आरके श्रीवास्तव,राैतहट,१५ गते कार्तिक ।
राैतहटको कटहरिया बहुमुखी क्याम्पसमा केही दिनदेखि चलेको विवाद अन्ततः स्थानीय भद्रभलादमी र सुरक्षाकर्मीहरूको सक्रिय पहलमा साम्य भएको छ ।
आय–व्यय प्रस्तुत गर्ने बेला क्याम्पसमा झडप हुने सम्भावना देखिएपछि त्यहाँ उपस्थित सम्पूर्ण पक्ष — आन्दोलनरत युवाहरू,वडा अध्यक्ष, प्राध्यापक तथा शिक्षक वर्ग, राजनीतिक दलका प्रतिनिधि, सुरक्षाकर्मी, सञ्चारकर्मी, सञ्चालक समिति सदस्य तथा अभिभावकहरूबीच आपसी छलफल गरी अवस्था नियन्त्रणमा ल्याइएको हो ।
युवाहरुको मागअनुसार अब क्याम्पसको आय–व्यय विवरण आधिकारिक वेबसाइटमार्फत सार्वजनिक गरिने निर्णय गरिएको छ । बैठकपछि जानकारी दिँदै प्राध्यापक जयमंगल प्रसाद साहले आर्थिक वर्ष २०८०/८१ र २०८१/८२ का आम्दानी र खर्च विवरण वेबसाइटमा राख्ने निर्णय सर्वसम्मत रूपमा पारित गरिएको बताए । उनका अनुसार, प्रस्तुत विवरणबारे चित्त नबुझेमा कटहरिया नगरपालिकाको शिक्षा शाखा वा सम्बन्धित निकायमा औपचारिक रूपमा गुनासो गर्न सकिने व्यवस्था मिलाइएको छ ।
बैठकपछिकाे निर्णयमा युवाहरूले समेत सहमति जनाउँदै हस्ताक्षर समेत गरेका छन् ।
क्याम्पस प्रमुख गजेन्द्र प्रसाद यादवले विवाद समाधानका लागि सबै पक्षले देखाएको संयम र जिम्मेवारीप्रति धन्यवाद व्यक्त गर्दै भने, “हाम्रो प्राथमिकता शैक्षिक वातावरणलाई स्थिर र पारदर्शी बनाउने हो । अबदेखि सबै आर्थिक विवरण खुला रूपमा सार्वजनिक गरिनेछ, ताकि कुनै भ्रम वा अविश्वास नरहोस्।”
त्यस्तै, क्याम्पसका लेखाप्रमुख रामनिवास यादवले भने, “आर्थिक विवरणहरू यथासक्य शीघ्र वेबसाइटमा अपलोड गरिनेछ । सबै आय–व्यय प्रमाणसहित अभिलेख सुरक्षित रूपमा राखिएका छन्, जसले क्याम्पसको वित्तीय पारदर्शिता सुनिश्चित गर्नेछ।”
बैठकले यस सूचना विपरीत कुनै पनि हुलदंगा वा अराजक गतिविधि भएमा कानुन बमोजिम कडा कारबाही गरिने चेतावनी पनि दिएको छ ।
आय–व्यय प्रस्तुत गर्ने क्रममा क्याम्पस परिसरमा झडपको अवस्था सिर्जना भएको थियो । स्थिति जटिल बन्दै जाँदा गाउँगाउँबाट धेरै संख्यामा सर्वसाधारण क्याम्पस परिसरमा भेला भएका थिए, जसका कारण सुरक्षाकर्मीहरू उच्च सतर्कतामा रहेका थिए ।
आरके श्रीवास्तव,राैतहट,कार्तिक १४ गते ।
मधेस प्रदेश सरकारका निवर्तमान अर्थमन्त्री सुनिलकुमार यादव (जितेन्द्र) ले आज नेपाली काँग्रेसका नेता तथा कार्यकर्ताहरूसँग भेटघाट गरेका छन् । उनले कटहरिया र जमुनिया लगायतका स्थानहरूमा पुगेर स्थानीय नेताहरूसँग समसामयिक राजनीतिक अवस्था, विकासका प्राथमिकता र पार्टी सुदृढीकरणका विषयमा छलफल गरेका हुन् ।
भेटका क्रममा अर्थमन्त्री यादवले प्रदेश सरकारमा रहेर आर्थिक पारदर्शिता, समावेशी विकास र मधेस प्रदेशको आर्थिक सशक्तीकरणका लागि गरेका कामहरूको जानकारी दिएका थिए । उनले आगामी दिनमा पनि जनताका समस्या समाधानमा आफू सधैं प्रतिबद्ध रहने बताएका छन् ।
सो क्रममा यादवले कटहरिया वडा नं. २ निवासी प्रहरी हवलदार विजय राय यादव सँग पनि भेट गरेका थिए । साथै, भेटघाट कार्यक्रममा नेपाली काँग्रेसका क्षेत्रीय सभापति तथा कटहरिया नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष सर्फलाल गुप्ता, नेता राकेश गिरी, महादेव साह लगायतका स्थानीय नेता तथा कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।
अर्थमन्त्री यादवले भेटघाटका क्रममा पार्टीभित्र एकता र जनताप्रति उत्तरदायित्वलाई प्राथमिकता दिन सबैलाई आग्रह गरेका थिए ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक १४ गते ।
राैतहटको कटहरिया नगरपालिका–४ मा रहेको दलित प्राथमिक विद्यालय बिहीबारदेखि तालाबन्दी गरिएको छ । शुक्रबारसम्म तालाबन्दीको दोस्रो दिन पुगेको छ भने विद्यालयको पठनपाठन ठप्प भएको छ ।
स्थानीय लालबाबु दासका अनुसार विद्यालयमा वित्तीय अनियमितता र पारदर्शिताको अभावका कारण स्थानीयहरूले तालाबन्दी गरेका हुन् । उनकाे भनाइमा विद्यालयका जिम्मेवारहरूले लेखा–जोखा माग्दा पनि विवरण नदिएपछि तालाबन्दी गर्नुपरेको हो । “विद्यालयमा करिब १६ लाख रूपैयाँ हिनामिना भएको आशंका छ,” दासले भने, “हामीले हिसाब माग्दा नदिएको र स्थायी शिक्षक माग समेत पूरा नभएकाले तालाबन्दी गर्न बाध्य भयौं।”
उता कटहरिया नगरपालिकाका शिक्षा सह–संयोजक सुरेन्द्र ठाकुरले तालाबन्दी खुलाउन पहल भइरहेको बताए । “छात्रवृत्तिसम्बन्धी विषयमा तालाबन्दी गरिएको बुझिएको छ,” उनले भने, “हामी विद्यालय सञ्चालन सामान्य बनाउन प्रयासरत छौं।”
तालाबन्दीका कारण विद्यालयका विद्यार्थीहरू निरन्तर पठनपाठनबाट वञ्चित भएका छन् । स्थानीय अभिभावकहरूले विद्यालयमा देखिएको विवाद छिटो समाधान गर्न सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।
आरके श्रीवास्तव,रौतहट, कार्तिक १४ गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले सुरु गरेको तालाबन्दी शुक्रबार तेस्रो दिन पनि जारी रहेको छ । तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले बुधबारदेखि नगरपालिका मातहतका वडा नं. १ देखि ९ सम्मका सबै वडा कार्यालय तथा नगरपालिका कार्यालयमा तालाबन्दी गरेका हुन् ।

कर्मचारीहरूले विगतमा गरेको आन्दोलनका क्रममा दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने नगरपालिकाको लिखित आश्वासन कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् । उनीहरूको भनाइमा लामो समयदेखि सेवा दिँदै आए पनि पारिश्रमिक नपाउँदा दैनिक जीवन नै प्रभावित भएको छ ।
२०८२ कार्तिक १२ गते बसेको कर्मचारीहरूको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी र “धारणा कार्यक्रम” अगाडि बढाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार उनीहरूले औपचारिक रूपमा कटहरिया नगरपालिकाका कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् भने बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, तथा वडा नं. १ देखि ९ का वडा कार्यालयहरूमा पनि ज्ञापनपत्र पठाइएको छ ।

कर्मचारीहरूको आन्दोलनमा कटहरिया नगरपालिकाका पूर्व नगरप्रमुख सियाराम कुशवाहाले पनि ऐक्यबद्धता जनाएका छन् । उनले करार तथा ज्यालादारी कर्मचारीहरूको तलबभत्ता तुरुन्त उपलब्ध गराउन नगरपालिकालाई आग्रह गर्दै “काम गरेको पारिश्रमिक पाउनु त उनीहरूको अधिकार हो” भन्ने अभिव्यक्ति दिएका छन् ।
यस विषयमा बुझ्न कटहरिया नगरपालिकाका कार्यालय प्रमुख गणेश नेपालीलाई सम्पर्क गर्ने प्रयास गर्दा फोन उठाइएन् ।
कर्मचारीहरूले चेतावनी दिएका छन् — जबसम्म बक्यौता तलबभत्ता भुक्तानी हुँदैन, उनीहरूको शान्तिपूर्ण आन्दोलन निरन्तर रहनेछ ।
आरके श्रीवास्तव,राैतहट,१४ गते कार्तिक ।
रौतहटको गाैर दुर्गा भगवती गाउँपालिका–पिपराबाट काठमाडौं जाँदै गरेको डल्फिन रात्री बस दुर्घटनामा परेपछि मधेस प्रदेश सरकार सक्रिय भएको छ । दुर्घटनामा घाइते भएका यात्रुहरूको उपचार भईरहेको छ भने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले घाइतेहरूको उपचारमा कुनै पनि प्रकारको असुविधा नहोस् भनेर चितवनका प्रमुख जिल्ला अधिकारी गणेश आर्याल (सीडीओ) सँग सीधा समन्वय गरेका छन् ।
मुख्यमन्त्री सोनलले भने, “घाइते यात्रुहरूको उपचारमा कुनै कमी हुन दिनु हुँदैन् । प्रदेश सरकार पूर्ण रूपमा तयार छ र आवश्यक सहयोग तुरुन्त उपलब्ध गराइनेछ।”
हाल उपलब्ध विवरण अनुसार, दुर्घटनामा घाइते भएका मध्ये १५ जना चितवन मेडिकल कलेजमा,१३ जना नेसनल सिटी अस्पतालमा, र ५ जना भरतपुर अस्पतालमा गरि ३३ जना घाइते उपचाररत छन् ।
दुर्घटनाको खबरले सम्पूर्ण समुदायलाई दुःखी बनाएको छ । मुख्यमन्त्री साेनलले घाइतेहरूको शीघ्र स्वास्थ्य लाभको कामना गरेका छन् ।
हनुमत यादव,गाैर,कार्तिक १४ गते ।
रौतहटसहित देशका विभिन्न क्षेत्रमा परिरहेको लगातार वर्षाले किसानहरू चिन्तित बनेका छन् । काटेर सुकाउन राखिएको पाकेको धान निरन्तर झरीले भिजेपछि खेतमै उम्रिन थालेको छ, जसले धान उत्पादनमा ठूलो क्षति पुर्याउने आशंका बढाएको छ ।
बिहीबार देखि सुरु भएको वर्षा रोकिएन,शुक्रबार बिहानदेखि पुनः लगातार झरी परेपछि किसानहरू धान जोगाउने उपाय खोज्दै खेतमै दौडिरहेका छन् । समयमै सुकाउन नपाएको धान भिजेपछि खराब हुन थालेको किसानहरूको गुनासो छ ।
गत बाढीले नै अघिल्लो बालीमा ठूलो नोक्सानी पुर्याइसकेको अवस्थामा हालको लगातार वर्षाले बाँकी उत्पादन पनि जोखिममा पारेको छ । किसानहरू भन्छन्, “बचेको धान पनि पानीले भिजेपछि अन्न पाइन्छ कि पाइँदैन भन्ने डर छ। गहुँ, तेलहन र दलहन बाली रोप्ने समय पनि ढिलो हुँदै गएको छ।”
रौतहटमा प्रत्येक वर्ष बाढी, सुख्खा र असिनाजस्ता प्राकृतिक विपत्तिका कारण किसानहरू ठूलो क्षतिवाट गुज्रिन बाध्य हुने गरेका छन् । तर सम्बन्धित निकाय र स्थानीय तहबाट प्रभावकारी पहल नहुँदा किसानको समस्या वर्षेनि दोहोरिँदै आएको उनीहरूको आरोप छ।
किसानहरूले आगामी केही दिनभित्र मौसम सुधार नभए यस वर्षको धान उत्पादनमा ठूलो गिरावट आउने चेतावनी दिएका छन् ।
बज्जिकाञ्चल संवाददाता,राैतहट,कार्तिक १३ गते ।
रौतहटको कटहरिया नगरपालिकामा करार र ज्यालादारीका कर्मचारीहरूले बुधबारदेखि सुरू गरेको तालाबन्दी शुक्रबार दोश्रो दिन पनि जारी राखेका छन् । तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्ट कर्मचारीहरूले नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका सबै वडा कार्यालयहरूमा तालाबन्दी गर्दै नगरपालिका कार्यालयसमेत बन्द गरेका हुन् ।
कर्मचारीहरूले विगतमा गरेको आन्दोलनका क्रममा नगरपालिकाले दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिएको भए पनि त्यो कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
२०८२ कार्तिक १२ गते बसेको कर्मचारीहरूको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी र “धारणा कार्यक्रम” अगाडि बढाउने निर्णय गरेको थियो । सो निर्णयअनुसार उनीहरूले औपचारिक रूपमा कटहरिया नगरपालिकाका कार्यालय प्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् । साथै, बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, तथा वडा नं. १ देखि ९ का वडा कार्यालयहरूमा पनि ज्ञापनपत्र पठाइएको छ ।
कर्मचारीहरूको भनाइमा, “हामीले लामो समयदेखि नगरपालिकाको सेवा सुम्पिँदै आएका छौं, तर तलबभत्ता नपाउँदा दैनिक जीवन प्रभावित भएको छ। जबसम्म बक्यौता रकम भुक्तानी हुँदैन, हामी शान्तिपूर्ण आन्दोलन जारी राख्नेछौं।”
यस विषयमा बुझ्न कटहरिया नगरपालिकाका कार्यालय प्रमुख गणेश नेपालीलाई सम्पर्क गर्न खोज्दा फोन उठाइएको छैन।
सुनसरी, कात्तिक १३ गते ।
लोकतान्त्रिक पत्रकार संघ, सुनसरी (कोशी प्रदेश) ले पत्रकार देवराजा यादवमाथि भएको आक्रमण प्रयासप्रति तीव्र निन्दा र आपत्ति जनाएको छ । संघले पत्रकारमाथि भएको आक्रमण प्रयासलाई प्रेस स्वतन्त्रता, अभिव्यक्ति स्वतन्त्रता र पत्रकार सुरक्षामाथि गम्भीर चुनौतीको रूपमा व्याख्या गरेको छ ।
संघद्वारा जारी प्रेस विज्ञप्तिअनुसार, सुनसरीको कोशी गाउँपालिका–८ हरिपुर भाण्टाबारी निवासी पत्रकार देवराजा यादवमाथि बुधबार साँझ समाचार संकलनका क्रममा कोशी व्यारेजस्थित भन्सार कार्यालय अगाडि केही भन्सार एजेन्ट तथा व्यापारीहरुले आक्रमण प्रयास गरेका थिए ।
विज्ञप्तिमा उल्लेख गरिएको अनुसार, समिम शेख नामका व्यक्तिले पत्रकार यादवको माइक र बुम तोडफोड गर्दै शारीरिक आक्रमणको प्रयास गरेका थिए । पीडित पत्रकार यादवले घटनापछि आफ्नो सुरक्षाको माग गर्दै सम्बन्धित निकायलाई मौखिक जानकारी गराइसकेका छन् ।
घटनाबारे प्रतिक्रिया दिँदै सहायक प्रमुख जिल्ला अधिकारी लोकमान श्रेष्ठले मौखिक जानकारी प्राप्त भएको र लिखित उजुरी आएपछि प्रहरीलाई छानबिन र कानुनी कारबाहीका लागि निर्देशन दिने बताएका छन् ।
संघका सुनसरी जिल्ला अध्यक्ष सितेश कुमार दासले पत्रकारमाथिको यस्तो आक्रमण प्रयास प्रेस स्वतन्त्रतामाथिको अतिक्रमण भएको बताउँदै दोषीहरूलाई तत्काल कानूनी दायरामा ल्याउन माग गरेका छन् । उनले राज्यका सुरक्षा निकाय र प्रशासनलाई घटनाप्रति गम्भीर ध्यान दिन आग्रह गर्दै, पत्रकार देवराजा यादवको सुरक्षाको पूर्ण जिम्मेवारी राज्यले लिनु पर्ने बताएका छन् ।
संघले विज्ञप्तिमार्फत पत्रकार यादवप्रति ऐक्यबद्धता जनाउँदै भविष्यमा यस्ता घटनाहरू नदोहर्याउन आवश्यक कानूनी कदम चाल्न सम्बन्धित निकायसँग माग गरेको छ ।
राैतहट,कार्तिक १२ गते ।
रौतहटको कटहरिया नगरपालिकामा आजदेखि करार र ज्यालादारीका कर्मचारीहरूले तालाबन्दी गरेका छन् । नगरपालिका मातहतका वडा नं. १ देखि वडा नं. ९ सम्मका वडा कार्यालयहरूमा कार्यरत कर्मचारीहरूले आफ्नो तलबभत्ता बक्यौता भुक्तानी नहुँदा असन्तुष्टि जनाउँदै सबै वडा कार्यालयमा तालाबन्दी गर्दै नगरपालिका कार्यालय समेत बन्द गरेका हुन् ।
कर्मचारीहरूले नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतले विगत असोज २१ गतेदेखि २७ गतेसम्मको आन्दोलनका क्रममा दिपावली र छठ पर्व अगावै बाँकी तलबभत्ता भुक्तानी गर्ने लिखित आश्वासन दिएको भए पनि त्यो कार्यान्वयन नहुँदा पुनः आन्दोलनमा उत्रिनुपरेको बताएका छन् ।
कर्मचारीहरूले २०८२ कार्तिक १२ गते बसेको बैठकले शान्तिपूर्ण रूपमा तालाबन्दी गर्दै “धारणा कार्यक्रम” अगाडि बढाउने निर्णय गरेको हो । उनीहरूले ज्ञापनपत्र मार्फत कटहरिया नगरपालिकाका कार्यालय प्रमुखलाई यो बारे औपचारिक जानकारी दिएका छन् ।
उनीहरूले बोधार्थका लागि जिल्ला प्रशासन कार्यालय रौतहट, जिल्ला समन्वय समिति रौतहट, र वडा नं. १ देखि ९ का वडा कार्यालयहरूमा पनि ज्ञापनपत्र पठाएका छन् ।
कर्मचारीहरूले भनेका छन्, “हामीले लामो समयदेखि नगरपालिकाको सेवा सुम्पिँदै आएका छौं, तर तलबभत्ता नपाउँदा दैनिक जीवन प्रभावित भएको छ। जबसम्म बक्यौता रकम भुक्तानी हुँदैन, हामी शान्तिपूर्ण आन्दोलन जारी राख्नेछौं।”
यसबारे नगरपालिकाका जिम्मेवार अधिकारीहरूले भने औपचारिक प्रतिक्रिया दिएका छैनन् ।
आरके श्रीवास्तव,राैतहट,असाेज २१ गते ।
अबिरल वर्षाका कारण रौतहट जिल्लाका विभिन्न स्थानहरूमा नदी, खोला र नालाहरूमा पानीको प्रवाह कायमै छ । डुबानका कारण जनधनको क्षति समेत भएको पुष्टि गर्दै जिल्ला प्रहरी कार्यालय, रौतहटले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरेको छ ।
गृह मन्त्रालयअन्तर्गत जिल्ला प्रहरी कार्यालयको सूचना सम्प्रेषण शाखाले असोज २० गते एक सार्वजनिक अनुरोध जारी गर्दै आम जनसमुदायलाई नदि, खोला तथा डुबान सम्भावित स्थानहरूमा जानबाट रोक्न आग्रह गरेको छ । बालबालिका, वृद्धवृद्धा लगायत जोकोही व्यक्तिलाई माछा मार्ने, पौडी खेल्ने, काठ दाउरा संकलन गर्ने जस्ता कार्यका लागि पानीको छेउमा जान दिनु घातक हुनसक्ने भन्दै विशेष सतर्कता अपनाउन भनिएको छ ।
प्रहरीको सूचनामा भनिएको छ, “अबिरल वर्षाको कारणले खानेपानीको मुहान समेत दुषित हुनसक्ने देखिन्छ। सरसफाइको उचित ध्यान नदिए हैजा, झाडापखाला लगायतका रोगहरू फैलिन सक्ने सम्भावना उच्च छ।”
प्रहरी कार्यालयले देवाही गोनाही, राजपुर लगायतका क्षेत्रमा दुर्घटना भइसकेको समेत जनाउँदै जनस्वास्थ्य र सुरक्षाका लागि सजग रहन आह्वान गरेको छ । साथै, यस संकटको बेला धैर्यता र संयमता अपनाउन सम्पूर्ण जनसमुदायमा अपिल गरिएको छ ।
यसबाहेक, जिल्लाबासीलाई यथासक्य घरमै बस्न र सुरक्षाको मापदण्ड पालना गर्न आग्रह गरिएको छ। संचारकर्मीहरूलाई यस जानकारीलाई विभिन्न माध्यमबाट प्रचार-प्रसार गरी आमजनसमुदायमा सूचना पुर्याउन समेत विशेष अनुरोध गरिएको छ ।