपाका पूर्व प्रदेश सांसद रामकिशोर यादवको सहयोगमा व्यवस्थापन समितिका जिम्मेवारी पाएका हासमीले वर्तमान अवस्थामा नेकपा एमालेको नेता संग सहकार्य गरी दोस्रो कार्यकालको लागि पहल गरिरहेको बुझिएको छ ।
हासमीको अवधि भदौ १५ गते सकिदैछ । आफ्नो पद जोगाउन जनता समाजवादी पार्टी संग अनौपचारिक रुपमा टाढा भएका हासमी अहिले एमालेका नेताको शरणमा पुगेका छन । समाचार स्रोतका अनुसार अवधि थप गर्नको लागि ठूलो रकमको चलखेल गरिएको बाजारमा हल्ला चालेको छ । गौर प्रादेशिक अस्पतालको अध्यक्षमा अनवर हासमी आए देखि सरसफाईमा सुधार भएपनि आर्थिक पारदर्शितामा पटक पटक बिबाद हुदै आएको छ । कर्मचारीको न्युक्ति , आन्तरिक आय र व्ययको विषयमा हासमी ऊपर अनियमितताको आरोप लाग्दै आएको हो ।
आरके श्रीवास्तव,राैतहट,२७ गते साउन ।
रौतहटकाे फतुवा बिजयपुर नगरपालिका–३ का स्थानीयहरूले हाल भाडामा सञ्चालनमा रहेको वडा कार्यालयलाई गाउँमै रहेको आवि मेवाको पुरानो भवनमा सार्न माग गरेका छन् । आज वडामा आयोजित भेटघाट कार्यक्रममा कार्यवाहक नगरप्रमुख अम्बेया खातुनसमक्ष उनीहरूले औपचारिक रूपमा यो माग अघि सारेका हुन् ।
वडा सदस्य नन्दु बैठाको नेतृत्वमा उपस्थित स्थानीयहरूले उक्त भवन हाल खाली रहेको र सार्वजनिक सम्पत्तिको सदुपयोग हुने भन्दै वडा कार्यालय त्यहीँ सार्न प्रस्ताव गरेका थिए ।

कार्यवाहक नगरप्रमुख खातुनले उक्त मागलाई गम्भीरतापूर्वक लिने बताउँदै यस विषयमा वडा अध्यक्ष रामईश्वर यादवसँग छलफल गर्ने आश्वासन दिइन् । साथै, यो विषय कार्यपालिका बोर्डको बैठकमा पनि पेस गरिने जानकारी दिइन् । उनले स्वास्थ्य सेवा पहुँचमा ल्याउनका लागि आधारभूत स्वास्थ्य सेवा केन्द्रको व्यवस्थापन गर्ने प्रतिबद्धता पनि जनाइन् । कार्यक्रममा प्रदेश सांसद प्रत्यासी मो. सेराज पनि सहभागी थिए । उनले जनताको मागप्रति आफूहरू संवेदनशील रहेको धारणा राखेका थिए ।

यसैबीच वडा अध्यक्ष रामईश्वर यादवले प्रतिक्रिया दिँदै भवन स्थान सुरक्षित भएमा आफू कार्यालय सार्न तयार रहेको बताए । तर पुरानो विद्यालय भवन प्रयोग गर्नुअघि त्यसलाई आवश्यक रूपमा व्यवस्थित गर्नुपर्नेमा उनले जोड दिए ।

उनले वडामा रहेको ऐलानी जग्गामा नयाँ वडा कार्यालयको निर्माणका लागि यस वर्ष नै बजेट छुट्याउने तयारीमा रहेको जानकारी दिए । “वडा कार्यालय जसरी पनि आफ्नै भवनमा लैजाने योजना छ,” यादवले बताए ।
स्थानीय जनताले सार्वजनिक सेवाको सहज पहुँच र सरकारी स्रोतको दिगो प्रयोगका लागि वडा कार्यालय सार्नुपर्ने माग गर्दै आएको पृष्ठभूमिमा यो विषय पुनः प्राथमिकतामा आएको हो ।
आरके श्रीवास्तव,राैतहट,२७ गते साउन ।
रौतहटको फतुवाबिजयपुर नगरपालिका वडा नं. ९ मा भुमिहिन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासी समस्याको समाधानका लागि “वडा सहजीकरण समिति” काे बैठक सम्पन्न भएको छ ।
वडा अध्यक्ष राकेश यादव (पप्पु) को अध्यक्षतामा बसेको बैठकले वडामा रहेका सुकुम्बासी, भूमिहीन दलित र अव्यवस्थित बसोबासीका समस्याहरूलाई प्राथमिकताका साथ समाधान गर्ने निर्णय गरेको छ । बैठकमा विगतमा राष्ट्रिय भूमि आयोगद्वारा थालिएको तर अधूरो अवस्थामा रोकिएको कार्यलाई निरन्तरता दिँदै पूरा गर्ने सहमति समेत भएको छ ।

बैठकमा वडाका सचिव बिल्टु राय यादव, सहसचिव हरिनारायण चौधरी, राष्ट्रिय भूमि आयोगका प्रतिनिधि प्रेम साह, नगरपालिकाका अमिन राजकिशोर यादव, वडा सदस्यहरू लगायत स्थानीय बासिन्दाहरूको सहभागिता रहेको थियो । सहभागीहरूले वडाभित्र रहेका भूमिसम्बन्धी समस्या समाधानका लागि समन्वयात्मक ढंगले अगाडि बढ्नुपर्ने आवश्यकता औंल्याएका थिए ।
बैठकमा अव्यवस्थित बसोबासीहरूको तथ्यांक संकलन, नक्सांकन तथा अभिलेखीकरणको कार्यलाई तीव्रता दिने, छानबिन गरी वास्तविक लाभग्राहीको पहिचान गर्ने र भूमि व्यवस्थापनको दीर्घकालीन योजना तयार गर्ने निर्णय पनि गरिएको छ ।

स्थानीय सरकार र सरोकारवाला निकायबीचको सहकार्यमा अब छिट्टै भूमिहीन तथा सुकुम्बासीहरूलाई कानूनी रूपमा व्यवस्थित गरिने अपेक्षा गरिएको छ ।
आरके श्रीवास्तव,राैतहट,२७ गते साउन ।
राैतहटकाे फतुवा बिजयपुर नगरपालिकाको वडा नम्बर ५ र ७ स्थित दुई वटा शिवचर्चा मण्डललाई सामाग्री वितरण गरिएकाे छ । हर्षाहा र सन्तपुरकाे साे मण्डललाई आज एक विशेष कार्यक्रमबीच धार्मिक तथा सांस्कृतिक सामग्री वितरण गरिएको छ ।
एक कार्यक्रमका बिच कार्यवाहक नगरप्रमुख अम्बेया खातुनले साे सामाग्री वितरण गरिएकाे हाे । उहाँले धार्मिक र सांस्कृतिक मूल्यको संरक्षण र सम्वर्द्धनका लागि नगरपालिकाले निरन्तर सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

वितरण गरिएका सामग्रीहरूमा हरमुनियम, मादल, झाल, माइक सेट, हर्न, एम्प्लिफायर लगायत रहेका छन् । यी सामग्रीहरू पेटभर्वा, टेंग्राहा, विजयपुर र रामदासीमा सक्रिय शिवचर्चा मण्डलहरूलाई पनि क्रमशः वितरण गरिनेछ ।
आर्थिक वर्ष २०८१/८२ मा नगरसभाबाट स्वीकृत बजेटले खरिद भएको ती सामाग्रीहरू वितरण गरिएको हाे । सो अवसरमा प्रदेश सभा सदस्य पदका प्रत्यासी मोहम्मद सेराज पनि कार्यक्रममा सहभागी हुनुभएको थियो । उहाँले धार्मिक संस्थाहरूले संस्कृतिको संरक्षणमा महत्त्वपूर्ण भूमिका खेल्ने भएकाले राज्य र स्थानीय तहले यस्ता संस्थालाई सहयोग गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

प्रमुख प्रशासकीय अधिकृत भरत प्रसाद यादवले भने, “नगरपालिकाले धर्म र संस्कृतिको संरक्षणमा विशेष ध्यान दिइरहेको छ । यस किसिमका कार्यक्रमहरूले सामाजिक एकता र सांस्कृतिक चेतनालाई बढावा दिने विश्वास लिएको छु।”
जिन्सी शाखा प्रमुख हरिन्द्र प्रसाद यादवले सामग्री वितरण सम्बन्धी व्यवस्थापकीय पक्षबारे जानकारी गराउँदै भने, “सुनियोजित रूपमा आवश्यकताको मूल्याङ्कन गरेर सामग्री वितरण गरिएको हो, जसले मण्डलहरूको दैनिक धार्मिक क्रियाकलापलाई सहज बनाउनेछ।”
उनले भने,नगरभरिकाे ७ वटा टिमलाई उक्त सामाग्रीहरू वितरण गरिने बताए ।
यस कार्यक्रमले स्थानिय समुदायमा धार्मिक चेतना र सांस्कृतिक गौरव अभिवृद्धि गर्ने अपेक्षा लिइएको छ ।
आरके श्रीवास्तव,राैतहट,२६ गते साउन ।
लोकतान्त्रिक पत्रकार संघको संशोधित विधान अनुसार धनुषाका वरिष्ठ सञ्चारकर्मी धिरेश कुमार दत्तलाई केन्द्रीय सदस्य पदमा मनोनयन गरिएको छ । संघको तर्फबाट जारी मनोनयन पत्रमा दत्तलाई पदभार ग्रहण गरेको जानकारी दिइएको छ र उनको कार्यकाल सफल हुने विश्वास व्यक्त गरिएको छ ।
संघका अध्यक्ष कामरेन्द्र वर्माले दत्तलाई मनोनयन गरिएको सहर्ष जानकारी गराउँदै देश, मधेश, पत्रकारिता क्षेत्र र पार्टीको हितमा उल्लेखनीय योगदान रहने विश्वास व्यक्त गरेका छन् ।

धिरेश कुमार दत्त हाल दत्त आरके मिडिया नेटवर्क, कलर्स एफएम १०२.४ मेगाहर्ज, अनलाइन टिभी र कलर्स खबरमा आबद्ध भई सञ्चार क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै आइरहेका छन् ।
उनको मनोनयनसँगै धनुषा लगायत मधेश क्षेत्रका पत्रकारिता क्षेत्रमा थप ऊर्जा र सकारात्मक सन्देश प्रवाहित भएको स्थानीय सञ्चारकर्मीहरूले जनाएका छन् ।
काठमाडौं । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले मधेसको बोलबम संस्कृतिले मधेस र काठमाडौंलाई जोडन सफल भएको बताएका छन् ।
ओम बोलबम काँवरिया संघ काठमाडौंले आज काठमाडौंको जोरपाटीमा आयोजित ११औँ सत्यनारायण भगवानको पूजामा सहभागि आजपा अध्यक्ष साहले मधेसको बोलबम संस्कृती काठमाडौंमा स्थापित भएको बताए ।

‘शिवको पवित्र धर्ती काठमाडौंमा बोलबम संस्कृति स्थापित भएको छ । तपाईहरु निजि सम्पती खर्च गरेर शिवभक्ती, समाज एवं विश्वको कल्याणमा लाग्नुभएको छ । सत्यनारायण, सरस्वती पुजा, छठ पर्व, लक्ष्मी पुजा, विश्वकर्मा पुजा, ब्रह्मबाबाको पुजा तपाई हामीले निजि सम्पती खर्च गरेर पनि धर्मसंस्कृती जोगाउन सफल भएका छौं,’ आजपा अध्यक्ष साहले भने, ‘तर सरकार र राज्य यस बारेमा मौन छ । सरकारी मान्छेहरु चाडपर्वको नाममा १३ महिनाको तलबभत्ता खाएर पनि उनीहरुले संरक्षण गर्न सकेका छैनन् ।’
मधेसमा धुमधामसंग मनाउने बिभिन्न चाडपर्व अहिले काठमाडौंको पवित्र धर्तीमा पनि मनाउन थालिएको बताउदै उनले अब आउने दिनमा मधेसको गाउँ गाउँमा ग्राम देवताको रुपमा पुजा गरिने ब्रह्मबाबाको मन्दिर पनि काठमाडौंमा स्थापना गर्न आवश्यक रहेको बताए ।
काठमाडौंमा ब्रह्मबाबाको मन्दिर नभएको बताउदै मौलापुर नगरपालिकाले काठमाडौंमा ब्रह्मबाबाको मन्दिर स्थापना गर्न खोजेको उनले बताए । ‘हामी सबैको ग्राम देवता, हामीले ग्राम देवताको रुपमा पुजा गर्दै आएको ब्रह्मबाबाको मन्दिर छिटै नै तपाईहरुको साथ सहयोगले काठमाडौं स्थापना हुने विश्वास मलाई छ,’ आजपा अध्यक्ष साहले भने ।

मुलुकमा भ्रष्टाचार, अनियमितता, कर आतंक, लुट बढदै गइरहेको बताउदै उनले भगवान शिवले ति लुटेरा, भ्रष्टाचारीहरुलाई नास गर्ने विश्वास हुने व्यक्त गरे । असत्यमाथि सत्यको सधै बिजयी हुने बताउदै समाजमा बिकृती, विसंगती, आपराध बढदै गए भगवानले उनीहरुको नास गर्दै आएको इतिहास रहेको भन्दै उनले रामायण, महाभारतको स्मरण गरे ।
ओम बोलबम काँवरिया संघ काठमाडौंका अध्यक्ष रामऔतार पंडितको अध्यक्षतामा भएको कार्यक्रममा नारायण सुवेदी, सुभाष साह, विर्सेनप्रसाद कुशवाहा, सुनिल ठाकुर, रन्जु साह, बालकृष्ण सापकोटा, वीरेन्द्र ठाकुर, अर्चना झा, गौरिशंकर साह, रामायण गुप्ता, सुजल लामा लगायतको विशेष सहभागिता रहेको थियो ।