आर एन पटेल,साउन २९ गते
बौधिमाइ नपा २ इनर्वा नदिपारीमा स्वास्थ्य सेवा इकाई उदघाटन कार्य सम्पन्न भएको छ ।
रौतहट जिल्लाको बौंधीमाई नगरपालिका वडा नं । २ इनर्वाटोल लाल बकैया खोला पारीमा स्वास्थ्य सेवा इकाई कार्यालयको उद्दघाटन कार्य नगर प्रमुख प्रदीप कुमार यादव तथा वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलद्धारा आज सोमबार विधिवत रुपमा सम्पन्न भएको छ । कार्यक्रम वडा अध्यक्ष धर्मेन्द्र प्रसाद पटेलको अध्यक्षतामा सम्पन्न भएको छ । वडा अध्यक्ष पटेलको अथक प्रयास पछि स्वास्थ्य सेवा इकाई स्थापना भएको स्थानियहरु बताएका छन् । वडा नं २ को नदिपारी अति विकट ठाउँ भएकोले स्वास्थ्य सेवा बाट वञ्चित भएका स्थानिय बासीहरुले गाउँमै स्वास्थ्य सेवा स्थापना भएको हुँदा खुशी व्यक्त गर्दै वडा अध्यक्ष पटेललाई धन्यबाद ज्ञापन गरेका छन् ।

साथै यस स्वास्थ्य सेवा इकाईबाट सेवा लिई थप लाभ लिनका लागि उद्दघाटन सँगै वडा अध्यक्ष पटेलले गर्भवती सुत्केरी महिलालाई प्रत्येक पटक चेकजाँच वापत पौष्टिक आहारको लागि १० वाट अण्डा र सुत्केरी किट दिइने घोषणा गर्नु भएको छ ।
कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रमोद राय यादव, स्वास्थ्य संयोजक तारकेश्वर प्रसाद पटेल, सहायक स्वास्थ्य संयोजक राकेश यादव, लेखा प्रमुख अरविन्द कुमार यादव, वडा नं १ को वडा अध्यक्ष रामजोधी राउत, वडा नं ४ को वडा अध्यक्ष तुरन्त नारायण यादव, नपाका स्वास्थ्यकर्मी, महिला स्वास्थ्य सवयंसेविका, कर्मचारीवर्ग, बुद्धिजीवी, नेता कार्यकर्ता, प्रहरी प्रसासन लगायत सर्व साधारणको उपस्थिति रहेको थियो ।
रौतहट साउन २९ ।
रौतहट जिल्लाको परोहा नगरपालिका अन्तर्गत संचालित प्राथमिक स्वास्थ्य केन्द्रमा बृहत रक्तदान कार्यक्रम सम्पन्न भएको छ । उक्त रक्तदान कार्यक्रम परोहा नगरपालिका आयोजना र सामुदायिक तथा बाल विकास केन्द्र, परोहा न.पा. ६, रौतहटको सहयोगमा सम्पन्न भएको छ ।
सामुदायिक तथा बाल विकास केन्द्र, परोहा न.पा. ६, रौतहटका अध्यक्ष कृष्णा कान्तको विशेष पहलमा लगभग सयौं जना भन्दा बढिको संख्यामा व्यक्तिहरुको रक्तदान गर्न तयार रहेको थियो । नेपाल रेडक्रस गौरबाट खटिएका टिमहरुलाई भ्याई नभ्याई समस्या उत्पन्न भएको थियो ।
उक्त कार्यक्रममा आज कृष्णा कान्तको पहलमा लगभग ६३ जनाले स्वईच्छा रक्तदान गरेका छन् । नेपाल रेडक्रस सोसाईटिसँग मात्र ६३ वटा मात्र पोका रहेको कारणले ६३ जना नै रक्तदान पाएका छन् । रक्तदान जिवन दान भन्ने उद्देश्यका साथ हर्षित भई रक्तदान गर्न आएका व्यक्तिहरु रक्तदान गर्न नपाए पछि नाराश भई फिर्ता भएको कुरा सामुदायिक तथा बालविकास केन्द्रका अध्यक्ष कृष्णा कान्त पटेलले जानकारी गराउनु भएका छन् ।
सरिता श्रीवास्तव,कटहरिया, साउन २९ गते
साउन महिनाको अन्तिम सोमबारको दिन रौतहट सहति देशै भरिको शिवालय मन्दिरहरुमा दर्शनार्थीको भिडभाड देखिएको छ । जिल्लाको प्रसिद्ध शिवनगर महादेव मन्दिरमा दर्शनार्थीको घुुँईचो लागेको देखिएको छ । जिल्लाको गरुडा नगरपालिका वडा नम्बर ५ मा अवस्थित भोलेबाबाको मन्दिरमा कमरथुवा दर्शनार्थीहरुको भिड लागेको हो । साउन महिनाको अन्तिम सोमवारीको अवसर पारेर यति ठुलो संख्यामा मानिसहरुको भिडभाड देखिएको हो ।
धार्मिक तथा ऐतिहासिक स्थलको रुपमा रहेको शिवनगर महादेव मन्दिरमा सोमबार दर्शनार्थीको घुुँईचो लागेको देखिएको हो ।
शिवनगर मन्दिरमा प्रत्येक आईतवार नियमित जल चढाउन दर्शनार्थीहरु त्यहाँ पुग्ने गर्दछन् । सो अवसर पारेर शिवनगरमा रौतहट , सर्लाही,पर्सा,बारा मधेश प्रदेश भरिका साथै सीमावर्ती भारत बाट भक्तजनहरु आउने गर्दछन् ।
मुकेशकुमार यादव, सिरहा २९ भदाै ।
सिरहामा नेपाल प्रहरी श्रीमती संघद्वारा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको छ । नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिक उत्सवको अवसरमा गोलबजारमा आयोजित रक्तदान कार्यक्रम सम्पन्न भएको हो ।

नेपाल प्रहरी श्रीमती संघका आयोजना तथा स्थानिय लाइफलङ्ग हेल्थ केयर प्रालि र नेपाल रेडक्रस सोसाइटीको सहयोगमा कार्यक्रममा २१ जना नेपाल प्रहरी र २३ जना सर्वसाधारण गरी जम्मा ४४ जनाले रक्तदान गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक डुपेन्द्र वुढाथोकीले जनाएको छ।
“रक्तदान जीवन दान” मुलनाराका साथ नेपाल प्रहरी श्रीमती संघद्वारा इलाका प्रहरी कार्यालय गोलवजारले आयोजना गरिएको रक्तदान कार्यक्रममा स्थानिय वुद्धिजिवि,व्यापारी,नागरीक समाज र संचारर्मीहरुको उस्थिति रहेको प्रहरी निरीक्षक बुढाथोकीले जनाए ।

हेमन्त केसी/न्युज कारखाना,सुर्खेत, २९ साउन ।
नेपालगन्जबाट हुम्ला जहाज नजाँदा त्यहाँ आज हुने परीक्षाको प्रश्नपत्र पुगाउन निकै समस्या भएको थियो। नागरिक उड्डयन प्राधिकरणले साउन १२ गते शुक्रबारदेखि नयाँ उडान तालिका निकालेपछि हुम्लामा जहाज नउड्दा प्रश्न पत्र ढुवानी कार्य रोकिएको हो।
राष्ट्रिय सडक सञ्जालसँग समेत नजोडिएको हुम्लाको एक मात्र यातायात हवाई हो।उडान नहुँदा त्रिभुवन विश्वविद्यालयले तोकेको समयमा प्रश्नपत्र नपुगेपछि आइतबार बिए र बिएड दोस्रो वर्षका विद्यार्थीलाई इमेलमार्फत प्रश्नपत्र मागेर ४५ मिनेट ढिला परीक्षा सुरु भएको मानसरोवर बहुमुखी क्याम्पसका प्रमुख दीपक भण्डारीले बताए। इमेलमा गएको प्रश्नपत्र फोटोकपी गरी ४५ मिनेट ढिला मात्रै परीक्षा सञ्चालन गरिएको भण्डारीले बताए।
आइतबार बिएतर्फ कोड नम्बर ४०२ भएका विषय र बिएडतर्फ शैक्षिक मनोविज्ञान ४२१ को परीक्षा थियो। क्याम्पस प्रमुख भण्डारीका अनुसार मानसरोवर बहुमुखी क्याम्पसबाट ७३ परीक्षार्थी उपस्थित थिए।
मञ्जय राम,कटहरिया,साउन २८ गते ।
जिल्लामा नेपाल शिक्षक महासंघले आन्दोलनको कार्यक्रम सुरु गरेको छ । विद्यालय शिक्षा ऐन २०८० ले शिक्षकको पेशागत सुरक्षा र स्वाभिमानको खिलापमा रहेको भन्दै आन्दोलन थालेको हो । आइतबार जिल्लाका सबै स्थानीय तहमा शिक्षकहरुले धर्ना दिएका छन् ।

भने पालिकाको कार्यालय प्रमुख प्रशासकिय अधिकृतलाइ ज्ञापनपत्र समेत बुझाएका थिए । कार्यक्रम अनुसार ११ बजेदेखि २ बजेसम्म पालिकामा धर्ना दिइएको र त्यसपछि महासंघले रौतहटका स्थानीय तहका प्रमुख प्रशासकीयलाई ज्ञापनपत्र समेत बुझाइएको नेपाल शिक्षक महासंघका राष्ट्रिय समिति सदस्य मनिशंकर निधीले जानकारी गराउनुु भयो ।

उनका अनुसार अहिले ल्याउन थालिएको विद्यालय शिक्षा ऐन २०८० राम्रो आउला भनेको झन नराम्रो आएकोले हितविपरितका त्यस्ता बुँदा तत्काल हटाउनुपर्ने बताए ।

महासंघले साउन ३० गते शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना बस्ने साथै साउन ३२ गते प्रदेशको सामाजिक बिकास मन्त्रालयमा धर्ना दिने कार्यक्रम रहेको उनले जानकारी दिए । भदौ १ गते प्रदेश सांसद र संघीय सांसदलाई जानकारी गराउने कार्यक्रम महासंघले बनाएको छ ।

आरके श्रीवास्तव,रौतहट,साउन २८ गते ।
रौतहटमा आज नेपाल प्रहरी श्रीमती संघको ३९ औं वार्षिकोत्सवमा रक्तदान कार्यक्रम गरिएको छ । स्थापना दिवसको अवसरमा जिल्ला प्रहरी कार्यालय रौतहट द्धारा रक्तदान कार्यक्रम आयोजन गरिएको थियो । आइतबार बिहान जिल्ला सदरमूूकाम गौर स्थित जिल्ला प्रहरी कार्यालयमा रक्तदान कार्यक्रम सम्पन्न गरेको हो ।
आज भएको रक्तदान कार्यक्रममा २४ जना पुरुष तथा २ जना महिला गरी करिब २६ जनाले रक्तदान गरेको जिल्ला प्रहरी प्रवक्ता डिएसपी उमाशंकर यादवले जानकारी गराउनु भयो ।

रक्तदान गर्नेहरुमा जनपद प्रहरी, ट्राफिक प्रहरी, गौर नगरपालिका र इशनाथ नगरपालिकाका नगरप्रहरी लगायत अन्य व्यक्तिहरुले रक्तदान गरेको उनले जानकारी गराएका हुन ।
सो रक्तदान कार्याक्रममा आरडिसि नेपाल रौतहट, नेपाल रेडक्रस सोसाइटी रौतहट र न्यू उज्यालो युवा क्लब रौतहटको सहयोग रहेको थियो । सो रक्तदान कार्यक्रममा रौतहट प्रहरी प्रमुख बीरबहादुर बुढामगर,प्रहरी निरिक्षक दिनेश बहादुर कुवँर , आरडिसि नेपाल रौतहटका अध्यक्ष पारस हुसैन,नेता राजकिशोर यादव लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो ।
हेमन्त केसी,सुर्खेत, २८ साउन
कर्णाली प्रदेश सरकारले जलविद्युत् उत्पादनमा बाह्य लगानी भित्र्याउन ५० वर्षसम्म अनुमति दिने भएको छ । कुनै पनि विदेशी मुलुक र विदेशी सरकार मातहतका संस्थाले विद्युत् उत्पादनका निम्ति कर्णालीमा लगानी गर्न र विद्युत् विकासका आयोजना सञ्चालन गर्न पाउनेछन् ।
सरकारले कर्णालीमा ठूला जलविद्युत् आयोजना निर्माणका लागि मोटो रकम लगानी गर्न चाहने विदेशी लगानीकर्ता आकर्षित गर्न पाँच दशकको समय दिने नीति ल्याउन लागेको हो । ‘कर्णाली प्रदेशको विद्युत् सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८०’ ले विद्युत् उत्पादनका लागि लगानी गर्ने लगानीकर्तालाई ५० वर्षसम्म अनुमति दिने व्यवस्था गरेको छ । विधेयकको परिच्छेद २ मा विद्युत आयोजनाको अध्ययन, विकास, सञ्चालन र पहुँचसम्बन्धी व्यवस्था, ३ मा प्रतिस्पर्धा तथा प्रस्ताव छनोटसम्बन्धी व्यवस्था, ४ मा अनुमति पत्रसम्बन्धी व्यवस्था र ५ मा विद्युत उत्पादन सञ्चालन तथा हस्तान्तरणसम्बन्धी व्यवस्था गरिएको छ ।
अनुमतिसम्बन्धी व्यवस्थाको बुँदा १८ (१) ले विद्युत् उत्पादनका लागि बाह्य लगानी भित्र्याउन दिइने अनुमतिपत्र अवधिको व्यवस्था गरेको छ । यसले कर्णालीको विद्युत् विकासमा बाह्य लगानीकर्ता भित्रिने सरकारको अपेक्षा छ । कर्णालीकै जलस्रोतबाट विद्युत् उत्पादन गर्न ठूला जलाशययुक्त आयोजना निर्माणका लागि कुनै पनि विदेशी संस्थालाई लगानी गर्न ५० वर्षसम्म अनुमति दिने तथा यस्तै अन्य विद्युत विकास आयोजनाको हकमा ४० वर्षसम्म अनुमति दिने विधेयकमा उल्लेख छ ।
यसैगरी जलस्रोतबाहेक अन्य स्रोतबाट विद्युत उत्पादन गर्न २५ वर्ष, विद्युत् प्रशारण, वितरण तथा व्यापार सेवाका लागि २५ वर्ष र ग्राहक सेवाका लागि बढीमा ५ वर्षको अनुमति दिने व्यवस्था छ । करिब १८ हजार मेगावाट जलविद्युत उत्पादन क्षमता रहेको भनिएको कर्णालीमा विद्युत विकासलाई गति दिने र स्रोतको परिचालन गर्ने उद्देश्यले ठूलो लगानीमा विद्युत आयोजना सञ्चालन गर्न चाहने विदेशी मुलुकलाई ५० वर्षसम्म अनुमति दिने नीति ल्याउन लाएिगको हो ।
बहुउद्देश्यीय जलविद्युत आयोजना, जलाशय तथा अर्धजलाशययुक्त आयोजना, नदी प्रवाहमा आधारित आयोजना र सौर्य ऊर्जा तथा विभिन्न नवीकरणीय ऊर्जामा आधारित विद्युत् आयोजनामा लगानी जुटाउन कर्णाली सरकारले प्रयास गरिरहेको छ । प्रस्तावित विधेयकको दफा २५ को उपदफा (१) मा कर्णालीका दुर्गम क्षेत्रमा विद्युत आयोजना विकास गर्नका लागि बाह्य लगानी जुटाउन आवश्यक देखिएमा प्रदेश सरकारले विदेशी लगानीकर्तासँग आयोजनाको एकीकृत विकास तथा वित्तीय सम्झौता गर्न सक्ने उल्लेख छ । यसैगरी स्थानीय तहलाई एक मेगावाट क्षमतासम्मका आयोजनाको अनुमति प्रदान गरिने भएको छ । साथै प्रदेश सरकारले स्थानीयलाई सीप र योग्यताका आधारमा रोजगारीको अवसर प्रदान गर्नुका साथै १० प्रतिशतसम्म सेयर दिने नीति लिएको छ ।
अहिले यो विधेयक कर्णाली प्रदेशसभामा छलफलकै क्रममा छ । बाह्य लगानी जुट्न नसकेकै कारण कर्णालीमा रहेको जलविद्युत् उत्पादनको सम्भावना अवसरमा रुपान्तरण हुन नसकेको सरोकारवालाहरुले बताउँदै आएका छन् । सरकारले ल्याएको यो विधेयक कानुन बनेपछि विद्युत् विकासमा ठूलो लगानी भित्रिने अपेक्षा गरिएको छ ।
गएको मंगलबार बसेको प्रदेश सभाको २९ औं बैठकमा जलस्रोत तथा ऊर्जा विकास मन्त्री उर्मिला विश्वकर्माले विधेयक सामान्य छलफलका लागि प्रस्ताव गरेकी थिइन् । विधेयकमा सामान्य छलफलपछि संशोधन प्रस्ताव गर्न चाहने प्रदेश सभा सदस्यलाई ७२ घण्टाको समय दिइएको छ । पूर्वमन्त्री गणेशप्रसाद सिंहक पालामा बिभिन्न मन्त्रालय सहित विज्ञसँग छलफल भएको थियो ।
महाेतरी, २८ साउन ।
कृषि तथा पशुपंक्षी विकास मन्त्री बेदुराम भुसालले चुरे दोहनले मधेशको उर्बर भुमी बिस्तारै मरुभूमि बन्दै गएको बताएका छन ।
ग्रामिण उधम तथा आर्थिक विकास आयोजना मधेश प्रदेशले आयोजना गरेको कार्यक्रममा सहभागी हुन आएका मन्त्री भुसालले मधेशमा चुरे दोहन मुख्य समस्या रहेको वताए । विशेषगरि धान उत्पादनमा यस्को प्रभाव प्रत्यक्ष परेको वताउँदै चुरे हरियाली नभएसम्म तराइका जमिन बन्झर नै बनिरहने उनकाे तर्क छ ।
`मधेशको प्राण मानिने चुरेको निरन्तर दोहनले कृषियोग्य भुमिहरु मरुभूमि बन्दै छन,´ उनले भने, `अब चुरे बचाउनुको विकल्प नै छैन ।´ उनका अनुसार चुरे रहेसम्म मधेश रहने वताउदै स्थानिय र सरोकारवालाहरु नै दोहन नियन्त्रण गर्न लाग्न ढिलाइ भइसकेकाे छ ।
पछिल्लो केही बर्ष यता मधेशमा चुरे दोहन कै कारण सिंचाइका नहरहरु सुकेका छन भने खानेपानीको समस्या त बढदै गएको छ । मधेशका जिल्लाहरुमा खानेपानी र सिंचाइको हाहाकार नै बने पछि मधेशलाइ सुख्खा क्षेत्र घोषणा गर्न सरोकारवालाहरुले माग गरेका थिए ।