पुष ५ गते
इन्टरपोलबाट रेड नोटिस जारी भई नेपाल ल्याइएका चारैजना गम्भीर प्रकृतिका मुद्दामा फरार थिए
नेपालमा अपराध गरेर विभिन्न देश पुगेका चारजनालाई नेपाल प्रहरीले पक्राउ गरी ल्याएको छ । अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)को सहकार्यमा एक सातामा चार अभियुक्तलाई नेपाल ल्याउन नेपाल प्रहरी सफल भएको हो । संयुक्त अरब इमिरेट्स (युएई)बाट तीन तथा कुवेतबाट एकजनालाई पक्राउ गरी प्रहरीले ल्याएर कारबाही प्रक्रिया अघि बढाएको छ ।
इन्टरपोलबाट रेड नोटिस जारी भएका चारैजना गम्भीर प्रकृतिका मुद्दामा फरार अभियुक्त थिए । बुधबार मात्र दुईजनालाई प्रहरीले युएईबाट पक्राउ गरी ल्याएको छ । विद्युतीय कारोबारको अपराध फरार रहेका प्युठान सरुमारानी गाउँपालिका– १ का ३३ वर्षीया सगिर अहमदलाई बुधबार प्रहरीले नेपाल फिर्ता ल्याएको छ । फेसबुकबाट उनले बालबालिकालाई हिंसा गरेको प्रहरीले जनाएको छ । अनुसन्धानका क्रममा उनी युएईमा रहेको पत्ता लागेपछि प्रहरीले इन्टरपोलको सहयोग मागेको थियो । गत २० भदौमा रेड नोटिस जारी भएकोमा प्रक्रिया पूरा गरी उनलाई बुधबार प्रहरीले नेपाल ल्याएको हो । साइबर ब्युरोले उनीमाथि कारबाही अघि बढाएको छ ।
जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका स्याङ्जा वालिङ नगरपालिका– ११ भोर्लेका ३५ वर्षीय गोपाल बुढाथोकी भन्ने यामबहादुर बुढाथोकीलाई पनि प्रहरीले बुधबार नेपाल फिर्ता ल्याएको छ । उनलाई पनि दुबईबाट पक्राउ गरी ल्याइएको प्रहरी प्रवक्ता डिआइजी कुबेर कडायतले बताए । उनीविरुद्ध एक वर्षअघि नै रेड नोटिस जारी भएको थियो ।
जबर्जस्ती करणी मुद्दामा इन्टरपोलबाट रेड नोटिस जारी भई फरार रहेका काभ्रेपलाञ्चोक चौँरीदेउराली गाउँपालिका– ८ घर भएका ३१ वर्षीय उमेश लामालाई कुवेतबाट मंगलबार प्रहरीले नेपाल ल्याएको थियो । गत साउनमा उनले एक युवतीमाथि बलात्कार गरेका थिए । बिहे गर्ने आश्वासनमा बलात्कार गरी उनी वैदेशिक रोजगारीमा विदेश भागेको खुलेपछि प्रहरीले इन्टरपोलको सहयोगमा नेपाल ल्याएको हो । प्रहरी वृत्त जगातीले उनीमाथि अनुसन्धान अघि बढाएको छ ।
त्यस्तै, भिजिट भिसामा युएई पठाउने भन्दै ठगी गरी फरार रहेका सर्लाहीको जानकीनगर घर भएका कोमलराज उपाध्यायलाई युएईको दुबईबाट पक्राउ गरी २९ मंसिरमा नेपाल ल्याइएको थियो । उनले ८३ जनालाई दुई करोड ६३ लाख रुपैयाँ ठगी गरेको मुद्दा दायर भइसकेको छ । युएईमा त्रिनेत्र म्यानेजमेन्ट नामक कम्पनी नै सञ्चालन गरी त्यसैको आवरणमा उनले भिजिट भिसामा मानव तस्करीको धन्दा चलाएका थिए ।
इन्टरपोल महासभामा सहभागिताको प्रभाव
विगतमा इन्टरपोलबाट रेड नोटिस जारी भएकालाई वर्षाैँ प्रयास गर्दा पनि प्रहरीले नेपाल ल्याउन सकेको छैन । पछिल्लो सफलता प्रहरी नेतृत्वले दुई साताअघि सम्पन्न इन्टरपोलको महासभामा गरेको भेटघाटको प्रभाव भएको प्रहरी स्रोत बताउँछ । जसमा प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले भारत, चीन र युएईका प्रतिनिधिसँग फरार अभियुक्तको पक्राउको विषयमा छलफल गरेका थिए । सोही कारण एक सातामै युएईले तीनजनालाई नेपालमा निष्कासन गरेको हो । युएईमा अझै धेरै फरार अभियुक्त बसेका छन् ।
सुपुर्दगी सन्धिको अभावका कारण विदेशमा लुकेका अभियुक्तलाई पक्राउ गरेर ल्याउन कठिनाइ भइरहेको प्रहरी अधिकारीहरू बताउँछन् । कुनै पनि देशसँग नेपालको सुपुर्दगी सन्धि कार्यान्वयनमा छैन । हाल नेपाल प्रहरीले ९० जनाभन्दा धेरैलाई इन्टरपोलबाट रेड नोटिस जारी गरेको छ । उनीहरू बसेको देश पत्ता लगाउँदा पनि सम्बन्धित देशले सहयोग नगर्दा पक्राउ गरी ल्याउन नसकिएको प्रहरी अधिकारी बताउँछन् । यस्ता फरार अभियुक्तलाई पक्राउ तथा अन्तरदेशीय अपराधको अनुसन्धानका लागि नेपाल प्रहरीले युएईलगायत देशमा प्रहरी सहचारी राख्न वर्षाैँदेखि प्रयास गरे पनि सरकारले स्वीकृत दिएको छैन ।
पुष ५ गते
नेपाल एयरलाइन्सले पुराना ५ वटा जहाज लिलामीको सूचना जारी गरेको छ । नेपाल एयरलाइन्सले दुई वटा एमए–६० र तीन वटा वाई–१२ ई जहाज बेच्न लागेको हो ।
यी चिनियाँ जहाजहरु तीन वर्षदेखि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ग्राउण्डेड छन् ।
यी जहाज जे जस्तो अवस्थामा छन्, त्यस्तै अवस्थामा बेच्न लागिएको हो । जसले बढी मूल्य कबुल गर्छ, उसैले जहाज पाउने छ ।
त्यसका लागि आज गोप्य सिलबन्दी टेन्डर आह्वान भएको छ । निवेदन दिने म्याद ४ फेब्रुअरीसम्म अर्थात् आगामी २१ माघसम्म छ ।
निगमसँग कुल ६ वटा जहाज थिए । जसमध्ये एउटा जहाज तीन वर्ष अगाडि नेपालगञ्ज विमानस्थलमा दुर्घटनामा परेसँगै उड्नै नसक्ने गरी बिग्रिएको थियो । अन्य ५ वटा जहाज (दुई वटा एमए ६० र ३ वटा वाई १२ ई) जहाज बेच्न लागिएको हो । निगमले यी जहाज २०७७ साउन १५ देखि ग्राउण्डेड गरेको थियो ।
आन्तरिक उडानको प्रयोजनका लागि चीनबाट २०७१ सालपछि भित्राउन शुरु गरिएका यी जहाजबाट नेपाल एयरलाइन्स र सरकारले घाटा मात्र बेहोरिरहेका छन् । साढे ४ अर्ब रुपैयाँ लागतमा खरिद गरिएका ४ जहाज र दुई अनुदानमा आएका गरी ६ वटा जहाज सञ्चालनबाट निगमले २०७१ सालयता वार्षिक औसतः ३८ करोड रुपैयाँ घाटा बेहोरेको छ । त्यसैले निगमले ती जहाज अब नउडाउने निर्णय लिएको छ ।
यी जहाज नाफामा उडाउन कुनै पनि हालतमा नसकिने र थप घाटा बेहोर्दा आत्मघाती निर्णय हुने निष्कर्ष निकाल्दै निगमले यी जहाजको जिम्मा लिन सरकारलाई सिफारिस गरेको थियो । तर, सरकारले यी जहाजको व्यवस्थापन गर्न कुनै चासो नदिएपछि भाडामा लगाउन खोजेको थियो । भाडामा लिन पनि कोही इच्छुक नभएपछि बिक्री गर्न लागिएको हो ।
पुष ५ गते
आज सूचना जारी गर्दै करार सेवाका लागि सर्जनदेखि नर्सिङ अधिकृतसम्मको कर्मचारी माग गरेको हो ।
जसमा नवौं तहमा ६ जना रेडियोलोजिस्ट, ६ जना प्याथोलोजिस्ट, ६ जना यौन तथा छाला रोग विशेषज्ञ, डेन्टल सर्जन ६ जना, एमडिजिपी १० जना, १० जना अर्थोपेडिक सर्जन, ८ जना एनेस्थेसियोलोजिष्ट, बाल रोग विशेषज्ञ १२ जना, स्त्री तथा प्रसूती रोग विशेषज्ञ ९ जना, जनरल सर्जन १० जना र १० जना जनरल फिजिसियन मागेको हो।
आठौं तहमा १० जना डेन्टल अधिकृत, २ जना आयुर्वेद चिकित्सक र २८ जना मेडिकल अधिकृत मागेको छ।
त्यस्तै, सातौं तहमा ३ जना अस्पताल व्यवस्थापक र ६ जना नर्सिङ अधिकृत मागेको छ। निर्देशनालयले छैटौं तहमा ६ जना अप्टोमेट्रिष्ट मागेको छ।
इच्छुक र योग्यता पुगेका नेपाली नागरिकले १५ दिन भित्र अनलाईबाट दरखास्त दिन सक्नेछन्। सभार नेपालवाच
काठमाडाैं पुस ५,
मधेस स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य निर्देशनालयले विभिन्न पदमा कर्मचारी माग गरेको छ । प्रादेशकि अस्पतालहरुका लागि करारमा जनशक्ति नियुक्त गर्नेगरी बिहीबार सूचना प्रकाशित भएको हो ।

पुष ०५ गते
मौलापुर नगरपालिकाले विपन्न परिवारलाई निशुल्क विद्युत उपलब्ध गराएको छ। ‘फ्री बिजुली, फ्री पानी’कार्यक्रमअन्तर्गत घरेलु तथा कृषि सिंचाई मिटरको सम्पूर्ण विद्युत महशुल नगरपालिकाले भुक्तानी गरेको हो।
मेयर रीना कुमारी साहले यस आर्थिक वर्षको मंसिरसम्मको २ करोड ६६ लाखको चेक विद्युत प्राधिकरण मौलापुर शाखा प्रमुख दिनेश यादवलाई बुझाएकी हुन् । मेयर साहको पहलमा करिब चार वर्ष अघिदेखि सुरू भएको यो कार्यक्रमले विपन्न परिवारलाई ठूलो राहत पुगेको बताइएको छ ।
पुस ०५ गते
सुदूरपश्चिम । धनगढी उपमहानगरपालिकाको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० कार्यान्वयन नगर्न माग गरिइएको छ । उपमहानगरपालिकाका बहुमत कार्यपालिका सदस्यको बैठकले राजपत्रमा प्रकाशित भइसकेको उक्त कार्यविधि खारेज गर्ने निर्णय गरेपछि जग्गासम्बन्धी कार्यविधि विवादमा पनि परेको हो । कार्यपालिका बैठकमा उपमहानगर प्रमुख गोपाल हमालले पर्याप्त छलफल र पारित नभइकनै एकलौटी ढङ्गले उक्त कार्यविधि राजपत्रमा प्रकाशन गर्न लगाएको जनाउँदै कार्यपालिकाका बहुमत सदस्यले विरोध गरेका छन् । “मङ्सिरमा बसेको कार्यपालिका बैठकमा उक्त विषयमा छलफल हुन नपाई गरिएको निर्णयले कार्यपालिकाको अर्थ रहेन”, कार्यपालिका सदस्य एवं वडाध्यक्ष मानबहादुर विष्टले भने, “कार्यविधिलाई गहनरूपमा अध्ययन, छलफल गरेर अर्को बैठकबाट पारित गर्नुपर्छ भन्ने आफूहरूको सुझाव थियो, तर प्रमुख हमालबाट पर्याप्त छलफल र कसैको पनि सहमतिबिना भोलिपल्टै कार्यविधिलाई राजपत्रमा प्रकाशित गर्ने काम भएको छ ।” उपमहानगरपालिकाका वडाध्यक्षसहितका २७ कार्यपालिका सदस्यको बैठकले उक्त कार्यविधि खारेजीको निर्णय गरेको उनले बताए । कार्यविधिलाई खारेज गर्नुपर्ने निर्णयसम्बन्धी प्रस्ताव उपमहानगरपालिकाको सचिवालयमा आज दर्ता गराएको छ । प्रमुख हमालले भने आफ्नो फेसबुक पेजमार्फत आफूविरुद्ध गुटबन्दी भएको भन्दै निर्णयबाट पछि नहट्ने बताएका छन् ।
उपमहानगरपालिकाले ल्याएको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० मा नयाँ प्लटिङ गर्दा सडकको चौडाइ कम्तीमा १० मिटर हुनुपर्ने व्यवस्था गरिएको छ । जग्गा प्लटिङ गर्न इजाजत पाएको जग्गामा १० मिटर चौडा बाटो, सडकको दुवैतर्फ नाला निर्माण, विद्युत् पोलको व्यवस्था, तार जडान, पुलेसा निर्माण, ट्रान्सफर्मर जडान र खुला जग्गा अनिवार्य राख्नुपर्ने तोकिएको छ ।
कार्यविधिमा नयाँ जग्गा प्लटिङ गर्दा सडकको घुम्ती वा मोडको अर्धव्यास बाटोको चौडाइभन्दा २० प्रतिशतले बढी हुनुपर्नेलगायतका मापदण्ड पनि तोकिएको छ । सहरी योजना तथा भवन निर्माण मापदण्ड, २०८०, बस्ती विकास, सहरी योजना तथा भवन निर्माणसम्बन्धी आधारभूत निर्माण मापदण्ड, २०७२ र स्थानीय सरकार सञ्चालन ऐन, २०७४ को आधारमा उपमहानगर क्षेत्रको जग्गा प्लटिङसम्बन्धी कार्यविधि, २०८० बनाएको बताइएको छ ।
कार्यविधि राजपत्रमा प्रकाशन भएलगत्तैबाट धनगढीका जग्गाधनी र व्यवसायीले यस्तो कार्यविधिबाट जग्गाधनीको उठीबास हुने र यसबाट गम्भीर समस्या निम्तिने जनाउँदै विरोध गरेका छन् । उनीहरूले यो कार्यविधि खारेज गर्न सङ्घर्ष समिति गठन गर्नुका साथै निर्णयविरुद्ध अदालतसम्म पुग्ने निर्णय पनि गरेका छन् ।
पुस ०५, गते
नेपाली कांग्रेसको मधेस प्रदेश सम्मेलन आज हुँदै छ । प्रदेश कार्यसमिति गठन भएपछि पहिलो पटक प्रदेशस्तरीय सम्मेलन हुन लागेको हो ।
प्रदेश राजधानी जनकपुरधाममा हुने सम्मेलनको उद्घाटन सभालाई सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सम्बोधन गर्ने कार्यक्रम छ । त्यस्तै, उपसभापति एवम् रक्षामन्त्री पूर्णबहादुर खड्का, महामन्त्री गगनकुमार थापा र विश्वप्रकाश शर्मा सहित शीर्ष नेताहरूले पनि सभालाई सम्बोधन गर्नेछन् ।
सहमहामन्त्री महेन्द्र यादव र उमाकान्त चौधरी मधेसकै हुन् । त्यस्तै, पूर्वउपसभापति विमलेन्द्र निधिको गृह प्रदेश समेत हो । सम्मेलनमा पार्टीका प्रतिपक्षी नेता शेखर कोइराला भने सहभागी नहुने भएका छन् ।
यसअघि लुम्बिनी र गण्डकी प्रदेशका सम्मेलनमा निरन्तर सहभागी कोइराला बिहीबार भने प्रदेश सम्मेलन छोडेर सुनसरीमा हुने कार्यक्रममा सहभागी हुन जाँदैछन् । प्रदेश कार्यसमितिले कोइरालालाई विशेष अतिथिका रुपमा नबोलाएपछि उनीनिकट नेताहरूले प्रदेश कार्यसमितिको बैठकमै नोट अफ डिसेण्ट लेखेका थिए ।
बिहीबार हुने मधेस सम्मेलनमा नेता कोइराला सहभागी नहुने उनका स्वकीय सचिव दिनेश थपलियाले जानकारी गराएका छन् ।
‘मिति ०८० पौष ५ गते बिहीबार कांग्रेस सुनसरीको बृहत् कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्न नेता डा। शेखर कोइराला त्यसतर्फ जानुहुने जानकारी गराउँदछु,’ थपलियाले सामाजिक सञ्जालमा लेखेका छन् ।
मधेस प्रदेशका सभापति कृष्णप्रसाद यादवले भने बिहीबारदेखि हुने प्रदेश सम्मेलनका लागि केन्द्रीय कार्यसमितिका सभापतिसहित पदाधिकारी र केन्द्रीय समितिका नेताहरूलाई निमन्त्रणा गरिएको बताए । ‘पार्टीको निर्वाचित केन्द्रीय कार्यसमिति छ । हामीले केन्द्रीय समितिका पदाधिकारीसहित अन्य केन्द्रीय सदस्यहरूलाई पनि निमन्त्रणा गरेका छौँ,’ उनले भने, ‘सभापतिजी, उपसभापतिजी र पदाधिकारीहरू आउनुहुन्छ, अरूको विषयमा थाहा भएन ।’ सम्मेलनमा मधेस प्रदेशका आठ जिल्लाबाट आठ सय २५ जना प्रदेश प्रतिनिधिहरू सहभागी हुनेछन् । सभार रातोपाटी
पुस ५, गते
सरकारले युक्रेनी सेनाको कब्जामा रहेका चार जना नेपालीको रिहाइका लागि कुटनीतिक पहल थालेको छ । अस्ति मङ्गलवार युक्रेन मामिलासमेत हेर्ने जिम्मेवारी पाएको जर्मनीको नेपाली दूतावासले त्यहाँ रहेको युक्रेनी पक्षसँग यस विषयमा कुरा गरेको हो ।
भेटमा युक्रेनी पक्षले नेपालीहरु कब्जामा रहेकोबारे औपचारिक जानकारी प्राप्त नभएको र नेपाली युद्धबन्दी भएमा रिहाइको पहल हुने आश्वासन दिएको छ । परराष्ट्र मन्त्रालयले उनीहरुको रिहाइका लागि अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी र अरु कुटनीतिक माध्यमहरुबाट पनि पहल भइरहेको जनाएको छ ।
बर्दियाका विवेक खत्री, काभ्रेका सिदार्थ ढकाल, मोरङका विकास राई र रोल्पाका प्रतिक पुन युक्रेनी सेनाको कब्जामा रहेका मन्त्रालयले पुष्टि गरेको छ ।
यसैबीच रुसी सेनामा कार्यरत रहेर ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको छ ।
रुसी सेनामा कार्यरत थप एक नेपाली नागरिकको ज्यान गएसँगै ज्यान गुमाउने नेपालीको सङ्ख्या ७ पुगेको हो । पछिल्लो पटक परराष्ट्र मन्त्रालयले नेपाली राहदानी भएका कुन्दन सिंह नागलको ज्यान गएको जनाएको हो ।
मन्त्रालयका अनुसार नेपालका लागि रुसका राजदूतमार्फत रुसी सेनामा भर्ना भएर निधन भएका नेपाली नागरिकहरुको शव नेपाल पठाउन र घाइतेलगायतका पीडित परिवारहरुलाई क्षतिपूर्ति उपलब्ध गराउन पुनः आग्रह गरिएको छ ।
यस्तै, मन्त्रालयले नेपाली नागरिकलाई रुसी सेनामा भर्ना नगर्न र भर्ना गरिएका नेपाली नागरिकलाई तत्काल फर्काउन राजदूतमार्फत रुसी सरकारलाई आग्रह पनि गरेको छ । सभार उज्यालो
०५ पुस
राजधानीमा जारी दोस्रो संस्करणको नेपाल सुपर लिग फुटबल प्रतियोगितामा आज काठमाडौं रेज्र्स एफसी र वीरगन्ज युनाइटेड एफसीबिच प्रतिस्पर्धा हुने भएको छ । खेल दशरथ रङ्गशालामा साँझ ५ बजे सुरु हुनेछ ।
यसअघि हिजो साँझ भएको खेलमा झापा एफसीले धनगढी एफसीलाई पराजित गरेको थियो । झापाले धनगढीमाथि २–० गोलको जित निकाल्दै विजयी भएको हो । झापाका लागि अञ्जन विष्ट र समिराज ठोकरले गोल गरे ।
यो जितसँगै झापा सात खेलमा १० अङ्कसहित अङ्क तालिकाको चौथो स्थानमा उक्लिएको छभने हारसँगै समान सात खेल खेलेको धनगढी १२ अङ्कका साथ अङ्क तालिकामा दोस्रो स्थानमा छ । सभार रातोपाटी
पुष,०५
रुकुम पश्चिमको आठबिसकोट नगरपालिकामा गएराति ट्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ । राडी बजारबाट घर्तीगाउँ जाँदै गरेको ट्याक्टर वडानम्बर(१० मा दुर्घटना भएको नगरप्रमुख रबि केसीले जानकारी दिनुभयो
उहाँका अनुसार कोट इर्जाखोला नजिकै भएको दुर्घटनामा अन्य ८ जना व्यक्ति घाइते भएका छन् । दुर्घटना लगत्तै घटनास्थलमा एम्बुलेन्स, प्रहरी र नगरप्रहरी खटिएको नगरप्रमुख केसीले बताउनुभएको छ । सभार नेपाल टेलिभिजन