२०८३ श्रावण ७
२०८३ श्रावण ७

चितवन, ७ पुस :

नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा पुल बनाउन भित्तो काट्नुपर्ने भएपछि आजदेखि दैनिक चार घण्टा सवारी साधन चलाउन नपाइने भएको छ । बिहान ११ देखि दिउँसो ३ बजेसम्म सडक बन्द रहने छ । भिर भएको ठाउँमा पुल बनाउनुपर्ने भएकाले यातायात सेवा बन्द गरेर नै काम गर्न लागिएको हो । चितवन र तनहुँतर्फका विभिन्न ६ स्थानमा सवारी साधन रोकिने छन् । नागढुङ्गा–मुग्लिन सडक आयोजना पश्चिम खण्ड (नारायणगढ–मुग्लिन)का सूचना अधिकारी कृष्ण आचार्यका अनुसार नारायणगढबाट मुग्लिनतर्फ जाने सवारी साधनमध्ये यात्रुवाहक सवारी साधन पन्ध्रकिलो बजारदेखि जुगेडीसम्म बिहान १०ः४० बजेसम्म चलाउन पाइने छ भने मालवाहक सवारी साधन भतेरी जङ्गलदेखि रामनगरसम्म बिहान १०ः३० बजेसम्म मात्र चलाउन पाइने छ । काठमाडौँबाट आउने यात्रुवाहक सवारी साधन मुग्लिन बजारदेखि मनकामना केबुलकारसम्म बिहान १०ः५५ सम्म तथा मालवाहक सवारी सधान १०ः४५ सम्म मात्र चलाउन पाइने सूचना अधिकारी आचार्यले बताउनुभयो । यसैगरी, पोखरातर्फबाट आउने यात्रुवाहक सवारी साधनलाई बिहान १०ः५५ बजेदेखि बेनीटारदेखि पावरहाउससम्म र मालवाहक सवारी साधनलाई बिहान १०ः४५ बजेदेखि सत्रसय फाँटमा रोकिने छ । पहिलो चरणमा तीन हप्ताका लागि सडक बन्द गरेर भित्तो काटिने छ । गत वर्ष भित्तो काटिएको भए पनि कडा चट्टान भएकाले काम गर्न कठिन भएपछि विस्फोटका लागि रोकिएको थियो । बिस्फोटको अन्तिम तयारी गर्दैगर्दा पुनः एकपटक सडक बन्द गरेर काट्ने तयारी गरिएको आचार्यले बताउनुभयो । साठी मिटर अग्लो पहाड गत वर्ष २५ मिटर काटिएको थियो । बाँकी ३५ मिटर सडक अब काट्न लागिएको आचार्यले बताउनुभयो । यो सडक हुँदै दैनिक १० हजारभन्दा बढी सवारी साधन चल्ने गर्छन् । जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले चार घण्टा सवारी साधन रोकिने भएकाले वैकल्पिक बाटो प्रयोग गर्न अनुरोध गरेको छ । ट्राफिक जाम हुन सक्ने भएकाले सम्भव भएसम्म वैकल्पिक बाटोको प्रयोग गर्न अनुरोध गरिएको छ । –––

पुस ०६ गते

प्रधानमन्त्री कप महिला क्रिकेटमा सशस्त्र प्रहरी बल-एपीएफ क्लबले लगातार दोस्रो जित हात पारेको छ । एपीएफले शुक्रबार भएको खेलमा मधेश प्रदेशलाई १० विकेटले हरायो । पहिला ब्याटिङ गरेको मधेश प्रदेशलाई ४० रनमा समेट्दै एपीएफले जितको आधार बलियो बनाएको थियो ।

मधेश प्रदेशले १९.२ ओभरमा सबै विकेट गुमाएर ४० रन मात्र जोड्न सक्यो । उसका ५ जना ब्याटरले खाता खोल्न सकेनन् । प्रतिमा शाहले १५ रन जोड्नुबाहेक अन्यले दोहोरो अंक छुन सकेनन् । एपीएफकी सिता रानामगरले ३ तथा रेखा रावल र सुमन विष्टले २/२ विकेट लिए ।

एपीएफले झिनो लक्ष्य ५.५ ओभरमा पुरा गर्यो । उसका सिता रानामगरले १९ र ज्योती पान्डेले १६ रन बनाए । प्रतियोगितामा २ खेलपछि एपीएफ र कोशी प्रदेशको ४/४ अंक छ । सुदूरपश्चिम प्रदेश, गन्डकी प्रदेश, बागमती प्रदेश र लुम्बिनी प्रदेशले २/२ अंक जोडेका छन् । मधेश र कर्णाली प्रदेशले लगातार दोस्रो हार ब्यहोरेका हुन् ।

 

पुस ०६ गते

पोल्याण्ड पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा धनकुटा घर भई हाल भक्तपुर बस्ने २५ वर्षीय प्रदीप बुढाथोकी रहेका छन् ।

उनले कल्पना विश्वकर्मालाई वैदेशिक रोजगारीको लागि पोल्याण्ड पठाइदिन्छु त्यसको लागि प्रतिव्यक्ति सात लाख ५० हजार रुपैयाँ लाग्छ र पोल्याण्ड पुगेपछि प्रतिष्ठित कम्पनीमा काम लगाइदिन्छु जहाँ मासिक एक लाख २० हजार रुपैयाँ तलब हुन्छ भनी एक लाख ८० हजार रुपैयाँ रकम लिई सम्पर्क विहीन भई ठगी गरेकोले काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरी टोलीले खोजतलास गर्ने क्रममा बिहीबार नयाँ बानेश्वरबाट पक्राउ गरेको हो । उनलाई थप अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको प्रहरीले जनाएको छ ।

पुस ०६ गते

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको उपस्थितिमा मधेस प्रदेश समितिको पाँचौँ पूर्ण बैठक जनकपुरमा सुरु भएको छ । शुक्रवार बिहान उपेन्द्र यादवकै उपस्थितिमा मधेस प्रदेशको संसदीय दलको बैठक बसेको थियो । मधेस प्रदेशको सरकार सञ्चालन तथा पार्टीको आन्तरिक विवाद लगायतका विषयमा छलफल गर्नका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवकै उपस्थितिमा बैठक बसेको हो । आजको बैठकमा मधेस प्रदेशमा रहेका अन्य केन्द्रीय नेताहरूलाई बोलाइएको छ । मधेस प्रदेशमा देखिएको पार्टीभित्रको विवादका लागि जसपा मधेस प्रदेशका अध्यक्ष रामबाबु यादवको संयोजकत्वमा एक कार्यदल गठन भएको थियो । त्यो कार्यदलले पनि पार्टी विवादबारे अध्ययन गरेको छ । ती विषयमा पनि बैठकमा छलफल हुने स्रोतले जनाएको छ । माघ ११ गते हुने राष्ट्रियसभा चुनाव, जसपाले पाउने सिट र उम्मेदवारका विषयमा पनि बैठकमा छलफल हुने बताइएको छ ।

पुस ०६ गते

वीरगन्जमा जारी नेपाल प्रो क्लब च्याम्पियनसिपमा त्रिभुवन आर्मी क्लबले लगातार दोस्रो जित हात पारेको छ। शुक्रबार भएको खेलमा आर्मीले भारतको वर्डर्स क्लब नोइडालाई ९ विकेटले पराजित गर्यो।

पहिला ब्याटिङ गरेको नोइडाले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ९९ रन जोडेको थियो। नोइडालाई सामान्य योगफलमा सिमित गर्न साहब आलमले ४ तथा सोमपाल कामी, कुशल मल्ल र बासिर अहमदले एक एक विकेट लिए।

साहबले चार ओभरमा २ मेडन राख्दै ४ रन मात्र खर्चिएका थिए।

आर्मीले १३.१ ओभरमा एक विकेट गुमाएर लक्ष्य भेट्टायो। आर्मीका कुशल मल्लले ३५ बलमा ४१ र सन्तोष कार्कीले २३ बलमा ३७ रन जोडे। भीम सार्कीले पनि २० रन बनाए।

पुस ०६ गते

राप्रपा नेपालका अध्यक्ष कमल थापाले पार्टीको बिधान बमोजिम पूर्व सांसद गोविन्दबिक्रम शाह (जाजरकोट) लाई उपाध्यक्ष पदमा मनोनित गरेका छन् ।

शाहको मनोनयनले पार्टी संगठन सुदृढीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने भन्दै थापाले शाहलाई जिम्मेवारी पत्र हस्तान्तरण गर्दै बधाईसहित सफल कार्यकालको शुभकामना दिएका छन् । केही दिनअघि राप्रपा नेपाल प्रवेश गरेका शाह जाजरकोटबाट निर्वाचित पूर्वसांसद र तत्कालीन जिविस सभापति हुन् । राप्रपाका संस्थापक सदस्य शाह पछिल्लो समय नेकपा एमालेमा आबद्ध थिए ।

 

काठमाडौँ  पुस ६   

वीरगन्जको जितमा नायक रहे घानाका मिडफिल्डर विलियम ओपोकु, उनले गरे प्रतियोगिताको दोस्रो ह्याट्रिक

— वीरगन्ज युनाइटेडले नेपाल सुपर लिगमा त्यस्तो जित निकालेको छ, जसले शीर्ष चारको समीकरण रोमाञ्चक मात्र होइन, जटिल पनि बनाएको छ । तर, यसले धनगढी एफसीको उद्दार गरेको छ । पोखरा थन्डर्स सुरुमा एक मात्र यस्तो टिम देखिन्थ्यो, जसले प्लेअफ खेल्ने निश्चित गरिसकेको थियो । अब यसमा धनगढी पनि थपिएको छ । यसरी मैदानमै प्रवेश नगर्दै धनगढी भाग्यमानी टिम साबित भयो ।

प्लेअफ समीकरणबाट स्पोर्टिङ इलाम र एफसी चितवन मात्रै बाहिरिएका छन् । बाँकी सबैको गणितीय सम्भावना कायम छ । अब लिग चरणमा चार खेलमात्र बाँकी छ । त्यसमा धनगढी एफसीले पोखरा, झापाले चितवन, बुटवल–लुम्बिनीले वीरगन्ज र ललितपुर सिटीले काठमाडौं रेजर्सको सामना गर्नेछ । यसमध्ये धनगढी र पोखराबीचको खेल एक प्रकारले औचापरिकमात्र हुनेछ । यसको नतिजाले शीर्ष चारको वरीयता भने निर्धारण गर्नेछ ।

शीर्ष चारमा पुग्न ललितपुर, झापा, काठमाडौंले आ–आफ्नो खेल जिते पुग्छ । वीरगन्जका लागि आफू जितेर मात्र पुग्ने छैन, अरूको नतिजामा भर पर्नुपर्नेछ । यसक्रममा धेरैखाले ‘तर र यदि’ पनि लागू हुनेछन् । काठमाडौं र ललितपुरले एक आपसमा खेल्ने भएकाले यी दुई टिममध्ये एक मात्र प्लेअफ पुग्ने पनि हुनसक्छ । यो नै प्रतियोगिताको अन्तिम लिग खेल रहेको छ । यसमै एकै टिम मात्र विजेता हुने भएकाले धनगढीको भाग्य खुलेको हो । काठमाडौं र ललितपुरबीचको खेल बराबरी भएर वीरगन्जले आफ्नो खेल जितेमा शीर्ष चारभित्र स्थान बनाउन सक्छ ।

वीरगन्जका विलियम ओपोकु । उनको ह्याट्रिकमा वीरगन्जको प्रभावशाली जित ।

आखिरमा कसले सोचेको थियो र यस खेलअघि पुछारमा रहेको वीरगन्जले डिफेन्डिङ च्याम्पियनलाई यति ठूलो अन्तरले हराउने छ भनेर ? तर यस्तै अविश्वसनीय जित आत्मसात् गरेपछि वीरगन्जको ७ खेलबाट ८ अंक भएको छ । टोली छैटौं स्थानमा उक्लेको छ । काठमाडौं भने ७ खेलबाट ९ अंकमा सीमित रहेर पाँचौं स्थानमा कायम रह्यो । निश्चित जितको संघारमा रहेर पनि काठमाडौं हार बेहोर्न बाध्य रह्यो । यसको दोष पनि टोलीकै रह्यो ।

सुशील लामाको प्रहार आन्द्रेस निआको हातमा छोएर बाहिरिएकामा रेफ्री सुरोजित दासले पेनाल्टीको निर्णय दिएका थिए । भिडियो रिप्लेमा भने ठ्याक्कै के भएको थियो, त्यो प्रस्ट देखिएन ।

काठमाडौंका प्रशिक्षक बालगोपाल महर्जनले त्यो निर्णय विवादास्पद रहेको दाबी गरे र यसैले खेलको दिशा फेरिएको दाबी गरे । दोस्रो हाफ सुरु भएको ४८ सेकेन्डमै वीरगन्जले दोस्रो गोल थप्यो । सब्स्टिच्युट खेलाडीका रूपमा मैदानमा छिरेका सुनील खड्काले गोल गरे ।

ओपोकुले ५६ औं मिनेटमा फ्रि–हेडरको मदतमा टिमका लागि तेस्रो गोल गरे । उनले ह्याट्रिकका लागि लामो समय कुर्नुपरेन । यो ५७ औं मिनेटमा सम्भव भयो । यो भने प्रतियोगिताको इतिहासकै एक उत्कृष्ट गोल रह्यो । सुशीलले निकालेको पासमा ओपोकुले लगभग ३० यार्डबाट गरेको प्रहार विपक्षी गोलरक्षक अञ्जल श्रेष्ठ बिट गर्दै गोलमा परिणत भएको थियो । यसअघि पहिलो संस्करणमा काठमाडौंका लागि मेसुके ओलेमोउले ह्याट्रिक गरेका थिए ।

ओपोकुले यस संस्करणमा गरेको गोलसंख्या ५ पुगेको छ । ‘आजको खेल जित्न सक्छौं भनेर त सोचेका थियौं, तर यति धेरै अन्तरले जित्नेबारे सोचेका थिएनौं,’ खेलपछि वीरगन्जका प्रशिक्षक सनोज श्रेष्ठले प्रतिक्रिया दिए । अर्कोतर्फ काठमाडौंका प्रशिक्षक महर्जनले भने आफ्नो प्रशिक्षक जीवनमै यो हार सबैभन्दा पीडादायी रहेको बताउँदै भने, ‘आज हाम्रा अधिकांश खेलाडीले स्वार्थी भएर खेले । त्यसले पनि हाम्रो प्रदर्शन राम्रो हुन नसकेको हो ।’

 

आरके श्रीवास्तव,राैतहट,०६ गते पुस ।

ईलाका प्रहरी कार्यालय कटहरियाकाे नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् ।

ईलाका प्रहरी कार्यलय कटहरियामा नयाँ प्रहरी प्रमुखमा अरूण कुमार सिंह सरुवा भएर आएपछि शान्ति सुरक्षामा प्रहरी कर्मचारीहरु थप क्रियाशिल हुन थालेका छन् । सिंह ईलाका प्रहरी कार्यालय कटहरियामा आएपछि नयाँ रणनीति तथा कार्यनीति अबलम्बन गरेर नयाँ कार्ययोजना बनाई शान्ती सुरक्षामा कमी कमजोरी हुन नदिन कडाका साथ लाग्नु भएको हाे । सिंह आएपछि कटहरिया बजारमा प्रहरीले शान्ति सुरक्षाका गतिविधिलाई ह्वात्तैे बढाएको हो ।

उनले प्रहरी चेकिङ लाइ कडा बनाएका छन् । प्रहरीकाे सामाजिक अपराध नियन्त्रणका लागि सामुदायिक प्रहरी साझेदारी कार्यक्रमलाई प्रभावकारीताका साथ बढाउने उनले बताएका छन् । उनको सक्रियताले कटहरियामा शान्ति सुरक्षामा मजवुत बनाउने स्थानीय बासिहरुको अपेक्षा छ । कटहरियाको शान्ति सुरक्षाको लागि यहाँका नागरिकसँग हातेमालो गरेर अघि बढ्ने प्रहरी बरिस्ठ नायब निरिक्षक सिंहले बताएका छन् ।

यसका अलावा उनले प्राथमिक केन्द्र कटहरिया नियम विपरीत काम गरिरहेका ठेकेदार लाई ध्यानाकर्षण गराई नियमपूर्व काम गराउन पहल समेत गर्नु भएको छ । साथै सिंहले कार्यभार सम्हाल्ने वितिकै तस्करहरूमा हडकम्प नै मचेकाे छ । तस्करी नियन्त्रण तर्फ पनि उनले कडाइका साथ लाग्नु भएको हाे । जसले गर्दा तस्करहरूमा भागाभाग भएको हाे । पछिल्लो समय कटहरियामा चाेरीकाे घटनामा वृद्धि भएको थियो । त्यसलाई पनि न्यूनीकरण गर्ने तर्फ लाग्ने प्रतिबद्धता जनाउनु भएको छ ।

 

जनकपुर ६ पुस।

नेपाली कांग्रेस मधेसको प्रथम सम्मेलनको बन्दसत्र सुरु भएको छ । जनकपुरस्थित महेन्द्रनारायण निधि कला प्रतिष्ठानमा शुक्रबार बिहान ८ बजेबाट बन्दसत्र सुरु भएको हो ।

प्रदेशसभापति कृष्णप्रसाद यादवको सभापतिमा सुरु भएको बन्दसत्रमा महामन्त्री वृहस्पतिकृष्ण श्रेष्ठ सांगठनिक र राजनीतिक पेस गरेका छन् ।

यस्तै आर्थिक प्रतिवेदन कोषाध्यक्ष प्रदीप यादवले पेस गरेका छन् । बन्दसत्रमा मधेस प्रदेशका ८ जिल्लाबाट ८ सय २५ सहभागी रहेको प्रचार विभाग प्रमुख नितेशकुमार गुप्ताले बताए ।

 

सिरहा  पुस ६ /     

सिरहाको रामकुमार शारदा उमा प्रसाद मुरारका प्रादेशिक अस्पतालले करारमा पदपूर्ति गर्नेगरी कर्मचारी माग गरेको छ ।

अस्पतालले कन्सलटेन्ट पेडियाट्रिसियन, कन्सलटेन्ट अब्टेट्रिसियन, कन्सलटेन्ट जनरल फिजिसिसन, डेन्टल सर्जन, फार्मेसी सहायक, हलुका सवारी चालकलगायतका पदमा दरखास्त आह्वान गरेको हो ।
इच्छुक उम्मेदवारले १५ दिनभित्र आवेदन दिनसक्ने सूचनामा उल्लेख छ ।

ताजा अपडेट

Login

कृपया ध्यान दिनुहोस्:

  • अब तपाइले कमेन्ट गर्नका लागि अनिवार्य रजिस्ट्रेसन गर्नुपर्ने छ ।
  • आफ्नो इमेल वा गुगल, फेसबुक र ट्वीटरमार्फत् पनि सजिलै लगइन गर्न सकिने छ ।
  • यदि वास्तविक नामबाट कमेन्ट गर्न चाहनुहुन्न भने डिस्प्ले नेममा सुविधाअनुसारको निकनेम र प्रोफाइल फोटो परिवर्तन गर्नुहोस् अनि ढुक्कले कमेन्ट गर्नहोस्, तपाइको वास्तविक पहिचान गोप्य राखिने छ ।
  • रजिस्ट्रेसनसँगै बन्ने प्रोफाइमा तपाइले गरेका कमेन्ट, रिप्लाई, लाइक/डिसलाइकको एकमुष्ठ बिबरण हेर्नुहोस् ।